निर्णय नं. १६९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १६९९ ने.का.प. २०४० अङ्क ७
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको रिट नं. ७१५
आदेश भएको मिति : २०४०।७।८।३ मा
निवेदक : भ.पु.जि.नकदेश गा.पं.वार्ड नं.३ बस्ने काजीबहादुर वाडे
विरूद्ध
विपक्षी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत सम्भुप्रसाद समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) कुन कित्ता जग्गाको उकास भएको हो त्यसको निरोपण नगरी प्रत्यर्थीले पेश गरेको बाली बुझाएको भरपाई अ.बं.७८ नं.अनुसारको प्रकृया नगरी सो भरपाईलाई समेत प्रमाण लगाई भूमिसुधारले वादी दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १३)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गड्डाप्रसाद उप्रेती
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र (३६०) विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
आदेश
न्या.धनेन्द्र्रबहादुर सिंह
१. ०३८।१२।१३।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ ।
२. संक्षिप्तमा तथ्य र निवेदन जिकिर यस प्रकार छ : पिताम्वेश्वरीदेवी शाहका नाउँको साविक सि.नं. ३४१ लगत नं. ७४ न.नं. ३४ को ३० नं. जाति गाल भन्ने खेत रोपनी ९–८–३ मध्ये आधा पश्चिम मनोहरा खोलातर्फको जग्गा बाबुका पालादेखि नै कमाई जग्गाधनीलाई बाली बुझाई भोगी आएकोमा ०२१ साल भन्दा अगाडि मनोहरा खोला पसी जग्गा नोक्सान परेकोमा सर्भे नापी हुँदा भू.पु. दिवेश्वरी गा.पं.वार्ड नं.७(ख) कि.नं.३३ बाट जग्गा रोपनी २–१०–० मात्र नापी भई बाँकी खोलातर्फ पारी नापी भयो । पछि नयाँ मूल बनी खोला सोझो हुँदा जग्गा उकास भई अन्दाजी ३ रोपनी जग्गा साविक बमोजिम कमाई बाली बुझाउनु भन्ने पिताम्वेश्वरीदेवीबाट मिति ०२९।१।२९।६ मा मेरा बाबु कसकुमारले चलन बहाली पाई जग्गा भोगी आएकोमा खोलाले चापी खोलो कि.नं.२४५ भई नापी भएकोमा सो उकास भएको जग्गाको फिल्ड चेक गरी ज.ध. प्रमाण पूर्जा पाउँ भन्ने समेत पिताम्बेश्वरीदेवीको निवेदन परी कारवाही चलाउँदाका अवस्थामा उक्त जग्गाको बालीमा विपक्षी मिश्रीमाया समेतका व्यक्तिले अशान्ति गर्ने सम्भावना भएकोले शान्ति सुरक्षाको लागि जि.का.भू.सु.मा निवेदन दिई कारवाही चलाएकोमा जग्गाको हकमा अदालतमा गई हक बेहक छुट्याई ल्याउनु भन्ने ०३६।६।१ मा निर्णय भएकोले निज मिश्रीमाया समेत उपर मोहियानीमा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने बाबु कंशकुमारको विपक्षी भू.सु.कार्यालयमा नालिस परी कारवाही हुँदा जबसम्म जग्गाधनी दर्ता हुँदैन तबसम्म मोहियानी हक पाएको भन्न नमिल्ने भनी खारेज गरी दिएको उपर सम्मानित अदालत समक्ष मेरो रिट निवेदन पर्दा जग्गाधनी दर्ता नभएसम्म मोही हुने प्रश्न नउठ्ने भनी मिति ०३५।१२।२८ मा रिट खारेज भयो जग्गावालाको निवेदनबाट कारवाही चलेको खोलाले छाडी उकास भएको जग्गा दर्ता गरी किसिम कायम गरिपाउँ भन्ने विषयमा कारवाही चलेतर्फ कि.नं.२४५ को पूर्व पट्टिबाट कि.नं.३३ को पश्चिमपट्टि साँधबाट जग्गा रोपनी ४–४–१ जग्गालाई आठा सरह किसिम कायम गर्ने र उक्त जग्गा मिलापत्रबाट देखिने अंशियारहरू पिताम्बेश्वरी शाह, सुर्यप्रसाद शाह, धिरेन्द्रप्रताप शाह, रामेश्वरप्रसाद शाह, सुन्दरप्रसाद शाहका नाममा जग्गाधनी कायम गरी संयुक्त दर्ता गरी दिने भन्ने मालपोत कार्यालयबाट ०३७।६।२०।२ मा निर्णय भई दिव्यश्वरी गा.पं.वार्ड नं.७(२०) कि.नं.२५७ कायम गरी उक्त जग्गाधनी दर्ता भई ज.ध.प्र.पू. पाइसकेको छ । यसरी जग्गा दर्ता भइसकेपछि दर्तावालातर्फबाट पिताम्बेश्वरी (३६१) शाह समेतले सो जग्गा साविक बमोजिम मलाई नै कमाउन दिई ०३७ सालको कूत समेत बुझेको भरपाई समेत दिएकोले उक्त कि.नं.२५७ को जग्गा भू.सं. ऐन, २०२१ को दफा २६ को उपदफा (२) अनुसार मेरा नाउँमा मोही कायम गरिपाउँ भनी विपक्षी कार्यालयमा मैले निवेदन गरेकोमा मोहियानी कायम हुन नसक्ने भनी ०३८।१२।१३।६ मा विपक्षी कार्यालयले निर्णय गर्दा मिश्रीमायाको पति चन्द्रबहादुरले ०२६।०२७ सालको बाली बुझाई लिएको भरपाईमा जातिगाल खेत साविक १३ रोपनी मध्ये नापीबाट ५ रोपनी भएको जग्गाको बाली बुझाएको भन्ने भरपाई नक्कलबाट देखिएको मिश्रीमायाका पति चन्द्रबहादुरले जोतेको भन्ने समेत आधारले निर्णय गरी मेरो दावा नपुग्ने गरी निर्णय भयो ।
३. साविक पिताम्बेश्वरीदेवी शाहका नामको सि.नं. ३४१ लगत नं. ७४ र न.नं. ३४ को ३० नं. जातिगाल खेत हाल विवाद परेको जग्गा होइन भन्न विपक्षी अधिकारीले सक्नुभएको छैन, ०२१ साल पछि उकास हुन आउँदा ज.ध. को इच्छापत्र बमोजिम जग्गा जोती जग्गा सबूत हुन आउँदा वहाँका छोरा समेतका नाममा जग्गा दर्ता भएकोमा धनी कायम नभएको २ नं.अनुसूची प्रकाश नै नभएको अवस्थामा जग्गाको विपक्षीहरू मोही बनी ४ नं.जो.अ.नि. लिएकोमा भ्रष्टाचार गरे भन्ने मेरो बाबुको उजूरी जिल्ला कार्यालयले तामेलीमा राखी दिएको आधारमा मेरो दावा नपुग्ने भनी त्यस्तो जो.अ.नि.लाई मान्यता दिएको भू.सं. ऐन, २०२१ को नियम ६ तथा १० समेतको प्रतिकूल हुनगएको छ ।
४. पहिलेको रिट निवेदन खारेज भएपछि जग्गाधनी कायम भइसकेपछि कारवाहीमा कुनै असर पर्ने होइन ०२६।०२७ सालको बाली बुझाएको भरपाई लिएको भन्ने आधारमा सो भरपाई कसले गरी दिएको हो सो मलाई देख्न सुन्न नदिई मेरो विरूद्ध प्रमाण लगाउनु त्रुटिपूर्ण छ । जग्गा मैले २०२९ सालदेखि जोत्दै आई ०३७ सालको बाली समेत जग्गाधनीहरूलाई बुझाई मलाई मोहियानी आएको तथ्य प्रमाणहरूको वास्तै नगरी निर्णय गर्नु अ.बं.१८४(क) को समेत विपरीत हुनगएको छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालतको सिड्डलबेञ्चको २०२९।४।११ को आदेश रहेछ ।
६. मेरो पति चन्द्रबहादुरले अनुसूची ४ को जो. नियमबमोजिम लगत प्रकाश भई अनुसूची ३ को मोहियानी प्रमाणपत्र पाई सो उपर उजूर परी विपक्षीको उजूर नलाग्ने गरी निर्णय गरे उपर विपक्षीको उजूर छैन । जुन मैले पेश गरेको छु । मैले मालपोतको निर्णय बमोजिम मोही कायम लगतमा दर्ता गरिपाउँ भनी निवेदनमा विपक्षीले बयान गरी पैरवीमा रही आएको हुनाले निजलाई सुनाइएन भन्ने प्रश्नै उठ्न सक्तैन अधिकार प्राप्त अधिकारीले जो जति कानुनी विधि पुर्याउनु पर्ने हो पुर्याई प्रमाणकै आधार लिई खारेज गरेको अ.बं.१८४ (क) को विपरीत निर्णय भएको छैन तसर्थ रिट खारेज हुनुपर्छ भन्ने समेतको मिश्रीमाया वाडेको लिखितजवाफ रहेछ ।
७. २०१८ सालदेखि साविक मोही चन्द्रबहादुरले (३६२) हामीलाई जग्गा कमाउन दिएको थियो २०२१ सालको समेत नापी हुँदा मनहरा खोला लागि बेमाख भई बगर भएको फिल्डबुकमा पनि दिब्बेश्वरी गा.पं.वार्ड नं.७(ख) कि.नं.१४५ को खेत रोपनी ४५–१० मनहरा नदी भनी जनिएको पछि खोलाले खेत रोपनी ४–४–१ जग्गा मध्ये रोपनी १–६–३–० चन्द्रबहादुरका नाउँमा र ऐ.वार्ड नं.७(ख) कि.नं.२४५ को खेत रोपनी ०–७–२ कर्णबहादुर वाडे ऐ.कि.नं.२४५ को खेत रोपनी ०–७–२ तुईसिं वाडे ऐ.कि.नं.२४५ को ०–७–२ सिंहबहादुर वाडे ऐ.कि.नं.२४५ को ०–७–२ निरबहादुर वाडे ऐ.कि.नं.२४५ को ०–७–२ सिरकुमार वाडे समेत ६जनाले जोत जित प्रमाणपत्र पाएका छौं हामीलाई जग्गावालाले मोहियानी भरपाई दिएको र २०३८ सालको बाली धरौट राखेका छौं ०२१ सालदेखि अघि कमाई आएकोले कबुलीयत छैन तसर्थ अधिकार प्राप्त अधिकारीले प्रमाण पुर्याई गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभएकोले रिट खारेज गरिपाउँ भन्ने समेतको हरिबहादुर वाडे समेत जवान ६ को लिखितजवाफ रहेछ ।
८. निवेदकले दावी गरेको जग्गा विपक्षी मिश्रीमायाको पति चन्द्रबहादुरले ०२६।०२७ सालको बाली बुझाई लिएको भरपाईमा उक्त जातिगाल खेत साविकमा १३ रोपनी मध्ये नापीबाट ५ रोपनी कायम भएको जग्गाको बाली बुझी लिए भन्ने भरपाई नक्कल समेत पेश भएको र साविक जातिगालको १३ रोपनी जग्गा मिश्रीमायाको पति चन्द्रबहादुर समेतले जोतेको भन्ने प्रमाणित समेत हुनआएको हुँदा र ०३७ साल समेतको बाली मिश्रीमायाले बुझाएको भरपाई पेश हुन आएकोले रिट निवेदकको दावी पुग्न नसक्ने हुँदा खारेज गरिएको हो रिट जारी हुनुपर्ने होइन खारेज गरिपाउँ भन्नेसमेतको भूमिसुधार शाखा भक्तपुरको लिखितजवाफ रहेछ ।
९. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गड्डाप्रसाद उप्रेतीले विवादित जग्गा रिट निवेदकका बाबुका पालादेखि कमाई आएको जग्गा हो खोलाले छाडी उकास भई कि.नं.२५७ कायम भएको जग्गा, जग्गाधनीका चलन पूर्जि अनुसार तिरो तिरी भोगी आएको छ । २ नं. प्रकाशित नै नभई लिएको ४ नं.जो.अ.नि. लाई मान्यता दिन नमिल्ने बाली बुझाएको भरपाई रिट निवेदकलाई अ.बं.७८ नं.बमोजिम नसुनाई निजको विरूद्ध प्रमाण लगाएको पनि त्रुटिपूर्ण भएकोले भू.सु.शाखा भक्तपुरको निर्णय बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न खटिनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र प्रत्यर्थी मिश्रीमायमा समेततर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित जग्गा ४ नं.जो.अ.नि. प्राप्त गरेको छ बाली बुझाई ज.ध. बाट रसीद लिएको छ । सो प्रमाण समेतको आधारमा भू.सु.शाखाबाट भएको निर्णयमा कुनै त्रुटि छैन भने समेत बहस गर्नुभयो ।
१०. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा उकास जग्गा मिश्रीमाया समेतले जोतेको भनी सरजमीन भएको चन्द्रकुमार (३६३) समेतले लिएको जो.अ.नि. उपर भ्रष्टाचारमा उजूर परेकोमा उजूरी तामेली रहेको मिश्रीमायाको पनि चन्द्रबहादुरले ०२६।०२७ सालको भरपाई पेश हुन आएकोबाट साविकमा जग्गावालाको १३ रोपनी जग्गा मिश्रीमायाको पति चन्द्रबहादुरले जोतेको भन्ने प्रमाणित समेत हुन आएकोले वादी दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार शाखा भक्तपुरबाट मिति ०३८।१२।१३ मा निर्णय गरेको देखिन्छ ।
१२. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (२) मा मोहीले कमाई रहेको जग्गा तर बेसी भई वा खोलाले छाडी बढी हुन आए त्यस्तो बढमा यो ऐनको अन्य दफाहरूको अधिनमा रही मोहीका हक निजलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएको पाइन्छ ।
१३. प्रस्तुत विषयमा साविक सि.नं. ३४१ ल.नं. ७४ नं. ३४ को जग्गा रोपनी ९–८–३ मध्येको सर्भे कि.नं.३३ बाट जग्गा रोपनी २०–१०–० नापी भई बाँकी मनोहरा खोलातर्फ पारी नापी भयो खोला कि.नं.२४५ भई नापी भएको उकास हुनआएको जग्गा रोपनी ४–४–१ कि.नं.२५७ कायम गरी दर्ता भएको सो जग्गाको मोही कायम गरिपाउँ भन्ने रिट निवेदनको भू.सु.शाखामा निवेदन परेकोमा उल्लेखित जग्गा मेरो श्रीमान चन्द्रबहादुरले अघि देखि मोही भई कमाई आएको विपक्षीले कमाई आएको छैन भन्ने प्रत्यर्थी मिश्रीमायाले बयान गरेको र निजको पति चन्द्रबहादुरले ०२६।०२७ सालको बाली बुझाई लिएको भरपाईमा साविक १३ रोपनी मध्ये नापीबाट ५ रोपनी कायम भएको जग्गाको बाली बुझेको भरपाई नक्कल पेश भएकोबाट देखिन्छ । सो विवादित जग्गा रिट निवेदकको भनाई बमोजिम साविक जग्गा रोपनी ९–८–३ मध्येको हो वा प्रत्यर्थीको भनाई अनुसार निजले पेश गरेको भरपाईमा उल्लेख भएबमोजिम साविक १३ रोपनी मध्येको बढ जग्गा के हो ? सो प्रश्न प्रस्तुत मुद्दामा समावेश भएकोले सो कुरा श्रेस्ता प्रमाणबाट के देखिन्छ कुन कित्ताको जग्गा उकास भएको हो त्यसको निरोपण गरेर मात्र मोही कायम गरिपाउँ भन्ने निवेदनमा निर्णय गर्नुपर्ने हुन्छ । तर प्रत्यर्थी भू.सु.शाखा भक्तपुरको निर्णयमा विवादित जग्गा साविक ९–८–३ मध्येको हो वा प्रत्यर्थीका भनाई अनुसार साविक १३ रोपनी मध्येको के हो ? त्यस कुराको निरोपण गरी निर्णय गरेको देखिँदैन त्यसको अतिरिक्त प्रत्यर्थीले बाली बुझाएको भरपाई प्रमाण लगाएको देखिन्छ । सो भरपाई अ.बं.७८ नं.बमोजिमको प्रकृया अनुसार रिट निवेदकलाई देखाई सुनाई निजको विरूद्ध प्रमाण लगाउन पर्ने हुन्छ । तर सो भरपाई उक्त ऐनको प्रकृया अनुसार रिट निवेदकलाई देखाएको र सुनाएको पनि देखिँदैन । त्यस प्रकार कुन कित्ता जग्गाको उकास भएको हो त्यसको निरोपण नगरी प्रत्यर्थीले पेश गरेको बाली बुझाएको भरपाई अ.बं.७८ नं.अनुसारको प्रकृया पूरा नगरी सो भरपाईलाई समेत प्रमाण लगाई प्रत्यर्थी भूमिसुधार शाखा भक्तपुरले वादी दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको मिति २०३८।१२।१३ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१४. अतः उपरोक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार शाखा भक्तपुरले गरेको मिति ०३८।१२।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुनबमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल कार्तिक ८ गते रोज ३ शुभम् ।