निर्णय नं. १६६५ - जबरजस्ती करणी

निर्णय नं. १६६५ ने.का.प. २०४० अङ्क ६
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको फौ.पु.नं. ३२६
फैसला भएको मिति : २०४०।५।१२।१ मा
पुनरावेदक/प्रतिवादी : जि.महोत्तरी एकरहिया गा.पं.वार्ड नं.४ बस्ने प्रल्हादमौवार भूमिहार ब्राहृमणसमेत
विरूद्ध
विपक्षी/वादी : सीताराम महतोको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जबरजस्ती करणी
(१) डाक्टरको उमेर जाँचको प्रतिवेदनमा निजहरूको उमेर १४ बर्षदेखि १७ बर्षको भनी उल्लेख गरेको छ र निश्चित यो उमेर भनी लेख्न नसकेको कारण निजहरू १६ बर्ष मुनी उमेरको देखिएकोले दण्डसजायको १ नं.मा उल्लेख भएबमोजिम सोह्र बर्षभन्दा कम उमेरका नावालकले कुनै अपराध गरेमा निजलाई कानुन बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधिका दरले सजाय हुने।
(प्रकरण नं. २२)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी/वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.बासुदेव शर्मा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादीको यस अदालतमा पर्नआएको निवेदनपत्रबाट पुनरावेदन गर्ने अनुमतिको स्वीकृति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. मेरो बहिनी बर्ष १० को दुखिया ०३३।१२।३ का दिन अन्दाजी २ बजे प्रधानपञ्च वारको आँपको बगैंचामा झरेको पात दाउरा बटुली जम्मा गर्दै रहेको अवस्थामा एकरहिया गा.पं.वार्ड नं.४ गमरिया बस्ने प्रल्हाद मौवार १ ऐ.बस्ने कामेश्वर मौवार १ समेत २ जना पुगी बहिनी दुखियालाई पक्री भुँईमा पछारेको देखी फुलेश्वरी भागी गाउँमा आई सो कुरा भन्दा म समेतका गाउँलेहरू सो ठाउँमा पुग्दा निज अपराधीहरू भागिसकेको र बहिनी बेहोस भई लडिरहेको अवस्था भगबाट रगत बगी रहेकोले बेहोस अवस्थामा उठाई पिप्रा हेल्थ (२४३) पोष्टमा उपचार गरी भोलिपल्ट चैत्र ४ गते होसमा आएको बेला निजसँग सोधपुछ गर्दा प्रल्हाद मौवार र कामेश्वर मौवारले जबरजस्ती करणी गरेको कुरा बताएकाले अपराधबारे जाहेर गर्न आएको भन्ने व्यहोराको सीताराम महतो नानियाको जाहेरी दरखास्त ।
३. प्रल्हाद मौवार र कामेश्वर मौवार समेत २ सो ठाउँमा अचानक पुगी दुवैजनाले मलाई पक्री भुइँमा उत्तानो पारी लडाए कराउन खोज्दा घुँडाले दुवै हात थिची एक हातले मुख थुनी दियो र प्रल्हादले मलाई छटपटाउनसम्म नदिई मलाई करणी गरेपछि सोही थलामा कामेश्वरले समेत मेरो योनीमा लिंग पसाए पछि बेदना सहन नसकी म बेहोस भएँछु र निज दुवैजना भागेछन् । भोलिपल्ट मात्र म होसमा आउँदा के भो भनी दाजुले सोद्धा लेखिए बमोजिम मलाई करणी गरेको कुरा बताएको छु । अपराधीहरूले मलाई जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कानुन बमोजिम गरिपाउँ भन्ने समेत दुखियाको प्रहरीमा भएको कागज ।
४. जोहरीमा लेखिएको मिति समयमा दुखिया र म प्र.पं.दामोदर मौवारको बगैचामा आँपको पात बटुल्दै गरेको अवस्था मैले नचिनेका २ जना केटा आई किन पात बटुल्छौ भनी दुखियालाई पक्री हप्की दप्की गर्न लागे म डरले भागी गाउँमा गई कराएपछि जाहेरवाला समेत बगैंचा तर्फ आएका थिए करणी गरेको मैले देखिन भन्ने समेत फुलेश्वरीले प्रहरीमा गरेको कागज ।
५. ०३३।१२।३ का दिन प्र.पं.दामोदरको बगैंचामा झरेको पात बटुल्न लाग्दा २ जना केटाहरू आई दुखियालाई कुटपिट गर्दैछन् भनी रामहद्धायाको छोरीले भनेबाट जाहेरवाला समेतका व्यक्ति आई दुखियालाई उपचार गराउन पिप्रा लगेका थिए दुखियाको सारीमा रगतको दाग पनि थियो सो रगत कहाँबाट कसरी निस्क्यो भन्न सक्तैनांै, निज दुखियालाई जबरजस्ती करणी गरेको भन्ने कुरा आजसम्म नसुनेकोले अभियुक्तहरूले जबरजस्ती करणी गरे होलान भन्ने विश्वास लाग्दैन र जबरजस्ती करणी गरेको भन्ने कुरा सुने जानेको नहुँदा माथि लेखिएका व्यक्तिहरूले दुखियालाई त्यस्तो अनैतिक कार्य गरे होलान भन्ने विश्वास लाग्दैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
६. अधियुक्त प्रल्हाद मौवार र कामेश्वर मौवार २ जनाले बर्ष १० को बहिनी दुखियालाई जबरजस्ती करणी गरे भन्ने सीताराम ननियाको जाहेरी दरखास्त र अस्पतालबाट जाँच गराउँदा निज दुखियालाई करणी गरिएकै छ भन्ने केश फाराममा उल्लेख हुनुको अतिरिक्त दुखियाको बयानबाट पनि निज दुबै अभियुक्तहरूले जबरजस्ती करणी गरेको भन्ने उल्लेख भएको यदि जबरजस्ती करणीको वारदात नभए अभियुक्तहरू अनुसान्धानमा उपस्थित भई सफाइको सबूत दिनुपर्ने सो नगरी लुकी छिपी बसेको हुँदा जाहेरी अनुसार जबरजस्ती करणी भएको होइन भन्ने सरजमीनका मानिसको भनाई सत्य देखिन आएन । तसर्थ उल्लिखित प्रमाण परिवन्धबाट अभियुक्त प्रल्हाद तथा कामेश्वर मौवार दुबैजनाले नाबालख दुखियालाई जबरजस्ती करणी गरेको अभियोगमा निज अभियुक्त दुबैजनालाई जबरजस्ती करणीको नं.३ अनुसार सजाय हुनु (२४४) पर्ने राय व्यक्त गरी महोत्तरी जिल्ला अदालतमा स.स.अ.तथा स.स.अ.समेतले प्रस्तुत गरेको संयुक्त प्रहरी प्रतिवेदन ।
७. ०३३।१२।३ का दिन ९.३० बजे बिहान घरमा खाना खाई १०.३० बजे पिपरा हाई स्कूलमा पुगेको हुँ कक्षा ८ मा पढ्छु । दिनभर कक्षामा अध्ययन गरी ४.३० बजे स्कूल छुट्टी भएपछि फिस बुझाउन हेडमास्टर कहाँ १५ मिनेट जती बसी फिस बुझाई रसीद लिई पौने ६ बजे घरमा पुगेको छु । बर्ष १० को दुखियालाई मैले चिनेको छैन । ०३३।१२।३ का दिन दिउँसो २ बजे म तथा कामेश्वरले दुखियालाई जबरजस्ती करणी गरेको छैन । सो दिन कामेश्वरसँग भेट भएको समेत छैन । झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत प्रल्हाद मौवारले अदालतमा गरेको बयान ।
८. ०३३।१२।१ का दिन पिताजीको आज्ञानुसार रामगोपालपुर गा.पं.वार्ड नं.१ चिकना दोलाठी बस्ने किसनदेव पाण्डेकहाँ वैल खरीद गर्ने रूपैयाँ ल्याउन भनी बिहानै ५।६ बजे चिकना पुग्दा झाडावान्ता लागी मुर्छा परेँछु अस्पतालमा आफ्ना मानिसहरूले लगेछन् । राति मात्र मेरो होस खुल्यो सो दिनदेखि ४ गते साँझतक सोही हेल्थपोष्टमा उपचार गराई ५ गते आफ्नो घरमा फर्केको छु । जाहेरी अनुसार चैत्र ३ गते दिउँसो २ बजे म दामोदर मौवारको बगैंचामा गएको पनि छैन र त्यहाँ दुखिया फुलेश्वरी भेट भई दुखिया महतोलाई म र प्रल्हाद भई जबरजस्ती करणी गरेको समेत केही होइन प्रल्हाद मौवार कहाँ थिए थाहा छैन । झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत कामेश्वर मौवारले अदालतमा गरेको बयान ।
९. मेरो गाउँदेखि पश्चिम १०।११ बजेको बखत पात बटुल्न मेरो साथमा फुलेश्वरी पनि गएको थियो उसै बखतमा कामेश्वर १, प्रल्हाद मौवार १ समेत २ जना आई मेरो बाबुको नाम सोधे पछि निजहरूले मलाई समाई पछारी पहिले प्रल्हादले मेरो मुख छोपी कामेश्वरले करणी गरेपछि प्रल्हादले पनि करणी गरेको हो प्रल्हादले मलाई चक्कु घाँटीमा घोची दिन्छु भनी देखाएको पनि थियो करणी गरी सकेपछि मलाई दिदीले उठाई लगेको कुरा होस भएन भन्ने समेत व्यहोराको दुखियाले अदालतमा गरेको बयान ।
१०. मिति ०३३।१२।३ का दिन अं.२ बजे प्रतिवादीहरूले दुखिया महतोलाई जबरजस्ती करणी गरेको सम्बन्धमा कुनै तथ्ययुक्त सबूत प्रमाण मिसिल सामेल रहेभएको नपाइएकोले अस्पतालमा जाँचबाट दुखियाको योनीमा जबरजस्ती करणी भएको भनी भनेकै भरमा सो जबरजस्ती करणी यिनी प्रतिवादीहरूले गरेका हुन भनी अनुमान गरी प्रतिवादीलाई कसूरदार ठहर गर्नु फौज्दारी न्याय सिद्धान्तको प्रतिकूल हुने देखिँदा बुझिएसम्मबाट प्रतिवादीहरू कसूरदार नदेखिँदा सफाई पाउने ठहर्छ भन्ने समेतका व्यहोराको शुरू जिल्ला अदालतको फैसला ।
११. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारको पुनरावेदनपत्र मध्यमाञ्चल अदालतमा परेको रहेछ ।
१२. करणीको वारदात भएको कुरामा विवाद (२४५) छैन । जाहेरवालासँग कुनै रिसइवी छैन भनी प्रतिवादी दुबैजनाले अदालतमा बयान गर्दा नै स्वीकारेको छ । यस्तो अवस्थामा आफ्नो बहिनीको इज्जतमा समेत आँच आउने गरी बहिनी माथि अन्याय नगरिएको भए बिनाकारण किटानी पोल उजूर गर्नु नपर्ने र करणी गर्न गराउन पूर्ण अवस्था नै भई नसकी केवल १० बर्षको दुखियाबाट प्रतिवादीले करणी गरेको यथार्थ खुलाई लेखी दिएकोले त्यसबाट प्रतिवादीहरूले कारणी गर्दाका अवस्थामा चित्रण भएको अन्यथा नहुनुको साथै फुलेश्वरीले पनि प्रतिवादीहरू उपर झुठ्ठा पोल गर्नुपर्ने अवस्था देखिँदैन । अतः उपरोक्त कारण तथा बुँदा प्रमाणबाट प्रतिवादीहरूका विद्वान अभिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । शुरू महोत्तरी जिल्ला अदालतले दावी अनुसार प्रतिवादीहरूले जबरजस्ती करणी गरेको ठहराउनु पर्नेमा प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. म.क्षे.अ.ले गरेको इन्साफमा चित्तबुझेन पुनरावेदनको अनुमतिपाउँ भनी पुनरावेदक प्रतिवादी प्रल्हाद मौवार र कामेश्र मौवारको यस अदालतमा पर्नआएको संयुक्त निवेदनपत्र ।
१४. जबरजस्ती करणी गरेको ठहराई प्रतिवादीहरूलाई ६ बर्षका दरले कैद हुने ठहराई म.क्षे.अ. बाट फैसला भएको देखिन्छ तर प्रतिवादीहरूको उमेर वारदातको बखत १६ बर्ष भन्दा मुनिको देखिन आएकोले दण्डसजायको १ नं.मा उल्लेख भएबमोजिम सोह्र बर्ष भन्दा कम उमेरका नाबालकले कुनै अपराध गरे निजलाई कानुन बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुन्छ भन्ने देखिनाले यी प्रतिवादीहरूलाई आधा सजाय मात्र गर्नुपर्नेमा सो बमोजिम नगरेकोमा उक्त दण्डसजायका १ नं.को त्रुटि देखिन आएकोले र सो त्रुटि सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भनी मिति ०३८।८।१०।४ मा यस अदालतबाट आदेश भएको रहेछ ।
१५. नियम बमोजिम दैनिक कज लिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको तारेखमा रहेको पुनरावेदक प्रतिवादी प्रल्हाद मौवार र कामेश्वरलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट खटी आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल समेतको बहस सुनियो ।
१६. प्रस्तुत जबरजस्ती करणी मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपरेको छ ।
१७. यसमा ०३३।१२।३ का दिन आँप बगैंचामा दुखियालाई प्रल्हाद र कामेश्वर मौवारले पक्री पछारेको कुरा भागी आएका फुलेश्वरीले बताएकोले बर्ष १० को बहिनी दुखियालाई सो ठाउँमा बेहास भई लडिरहेको र भगबाट रगत बगिरहेको अवस्था उठाई पिप्रा हेल्थ पोष्टमा उपचार गरी होसमा आएपछि प्रल्हाद र (२४६) कामेश्वरले बहिनी दुखियालाई जबरजस्ती करणी गरेको भन्ने कुरा सीताराम महतोको जाहेरीमा उल्लेख गरेको पाइन्छ ।
१८. बगैंचामा दुखियालाई नचिनेका २ जना केटाहरूले पक्री हप्किदप्की गरेकाले भागी गाउँमा आई कराएँ करणी गरेको देखिन भन्ने समेत फुलेश्वरीले प्रहरीमा वयान गरेको फा.नं.१२ मा उल्लेख गरेको पाइन्छ ।
१९. जबरजस्ती करणीको वारदात नभए अभियुक्तद्वारा अनुसन्धानमा उपस्थित भई सफाइको सबूत दिनुपर्ने सो नगरी लुकी छिपी बसेको हुँदा प्रल्हाद तथा कामेश्वर मौवार दुबैजनाले नाबालख दुखियालाई जबरजस्ती करणी गरेको अभियोगामा निज अभियुक्त दुबैजनालाई जबरजस्ती करणीको सजाय हुनपर्ने भनी मिति ०३४।१।७ को स.स.अ.तथा स.स.अ.समेतको संयुक्त प्रहरी प्रतिवेदन अदालतमा प्रस्तुत भएको कुरा संलग्न मिसिलबाट देखिन्छ ।
२०. जाहेरवाला समेतका व्यक्ति आई दुखियालाई उपचार गराउन पिप्रा लगेको अवस्था दुखियाको सारीमा रगतको दाग थियो भन्ने समेत फा.नं.२४ रिपोर्ट र वृक्ष महतो समेतको सरजमीन मुचुल्कामा उल्लेख गरेको पाइन्छ ।
२१. प्रल्हाद र कामेश्वर मौवारले मलाई समाई पछारी प्रल्हादले मेरो मुख छोपी चक्कु घाँटीमा घोची दिन्छु भनी देखाई कामेश्वर र प्रल्हाद मौवारले करणी गरेको कुरा दुखियाले अदालतमा गरेको बयान मिसिलबाट देखिन्छ ।
२२. दुखियालाई जबरजस्ती करणी गरेको कुरा जलेश्वर अस्पताल जलेश्वरका सिनियर मेडिकल अधिकृतले केस फाराममा दुखियाको हाइमन जबरजस्ती करणीबाट च्यातिएको (Rapture of the hymen caused by rape) भनी उल्लेख भएको देखिन्छ । नाबालक बर्ष १० को दुखियाको विवाह भए तापनि (दुखियाको लोग्ने घरमा भएको पनि नदेखिएको र निज दुखिया आजसम्म माइतीमै बसेको हुँदा लोग्ने तथा अन्य मानिससँग पनि करणी लिन दिन गरेको नहुँदा त्यस्तै यौन सम्बन्धी कुरामा म परेको थिइँन कुमारी अवस्थामा नै थिएँ भनी दुखियाको प्रहरीमा भएको बयान र आँप बगैंचामा सुकेको पात टिप्न दुखियासँगै गएको साथी बर्ष ८ को फुलेश्वरीले दुईजना केटाहरू आई दुखियालाई पक्री हप्की दप्की गरेको र डरले भागी गाउँमा गई कराएपछि जाहेरवाला समेत बगैंचातर्फ आएका थिए भन्ने कुराहरूमा विश्वास गर्न नहुने कुनै कारण देखिएन। तसर्थ प्रस्तुत जबरजस्ती करणी मुद्दामा जाहेरवालाको किटुवा दरखास्त, फुलेश्वरीको पोल, दुखियाको बयान समेतको आधारमा प्रतिवादी प्रल्हाद र कामेश्वरले दुखियालाई जबरजस्ती करणी गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ । सजायको हकमा प्रतिवादी प्रल्हादले अदालतमा बयान गर्दा आफ्नो उमेर १४ बर्ष ६ महीना तथा कामेश्वरले आफ्नो उमेर १४ बर्ष भनी लेखाएको र डाक्टरको उमेर जाँचको प्रतिवेदनमा निजहरूको उमेर १४ बर्ष देखि १७ बर्षको भनी उल्लेख गरेको छ र निश्चित यो (२४७) उमेर भनी लेख्न नसकेको कारणबाट निजहरू १६ बर्ष मुनी उमेरको देखिएकोले निजहरू प्रल्हाद मौवार र कामेश्वर मौवारलाई दण्डसजायको १ नं.मा उल्लेख भएबमोजिम सोह्र बर्ष भन्दा कम उमेरका नाबालकले कुनै अपराध गरेमा निजलाई कानुन बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधिका दरले ३।३ बर्ष कैदको सजाय हुन्छ । तपसीलमा लेखिए बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीहरूलाई जबरजस्ती करणी गरेको ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी प्रल्हाद मौवार र कामेश्वर मौवारलाई गर्ने गरेको कैद बर्ष ६ को लगत काटी दिनु भनी महोत्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ......१
ऐ.ऐ.के माथि इन्साफ खण्डमा लेखे बमोजिम देहायका प्रतिवादीहरू प्रत्येकलाई कैद बर्ष ३ तीन हुने ठहरेकोले कैद असूल गर्न भनी महोत्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु............................................................................................................२
(१) प्र.प्रल्हाद मौवार के कैद बर्ष – ३ तीन (२) प्र.कामेश्वर मौवार के कैद बर्ष – ३ तीन
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल भाद्र १२ गते रोज १ शुभम् ।