निर्णय नं. १६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १६३१ ने.का.प. २०४० अङ्क ३
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३९ सालको रि.फु.नं. ५८
आदेश भएको मिति : २०४०।३।३१।६ मा
निवेदक : का.जि.का.न.पं.वडा नं.७ बौद्ध बस्ने टासी लामा समेत
विरूद्ध
विपक्षी : का.जि.का.न.पं.वडा नं.६ बौद्ध बस्ने विकुलाल श्रेष्ठ
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) निर्णयबाट मोही कायम नभई ऋण रकम निश्चित भएको सम्म देखिनाले रहेको मोहीको लगत कानुन बमोजिम कट्टा हुनुपर्छ भन्ने स्थित नरहने ।
(प्रकरण नं. १७)
(२) आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी सम्पत्तिमा कुनै अधिकार नै कायम नरहने बन्धकी साहुले सो बमोजिम थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी अरूलाई मोहियानी हक प्रदान हुन सक्छ भन्ने सम्झन नमिल्ने ।
(प्रकरण नं. १८)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उपे्रती विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
उल्लिखित मुद्दा : सम्वत् २०४० सालको रि.फु.नं. ४० निवेदक अजिमुल्ला मुसलमान विरूद्ध भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय कपिलवस्तु समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा २०३०।१२।१३ मा सिद्धान्त प्रतिपादित ।
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३७।१०।१७।६ को निर्णय दोहर्याई पाउँ भन्ने निवेदकहरूको निवेदनमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।
२. विकुलाल श्रेष्ठले सेर्पा लामाबाट ०२१।८।१ र ०२०।८।१५ मा भोगबन्धकी लिएको बौद्ध गा.पं.वडा नं.४ कि.नं.४ को १०–११–३ गुठीतर्फ ऐ.कि.नं.५६,७ को २–१२–० जग्गा विपक्षी विकुलालको बन्धकी थैली धरौट राखी जग्गा हामी ३ जनाले ०३०।५।१४ मा राजीनामा पास गरी लिएको राखेको धरौटी रकम विपक्षले बझी लिनुपर्ने ठहर भई यस कार्यालय र प्र.जि.अ.बाट फैसला भई विपक्षीले सेर्पा लामाबाट भोगबन्धक खाएपछि ०२१ सालको नापीमा मोहियानीमा आफ्नो नाउँ लेखाए तापनि भोगबन्धकीको नाता समाप्त भएपछि जग्गा साविककै रूपमा फिर्ता गर्नुपर्नेमा नगरी जोत्दै आएकोमा अब जोताहाको रूपमा हात हाल्न पाउँदैनौ भन्दा ममा उक्त जग्गा जोत्ने अधिकार छ भनी मोहीमा खिचोला गरेकाले विपक्षीको जोताहा कट्टा गरिपाउँ भन्ने समेत विपक्षी टासी लामा समेतको संयुक्त उजूरी परेकोमा, विपक्षी समेतले लिएको राजीनामाको गा.पं.बौद्ध वडा नं.४(ग) कि.नं.४ को १०–११–३ राजीनामाबाट देखिने राजीनामा भन्दा बढी जग्गा (साविक पेज नं. ८२) विपक्षीहरूको हक नै हुन नआउने दावी लिएका, विपक्षीकै दातासँग उजूर पर्दा स.अ.बाट ०३१।७।१८ मा भू.प्र.का.बाट गरेको मिति ०३०।२।२८ को फैसलाले जोत बदर गरेकोमा स.अ.को उक्त मिति ०३१।७।१८ को फैसलाले मिति ०३०।२।२८ को फैसला बदर भई मैले मोहियानी हकको प्रमाणपत्र समेत पाइसकेको जग्गामा विपक्षीले जोत कायम गरिपाउँ भनी दिएको उजूरी नै लाग्न नसक्ने हुँदा झुठ्ठा भई खारेज गरिपाउँ भन्ने समेत निवेदक विकुलालको प्रतिउत्तर परेकोमा उक्त कित्ताहरू भोगबन्धकीमा लिएको भन्ने फिल्डबुक उतारबाट देखियो यस कार्यालयबाट निजलाई मोहियानीको प्रमाण दिने गरी सूचना पाएकोमा यस कार्यालयबाट भएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरी सर्वोच्च अदालतबाट आदेश भएको आधारमा गरिएको रहेछ । प्रतिवादीले भोगबन्धकीमा लिई जोतेको र भोगबन्धकीको नाताबाट जग्गा कमाएको आधारमा मोही हक मिल्नसक्ने कानुनी आधार प्र.लाई नभएको निजको कानुनी स्तर र हैसियत भोगबन्धकीवाला साहू मात्र भएकोले प्रतिवादी उक्त जग्गाको मोही भू.सं.ऐन, २०२१ अन्तर्गतको भन्न मिल्ने देखिएन, पक्ष शिवलाल विपक्षी भू.सु.ललितपुर भएको नि.नं.१०४९, २०३० सालको मुद्दामा भोगबन्धकीको नाताले मोही भई कमाई आएको अवस्थामा जोताहा अस्थायी निस्सा लिएको मोहीको लगतमा नाम समेत प्रकाशित भएको सो लगत प्रकाशनमा उजूरी गरी बदर नगरेर पनि मोही नहुने भन्ने सिद्धान्त प्रतिपादन भइरहेको देखिएकोले प्रस्तुत केशमा पनि भोगबन्धकीवाला प्रतिवादी साहुलाई मोहियानी हक मिल्ने भन्ने कानुनी आधार नभएको, प्रतिवादीको मोही कायमै रहने अवस्था नभएकोले प्रतिवादीको नाम मोहियानी लगतबाट कट्टा गरी दिने ठहर्छ भन्ने समेत गरी विपक्षी कार्यालयले ०३६।११।३ मा निर्णय गरेको रहेछ सो बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्नआएको छ ।
३. संक्षिप्त जिकिर यस प्रकारको रहेछ : उपरोक्त जग्गा ०१६ सालदेखि हकभोग छँदै थियो । जग्गाधनी हक बन्धकीबाट खाइआएको आसामी सेर्पा लामासँग ऋण निश्चित मोहीसम्बन्धी बाली रोक्का सम्बन्धी मुद्दा परेकोमा सम्मानित सर्वोच्च अदालतसम्म पुगी भएका फैसलाहरूको नक्कल यसै साथ छ । मोही सम्बन्धी बारेमा २०३० सालको रिट नम्बर ७३७ को मुद्दा सम्मानित अदालतमा डायर छँदाछँदै जग्गाधनी हक र मोहीको हक समेत आफ्नै हो भनी सेर्पा लामाले विपक्षी हिरण्यप्रसाद श्रेष्ठ, टासी लामा र निमा लामा समेत ३ जनालाई रैकर जग्गा राजीनामा पास गरी लिएदिएको कानुनी मान्यता छैन उक्त निर्णयबाट भूमिसम्बन्धी ऐनको दफा २५(१) र दफा २९ समेतको प्रचलित कानुनहरूद्वारा प्रदत्त भएको मेरो हकअधिकार हनन् गरेको र विपक्षीतर्फबाट आधार लिएको रिट नं. १०४९ को फैसला नजीर साविक मोहीले मोही हक मात्र भूमिसम्बन्धी ऐन, २०२१ जारी नहुँदै भोगबन्धकी लिएदिएकोमा भोगबन्धकी मोही फिर्ता भएको प्रस्तुत मुद्दा जग्गाधनी हक भोगबन्धकीमा सो नजीर नलाग्ने र बन्धकी लिनुभन्दा अगावैदेखि मोही हक भइरहेको बारेको २०२३ को रिट नं. १४९४ को मिति ०३४।११।६ को नजीरबाट र भू.सं.ऐनको दफा २९ को कसूर बेगर फिर्ता गर्न नपर्ने नजीर समेत र कागजहरू समेत मुद्दा पेश हुँदा बहसमा पेश भई नजर गराई निवेदन गर्नेछु । निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।
४. आदेशानुसार विपक्षीद्वारा प्राप्त लिखितजवाफमा लिएका जिकिर यस प्रकार छ : निज बिकुलाल भोगबन्धकी लिने व्यक्ति भन्ने कुरामा कुनै शंका छैन निज भोगबन्धकलाला भएपछि निजले पाउने थैली धरौट राखी यस कार्यालयमा कारवाही चल्दा निवेदक विकुलालले म्याद गुजारी बसी २०३१।३।२१ (साविक पेज नं. ८३) मा निर्णय भएको, निजले पाउने थैली धरौट राखेपछि निजको भोगबन्धकी फछ्र्यौट हुने भई निजको भोगबन्धकीवालाबाट मोहीमा परिणत हुने कानुनी व्यवस्था नभएको र भोगबन्धकी लिखत नै मुख्य स्रोत भएकोले त्यस्तो भोगबन्धकी साहुलाई मोहीमा हक मिल्ने दावी कानुन विपरीत छ । पक्ष शिवलाल विपक्षी भू.प्र.ललितपूर भएको नि.नं.१०४९, ०३० सालको मुद्दाको भोगबन्धकीको नाताले मोही भई कमाई आएको अवस्थामा जोताहा अस्थायी निस्सा लिएको मोहीको लगतमा नाम समेत प्रकाशित भएको सो लगत प्रकाशनमा उजूर परी बदर नगरे पनि मोही नहुने भन्ने सिद्धान्त प्रतिपादन भएको देखिँदा प्रस्तुत मामिलामा पनि भोगबन्धकी साहू निवेदक विकुलाललाई मोहिया हक प्राप्त हुने भन्ने कानुनी आधार देखिन्न निवेदकले मोहीमा दावा गर्नु बिलकुल कानुन विपरीत छ तसर्थ रिट निवेदन खारेज गरी पाउन सविनय अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय काठमाडौं ।
५. ०१६ सालदेखि उक्त जग्गा विपक्षीले मोहीमा कमाउन लिएको कुनै कबुलीयत तथा रसीद पेश छैन । निजले लिएको बन्धकी लिखतमा पनि अगाडि देखि नै विपक्षी मोही भएको भन्ने जनिएको छैन । यस स्थितिमा ०१६ सालदेखि मोही हक मेरो भएको भन्ने विपक्षको दावा कानुनसंगत नभएको स्पष्ट छ । त्यसको अतिरिक्त ०२१ सालको सर्भे नापीमा विपक्षीले यो जग्गामा आफ्नो जोत देखाई क्षेत्रीय किताबमा सही गर्दा यो जग्गा शेर्पा लामाबाट भोगबन्धकी लिई जोती आएको भनी प्रष्ट लेखाएको श्रेस्ता कायमै छ । बन्धकी लिएपछि सो नाताले सिर्जना भएको जोत बन्धकी निखनेपछि साथै जाने सिद्धान्त अनुकूल भूमिसुधार अधिकारीले गरेको निर्णय पूर्णतया कानुन अनुरूप हुँदा विपक्षीको निवेदन खारेज गरिपाउँ भन्ने समेत हिरण्यप्रसाद श्रेष्ठ, टासी लामा र निमा लामा समेतजना ३ को संयुक्त लिखितजवाफ रहेछ ।
६. विपक्षी हिरण्यप्रसाद श्रेष्ठ समेतका दाता शेर्पा लामाले निवेदक विकुलाल श्रेष्ठ उपर २०२४।६।११।४ मा विपक्षी भूमिसुधार अधिकारी समक्ष ऋण निश्चित गरिपाउँ भनी दिएको निवेदनमा “२०१६ सालको बाली देखि खाने गरी” भन्ने समेत उल्लेख भएको र रिट निवेदन जिकिर समेतबाट विवादास्पद जग्गा शेर्पा लामाबाट २०१६ सालदेखि मोहीमा हकभोग छँदै थियो भन्ने समेत उल्लेख भएको र विवादास्पद जग्गा शेर्पा लामाबाट निवेदकले २०२० सालमा भोगबन्धकीमा लिएको देखिँदा उपरोक्त शेर्पा लामाले भूमिसुधार अधिकारी समक्ष ०२४।६।११ मा दिएको निवेदन समेतबाट भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै अर्थात् २०१६ सालदेखि निवेदक विकुलाल श्रेष्ठले विवादास्पद जग्गा कमाई आएको र २०२० सालमा मात्र सो जग्गा भोगबन्धकीमा लिएको सो भूमिसम्बन्धी ऐन, नियम अनुरूप उपरोक्त जग्गाको नापजाँच हुँदा लगत प्रकाशनमा समेत उजूरबाजूर नपरेको र विपक्षी हिरण्यप्रसाद समेतले भोगबन्धकी निखन्न पाए पनि जग्गाधनीको हक मात्र निखन्न पाउने र मोहियानी हक निवेदक विकुलाल श्रेष्ठमा नै रहेभएको देखिन्छ । तसर्थ निवेदक विकुलाल श्रेष्ठका नाउँका विवादास्पद जग्गाको मोहियानी लगत कट्टा गरी दिने ठहराई गर्ने गरेको मिति ०३६।११।३ को विपक्षी भूमिसुधार अधिकारीको निर्णय कपटपूर्ण देखिँदा उपरोक्त कारणहरू समेतबाट उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने डिभिजनबेञ्चको ०३७।१०।१७।६ को निर्णय ।
७. २०२० र २०२१ सालमा मात्र यो भोगबन्धकी विकुलालले लिएको देखिने लिखतहरू मिसिल संलग्न रहेकोबाट २०२० सालमा भोगबन्धकीमा दिइएकोमा २०१६ सालको बालीदेखि खाने गरी विकुलाललाई जग्गा कमाउन दिएको भन्ने कुरा असंगत देखिन आउँछ । २०१६ सालको बाली देखि खाएको भन्ने कुरा २०२० सालको भोगबन्धकी लिखतबाट पनि देखिँदैन । विकुलाल (साविक पेज नं. ८४) श्रेष्ठले पेश गरेको निवेदनको वेरीतको नक्कलकै आधारमा मात्र २०१६ सालदेखि नै विकुलाल श्रेष्ठले विवादास्पद जग्गा मोही भई कमाएको भन्ने तथ्य प्रमाणित हुनसक्ने देखिँदैन । भूमिसुधार कार्यालयको मिसिल संलग्न फिल्डबुक उतारबाट भोगबन्धकी नाताले मात्र विकुलालले कमाएको सम्म देखिने, कूत बुझाएको रसीद भरपाई समेत केही प्रमाण दिन नसकेकोबाट २०३६।११।३ को भू.सु.अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराएको ०३७।१०।१७।६ को सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन भन्ने न्यायिक समितिको पर्चा ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी ०४०।३।२१ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको मुद्दामा निवेदकतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती एवं विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले विपक्षी विकुलाल श्रेष्ठले २०२० सालमा भोगबन्धकीमा जग्गा लिएपछि मात्र जग्गा भोगको छ, भोगबन्धकी लिएको कारणबाट भोग प्राप्त भएकोमा सो लिखतको अस्तित्व समाप्त हुनासाथ भोग समाप्त हुन्छ । विपक्षीले २०२० सालभन्दा अघि देखि विवादको जग्गा मोहीया कमाएको सबूत छैन । भोगबन्धकीमा जग्गा लिनुभन्दा अघि २०१६ सालदेखि मोहीमा जग्गा कमाएको आधारमा भू.प्र.का.काठमाडौंको ०३६।११।३ को निर्णय बदर गरेको डिभिजनबेञ्चको निर्णय मिलेको छैन भन्ने समेत बहस गर्नुभयो, विपक्षी विकुलालतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले भू.प्र.का.को ०३२।२।१८ को निर्णयले मेरो पक्षलाई मोही कायम गरेको छ, एकपटक मोही कायम भएपछि भूमिसम्बन्धी ऐनको प्रकृया बाहेक अन्य प्रकृयाबाट मोहियानी हक समाप्त हुनसक्दैन । २०२४।६।११ मा ऋण निश्चित गराउन निवेदकहरूका दाता स्यार्पा लामाले भू.प्र.का.मा दिएको निवेदनमा २०१६ सालदेखि जग्गा भोगी खाएको कुरा स्वीकार गरेकै छ, स्यार्पा लामाको कथन प्रमाण ऐन, २०३१ को दफा ९(३)(ग) अनुसार निवेदकहरूका विरूद्धमा प्रमाणमा लाग्दछ । यस्तो अवस्थामा भू.प्र.का.को निर्णय बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मिलेको छ भन्ने समेत बहस गर्नुभयो ।
९. प्रस्तुत मुद्दामा डिभिजनबेञ्चको ०३६।१०।१७ को निर्णय मनासिव बेमनासिव के हो भन्ने विषयमा निर्णय दिनुपरेको छ ।
१०. यसमा प्रस्तुत मुद्दामा ०३७।१०।१७।६ मा डिभिजनबेञ्चबाट निर्णय हुँदा हिरण्यप्रसाद श्रेष्ठका दाता शेर्पा लामाले ०२४।६।११।४ मा भूमिसुधार अधिकारी समक्ष ऋण निश्चित गरिपाउँ भनी दिएको निवेदनमा “२०१६ सालको बाली देखि खाने गरी” भन्ने उल्लेख भएको कुरालाई उद्धृत गर्दै २०१६ सालदेखि विकुलाल श्रेष्ठले विवादास्पद जग्गा कमाइआएको र २०२० सालमा मात्र सो जग्गा भोगबन्धकीमा लिएकोले हिरण्यप्रसाद समेतले भोगबन्धकीमा निखन्न पाए पनि केवल जग्गाधनीको हक मात्र निखन्न पाउने र मोहियानी हक विकुलाल श्रेष्ठमा नै रहेभएको कुरा उल्लेख गर्दै विकुलाल श्रेष्ठका नाउँको विवादस्पद जग्गाको मोहियानी लगत कट्टा गरिदिने ठहराएको ०३६।११।३ को भूमिसुधार अधिकारीको निर्णय कपटपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने निर्णय भएको पाइन्छ ।
११. प्रस्तुत मुद्दामा सर्वप्रथम विपक्षी विकुलाल श्रेष्ठले विवादास्पद जग्गाहरू भोगबन्धकीमा लिनुभन्दा पहिले अर्थात् २०१६ सालदेखि मोहियानीमा कमाएको हो वा २०२०।८।२५ मा भोगबन्धकी लिएपछि मात्र जोतभोग गरेको हो यो प्रश्नको नै निर्णय गर्नुपरेको छ । २०१६ सालदेखि विवादका जग्गाहरू मोहियानीमा विकुलालले कमाएको प्रमाणस्वरूप विपक्षीहरूले निवेदकहरूका दाता शेर्पा लामाले २०२४।६।११ मा भूमिसुधार कार्यालय काठमाडौंमा ऋण निश्चित गरी पाउन (साविक पेज नं. ८५) दिएको निवेदनमा व्यक्त भएको कुरालाई लिएका छन् । डिभिजनबेञ्चले पनि २०१६ सालदेखि नै विकुलालले विवादका जग्गाहरू मोहियानी हकमा कमाएको कुराको निरोपण गर्र्दा उक्त लिखतलाई नै आधार गरेको पाइन्छ । उक्त निवेदनपत्रको रीतपूर्वकको नक्कल भनी विपक्षीतर्फबाट पेश भएको फोटोकपी हेरिएमा उक्त लिखतमा “२०१६ सालको बाली देखि खाने गरी का.ई.बौद्ध पञ्चायत वाड नं.४(ग) को कि.नं.४ को जग्गा १४ रोपनी ३ आना रू.८०००। आठ हजारमा उक्त साहू विकुलाल श्रेष्ठलाई भोगबन्धकी लिई उक्त साहुले खाइआएको” भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै २०२४।७।१ मा शेर्पा लामाले गरेको सनाखत भनी पेश गरिएको फोटोकपीमा “निज विपक्षीसँग मैले रू.८०००। रूपैयाँ लिई बौद्ध पञ्चायत ४ नं.वार्ड (ग) मौजाको हाल कि.नं.४ को १४ रो.३ आना जग्गा भोगबन्धकी लेखी दिएको, ०१६ सालका बाली देखि निज साहुले नै जग्गा भोग गरेको” भन्ने उल्लेख भएको देखियो । लिखतको व्यख्या गर्दा लिखतमा उल्लेख भएका सम्पूर्ण वाक्यांशलाई हेर्नुपर्छ ।
१२. सो सन्दर्भमा शेर्पा लामाले २०२४।६।११ म भूमिसुधार कार्यालय काठमाडौं ऋण निश्चित गरी पाउन दिएको निवेदनलाई हेर्दा उक्त निवेदनमा “०१६ सालको बाली देखि खाने गरी साहू विकुलाल श्रेष्ठलाई भोगबन्धकीमा लिई उक्त साहुले खाइआएको” भन्ने उल्लेख भएको पाइन्छ ।
१३. ०३७।१०।१७।६ मा डिभिजनबेञ्च निर्णयमा पुग्दा शेर्पा लामाले ०२४।६।११।४ मा भूमिसुधार अधिकारी समक्ष ऋण निश्चित गरिपाउँ भनी दिएको निवेदनमा “२०१६ सालको बाली देखि खाने गरी” भन्ने उद्धृत भएको अंशलाई मात्र आफ्नो निर्णयमा लिएको पाइन्छ तर उक्त निवेदनमा उक्त वाक्यांश मात्र उद्धृत नभई “०१६ सालको बाली देखि खाने गरी भोगबन्धकीमा लिई उक्त साहुले खाइआएको” भन्ने वाक्यांश रहेकोले उक्त वाक्यांशमा रहेको सम्पूर्ण शब्दहरूलाई हेर्नु पर्ने हुन्छ ।
१४. ०१६ सालको बाली देखि कसरी खाएको रहेछ भनी उक्त वाक्यांश हेर्दा वाक्यांशमा भोगबन्धकीमा लिइआएको भन्ने देखिन्छ । उक्त निवेदनमा परेको २०१६ सालदेखि खाने गरी भन्ने शब्दहरूलाई भोगबन्धकीमा लिई साहूले खाइआएको भन्ने साथै सोही वाक्यांशमा रहेका अरू शब्दहरूबाट हटाउन मिल्दैन । सम्पूर्ण वाक्यांश एकै भएकोले एउटालाई अर्कोसित छुट्याउने स्थिति हुँदैन । कुनै लिखतमा परेको वाक्यांशको व्याख्या गर्दा सम्पूर्ण वाक्यांशलाई हेर्नुपर्छ । एउटा वाक्यांशमा परेका केही शब्दहरूलाई निरर्थक हुने गरी सोही वाक्यांशमा परेका अरू शब्दहरूको व्याख्या हुने स्थिति हुँदैन । भोगबन्धकी २०२० सालमा मात्र दिएकोले २०१६ सालदेखि खाने गरी भन्ने बोली भोगबन्धकीसँग सम्बन्धित हुनजाने स्थिति रहन जाँदैन भन्ने विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको भनाई भएकोमा २०१६ सालदेखि मोहीमा खाइआएको भन्ने बोली उक्त वाक्यांशमा रहेको देखिन्न । २०१६ सालको बाली देखि खाने गरी भन्ने शब्दहरू भोगबन्धकी शब्दसँग जुटेकोले २०१६ सालदेखि मोहीमा कमाई आएको भन्ने लिखतको वाक्यांशमा उल्लेख नभएको निष्कर्षमा पुग्नु लिखतमा पक्षले व्यक्त गरेको अभिव्यक्ति बाहिर पर्नजाने हुन्छ ।
१५. २०२४।६।११ को निवेदन र सो सन्दर्भमा भएको सनाखत वाक्यांशबाट समेत २०१६ सालदेखि विकुलालले उक्त जग्गाहरू भोगबन्धीकमा भोग गरेको कुरासम्म उल्लेख गरेको पाइन्छ । उक्त लिखतहरूमा कहीँ कतै विकुलालले विवादका जग्गाहरू मोहियानीमा कमाएको भन्ने उल्लेख गरेको पाइँदैन । २०२० सालको भोगबन्धकी लिखतबाट पनि २०१६ सालदेखि विकुलालले मोहीमा कमाएको भन्ने उल्लेख छैन । विवादका जग्गाहरूको सर्भे नापी हुँदा विकुलाल श्रेष्ठले शेर्पा लामाबाट भोगबन्धकी लिई जोती आएको भन्ने व्यहोरा (साविक पेज नं. ८६) फिल्डबुकमा लेखाएको पाइन्छ । यदि विपक्षी विकुलालले भोगबन्धकी लिनुभन्दा पहिलेदेखि नै मोहियानीमा कमाएको भए सोही व्यहोरा उल्लेख गर्नुपर्ने थियो तर निजले त्यस्तो गरेको पाइएन लिखतको व्यहोरा स्पष्ट रहेसम्म अन्यथा व्याख्या गर्ने प्रश्न पनि उठ्दैन ।
१६. एकछिनलाई २०१६ सालदेखि मोहियानीमा कमाएको र २०२० सालदेखि भोगबन्धकीमा लिएको भन्ने विपक्षीको कथनलाई सही मानेको खण्डमा पनि तत्काल प्रचलित भूमिसम्बन्धी ऐन, २०१४ को दफा ६ ले व्यवस्था गरे बमोजिमको दोहरी कबुलीयत र नगद वा जिन्सी बुझाएको रसीद हुनुपर्ने, सो छ भनी विपक्षीले पेश गर्नसकेको देखिँदैन । यस्तो स्थितिमा विवादका जग्गाहरूको विपक्षी विकुलाल श्रेष्ठ ०१६ सालदेखि भोगबन्धकीमा भोग गर्ने जग्गावाला होइन कानुन बमोजिमको मोही हो भन्नलाई कानुन तथा न्याय दुवैको रोहवर मिल्ने देखिँदैन ।
१७. ०३२।२।१८ को भूमिप्रशासन कार्यालय काठमाडौंको निर्णय हेर्दा ०२९।३।२८ मा विकुलालको मोहियानी संशोधन गर्ने गरी गरेको यस कार्यालयको आदेशलाई ०३१।७।१८ को सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेशबाट बदर भएको देखिनाले विकुलाल श्रेष्ठका नाउँमा भू.सु.टोलीले खडा गरेको बौद्ध गा.पं.वडा नं.४(ग) कि.नं.४ को १०–११–३ को जग्गा समेत उक्त स.अ.डिभिजनबेञ्चको आदेशानुसार यथावत कायम गरी दिनु यस कार्यालयको ०२८।१२।७।२ को आदेशले कट्टा भएको मोहियानीको श्रेस्ता व्यहोरा जनाई दिनु भन्ने निर्णय भएको देखिन्छ । ०३१।७।१८ मा स.अ.डिभिजनबेञ्चबाट निर्णय गर्दा प्राकृतिकन्याय सिद्धान्तको विरोध गरी गरेको भू.प्र.का.काठमाडौंको ०२९।३।२८ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको पाइन्छ । ०२८।१२।७।२ को भू.प्र.का.काठमाडौंको निर्णयबाट मोही कायम नभई ऋण रकम निश्चित भएको सम्म देखिनाले रहेको मोहीको लगत कानुन बमोजिम कट्टा हुनुपर्छ भन्ने स्थिति रहेन ।
१८. अब विवादका जग्गाहरू भोगबन्धकीमा लिएकोमा भोगबन्धकी थैली निखनेपछि विपक्षीको मोहियानी हक कायम रहन्छ रहँदैन भन्ने सन्दर्भमा विचार गर्दा सम्वत् २०२९ सालको रि.फु.नं.४० निवेदक अजिमुल्ला मुलमान विरूद्ध भूमिसुधार अधिकारी भू.सु.का.कपिलवस्तु समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा भोगबन्धकी जग्गामा साहुको एउटा सीमित हक हुन्छ । आसामीले थैली फिर्ता बुझाएपछि साहुको अधिकार समाप्त हुन्छ । आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी सम्पत्तिमा कुनै अधिकार नै कायम नरहने बन्धकी साहुले सो बमोजिम थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी अरूलाई मोहियानी हक प्रदान हुन सक्दछ भन्ने सम्झन मिल्दैन भन्ने समेत २०३०।१२।२३ मा फुलबेञ्चबाट सिद्धान्त प्रतिपादन भएको हुँदा प्रस्तुत मुद्दामा पनि विपक्षी विकुलालको बन्धकी थैली निखनिएपछि पनि मोहियानी हक कायम रहन्छ भनी सम्झन मिल्ने भएन ।
१९. अतएव उपर्युक्त कारणहरूबाट तत्काल परेको निवेदक विकुलाल श्रेष्ठको रिट निवेनपत्र खारेज गरिदिनु पर्नेमा सोही लगतबाट विकुलाल श्रेष्ठको नाम काटी दिने ठहर गरेको २०२६।११।३ को भू.प्र.का.काठमाडांैको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको डिभिजनबेञ्चको ०३७।१०।१७ को निर्णय मिलेको नदेखिँदा बदर हुने ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.धनेन्द्रबहादुर सिंह
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल आषाढ ३१ गते रोज ६ शुभम् । (साविक पेज नं. ८७)