शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७०५ - अंश

भाग: २५ साल: २०४० महिना: कार्तिक अंक:

निर्णय नं. १७०५    ने.का.प. २०४० अंङ्क ७

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३८ सालको दे.पु.नं. २१३, ३१०

फैसला भएको मिति  : २०४०।५।५।१ मा

पुनरावेदक/वादी : का.जि.धर्मस्थली गा.पं.वडा नं.७ पुसल गाउँ बस्ने लालविर पुतवार

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने पुनसिङ् पुतवार

मुद्दा : अंश

(१)                वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन भन्न सकिने स्थिति नदेखिने ।

(प्रकरण नं. १७)

फैसला

न्य. सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चले २०३७।८।२।२ मा गरेको फैसला कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी २०३७।९।१ मा वादी प्रतिवादी दुवै थरीको परेको निवेदनमा २०३८।४।२६।२ मा पुनरावेदन गर्ने अनुमति भई (३७८) पेश हुनआएको निवेदनको व्यहोरा तथा मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ ।

२.    बाजे बुधेको छोरा जेठा जेल माहिला मेरा वा मुखा कान्छा विपक्षीको बाबु बाबुराम भएकोमा जेठो जेल बाजेकै पालामा अंश लिई भिन्न भई बसेकोले हामी माहिला कान्छाका सन्तान म र पुनसिं निजको भाइ हाराँ समेत सगोलमा बसी आएकोमा बसी आएको बाबुहरू परलोक भइसकेपछि ९८।१।१५ गते मानो छुटी केही जग्गा मैले लिई छुट्टै घरमा बसी आएको र नापी हुँदा मेरो नाउँमा जोताहा र विपक्षीका बाबुका नाउँमा साविक दर्ता भई निजले नामसारी गर्न का.भू.प्र.का.मा दर्खास्त दिई आएको म्यादमा हाजिर भई सो जग्गा विपक्षीको मात्र होइन मेरो पनि हक लाग्ने भनी बयान भई हक वेहक गरी आउनु भनी ०२३।७।२४ मा भई सो उपर का.जि.अ.मा मुद्दा पर्दा पनि दावी झुठ्ठा ठहरे उपर पुनरावेदन दिएकोमा नामसरी गर्ने दर्खास्त गरेको मनासिव र अंश बाँकी भए नालेस गर्नु भनी ०३१।१०।३ मा वा.अं.अ.बाट फैसला भएकोले हामीहरूको अंश भएको समेत नहुँदा उक्त मितिलाई मानो छुट्टिएको कायम गरी विपक्षबाट आधा अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ ।

३.    बाजे बुधे परलोक भएपछि मेरो बाबु बाबुराम समेत ३ दाजुभाइ सगोलमा भएको सम्पत्ति ३ बण्डा गरी आआफ्ना  भाग अंश भोगचलन गरी नामसारी र बिक्री समेत भइसकेको छ । नामसारी गर्न दिएको दर्खास्तबाट कारवाही हुँदा हक बेहकतर्फ नामसारी हुने ठहरी वा.अं.अ.बाट फैसला भएको रिसले सम्म यो फिराद गरेको हो, दावी अनुसार ९८ सालमा मानो छुटेको र अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रत्युत्तर पत्र रहेछ ।

४.    प्रतिवादीले पेश गरेको १९७३।२।२१।६ र १९७८।३।१० को लिखत वादीलाई सुनाउँदा लिखत सद्दे भनी बयान गरेको देखिएको मिसिल सामेल रहेका कागजात प्रमाणको मिसिलबाट वादी प्रतिवादीको बीच छुट्टाछुट्टै व्यवहार चली रहेको देखिँदा पुनः बण्डा गरी दिन नमिली अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

५.    काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझ्न अंश पाउनु पर्ने भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र रहेछ ।

६.    पाउने अंश भन्दा घटी अंश लिएकोमा राजिष्टे«शन भएको हुनुपर्छ भन्ने संशोधित रजिष्ट्रेशनको ३० नं.मा व्यवस्था भएकोमा प्रतिवादीले रजिष्ट्रेशन पारित भएको बण्डापत्र छ भन्न र दाखिल समेत गर्न नसकेकोले वादीको दावी नपुग्ने ठहर्‍याई शुरूले गरेको इन्साफ मिलेको नदेखिएकोले विपक्षी रुजु रहेकोले झिकाउनु परेन डिभिजनबेञ्चमा पेश गर्नु भन्ने म.क्षे.अ.सिड्डलबेञ्चको आदेश रहेछ ।

७.    म.क्षे.अ.को २०३६।११।२०।२ को डिभिजनबेञ्चको आदेशानुसार वादी प्रतिवादी दुवै पक्षबाट बेग्लाबेग्लै तायदाती पेश भई २०३१।२।२०।५ मा दुवै पक्षले सुनी पाएको कागज गरी दिएको रहेछ।

८.    यी दुवै पक्ष अंशियार हो भन्ने सम्बन्धमा कुनै विवाद रहेन अंशको दायित्व बहन गर्ने प्रतिवादी पुनसिं पुतवारले अंशबण्डा भइसकेको छ भनी कुनै ठोस प्रमाण गुजार्न सकेको छैन प्रमाणमा आएको यिनै पक्ष विपक्ष भएको नामसारी मुद्दामा भएको अन्तिम फैसला हेर्दा बण्डापत्र नभई सगोलमा रहेको सम्पत्ति अन्यथा प्रमाणित हुन नसके सम्म सगोलकै मान्नु पर्ने अवस्था प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार अनुमान गर्नुपर्ने समेत हुँदा शुरूले वादी दावी नपुग्ने ठहराएको इन्साफ गल्ती ठहर्छ आधा अंश वादीले प्रतिवादीबाट पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको २०३७।८।२।२ को फैसला रहेछ ।

९.    मेरा बाबु बाबुराम र विपक्षका बाबु मुखका नाउँमा नामसारी समेत गरी बेगल भई खाई पाई बिक्री व्यवहार गरी आएकोमा अंशबण्डा लाग्ने गरी विपरीत फैसला भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पुनसिं पुतवारको २०३७।९।७।१ को निवेदनपत्र रहेछ ।

१०.    श्रीमती डिल्लीका नाउँमा दर्ता भएको एक कित्ता रू.१,०००। खर्च गरी बनाएको घर एक पनि आधा पाउने गरी कानुनको त्रुटि गर्दै म.क्षे.अ.ले गरेको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको ०३९।९।७।१ को वादी लालवीरको निवेदनपत्रमा यसमा म.क्षे.अ.डिभिजनबेञ्चबाट ०३७।८।२।२ मा भएको फैसलामा वादीको श्रीमती डिल्ली पुतवारनीका नाउँको घर जग्गा समेत बण्डा गर्ने गरेको अंशबण्डाले १८ नं.र स्त्री अंश धनको ४ नं.को विपरीत निर्णय गरेको देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को आधारमा पुनरावेदन गर्न अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।४।२६।२ को आदेश रहेछ ।

११.    मेरा बाबु बाबुराम र विपक्षका बाबु मुखाका नाउँमा जग्गा नामसारी समेत गरी बेगल भई खाई पाई बिक्री व्यवहार गरी आएकोमा अंशबण्डा लाग्ने गरी विपरीत फैसला भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पुनसिं पुतवारको २०३७।९।७।१ को निवेदनपत्रमा ।

१२.   यसमा वादी प्रतिवादीहरूका नाउँमा आफ्ना  आफ्ना  नाउँमा जग्गा दर्ता रहेभएको देखिँदा अंशबण्डाको ३० नं.को विपरीत वादीले अंश पाउने ठहरी ०३७।८।२।२ मा भएको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को आधारमा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।४।२६।२ को आदेश रहेछ ।

१३.   यसमा धर्मस्थली गा.पं.वडा नं.७ पुसल गाउँ भन्ने मौजाको दर्ता कित्ता १ मा कुन साल मिति माथि पक्ष विपक्षहरूको नाममा अस्थायी दर्ता रहेको देखिन्छ वा देखिँदैन देखिए दर्ता उतारको प्रतिलिपि काठमाडौं माल कार्यालयबाट झिकाई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।४।१७।१ को आदेश रहेछ । (३८०)

१४.   वादी प्रतिवादी दुवै थरीलाई रोहवरमा राखी म.क्षे.अ.को २०३७।८।२।२ को निर्णय मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनुपर्ने हुनआएको छ ।

१५.   यसमा जग्गा नामसारी मुद्दा भू.प्र.का.मा परी हक बेहक गरी आउनु भनी ०३३।७।२४ मा भई सो उपर का.जि.अ.मा मुद्दा पर्दा दावी झुठ्ठा ठहरे उपर पुनरावेदन दिएकोमा नामसारी गर्ने दर्खास्त गरेको मनासिव अंश बाँकी भए नालेस गर्नु भनी वा.अं.अ.बाट ठहर भएकोेले अंशबण्डा नभएको हुँदा विपक्षी पुनसिं पुतवारबाट आधा अंश दिलाई पाउँ भन्ने मूल रूपमा दावी लिएको पाइन्छ ।

१६.    प्रतिवादी पुनसिंउ पुतवारले अंशबण्डा भइसकेको ठोस प्रमाण गुजार्न नसकेको हुँदा प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार सगोलकै अनुमान गर्नुपर्ने भई वादीले प्रतिवादीबाट आधा अंश पाउने म.क्षे.अ.ले ठहर गरेको देखियो । वादीले प्रतिवादीबाट अंश पाउनु पर्ने हो कि होइन भन्ने तर्फ विचार गर्दा प्रतिवादीले ७८ साल अगावै मानो छुट्टिई आफ्नो भाग समेत बिक्री व्यवहार गर्दै आएको भनेको र पारसिंह भन्ने जेलका नाउँमा जग्गा दर्ता भई विरवललाई बिक्री गरेको वादीका बाबु मुखाको नाममा पनि जग्गा दर्ता भई आफ्नो भागको जग्गा एकमर्दनलाई बिक्री गरेको समेत देखिन आएको छ । वादी प्रतिवादीको बीचमा अंशबण्डा नभएको भए वादीको बाबु मुखाको नाममा जग्गा दर्ता हुनु नपर्ने र निजले जग्गा बिक्री वितरण समेत गर्न नपर्ने हो । अंशबण्डाको ३० नं.मा अंशबण्डा गर्दा साक्षी राखी कानुनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिई दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नुपर्नेमा सो गरी राख्नु पर्छ । सो बमोजिम नभएको बण्डा सदर हुँदैन तर यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नोआफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराइसकेको वा बण्डाबमोजिम आफ्नोआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने उल्लेख भएको पाइन्छ ।

१७.   अतः वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन वादीले प्रतिवादीबाट अंश लिए पाएको छैन भन्न सकिने स्थिति देखिन आउँदैन । अतएव वादी प्रतिवादीको बीचमा अघि नै अंशबण्डा भई लिनुदिनु गरी भोगचलन बिक्री व्यवहार समेत गर्दै आएको देखिँदा वादीले प्रतिवादीबाट आधा अंश पाउने ठहर्‍याएको म.क्षे.अ.को २०३७।८।२ को निर्णय मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहर्‍याएको का.जि.अ.को इन्साफ मनासिव ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी लालवीर पुतवारले प्रतिवादी पुनसिंह पुतवारबाट अंश नपाउने ठहर भएको हुँदा अब अंश दिनु नपर्ने भई म.क्षे.अ.ले अंश भाग छुट्याई दिने गरेको लगत कट्टा गरी दिनु भनी का.जि.अ.मा लगत दिनु........................................................१

प्रतिवादी पुनसिंह पुतवारले यस अदालतमा पुनरावेदन गरे बापत राखेको कोर्टफी रू.९९।५ वादीबाट भराई पाउँ भनी प्रतिवादीको ऐनका म्याद भित्र निवेदन परे दस्तूर केही नलिई भराई दिेनु भनी का.जि.अ.त.मा लगत दिनु...................................................................................२

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल भाद्र ५ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु