निर्णय नं. ९२०३ - मोही कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
फैसला मिति : २०७०।९।२८।१
०६६-CI-०३३६
मुद्दा : मोही कायम ।
पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ५ बस्ने उपेन्द्रनाथ उपाध्यायको वारिस भै आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने महेन्द्रनाथ उपाध्याय
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, विष्णु गा.वि.स.वडा नं. ३ बस्ने माइला नकर्मी
§ विवादित जग्गामा दिव्यकुमारीको भौतिक उपस्थिति कहिँकतै कहिल्यै स्थापित गराउन सकेको देखिँदैन । पुनरावेदक पक्षले उक्त दावीको जग्गामा आफ्नो मोही हक रहेको कुरा स्थापित नगरी अर्काले मोही नामसारीलगायतका दर्ता प्रक्रियामा प्रश्न उठाँउदा निजहरूको हक पुग्न सक्ने होइन । विवादित जग्गाको यी पुनरावेदकका फुपूले बाली बुझाएको भन्ने पुनरावेदकको जिकिर रहे पनि सो कुरा कतैबाट पुष्टि भएको नदेखिने ।
§ दिव्यकुमारी उपाध्याय जोताहा कायम भै हालसम्म पनि निज जोताहा कायम भएको कहीं कतैबाट प्रमाणित भएको देखिन्न । जग्गानापीको समयमा पुनरावेदकका फुपू दिव्यकुमारी उपाध्यायको नाम मोही जोताहाको नाउँमा कतै पनि उल्लेख भएको देखिँदैन तथा पुनरावेदक दावीको जग्गाको खास जोताहा भन्ने कतै पनि प्रमाणित हुन नसकेको ।
(प्रकरण नं.६)
§ विवादित जग्गाको खास जोताहा मोही तुलसीनारायण नकर्मी नै वैधानिक मोही कायम हुने ठहर्याई भएको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५८।१२।१३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६४।१०।२७ को फैसला मिलेकै देखिँदा सदर हुने भई माथि विवेचित आधारसमेतबाट यस अदालतबाट प्रदान भएको निस्सासँग सहमत हुन नसकिने ।
(प्रकरण नं.१०)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा अधिवक्ता गणेश विक्रम कार्की
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रकाश राउत तथा अधिवक्ता बद्रिबाबु राउत
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ भूमिसम्बन्धी ऐन, २०२१
§ गुठी संस्थान ऐन, २०३३
सुरू तहमा फैसला गर्ने कार्यालय :
भूमिसुधार कार्यालय, काठमाडौं
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री लक्ष्मणमणि रिसाल
मा.न्या.श्री हरिराम कोइराला
फैसला
न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, ललितपुर, पाटनबाट मिति २०६४।१०।२७ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क)(ख) बमोजिम दायर भएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य एवम् ठहर निम्नबमोजिम रहेको छ :
तथ्य खण्ड :
काठमाडौं जिल्ला, विष्णु गा.वि.स.वडा नं. ३(क) कि.नं १०३ को क्षे.फ ३-४-० जग्गाको मोही तुलसीनारायणको छोरा माइला नकर्मीका नाउँमा मोही कायम गर्ने गरी गुठी लगत तथा तहसिल कार्यालयको मिति २०४६।१०।१७ को निर्णय बदर गरिपाउँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा सर्वोच्च अदालत पूर्ण इजलासबाट मिति २०५३।३।१३ मा गुठी लगत तथा तहसिल कार्यालयको निर्णय बदर भै यथास्थितिमा रहने गरी भएको फैसलाबमोजिम हामीहरूको नाममा मोही कायम गरिपाउँ भन्नेसमेत व्यहोराको उपेन्द्रनाथ उपाध्यायसमेतको मिति २०५५।३।१ मा गुठी लगत तथा तहसिल कार्यालयमा दायर भएको निवेदन ।
सर्वोच्च अदालतको फैसलाबमोजिम मोही तेरो मेरो सम्बन्धमा निर्णय गर्न दुबै पक्षलाई मिति २०५६।२।२७ को तारिख तोकी गुठी संस्थानबाट प्राप्त हुन आएको मिसिल गुठी लगत तथा तहसिल कार्यालयको लगतमा दर्ता भएको ।
विवादित कि.नं.१०३ को फिल्डबुक र २ नं. अनुसूची स्रेस्ताको रेकर्ड हेर्दा उक्त जग्गाको मोहीमा तुलसीनारायण नकर्मीको नाम देखिने, मोठमा मोही जग्गाधनी आफैँ भै उक्त कि.नं. १०३ कित्ताकाट भै कायम भएका कि.नं. ३०९, ३१०, ३२१, ३२२ र ३२३ का जग्गाहरू विभिन्न व्यक्तिका नाममा दर्ता भएको देखिने स्रेस्ताबाट देखिएका मोहीको छोरा माइला नकर्मीका नाममा जारी म्यादै गुजारी प्रतिवादै नगरेकाले २१ दिने सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशित गर्दासमेत कसैको दावी विरोध नपरेको ।
उक्त जग्गाको साविक जग्गाधनीमा भक्त हेमेश्वर, हेम भक्तेश्वर शान्त बालेश्वर–३ शिवालय गुठी जनिएको देखिँदा दर्तावाला र जोताहा मोहीमा को देखिन्छ भनी बुझ्दा साविक दर्तावाला मोही दिव्यकुमारी उपाध्याय, जोताहा मोहीमा माइला नकर्मी, जग्गाधनी भक्तवीर गुठी भनी गुठी तहसिलबाट जवाफ प्राप्त हुन आएको, उक्त जग्गा छुट गुठी भएकाले बाली पनि गुठीले नै बुझी लिने भनी १ नं. लगतको फोटोकपि संलग्न राखी गुठी लगत तथा तहसिल शाखा कार्यालयबाट जवाफ प्राप्त हुन आएको ।
भूमिसुधार कार्यालय, काठमाडौंबाट भएको फैसलाः
गुठी संस्थान ऐन, २०३३ बमोजिम राजगुठी अधीनस्थ जग्गाको मोही कायम, मोही नामसारी, मोही प्रमाणपत्रलगायतका काम कारवाही गर्ने क्षेत्राधिकार यस कार्यालयलाई नभएकाले निवेदकहरूको नामसारी गरिपाउँ भन्ने दावीतर्फ बोली रहन परेन । माइला नकर्मीको बाबु तुलसीनारायण नकर्मी नै विवादित कि.नं १०३ को जग्गाको ऐन, नियमबमोजिम मोही स्थापित भइरहेको देखिँदा विवादित जग्गाको वैधानिक मोही दिव्यकुमारी उपाध्याय नभै तुलसीनारायणनकर्मी नै वैधानिक मोही रहे भएको ठहर्छ भन्ने भूमिसुधार कार्यालय, काठमाडौंबाट मिति २०५८।१२।१३ मा भएको फैसला ।
वादीका तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन व्यहोरा :
सुरू भूमिसुधार कार्यालयको निर्णयमा चित्त बुझेन । गुठी जग्गाको मोही कायम गर्ने अधिकार भूमिसुधार कार्यालयलाई छैन भनी एकातिर स्वीकार गर्ने र अर्कोतिर स्व.तुलसीनारायण नकर्मीलाई जोताहा मोही कायम गर्ने सुरू फैसला विरोधाभाषपूर्ण भएकाले बदर गरी हाम्रो सुरू मागदावीबमोजिम दर्तावाला र जोताहा मोही हामीलाई नै कायम गरीपाउँ भन्नेसमेतको निवेदक वादीहरूको पुनरावेदन अदालत, पाटनमा परेको संयुक्त पुनरावेदनपत्र ।
पुनरावेदन अदालत, पाटनबाट भएको आदेश तथा फैसलाको व्यहोरा :
विवादित जग्गाको जग्गाधनी भक्त हेमेश्वर, हेम भक्तेश्वर, शान्त बालेश्वर–३ शिवालय गुठी हो भन्ने फिल्डबुक र २ नम्बर अनुसूचीबाट जग्गाधनी देखाएको प्रमाणबाट विपक्षीलाई मोही कायम गरेको सुरू फैसला मिलेको नदेखिई फरक पर्ने हुँदा छलफलका लागि अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट भएको आदेश ।
गुठी लगत तहसिल कार्यालय, भद्रकालीले विवादित कि.नं.१०३ को ३–४–० जग्गाको मोही प्रत्यर्थी माइला नकर्मीलाई कायम गरी मिति २०४६।१०।१७ मा गरेको निर्णय अधिकारक्षेत्रको अभावमा सर्वोच्च अदालत,
पूर्ण इजलासबाट मिति २०५३।३।१५ को आदेशले बदर भएकोमा साधिकार निकाय भूमिसुधार कार्यालयमा निर्णयार्थ पठाई दिनु भनी परमादेश जारी हुन सकेको पाइँदैन । कानूनको स्पष्ट व्यवस्थाबेगर आफूसमक्ष परेको उजुरी अर्को अड्डामा निर्णयार्थ पठाइदिन मिल्ने देखिन्न । आफूसमक्ष रीतपूर्वकको उजुरी नपरेको र सम्मानित सर्वोच्च अदालतले समेत तत्सम्बन्धमा परमादेश जारी नगरेको अवस्थामा काठमाडौं गुठी तहसिल कार्यालयले प्रस्तुत
मुद्दामा निर्णय गर्नु भनी मिसिल भूमिसुधार कार्यालय, काठमाडौंमा पठाएको र सो कार्यालयले मिति २०५८।१२।१३ मा गरेको निर्णयसमेत अधिकार क्षेत्रविहीन भै बदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६१।१२।१ मा भएको फैसला ।
वादीका तथा प्रतिवादीका तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्रको व्यहोरा :
वादी दावी नै नभएको विषयमा प्रवेश गरी पुनरावेदन अदालत, पाटनले गरेको फैसला त्रुटिपूर्ण छ । वादी दावीको जग्गामा हक बेहकतर्फ नहेरी साधिकार निकायमा उजुरी नपरेको भन्ने आधारमा गरिएको फैसलामा न्यायिक मनको अभाव छ । सर्वोच्च अदालत, पूर्ण इजलासबाट गुठीको निर्णय मोहीयानी निरूपण गर्ने अधिकार नभएको कारणले बदर भएको भए पनि मालपोत कार्यालयबाट सो मिसिल गुठीमा पुगी निर्णय भएको कुरालाई सम्मानित सर्वोच्च अदालतले आपत्ति नगरेको अवस्था हुँदा मोहीयानी तेरो मेरो विषयमा निर्णय गर्ने भूमिसुधार कार्यालय नै अधिकारयुक्त निकाय हो । तसर्थ पुनरावेदन अदालत, पाटनको उक्त फैसला नेकाप २०५३, पृष्ठ २८७ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत भै बदरभागी हुँदा उल्टी गरी भूमिसुधार कार्यालय, काठमाडौंको निर्णय सदर गरिपाउँ भन्ने प्रतिवादी आङरीता छिरिङ शेर्पाको यस अदालतमा परेको पुनरावेदन ।
पुनरावेदन अदालत, पाटनको उक्त फैसला हामीहरूको वादी दावी भन्दा बाहिर गै गरिएको हुँदा बदरभागी छ । गुठीले गरेको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि भूमिसुधार कार्यालयको मिति २०५४।१२।११ को आदेश अनुसार गुठीले प्रक्रिया पुर्याई निर्णयार्थ भूमिसुधार कार्यालयमा पठाएकोमा क्षेत्राधिकारको विवाद हुने अवस्था छैन । तथ्यमा प्रवेश गरी निर्णय गर्नुपर्नेमा नगरेकोमा भूमिसुधार कार्यालयले मिति २०५८।१२।१३ मा निर्णय गर्दा प्रमाणको मूल्याङ्कन नगरी मोहीको हैसियत नै नभएको व्यक्ति तुलसी नारायणलाई मोही कायम गरेउपर हामीहरूले चित्त नबुझाई पुनरावेदन गरेको अवस्थामा विवादित तथ्यभित्र प्रवेश गरी निर्णय गर्नुपर्ने हुन्छ । तर पुनरावेदन अदालतले सो नगरी विवादै नरहेको अधिकारक्षेत्रको कुरालाई आधार बनाई गरेको फैसला त्रुटिपूर्ण हुनाले बदरभागी छ । पेटबोलीबाट बुझिएका आङरीता छिरिङ शेर्पालाई प्रतिवादीसरह मानी पुनरावेदनको म्याद दिएको पनि त्रुटिपूर्ण छ । तसर्थ उक्त फैसला उल्टी गरी हाम्रो सुरू निवेदन दावीबमोजिम हाम्रो सबुद प्रमाणको आधारमा उक्त कि.नं. १०३ को जग्गाका मोही हामीलाई कायम गरिपाउँ भन्ने वादी उपेन्द्रनाथ र महेन्द्रनाथ उपाध्यायको यस अदालतमा परेको संयुक्त पुनरावेदन ।
यस अदालतबाट भएको आदेश तथा फैसलाको व्यहोरा :
यिनै महेन्द्रनाथ उपाध्याय र विपक्षी गुठी संस्थान, गुठी लगत तथा तहसिल कार्यालयसमेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदनमा मोहीसम्बन्धी तेरो मेरो प्रश्नमा निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई भएको मान्नुपर्ने भन्ने निर्णयपश्चात, गुठीले भूमिसुधार कार्यालयमा मिसिल पठाएको र भूमिसुधार कार्यालयले सर्वोच्च अदालतको निर्णयबमोजिम अधिकारक्षेत्र ग्रहण गरी मोहीको विवादको निरूपण गरेकोमा क्षेत्राधिकारको त्रुटि देखाई परेको पुनरावेदन अदालत, पाटनको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाइ पेसगर्नु भन्ने यस अदालतबाट मिति २०६३।१०।५ मा भएको आदेश ।
गुठी जग्गाको हकमा समेत सबुद प्रमाण बुझी मोहीसम्बन्धी तेरो मेरो प्रश्नमा निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई भएको मान्नुपर्ने भनी नेकाप२०५३, नि.नं.६१७१, अङ्क ४, पृष्ठ २८७ समेतमा सिद्वान्त प्रतिपादन
भइरहेको देखिन्छ । गुठी जग्गाको मोहीयानी हकको सम्बन्धमा तेरो मेरो प्रश्नमा विवाद निरूपण गर्ने अधिकार गुठी संस्थानलाई नभै भूमिसुधार अधिकारीलाई भएको मान्नुपर्ने भनी सिद्धान्त प्रतिपादित भै रहेको स्थितीमा विवादित कि.नं १०३ को जग्गाको मोही हकमा तेरो मेरोसम्बन्धी विवादमा भूमिसुधार कार्यालयले अधिकारक्षेत्र ग्रहण गरी गरेको मिति २०५८।१२।१३ को निर्णय अधिकारक्षेत्रको अभावमा गरेको भन्न मिल्ने देखिएन । त्यस्तो स्थितिमा भूमिसुधार कार्यालय, काठमाडौंले गरेको निर्णयउपर पुनरावेदक वादीको पुनरावेदन जिकिरको विवादित तथ्यभित्र प्रवेश गरी सुरू इन्साफ मिले नमिलेको के हो सो सम्बन्धमा निर्णय गर्नुपर्नेमा नगरी क्षेत्राधिकारको अभावमा निर्णय भएको भन्ने आधारमा सुरू भूमिसुधार कार्यालय, काठमाडौंले गरेको निर्णय बदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६१।१२।१ को फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब जो जे प्रमाण बुझ्नुपर्ने हो बुझी मुद्दाको तथ्यमा प्रवेश गरी पुनः इन्साफ गर्नु भनी तारिखमा रहेका पुनरावेदक वादी प्रतिवादीलाई पुनरावेदन अदालत, पाटनमा हाजिर हुन जानु भनी तारिख तोकी मिसिलसमेत पठाइ दिने ठहर्छ भन्नेसमेत यस अदालतबाट मिति २०६४।३।८ मा भएको आदेश ।
सर्वोच्च अदालतबाट भएको उक्त मिति २०६४।३।८ को आदेश फैसलाबमोजिम प्रस्तुत मुद्दा पुनरावेदन अदालत, पाटनबाट पुनः कारवाही भएको ।
पुनरावेदन अदालत, पाटनबाट भएको फैसलाको व्यहोरा :
गुठी जग्गामा पनि मोही कायम गर्ने सम्बन्धी कारवाही गर्ने क्षेत्राधिकार भूमिसुधार कार्यालयको हुने भई कारवाहीको लागि भूमिसुधार कार्यालय, काठमाडौंमा पठाएकोमा उक्त कार्यालयले विवादित कि.नं. १०३ को जग्गाको मोही माइला नकर्मीको बाबु तुलसीनारायण नकर्मी देखिएको भनी विवादित जग्गाको वैधानिक मोही दिव्यकुमारी नभै तुलसीनारायण नकर्मी नै वैधानिक मोही ठहर्याई फैसला भएको देखिन्छ । मोही माइला नकर्मीले जग्गा बेचविखन गर्न स्वीकृति पाउँ भनी गुठी लगत तथा तहसिल कार्यालय, भद्रकालीमा निवेदन दिई उक्त कार्यालयबाट हक हस्तान्तरण गर्न पाउने स्वीकृति प्राप्त गरी तह तह बिक्री भइसकेको प्रमाणबाट देखिन्छ । गुठी संस्थान ऐन, २०३३ को दफा २७ ले गुठी जग्गामा खास पुनरावेदकको हकको स्रोतको रूपमा देखाएको खास जोताहा मोही हो भन्ने कुरा फिल्ड एवम् दर्ता स्रेस्तासमेतबाट देखिन्छ । तसर्थ खास जोताहा मोही तुलसीनारायण नकर्मी नै विवादित जग्गाको वैधानिक मोही कायम हुने ठहर्याएको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५८।१२।१३ गते भएको निर्णय मिलेकै देखिँदा सदर हुने
ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, पाटनबाट मिति २०६४।१०।२७ मा भएको फैसला ।
वादी महेन्द्रनाथ उपाध्यायसमेतका तर्फबाट यस अदालतसमक्ष पेस भएको निवेदनपत्रको व्यहोराः
दावीको काठमाडौं जिल्ला, विष्णु गा.वि.स.वडा नं. ३ (क) कि.नं १०३ को जग्गा साविक चपली खेत २ रोपनी जग्गा भएको र उक्त जग्गा श्री भक्त हेमेश्वर, हेम भक्तेश्वर र शान्त बालेश्वरसमेत श्री ३ सिवालय गुठीको जग्गा सुरूमा निजी गुठी रहेको र २०४२ सालमा राजगुठीमा परिणत भएकोमा विपक्षी माइला नकर्मीले सो तथ्यको विपरीत गई कि.नं. १०३ को जग्गा विर्ता भएको र विर्तावालाले म्यादभित्र रैकर परिणत नगराएको हुनाले मोहीको हैसियतले रैकर परिणतका लागि निवेदन दिएकोमा सुरू भूमिसुधार कार्यालयबाट माइला नकर्मीको दावी भन्दा बाहिर गई निर्णय गरेको र सोही निर्णयलाई पुनरावेदन अदालतले सदर गरेको छ । दावी भन्दा बाहिर गै निर्णय गर्न नहुने भन्ने नेकाप २०४५, नि.नं ३५८७, पृष्ठ ९२२ मा प्रतिपादित सिद्धान्तसमेतमा बोलिएकोमा सोको प्रतिकूल फैसला भएको छ । तुलसीनारायण नकर्मीलाई का.ई नक्साल बस्ने जगन्नाथ सुब्बाको जग्गाको मोही हुन् भन्ने फिल्डबुकबाट देखिन्छ । मोहीयानी लेखाइ देखाइ गरी २ नं. अनुसूची प्रकाशित भएकोलाई नै मोहीयानी हकको आधार मान्नुपर्ने, नापीमा मोही लेखाएको वा नलेखाएको कुराले मोहीयानी हकको प्राप्ति वा समाप्ति हुने होइन भनी नेकाप २०५३, पृष्ठ ६८५ समेतमा सिद्धान्त प्रकाशित भएका छन् । तुलसीनारायण महर्जन सो जग्गाको मोही भएको १ नं. फारम, २ नं. अनुसूचीलगायतको कुनै प्रमाण छैन । जगन्नाथ सुब्बालाई जग्गाधनी देखाई खडा भएको फिल्डबुकलाई प्रमाणको रूपमा लिन मिल्ने अवस्था छैन । गुठी लगत तथा तहसिल कार्यालय, भद्रकालीले मिति २०४६।१०।१७ मा काइला नकर्मीलाई जोताहा मोही कायम गरेको निर्णय श्री सर्वोच्च अदालतबाट मिति २०५३।३।१३ मा बदर भएको छ । दावीको जग्गा कुन किसिमको हो भन्नेमा समेत विवाद छ । माइला नकर्मीले उक्त जग्गा बेखालाल श्रेष्ठ जग्गाधनी भएको विर्ता जग्गालाई पिता तुलसीनारायण नकर्मी मोही भएको भनी रैकर परिणतको निवेदन दिएको तथा जगन्नाथ सुब्बालाई जग्गाधनी र तुलसीनारायण नकर्मी मोही जनिएको फिल्डबुक पेस गर्नुभएको छ । हाम्रो निवेदनमा साविक चपली २ रोपनीको गुठी जग्गामा बहादुरे सार्की मोही भएकोमा हामी फुपू दिव्यकुमारी उपाध्यायले मिति २००४।२।२६ मा निज मोहीबाट मोहीयानी राजीनामा गराई लिनुदिनु भएकोमा सोउपर उजुरी पर्दा तहतह हुँदै मिति २०१५।३।१६ मा सर्वोच्च अदालतबाट उक्त जग्गामा दिव्यकुमारी उपाध्यायको ठहर फैसला भएको छ । तत्कालीन गुठीयार शमशेर विक्रम राणा र श्री ३ शिवालय गुठीमा बुझाउँदै आएको, छुट गुठी कायम गर्न मिति २०४४।१०।१८ मा आदेश हुँदा तत्कालीन गुठीयार कृष्ण विक्रमले दाखिल गरेको लगतमा समेत सो चपली गाउँ खेत रोपनी २ को मोही दिव्यकुमारी उपाध्यायनी भएको र साविक जग्गाको नापी ठहर कि.नं. १०३ भएको भन्ने स्पष्ट छ । सोतर्फ कुनै मूल्याङ्कन नै नगरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६४।१०।२७ को फैसला उल्टी गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम निस्सा प्रदान गरी मागदावीबमोजिम उल्लिखित जग्गाको वैधानिक मोही उपेन्द्रनाथ उपाध्याय र महेन्द्रनाथ उपाध्याय कायम गरिपाउँ भन्नेसमेतको उपेन्द्रनाथ उपाध्याय र आफ्नो हकमा समेत महेन्द्रनाथ उपाध्यायको तर्फबाट यस अदालतसमक्ष परेको निवेदनपत्र ।
यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान हुँदा भएको आदेशको व्यहोरा :
माइला नकर्मीले जग्गा दर्तासम्बन्धी कारवाही उठाउँदासमेत गुठीको जग्गा नभनी विर्ता जग्गा भनी वेखारत्नलाई बिर्तावार देखाई रैकर परिणतमा दावी गरी कारवाही उठान भएकोमा निवेदक पक्षको यस जग्गालाई गुठी भनी लिइएको जिकिरमा संलग्न भएका यी माइला नकर्मीलाई मोही कायम गरी वादी दावी भन्दा बाहिर गै गरेको भूमिसुधार कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको निर्णयमा अ.बं १८४क, १८५, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा नेकाप २०३०, पृष्ठ २९ को त्रुटि देखिएबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षीलाई झिकाइ नियमानुसार पेस गर्नु भन्ने
यस अदालत संयुक्त इजलासबाट मिति २०६६।६।३० मा भएको आदेश ।
यस अदालतको उक्त आदेशपछि विपक्षीहरूका नाउँमा म्याद तामेल भै पुर्पक्षमा रहेको ।
यस अदालतबाट भएका अन्य आदेशहरूको व्यहोरा :
प्रस्तुत मुद्दामा मेरो प्रतिरक्षा र प्रतिनिधित्व नहुँदा मलाई असर पर्ने भएकाले प्रतिरक्षा गर्न प्रतिवादीको हैसियतमा मुद्दामा सम्मिलित गराइ पाउँ भनी आङरीता छिरिङ शेर्पाले यस अदालतसमक्ष निवेदन दिएको र सो निवेदनउपर कारवाही हुँदा निवेदकको मागबमोजिम सम्मिलित गराइ नियमानुसार पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०६७।८।१० मा भएको आदेश ।
दावीको कि.नं. १०३ को जग्गा हाल कित्ताकाट भै कि.नं. ३०९, ३१०, ३२१, ३२२ र ३२३ कायम भै विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेको भन्ने मिसिलबाट देखिएको तर ती दर्तावालाहरूलाई पक्ष कायम नगरी निर्णय गर्दा निजहरूको हक हितमा असर पर्न सक्ने हुँदा निज दर्तावालाहरूलाई अ.बं. १३९ बमोजिम झिकाइ पक्ष कायम गरी बयानसमेत गराइ नियमानुसार पेस गर्नु भन्नेसमेतको यस अदालतबाट मिति २०६८।१।२ मा भएको आदेश ।
आदेशानुसार विपक्षीका नाममा म्याद तामेल हुन नसकी पत्रिकामा सूचना प्रकाशित भएको मिसिलबाट देखिएको ।
नियमबमोजिम पेसीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा अधिवक्ता श्री गणेश विक्रम कार्कीले प्रस्तुत विवाद माइला नकर्मीको पेस गरेको दावीको जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने निवेदनबाट प्रारम्भ भएको छ । प्रस्तुत मुद्दामा वादीको फुपू नाता पर्ने दिव्यकुमारी उपाध्यायका नाउँमा लगत देखिने र सो कुरालाई यस
अदालतबाट भएको २०१५ सालको फैसलासमेतले स्थापित गरेको छ । माइला नकर्मीले दावीको जग्गाका सम्बन्धमा रैकर परिणत गराई पाउँ भनी दिएको निवेदनमा दावीभन्दा बाहिर गई सो जग्गाको मोही माइला नकर्मी भनी मोही कायम गर्न मिल्ने होइन । जग्गाको किसिम कुन हो भन्ने कुरा नै विवाद रहेको अवस्थामा सो कुरातर्फ ध्यान नै नदिई प्रमाणको मूल्याङ्कन नै नगरी भएको सुरू भूमिसुधार कार्यालयको निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनसमेतको फैसला यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा त्रुटिपूर्ण भएबाट सो फैसला बदर गरी पक्षहरूको नाममा मोही कायम हुने गरी फैसला हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी माइला नकर्मीको तर्फबाट इजलाससमक्ष कानून व्यवसायीको प्रतिनिधित्व भएको देखिएन ।
यस अदालतको आदेशबाट अनुमति प्राप्त गरी यस मुद्दामा सरिक हुन आएकी आङरीता छिरिङ शेर्पाका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाश राउत तथा अधिवक्ता श्री बद्रिबाबु राउतले दावीको जग्गा गुठीको जग्गा हो । गुठी संस्थानको अधीनस्थ हेमेश्वर गुठीको जग्गा भएको र सो जग्गाको मोही माइला नकर्मी हुन् । उक्त जग्गाको जोताहा दिव्यश्वरी हुन् भन्ने प्रमाणित छैन । भूमिसुधार कार्यालयमा मोही कायमका लागि निवेदन दिएपश्चात प्रस्तुत मुद्दा उठान भएको र मिति २०५८।१२।१३ को भूमिसुधार कार्यालयको निर्णयउपर निजहरू अदालत प्रवेश गरेको अवस्था छ । भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि माइला नकर्मीकै नाउँमा २ नं. अनुसूची प्रकाशित भएको छ । नापीका बखत पुनरावेदकहरूको नाम कहिँकतै उल्लेख हुन सकेको छैन । प्रमाणको मूल्याङ्कन गरी सुरू भूमिसुधार कार्यालयबाट फैसला भएको र सो फैसलालाई कानूनसम्मत ठानी पुनरावेदन अदालत, पाटनसमेतबाट फैसला भएकाले सो फैसला कानूनसम्मत छ । मोही कायम गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
मिसिल अध्ययन गर्दा काठमाडौं जिल्ला, विष्णु गा.वि.स.वडा नं.३ (क) कि.नं. १०३ को ३–४–० जग्गाको मोही तुलसीनारायणको छोरा माइला नकर्मीको नाममा मोही कायम गर्ने गरी गुठी लगत तथा तहसिल कार्यालयले गरेको मिति २०४६।१०।१७ को निर्णय सर्वोच्च अदालतबाट मिति २०५३।३।१३ मा बदर भै यथास्थितिमा रहने गरी भएको फैसला अनुसार हामीहरूको नाउँमा मोही कायम गरिपाउँ भन्नेसमेतको दावीसहित उपेन्द्रनाथ उपाध्यायसमेतको मिति २०५५।३।१ मा गुठी लगत तथा तहसिल कार्यालय, काठमाडौंमा निवेदन दायर भएको देखिन्छ । सो निवेदनउपर कारवाही हुँदा माइला नकर्मीका बाबु तुलसीनारायण नकर्मी नै विवादको कि.नं. १०३ को जग्गामा ऐन, नियमको प्रक्रिया पुगी मोहीमा स्थापित भएको देखिँदा विवादित जग्गाको वैधानिक मोही दिव्यकुमारी उपाध्याय नभै तुलसीनारायण नकर्मी नै वैधानिक मोही ठहर्ने भनी भूमिसुधार कार्यालय, काठमाडौंबाट मिति २०५८।१२।१३ मा निर्णय भएको र सोही निर्णयलाई पुनरावेदन अदालत, पाटनबाट सदर गर्ने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर वादीले यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत फैसला भएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड १ को(क) र (ख) को अवस्था विद्यमान देखाई दोहोर्याई पाउन निवेदन दिएको देखिन्छ । उक्त निवेदनउपर कारवाही हुँदा यस अदालत संयुक्त इजलासबाट दावीभन्दा बाहिर गई गरेको भूमिसुधार कार्यालय, काठमाडौको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला अ.बं. १८४क, १८५ समेत तथा नेकाप २०३०, पृष्ठ २९ समेतमा प्रतिपादित सिद्धान्तविपरीत भएबाट भन्ने आधार लिई दोहोर्याई हेर्ने निस्सा प्रदान गरेको र प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दायर भै निर्णयार्थ पेस हुन आएको देखियो ।
अब सुरू भूमिसुधार कार्यालय, काठमाडौंबाट तुलसीनारायण नकर्मी नै विवादित जग्गाको मोही ठहर्ने गरी भएको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलामा यस अदालत संयुक्त इजलासबाट निस्सा प्रदान गर्दा लिइएका आधारहरूको विद्यमानता छ छैन एवम् पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन निर्णय दिनुपरेको छ ।
२. उल्लिखित मिसिल संलग्न कागजात अध्ययन गरी इन्साफतर्फ विचार गर्दा, यी पुनरावेदक वादीले सुरू भूमिसुधार कार्यालय, काठमाडौंबाट निर्णय गर्दा वादी दावीभन्दा बाहिर गै निर्णय गरेको भनी मुख्य आपत्ति जनाएको देखिन्छ । मिसिल संलग्न भूमिसुधार कार्यालय, काठमाडौंबाट भएको निर्णय व्यहोरा हेर्दा गुठी संस्थान ऐन, २०३३ बमोजिम राजगुठी अधीनस्थ जग्गाको मोही कायम, मोही नामसारी, मोही प्रमाणपत्रलगायतका काम कारवाही गर्ने क्षेत्राधिकार यस कार्यालयलाई नभएकाले निवेदकहरूको नामसारी गरिपाउँ भन्ने दावीतर्फ बोलिरहन परेन भन्दै यी पुनरावेदकहरूले दिएको निवेदनका सम्बन्धमा माइला नकर्मीका बाबु तुलसीनारायण नकर्मी नै विवादको कि.नं. १०३ को जग्गामा ऐन, नियमको प्रक्रिया पुगी मोहीमा स्थापित भैरहेको देखिँदा विवादित जग्गाको वैधानिक मोही दिव्यकुमारी उपाध्याय नभै तुलसीनारायण नकर्मी नै वैधानिक मोही रहे भएको ठहर्छ भनी निर्णय गरेको देखिन्छ ।
३. निवेदन दायर गर्दाका बखत यी पुनरावेदक वादीले यस अदालतको फूलबेन्चबाट मिति २०५३।३।१३ मा गुठी लगत तथा तहबिल कार्यालयको निर्णय बदर भै यथास्थितिमा रहने गरी आदेश भएको उक्त आदेश व्यहोराबाट देखिएको र सोही आदेशलाई टेकेर सोही फैसला कार्यान्वयन गरिपाउँ भनी भूमिसुधार कार्यालयसमक्ष निवेदन दिएको देखियो । मिति २०४६।१०।१७ को गुठी लगत तथा तहबिल कार्यालयको निर्णय व्यहोरा हेर्दा नापीका जोताहा तुलसीनारायण नकर्मी भएकोमा निजको परलोक भै नाता प्रमाण अनुसार जोताहाका हकदार छोरा पूर्ण नकर्मी र माइला नकर्मी देखिई निवेदककै नाउँमा मोही कायम भएमा मन्जुर छ भनी सनाखत गरेको, किसानको व्यहोरामा लेखिएका जगन्नाथ सुब्बाले मिति २०४६।७।६ मा उक्त जग्गा गुठीकै हो भनी मालपोत कार्यालयमा निवेदन दिई मालपोत कार्यालयबाट गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित हुँदासमेत कसैको दावी पर्न नआएबाट जग्गाधनी बेखालाल हुनुपर्नेमा जगन्नाथ हुन गएको हो, जग्गाधनीसमेतले रैकर परिणत नगराएको भन्ने निवेदन माग देखिँदा हकदारको नाउँ जोत महलमा र जग्गाधनी महलमा ३ शिवालय गुठी जनाई पुर्जा माग गर्ने व्यहोरा उल्लेख गर्दा गुठी कायम गरी जग्गाधनी प्रमाण पुर्जा माग गर्ने भनी निर्णय गरेको र उक्त निर्णयअनुसार काठमाडौं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ३ कि.नं. १०३ को ३–४–०–० जग्गाको तुलसीनारायणको छोरा माइला नकर्मीका नाममा मोही कायम हुने गरी निर्णय भएको देखिन्छ । उक्त मिति २०४६।१०।१७ को निर्णयबमोजिम माइला नकर्मीका नाममा मोही कायम हुने ठहर गरेको र यी पुनरावेदकका फुपू दिव्यकुमारी साविक दर्तावाला मात्रै देखिएको तर जोताहा नदेखिएको भनी निर्णयमा उल्लेख भएकोसमेत छ ।
४. मिति २०४६।२।३२ मा मालपोत कार्यालय, काठमाडौंमा कि.नं. १०३ को हकमा बेखालाल हुनुपर्नेमा जगन्नाथ कायम भएको भनी आफ्नो बाबु जोताहा भएको भनी माइला नकर्मीले जिकिर लिएको र माइला नकर्मीले गुठी संस्थानमा समेत आफू जोताहा भनी दरखास्तसमेत दिएको मिसिलबाट देखिन्छ । नापी शाखा चावहिलको फिल्डबुक उतारको व्यहोरा हेर्दा कि.नं १०३ को जोताहाको नाम थरमा तुलसीनारान नकर्मी भन्ने जनिएको र जग्गाधनीको नाम खाली रहेको उक्त फिल्डबुक उतारबाट देखिएको छ । विवादित जग्गा नापी दर्ता एवम् भूमिसुधारको निर्णयसमेतबाट जोताहा तुलसीनारायण जनिएको भै निजका छोरा माइला नकर्मी भएको प्रमाण र स्रेस्ताबाट देखिइरहेको र भूमिसुधार कार्यालयले गुठी जग्गा कायम गरेका माइला नकर्मीलाई जोताहा कायम गरेकोसमेत देखिन्छ ।
५. दावीको जग्गाको जोताहा मोही तुलसीनारायण नकर्मी जनिएको नापी फिल्डबुक उतार व्यहोराबाट समेत देखिएको र तुलसीनारायणको परलोक भै पूर्ण नकर्मी र माइला नकर्मीको नाउँमा जोताहा महलमा जोताहा कायम गरी पाउन पूर्ण नकर्मीले समेत मन्जुरी दिई मिति २०४६।१०।१७ मा गुठी लगत तथा तहबिल कार्यालय, भद्रकालीमा निवेदन परी सो निवेदनउपर उक्त कार्यालयबाट निर्णय गरी निवेदकका मागबमोजिम हुने गरी निर्णयसमेत भएको छ ।
६. विवादित जग्गामा दिव्यकुमारीको भौतिक उपस्थिति कहिं कतै कहिल्यै स्थापित गराउन सकेको देखिँदैन । पुनरावेदक पक्षले उक्त दावीको जग्गामा आफ्नो मोही हक रहेको कुरा स्थापित नगरी अर्काले मोही नामसारीलगायतका दर्ता प्रक्रियामा प्रश्न उठाँउदा निजहरूको हक पुग्न सक्ने होइन विवादित जग्गाको यी पुनरावेदकका फुपू दिव्यकुमारीले बाली बुझाएको भन्ने पुनरावेदकको जिकिर रहे पनि सो कुरा कतैबाट पुष्टि भएको देखिन्न । दिव्यकुमारी उपाध्याय जोताहा कायम भै हालसम्म पनि निज जोताहा कायम भएको कहिं कतैबाट प्रमाणित भएको देखिन्न । जग्गानापीको समयमा पुनरावेदकका फुपू दिव्यकुमारी उपाध्यायको नाम मोही जोताहाको नाउँमा कतै पनि उल्लेख भएको देखिँदैन तथा पुनरावेदक दावीको जग्गाको खास जोताहा भन्ने कतै पनि प्रमाणित हुन सकेको छैन । पुनरावेदकका फुपू दिव्यकुमारी उपाध्यायले नापी दर्ताका समयमा आफ्नो नाममा जोताहा कायम प्रमाणित गराउन नसकेपछि अहिले अन्य उपाय गरी हक कायम गर्नसमेत सकिने भएन ।
७. गुठी तथा तहवील कार्यालय एवम् मालपोत कार्यालय दुबैतर्फ कारवाही भएको भए पनि विवादित जग्गामा जोताहाको हैसियतमा तुलसीनारायण नकर्मी नै रहेको र जग्गाधनी श्री भक्तेश्वर, हेम भक्तेश्वर, शान्त बालेश्वर ३ शिवालय गुठी भै उक्त जग्गाको जोताहा तुलसीनारायण नकर्मी भै निज मरी निजको छोरा माइला नकर्मी ऐनबमोजिम मोही भै निजबाट जग्गा बिक्री भै गएको मिसिल संलग्न जग्गाधनी दर्ता स्रेस्ताबाट देखिएको छ । पुनरावेदकले विवादित जग्गामा सर्वोच्च अदालतबाट भएको मिति २०५३।३।१३ को फैसलाअनुसार उक्त दावीको कि.नं.१०३ को जग्गाको मोही कायम गरी पाउन भूमिसुधार कार्यालयमा निवेदन दिएकोमा मिति २०५८।१२।१३ मा मोही कायम नहुने ठहर भएको छ । यसरी यी पुनरावेदक निवेदकले दिव्यकुमारीको उक्त दावीको जग्गामा मोही हक छ भन्ने जिकिर लिए पनि माइला नकर्मीका बाबु तुलसीनारायण नकर्मी विवादित कि.नं.१०३ को जग्गामा विधिवत प्रक्रियाबाट मोही स्थापित भएको तथ्य तथा संलग्न प्रमाणसमेतबाट देखिँदा सोही आधारबाट समेत भूमिसुधार कार्यालयबाट तुलसीनारायण नकर्मी नै वैधानिक मोही रहे भएको ठहर्याई गरेको निर्णयको विषयलाई लिएर सो निर्णय गर्दा वादी दावीभन्दा बाहिर गै फैसला गरिएको भनी भन्न मिल्ने भएन ।
८. जहाँसम्म पुनरावेदक वादीले आफ्नो पुनरावेदन जिकिरमा उल्लेख गरेको नेकाप २०५३, पृष्ठ ६८५ मा प्रतिपादित सिद्धान्तविपरीत पुनरावेदन अदालतबाट फैसला भएको भनी जिकिर लिनुभएको छ सोतर्फ विचार गर्दा पुनरावेदकले उल्लेख गरेको बुधन साहु सुडी विरूद्ध जमुना मण्डल केवट भएको मोही प्रमाणपत्रमा प्रतिपादित सिद्धान्तमा जग्गाधनी नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसूचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाणपत्र पाउनुपर्ने भन्ने पुनरावेदकको कथन नमिल्ने भनी उल्लेख भएको र सोमुद्दा र यस मुद्दाको सन्दर्भ अलगअलग रहेबाट उक्त प्रतिपादित सिद्धान्त आकर्षित हुन सक्ने देखिएन ।
९. पुनरावेदकका हकको स्रोतका रूपमा देखाइएको दिव्यकुमारी उपाध्याय साविक दर्तावाला मोही मात्र भएको र हालका ऐनबमोजिम खास जोताहा तुलसीनारायण नकर्मी भै निजको परलोक भै हकवाला पूर्ण नकर्मी, माइला नकर्मी निजका हकवाला भएको तथा पूर्ण नकर्मीको मन्जुरीले माइला नकर्मी नै उक्त जग्गाको मोही कायम हुने गरी निर्णय भएको यस्तो स्थितिमा दावीको कि.नं.१०३ को जग्गाको मोही नामसारी आफ्ना नाउँमा कायम हुनुपर्दछ भनी यी पुनरावेदकहरूले लिएको पुनरावेदक जिकिरसँग सहमत हुन सकिएन ।
१०. माथि विवेचित आधार प्रमाणसमेतबाट विवादित जग्गाको खास जोताहा मोही तुलसीनारायण नकर्मी नै वैधानिक मोही कायम हुने ठहर्याई भएको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०५८।१२।१३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६४।१०।२७ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । माथि विवेचित आधारसमेतबाट यस अदालतबाट प्रदान भएको निस्सासँग सहमत हुन सकिएन । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तर्कराज भट्ट
इति संवत् २०७० साल पुस २८ गते रोज १ शुभम् ।
इजलास अधिकृतः विष्णुप्रसाद गौतम