शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२४६ - करार

भाग: ३८ साल: २०५३ महिना: मंसिर अंक:

निर्णय नं. ६२४६  ने.का.प. २०५३ अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५१ सालको दे.पु.नं............. २४६१

फैसला मितिः २०५३।३।१८।३

 

मूद्दाः  करार ।

 

पुनरावेदक

प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ६ रामहिटी चारघरे वस्ने कान्छा भन्ने भुमर वहादुर लामा।

विरुद्ध

विपक्षी

वादीः ऐ.ऐ. वडा नं. १ नक्साल बस्ने जगत वहादुर लामा ।

 

§  न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) वमोजिम संविधान वा कानूनको व्याख्यामा गम्भीर त्रुटी र खण्ड (ख) वमोजिम सर्वोच्च अदालतबाट स्थापित कानून सिद्धान्त वा नजिरको पालन नगरेको वा गलत किसिमले व्याख्या गरी प्रयोग गरेको अवस्थामा पुनरावेदन अदालतको फैसला वा अन्तिम आदेशमा सर्वोच्च अदालतबाट मुद्दा दोहोर्‍यार्ई हेर्न सक्ने कानूनी प्रावधान भएको र यस अदालतबाट मिति २०५१।७।२५ मा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको आदेशमा पुनरावेदन अदालत पाटनको सो फैसलामा संविधान वा कानूनको व्याख्यामा गम्भीर त्रुटी भएको र सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालन नगरेको भन्ने कुरा उल्लेख नभई न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अथवा (ख) को अवस्था  विद्यमान भएको भन्ने उल्लेख भएको  देखिएन । सो दफा १२ वमोजिम मुद्दा दोहोर्‍याई हेर्दा सर्वोच्च अदालतले जून आधारमा मुद्दा दोहोर्‍याई हेर्न आदेश  गरेको हो सोही आधार र सम्वद्ध विषयमा मात्र सीमित रही मुद्दा किनारा  गर्नुपर्ने कानूनी व्यवस्था न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा भएकोले यस अदालतबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान हुंदा सो ऐनको दफा १२ को उपदफा (१) वमोजिमको अवस्थाहरु विद्यमान छ भनी उल्लेख गरेको नदेखिंदा त्यस सम्वन्धमा केही विचार गर्नु पर्ने अवस्था नदेखिंने।

                              (प्र.नं. ११)

 

पुनरावेदक तर्फबाटः

      विद्वान अधिवक्ता श्री श्रीहरि अर्‍याल

विपक्षी तर्फबाटः

      विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का र

      विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

अबलम्बित नजीरः

 

फैसला

      न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०४९।१२।२ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउं भनी प्रतिवादिको यस अदालतमा निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ ।

      २. विपक्षीले निजको नाउंको का.जि. वौद्ध वडा नं. ५ (ख) कि.नं. ३६ को १-१२-२ जग्गा मोल रु.५,०००। मा विक्री गर्न मंजुर भई ६ महिना भित्र पास नगरे करार ऐन, २०२३ को दफा १०(१) बमोजिम पास गरी लिनु भनी वैना वापत रु.४,५००। विपक्षीले लिई मिति २०४२।१०।२० मा करारनामाको कागज लेखि सहिछाप गरी दिनु भएको थियो विपक्षीलाई करारको शर्त वमोजिम वांकी रुपैया वूझी जग्गा पास गरी दिनुस भनी पटक पटक भन्दा आलटाल गरी करारको शर्त वमोजिम जग्गा पास गरी दिने कार्य नगरेकोले विपक्षीले २०४२।१०।२० मा गरी दिएको करारको शर्त वमोजिम गराई पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।

      ३. प्रतिवादीको नाममा तामेली भएको म्यादमा प्रतिवादीले प्रतिवादै नगरी शूरु म्याद गुजारी वसेको ।

      ४. करार गर्ने पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने कुरा करार ऐनले स्पष्ट तोकी दिएको हुंदा वादी दावी वमोजिम, करार शर्त वमोजिम प्रतिवादीवाट वादीले गरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौ. जिल्ला अदालतको फैसला ।

      ५. काठमाडौं जिल्ला अदालतको फैसला अन्यायपुर्ण हुंदा सक्कल मिसिल झिकाई यस विन्तिपत्रलाई प्रतिउत्तर पत्र सरह कायम गराई म वाट आवश्यक सवुद प्रमाण समेत खूलाई दुवै थर झगडियालाई रोहवरमा राखी एक पटक सो फैसलाको इन्साफ जांच गरी नतीजा जाहेर गर्नु भन्ने वागमती अंचल अदालतका नाउंमा हु.प्र. वक्स पाउं भन्ने समेत व्यहोरा उल्लेख गरी निज प्रतिवादी भुमर वहादुर लामाले श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएका विन्तिपत्रमा यसमा व्यहोरा सांचो हो र प्रतिउत्तर दिने म्याद ऐनले अडृावाट थाम्न पाउने  दिन पटक कटाई त्यसपछि गूज्रेका मितिले पहिला पटकको रहेछ भने जनाउ पाएका मितिले १५ दिन भित्र हाजिर भई प्रतिउत्तर सरहको पुनरावेदन दिए रु.१५। जरिवाना गरी गुज्रेको म्याद थामी प्रतिउत्तर सरहको पुनरावेदन लई कानून वमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजवाट हुकुम वक्सेको छ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको नाउंमा विशेष जाहेरी विभागवाट लेखि आएको र सोही अनूरुप वेरितपुर्ण लिखतको आधारमा म पुनरावेदकको अंचल सम्पति हस्तान्तरण गर्न नमिल्नेमा अद्यापी मेरो भोग चलनमा रहेको जग्गा जमिन विपक्षीका नाउंमा पारित हुने गरी गरेको काठमाडौं जिल्ला अदालतको फैसला गैरकानूनी हुनुको साथै अन्यायपुर्ण समेत भएकोले वदर गरी पाउं भन्ने समेत व्यहोराको जिकिर लिई तत्कालिन वागमती अंचल अदालतमा प्रतिवादीले दिएको पुनरावेदन ।

      ६. विन्तिपत्र मै पुनरावेदकले म्याद थाम्ने थमाउने कूनै कुरा उल्लेख नगरी केवल इन्साफ जांचको लागि मात्र विन्तिपत्र चढाएको र विन्तिपत्र वमोजिम इन्साफ जांच गरी लिनु भन्ने तोक हुकुम समेत नभएको हुंदा गलत अर्थ लगाई प्रतिवादीले पुनरावेदन दर्ता गराएकोले लाग्नै नसक्ने पुनरावेदन दर्ता भई आएको देखिंदा यस्तो पुनरावेदनवाट इन्साफ हून सक्ने स्थिति नभएको हुंदा पुनरावेदन खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०४९।१२।२ को फैसला ।

      ७. निवेदकले चढाएको विन्तिपत्रमा इन्साफ जांच गरी पाउं भन्ने माग भएपनि इन्साफ जांच गरी दिनु भन्ने तोक नलागी प्रतिउत्तर सरहको पुनरावेदन लिनु भन्ने तोक प्रमाङ्गी लागेकोले सोही वमोजिम प्रतिउत्तर सरहको पुनरावेदन दायर गरेको हूं । कानून सरहको मान्यता राख्ने प्रमाङ्गीमा लेखिएको कुरालाई अदालतले पालना गर्नुपर्ने हुन्छ, प्रमाङ्गीले गुज्रेको म्याद थामी प्रतिउत्तर सरहको पुनरावेदन लिइदिनु भन्ने प्रष्ट उल्लेख गरेकोले प्रतिउत्तर सरहको पुनरावेदन लिई इन्साफ गरी दिने वाहेक अन्यथा अर्थ गर्न मिल्दैन । कानून सरह मान्यता राख्ने प्रमाङ्गीको गलत अर्थ लगाइ अ.वं. २०८ नं. को समेत त्रुटि भएको पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) (ख) को त्रुटी हुंदा मुद्दा दोहोराई न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादीले यस अदालतमा दिएको निवेदन ।

      ८. वक्स भई आएको मिति २०४६।६।९ को हु.प्र. वमोजिम पुनरावेदन सरहको प्रतिउत्तर परेकोमा कारवाही नभई खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको निर्णय वक्स भएको हु.प्र. को अनुकुलमा भएको नदेखिएकोले मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५१।७।२५ को आदेश ।

      ९. नियम वमोजिम पेश हून आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादिको तर्फवाट विद्वान अधिवक्ता श्री हरि अर्‍यालले प्रतिवादीले इन्साफ जांच गरी पाउं भनी निवेदन चढाएकोमा निवेदकको माग वमोजिम इन्साफ जांच गरी दिनु भन्ने हु.प्र. नभई प्रतिउत्तर सरहको पुनरावेदन लिई दिनु भन्ने हु.प्र. भएकोले प्रतिवादीले सोही हु.प्र. वमोजिम प्रतिउत्तर सरहको पुनरावेदन गरेको हो । माग अर्कै भएपनि कानून सरह मान्यता राख्ने तत्कालको हु.प्र. मा लेखिएको कुरालाई अदालतले मान्यता दिनु पर्ने हुंदा हु.प्र.मा प्रतिउत्तर सरहको पुनरावेदन लिई कानून वमोजिम गर्नु भन्ने प्रष्ट रुपमा उल्लेख भएको हुंदा प्रतिवादीले माग नै नगरेको कुरामा हु.प्र. भएकोले पुनरावेदन लाग्न नसक्ने भनी पुनरावेदन अदालत पाटनले पुनरावेदन खारेज गरेको नमिलेको हुंदा सो फैसला वदर हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

      १०. विपक्षी वादीको तर्फवाट विद्वान अधिवक्ता श्री वच्चू सिंह खडका र विद्वान अधिवक्ता श्री पन्नामान तूलाधरले प्रतिवादीले विन्तिपत्रमा म्याद थाम्ने थमाउने आदि कुरा उल्लेख नगरी केवल इन्साफ जांचको लागि मात्र विन्तिपत्र चढाएको र विन्तिपत्र वमोजिम इन्साफ जांच गरी दिनु भन्ने हुकुम प्रमाङ्गी समेत नभएकोले प्रतिवादिको माग नै नभएको कुरामा भएको हु.प्र. वमोजिम पुनरावेदन दर्ता हून सक्ने होइन । हु.प्र.मा व्यहोरा सांचो हो भन्ने वोली परेकोले व्यहोरा झुटृा देखिए हेर्न मिल्दैन । न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को अवस्थामा मात्र मुद्दा दोहोर्‍याई हेर्न सक्ने कानूनी व्यवस्था भएकोले यस अदालतवाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान हुंदा कून कानून तथा नजिरको त्रुटि भएको हो सो कुरा नदेखाई सो ऐनको दफा १२(१) को अवस्था विद्यमान भएको भन्ने उल्लेख नै नगरी दोहोर्‍याउने निस्सा दिएको समेत कानूनन नहुंदा पुनरावेदन अदालत पाटनको फैसला सदर कायम हुनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

      ११. उक्त वहसहरु समेत सूनी पुनरावेदन खारेज गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको छ छैन सो विषयमा निर्णय दिनु परेको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा वादीको फिराद परेपछि यी प्रतिवादीको नाउंमा अदालतवाट जारी भएको इतलायनामाको म्याद तामेल भएकोमा प्रतिवादीले म्याद गूजारी वसेको र शूरु काठमाडौं जिल्ला अदालतवाट मिति २०४४।१।७ मा फैसला भएको देखिन्छ । सो फैसला भएको २ वर्ष भन्दा वढी अर्थात २०४६ श्रावणमा श्री ५ महाराजाधिराजका जूनाफमा इन्साफ जांच गरी पाउं भन्ने विन्तिपत्र चढाएको र सो विन्तिपत्रमा गूज्रेको म्याद थामी प्रतिउत्तर सरहको पुनरावेदन दर्ता गरी पाउं भन्ने माग नभई यसै विन्तिपत्रलाई प्रतिउत्तर सरह कायम गराइ एक पटक इन्साफ जांच गरी नतीजा जाहेर गर्नु भन्ने वागमती अंचल अदालतको नाउंमा हुकुम प्रमांगी पाउं भन्ने माग लिएको देखियो । तर त्यस्तो माग भएको विन्तिपत्रको पिठमा हु.प्र. मा भई आएको व्यहोरामा व्यहोरा सांचो हो र प्रतिउतर दिने म्याद ऐनले अडृावाट थाम्न पाउने दिन पटक कटाई त्यसपछि गूज्रेको मितिले पहिला पटकको रहेछ भने जनाउ पाएको मितिले १५ दिनभित्र हाजिर भई प्रतिउत्तर सरहको पुनरावेदन दिए रु.१५। जरिवाना गरी गूज्रेको म्याद थामी प्रतिउत्तर सरहको पुनरावेदन लिई कानून वमोजिम गर्नु भन्ने उल्लेख भएको देखिन्छ । यसरी हु.प्र. भई आएको व्यहोरामा व्यहोरा सांचो भए भन्ने समेत वोली परि थाम्ने थमाउने म्याद आदि समेत उल्लेख भएको देखिंदा विन्तिपत्रमा प्रतिवादीले म्याद थाम्ने थमाउने कूनै कुरा उल्लेख गरेको समेत  देखिएन । साथै न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) वमोजिम संविधान वा कानूनको व्याख्यामा गम्भीर त्रुटि र खण्ड (ख) वमोजिम सर्वोच्च अदालतवाट स्थापित कानून सिद्धान्त वा नजिरको पालन नगरेको वा गलत किसिमले व्याख्या गरी  प्रयोग  गरेको  अवस्थामा  पुनरावेदन अदालतको फैसला वा अन्तिम आदेशमा सर्वोच्च अदालतवाट मुद्दा दोहोर्‍याई हेर्न सक्ने कानूनी प्रावधान भएको र यस अदालतवाट मिति २०५१।७।२५ मा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको आदेशमा पुनरावेदन अदालत पाटनको सो फैसलामा संविधान वा कानूनको व्याख्यामा गम्भीर त्रुटि भएको र सर्वोच्च अदालतवाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालन नगरेको भन्ने कुरा उल्लेख नभई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अथवा (ख) को अवस्था विद्यमान भएको भन्ने उल्लेख भएको देखिएन । सो दफा १२ वमोजिम मुद्दा दोहोर्‍याई हेर्दा सर्वोच्च अदालतले जून आधारमा मुद्दा दोहोर्‍याई हेर्न आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नु पर्ने कानूनी व्यवस्था न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा भएकोले यस अदालतवाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान हुंदा सो ऐनको दफा १२ को उपदफा (१) वमोजिमको अवस्थाहरु विद्यमान छ भनी उल्लेख गरेको नदेखिंदा त्यस सम्बन्धमा केही बिचार गर्नु पर्ने अवस्था समेत देखिएन । तसर्थ यस्तो  स्थितिमा  प्रतिवादिको पुनरावेदन खारेज गरेको पुनरावेदन अदालत पाटनको फैसलामा कानूनी त्रुटि भए गरेको नदेखिंदा सो फैसला मनासिव ठहर्छ । मिसिल नियमानूसार गरी बूझाई  दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

ईति सम्व्त २०५३ साल असार १८ गते रोज ३ शुभम्.... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु