निर्णय नं. ६२२६ - कर्तव्यज्यान ।

निर्णय नं. ६२२६ ने.का.प. २०५३ अङ्क ७
पुर्ण इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
संवत् २०५० सालको फौ.पू.इ.नं. ..३०
फैसला मितिः२०५१।८।१५।५
मुद्दाः कर्तब्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः धादिङ जिल्ला दारखा गा.पं. वडा नं. ७ घर भई हाल जिल्ला कारागार शाखा काठमाडौं थुनामा रहेको धनवीर आले मगर ।
विरुद्ध
प्रत्यर्थी
वादीःलाल बहादुर थापा मगरको जाहेरीले वादी श्री ५ को सरकार ।
§ प्रतिवादी धनवीर आले मगरले अदालतमा आएर वयान गर्दा आफुले मृतक नन्दीसरा समेतलाई कर्तब्य गरी मारेमा इन्कार भई बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रहरीले चाकमा खूर्सानी हाली यातना दिई प्रहरीले आफै लेखि सही गर भनेकोले मैले सही गरेको मैले स्वइच्छाले गरेको होइन भनी वयान गरेको देखिन्छ । चित्रे भन्ज्याङ गा.पं. कार्यालयले उक्त वारदात प्र. धनवीर आले मगरले गरेको शंका देखाई लेखेको पत्रको आधारबाट प्र. धनवीर आले मगर पक्राउ भएको र प्र. धनवीर आले मगर मृतकको घरमा आउने जाने गर्दथ्यो भनी सो आधार देखाई उक्त वारदात प्र. धनवीर आले मगर समेतबाट भएको भन्ने चित्रे भन्ज्याङ गा.पं. कार्यालयको शंका छ । गाउं पंचायतले गरेको शंका कुनै ठोस आधारबाट प्रमाणित हुन सकेको देखिदैन । शंका स्वयमले प्रमाणको स्थान ग्रहण गर्न नसक्ने ।
(प्र.नं. २४)
§ कस्तो अवस्थामा प्रतिवादीलाई देखेको भन्ने सम्वन्धमा प्रहरीमा गरेको वयान र अदालतमा भएको बकपत्रमा एकरुपता देखिंदैन । प्रतिवादीलाई डील बहादुरले बाटोमा देख्दैमा निजहरु मृतककै घरमा गए होलान भनी अनुमान गर्न नमिल्ने ।
(प्र.नं. २६)
§ वारदात भएको चश्मदित व्यक्तिको अभाव देखिन्छ । केवल शंका र अनुमानको आधारमा व्यक्त गरिएका कुरालाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ।
(प्र.नं. २८)
§ प्रतिवादी प्रहरीमा वयान गर्दा साविती भए पनि उक्त साविति अन्य स्वतन्त्र प्रमाणबाट समर्थित समेत हुन सकेको देखिंदैन । शंकाको सुविधा अभियुक्तले पाउने हुंदा आरोपित कसुरबाट सफाई पाउने ठहर्याएको संयुक्त इजलासको माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्ने ।
(प्र.नं. २८)
पुनरावेदक तर्फबाटः
विद्वान अधिवक्ता श्री पवन भटृराइ तथा अमिता लक्ष्मी श्रेष्ठ
प्रत्यर्थी तर्फबाटः
विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ
अवलम्वित नजीरः
न्या.नरेन्द्र बहादुर न्यौपानेः संयुक्त इजलासमा मतैक्य हुन नसकी पुर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकास छः
२. मिति २०४३।५।९ गते विहान मेरा वहिनीको लाश परेको छ भन्ने थाहा पाई म त्यहां पुगी हेर्दा वहिनीको कानमा लगाएको सुनको माडवारी नभएको र अरु धन संपत्ति के कति चोरी भयो । निजको श्रीमान विदेश (भारत) बाट फर्केपछि खुलाउने हुंदा कुन अपराधीले मेरो वहिनी र भान्जीलाई मारे अपराधी सूराक पत्ता लगाई कानून वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको २०४३।५।१० को जाहेरी दरखास्त ।
३. पिंडीमा रहेको खाटमा गुन्द्री, डसना, तन्ना समेतमा रगत लागी सुकेको दक्षिण मोहडा, उत्तर गोटा भई उत्तानो अवस्थामा दुवै आंखा चिम्लिएको नाकको प्वालबाट रगत वगेको घांटी गलामा कालो छाताको खोलले वांधी वलियो गांठो २ वटा पारेको भन्ने समेत आमा नन्दीसंग मगरनीको र दुवै हात दायां वायां जमीनतर्फ पछारिएको र नाकको प्वालबाट रातो पानी निस्किएको मुख खुला भई दांत देखिएको घांटीमा नाइलनको नाम्लोको डोरीले २ फन्को पारी वलियो गांठो पारेको र योनी र गुदद्धारबाट दिसा पिसाव निस्किएको भन्ने समेत व्यहोराको छोरी, इन्द्रा थापाको लाश जांच प्रकृति मुचुल्का ।
४. मिति २०४३।५।८ मा र गमजवीर सुनारले सल्लाह गरी नन्दीसरा मगर्नीको कानमा रहेको ठुलो माडवारी ल्याउने नियतले ऐ. राती ८ वजे समयमा नन्दीसराको घरमा पुगी कामीको छोरालाई उपचार गर्न आएको रात पर्यो, वास वस्नु पर्यो भनी भन्दा नन्दीसंगले हुन्छ भनी खानपीन समेत गरी वाहीर खाटको ओछ्यानमा म र भुईमा गजवीरलाई सुत्ने व्यवस्था गरेकी हुन । त्यसै वखत गजवीर र मेरो पुर्व सल्लाह अनुसार मैले नन्दीसराको पछाडि पटृी गर्दनमा समाती पल्टाएं र गजवीरले हातमा रहेको छाताको खोलले निजको घांटीमा एकसरो गांठो पारेपछि दुवैले एक छेउ वानेर कसेर पुनः अर्को गांठोपारी मलाई सुत्न भनिएको खाटमा पल्टाई दिंदा छोरी इन्द्र थापा उठी आमा भनेकीले नाम्लोको वरियाले निजको घांटीमा कसेर गांठो पारी गजवीर र म समेतले इन्द्र थापालाई समेत मारेका हौ । नन्दीसराको दुवै कानको माडवारी वुलाकी र रु.११४। समेत लिएको हो । साहु वुझाएको हुं । म र गजवीरका संयुक्त मिलेमतोबाट नै दुवै जना आमा छोरी नन्दीसरा र इन्द्र थापा मगर्नीलाई कर्तव्य गरी मारेका हौं भन्ने समेत व्यहोराको धनवीर आले मगरले जिल्ला प्रहरी कार्यालयमा गरेको वयान ।
५. यसमा नन्दीसरा र इन्द्रलाई कर्तव्य गरी मारेको कुरा थाहा पाई घटनास्थलमा पुगी हेर्दा मैले मृतकलाई देखेको हुं । धनवीर आले मगरलाई पक्राउ गरी कुटपिट गर्दा मलाई पोलेका हुन । निजको साथ लागि मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको अभियुक्त देवान सिंह थापाको इन्कारी वयान कागज ।
६. घटना घटेको कुरा थाहा पाई हेर्न जांदा लास जांच मुचुल्कामा लेखिएको अवस्था मृतकलाई देखेको हुं । धनवीर आलेसंग मेरो भेट भएको छैन र मृतकसंग कुनै पुर्व रिसइवी नहुंदा मैले मार्नु पर्ने कारण छैन र मैले मारेको होइन भन्ने समेत व्यहोराको पुर्ण वहादुर कामीको वयान कागज ।
७. मिति ०४३।५।९ गतेका दिन नन्दीसराको घरमा गई हेर्दा लास जांच मुचुल्कामा लेखिएको अवस्था देखेको हुं । मलाई चिनजान भएको कारणवाट पोल गरे होलान मृतकलाई मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको गम्भीरे भन्ने गम वहादुर दमाईको जिल्ला प्रहरी कार्यालय स्याङजामा भएको कागज ।
८. यस्मा नन्दीसरा र निजको छोरी इन्द्र थापा जना २ लाई लामा भन्ने धनवीर आले मगर र सेते भन्ने राजवीर सुनार समेत २ जनाले मारेको र धनमाल लगेको शंका लाग्दछ । देवान सिंह राम वहादुर पुर्ण वहादुर राम्रो चालचलन भएको व्यक्ति हुंदा निजहरुले कर्तव्य गरी मारेको शंका लाग्दैन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
९. यस्मा नन्दीसरा र इन्द्र थापालाई घांटीमा छाताको खोल र नाम्लोको डोरीले वांधी कसेर मारेको र नगद रु.११४। समेत नन्दीसराले नाक कानमा लगाएको वूलाकी, माडवारी चोरी गरी रु.२७०२। मा विक्रि गरी गजवीर र मैले वांडी खाएं र मासेको हुं भनी कशूरमा सावित भई नन्दीसरा र इन्द्रा थापालाई सास्ती सासना दिई ज्यान मारेको देखिन आएकोले लामा भन्ने धनवीर आले मगर सेते भन्ने गजवीर सुनारलाई ज्यान सम्वन्धीको १३(क) नं. अनुसार सजायं मागदावी गरिएको साथै दुवै जनाले ज्यान मारी चोरी लगेको नगद रु.११४। र माडवारी वुलाकी विक्रि गरी आएको रु. २७०२। समेत जम्मा रु.२८१६। मृतकको लोग्ने चेत वहादुर थापालाई वरावरको दरले चोरीको १० नं. अनुसार भराई दिलाउन दावी लिई पक्राउमा परेका लामा भन्ने धनवीर आले मगरलाई यसै साथ पेश गरेको छु भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
१०. ०४३ साल भाद्र १४ गतेका दिन म मेरो ससुराली राङरुङतिर गई रहको वेला ८०।९० जना मानिस जम्मा भई तं धनवीर समेतले नन्दीसरा, इन्द्र थापाको ज्यान मारेको हो भनी कुटपीट गर्न थालेकोले कुटपिटका डरले म समेत सेते भन्ने जगवीर सुनार, विभान सिंह थापा, पुर्णे कामी र गम्भीर दमाई समेतका ५ जनाले मृतकलाई कर्तव्य गरी मारेका हौं भनेको हुं। ऐ १५ गते प्रहरी समक्ष पनि कुटपीटका डरले सोही मिलानको व्यहोरा व्यक्त गरेको हुं । सर्जमिनका मानिसले किन शंका गरे मलाई थाहा छैन । आज देखाएको छाता मेरै हो तर छाताको खोल कुन छाताको हो भन्न सक्दिन भन्ने समेत व्यहोराको अभियुक्त धनवीर आले मगरले अदालतमा गरेको वयान ।
११. ०४३।८।१४ गते तामेल भएको म्यादी पुर्जी फरार भई वसेको गजवीर सुनारको अंश रोक्का भई आएको मुचुल्का समेत मिसिल सामेल रहेको ।
१२. यस्मा सवुद प्रमाणको आधारमा लामा भन्ने धनवीर आले मगरले कर्तव्य गरी मारेको ठहर्छ । जम्मा विगो रु. २८१६। को आधा रु. १४०८। को धनमाल चोरी गरेको ठहर्छ । ज्यान सम्वन्धी महलको १३ नं. को देहाय दफा (३) वमोजिम जन्म कैद हुन्छ । फरार रहेका अभियुक्त गजवीर सुनारको हकमा अ.वं. १९४ नं. वमोजिम मुलतवी राखी दिने ठहर्छ भन्ने समेत शूरु स्याङजा जिल्ला अदालतको फैसला ।
१३. शूरु स्याङजा जिल्ला अदालतले गरेको त्रुटिपुर्ण फैसला चित्त वुझेन । उक्त फैसला वदर गरी मलाई सफाई दिई कैदवाट मुक्त गरी पाउं भन्ने समेत व्यहोराको जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको प्र.धनवीर आले मगरको गण्डकी अंचल अदालत पर्न आएको पुनरावेदन पत्र ।
१४. शूरु स्याङजा जिल्ला अदालतले ज्या.सं.को १३(३) नं. वमोजिम जन्मकैद गर्ने गरेको फैसला स्पष्ट त्रुटीपुर्ण छ । प्र.धनवीर आलेलाई प्रहरी प्रतिवेदन माग दावी वमोजिम नै सजायं गरी पाउन सादर अनुरोध छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फवाट ग.अं.अ.मा. पर्न आएको पुनरावेदन पत्र ।
१५. यस्मा अभियुक्त धनवीर आले मगरले अदालतमा आई आफ्नो स्वेच्छाले वयान गर्दा मृतक नन्दीसरा र छोरी इन्द्र थापालाई मार्नूमा कुनै न कुनै रुपमा आफ्नो संलग्नता रहेको कुरा दर्शाएका छन भने यसरी सावित भई अपराध गरेकोमा अन्य कुनै आधार प्रमाणवाट पुष्टि हुन पर्ने हो सो कुरा निजले आफ्नो शूरु वयान लगायत पुनरावेदन जिकिरमा समेत कुनै सवुद प्रमाण पुर्याउन सकेको नदेखिंदा शूरु जिल्ला अदालतले जन्म कैद गर्ने गरी गरेको निर्णय मनासिव छ । अर्को प्रतिवादी सेते भन्ने गजवीर सुनारको हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी राख्नू पर्नेमा गल्ती नं. उल्लेख गरी मुलतवी राखिएको आदेशमा अ.वं. १९० नं. अनुसार मुलतवी राखने, पुनरावेदकहरुको पुनरावेदन जिकिर पूग्न नसक्नेक ठहर्छ भन्ने समेत २०४५।७।१० को ग.अं.अ.को फैसला ।
१६. यस्मा प्रहरी प्रतिवेदनमा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १३(क) नं. वमोजिम सजायंका. माग दावी लिएकोमा १३(३) अनुसार जन्मकैदको मात्र सजायं गरेको उक्त ग.अं.अ.को फैसलामा चित्त वुझेन । उक्त फैसला वदर गरी दावी वमोजिम गरी पाउं भन्ने समेत वादी श्री ५ को सरकार तर्फको र मैले अपराध गरेको भनी सर्जमिनका मानिसहरुले पनि किटानीसाथ भन्न नसकेको अवस्थामा शंका एवं विश्वास लाग्छ भनी लेखाए तापनि उक्त व्यक्तिहरु अदालतमा आई वकपत्र नगरेसम्म उक्त भनाईलाई खम्वीर मान्न नमिल्नेमा परिस्थिति, तथ्य, कानून एवं नजीर समेतको विपरित गरी भएको ग.अं.अ.को फैसला वदर गरी अभियोगवाट पुर्ण रुपमा सफाई पाउं भन्ने समेत प्रतिवादी लामा भन्ने धनवीर आले मगरको प.क्षे.अ.मा परेको छटृा छट्टै पुनरावेदन पत्र ।
१७. लास जांच मुचुल्कामा उल्लेखित मृतक नन्दीसराको घांटीमा नाइलनको छाताको खोल कसीनु र प्र.धनवीर आले मगरसंग खोल वेगरको चाइनिज छाता वरामद हुनु एवं शव परिक्षण प्रतिवेदनवाट नन्दीसराको मृत्यु घांटी कसी मारिएको भन्ने समेत प्रमाण परिवन्दको अलावा नन्दीसराको कानमा भएको माडवारी समेत लगेको तथ्यलाई कानवाट रगत आएको तथ्य घाउ भएको भनी घटनास्थल प्रकृति मुचुल्का तथा शव परिक्षण प्रतिवेदनमा उल्लेख हुनवाट निज प्र.धनवीर आले मगरले प्रहरीमा गरेको वयान कागजलाई गुदद्वारमा खुर्सानी हाली दिएकोले त्यस्तो कागज गरेको भने तापनि अर्को तिर सर्जमिनका मानिसहरुको कुटपिट गरी सावित गराई प्रहरीमा वुझाई दिएका हुन भन्ने देखिन्छ । निजलाई कुटपिट गरेको भए घा जांच गराउनु सक्नु पर्नेमा सो गरेको पाइदैन । मौका वारदातको दिन अन्यत्र भएको वा निजले आरोपित कसुर नगरेको भन्ने समेत कुनै प्रमाण दिन नसकेको हुंदा अदालतमा आई इन्कार रही गरेको वयान प्रतित लायक देखिन नआएकोले उपरोक्त प्रमाणको आधारमा प्र.धनवीर आले मगरलाई ज्यान सम्वन्धीको १३(३) वमोजिम जन्मकैदको सजायं गर्ने गरी शूरुको इन्साफ सदर गरेको ग.अं.अ.को पुनरावेदन फैसला मनासिव ठहर्छ भन्ने प.क्षे.अ.को मिति ०४६।२।२९ को फैसला ।
१८. मिति ०४६।२।२९ मा प.क्षे.अ. ले गरेको फैसलामा चित्त वुझेन उक्त इन्साफ त्रुटिपुर्ण हुंदा वदर गरी आरोपित कसुरवाट सफाई पाउं भन्ने प्रतिवादी धनवीर आले मगरको यस अदालतमा पुनरावेदन परी आएको र साधक जांचको लागि समेत साधकको लगतमा दर्ता हुन आएको ।
१९. प्र.धनवीर आले मगरलाई ज्यान सम्वन्धी १३(३) वमोजिम जन्मकैद गरेको शूरु जि.अ.का.इन्साफ सदर गरेको ग.अं.अ.को इन्साफ मनासिव ठहराएको प.क्षे.अ.को इन्साफ मिलेन। प्र.धनवीर आले मगरले सफाई पाउने ठहर्छ । सेते भन्ने जगवीरको हकमा मुलतवी रहेकोले सो तर्फ वोल्नू परेन । शूरु जि.अ.को इन्साफ सदर गरेको ग.अं.अ.को इन्साफ सदर गरेको सहयोगी मा.न्या. श्री ओमभक्त श्रेष्ठको रायसंग मेरो सहमती नहुंदा स.अ.नियमावलीको नियम द्दण्द्दज्ञ वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको मा.न्या.त्रिलोक प्रताप राणाको राय ।
२०. प्रत्यक्ष सवुदको अभावमा मेरा पक्षलाई गढाउ गर्न मिल्ने कुरा नहुंदा शंकाको सुविधा मेरो पक्षले पाउनु पर्छ भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताको वहससंग सहमत नहुंदा आरोपित कसुरवाट सफाई पाउनु पर्छ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मा.न्या.त्रिलोक प्रताप राणाले शंकाको सुविधा दिई प्र.धनवीर आले मगरलाई सफाई दिने गरेको रायसंग मेरो राय मिलान हुन नसकेकोले नियमानूसार गरी पुर्ण इजलासमा पेश गर्नू भन्ने व्यहोराको मा.न्या.ओमभक्त श्रेष्ठको राय ।
२१. नियम वमोजिम पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा विद्वान अधिवक्ताद्वय पवन भटृराई तथा अमिता लक्ष्मी श्रेष्ठले जाहेरवालाको किटानी जाहेरी दरखास्त परेको छैन, वारदात घटेको देख्ने चश्मदीत प्रमाणको अभाव छ, प्रहरीमा भएको मेरो पक्षको वयान स्वतन्त्र प्रमाणवाट समर्थित भएको देखिदैन, मेरो पक्षले नै अपराध गरेको हो भन्ने ठोस सवुद प्रमाण वादी श्री ५ को सरकारले पेश गर्न सकेको छैन भन्ने र श्री ५ को सरकार तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री कृष्णराम श्रेष्ठले मृतकको मृत्यू कर्तव्यवाटै भएकोमा कुनै विवाद छैन। प्रतिवादी धनवीर आले मगरले मृतकलाई कर्तव्य गरी मारेकोमा प्रहरीमा सावित छ । अपराध हुंदा चश्मदित व्यक्ति हुनै पर्छ भन्न मिल्दैन । प्रतिवादीले मृतकको घांटी छाताको खोलले वांधी अठ्ठाई मारेको भनी प्रहरीमा वयान गरेको छ । छाताको खोल घटनास्थलवाट वरामद भएको, मुचुल्कावाट देखिन्छ । तसर्थ धनवीर आले मगरलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजायं हुने गरेको माननीय न्यायाधीश ओमभक्त श्रेष्ठको राय सदर हुनु पर्छ भन्ने वहस प्रस्तुत गर्नुभयो ।
२२. आज निर्णय सुनाउन पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा मिति ०४३।५।१० मा मृतकको दाजू लाल वहादुर थापा मगरको जाहेरी दरखास्त परेको देखिन्छ । जाहेरी दरखास्तमा बहिनी नन्दीसरा र निजको ९ वर्षकी छोरी इन्द्र थापालाई नमालुम कस्ले कर्तव्य गरी मारेकोले अपराधीहरुको सूराक पत्ता लगाई कसुर वमोजिम सजायं गरी पाउं भन्ने जाहेरी दरखास्त परेको देखिन्छ । जाहेरी दरखास्तमा कसै उपर किटान गरिएको पनि देखिदैन, र मृतकलाई कर्तव्य गरी के कति धनमाल लगे सो जाहेरी दररखास्तमा खूलेको देखिदैन । गा. पं. भित्रै भन्ज्याङको डोरमा परेको पत्रानूसार लामा भन्ने हाल नाम थाहा हुन आएको धनवीर आले मगरलाई चित्रे भन्ज्याङ गा. वि. स. का गाउंलेहरु समेतको सहयोगवाट पक्राउ गरी सोधपुछ गर्दा लामा भन्ने धनविर आले मगरले आफु समेत भई नन्दीसरा थापा र निजको छोरी इन्द्र थापालाई कर्तव्य गरी मारेको हौं भनि चित्रै भन्ज्याङ गा. वि. स. का मानिसहरुको रोहवरमा भनेकोले धनवीर आले मगरलाई पक्राउ गरी दाखिल गरेको मिति ०४३।५।ज्ञढ को प्रतिवेदनवाट देखिन्छ । मिति ०४५।५।२० मा प्र. धनवीर आले मगरले प्रहरीमा वयान गर्दा आफ्नो छाताको खोलले नन्दीसरालाई आफु समेत भई घांटीमा एक सरो तानी मारेको र इन्द्रा थापालाई नाम्लोले घांटीमा कसी मारेको भनी मृतकलाई कर्तव्य गरी मारेकोमा सावित हुंदै पुर्व सल्लाह अनुसार गहना रुपैंया लिनको लागि मारेको र नन्दीसराको कानको माडवारी लाने नाम थाहा नभएको सूनको दूकानमा लगी विक्रि गरी रु.११४। लिएको भन्ने वयानवाट देखिन्छ ।
२३. वादी श्री ५ को सरकार तर्फवाट धनवीर आले मगर समेत उपर अभियोग लगाई मुद्दा दायर गर्दा अभियोग पत्रमा मुख्य आधार प्र.धनवीर आले मगरको प्रहरीमा भएको साविती वयान, दिलवहादुर विश्वकर्माको भनाई, र घटनास्थल प्रकृति मुचुल्कालाइ लिएको देखिन्छ ।
२४. प्रतिवादी धनवीर आले मगरले अदालतमा आएर वयान गर्दा आफुले मृतक नन्दीसरा समेतलाई कर्तब्य गरी मारेमा इन्कार भई बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रहरीले चाकमा खुर्सानी हाली यातना दिई प्रहरीले आफै लेखि सही गर भनेकोले मैले सही गरेको मैले स्वइच्छाले गरेको होइन भनी वयान गरेको देखिन्छ। चित्रे भन्ज्याङ गा.पं. कार्यालयले उक्त वारदात प्र. धनवीर आले मगरले गरेको शंका देखाई लेखेको पत्रको आधारबाट प्र. धनवीर आले मगर पक्राउ भएको र प्र. धनवीर आले मगर मृतकको घरमा आउने जाने गर्दथ्यो भनी सो आधार देखाई उक्त वारदात प्र. धनवीर आले मगर समेतबाट भएको भन्ने चित्रे भन्ज्याङ गा.पं. कार्यालयको शंका छ । गाउं पंचायतले गरेको शंका कुनै ठोस आधारबाट प्रमाणित हुन सकेको देखिदैन । शंका स्वयमले प्रमाणको स्थान ग्रहण गर्न सक्दैन ।
२५. चित्र भन्ज्याड. गाउं पंचायत कार्यालयको पत्रमा जिवित रहेको छोराको भनाई अनुसार खाना खाइ भित्र सूतेर ढोका लगाई फलामको गजवार लगाएको भन्ने भनाई भएको पाइन्छ । अनुसन्धानको सिलसिलामा जिवित छोराको कागज गराई वारदातको रात के कसो भएको के कस्ता मानिसहरु घरमा आएका थिंए खूलाउन लगाउन पर्नेमा त्यसतर्फ त्यस्तो कार्य भएको पाइदैंन ।
२६. साथै सोही पत्रमा तनहुं जिल्ला अरुणोदय गा.पं. वार्ड नं. द्द वस्ने इन्द्र सुनारको छोरा सेते भन्ने सुनारले ज्ञ जना लामा धामी काम गर्ने मानिस लिएर मृतकको घरमा यसभन्दा अगाडी पटक पटक आउने गरेको र घटना हुने दिन अन्दाजी ६.३० वजे सांझ पनि फरङस्वारको मृतकको घर तर्फ आउने बाटो काटी आएको समेत यस गा.पं. अन्तर्गत वडा नं. ३ वस्ने डिल्ले कामीले थाहा पाएको भन्ने उल्लेख भएको पाइन्छ । तर सोही डिल्ले कामी भन्ने डिल्ली वहादुर विश्वकर्माले ०४३।५।८ गते सांझ गोठवाट घांसपात गरी घर आउन लाग्दा मृतक नन्दीसराको घरतर्फ जाने बाटो र हटिया तर्फ जाने दोबाटो परको ठाउंमा मृतक नन्दीसराको घर बाङ्गेसरा जाने बाटो तर्फ लागी लामा भन्ने धनवीर आले र सेते भन्ने गजवीर सुनार हिडींरहेको देखेको भनी सर्जमिनमा लेखाई दिएको र दिल्ली वहादुर विश्वकर्माले नै अदालतमा आइ वकपत्र गर्दा उक्त दिन मेरो गोठमा भैंसीलाइ घांस दिन सांझ ७ वजे जांदा प्रतिवादिहरुलाइ मृतकहरुको घरतर्फ जान लागेको देखे भनि वकपत्र गरेको देखिन्छ । कस्तो अवस्थामा प्रतिवादीलाई देखेको भन्ने सम्वन्धमा प्रहरीमा गरेको वयान र अदालतमा भएको बकपत्रमा एकरुपता देखिंदैन । प्रतिवादीलाई डील बहादुरले बाटोमा देख्दैमा निजहरु मृतककै घरमा गए होलान भनी अनुमान गर्न मिल्ने देखिदैन ।
२७. प्रतिवादीले प्रहरीमा वयान गर्दा पुर्वयोजना अनुसार नगद एवं सुनको लागि हत्या गरेको भन्ने उल्लेख गरेको छ । तर पुर्व योजना अनुसार हत्या गर्न जांदा मानिस मर्न सक्ने किसिमको हात हतियार बोकेर गएको हुनुपर्ने वा मार्ने पुर्व षडयन्त्र भएको हुनुपर्नेतर प्रस्तुत मुद्दामा हतियारको प्रयोग भएको पनि देखिंदैन र षडयन्त्र भएको पनि देखिन आएको छैन । साथै प्रतिवादीको प्रहरीमा भएको बयान र जाहेरी दरखास्त समेतवाट दुइटा सुनको माडवारी र नगद चोरी भएको पाइन्छ । प्रतिवादीले प्रहरीमा बयान गर्दा सुनको माडवारी नाम थाहा नभएको सुनारलाई वेचेको भन्ने प्र.धनवीर आले मगरको प्रहरीमा भएको कागजवाट देखिन्छ । गाउं घरमा नाउं थाहा नपाउदैमा सून किन्ने सुनार पत्ता लगाउन नसक्ने भन्न मिल्दैन । माडवारी किन्ने सुनार को थियो भन्ने तर्फ प्रतिवादी धनवीर आले मगरलाई देखाउन लगाइ सत्य पत्ता लगाउने तर्फ प्रयास भएको देखिदैन । मृतकको लगाउने गरेको माडवारी बरामद हुन सकेको देखिदैन ।
२८. प्रतिवादी लामा भन्ने धनवीर आले मगरसंगवाट छाता बरामद गरेको देखिन्छ । प्रतिवादी धनवीर आले मगरले प्रहरीमा बयान गर्दा मृतक नन्दीसरालाई कर्तव्य गरी मार्दा प्रयोग गरेको छाताको खोल बरामद हुन आएको छाताको हो भनी बयान गरे पनि अदालतमा आएर बयान गर्दा इन्कार भइ बयान गरेको देखिन्छ र मृतक नन्दिसराको घांटीमा प्रयोग भएको खोल प्रतिवादी धनवीर आले मगरसंगवाट बरामद भएको छाताकै हो भन्ने कुनै आधार पनि देखिदैन । एउटा चाइनिज छाताको खोल अर्को चाइनिज छातामा नमिल्न सक्ने पनि देखिदैन । मनीसराको घांटीमा प्रयोग भएको छाताको खोल बरामद भएको छाताकै हो भन्ने कुनै विशिष्टता मिसिल संलग्न प्रमाणवाट देखिदैन । यसरी मिसिल संलग्न प्रमाण हेर्दा मृतक नन्दीसरा र इन्दिरा थापालाई कर्तव्य गरी मारी नन्दिसराको कानमा लगाएको माडवारी र धनमाल चोरी गरी लगेको भनिए पनि चोरी भएको मालसामान दसीको रुपमा बरामद हुन सकेको देखिदैन । वारदात भएको चश्मदित व्यक्तिको अभाव देखिन्छ । केवल शंका र अनुमानको आधारमा व्यक्त गरिएका कुरालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । प्रतिवादी प्रहरीमा वयान गर्दा साविति भए पनि उक्त साविति अन्य स्वतन्त्र प्रमाणबाट समर्थित समेत हुन सकेको देखिंदैन । शंकाको सुविधा अभियुक्तले पाउने हुंदा आरोपित कसुरबाट सफाई पाउने ठहर्याएको संयुक्त इजलासको माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्छ । थुनामा रहेको प्रतिवादी धनवीर आले मगरलाई अन्य मुद्दावाट थूनामा राख्न नपर्ने भए थूनावाट छाडि दिनू भनी सम्वन्धित कारागारका नाउंमा आजै छुटै आदेश भइसकेकोले कानून वमोजिम गरी मिसिल वुझाई दिनु ।
उक्त रायमा हामीहरुको सहमती छ ।
न्या.हरगोविन्द सिंह प्रधान
न्या.कृष्णजंग रायमाझी
इति संवत २०५१ साल मंसिर १५ गते रोज ५ शुभम् ..... ।