निर्णय नं. १६६० - उत्प्रेषण

निर्णय नं. १६६० ने.का.प. २०४० अङ्क ५
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको रि.नं. ७७०
आदेश भएको मिति : २०४०।४।२०।६ मा
निवेदक : जिल्ला कञ्चनपुर देवकी गा.पं.वा.नं.१ बस्ने बर्ष २८ को महेन्द्र सिंह ऐतवाल
विरूद्ध
विपक्षी : वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति कञ्चनपुर महेन्द्रनगरसमेत
विषय : उत्प्रेषण
(१) यो जग्गामा यस किसिमले मेरो निर्विवाद हक स्थापित भइसकेको भनी रिट निवेदकले देखाउन नसकेको समेत हुँदा असाधारण अधिकारक्षेत्रबाट हक प्रचलन गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
आदेश
न्या.बब्बरप्रसाद सिंह
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी हनन भएको हकको संरक्षण गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ ।
२. जिल्ला कञ्चनपुर दैजी गा.पं.वा.नं.१ मा पर्ने १.१० एक बिगाहा दशकठ्ठा जग्गामा निवेदकले र करीव २–०–० दुई बिगाहा जग्गा बाबु चन्द्रसिंह ऐतवालले समेत श्री ५ को सरकार पुर्नबास विभाग महाकाली अञ्चल क्षेत्रीय बसोबास कार्यालय महेन्द्रनगरमा अव्यवस्थित बसोवास परिवारहरूले भर्ने विवरण फाराम भरी उल्लिखित १–१०–० जग्गा प्राप्त गरी एकै मिलान घरबास गरी भोगचलन गरी आएकोमा २०२७।२।१८ मा नाप नक्सा हुँदा बाबु चन्द्रसिंह ऐतवालले र म निवेदकले प्राप्त गरेको जग्गा एकै कित्ता भई कञ्चनपुर जिल्ला सुडा गा.पं.प्लट नं.२(ग) को क्षेत्रफल २–१२–१ कायम भई आएकोमा २०३६ सालको नापीले पनि एकै कित्ता कायम गरी प्राप्त गरेको भन्दा कम क्षेत्रफल (२२१) कायम भएकोले बाबु चन्द्रसिंह ऐतवालको श्री ५ महाराजाधिराजका हजुरमा निवेदन परेको यस्तो अवस्थामा विपक्षी मध्येकी गोबिन्दीदेवी धामीले दैजी गा.पं.वा.नं.१ आमथलामा ०२४ सालदेखि घर धूरी खडा गरी जग्गा आवाद गरी ०२७ सालमा लोग्ने दली धामीको नाममा नाप नक्सा भएको जग्गामा दार्चुला बस्ने चन्द्रसिंह ऐतवालले खिचोला गरी जग्गा दर्ता गर्न दिएन दर्ता गरिपाउँ भनी ०३६।३।१४ गते क्षेत्रीय बसोवास कार्यालय र ०३८।४।२१ मा बसोबास आयोगमा निवेदन परी कारवाही उठाई ०३५ सालदेखि अधियामा कमाउने गरी दैजी गा.पं.वा.नं.१ आमथला बस्ने रतनदेव बडुलाई दिएको रतनदेव बडु समेतको बाली समेत चन्द्रसिंहलाई बुझाएको भन्ने रतनदेवको बयान देखिएको कारण भोगको आधारमा बसोबास नियम अनुसार गोबिन्दीदेवी धामीको नाउँमा १–१०–० सम्ममात्र दर्ता हुने र घर भएतर्फको ज.वि.१–१०–० जग्गा उक्त जग्गा २–१२–१ मध्ये दर्ता गरी दिने र अरू जग्गाको हकमा चन्द्रसिंहले आफ्नो हकभोग र लगत पेश गर्नसकेमा मात्र निजका नाममा दर्ता हुने अन्यथा श्री ५ को सरकार जनाई दिने ठहर्याई कञ्चनपुर जिल्ला वन क्षेत्र सुदृढीकरण समितिबाट मलाई कुनै जानकारी तथा प्रतिवाद गर्ने मौका नदिई अ.बं.१३९ को विपरीत मिति ०३९।३।८ मा भएको त्रुटिपूर्ण निर्णयले मेरो संवैधानिक हकमा आघात पुर्याएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा त्यस्तो कानुनी त्रुटिपूर्ण निर्णय बदर गरी हनन भएको हकको संरक्षण गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई प्राप्त भएपछि पेश गर्नु भन्ने समेत सिड्डलबेञ्चको मिति ०३९।४।२४।१ को आदेश अनुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यस प्रकार रहेछ ।
४. कञ्चनपुर जिल्ला वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिबाट मिति २०३९।३।८ मा खडा भएको निर्णय पर्चाबाट रिट निवेदकलाई हाजिर हुनआउनु भनी ७ दिने म्याद पठाएको तर उपस्थित हुन नआएकोले नबुझी निर्णय गर्यो प्रकृतिक न्याय सिद्धान्तको विपरीत भयो भन्ने जिकिर झुठ्ठा हो र ०३५ सालको क्षेत्रीय बसोबासबाट लिएको लगतबाट र २०२७।२।१८ को कित्ता नापीमा म निवेदिकाको लोग्ने दली धामीको नाममा २–१२–१ मा जग्गा नापी भई दर्ता हुन बाँकी देखिएको, फिल्डबुक उतार समेतबाट भोग मेरो भएको स्पष्ट भएको पञ्चायत सुडा प्लट नं.२(ग) को कि.नं.१ मा भीट जग्गा बिगाहा २–१२–१ को सम्बन्धमा क्षेत्रीय किताबको किसानको व्यहोरामा यो जग्गा ऐलानी मैले २०२४ सालदेखि जोतेकी छु भन्ने र कैफियत महलमा दली धामीको जोतको भनी प्रमाणित गर्ने प्रतिनिधि हरिदत्त जोशी आमशल भनी स्पष्ट भएकोले अधिकार प्राप्त समितिले सरजमीन गरी वास्तविक तथ्य बुझी विपक्षीले रत्नदेव बडुलाई अधियामा कमाउन दिएको भन्ने भनाई हुनुको साथै रत्नदेव स्वयम्ले कमाएको(२२२) बाली समेत चन्द्रसिंहलाई बुझाएको भन्ने बयान गरेको हुँदा विपक्षीले कमाउँदै नकमाएको जग्गाको सम्बन्धमा हक नपुगेको व्यक्तिले रिट निवेदन कदापि दिन सक्तैन । म लिखितजवाफवालाले घर बनाई बसी आएको कुरा सरजमीन र महाकाली अञ्चल क्षेत्रीय बसोबास कार्यालय अव्यवस्थित बसोबास परिवारहरूको विवरण फारामबाट समेत स्पष्ट हुने हुँदा विपक्षीको रिट निवेदन झुठ्ठा हुँदा बदर गरिपाउँ भन्ने समेत गोबिन्दीदेवी धामीको लिखितजवाफ ।
५. वन बसोबास योजनामा लगतवाला र भोगवालाकै नाममा बढीमा १–१०–० सम्म जग्गा दर्ता गरी दिने अधिकार भएको हुनाले सोही अधिकारक्षेत्रभित्र रही गोबिन्दी धामीको बसोबास कार्यालयबाट लिएको लगतमा घरबास समेत भई नाम पनि भएको र निजकै भोग हो भनी सरजमीन समेतले भनेको हुँदा उपरोक्त प्रमाण र भोगको आधारमा बसोबास नियमानुसार उक्त २–१२–१ जग्गा मध्ये गोबिन्दी धामीको नाउँमा निजको घरतर्फको ज.वि.१–१०–० दर्ता हुने र अरू बाँकी जग्गाको हकमा चन्द्रसिंह ऐतवालले आफ्नो हकभोग र लगत समेत भएको भन्ने कुराको प्रमाण पेश गरेको खण्डमा मात्र निजको नाउँमा दर्ता हुने अन्यथा उक्त कित्ताको ज.ध.मा श्री ५ को सरकार जनिने गरी मिति २०३९।३।८।३ मा यस समितिलाई भएको अधिकार बमोजिम गरेको निर्णय न्यायसंगत नै हुँदा उक्त रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत कञ्चनपुर जिल्ला वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति कञ्चनपुरको लिखितजवाफ ।
६. सरकारी वन अतिक्रमण गरी ऐलानी बनाई जोत आवाद गरी कमाई खाने व्यक्तिको नाममा नाप नक्सा गरी जग्गा दर्ता गरी दिने भनी यस कञ्चनपुर जिल्लामा २०२७ सालतिर नापी हुँदा उक्त विवादको साविक सुडा प्लट नं.२(ग) को कि.नं.१ को क्षेत्रफल २–१२–१ को जग्गा भोगचलन अनुसार गोबिन्दीदेवी धामीको लोग्ने दली धामीको नाउँमा नाप नक्सा हुन गएको, वन अतिक्रमण भई ऐलानी पर्ति हुनआएको जग्गा व्यक्तिको नाउँमा दर्ता गर्न शुरूदेखि सोही जग्गा आफैं भोगचलन गरी आएको व्यक्तिको नाममा मात्र बसोबासको नियमानुसार दर्ता गर्न मिल्ने हुँदा सरजमीन आदि बुझी उक्त जग्गा गोबिन्दीदेवीको भोगमा भनी क्षेत्रीय बसोबास कार्यालयबाट निर्णय हुन वनक्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति कञ्चनपुरमा पठाएको भन्ने समेत व्यहोराको क्षेत्रीय बसोबास कार्यालय, महाकाली अञ्चलको लिखितजवाफ रहेछ ।
७. तारेखमा रहेका निवेदकका वा.प्रेमबहादुरलाई रोहवरमा राखी निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत र विपक्षी कार्यालयतर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस सुनियो । अब रिट निवेदन माग अनुसार आदेश जारी गर्न नपर्ने पर्ने के हो सोको निर्णय दिनुपरेको छ ।
८. यसमा विपक्षी कञ्चनपुर वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति महेन्द्रनगरको मिति ०३९।३।८ (२२३) को गैरकानुनी निर्णय बदर गरी क्षेत्रीय बसोबास कार्यालय महेन्द्रनगरबाट प्राप्त गरे जति जग्गा निवेदकको नाममा दर्ता गरी दिनु भनी परमादेश जारी गरी हक प्रचलित गरिपाउँ भन्ने माग भएको देखिन्छ ।
९. बदर गरिपाउँ भनी निवेदकले जिकिर गरेको ०३९।३।८ को निर्णय पर्चा हेर्दा ०३६।३।८ को नापी फिल्डबुकमा खाली जनिई ४ नं.ना.गो.को ०३६।३।२६ को पत्रानुसार गोबिन्दी धामी, महेन्द्र सिंह ऐतवाल र चन्द्रसिंह ऐर समेत ३ जनाले तेरो मेरो झगडा फिल्डबाट भई आएको भन्ने उल्लेख भई तेरो मेरो सम्बन्धमा कारवाही चली आएको देखियो भन्ने उल्लेख भएको छ यो जग्गामा यस किसिमले मेरो निर्विवाद हक स्थापित भइसकेको भनी रिट निवेदकले देखाउन नसकेको समेत हुँदा असाधारण अधिकारक्षेत्रबाट हक प्रचलन गर्न मिल्ने नहुँदा रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल श्रावण २० गते रोज ६ शुभम् ।