शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६४४ - अंश दपोट दर्ता बदर

भाग: २५ साल: २०४० महिना: श्रावण अंक:

निर्णय नं. १६४४     ने.का.प. २०४० अङ्क ४

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहदुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

सम्वत् २०३८ सालको दे.पु.नं. १३८

फैसला भएको मिति : २०४०।३।१०।६ मा

निवेदिका/वादी : गण्डकी अञ्चल तनहुँ जिल्ला किहुं गा.पं.वार्ड नं.३ बस्ने केशरी पाध्यानी

विरूद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने टिकानिधी पाध्या समेत

मुद्दा : अंश दपोट दर्ता बदर

(१)                मानो छुट्टिएको मितिभन्दा पछि राजीनामाबाट आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्नसक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्‍याएको इन्साफ मनासिव हुने ।

(प्रकरण नं. १२)

फैसला

प्र.न्या.नयनबहादुर खत्री

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलाको इन्साफ जाँच गरी दिनु भन्ने श्री सर्वोच्च अदालतका नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भनी निवेदिका केशरी पाध्यानीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाउनुभएको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए यसमा लेखिएको पश्मिाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको अंश दपोट दर्ता बदर मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेबमोजिम यस अदालतको विविध लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    विपक्षहरू मेरा देवर, जेठाजु, जेठानीहरू हुन् र निजले मलाई खान लाउन समेत नदिई कुटपिट लुटपिट गरेकाले अंश दपोटमा मेरो उजूर परेपछि निजहरूले तायदाती फाँटवारी दिँदा तनहुँ डुम्रे बेंसी मौजाको भगवत जिम्माको धिरीङ गजरकोट मध्ये डुम्रे बेंसी बस्ने तारानाथ पाध्याबाट राजीनामा गरी लिएको पूर्व सातबिसे खोला समेतका ४ किल्ला भित्रको पुरन्डी भन्ने खेत मुरी ४६१७४ जग्गा तायदातीमा नदेखाई आफूले मात्र खानपाउने सल्लाहा गरेछन सो दबाएको सम्पत्ति टंकनाथले तायदातीमा चढाई पाउँ भनी उजूर गरेछन र अरू अंशियारहरूले ०९ सालमा मानु छुट्टिए पछि ०१३ सालमा किनेको निजको जग्गा हुँदा बण्डा नहुने व्यहोराको प्रतिउत्तर दिई आखिरी मलाई नदिई टंकनाथ समेतका अंशियारहरूले खाने बन्दोवस्त गरेछन र टंकनाथले तारेख छाडी मुद्दा डिसमिस गराएछन सो जग्गा तायदातीमा नदेखाई दबाउने विपक्षहरूले नपाई मैले एकलौटी खान पाउने कुरा अंशबण्डाको २७ नं.मा प्रष्ट व्यवस्था भइरहेको हुनाले सो जग्गा सबै मेरो कायम गराई सर्भे जाँचका दर्ता श्रेस्ता गराई दिनुपर्ने कलम १ निज विपक्षको तायदातीमा लेखिएको छ । (साविक पेज नं. १२८) ६ बण्डाको १ बण्डा मैले पाउने बण्डा छुट्टाई जि.मु.भगवत जिम्मा उमानिधीका नाउँमा दर्ता भएमध्ये पूर्व कुलो समेतका ४ किल्ला भित्रको खेत मुरी ।२।१७।५।२ को पुरेन्डी भन्ने खेत कित्ता १ ऐ.जिम्मा ऐ.का नाउँमा दर्ता भएको पूर्व सदारको खेत समेतका ४ किल्ला भित्रको खेत मुरी ।१।९।५ को लामा खेत भन्ने कित्ता १ जि.मु.डोलराज जिम्माको पूर्व सालगडी कुलो समेतका ४ किल्ला भित्रको सालगडी भन्ने पाखो कित्ता १ ऐ.जिम्मा पूर्व दिनानाथ समेतको खेत समेतका ४ किल्ला भित्रको पाखो बारी भन्ने कित्ता १ समेत उक्त ६८ दफामा लेखिएका मेरा अंश भागमा परेका जग्गाहरू सर्भे जाँचमा मेरा नाउँमा दर्ता गरी दिनु विपक्षहरूले आÇना नाउँमा दर्ता गराएको बदर गरी विन्तिपत्रवालाका नाउँमा दर्ता गराउनु भनी हुकुम प्रमांगी बक्स पाउँ भन्ने केशरी पाध्यानीका निवेदन पेश हुँदा व्यहोरा साँचो भए त्यस अञ्चल अदालतबाट ठाडै बुझी कानुन बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई आएको ।

३.    हु.प्र.सहितको निवेदन ग.अं.बाट पढी बाँची सुनाउँदा सुनी पाएँ सो निवेदन मैले दिएको हुँ। म र विपक्ष टिकानीधी समेत उपर अंश मुद्दा परी अंशको फाँटवारी लिँदा मेरो निवेदनको दफा १ मा लेखिएको ४ किल्ला भित्रको सालडिही भन्ने खेत मुरी ।४६।१७।४ को कित्ता १ सगोलको सम्पत्ति विपक्ष टिकानिधीले तायदाती दिँदा उक्त खेत नदेखाई एकलौटी खाने विचारले दबाएको सो जग्गा म समेतले बण्डा गरी खान पाउने भनी टंकनाथले दपोट मुद्दा पारी कारवाई हुँदाहुँदै वादी प्रतिवादी घरसारमा मिली मुद्दामा तारेख छाडी डिसमिस गराएको फैसला स्याङ्जा जिल्लामा छ सो निवेदन जिकिर बमोजिम अंशबण्डाका २७ नं.बमोजिम मैले एकलौटी खान पाउने निवेदन को दफा ५ देखि ९ सम्मको ४ किल्ला भित्रको जग्गा अंशबण्डा हुँदा तनहुँ जिल्ला अदालतबाट बण्डा छुट्टाइएको ०२६।१०।६ गतेका बण्डापत्र भरपाई अनुसार मेरो अंश भागमा परेको जग्गा ।४६।१७।४ को कित्ता १ रू.१०००। मोलिन्छ निवेदनमा लेखिएको खेत मुरी ।४६।१७।४ को कित्ता एकलौटी खान पाउने हुँदा विपक्षले दर्ता गराएको दर्ता बदर गरी मेरा नाउँमा दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको ०३२।२।९।५ को केशरी पाध्याको बयान ।

४.    वादी निवेदक केशरी पाध्यानीको निवेदन र बयान सुने त्यसमा मेरा व्यहोरा यो छ की सार्लाडही भन्ने अं.।४६ मुरी माटो अघि ९०।९१ सालमा तारानाथका नाउँमा खेत दर्ता भई पानी नपुगी पर्ति नै रहन गई हामीहरूको एकै चकला ।१४ खेत हुँदा कुलो खर्च दामासाहीले हाल्नुहोस खेत हामीलाई नै राजीनामा गरी दिनुहोस भन्दा कुलो खर्चमा मिसिन सक्दिन हालसम्मको मेरो तिरो खर्च दिनुहोस भन्दा हामी मूल्य रू.९९।को दरले म टिकानिधि र दयानिधिले ।२३ मुरी माटो १३ सालमा राजीनामा गरी लिई ०१४ सालमा नगदी रू.९०००। मा अन्दाज मुरी ३० दिई आग्री लगाई कुलो कटाई आवाद गरी आएको छु दाजु दयानिधीले सो समेतको सबै पहाडको घर जग्गा राजीनामा गरी ०३२।१।१८ गते रू.९५००।मा सोही वादी दावीको ।४१ मुरी मध्येको माटो मुरी २३। मा १९ मुरी मलाई र बाँकी ४ मुरी यज्ञमूर्तिलाई के कतिमा राजीनामा गरी दिनुभएको छ दावी बमोजिम दपोट गरी खाएको हैन ४ कित्ता जग्गा आÇना नाउँमा दर्ता गराए भन्ने हकमा पुरेन्डीही र लामा खेत २ (साविक पेज नं. १२९) कित्ता जग्गा निजका भाग अंशको निजकै नाउँमा दर्ता भइरहेको छ अरू पाखो जग्गामा पनि निजको अंश मैले दर्ता गराएको छैन भन्ने समेत व्यहोराको टिकानिधी पाध्याले ०३२।६।७।३ मा गण्डकी अञ्चल अदालतमा गरेको बयान ।

५.    प्रतिवादी मध्यका अन्य लिलाकुमारी १ उमानिधी पाध्या १ टंकनाथ पाध्या १ समेतजना ३ ले ग.अं.अ.बाट तामेल भएको ०३२।४।१८ को म्यादभित्र बयान प्रतिउत्तर नदिई शुरू म्यादै गुजारी बसेको ।

६.    यिनै वादी प्रतिवादीहरू उपर स्याङजा जिल्ला अदालतमा मिति ०२२।७।२४।३ मा दिएको मुद्दा डिसमिस भएको र उक्त दपोट गरे भनेको जग्गा दपोट गरेको भए अरू अंशियार समेतले उजूर गर्न पर्ने र ०१३।१२।१५।५ को घरायसी राजीनामालाई जालसाजी ठहराउन मिलेन यस स्थितिमा दपोट भयो भनी वादीले देखाएको कि.नं.३२१ वादी प्रतिवादी मानु चामल छुट्टिएको मिति ०९ साल आश्विन मसान्त भन्दा पछि ०१३ सालमा मात्र राजीनामा भएको देखियो सर्वोच्च अदालतबाट ०२६।४।२९ मा भएको फैसलामा उल्लेख भएअनुसार मैले पाउने अंशको जग्गा पाइन भनी दावी लिएको जग्गाहरू वादीको नाउँमा पुनः दर्ता गराउन नपर्ने भएकोले ३२१ को जग्गा दपोट भएको पनि नदेखिएकोले वादी दावा झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अदालतको फैसला ।

७.    उपरोक्त गण्डकी अञ्चल अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको केशरी पाध्यानीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।

८.    यसमा पुनरावेदक वादीले प्रतिवादीहरू उपर दपोट गरे भनी दावी गरेको सालडिही भन्ने खेतको तिरो तालुकदारलाई बुझाएको ०२०।१।७।७ को रसीद पुनरावेदन साथ पेश गरेको देखिएको र प्रतिवादीका भनाई बमोजिम ०१३ सालमा घरसारमा राजीनामा गरी लिएको भए ००९ सालमा मानो छुट्टिइको वादीले सो जग्गा को तिरो तिर्नु नपर्ने हुँदा दपोट नठहराएको गण्डकी अञ्चल अदालतको इन्साफ मिलेको नदेखिँदा अ.बं.२०२ नं.र क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षीहरूलाई नियमानुसार छलफलको लागि नोटिस म्याद पठाई डिभिजनको लगतमा दर्ता गरी पेश गर्नु भन्ने यस अदालतका सिड्डलबेञ्चको ०३६।७।२० गतेको आदेश ।

९.    ०१३।१२।१५।५ को रू.९९।को घरसारको दुई राजीनामा लिखतहरूमा लिखतहरूलाई पुनरावेदक (वादी) केशरी पाध्याले पछिबाट लिखत फेरी जालसाज गरेका हुन तारानाथबाट २००१ साल भई आर्जन भएको हो भन्ने बयान गरेको तर पुनरावेदकबाट सो को सबूत गुज्रन आएको छैन अतः सबूतको अभावमा ०१३।१२।१५।५ का राजीनामा लिखत सद्धे नै कायम हुन आउँदछ सर्वोच्च अदालतबाट ००९ साल आश्विन मसान्त मानु छुट्टिएको मिति कायम गरी पुनरावेदकले अंश पाउने ठहरी फैसला भएबाट मानु छुट्टिएको मिति पछि ०१३।१२।१५ मा प्रत्यर्थी टिकानिधीले आर्जन गरेको सम्पत्तिमा अंशबण्डाको १८ नं.ले पुनरावेदकको दावी पुग्न नसक्ने हुँदा सालडिही भन्ने जग्गा दपोट गरे भन्ने समेत पुनरावेदकको दावी पुग्न नसक्ने ठहराई गण्डकी अञ्चल अदालतले गरेको इन्साफ मनासिव देखिँदा सदर हुन्छ अरू कलममा तपसील बमोजिम गर्नु भन्ने २०३७ साल बैशाख २६ गते पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला ।

१०.    पश्चिमाञ्च क्षेत्रीय अदालतबाट गरेको उक्त फैसलामा इन्साफ जाँची कानुन बमोजिम गर्नु भनी बक्स (साविक पेज नं. १३०)  भई आएका हुकुम प्रमांगी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी सम्बन्धित मिसिल झिकाई निवेदिकालाई दिन ७ को म्याद दिई नियम बमोजिम डिभिजनबेञ्चमा पेश गर्न मुद्दा शाखामा बुझाई दिनु भन्ने मिति ०३८।६।१६।६ को सिड्डलबेञ्चको आदेश ।

११.    तनहुँ माल कार्यालय समेतबाट दर्ता उतार झिकाई आए पछि नियम बमोजिम पेश गर्नु भन्ने मिति ०३९।५।२९।३ को डिभिजनबेञ्चको आदेश ।

१२.   प्रस्तुत मुद्दमा निवेदिका केशरी उपाध्यानीको वारिस प्रेमबहादुरलाई रोहवरमा राखी छलफल गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव छ छैन भन्ने तर्फ विचार गर्दा यसमा विवादास्पद जग्गा प्रत्यर्थीहरूले तायदातीमा नदेखाई दपोट गरेबाट निवेदिकाले एकलौटी खान पाउने कुरा अंशबण्डाको २७ नं.मा स्पष्ट व्यवस्था भएको हुनाले सो जग्गा सबै निवेदिकाको कायम गरिपाउँ भन्ने समेत वादी दावी भएकोमा ०१३।१२।१५ मा रू.९९।को घरसारको राजीनामा लिखत गराई तारानाथबाट लिएको भन्ने प्रत्यर्थीको भनाई देखिन्छ । सो लिखित जालसाजीबाट खडा गरेको हो भन्ने तथ्ययुक्त प्रमाण वादीबाट आउन सकेको छैन । प्रमाणको अभावमा सो लिखतलाई अन्यथा भन्न सक्ने अवस्था रहेन । निवेदिकासँग मानो छुट्टिएको मिति भन्दा पछि राजीनामाबाट प्रत्यर्थीहरूले सो सम्पत्ति आर्जन गरेको देखिन आउँछ । यस्तो सम्पत्तिमा निवेदिकाको अंश हक लाग्न सक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्‍याएको समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । मिसिल नियमबमोजिम गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०४० साल आषाढ १० गते रोज ६ शुभम् । (साविक पेज नं. १३१)

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु