निर्णय नं. १६८६ - उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ

निर्णय नं. १६८६ ने.का.प. २०४० अङ्क ७
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३९ सालको रि.नं. ९८५
आदेश भएको मिति : २०४०।७।१३।१ मा
निवेदक : ल.पु.न.पं.वडा नं.६ बस्ने पुष्पबहादुर श्रेष्ठ
विरूद्ध
विपक्षी : जग्गा नाप जाँच ऐनको ०१९, ६(५) बमोजिम गठित समितिको अध्यक्ष प्र.जि.अ.मुकाम ललितपुर समेत
विषय : उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ
(१) हक स्वामित्वमा नै विवाद परेको देखिए पछि जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम चित्त नबुझे अदालतमा जानु भनी विपक्षीलाई सुनाउनु पर्ने ।
(प्रकरण नं. ७)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
आदेश
न्या.बब्बरप्रसाद सिंह
१. प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. तथ्य रिट निवेदन जिकिर यस प्रकार छ : मेरो पैत्रिक सम्पत्ति शहरी क्षेत्रको पुर्खाको पालादेखि भोगी आएको तिरो नलागेको स्ववासी जग्गामा मेरो हकभोगको भन्ने कुरामा विभिन्न मितिमा भएको लिखतबाट सो विवाद सोबासी तिरो नलागेको जग्गा हक भइराखेको कुरा प्रमाणित भएको छ र सो जग्गा मध्येमा अंशियारबाट निजको हकको ०–४–० चन्द्रबहादुरसँग ०२८।७।३० मा राजीनामा गरी लिएको रहेछ तर सो कुरा नापी हुँदा सो लिखत पेश गरी निजको हक ०–४–० जग्गा दर्ता गराउन पनि सकेको थिएन बकसपत्रबाट पाएको भनेको तर सम्पूर्ण जग्गा हक नभएको अंशियार मध्येकोले ४ चार आना जग्गा उसको भागको स्वबासी दिएको नाताबाट सम्पूर्ण ठहर गर्न नहुने मेरो पिताजी पछि मेरो हकभोग भइआएको उक्त नापीमा ल.पु.न.पं.वडा नं.६ को कि.नं.१४१६ मा नापी भएको जग्गाको क्षेत्रफल ०–१५–३ मा जग्गाधनीको नाम खाली राखी नापी टोलीबाट ०३९।१।२० मा लगत प्रकाशन भएको मितिले ७ दिन भित्र सो जग्गाधनीको नाउँ खाली भएकोमा मेरो नाउँमा प्रकाशन गरिपाउँ भनी भोगको प्रमाण समेत ०३९।१।२४ गते पेश गरेको सो बमोजिम बुझ्नुपर्ने बुझी मेरो नाउँमा लगत प्रकाशन भएको थियो म्यादमा उजूर नगरी हदम्याद गुमाई विपक्षी सूर्य महर्जनले मेरो नाउँमा फिल्डबुकमा लेखी प्रकाशन गरिसकेपछि (३२२) मात्र उजूर गरेको ०३९।३।२५ मा बयान गराई सो म्याद बाहिरको उजूरीमा कारवाही गरी त्यसबाट तेरो मेरो परेको भनी ३ नं.नापी गोश्वाराले गठित जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (५) बमोजिमको समितिमा पेश गर्ने भनी सरजमीन राय समेत गरी ०३९।५।२५।६ मा पेश भएको स्वबासी दर्ता गरिपाउँ भनी पुष्पबहादुरले पेश गरेको प्रमाण कागज आफ्नो नाउँको नभई सँधियारहरूको नाउँको पेश गरेको सामान्य रूपमा ४ किल्ला नमिलेको र विपक्षी सुर्जे महर्जनको दावी परी पेश भएको चिरी महर्जनबाट बकसपत्र पाएको जग्गा हुँदा सुर्जे महर्जनको नाउँमा दर्ता गर्ने निर्णय ०३९।५।२५ मा भयो जग्गा नापजाँच ऐन, ०१९ को दफा ६ को उपदफा (५) बमोजिमको समिति गठन गर्ने कुरा उक्त ऐनको दफा ११(ख) मा छ सो बमोजिम उक्त ऐनको कार्यभित्र बनेको उक्त नियम ०३२ को दफा ७ मा प्रष्ट छ म्याद गई उजूर गर्न भूल भएको भनी विपक्षीको निवेदनमा लेखेको छ भूलबाट भएकोमा सुर्जे महर्जन स्वीकार गर्नुहुन्छ त्यस्तो म्याद गएको कुरामा उजूर लिई हेर्ने अधिकार अ.बं.३५ ले बदरभागी छ कारवाही गर्दै जाँदा तेरो मेरो लेखेको कुरा निर्णयले नै प्रष्ट छ । जग्गा नापजाँच ऐन, २०१९ को संशोधन सहितको दफा ६ को उपदफा (७) को त्रुटि भएको मेरो संविधानले प्राप्त सम्पत्ति सम्बन्धी हकको संविधानको धारा १० धारा ११ को उपधारा २(ङ) र धारा १५ को हकमा समेत आघात भएकोले संविधानको धारा १६ तथा ७१ को हक प्रचलन गराई पाउँ भन्ने जिकिर । विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने मिति २०३९।७।१९।६ को सिड्डलबेञ्चको आदेश ।
३. म्यादभित्रको सूचनामा मेरो उजूर परी मेरो नाउँ लेखिएकोमा यो मेरो नाउँ बदर गरी तेरो मेरोमा इन्साफ गर्ने अधिकार समितिलाई नभएकोले उक्त समितिको निर्णय अनाधिकृत छ । नाप नक्सा हुँदाका अवस्थामा उक्त कित्तामा जग्गाधनीको नाम खाली भई ७ दिने सूचना प्रकाशित भएकोमा चिरीकुमारी महर्जनबाट हालैदेखिको बकसपत्र पाई भोगचलन गरी आएको हुँदा मेरो नाउँमा दर्ता गरिपाउँ भनी सुर्जे महर्जनको दावी परेकोमा पेश भएको कागजात सरजमीन मुचुल्का र बस्तुस्थिति समेत अध्ययन गरी जग्गा नाप जाँच ऐनको दफा ६(५) अनुसार गठित समितिले पुष्पबहादुर श्रेष्ठले पेश गरेको प्रमाण कागज आफ्ना नाउँको नभई अंशियारहरूको नाउँको पेश गरेकोमा सामान्यरूपमा ४ किल्ला नमिलेको र विपक्ष सुर्जे महर्जनको दावी परी पेश भएको चिरीकुमारीबाट हालैदेखिको बकसपत्र पाएको जग्गा देखिएकोले सुर्जे महर्जनका नाउँमा दर्ता गर्ने गरी समितिबाट भएको निर्णय अनधिकृत नभएकोले उक्त निर्णयबाट निवेदक पुष्पबहादुरको कुनै पनि संवैधानिक हक हनन भएको नहुँदा यो रिट निवेदन खारेज योग्य भएकोले खारेज गरिपाउँ भन्ने समेत प्रमुख नापी अधिकृत ३ नं. नापी गोश्वारा तथा जग्गा नापजाँच ऐनको दफा ६.५ अनुसार गठित समिति सदस्य सचिवको लिखितजवाफ ।
४. जग्गा नापजाँच ऐनको दफा ६.५ अनुसार (३२३) गठित समितिको अध्यक्ष तथा सदस्यहरूको तर्फबाट सदस्य सचिवका हैसियतले ३ नं.नापी गोश्वाराका प्रमुख नापी अधिकृतबाट लिखितजवाफ प्रस्तुत भइसकेको हुँदा त्यसैलाई अनुरोध गरिएको व्यहोरा अनुरोध गर्दछु भनी २०४०।९।१२।२ मा मालपोत अधिकृत अर्थमन्त्रालय मालपोतविभाग ललितपुरबाट पत्र लेखी आयो।
५. विवादित जग्गामा निवेदकले आफ्नो हक पुगेको कुनै कानुनी सबूत प्रमाण पेश दाखिल गर्नसकेको छैन । आफ्नो कानुनी हक पुगेको ठोस सबूत प्रमाण बेगर उनाउ व्यक्तिको घरसारको लिखत भनेको कागजको आधारमा निवेदकको हकदैया पुग्नसक्ने होइन । चिरीकुमारीबाट मैले हालैदेखिको बकसपत्र गरी लिई मैले भोगचलन गरी आइरहेछु । जहाँसम्म तेरो मेरो परेकोमा दफा ६ को उपदफा (५) बमोजिमको समितिलाई निर्णय गर्र्ने अधिकारै नभएको दफा ६ को उपदफा (७) ले अदालतको अधिकार भएको दर्ता तिरो नभएको शहरी क्षेत्रको स्वबासी जग्गाको सम्बन्धमा कसैको उजूर नपरे नापी गोश्वाराले समितिमा जाहेर गरी दर्ता तिरो नभएको जग्गाको सम्बन्धमा दुई पक्षको उजूरी दावी परी समितिले आफ्नो अधिकारक्षेत्रभित्र रही कानुन बमोजिम निर्णय गरे भएको मेरो नाममा दर्ता भई मैले जग्गाधनी दर्ता प्रमाणपूर्जा पाइसकेको जहाँसम्म मैले ७ दिने म्याद नाघेपछि उजूर गरे भन्ने छ, ७ दिने सूचना प्रकाशित हुँदा नाम खाली भई प्रकाशित भएको दफा ६(५) बमोजिम २१ दिने सूचना प्रकाशित भएकोले म्यादभित्रै मैले आफ्नो सबूत प्रमाण पेश गरी उजूरी दावी गरेको हुँदा म्याद नाघी उजूर गरेको भन्ने कानुनसंगत नभएको विवादित जग्गामा निवेदकको कुनै हकदैया नरहेको हुँदा समितिको निर्णयले निवेदकको कुनै पनि हकमा आघात नपरेकोले रिट निवेदन खारेज हुनुपर्ने भन्ने सुर्जे महर्जनको वारेश कर्णवहादुर महर्जनको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तको र विपक्षी जग्गा नापजाँच ऐन, २०१९ को ६(५) बमोजिम गठित समिति ललितपुर समेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने हुनआयो ।
७. यसमा विवादको ल.पु.न.पं.वा.नं.१४१६ को ०–१५–३ जग्गा नापीमा नाम खाली रहेकोमा निवेदकले आफ्नो हकभोगको प्रमाण समेत पेश गरी उक्त जग्गा दर्ता गरी पाउन प्रकाशित सूचनाको ७ दिनभित्र प्रमाण समेत पेश गरी निवेदन दिएको र सो बमोजिम विवादको जग्गामा निजको नाम समेत कायम भएकोमा सुर्जे महर्जनको निवेदनबाट तेरो मेरो परेको ३ नं.नापी गोश्वाराको ०३९।५।२९ को पत्रबाट देखिन्छ । यसरी निवेदकको नाममा कायम भएको जग्गाको सुर्जे महर्जनको निवेदनबाट हक स्वामित्वमा नै विवाद परेको देखिए पछि (३२४) जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम चित्त नबुझे अदालतमा जानु भनी विपक्षी सुर्जे महर्जनलाई सुनाउनु पर्नेमा सो बमोजिम नगरी आफैंले सो बदर गरी सुर्जे महर्जनका नाउँमा दर्ता गरेको जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(५) बमोजिम गठित समितिको निर्णयमा जग्गा नापजाँच ऐन, ०१९ को दफा ६(७) को त्रुटि भएको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब बुझ्नुपर्ने सबूत प्रमाण बुझी पुनः कारवाई निर्णय गर्नु भनी विपक्षीका नाममा परमादेशको आदेश समेत दिने ठहर्छ । जानकारीको निमित्त यो आदेशको एक प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
प्र.न्या.नयनबहादुर खत्री
इतिसम्वत् २०४० कार्तिक १३ गते रोज १ शुभम् ।