शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: कार्तिक अंक:

निर्णय नं. १६९१     ने.का.प. २०४० अङ्क ७

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको रिट नं. ९६८

आदेश भएको मिति : २०४०।६।९।१ मा

निवेदक : जि.मकवानपुर हटिया गा.पं.वार्ड नं.५ पुवाले बस्ने हेटौडा कपडा उद्योग लिमिटेडका   मजदुर टंकप्रसाद भट्ट विरूद्ध

विपक्षी : हेटौडा उद्योग प्रा.लि.का केशवप्रसाद प्रधानसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)                नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन संशोधन सहित २०१६ को दफा ५१ को तात्पर्यको लागि निवेदकलाई दिइने पहिलो पटकको नसिहद मान्न नमिल्ने हुँदा सो नभए सम्मलाई निजलाई सोझै बरखास्त गर्ने गरेको नमिल्ने ।

(प्रकरण नं. ८)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षीतर्फबाट       : विद्वान अधिवक्ता श्री किशोरकुमारी अधिकारी

आदेश

न्या.बासुदेव शर्मा

१.     ०३९।६।७ को निर्णय नेपालको संविधानको धारा ७१ अन्तगरत बदर गरिपाउँ भन्ने २०३९।६।२१।५ को रिट निवेदनपत्रको व्यहोरा रहेछ ।

२.    संक्षिप्त विवरण निम्नप्रकारको छ : म निवेदक विपक्षी कपडा उद्योग प्रा.लि.को पुरानो स्थायी मजदूर हुँ उद्योगले तोकेको नियम बमोजिम दक्षताले भ्याएसम्म गरेकै छु, ०३८।६।२ का दिन हे.क.उ.प्रा.लि.मा विश्वकर्मा पूजाका लागि पुछपाछ सरसफाईको सिलसिलामा अन्दाजी १९ इन्चीको रातो कपडा लिएकोमा सो तोकिएको काम पनि सम्पन्न नहुँदै मलाई अं.४ बजे तिर विपक्षी अध्यक्षज्यूको कार्यालयमा लगियो । फुलिस्केप साइजको अज्ञात व्यहोरा लेखिएको कागजमा तुरून्त सही गर्ने आदेश अध्यक्षले दिनु भयो, आज समारोहको कपडा तैंले चोरेको रहिछस यो कागजमा सही गरे जागिर बच्छ, नत्र निकाली दिन्छु भनी बारम्बार वरिपरी सुरक्षा गार्डको जवानहरू राखी जबरजस्ती उक्त कागजमा सहिछाप अध्यक्षज्यूले गराउनु भयो, कागजको व्यहोरा मलाई थाहा थिएन पछि थाहा दिए अनुसार हे.क.उ.प्रा.लि.बाट उत्पादित १९ इञ्चको कपडा मैले चोरी लगेको ठीक साँचो हो भनी साविती कागज रहेछ सो आधारमा ०३८।६।४ का दिन मलाई नोकरीबाट वर्खास्त गरिएको सूचना पाएँ । गै¥ह कानुनी निष्काशन गर्ने आदेश दिएकोले पुनरबहाली गरिपाउँ भनी मजदुर सम्बन्धी ऐन बमोजिम श्रम कार्यालयमा उजूरी निवेदन दिएकोमा उक्त आदेश बदर नगरेकोले श्रम विभागमा पुनरावेदन दिएँ विभागले पनि मेरो पक्षमा निर्णय नगरेकोले असाधारण क्षेत्राधिकारमा उजूर गर्नआएकोछु कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१(१) को प्रकृया अपनाएर मात्र गर्न सकिन्छ सफाई पेश गर्ने मौका समेत नदिई गरेको आदेश बदरभागी छ विपक्षी अध्यक्षज्यूको मलाई निष्काशन गर्ने निर्णयले संविधानको धारा १०(१,,३) ११ (३.५) द्वारा मौलिक हक हनन् भएकोले संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरी साविक पदमा पुनर्वहाली भए सम्मको तलब भत्ता दिलाई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र रहेछ ।

३.    विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्ने भन्ने सर्वोच्च अदालत सिड्डलबेञ्चको २०३९।६।२४।१ को आदेश रहेछ ।

४.    जबरजस्ती कागज गराएको भए अ.बं.३८ नं.बमोजिम नालेस गर्न सक्नु पर्छ, ०३८।६।२ का दिन अं.४.४५ बजे मेनगेटमा सुरक्षा गार्डले जाँच गर्दा निवेदकको खल्तीबाट उद्योगको कपडा बरामद भएबाट तत्काल सोधपुछ गर्दा चोरी गरेकोमा सावित भई राजीखुशी साथ कागज लेखी दिएको र बरामती कपडामा पनि सहिछाप (३३६) गरेको हुन, पहिला पटक नसिहद दिइसकेको हुँदा कानुन बमोजिम बरखास्त गरिएको हो सफाईको मौका दिएको छ कानुन बमोजिम निवेदकलाई बरखास्त गरिएको हो अपनाउनु पर्ने कार्याविधि अपनाइएको छ, रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको हे.क.उ.प्रा.लि.हेटौंडाका हकमा र आफ्नो हकमा समेत सो उद्योगका कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धक केशवप्रसाद प्रधानको लिखितजवाफ रहेछ ।

५.    निवेदकको उजूरीका आधारमा हेटौंडा कपडा उद्योगबाट लिखितजवाफ मगाई हेर्दा बराबर कपडा चोरी भइरहेकोमा २०३८।३।३० मा प्रथम नसिहद दिएको देखिएको र ०३८।६।२ मा चोरी प्रकट भई कपडा समेत बरामत भएको देखिन आएकोले चोरी गर्ने व्यक्तिलाई औचित्य दृष्टिबाट समेत कपडा उद्योगले मिति ०३८।६।४ मा निज भट्टलाई बरखास्त गरेको निर्णय यस कार्यालयबाट सदर गरिएको हो, रिट खारेज हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको श्रम विभागको लिखितजवाफ रहेछ ।

६.    निवेदकको वा गोविन्दबहादुर बानियाँ र विपक्षी हेटौंडा उद्योगको महाप्रबन्धक केशवप्रसादको वा अमरकुमार रेग्मी समेतलाई रोहवरमा राखी निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीबाट विपक्षीतर्फबाटका विद्वान अधिवक्ता श्री किशोरकुमारी अधिकारीको र श्रम विभागतर्फका सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले गर्नुभएको बहस समेत सुनियो ।

७.    प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने नपर्ने के हो त्यसको निर्णय दिनुपरेको छ ।

८.    यसमा ०३८।३।३० र ०३४।४।५ को संशोधन सहितको सामूहिक चेतावनीलाई नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन संशोधन सहित, २०१६ को दफा ५१ को तात्पर्यको लागि निवेदकलाई दिइने पहिलो पटकको नसिहद मान्न नमिल्ने हुँदा सो नभए सम्मलाई निजलाई सोझै बरखास्त गर्ने गरेको मिलेन बदर हुन्छ । कानुन बमोजिम गर्ने भनी परमादेशको आदेश जारी गरी दिने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल आश्विन ९ गते रोज १ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु