निर्णय नं. १६८३ - ज्यान

निर्णय नं. १६८३ ने.का.प. २०४० अङ्क ७
फुलबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको फौ.फु.नं. ९
फैसला भएको मिति : २०४०।७।१३ मा
निवेदक/प्रतिवादी : जि बाग्लुङ सिगाना गा.पं.वर्ड नं.१ ठूलोढुंगा घर भई हाल ज.का.कारागार शखा काठमाडौंमा थुनामा रहेको रुद्रबहादुर खड्का क्षेत्री
विरूद्ध
विपक्षी/वादी : मीनबहादुर समेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) कर्तव्य ज्यान जाने किसिमको थिएन भन्ने कुराको मृतकले सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई चलाउन दिएको दरखास्तबाट स्पष्ट हुने ।
(प्रकरण नं. २२)
निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.बासुदेव शर्मा
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।३।२५ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तीपत्रमा उक्त (३०६) ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नअनुसार छ ।
२. ०३४।८।२६ गते मंगले सार्कीको छोरीको विवाहको निमन्त्रणामा बेलुका करीब ७ बजेको समयमा गएको अवस्था सिगाना जाने सहर बारी रिठे सार्कीको घर उप्रीमाथी जाँदैको अवस्था रुद्रबहादुर खड्का, टेकबहादुर खड्का, देबेको भाइ समेत ३ जना मदिरा खाई मातिई घर जान भनी आएका रहेछन् देबेको भाइले समाउने रुद्रबहादुरले लाइटले मेरो निधारमा हानी घाउ चोट पारी ठाउँ ठाउँमा लाठी मुड्कीले हानी बेहोस पारी भागी गएको हुनाले ठाडै पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत सजाय गरी घाउ खत जाँच गरिपाउँ भन्ने समेत कर्णबहादुर थापाको ०३४।८।२७ को दरखास्त ।
३. ०३४।८।२६ गते मंगलेको छोरीको विवाह निम्तोमा साँझ ७ बजे जाँदै थियो रिठे सार्कीको घर देखि माथि साँगुरो बाटोमा पुगेपछि जाहेरवाला कर्णबहादुर अघि र हामीहरू १०।१५ गज पछाडि थियौं प्र.३ जना बाग्लुङबाट मादक पदार्थ खाई हल्ला गर्दै आई हामी भन्दा अघि गएका कर्णबहादुरले साथी रहेछन् कि भनी टर्च बालेछ सो टर्चको ज्योति मुखमा परेपछि टर्च लगाउने को हो ? म शाही सैनिकको नायक हुँ भन्ने बित्तिकै रुद्रबहादुरले टर्चले हो वा ढुंगाले हानी सकेपछि टेकबहादुर देबेको भाइले झगडा नगर भनी रुद्रबहादुरलाई भनेको सुनेको हो भन्ने समेत चन्द्रबहादुर थापा समेत ४ जना र रुद्रबहादुर र अरू २ जना हाम्रो पछि पछि हल्ला गर्दै आई हामीलाई उछिनी गए के कुरामा हो रुद्रबहादुरले लोग्नेलाई निधारमा हिर्काई लोग्ने बेहोस भई लडेको अवस्था म पुगी हेर्दा टाउको निधारबाट रगत बगी रहेको थियो कुटपीट गर्ने मानिस त्यहाँ थिएनन् भन्ने समेत मृतक कर्णबहादुरकी श्रीमती उजेली थापा र रुद्रबहादुरले कर्णबहादुरलाई साफसँग ठटाए भन्ने भोलिपल्ट सुनेको हो भन्ने समेत सरजमीन ।
४. केही सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई भइरहेको अवस्था निज कर्णबहादुर थापाको सोही चोटले ०३४।९।८ गते मृत्यु भएकोले ज्यानसम्बन्धीमा कारवाई होस् भन्ने समेत मीनबहादुर थापाको जाहेरी ।
५. टाउकोको हड्डी फुट्नाले र गिदीमा रगत जम्नाले र पिप बग्नाले मृत्यु भएको र टाउकोबाट २ टुक्रा ढुंगा समेत निक्लेको भन्ने समेत पोष्टमार्टम प्रतिवेदन ।
६. ०३४।८।२६ गते खेतमा मल हाली घर फर्किने बेला सिगाना जाने बाटो नेर आई पुग्दा रुद्रबहादुर समेत ३ जनाले नचाहिँदो अप शब्द बोली हिंडी रहेको म बाटो काटी जान लाग्दा मेरे पछाडि आई डोकामा ढुंगा समेत हाली मलाई गाली गर्दै गएका हुन् भन्ने समेत तीली मगर्नीको कागज ।
७. कर्णबहादुर समेतका मानिसले कुटपिट गरे भनी रुद्रबहादुर समेतले २७ गते मंगलप्रसादसँग उजूर लेखाउन गएका थिए भन्ने बुझिएकोले मंगलप्रसाद बुझ्दा ऐ.२७ गते सिगाना गा.पं.का ४।५ जना मानिस आएका (३०७) थिए कर्णबहादुर समेतले रुद्रबहादुरलाई ०३४।८।२६ गते कुटपिट गरे भन्ने दरखास्त लेखी दिएको हुँ सो दरखास्त लिई गएका हुँ नाम थाहा छैन देखे चिन्दछु भन्ने समेत मंगलप्रसाद शाक्यको कागज ।
८. अभियुक्त २ जना भागेको त यस मध्येको टेकबहादुर खड्काले दाजु अम्बरबहादुरलाई गोरखपुरबाट ०३४।९।१५ गते रजिष्टरी गरी पठाएको चिठ्ठीमा हामी २ सञ्चै छौं जुन काम के कस्तो भएको छ ठीक भए पनि चिठ्ठी लेख्नु, बेठिक भए पनि चिठ्ठी लेख्नु अगर मिले ठीक छ नमिले हजूर हामीसँग मिल्नु उसको वाद जता पाए पनि जानु पर्ला और वाद गाउँघरको हाल खवर लेख्दै गर्नु बाटा मुनि साइलाको हाल खबर के कस्तो छ त्यहाँ छ वा छैन पत्रमा लेख्नु भन्ने समेत चिठ्ठी बरामद भएको ।
९. प्रतिवादी तीनैजनाले कर्णबहादुरलाई कुटपिट गरी निजको मृत्यु भएकोले प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १४ नं.अन्तर्गत कारवाई र सजायको लागि अनुरोध छ भन्ने समेत प्रहरी प्रतिवेदन ।
१०. ०३४।८।२६ गते दिन रात चण्डीप्रसाद गुल्मीको ब्यारेकमा हाजिर छु कर्णबहादुरलाई चिनेको र भेटघाट कलझगडा भएको छैन जाहेरी झुठ्ठा हो भन्नेसमेत प्र.रुद्रबहादुरको अदालतमा भएको बयान ।
११. प्र.टेकबहादुर र बलबहादुरले वारेण्ट र म्यादी पूर्जिको म्याद गुजारी बसेको ।
१२. प्रतिवादी मध्येका टेकबहादुर खड्का १ देबेको भाइ साइलो भन्ने बलबहादुर खड्काको हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी राख्ने प्रतिवादी रुद्रबहादुरले मर्ने कर्णबहादुरलाई ढुंगाले हानेको चोटबाट कर्णबहादुरको मृत्यु भएको ठहर्छ । प्र.रुद्रबहादुरको ज्यानसम्बन्धीको १४ नं.ले कैद बर्ष १० हुन्छ भन्ने समेत बाग्लुङ जिल्ला अदालतको फैसला ।
१३. ०३४।८।२५ गते म र बलबहादुर इण्डियातर्फ सैनिकमा भर्ना हुने इच्छाले म्याग्दी जिल्ला गल्लावाला कहाँ गई भेटी २७ गते जाने सल्लाह भई २६ गते घरतर्फ जाँदै थियौं तौलाको पाखोको चौपारी भन्ने ठाउँमा अगाडि पट्टि गैरीमा सार्कीको घर भन्दा मुनी मगर र रुद्रबहादुर झगडा गर्न लागेका सुनी जाँदा हानाहान गर्दै थियो झगडा नगर नपिट भनी रुद्रबहादुरलाई भनेका थियौं रुद्रबहादुर अगाडि भागे हामी नजिकै पछि घरतर्फ गयौं म समेतले समातेको होइन मेरो कुनै कसूर नहुँदा सफाई पाउँ भन्ने समेत टेकबहादुर खड्का क्षेत्रीको अदालतमा भएको बयान ।
१४. इण्डियातर्फ सैनिकमा भर्ती हुने विचारले गल्ला लाने मानिस छन् भन्ने सुनेकोले टाखु भन्ने ठाउँमा गई २७ गते गोरखपुरतर्फ जाने सल्लाह भई २६ गते घर आउँदा तौलाको चौतारा भन्ने ठाउँमा उतापट्टि गैरामा झगडा गरेको रुद्रबहादुरको बोली सुनी जाँदा नचिनेका मगरसँग झगडा गर्दै थियो झगडा नगर भनी मैले र टेकबहादुरले सम्झायौं नमानी पिटापिट गरे पछाडिबाट ४।५ जना मगरहरू आए रुद्रबहादुर भागे हामी पनि निजका साथ जस्तो गएको हुँ म समेतले समातेको र मसँग झगडा परेको होइन कसूर नगरेको हुँदा सफाई पाउँ भन्ने समेत बलबहादुर खड्काको अदालतमा भएको बयान । (३०८)
१५. प्र.टेकबहादुर बलबहादुरले समातेको र चोट प्रहार गरेको रहेछन् भन्न मिलेन अरू किसिमका मतलवी भन्ने देखिँदा ज्यानसम्बन्धीको १७ नं.को देहाय ३ दफा अनुसार जनही कैद बर्ष २ का दरले कैद गर्ने समेत ठहर्छ भन्ने समेत बाग्लुङ जिल्ला अदालतको फैसला ।
१६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादीहरू सबैको पुनरावेदन ।
१७. पुनरावेदक बलबहादुर खड्का र टेकबहादुरले चोट छाडेको देखिन नआएकोमा ज्यानसम्बन्धीको १७(३) लगाई सजाय गर्ने गरेको बाग्लुङ जिल्ला अदालतको फैसला गल्ती देखिँदा त्यति हदसम्म बदर भई पुनरावेदक बलबहादुर खड्का र टेकबहादुर खड्काले सफाई पाउने ठहर्छ पुनरावेदक रूद्रबहादुर खड्काको हकमा ज्यान सम्बन्धको १४ नं.अन्तर्गतको कसूर गरेको ठहराई सजाय गर्ने गरेको वा.जि.अ.को फैसला मनासिव ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१८. सार्वजनिक अपराधको तहकिकात गर्दा बुझेको सरजमीन मुचुल्कालाई नै ज्यान मुद्दातर्फको प्रमाण लगाएको उसमा पनि सरजमीनमा उजेली थापा समेतले बयान गरेको भनी प्रमाण लगाएको बाग्लुङ जिल्ला अदालतको ठहर क्षेत्रीय अदालतबाट सदर गरेकोमा सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ३ अनुसार सम्बन्धित मुद्दामा बुझ्नपर्ने सरजमीन नबुझी अर्को अपराधको सरजमीनलाई आधार लिई कारवाई गरेको देखिएकोले त्यस्तो इन्साफ ठीक ठाउँमा पर्छ भनी विश्वास गर्न गाहो पर्ने र सार्वजनिक महत्वको विषयमा प्रत्यक्षत गम्भीर कानुनी त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।
१९. वारदात २०३४ साल मार्ग २६ गते भएको देखिन्छ । सोही दिन कर्णबहादुर मगर मरेको नभई ०३४ साल पौष ८ गते मात्र मृत्यु भएको पाइन्छ । मार्ग २६ गते हुल हुज्जत गरी टेकबहादुर र देवेको भाइले समाउने रुद्रबहादुरले लाइटले हानी घा चोट पारी लाठी मुड्कीले हानेमा सार्वजनिक अपराध ऐन अन्तर्गत सजाय गरी घाउ खत जाँच गरिपाउँ भन्ने सोही घा चोटको पिरबाट मर्ने भनेका कर्णबहादुरको दरखास्त परी यही वारदातको सम्बन्धमा सरजमीन भएको र ती सरजमीनमा बक्ने व्यक्तिहरूलाई साक्षी सरह बुझ्न झिकाएकोमा उजेली मगर्नीले लोग्नेलाई रुद्रबहादुरले ढुंगाले हानेको चोट पिरबाट ०३४।९।८ गते उपचार गर्दागर्दै परलोक भएको भन्ने समेत र अरू फाटबहादुर दिलबहादुर, भविलाल, चन्द्रबहादुर थापा र मीनबहादुर थापाहरूले रुद्रबहादुरले लाइटले वा ढुंगाले हानेको चोटबाट कर्णबहादुर ०३४।९।८ गते परलोक भएको हो भन्ने समेत बकपत्र गरेको देखिन्छ । सो बकपत्रको आधारमा समेत लिई शुरू बाग्लुङ जिल्ला अदालतबाट निर्णय गरेको देखिन आयो । यसबाट सरजमीनको आधारमा मात्र ठहर गरेको भन्ने देखिन आएन । त्यसरी साक्षीको बकपत्र समेतको प्रमाणहरूको आधारमा पुनरावेदक रुद्रबहादुर खड्काको हकमा बाग्लुङ जिल्ला अदालतबाट गरेको निर्णय सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा कानुनी त्रुटि भन्न सकिने अवस्था नहुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । अतः पुनरोदक रुद्रबहादुर खड्कालाई ज्यान (३०९) सम्बन्धीको १४ नं.अनुसार कैद बर्ष १० गर्ने ठहराई बाग्लुङ जिल्ला अदालतले गरेको फैसला मनासिव ठहर्छ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजनबेञ्चको ०३८।३।२५ को फैसला ।
२०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले मेरो पक्ष वारदातको समयमा घटनास्थलमा नभई अन्यत्र भएको प्रमाण पेश गरेको छ । सार्वजनिक अपराधको कारवाईको सिलसिलामा भएको सरजमीनलाई ज्यान मुद्दामा प्रमाणमा लिन मिल्दैन । मृतकलाई मार्नु पर्ने इवी वादीतर्फबाट देखाउन सकेको छैन । ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजाय गरेको डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादी श्री ५ को सरकारतर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले जाहेरीमा मुखमा देखाएको लाइटबाट तत्काल रिस उठेको कुरा देखिएकै छ । सरजमीनमा प्रत्यक्षदर्शी भनी लेखाउने व्यक्तिहरूलाई अदालतबाट बुझी बकपत्र गराइएको र प्रतिवादीतर्फबाट जिरह समेत गरिएको हुँदा सरजमीनको आधारमा मात्र निर्णय गरिएको छैन डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने बहस गर्नुभयो ।
२१. यसमा निर्णयतर्फ हेर्दा वारदात मिति ०३४।८।२६ को भोलिपल्ट मृतक कर्णबहादुरले जिल्ला प्रहरी निरीक्षक कार्यालय बाग्लुङमा चढाएको दरखास्तमा मंगले सार्कीको छोरीको विवाहको निमन्त्रणामा बेलुकी ७ बजेको समयमा जाँदैगरेको अवस्थामा रुद्रबहादुर खड्का क्षेत्री समेतले मदिरा खाई मातिई आएकोमा कुनै कुराकानी नै नभई हुलहुज्जत गरी एकदमसँग टेकबहादुर देवेको भाइले समात्ने र रुद्रबहादुरले लाइटले मेरो निधारमा हानी घाउ चोट पारेको भन्ने उल्लेख गरेको देखिन्छ । ०३४।९।८ मा कर्णबहादुरको सोही चोटपिरले मृत्यु भएपछि ०३७।९।८ को मीनबहादुरको जाहेरीबाट प्रस्तुत ज्यान मुद्दा उठेको देखिन्छ । प्रस्तुत मुद्दामा प्र.रुद्रबहादुर खड्कालाई ज्यानसम्बन्धीको १४ नं.को दावी भई प्रहरी प्रतिवेदन प्रस्तुत भएको देखिन्छ । ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवी सम्म पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष ख्वाएको बाहेक साधारण लाठी, ढुंगा, लात, मुक्का इत्यादी हान्दा सोही चोटपिरले ऐनको म्यादभित्र ज्यान मरेमा दश बर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था उक्त १४ नं.मा भएको देखिन्छ । प्रस्तुत मुद्दामा ज्यान मार्ने मनसाय इवी आदी केही भएको र लुकी चोरी हानेको मिसिलबाट देखिँदैन । प्रहरी प्रतिवेदनमा रक्सीले मातिएको अवस्था अचानक उठेको रिसमा रुद्रबहादुर समेतले मृतक कर्णबहादुर थापालाई कुटपिट गरेको भन्ने सम्म उल्लेख भएको देखिन्छ । मृतकको कुन कार्यबाट अभियुक्तहरूलाई अचानक रिस उठ्यो सो कुरा प्रहरी प्रतिवेदनमा खुलाउन सकेको पाइँदैन। यस स्थितिमा ज्यानसम्बन्धीको १४ (३१०) नं.बमोजिमको अपराध ठहराई प्र.रुद्रबहादुर खड्कालाई दश बर्ष कैदको सजाय गरेको शुरू बाग्लुङ जिल्ला अदालतको इन्साफ सदर गरेको डिभिजनबेञ्चको निर्णय मिलेको देखिएन ।
२२. अब प्र.रुद्रबहादुर खड्कालाई के कस्तो सजाय हुने हो भन्नेतर्फ विचार गर्दा ज्यानसम्बन्धीको ५ नं.मा ज्यान लिने इवी लाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको रहेछ भने भवितव्य ठहर्छ भन्ने व्यवस्था भएको देखिन्छ । माथि उल्लेख गरे बमोजिम मृतकलाई मारौं भन्ने इवी लाग वा मनसाय प्रतिवादीको भएको मिसिलबाट देखिँदैन । प्र.रुद्रबहादुरको कर्तव्य ज्यान जाने किसिमको थिएन भन्ने कुरा मृतक कर्णबहादुरले सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई चलाउन दिएको दरखास्तबाट स्पष्ट हुन्छ । अतः वारदातको रूपबाट प्र.रुद्रबहादुरको कर्तव्य ज्यानसम्बन्धीको ५ नं.को दायरा भित्रको पर्ने देखिन ठहर्न आउँछ । अतः निजलाई ज्यानसम्बन्धीको ६ नं.को देहाय ४ बमोजिम दुई बर्ष कैद र पाँच सय रूपैयाँ जरिवानाको सजाय हुने ठहर्छ । अरू तपसील बमोजिम गर्ने ।
तपसील
प्र.रुद्रबहादुर खड्का क्षेत्री के दशवर्ष कैद गर्ने गरेको ०३५।४।२ को बाग्लुङ जिल्ला अदालतको र सोही इन्साफलाई सदर गरेको ०३५।१२।१७ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको तथा ०३८।३।२५ को सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय मिलेको नदेखिँदा तल २ दफा बमोजिमको लगत कायम हुने हुँदा उक्त अदालतहरूको लगत कायम राख्न नपर्ने हुँदा व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरू बाग्लुङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...............................................................................................................................१
प्र.रुद्रबहादुर खड्का क्षेत्री के माथि इन्साफ खण्डमा उल्लेख भएअनुसार ज्यानसम्बन्धीको ६(४) नं.बमोजिम दुई बर्ष कैद र पाँच सय रूपैयाँ जरिवाना हुने ठहर भएकोले निज ०३४।९।२४ देखि थुनामा रहेको देखिएकोले मिति ०३६।९।२३ मा कैद बर्ष दुई भुक्तान भइसकेको र जरिवाना बापत दण्डसजायको ५३ नं.ले हुने कैद एक बर्ष चार महीना विस दिन समेत भुक्तान भइसकेको देखिएकोले यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा परेको रहेनछ भने थुनाबाट छाडी दिनु भनी जि.का.कारगार शाखा काठमाडौंका नाउँमा आदेश भई गएकोले सोही आदेश बमोजिमको लगत कायम गर्नु भनी बाग्लुङ जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.........................................................................................२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु..........................................................................................................................३
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.श्री गजेन्द्रकेशरी बास्तोला,
न्या.श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल कार्तिक १३ रोज...शुभम् । (३११)