शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२२९ - मूद्दाः अंश चलन ।

भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक:

निर्णय नं. ६२२९         ने.का.प. २०५३ अङ्क ७

 

पुर्ण इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश हरि प्रसाद शर्मा

संवत् २०५३ सालको स.अ.दे.पु.इ.नं. ... ९३

फैसला मितिः २०५२।१९।५

 

मूद्दाः अंश चलन ।

 

निवेदक

वादीः  का.जि.का.न.पा. वार्ड नं. २२ जुद्ध सडक घर भै हाल ऐ वार्ड नं. २३ झोछें वस्ने सानी   तण्डुकार ।

विरुद्ध

विपक्षी

प्रतिवादीः आफ्नो हकमा र आमा हेरिमाया मरी मु.स. गर्ने ऐ.ऐ. वस्ने माणिक लाल तण्डुकार ।

ऐ.ऐ. वस्ने कान्छी तण्डुकार ।

ऐ.ऐ. लक्ष्मीलाल ऐ.ऐ.

ऐ.ऐ. केदारलाल तण्डुकार ।

ऐ.ऐ. रामेश्वर ऐ.ऐ. ।

ऐ.ऐ. व्दारिका ऐ.ऐ.

ऐ.ऐ. कृष्णलाल ऐ.ऐ.

ऐ.ऐ. माहिली ऐ.ऐ.

ऐ.ऐ. पशूपतिलाल ऐ.ऐ.

ऐ.ऐ. धू्रवलाल ऐ.ऐ.

ऐ.ऐ. उत्तमलाल ऐ.ऐ.

ऐ.ऐ. कृष्णमाया ऐ.ऐ.

ऐ.ऐ. वस्ने गणेशलाल ऐ.ऐ.

ऐ.ऐ. इश्वरलाल ऐ.ऐ.

ऐ.ऐ. वार्ड नं.३० वस्ने जनकमाया ऐ.ऐ.

ऐ.ऐ. कमला ऐ.ऐ.

ऐ.ऐ. सुवर्णलाल ऐ.ऐ.

ऐ.ऐ. राजुलाल ऐ.ऐ.

 

§  विधिकर्ताले नयां सारवान कानून बनाउंदा त्यस्तो कानूनमा संशोधन गर्दा तथा त्यस्तो कानूनको खारेजी गर्दा कसैको कुनै हक अधिकारमा असर पर्ने हुन्छ नै । संवैधानिक सीमा बन्देजभित्र रही विधिकर्ताले सारवान विधिको नयां घोषणा सो विधिमा संशोधन तथा सो को खारेज गर्दा श्रृजना भएको हक अधिकार र कर्तव्यलाई अन्यथा भनी पुरानो विधि अनुरुप नै हुनुपर्छ भनी मान्ने हो भने समय सापेक्ष कानून बनाई सो कानून अनुरुपको व्यवस्था हुनुको सट्टा असमान्जस्यताको श्रृजना हुन सक्ने हुंदा कानून वमोजिम अधिकार प्राप्त अधिकारी समक्ष आफ्नो हकको प्रचलन गराई माग्न जाने व्यक्तिको हकको प्रचलन सो हकको खोजी गर्न गएका वखत लागु रहेको कानून बमोजिम गराई दिनुपर्छ अर्थात मुद्दाको निर्णय मुद्दा पर्दाका बखत विद्यमान रहेको कानूनको आधारमा गरी दिनु पर्ने हुन्छ  ।

(प्र.नं. २४)

 

§  वादीले नालेश गर्नुभन्दा अगाडी नै मूलूकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन भै अंशवण्डाको १६ नं. मा पैंतिस वर्ष उमेर पूगेकी विवाह नभएकी छोरीले छोरा सरह अंश पाउंछ भन्ने व्यवस्था भएको पाईन्छ । यस्तो अवस्थामा यी वादीले छोरा सरह अंश पाउने नभै खण्डे अंश पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको वहस जिकिरसंग सहमत हुन नसक्ने ।

(प्र.नं. २४)

 

§  अदालतले व्यक्तिले हक प्रचलन गराउंदा सरल र सुगम बाटो छ भने अनावश्यक दु:ख र अप्ठेरो बाटो रोज्नु उपयुक्त नहुने ।          

(प्र.नं. २५)

 

§  सबै अंशियारले समेत तत्काल पाएको अंश समेत मिलाई बण्डा गर्दा धेरै अघि भैसकेको बण्डा र त्यस अनुसार गरिएको व्यवहारमा खलबली पर्ने हुंदा सो बमोजिम नगरी तत्काल ०१६।५।८ मा अंश बण्डा हुंदा सम्पूर्ण अंशको ७ भागको १ भाग अवंण्डा गोश्वारा रहेको घर वादीले अंश वापत पाउंदा फरक पर्ने देखिन नआएकोले वादी सानी तण्डुकारले अंश वापत का.जि. का.न.पा. वार्ड नं. २२ को कि.नं. ५९४ को ०-०-१-१ मा बनेको पितृ कार्यको लागि भनी बण्डा पत्रमा बण्डा नगरी राखेको उक्त अबण्डामा रहेको घर सम्पुर्ण अंशको ७ भागको १ भाग देखिंदा सो घर नै वादीले अंश वापत पाउने ।

(प्र.नं. २५)

 

निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तूलाधर ।

प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री तीर्थ बसौला ।

अवलम्वित नजीरः

 

फैसला

      न्या. लक्ष्मण प्रसाद अर्याल : यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत  मुद्दाको संक्षिप्त तथ्थ एवं ठहर यस प्रकार छ ।

      २.    बाबु हरीलालको ३ वटा श्रीमतीमा जेठी तरीमैया, माहिली मैया, र कान्छी मेरी आमा हरिमाया हुन । जेठी र माहिलीको मृत्यु भैसकेको र आमा हरिमाया जिवित हुनुहुन्छ  । जेठी आमाबाट राम वहादुर र विपक्षी कान्छी माहिली तण्डुकारबाट लक्ष्मण, कृष्णलाल, रामेश्वर, केदार, व्दारीकाको ससुरा वाजे शिवलाल कृष्णमायाको लोग्ने इश्वरलालको बाबु इन्द्रलाल र गणेशलाल समेत जायजन्म भए त्यस्तै माहिली आमाबाट विपक्षी रत्नलाल र आमा हरिमायाबाट विपक्षी मणिकलाल छोरा १ र सरस्वती र म समेत २ छोरी जन्मेका थियौं । निज बहिनीको विवाह भैसकेको छ । म छोरी मान्छे भएपनि विवाह नगरी माइती घरमा नै बसी आएको र हाल मेरो उमेर ५४ वर्षको भयो । म माइतीघरमा नै बस्दा म विरामी भएको अवस्थामा समेत दाजु भाउजुहरुले वास्ता नगरेको र अंश माग्दा आलटाल गरेकोले यो नालेश गरेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरुबाट तायदाती लिई आठ अंशियार भएकोले आठ बण्डा गरी एक बण्डा मलाई दिलाई पाउं भन्ने सानी तण्डुकारको फिराद दावी ।

      ३. वादी अंशवण्डाको १६ नं. ले अंश पाउने अंशियार हौं, तर हामी अंशियारले २०१६ सालमा नै बण्डापत्र गरी आफ्नो आफनो भाग लिई सकेकोले बण्डा गर्न बांकी का.न.पं. वाड नं. २२ को कि.नं. ५९४ को एक टूक्रा घरमात्र विपक्षीको अंश भाग लागोस भन्ने समेत व्यहोराको प्र. मणिकलाल र हरिमायाको प्रतिउतर पत्र ।

      ४. २०१६ सालमा हाम्रो विच बण्डा हुंदा वादी र वादीको बैनिको विवाह खर्च परसारी  बण्डा भएको र उक्त विवाह खर्च मणिकलाल, र हरिमायाले बुझिसकेकोले हामीले अंश दिनुपर्ने होईन भन्ने प्र. गणेशलाल समेत १३ जना को संयुक्त प्रतिउतर पत्र ।

      ५. हामी अंशियार विच ०१६।५।८ गते रजिष्ट्र्रेशन पास गरी भएको बण्डापत्र अनुसार आफ्नो २ भाग माग गर्दै आएको र वादीको विवाह खर्च हरिमाया र मणिकलालले बुझेको हुंदा निजबाट वादीले अंश पाउने, हामीले फिराद दावीबाट फूर्सद पाउं भन्ने जनकमाया समेत जना ५ को संयुक्त प्रतिउत्तर पत्र ।

      ६. आदेशानुसार ०१६ सालको वण्डापत्र वादीलाई सनाखत गराउंदा वण्डापत्र भएको थाहा छैन र कुनै खर्च पनि पाएको छैन अतः अंशवण्डाको १६ नं. अनुसार अंश पाउं भन्ने वादीको वयान कागज ।

      ७. वादीबाट मिति ०४४।११।२६ मा र प्र. हरिमाया र प्र. मणिकलालबाट मिति ०४४।११।२६ मा  र अन्य प्रतिवादीहरुबाट मिति ०४५।१।२७ मा तायदाती पेश भएको ।

      ८.    अंशियार जना सात देखिएकोले विवाद नपरेकोले पेश भएको तायदाती सम्पत्तिवाट ७ भागको एक भाग  वादीले अंश पाउने ठहर्छ भन्ने ०४५।२।४ को काठमाडौं जिल्ला अदालतको फैसला ।

      ९. अवण्डा रहेको घरबाट ४९ भागको एक भाग मात्र मैले पाएको हुंदा सो हदसम्म उक्त फैसलामा चित्त बुझेन भन्ने सानी तण्डुकारको वागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र ।

      १०. मिति ०४४।११।२६ मा हरिमाया र आफ्नो हकमा समेत मणिकलालले पेश गरेको तायदातीमा बण्डा लाग्ने नलाग्ने केही नबोलेकोले सो समेत निर्णय गर्नु  भन्ने मिति ०४५।१०।१८ को बागमती अंचल अदालतको फैसला ।

      ११.    ०१६ सालमा बण्डा हुंदा वादी ३५ वर्ष पूगेको नभै सो भन्दा पछि वादीको अंश पाउने उमेर ३५ वर्ष पूगेको र सो अवस्थामा प्रतिवादी मध्येका हरिमाया र मणिकलालको संगै साथमा वादी रहे बसेको देखिंदा उमेर पुगेभन्दा अघि छुट्टि भिन्न भएका प्र. गणेशलाल तण्डुकारबाट पेश भएको तायदातीमा कि.नं. ५९४ को अवण्डा रहेको घर जग्गाबाट ७ भागको एक भाग र प्र. मणिकलालको घर जग्गाबाट घ भागको एक भाग अंश पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको मिति ०४६।९।६ को फैसला ।

      १२. ०१६ सालमा भएको बण्डा पत्रबाट अंश प्राप्त गर्ने प्रत्येक अंशियारहरुको सम्पत्ति अंश भागबाट ७ खण्डको एक खण्ड अंश दिलाई पाउन र कि.नं. ५९४ को घरजग्गा सम्पुर्ण मैले पाउनु पर्नेमा सो नभै उक्त ५९४ बाट पनि सात भागको एक भाग पाउने ठहर भएकोले उक्त फैसला वदरगरी माग दावी बमोजिम अंश पाउने भन्ने समेत वादी सानी तण्डुकारको मिति ०४६।११।२ मा श्री वागमती अंचल अदालतमा परेको  पुनरावेदन ।

      १३. अंशवण्डा हुंदा अंश पाउने उमेर नपूगी विवाह खर्चपाई सकेकोले त्यस्ता व्यक्तिले मुल सम्पत्ति तर्फबाट अंश नपाउने विवाह खर्च बुझि लिएकासंग आफ्नो आमा र म भाई    (प्र.हरिमाया र प्र. मणिकलाल) वाट पाउने हुंदा पितृ कार्य चलाउनलाई सगोलमा राखेको सम्पतिबाट अंश पाउने ठहर भएको फैसला वदरभागी छ भन्ने समेत प्र. कान्छी तण्डुकार सहित १८ जनाको मिति ०४६।११।२ मा श्री वागमती अंचल अदालतमा संयुक्त पुनरावेदन पत्र ।

      १४. यसमा अंशवण्डाको महलको १६ नं. परिप्रेक्ष्यमा शूरु इन्साफ विचारणिय हुंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम पुनरावेदन नगर्ने पक्षलाई झिकाउनु भनि श्री वागमती अंचल अदालतको मिति ०४७।५।१३ को आदेश ।

      १५. न्याय प्रशासन सुधार ऐन, २०४८ को दफा ८ र २६ वमोजिम यस अदालतको क्षेत्राधिकार भित्र परी हेर्न मिल्ने हुंदा यसमा अंशवण्डा हुंदाको अवस्थामा जे जस्तो कानून विद्यमान छ सोही कानून वमोजिम अंशको हकमा दावी गर्न सकिने हो प्रस्तुत  मुद्दामा २०१६।५।८ मा वण्डापत्र हुंदा वादी सानु तण्डुकार २७ वर्षको भै वादी समेत दुई अविवाहिता छोरीहरुको विवाह खर्च आमा हरिमाया तथा भाई मणिकलालले जिम्मा बुझिलिएको देखिन्छ । सो वण्डा पत्रलाई वादीले अन्यथा भन्न नसकेको स्थितिमा सो वण्डापत्रबाट अंश हक प्राप्त गरी अलग रहेका अन्य अंशियारहरुबाट वादीले अंश पाउने भन्न मिल्ने देखिंदैन । वण्डापत्र गर्दा वादी अंशियार नभई विवाह खर्च सम्म पाउने हैसियत देखिएको र विवाह खर्चसम्म पाउने व्यक्तिले वण्डापत्रमा सही गर्नु  पर्छ भन्ने कानूनी व्यवस्था नरहेकोले वण्डापत्रमा वादीले सही गरे नगरेकोमा कानूनी महत्व रहेन ।

      १६. अवण्डा रहेको का.जि. का.न.पा. वाड नं. २२ कि.नं. ५९४ को घर जग्गाबाट वादीले ७ खण्डको १ खण्ड अंश पाउने ठहर्‍याएको शूरु जिल्ला अदालतको इन्साफ मिलेकै देखिन्छ । तर तपसिल खण्डमा केही नमिलेकोले सो हदसम्म मिलाउने र अरु शूरुको इन्साफ मनासिव ठर्हछ भन्ने समेत व्यहोराको मिति ०४९।११।१५ को पु.वे.अ. पाटनको अन्तिम निर्णय आदेश ।

      १७. विवाह खर्च मैले नै बुझेको भएपनि अंश हक नैसर्गिक अधिकार हो यसलाई कसैले मेटेर मेटिने होईन । यसबारे ने.का.प. २०४६ अंक ६ नि.नं. ३८५० अंक ६ नि.नं. ३८५० पृष्ट ६३१ ने.का.प. २०४२ नि.नं. २५५३ पृष्ट १०४४ मा सर्वोच्च अदालतवाट सिद्धान्त प्रतिपादन भएको छ । अंशवण्डाको ७,८ र ११ नं.को गलत व्याख्या गरी प्रस्तुत  मुद्दामा मलाई अंश पाउने नैसर्गिक हकबाट बन्चित गरीएको  छ । उक्त फैसला अंशवण्डाको १६ नं. को विपरीत छ ।

      १८. विवाह खर्च बुझिलिने आमा र दाजु हरिमाया र मणिकलालको सम्पत्तिबाट ३ भागको एक भाग अंश पाईरहेकोमा केही बोली रहन परेन् भनी गरेको निर्णय पनि गलत छ । किनकि मेरो अंशियार मेरो आमा र भाई मात्र होइन, बेमात्री तर्फका ६ भाई पनि हुन । मेरो वावु हरिलालको ३ श्रीमतीबाट ६ छोरा र अरु विवाहित २ छोरी समेत मेरो जायजन्म भएको थियो । यसर्थ सबै भाईहरुबाट तायदाती लिई मेरो अंश भाग दिलाई दिनु पर्नेमा सो नगरी आफ्नै आमा र भाईको खरिदी सम्पत्तिबाट मात्र ३ भागको १ भाग र पूर्खौली न्युरोडको ७ जनाको संयुक्त दर्ताको ५ फूट लम्वाईको ७ खण्डको १ खण्डमात्र अंश दिलाई दिएकोले मैले ४९ खण्डको १ खण्ड अंश पाएं जसबाट अरु अंशियारले दोहोरो अंश पाउने भएको छ । अतः यसरी भएको अंशवण्डा संविधानको धारा ११(१) र अंशवण्डाको २ नं. ठाडै विपरीत भएको पु.वे.अ. पाटनको कानूनी त्रुटीपुर्ण तथा नजिर विपरीत फैसला दोहर्‍याई हेरी पाउं भन्ने समेत व्यहोराको मिति ०५०।२।२० को वादी सानी तण्डुकारको यस अदालतमा परेको निवेदन पत्र ।

      १९.  यसमा सानी तण्डुकार छोरी भएको कारणबाट ३५ वर्ष उमेर नपुगेसम्म अंश पाउन वन्देज गरेको सम्म देखिन्छ । सो उमेरपछि छोरा सरह अंश पाउने भएपछि अरु अंशियारले पाएको सम्पत्ति समेत मिलाई वण्डा गर्नु  पर्नेमा अंशियारहरुले वण्डा पाएको सम्पत्ति नमिसाई संयुक्त दर्तामा रहेको सम्पत्तिबाट मात्र अंश पाउने गरेको पु.वे.अ. पाटनको फैसलामा अंशवण्डाको १६ नं. र ने.का.प. ०४६ अंक ४ पृष्ठ ४६१ मा प्रतिपादित सिद्धान्त समेत प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, ०४८ को दफा  १२(ज्ञ) को खण्ड (क) र (ख) अनुसार दोहर्‍याउन निस्सा दिइएको छ । विपक्षी र मिसिल समेत झिकाई आएपछि नियमानुसार पेश गर्नु  भन्ने समेत व्यहोराको ०५१।४।१४ को यस अदालतको आदेश ।

      २०. अंश पाउने हक नैसर्गिक हक भएको र छोरी मानिसले पनि अविवाहित रहि ३५ वर्षकी पूगेपछि छोरा सरह अंश पाउने कानूनी व्यवस्था मूलूकी ऐन, अंशवण्डाको १६ नं. मा भएकोले निवेदिका वादी सानी तण्डुकार अविवाहित रहि ३५ वर्ष पूगेकी हुंदा निजले अंश नपाउने भन्न  मिलेन । निजले के कति अंश भाग पाउने भन्ने तर्फ विचारगर्दा निज सानी तण्डुकारले उमेर पूगेपछि छोरा सरह अंश पाउने हक भए पछि उसको आमा र दाजुको अंशबाट मात्र अंश पाउने भन्न मिलेन । अतः अरु अंशियारले समेत तत्काल पाएको अंश समेत मिलाई वण्डा गरी सानी तण्डुकारले ७ भागको १ भाग अंश पाउने ठर्हछ भन्ने मा.न्या. श्री पृथ्वी वहादूर सिंहको राय।

      २१.   छोरीले ३५ वर्ष उमेर पूगेपछि मात्र छोरा सरह अंश पाउने भन्ने कानूनी व्यवस्था भएता पनि अंशवण्डाको अवस्थामा निवेदीका वादीको उमेर ३५ वर्ष नपूगी २७ वर्ष मात्र भएको देखिएकोले तत्काल निजको अंश हक श्रृजना भई नसकेको र सो अवस्थामा छुट्टिन  पर्ने अरु अंशियारलाई पनि वादी सानी तण्डुकार ३५ वर्ष नपूगेसम्म छुट्टिन  नमिल्ने भनि भन्न सकिने कानूनी व्यवस्था नभएकोले तत्काल २०१६।५।८ मा रजिष्ट्रेशन गरी छूट्टि भिन्न भईसकेको र सो अंशवण्डाबाट आजसम्म अन्य अंशियार र पक्षहरुमा समेत हक श्रृजना हुन सक्ने र छुट्टी भिन्न भएपछि आजसम्म निकै समय व्यतित भईसकेको समेत आधारबाट निज तत्कालिन अंशियारहरुबाट अन्य पक्षहरुमा समेत सम्पत्तिको हक हस्तान्तरण भएको हुन सकने स्थिति देखिएको हुंदा उक्त द्द०१६ सालमा वण्डा रजिष्ट्रेशन भइसकेको अंशलाई अहिले आएर एकैठाउ मिसाई वण्डा गर्ने भन्न मिल्ने देखिएन । निज वादीको उमेर ३५ वर्ष नपुगेसम्म संगोल मै रहे बसेको देखिएमा मात्र सवै भागबाट अंश पाउने भन्न मिल्ने देखिंदा निज सानी तण्डुकार जो जससंग संगै रहे भएको हो उसैबाट अंश भाग पाउने ठहर्‍याई गरेको जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मुनासिव ठहर्छ भन्ने मा.न्या. श्री कृष्ण कुमार वर्माको राय ।

      २२. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी यस इजलास समक्ष पेश भै आज निर्णय सूनाउन तोकीएको प्रस्तुत  मुद्दामा प्राप्त हुन आएका सम्पुर्ण मिसिल कागजातहरुको अध्ययन गरी निवेदीका सानी तण्डुकारको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले फैसलाले कि.नं. ५९४ मध्येबाट १ र ७ मेरो पक्षलाई अंश वापत दिलाई दिंदा कुनै विरोध नगरी विपक्षीहरुले उक्त निर्णयमा चित्त बूझाई बस्नू भएको छ । अंशवण्डा भएको सम्पत्ति हस्तान्तरण भै तेश्रो व्यक्तिको पनि हक श्रृजना हुन सक्ने भएकोले २०१६ सालमा भएको सवै अंशलाई एकै ठाउंमा मिलाई फेरी वण्डा गर्नु पर्ने भन्ने मेरो पक्षको दावी भएकोमा पछि ०४३।९।४ को वयानमा सवै अंशलाई एकै ठाउंमा मिलाई फेरी वण्डा गर्दा असुविधा हुने भए का.जि.का.न.पा. वडा नं. २२ कि.नं. ५९४ क्षे.फ. ०-०-१-१ को जग्गा तत्कालको सगोलको सम्पत्तिको १।७ भएको हुंदा सोही दिलाई दिएमा मंजुर छ, भनी वैकल्पीक दावी लिनु भएको छ । सो वमोजिम गर्दा कुनै वाधा विरोध पर्ने अवस्था हुंदैन भनी गर्नु  भएको वहस र प्रतिवादी कान्छी तण्डुकार समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री तिर्थ बसौलाले छोरीले अंश पाउन ३५ वर्ष उमेर पुग्नुपर्ने हुंदा उक्त अधिकार शर्तात्मक (Conditional) हो अंशवण्डा हुंदा २७ वर्षकी निज वादी ३५ वर्ष नपुगेकी हुंदा निजको विवाह खर्च परसारी अरु अंशियारले अंश गरी खान पाउने हो । निज वादीको विवाह खर्च पर सारी अरु अंशियारले अंशवण्डा गरी लिएको अवस्था  छ । निज वादीले तत्काल प्रचलित कानून वमोजिम खण्डे अंश पाउनु पर्ने हो । हाल प्रचलित कानूनको आधारमा गर्नु  भएको नालेशबाट कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा ४ (ख)(ग) समेतको आधारमा उक्त वण्डापत्र र सो वमोजिम लिए पाएको कुरामा असर पर्न सक्दैन । अविवाहिता छउन्जेल वण्डा गर्नु हुदैन वा संभावित अविवाहितको भाग पर सारी वाडंनु पर्छ भन्ने वा अविवाहितको उमेर पुगेपछि सवै सम्पत्ति मिसाइ वण्डा गर्नु पर्दछ भन्ने स्पष्ट कानूनी व्यवस्थाको अभावमा प्रतिवादी उपर वादीको दावी पूग्न सक्दैन । पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्दछ भनी गर्नु  भएको वहस जिकिर समेत सूनियो । वादी सानी तण्डुकार अविवाहित रहेको तथा प्रतिवादी मणिकलाल समेतको पिता हरिलालको छोरी भएको कुरामा विवाद देखिएन । यसरी सानी तण्डुकार निज प्रतिवादीहरुको वहिनी एवं छोरी भएको कुरा निर्विवाद रुपमा पूष्टि भएको  देखिन्छ। प्रस्तुत  मुद्दामा वादी सानी तण्डुकारले आफु हालसम्म अर्थात ३५ वर्ष पूगी सकेपछि पनि अविवाहित रहेकोले मूलूकी ऐन, अंशवण्डाको १६ नं. वमोजिम दाजुभाई सरह अंश पाउं भनी ०४३।१।१६ मा फिराद दायर गरेको पाईन्छ । प्रतिवादीहरुको प्रतिउत्तर जिकिर हेर्दा निज वादी सानी तण्डुकार हालसम्म अविवाहित रहेतापनि आफुहरु २०१६।५।८ मा छुट्टी भिन्न भै अंशवण्डा हुंदा निजको उमेर ३५ वर्ष नपूगेकोले निजको विवाह खर्च परसारी अंशवण्डा भएको हुंदा निज ३५ वर्ष पुग्नुभन्दा पहिले नै छुट्टी भिन्न भै तेरो मेरो गरी आ-आफ्नो आमोद कमोद गरी आएकोले निज वादीलाई हामीले अंश दिनुपर्ने होइन, विवाह खर्च छुटृयाई जिम्मा लगाइ सकेको हुंदा विवाह खर्च जिम्मा लिने र संग वस्नेबाट मात्र अंश पाउनु पर्ने हो भन्ने समेत मूख्य प्रतिवाद जिकिर भएको देखिन्छ । यसरी निज वादी सानी तण्डुकारले अंश पाउनु पर्ने हो भन्ने कुरामा दूवै पक्षको मूख मिलेको अवस्था  देखिन्छ । तसर्थ अव निर्णय तर्फ विचार गर्दा वादीले अंश पाउने कुरामा विवाद नरहेपछि निजले को कसबाट के कति अंश पाउनु पर्ने  हो । सो मा निर्णय दिनुपर्ने देखिन आयो ।

      २३. यसमा का.जि. का.न.पा. वडा नं. २२ कि.नं. ५९४ को ०-०-१-१ मा बनेको अवण्डा रहेको घरजग्गाबाट ७ भागको १ भाग र प्रतिवादी मणिकलालबाट मिति ०४४।११।२६ मा पेश भएको फांटवारीमा उल्लेखित का.न.पा. वडा नं. २३ को झोंछें टोलको घरजग्गाबाट ३ भागको १ भाग समेत अंश पाउने ठहर्‍याए उपरमा ७ भागको १ भाग दिलाउने गरेतर्फ मात्र पुनरावेदन परेको ३ भाग घरबाट १ भाग पाउने गरेतर्फ मणिकलाल र हरिमायाले चित्त बुझाई बसेकोले सो तर्फ विचार गरी रहनु  परेन । शूरुले कि.नं. ५९४ को व्लक नं. ६/९१ को घरवाट ७ भागको १ भाग पाउने गरेतर्फ अन्य प्रतिवादीहरुले पुनरावेदन गरेकोमा अवण्डा गोश्वारा १८x५ को घरको ७ भाग लगाई सो बाट १ भाग पाउने गरे उपरमा वादीको पुनरावेदन परी यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।

      २४. वादीले तत्काल प्रचलित कानून वमोजिम खण्डे अंश पाउनु पर्ने हो, हाल प्रचलित कानूनको आधारमा गर्नु  भएको नालेशबाट पहिले भएको वण्डा र सो वमोजिम लिए पाएको कुरामा असर पर्न सक्दैन भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताको वहस जिकिरका सम्वन्धमा विचार गर्दा यी प्रतिवादीहरु वीच २०१६।५।८ मा अंशवण्डा हुंदा यी वादी २७ वर्षकी भै पुर्ण अंशियारको रुपमा स्थापित भएको नदेखिई सो अंशवण्डा भएपछि मात्र पुर्ण अंशियारको रुपमा स्थापित भएको देखिन्छ । विधिकर्ताले नयां सारवान कानून बनाउंदा त्यस्तो कानूनमा संशोधन गर्दा तथा त्यस्तो कानूनको खारेजी गर्दा कसैको कुनै हक अधिकारमा असर पर्ने हुन्छ  नै । संवैधानिक सीमा बन्देजभित्र रही विधिकर्ताले सारवान विधिको नयां घोषणा सो विधिमा संशोधन तथा सो को खारेज गर्दा श्रृजना भएको हक अधिकार र कर्तव्यलाई अन्यथा भनी पूरानो विधि अनुरुप नै हुनुपर्छ भनी मान्ने हो भने समय सापेक्ष कानून बनाई सो कानून अनुरुपको व्यवस्था हुनुको सट्टा असमान्जस्यताको श्रृजना हुन सक्ने हुंदा कानून वमोजिम अधिकार प्राप्त अधिकारी समक्ष आफ्नो हकको प्रचलन गराई माग्न जाने व्यक्तिको हकको प्रचलन सो हकको खोजी गर्न गएका वखत लागु रहेको कानून वमोजिम गराई दिनु पर्छ अर्थात मुद्दाको निर्णय मुद्दा पर्दाका वखत विद्यमान रहेको  कानूनको आधारमा गरी दिनु पर्ने हुन्छ  । यी वादीले नालेश गर्नु भन्दा अगाडी नै मूलूकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन भै अंशवण्डाको १६ नं. मा पैंतिस वर्ष उमेर पूगेकी विवाह नभएकी छोरीले छोरा सरह अंश पाउंछु भन्ने व्यवस्था भएको पाईन्छ । यस्तो अवस्थामा यी वादीले छोरा सरह अंश पाउने नभै खण्डे अंश पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको वहस जिकिरसंग सहमत हुन  सकिएन । तसर्थ वादी सानी तण्डुकारले ७ भागको १ भाग अंश पाउने होईन भन्न मिलेन ।

      २५. अव यी वादीले के कसरी अंश पाउने भन्ने सम्वन्धमा विचारगर्दा वादीले कि.नं. ५९४ को घरको अवण्डा गोश्वरा घरबाट ७ भागको १ भागको अंश लगाउने गरे उपरमा पनि पितृकार्यको लागी छुटृायाई गोश्वारा घरको भागवण्डा लगाउन नहुने भनी पुनरावेदन नपरेको र २०१६।५।८ को वण्डापत्रमा उक्त ७ भागको १ भाग १८x५ को घरपछि दानपत्र पास गरी पितृकार्यको लागि अवण्डा राख्ने भन्ने उल्लेख गरेको सम्म देखिन्छ । सो उल्लेखन वमोजिम दानपत्र पास गरी कृयाशील बनाएको पनि नदेखिएकोले उक्त अवण्डा घर भागवण्डा लगाउन वाधा पर्ने देखिएन । अदालतले व्यक्तिको हक प्रचलन गराउंदा सरल  र सुगम बाटो छ भने अनावश्यक दूःख र अप्ठेरो बाटो रोज्नु उपयुक्त हुंदैन । सबै अंशियारले समेत तत्काल पाएको अंश समेत मिलाई बण्डा गर्दा धेरै अघि भैसकेको बण्डा र त्यस अनुसार गरिएको व्यवहारमा खलबली पर्ने हुंदा सो बमोजिम नगरी तत्काल ०१६।५।८ मा अंश बण्डा हुंदा सम्पुर्ण अंशको ७ भागको १ भाग अवंण्डा रहेको घर वादीले अंश वापत पाउंदा फरक पर्ने देखिन नआएकोले वादी सानी तण्डुकारले अंश वापत का.जि. का.न.पा. वाड नं. २२ को कि.नं. ५९४ को ०-०-१-१ मा बनेको पितृ कार्यको लागि भनी बण्डा पत्रमा बण्डा नगरी राखेको उक्त अबण्डामा रहेको घर सम्पूर्ण अंशको ७ भागको १ भाग देखिंदा सो घर नै वादीले अंश वापत पाउने ठर्हछ । तसर्थ वादी सानी तण्डुकारले ७ भागको १ भाग अंश पाउंने भन्ने मा.न्या. श्री पृथ्वी वहादुर सिंहको निष्कर्षगत रायसम्म सदर हुने  ठर्हछ । अरु तपसिल वमोजिम गर्नु  ।

तपसिल

      माथि इन्साफ खण्डमा ठहरे वमोजिम हूने भएकोले जिल्ला तथा पुनरावेदन अदालतले रोख्ने गरेका सबै लगत कट्टा गरिदिनु भनी शूरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु ।

      इन्साफ खण्डमा ठहरे बमोजिम वादी सानी तण्डुकारले का.जि. का.न.पा. वडा नं. २२ कि.नं. ५९४ को ०-०-१-१  मा बनेको अवण्डामा रहेको घर अंश वापत पाउने ठहरेकाले निजले ऐनका म्यादभित्र निवेदन दिन आए कानून बमोजिम लाग्ने दस्तूर लिई चलन चलाई दिनु भनी शूरु काठमाडौं जिल्ला अदालतमा लेखी  पठाउनु ।

      वादी सानी तण्डुकारले शूरु जिल्ला अदालतमा फिराद गर्दा राखेको कोर्टफी   रु.८०।५० पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१३।१२ र सर्वोच्च अदालतबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएपछि राखेको कोर्टफी रु.१।९६ गरी जम्मा रु.१०२।५८ निजले अंश पाउने ठहरेकोले  ऐनका म्यादभित्र कोर्टफी भराई पाउ भनी निवेदन दिन आए प्रतिवादीहरुबाट दामाशाहीले भरार्ई दिनु भनी शूरु का.जि.अ. मा लेखी पठाउनु ....   ।

मिसिल नियमानुसार गरी बुझाई दिनु ... ।

 

उक्त रायमा हामी सहमत छौ  ।

 

न्या.कृष्णजंग रायमाझी

न्या.हरि प्रसाद शर्मा

 

इति सम्वत् २०५२ साल फागूण ९ गते रोज ५ शूभम् .................  ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु