शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६७३ - अंश

भाग: २५ साल: २०४० महिना: असोज अंक:

निर्णय नं. १६७३     ने.का.प. २०४० अङ्क ६

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.पु.नं. ४६८ (२६९)

फैसला भएको मिति : २०४०।५।६।२ मा

पुनरावेदक/प्रतिवादी : जि.इलाम पशुपतिनगर गा.पं.वार्ड नं.४ घर भई हाल कोशी अञ्चल बृटिस       एक्सरे डिपार्टमेन्ट घोपा क्याम्प धरानमा नोकरी गरी बस्ने भक्तबहादुर लिम्बु

विरूद्ध

विपक्षी/वादी : ऐ.वोध घाम गा.पं.को हाल पुशपति नगर गा.पं.वार्ड नं.४ बस्ने रूपमाया लिम्बुनी

मुद्दा : अंश

(१)                वादीको लोग्नेले आफ्नो नामको जग्गा विभिन्न मितिमा बिक्री समेत गरेको देखिन आएकोले वादी र प्रतिवादीका बीचमा अघि नै अंशबण्डा भइसकेको मान्नु पर्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री योगेन्द्र न्यौपाने

विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालत सिड्डलबेञ्चबाट २०३८।५।२९।२ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी २०३८।७।२।१ मा परेको निवेदनमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०३८।११।५।३ मा अनुमति भई पेश हुनआएको मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

२.    जसबहादुरको २ छोरामा जेठा कृष्णबहादुर र कान्छा मेरा पति रत्नबहादुर लिम्बु हुन ससुरा जसबहादुरको आर्जनको सम्पत्तिबाट निज जीवित छँदै बौद्ध धाम गा.पं.वार्ड नं.४ मा घडेरीलाई पक्का घर बनाई हामी सगोलमै बसी आएकोमा ससुरा र मेरो पति रत्नबहादुर समेतको मृत्यु भइसकेपछि जेठाजु कृष्णबहादुरले उक्त घर घडेरी जग्गा आफ्ना  नाउँमा दर्ता नगरी निजको छोरा भक्तबहादुरको नाममा दर्ता गराएका रहेछन घरको मुख्य व्यवहार गर्ने निजै भएकोले मलाई जानकारी नभएको र ०३१ सालमा निज कृष्णबहादुर समेतको मृत्यु भएको हुँदा ससुरा जसबहादुरका आर्जनको उक्त घर घडेरी जग्गा समेत बण्डा गरौं भन्दा भक्तबहादुरले बण्डा गर्न नमानी एकलौटी खाने नियत लिएकोले कानुन बमोजिम विपक्षबाट तायदाती फाँट लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी रहेछ ।

३.    २ भागको १ भाग अंश पाउँ भन्ने वादी दावा झुठ्ठा हो विपक्षका पति रत्नबहादुर र मेरा बाबु दाजुभाइ हुन तापनि पहिले नै छुट्टिई भिन्न भइसकेका हुन् मेरो पिताले मलाया गई आफ्नो आर्जनको सम्पत्तिबाट खरीद गरी बनाएको उक्त पक्की घर वादीको अंश भाग लाग्ने होइन पहिले नै छुट्टिई ताप्लेजुङमा बसी आएकोमा जीविका नचल्ने भयो भन्दा मेरा बाबुले उक्त घरमा बस्नसम्म दिएका हुन्, पूर्खाको आर्जनको नभई मेरा बाबुको निजी आर्जनको घर जग्गा पहिले नै अंश भाग भई भिन्न भइसकेका (२७०) विपक्षीलाई अंश दिनु नपर्ने हुँदा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ ।

४.    वादीले प्रतिवादी भक्तबहादुरबाट दावी बमोजिम २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत इलाम जिल्ला अदालतको ०३५।९।२८ को फैसला रहेछ ।

५.    इलाम जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम प्रमाण समेत बुझी हक इन्साफ गरिपाउँ भन्ने समेत प्र.भक्तबहादुर लिम्बुको पुनरावेदन रहेछ ।

६.    वादी प्रतिवादीबाट पेश भएको ०२६।१२।३०।५ र ०२९।१।१३ का सक्कल रसीद प्र.बाट लिई वादीलाई अ.बं.७८ नं.बमोजिम सुनाउने र दुवै थरको साक्षी समेत बुझी पठाई दिनु भनी मिसिल समेत इलाम जिल्ला अदालतमा पठाई दिनु भन्ने पू.क्षे.अ.सिंगलबेञ्चको ०३७।२।२९ को आदेश रहेछ ।

७.    आदेशानुसार उक्त सक्कल रसीदहरू वादीलाई देखाउँदा ०२६।१२।३०।५ को र ०२९।१।१३।३ को रसीदहरू जालसाजीबाट खडा गरेका हुन सजाय गरिपाउँ भन्ने वादीको ०३७।७।२१ मा इलाम जिल्ला अदालतमा गरेको बयान रहेछ ।

८.    उक्त रसीदहरू भरी रत्नबहादुर आफैंले लेखी सही गरेका हुन भन्ने समेत प्रतिवादीको बयान भएको रहेछ ।

९.    वादी रूपमाया लिम्बुनीको लोग्ने रत्नबहादुर र प्र.का बाबु कृष्णबहादुर भाइ भाइ भन्ने कुरामा विवाद नरहेको विवादको घरमा वादी प्रतिवादी दुवै बसी आएको भन्ने कुरामा पनि विवाद देखिँदैन, भक्तबहादुरको बाबु कृष्णबहादुर र वादीको लोग्ने रत्नबहादुरको बीचमा अंश भएको छ भन्ने कुरा कतैबाट समर्थन हुनआएको छैन प्र.बाट रत्नबहादुरले बिक्री गरेको तीन राजीनामा र रत्नबहादुरले गरी दिएको दुई रसीद प्रमाणमा दिएको देखिन आउँछ, रत्नबहादुरले राजीनामा बिक्री गरेको लिखतहरूका जग्गा निजको अंश भागको हो भन्ने कुरा समर्थन हुनआएको छैन सो जग्गाहरू निजैले खरीद गरी निजैले बिक्री गरेको पाइन्छ बिक्री उपर उजूर वाजुर परेको पाइन्न रसीद दुईका हकमा पनि जग्गा जसको नाउँमा दर्ता भोगमा छ उसको नाउँबाट रसीदको कुनै मतलब प्रस्तुत मुद्दामा भएन । अंशी अंशीका दर्ताको जग्गा अंशबण्डा लिखतको अभाव सबैको हकभोगको हुने स्वसिद्ध छ । यस अवस्थामा अंशबण्डाको ३० नं.आकर्षित हुनसक्ने अवस्था भएन त्यस्तो हुनाले शुरू जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने समेत पुर्वाञ्चल क्षेत्रीय अदालत सिड्डलबेञ्चको २०३८।५।२९।२ को फैसला रहेछ ।

१०.    निजी आर्जनबाट विवादको घर जग्गा खरीद भएको त्यसमा विपक्षीको अंश नलाग्नेमा अंश पाउने भनी निर्णय भएबाट अंशबण्डाको १८,३० अ.बं.१८४(क) १८५ नं.को प्रतिकूल भएको हुँदा त्रुटिपूर्ण फैसला बदर गर्न पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको २०२८।७।२।१ को निवेदनपत्र रहेछ ।

११.    यसमा यी वादी र प्रतिवादीहरूको नाउँमा अलगअलग जग्गा दर्ता भएको देखिनुको साथै अंशियार (२७१) मध्येका कालीबहादुरको जग्गा यिनै अंशियार मध्येका भक्तबहादुरको नाउँमा नामसारी समेत भएको देखिँदा यी पक्ष विपक्ष सगोलमा रहेछन् भन्न मिल्ने अवस्था नदेखिएको हुँदा त्यस्तो छुट्टाछुट्टै दर्ता देखिँदा पनि प्रमाणको मूल्याड्ढन नगरी अ.बं.१८४(क) को त्रुटि गरी वादीले अंश पाउने ठहराएको पू.क्षे.अ.को फैसला सर्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्नका लागि अनुमति दिएको छ कानुन बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।११।५।३ को आदेश रहेछ ।

१२.   पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री योगेन्द्र न्यौपानेले इलाम जिल्ला अदालतले अंश पाउने गरी गरेको फैसलालाई पूर्वाञ्चल क्षेत्रीय अदालतले मनासिव ठहराएकोमा सो फैसला मिलेको छैन कारण दुवै पक्षबाट तायदाती आएकोमा घरजग्गामा वादीको हक लाग्ने नलाग्ने भनेको छैन कृष्णबहादुर ०२६ सालमा नभई ०३१ सालमा मरेको वीर अस्पतालको रेकर्डबाट देखिन्छ । वादीको लोग्ने रत्नबहादुरले नै रसीद गरी दिएको छ । सगोलको अंशियार रत्नबहादुर भएको भए कृष्णबहादुरको मृत्यु भएपछि भक्तबहादुरको नाममा नामसारी गरी दिने थिएन । कि.नं.१२ को जग्गा वादीकै लोग्नेका नाममा कायम छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

१३.   विपक्षी वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले अंश छुट्टिइसकेको त समर्थनमा प्रतिवादीले व्यवहार प्रमाण आकृष्ट गरेको छ । रूपमाया लिम्बुनी मेरै साथमा बसेको भनी प्रत्युत्तरको प्रकरण ३ मा प्रतिवादीले स्वीकार गरेको छ । अंशबण्डा भएको कुनै प्रमाण छैन । कृष्णबहादुरका नामको सम्पत्ति निजका मृत्यु पछि निजका छोरा भक्तबहादुरको नाउँमा रत्नबहादुरले नै नामसारी दिँदैमा त्यसमा वादीको हक नभएको भन्न मिल्दैन । पैतृक सम्पत्ति कृष्णबहादुर र रत्नबहादुरले लिए दिएको कुनै प्रमाण छैन । तसर्थ वादी दावी बमोजिम अंश पाउनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

१४.   वादी दावी अनुसार दुई भागको एक भाग अंश पाउने गरी इलाम जिल्ला अदालतले गरेको निर्णय पूर्वाञ्चल क्षेत्रीय अदालतले मनासिव ठहराई गरेको निर्णय मिलेको छ छैन त्यसतर्फ मिसिल संलग्न रहेका सबूत प्रमाण हेर्दा वादीको लोग्ने रामबहादुरले साहू लालवीर आसामी रामबहादुर भई रू.४४०। मा मिति ०२१।१२।३० मा साहू विष्णुकला प्रधान्नी आसामी रत्नबहादुर भई रू.१,०००। मा ०२४ साल भाद्र २४ गतेमा र साहू विमलाकुमारी राइनी आसामी रामबहादुर भई रू.१,०००। मा ०२४ साल आश्विन ३१ गते राजीनामा गरी दिएको प्रतिवादीको बाबु कृष्णबहादुर लिम्बुको मृत्यु भएपछि वादीको लोग्ने रामबहादुरले कृष्णबहादुर लिम्बुको नाममा रहेको घर जग्गा प्रतिवादी भक्तबहादुरको नाममा दर्ता गरी तिरो बुझी (२७२) रसीद गरी दिएको र वादीले इलाम जिल्ला अदालतमा दाखिल गरेको तायदातीमा वादीका लोग्नेको नाममा पर्ति जग्गा दर्ता रहेको देखिन्छ । अंशबण्डाको ३० नं.मा अंशबण्डा खडा गरी वा नगरी अचल अंशबण्डा गरी छुट्टिई आआफ्नो हिसाव भागशान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको व्यवहार प्रमाणबाट बण्डा भइसकेकोमा ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन भन्न पाउँदैन भनी उल्लेख भएकोमा माथि उल्लेख भएबमोजिम वादीको लोग्नेले आफ्नु नामको जग्गा विभिन्न मितिमा बिक्री समेत गरेको देखिन आएकोले वादी र प्रतिवादीका बीचमा अघि नै अंशबण्डा भइसकेको मान्नु पर्ने हुँदा प्रतिवादीको पुनरावेदन जिकिर अनुसार वादी र प्रतिवादीको बीच अघि नै अंश दिनु लिनु भइसकेको देखिनाले दावी बमोजिम दुई भागको एक भाग अंश दिलाई दिने गरी इलाम जिल्ला अदालतले गरेको निर्णयलाई पूर्वाञ्चल क्षेत्रीय अदालतले मनासिव ठहराएको इन्साफ मिलेको नदेखिनाले उल्टी हुने ठहर्छ । अरू तपसीलबमोजिम गर्नु ।

तपसील

इलाम जिल्ला अदालतका ०३६।९।२८।६ का फैसलामा तायदाती बमोजिमको अंश वादीलाई छुट्याई दिने भनी लेखिएका सम्पूर्ण कलमहरू सो इन्साफ उल्टी भएको अब सो बमोजिम गर्नु परेन सो फैसलाको तपसील खण्डमा लेखिएका सम्पूण कलमको लगत काटी दिनु भनी इलाम जिल्ला अदालतमा लेखी पठाउन पूर्वाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउनु भनी का.जि.अ.मा लगत दिनु.........................................................१

पुनरावेदक प्रतिवादी भक्तबहादुर लिम्बुको माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा इलाम जिल्ला अदालतमा मिति ०३६।२।२९ मा धरौटी राखेको कोर्टफी रू.७७०। र निजै प्रतिवादीले पु.क्षे.अ.मा पुनरावेदन गर्दा सोही मितिमा राखेको कार्टफी रू.११५।५० समेत जम्मा रू.८८५। दिलाई पाउँ भनी म्यादभित्र दरखास्त परे फिर्ता दिनु र वादीलाई भराई दिइसकेको भए सो कोर्टफी निज प्रतिवादीलाई नलाग्ने हुँदा वादीबाट सोही रूपैयाँ दस्तुर केही नलिई प्रतिवादी भक्तबहादुरलाई भराई दिनु भनी ऐ.मा ऐ.रु...............................२

पुनरावेदक प्रतिवादी भक्तबहादुर लिम्बु के निजले यस अदालतमा पुनरावेदन गर्दा ०३८।१२।१७ मा राखेको कोर्टफी रू.११५।५० वादी रूपमायाबाट भराई पाउँ भनी म्यादमादरखास्त परे दस्तुर केही नलिई वादी रूपमायाबाट प्र.भक्तबहादुरलाई भराइदिनु भनी ऐ.मा ऐ..................................३

मिसिल नियमानुसार गराई बुझाई दिनु..........................................................................................................................४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

 

इतिसम्वत् २०४० साल भाद्र ६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु