शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२०९ - जबर्जस्ती करणी

भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज..रा.

फैसला मिति : २०७१।२।२५

०६७–CR–०७७५

 

मुद्दा : जबर्जस्ती करणी ।

 

पुनरावेदक/वादी : नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : बारा जिल्ला, सिङ्गोल गा.वि.स.वडा नं.१ बस्ने रामबहादुर कार्की

 

§  कुनै कसूरका सम्बन्धमा पछि जारी भएको ऐनले चाहे त्यो Condified नयाँ कानून होस् वा Consolidated कानून होस् वा संशोधित दफा होस्, सजाय घटाएको वा अभियुक्तलाई सुविधा दिएको छ भने कानूनमा स्पष्टरूपमा अन्यथा व्यवस्था गरेकोमा वाहेक अन्य अवस्थामा सिद्धान्ततः त्यस्तो पछिल्लो कानून वा दफाको प्रयोग गर्न मिल्ने नै हुन्छ । त्यसरी निर्मित वा परिमार्जित कानून ex-post facto law भित्र नपर्ने भएको हुँदा र पुनरावेदन अदालतबाट फैसला हुँदाका बखत मिति २०६३।७।१७ को संशोधनले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३ नं. को देहाय ३ बमोजिम १४ वर्ष वा सो भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म सजाय हुन सक्ने कानूनी व्यवस्था निर्धारण गरेको देखिएकोले प्रतिवादीलाई ६ वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला परिवर्तन गर्नुपर्ने अवस्थाको नदेखिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेल

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने : मा.न्या.श्री निलकण्ठ उपाध्याय

रौतहट जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री राजेन्द्र प्रसाद राजभण्डारी

मा.न्या.श्री मोहन रमण भट्टराई

पुनरावेदन अदालत हेटौडा

 

फैसला

न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।६।१० को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार छ ।

          पूर्व चोहान बाजेको पक्की घर, पश्चिम चण्डेश्वरी किराना पसल, उत्तर खाली जमिन, पश्चिम महेन्द्र राजमार्ग यति चार किल्लाभित्र दक्षिण मोहडा फर्किको खपडाको छाना भएको दुईतले अजय लज सञ्चालन भएको घरको लजको माथिल्लो तलामा ६ वटा कोठाहरू रहेको, सो कोठाहरू मध्ये दक्षिण ढोका भएको पश्चिम कोठामा प्रवेश गरी हेर्दा सो कोठामा दुई वटा खाटमा बिछौना सहित ओछ्‍याइएको अवस्थामा रहेको, बिछौना सिरक यत्रतत्र बिग्रिएको अवस्थामा रहेको, रामबहादुर कार्कीले सेवन गरी नसकेको बोतलमा आधा जति रक्सी, केरा, स्याउ फलफुल पोका पारिएको दुईवटा पोका खाटको दक्षिण कुनामा देखाएको प्रतिवादी रामबहादुर कार्कीले जबरजस्ती करण गर्दा लगाएको निलो रंगको कपडाको कट्टुसमेत सोही कोठाको भुईंमा बरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

प्रतिवादी रामबहादुर कार्कीले मादक पदार्थ सेवन गरेको भन्ने परीक्षण प्रतिवेदन ।

मिति २०६२।११।१३ गते म दिदीको घर निजगढ आउने भनी आई पेट दुखी बसी रहेको अवस्थामा निज रामबहादुर कार्कीले म चन्द्रनिगाहपुर लगी उपचार गराई दिन्छु भनी गाडी चढाई चन्द्रनिगाहपुर ल्याई उक्त लजमा राखी निज बाहिर आई मादक पदार्थ सेवन गरी आई मलाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भन्नेसमेत व्यहोराको सोनिका दंगालको जाहेरी दरखास्त ।

जाहेरवाल मेरो घरको छेउको भएकीले निजको र मेरो प्रायः दिनदिनै भेट भएको र आजभन्दा १ वर्ष अघि निजको मन्जुरीले मेरो र उसको शारीरिक सम्पर्क भएको थियो । त्यसपछि बेलाबेलामा निजसँग शारीरिक सम्पर्क हुँदै आएकोमा निजलाई ५०।-, १००।- दिने गर्दैथे । मिति २०६२।११।१३ गते काम विशेषले निजगढ आएको अवस्थामा निज जाहेरवाली पनि निजगढ आएकी रहिछन । जाहेरवालीले मलाई बोलाई काका तपाईको फुर्सद छ छैन, फुर्सद भए चन्द्रनिगाहपुर घुम्न जाउँ भनी जाहेरवालीले भनेकीले वीरगन्जबाट चन्द्रनिगाहपुर आउने बसमा चढेर चन्द्रनिगाहपुर आएपछि मैले त खाना नखाई घरबाट हिडेको भनेर निजले मलाई भनेपछि नास्ता गरौं न त भनी त्यहाँ रहेको होटलमा नास्ता गरी अजय होटलमा गई त्यहाँ निजलाई राखी म त्यहाँबाट बाहिर गई मादक पदार्थ सेवन गरी फलफुल लिई गई निजलाई लौ त काम सुरू गरौं भनेपछि के काम भनेर निजले सोधे पछि जुन काम तिमी म गर्ने गर्थ्यौं सोही काम भनेपछि निजले हुन्छ भनी आफ्नो सुरूवाल खोली भुईंमा सुतेपछि मैले नि आफ्नो पाइन्ट र कट्टु खोली निजसँग शारीरिक सम्पर्क गरेपछि निजले म ट्वाइलेट गएर आउँछु भनेपछि हुन्छ भनी निज बाहिर ट्वाइलेट गई पुनः म बसेको कोठामा आई सकेपछि फेरी पनि मैले निजसँग शारीरिक सम्पर्क गर्न खोज्दा त्यहाँ होटल मालिक समेतका केही व्यक्तिहरू र प्रहरी आई मलाई पक्राउ गरेका हुन् । मैले निजलाई जबर्जस्ती गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर कार्कीको बयान ।

मिति २०६२।११।१३ गते मेले नचिनेको १ जना ५०/५५ वर्षको मानिस मेरो होटलमा आएर म भारत टाटा कम्पनीमा १५ वर्ष काम गरी आएको हुँ । मेरो छोरा बिरामी भएर उपचारको लागि ल्याएको छु । एकदिनको लागि कोठा बुक गरी दिनु भन्दा १ नं. कोठा बुक गरी दिएपछि निज त्यहाँबाट बाहिर गई मादक पदार्थ सेवन गरी, मादक पदार्थ लिई एउटा केटी लिई आई १ नं. कोठामा ढोका बन्द गरी बसी रहेकाले खोज खबर गरिन । २/३ बजेतिर चुलोनिर बच्चाहरू जाँदा बच्चालाई धम्काउदा मैले थाहा पाएँ । पछि अरूले पनि थाहा पाई ई.प्र.का. चन्द्रनिगाहपुरमा फोन गरेपछि त्यहाँबाट खटी आएको प्रहरी र अन्य मानिसहरूले केटीलाई र बुढालाई सोधपुछ गर्दा केटीले मेरो काका हो भनेको हो । पछि बुझ्दा बुढोले केटीसँग शारीरिक सम्बन्ध गरेको कुरा थाहा पाएको भन्ने जग्रनाथ चौधरीको कागज ।

जाहेरवालीलाई सोध्दा निजालाई निजगढबाट ल्याई चन्द्रनिगाहपुरको अजय लजमा राखी जबर्जस्ती करणी गरेको कुरा जाहेरवालीले भन्दा मलाई विश्वास भयो । जाहेरवालीलाई रामबहादुर कार्कीले जबर्जस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको विनिता बख्रेलसमेतको कागज ।

मिति २०६२।११।१३ गते अजय लजमा कोठा बुक गर्दा होटलको रजिस्टरमा मेरो नाम रामकुमार कार्की, ठेगाना कोल्भी, आएको स्थान चपुर, जाने ठाउँ कोल्भी, पेसा किसान, नाता छोरी भनी मैले आफैले लेखी सहीछाप गरेको हुँ । कोठा बुक गर्दा मैले रामकुमार कार्की भनी लेखाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर कार्कीको ततिम्वा बयान ।

प्रतिवादी रामबहादुर कार्कीले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. मा परिभाषित कसर गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको ऐ. महलको ३ नं. को देहाय २ बमोजिम सजाय गरी ऐ. महलको १० नं. बमोजिम प्रतिवादी रामबहादुर कार्कीको आधा अंश सर्वस्व गरी पीडित जाहेरवालीलाई दिलाई भराई दिनसमेतको माग दावी लिएको भन्नेसमेत व्यहोराको अभियोग दावी ।

जाहेरी दरखास्त व्यहोरा झुठा हो, निज सोनिकालाई मैले ल्याएको छैन । निजलाई मैले करणी गरेको छैन । पहिले नै सोनिकासँग गाउँमा वादविवाद भएको थियो । सोही इवीले निजले माइती नेपालको सरस्वतीलाई मिलाई मलाई झुठा जाहेरी दिएकी हुन भन्नेसमेत व्यहोराको सुरू अदालतमा गरेको बयान ।

बुझिएको मिना कोइराला, जग्रनाथ चौधरी, विनिता बख्रेल र सोनिका दंगालको बकपत्र मिसिल सामेल रहेको । 

यसमा केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको प्रतिवेदनबाट सोनिकाको Swab मा Semen फेला परेबाट सोनिकासँग करणी भएको स्पष्ट हुन्छ । १५ वर्षको नावालिकालाई राजिखुसीबाट करणी गरे पनि जबर्जस्ती करणी हुने भनी जबर्जस्ती करणीको ३(२) तर्फ विचार गर्दा पीडितको उमेर वादी पक्षबाट एकिन गरेकी पाइएन । एउटा विद्यालयको पत्रको फोटोकपीको आधारमा मात्र आधार मान्न सकिएन । कुनै ठोस प्रमाण नभए डाक्टरबाट उमेर जाँच गराउनु पर्ने, जन्म दर्ता आदि पेश गर्नुपर्ने, सो पे हुन सकेको छैन । पीडितको आमाले प्रहरीसमक्ष कागज गर्दा जन्म मिति खुलाउन सकेकी छैनन्‍ । प्रतिवादीसँग १ वर्ष पहिलेदेखि शारीरिक सम्पर्क गर्दै आएको भनी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानको स.ज.४ मा उल्लेख भएबाट १ वर्ष पूर्वदेखि यौन सम्पर्क गर्ने महिला नाबालिका हुन भनी अनुमान गर्न सकिँदैन । अतः उमेर एकिन भई नआएको अवस्थामा नावालक भनी राजिखुशीको करणीलाई जबर्जस्ती करणी भन्न सकिएन । जबर्जस्ती करणीमा सजाय गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने सुरू रौतहट जिल्ला अदालतको मिति २०६४।६।१४ को फैसला ।

सुरू फैसलामा चित्त बुझेन । प्रतिवादी रामबहादुर कार्कीले मौकामा बयान गर्दा सोनिकालाई राजिखुशीबाट करणी गरेको भनी बयान गरेको, केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको प्रतिवेदनमा सोनिकाको Swab मा Semen फेला परेबाट सोनिकासँग करणी भएको स्पष्ट हुन्छ भने पीडित सोनिकाले मलाई प्रतिवादी रामबहादुरले मिति २०६२।११।१३ गते जबर्जस्ती करणी गरेका हुन र करणी गर्दा वर्य पतन भएको थियो भनी अदालतमा आई बकपत्र गरी दिएबाट वारदात निर्विवादरूपमा स्थापित भएको छ प्रतिवादीले जाहेरवालीलाई राजीखुसीबाट १ बर्षदेखि यौन सम्पर्क गर्दै आएको बयान गरे तापनि साक्षी प्रमाणबाट सो कथन पुष्टि गर्न नसकेको, प्रतिवादीले अदालतमा पीडितलाई मिति २०६२।११।१३ गते करणी गरेको स्वीकार गरे पछि पीडितले आफ्नो उमेर १५ वर्ष भनेकी, पीडितकी आमा हरिमाया दंगालले कागज गर्दा पीडितको उमेर १५ वर्ष लेखाएकी र भरतगंज सिङ्गोल गा.वि.स. को सर्जमिन मुचुल्का र पीडित अध्ययन गरेको विद्यालयको पत्रबाट निजको जन्म मिति २०४९।११।१४ भएको भन्ने उल्लेख भएको देखिँदा निज नाबालिका भएको स्पष्ट हुँदाहुँदै निज प्रतिवादीलाई सफाई दिने ठहर गरेको सुरू रौतहट जिल्ला अदालतको मिति २०६४।६।१४ को फैसला त्रुटिपूर्ण हुँदा उल्टि गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

यसमा पीडितले आफ्नो उमेर १५ वर्ष भनी उल्लेख गरी रहनु भएको र निज वारदात मितिमा १६ वर्ष पूरा भै सकेको देखिनेसम्मको वस्तुनिष्ठ प्रमाण प्रतिवादीले पे गर्न नसकेको अवस्थामा राजिखुशीको करणी ठहर गरेको सुरूको फैसला मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. प्रतिकूल भई इन्साफ फरक पर्न सक्ने देखिकोले छलफलमा उपस्थित हुन भनी अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई नियानुसार पे गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको आदेश ।

पीडितको उमेर सम्बन्धमा प्राप्त विद्यालयको अभिलेखसमेतको आधारबाट १५ वर्ष नाघेको अवस्था नदेखिएको र निज पीडित १६ वर्ष नाघी सकेको भन्ने प्रमाणित प्रतिवादीले गराउन नसकेको । प्रतिवादीको अदालतको इन्कारी बयान ठोस प्रमाणबाट पुष्टि नभएको अवस्था एकातिर देखिएको छ र अर्को तिर जाहेरी दरखास्तको किटानी व्यहोरासमेत उपर्युक्त व्यहोराबाट समर्थिन भइरहेको देखिएकोले यी प्रतिवादीले अभियोगपत्रमा उल्लेख भएबमोजिम पीडितलाई जबर्जस्ती करणी गरेको देखिएकोले निजलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को कसूरमा ऐ. को ३ नं. बमोजिम ६ वर्ष कैद हुने र मुलुकी ऐन, जबर्जस्ती करणीको वारदात हुँदाका अवस्थामा वहाल रहेको १० नं. को व्यवस्थाबमोजिम प्रतिवादीको आधा अंशसमेत पीडित सोनिका दंगाललाई भराई दिनुपर्नेसमेत ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१०।२६ को फैसला ।

प्रतिवादीले वर्ष १४ की पीडितलाई जबर्जस्ती करणी गरेको ठहर भएबाट प्रतिवादीले दावी अनुसारको कसूर अपराध गरेको तथ्यमा विवाद छैन । मुलुकी ऐनको एघारौं संशोधन पश्चात् जबर्जस्ती करणीको महलको ३ नं. को देहाय २ ले गरेको कानूनी व्यवस्था अनुसार नै प्रतिवादीलाई ७ वर्षदेखि १० वर्ष सजाय गर्नुपर्नेमा सो अनुसार नगरी हचुवाको भरमा ६ वर्ष कैद सजायसमेत गर्ने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी दाबीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेलले यी प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गरेको भन्ने पुष्टि भई निजलाई सजायसमेत भएको हुँदा प्रतिवादी कसूरदार हुन भन्ने कुरामा विवाद छैन तर निजलाई सजाय गर्ने क्रममा ६ वर्षमात्र सजाय गरेको हुँदा सो हदसम्म पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण छ । वारदात हुँदाको बखत प्रचलित मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३ नं. को देहाय २ ले निर्धारित गरेको ७ वर्षदेखि १० वर्षसम्मको अवधिको सिमाभित्र रही सजाय गर्नुपर्नेमा अन्यथा गरेको हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय गरी पाउँ भनी गर्नु भएको बहससमेत सुनी संलग्न मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो । 

२. यसमा निर्णयतर्फ विचार गर्दा पीडित जाहेरवालीलाई मिति २०६२।११।१३ गते जिल्ला रौतहट, गा.वि.स.चन्द्रनिगाहपुर वडा नं.१ स्थित अजय लजमा लगी प्रतिवादी रामबहादुर कार्कीले जबर्जस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का तथा जाहेरी दरखास्तबाट देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष आफूले पीडितलाई करणी गरेको हो भनी स्वीकार गरेको तथा पीडितको शारीरिक परक्षिण प्रतिवेदनबाट Semen present in the vagina भन्ने देखिएको, होटलको रजिस्टरको प्रतिलिपि तथा पीडितको बकपत्र तथा बुझिएका व्यक्तिको बकपत्रसमेतबाट प्रतिवादीले पीडितलाई ललाई फकाई होटलमा लगी जबर्जस्ती करणी गरेको भन्ने देखिन आउँछ । पीडितको उमेरसम्बन्धमा सम्बन्धित विद्यालयबाट प्राप्त अभिलेख हेर्दा निजको जन्म मिति २०४९।११।४ गते भएको भन्ने देखिन आएको हुँदा वारदातको बखत मिति २०६२।११।१३ मा निज पीडितको उमेर १३ वर्ष पूरा भई चौध वर्ष लागेको देखिएबाट निज प्रतिवादीले १६ वर्षमुनीकी नावालकलाई ललाई पकाई जबर्जस्ती करणी गरेको भन्ने पुष्टि हुन आएको देखिन्छ । जहाँसम्म वारदात हुँदाका बखत लागू रहेको कानूनबमोजिम प्रतिवादीलाई सजाय गर्नुपर्ने भन्ने सम्बन्धमा पुनरावेदन जिकीर छ सोतर्फ विचार गर्दा वारदात मिति २०६२।११।१३ मा भएको र तत्काल लागू रहेको (एघारौं संशोधन मिति २०५९।६।१०) मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १३ नं.को देहाय २ को व्यवस्था हेर्दा १० वर्ष वा सोभन्दा बढी १६ वर्षमुनीको बालिकालाई भए ७ वर्षदेखि १० वर्षसम्म सजय हुने अवस्था देखिए तापनि जबर्जस्ती करणीको उक्त ३ नं. मा भएको सजायसम्बन्धी व्यवस्थालाई मिति २०६३।७।१७ मा लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा पुनः संशोधन भएको पाइन्छ । उक्त पछिल्लो संशोधन पश्चात् मिति २०६६।१०।२६ मा मात्र पुनरावेदन अदालत, हेटौंडाबाट फैसला भएको देखिन्छ । मिति २०६३।७।१७ को संशोधित व्यवस्था हेर्दा जबर्जस्ती करणीको महलको ३ नं. को देहाय ३ ले १४ वर्ष वा सो भन्दा बढी  १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था कायम गरेको पाइन्छ । 

३. कुनै कसूरका सम्बन्धमा पछि जारी भएको ऐनले चाहे त्यो Condified नयाँ कानून होस् वा Consolidated कानून होस् वा संशोधित दफा होस्, सजाय घटाएको वा अभियुक्तलाई सुविधा दिएको छ भने कानूनमा स्पष्टरूपमा अन्यथा व्यवस्था गरेकोमा वाहेक अन्य अवस्थामा सिद्धान्ततः त्यस्तो पछिल्लो कानून वा दफाको प्रयोग गर्न मिल्ने नै हुन्छ । त्यसरी निर्मित वा परिमार्जित कानून ex-post facto law भित्र नपर्ने भएको हुँदा र पुनरावेदन अदालत, हेटौंडाबाट फैसला हुँदाका बखत मिति २०६३।७।१७ को संशोधनले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३ नं. को देहाय ३ बमोजिम १४ वर्ष वा सो भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म सजाय हुन सक्ने कानूनी व्यवस्था निर्धारण गरेको देखिएकोले प्रतिवादी रामबहादुर कार्कीलाई ६ वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला परिवर्तन गर्नुपर्ने अवस्थाको नदेखिएको हुँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इति संवत्‍ २०७१ साल जेठ २५ गते रोज १ शुभम्

इजलास अधिकृत : सुमनकुमार न्यौपाने

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु