शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७०८ - आय कर

भाग: २५ साल: २०४० महिना: मंसिर अंक:

निर्णय नं. १७०८     ने.का.प. २०४० अङ्क ८

 

फुलबेञ्च

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.पु.नं. ३८

फैसला भएको मिति  : २०४०।८।२०।३ मा

निवेदक/प्रतिवादी : श्री ५ को सरकार अर्थ मन्त्रालय, कर विभाग कर कार्यालय विराटनगर

विरूद्ध

विपक्षी/पुनरावेदक : जि.मोरड्ड विराटनगर स्थित अरूणोदय उद्योग प्रा.लि.का तर्फबाट ऐ.का    सञ्चालक जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.४ बस्ने मदनलाल अग्रवाल

मुद्दा : आय कर

(१)                कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत नमिल्ने ।      

(प्रकरण नं. २२)

निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय

विपक्षी पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री     शुसिल  कुमार सिन्हा

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     नेपालको संविधानको धारा ७२(ख) बमोजिम श्री ५ महाराजाधिराज सरकारबाट दोहर्‍याई दिनुभन्ने हुकूम प्रमांगी बक्स भएबमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको छ । मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् :

२.    कर फछ््र्यौट आयोगको निर्णयानुसार भनी कर कार्यालय विराटनगरबाट आर्थिक वर्ष २०३०।३१ को लागि खूद आय रू.४५,३४९।१५ र कर रू.१०,१४२।०४ र जरिवाना रू.५७।९६ गरी गरेको कर निर्धारण आदेश मिति ०३४।१२।२० मा प्राप्त भएकोमा अरूणोदय उद्योग प्रा.लि.ले नेपाल औद्योगिक व्यवसाय ऐन, २०१८ अनुसार १० वर्ष आयकर छूट पाएको उद्योगले र सोही अनुसार उक्त उद्योगलाई कर नै नलाग्ने भनी पुनरावेदकको भनाई भएकोमा कर फछ्र्यौट आयोगबाट आर्थिक ऐन, २०२७ को दफा १०(२) अनुसार उद्योगको औद्योगिक आयमा मात्र कर छूट हुने अवस्था भएको र नेपाल आयकर ऐन, ०१९ को संशोधित दफा १९(२) मा उद्योगको औद्योगिक आयमा आयकर रिहाई दिन सकिने व्यवस्था रहेको हुँदा पुनरावेदकको गैर औद्योगिक आयमा कर लगाइएको हो भन्ने जिकिर लिएको देखिन्छ ।

३.    अरूणोदय उद्योग प्रा.लि.ले ०२५ सालदेखि नै १० वर्ष सम्मको लागि आयकर छुटको सुविधा उपभोग गरी आएकोमा मिति ०२९।६।५ मा जारी भएको नेपाल आयकर ऐन, ०१९ को संशोधित दफा १९ लागू हुनसक्तैन र आयकर छूट नपाएका उद्योगको लागि मात्र आर्थिक ऐन, ०२७ सो दफा १० को प्रतिवन्धात्मक वाक्यांश लागू हुने हुँदा उक्त ऐन लगाई अरूणोदय उद्योग प्रा.लि.माथि आयकर लगाउने गरेको कर फछ्र्यौट आयोगको निर्णय कानुनी त्रुटिपूर्ण छ ।

४.    यस उद्योगले प्राप्त गरेको आयात इजाजतपत्रहरूबाट व्यापारिक वस्तुहरू झिकाई व्यापारबाट प्राप्त हुने आय गैर औद्योगिक आय खूद आय कायम गरी आयकर लगाइएको हो भन्ने कर फछ््र्यौटको जिकिर सम्बन्धमा अरूणोदय उद्योगले नेपालबाट उत्पादित वस्तुहरू निर्यात गरी प्राप्त हुने विदेशी मुद्राको बोनसको रकमबाट यस उद्योगलाई चाहिने कच्चा पदार्थ स्टेनलेस स्टिलका सिटहरू आयात गर्दै आइरहेकोमा श्री ५ को सरकारबाट स्टेनलेस स्टिलका सिटहरूको आयातमा प्रतिबन्ध लगाएको र बोनस रकमबाट तोकिएको ३० वस्तुहरू मगाउन सकिने श्री ५ को सरकारबाट व्यवस्था गरिए अनुसार नै अरूणोदय उद्योगले विकास सामग्रीहरू आयात गर्दै आएको हो आफूखुशी आयात निर्यातको व्यापार नगरी श्री ५ को सरकारबाट इजाजत पाई झिकाइएको विकास सामग्रीहरूलाई गैरऔद्योगिक कार्य भनी आयकर लगाउने निर्णय कानुन विपरीत छ । कम्पनी ऐन अनुसार राखेका लेखालाई मान्यता दिने भन्ने आयकर ऐन, ०३१ को दफा ४९(५) को अधिकार प्रयोग गरी श्री ५ को सरकार अर्थ मन्त्रालयबाट सूचना जारी भएको र आयकर नियम, (३९९) २०२० को नियम १३ मा हिसाब किताब भएको करदाताको हिसाब किताब भएकै आधारमा आयकर निर्धारण गरिने छ भन्ने व्यवस्था छ । अरू व्यापारीले अधिक विजकीकरण र न्यून विजकीकरण गरेको भन्ने भ्रान्तिपूर्ण आधार अबलम्वन गरी निवेदकले पेश गरेको हिसाब किताब अमान्य गरी न्यायोचित अनुमानद्वारा आयकर निर्धारण गरेको उपरोक्त ऐनहरू प्रतिकूल छ । यी आधारमा निवेदकको लेखा अमान्य गरिएका हुन् भनी कर फछ्र्यौट आयोगले देखाउन सकेको छैन।

५.    न्यायोचित अनुमानद्वारा खूद आय निर्धारण गर्दा करदातालाई केही भन्ने मौका दिनुपर्ने कुरा आयकर ऐन, २०३१ को दफा ३३(५) मा छ । कर फछ््र्यौट आयोगले निवेदकलाई न्यायोचित अनुमानद्वारा कर निर्धारण किन नगरिने भनी दिइएको सूचनाले उल्लेखित ऐनको दफा ३३(५) को रीत नपुर्‍याएको भन्न सकिँदैन । न्यायोचित अनुमानद्वारा खूद आय निर्धारण गर्दा कर फछ््र्यौट आयोगले ठोस आधार उल्लेख गर्नुपर्ने ऐनमा व्यवस्था नभएकोमा सो कुनै पनि आधारको उल्लेख गर्न कर फछ््र्यौट आयोग असमर्थ देखिन्छ । विपक्षी कर फछ््र्यौट आयोगले निवेदकले प्राप्त गरेको आयात इजाजतको मूल्यमा ३० प्रतिशतको दरले खूद आय कायम गरेको छ । आयात इजाजतपत्रको मूल्य खूद आय कायम गरिन र हुनसक्ने होइन । आयकर ऐन, ०३० को दफा २(७) मा आर्जन गरेको आयमा खर्च घटाई बाँकी रहेको रकमलाई खूद आय भनी परिभाषा गरेको देखिन्छ । आयात इजाजतपत्र बमोजिम झिकाइएको माल देश भित्र आई बिक्री भई भएको आर्जनमा खर्च कटाई खूद आय कायम गर्नुपर्नेमा आर्जन नभएको माल पनि इजाजतपत्रको मूल्यमा ३० प्रतिशतको दरले खूद आय कायम गर्नु प्रत्यक्ष कानुनी त्रुटि हो । निवेदकले पेश गरेको आ.ब. ०२८।२९, ०२९।३० र ०३०।३१ को लेखालाई अमान्य गरी पेश गरिएका प्रमाणहरूको व्यवस्था गरी हचुवा तवरले खूद आय कायम गरी एउटै आदेशमा ४ वर्षको कर निर्धारण गर्नु भनी आदेश दिएको समेतमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि भएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदकको जिकिर ।

६.    यसमा कुन पूर्वावस्थाको विद्यमानताको आधारमा न्यायोचित अनुमानबाट कर निर्धारण गर्नु परेको हो र निवेदकबाट पेश गरिएको लेखाईलाई अमान्य गर्नुको आधारहरू समेत कर फछ््र्यौट आयोगले देखाउन नसकेको तथा आयात निर्यात व्यापारमा अधिक विजकीकरण तथा न्यून विजकिकरण गरिने प्रचलन भएको भन्ने काल्पनिक आधारलाई अवलम्बन गरी खूद आय कायम गरेको र सो अनुसार कर निर्धारण गर्नु भन्नु कर कार्यालय, विराटनगरलाई आदेश दिनु भन्ने समेतको कर फछ्र्यौट आयोगको निर्णयमा कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०३६।१२।१२।३ को आदेश ।

७.    यसमा अरूणोदय उद्योग प्रा.लि.विराटनगरले प्राप्त गरेको आयात इजाजतपत्रहरूबाट व्यापारको बस्तु झिकाई व्यापार गरेको र व्यापारिक आयमा कर छूट भएको भनी सो उद्योगले प्राप्त गरेको आयात इजाजतपत्रहरूको मूल्यको न्यायोचित अनुमानद्वारा खूद आय कायम गरी कर (४००) फछ्र्यौट आयोगले मिति ०३४।११।२६ मा आयकर निर्धारण गर्नु भनी कर कार्यालय, विराटनगरलाई दिएको आदेशानुसार उक्त कार्यालयले आयकर निर्धारित गरेको देखिन्छ । प्रस्तुत मुद्दामा दुवै पक्षका कानुन व्यवसायीहरूबाट आर्थिक ऐन, २०२७ को दफा ९ को उपदफा (२) र औद्योगिक व्यवसाय ऐन, ०३० को दफा १४(१) को आधारमा बहस प्रस्तुत भएको देखिन्छ । औद्योगिक व्यवसाय ऐन, ०१८ को दफा (१) मा यो ऐन भन्दा पछि खोलिएका उद्योगहरूमा उद्योगको काम चालू भएको मितिले १० वर्ष सम्म आयकर नलग्ने व्यवस्था छ तर साथ साथै आर्थिक ऐन, २०२७ को दफा १०(२) मा उद्योगको आफ्नो औद्योगिक आयमा मात्र आयकर छूट गरिएको छ भनी लेखिएको छ । औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १४(१) मा उद्योगले साविक बमोजिम उपभोग गरी आएको सुविधाको उपभोग गरी रहन पाउने व्यवस्था भएको हुनाले औद्योगिक व्यवसाय ऐन, २०१८ ले प्रदान गरेको आयकर छूटको सुविधा औद्योगिक व्यवसाय ऐन, २०३० ले कुण्ठित गरेको देखिँदैन ।

८.    सर्वोच्च अदालत डिभिजनबेञ्चबाट यस मुद्दामा पुनरावेदनको अनुमतिको आदेश दिँदा कर फछ््र्यौट आयोगले निवेदकले राखेको लेखालाई मान्यता नदिएकोमा, के आधारबाट उक्त लेखा अमान्य गरिएको हो सो आयोगले खुलाउन नसकेको र आयात निर्यात व्यापारमा अधिक विजकीकरण र न्यून विजकीकरण गरिने प्रचलन भएको भन्ने काल्पनिक आधारलाई अवलम्बन गरी कर फछ्र्यौट आयोगबाट खूद आय कायम भएको र सो अनुसार कर कार्यालय विराटनगरले कर निर्धारण गरेको कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने उल्लेख भएको देखिन्छ ।

९.    अरूणोदय उद्योग प्रा.लि.ले औद्योगिक व्यवसाय ऐन, २०१८ अनुसार १० वर्ष सम्मको आयकर छुटको सुविधा उपभोग गर्दै आएको तथा औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १४(१) ले पनि उक्त उद्योगलाई त्यस सुविधा उपभोग गर्नबाट वञ्चित गरेको नदेखिने र अर्कोतिर आर्थिक ऐन, २०२७ को दफा १०(२) अनुसार उद्योगको औद्योगिक आयमा मात्र छूट दिने व्यवस्था गरेको देखिन्छ । उद्योगको सुविधाको विषयमा सर्वोच्च अदालतबाट विषय विषयमा छुट्टाछुट्टै बनेको ऐनमा लेखिएको कुरा सोही ऐन बमोजिम हुने र औद्योगिक सुविधाको विषयमा औद्योगिक व्यवसाय ऐन नै लागू हुने भनी बोलेको देखिन्छ । यसको अलावा औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९  (१) मा प्रचलित नेपाल कानुनमा जेसुकै कुरा लेखिएको भए तापनि यो ऐन लागू भएपछि खोलिने उद्योगहरूमा प्रचलित नेपाल कानुनबमोजिम लाग्ने आयकर त्यस्तो उद्योगको काम चालू भएको मितिले १० दश वर्ष सम्म लाग्ने छैन भन्ने गरिएको व्यवस्थालाई औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १४(१) समेतले समर्थन गरेको देखिन्छ ।

१०.    अरूणोदय उद्योग प्रा.लि.ले नेपालबाट उत्पादित वस्तुहरू निर्यात गरी आर्जन भएको विदेशी मुद्राबाट प्राप्त हुने वोनसबाट उद्योगको लागि चाहिने कच्चा माल स्टेनसील स्टीलका सिटहरू आयात गर्दै आएकोमा श्री ५ को सरकारबाट स्टेनसील स्टीलका सिटहरूको आयातमा प्रतिबन्ध लगाइएपछि उद्योगले आर्जन गरेको (४०१) वोनसबाट तोकिएको ३० वस्तुहरू झिकाउन पाइने श्री ५ को सरकारले व्यवस्था गरे अनुरूप अरूणोदय उद्योगले आयत इजाजतपत्रहरूबाट विकासका सामानहरू आयात गरेको र विकासका सामग्रीहरूको आयातबाट देशमा उद्योग धन्दाको विकासमा बढावा हुनजाने नै हुँदा विकास सामाग्रीहरूको आयतलाई स्टेनसील स्टिल सिट झिकाउन नदिए बापत विकास वस्तुहरू झिकाउन सहुलियत सम्म दिएको देखिँदा गैर औद्योगिक काम भन्न मिल्ने देखिँदैन । फेरि यो अरूणोदय उद्योगले आफू खुशी व्यापारको निमित्त विकास सामग्रीहरूको आयात गरेको नभई आफ्नो आर्थिक वोनसबाट श्री ५ को सरकारद्वारा निर्धारित वस्तुहरू मात्र आयात गरेको हुँदा यसलाई उद्योग देखि बाहेक अरू कुनै काम गरेको र उद्योगलाई पाई आएको आयकर छुटको सुविधा उपभोग गर्न पाउँदैन भन्न मिल्दैन । यसरी यो अरूणोदय उद्योगले औद्योगिक व्यवसाय ऐन, २०१८ अनुसार आयकर छुटको सुविधा उपभोग गर्न पाउँदैन भन्न मिल्दैन । यसरी यो अरूणोदय उद्योगले औद्योगिक व्यवसाय ऐन, २०१८ अनुसार आय कर छुटको सुविधा उपभोग गर्दै आएकोमा कर फछ््र्यौट आयोगबाट उक्त उद्योगले प्राप्त आयात इजाजतपत्रहरूबाट आर्जन गरेको आयलाई गैर औद्योगिक आय भनी खूद आय कायम गरी कर निर्धारण गर्ने आदेश कर कार्यालयलाई दिने गरी मिति ०३४।११।२६ मा निर्णय भएको र सो अनुसार कर कार्यालयबाट आयकर निर्धारण आदेश भएको समेत उक्त ऐनको विपरीत भई त्रुटिपूर्ण हुँदा सो आयोगको मिति ०३४।११।२६ को निर्णय उल्टी हुने ठहर्छ नियमबमोजिम गरी मिसिल बुझाई दिनु भन्ने डिभिजनबेञ्चको फैसला ।

११.    माथि उल्लेख भएबमोजिम हुकूम प्रमांगीबाट दोहरिएको प्रस्तुत मुद्दामा श्री ५ को सरकार अर्थ मन्त्रालय कर कार्यालयको तर्फबाट उपस्थित हुन भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) ले प्रस्तुत स्टेनसील स्टिलको उद्योग उद्योगको काम चालू भएको मितिले १० वर्ष सम्म लाग्ने आयकर छूट दिएकोमा र त्यस्तो छुटलाई औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १४(१) ले समेत कायम गरेकोमा विवाद छैन । तर प्रस्तुत अरूणोदय उद्योग प्रा.लि.नेपालबाट उत्पादित मालहरू निकासी गरी आर्जन गरेको वोनसबाट उक्त उद्योगमा प्रयोग हुने मालसामानहरू नमगाई अन्य माल सामानहरू मगाएको र त्यस्तो मालसामानहरू बिक्री गरेबाट कमाएको मुनाफा रकममा कर कार्यालय विराटनगरले आयकर लगाएको छ । उद्योगले आफूले उत्पादन गरेको मालहरू बिक्री गरी कमाएको बोनस रकममा आयकर लगाएको होइन । उक्त उद्योगले आफ्नो उद्योगबाट उत्पादित सामानहरू बनाई ती मालसामानहरू बिक्रीबाट कमाएको मुनाफा सम्ममा औद्योगिक व्यवसाय ऐनले आय कर छूट दिएको छ, अन्य कुरामा छूट दिएको छैन । उक्त कुरा आर्थिक ऐन, २०२७ को दफा १०(२) ले प्रष्ट गरेको छ । आर्थिक ऐन, २०२७ को दफा १०(२) मा औद्योगिक आयमा आयकर छूट दिएको भनी लेखेको छ । अरूणोदय उद्योगले नेपालबाट उत्पादित मालसामानहरू निकासी बिक्री गरी कमाएको वोनसबाट औषधी, अफिसका मालसामानहरू र इलेक्ट्रीक सामानहरू मगाई त्यसको बिक्रीबाट आर्जन गरेको रकमलाई औद्योगिक आय भन्नु गलत   (४०२) हो व्यापारिक आयलाई औद्योगिक व्यवसाय ऐन, २०२८ र २०३० समेतले छूट दिएको छैन र औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९(१) मा उद्योगको काम चालू भएको मितिले १० वर्ष सम्म आयकर लाग्ने छैन भन्ने लेखेकोले उद्योग सम्बन्धी काम गरी कमाएको मुनाफा रकम सम्म आयकर नलाग्ने हो गैर औद्योगिक आयमा आयकर छूट दिने गरेको डिभिजनबेञ्चको निर्णय मिलेको छैन भनी र अरूणोदय उद्योग प्रा.लि.का तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९(१) मा उद्योगलाई १० वर्षको आयकर छूट दिएको छ । उक्त उद्योगले नेपालबाट उत्पादित माल सामानहरू निकासी बिक्री गरी कमाएको वोनसबाट विकासका मालसामानहरू श्री ५ को सरकारले अनुमति दिए बमोजिम मगाएको हो र उक्त माल बिक्री गरी कमाएको रकम पनि उद्योगकै हुँदा त्यस्तोमा आयकर लगाउन मिल्दैन । स्टेनलेस स्टिल मगाउन नपाउने श्री ५ को सरकारबाट निर्णय भएकोले उद्योगले आफूले कमाएको वोनस रकमबाट उक्त विकासका मालहरू मगाएको हो । मिति २०२७।१०।६ को गोरखापत्रमा प्रकाशित सूचना बमोजिम नै मेरो पक्षले २१ आइटम्स मध्ये औषधी विजुलीको सामान र अफिसको मालसामानहरू मगाएको हो । उद्योगले आफू खुशी उक्त मालहरू झिकाएको होइन । औद्योगिक व्यवसाय ऐन, २०१८ ले औद्योगिक र गैर औद्योगिक आय भनी छुट्याएको छैन । आर्थिक ऐन, २०२७ को दफा १०(२) ले औद्योगिक व्यवसाय ऐन, २०१८ ले दिएको अधिकारलाई सीमित गर्न सक्दैन । मेरो पक्ष अरूणोदय उद्योग प्रा.लि.ले मगाएको मालसामानहरू कम्पनीको प्रबन्धपत्रले नै मगाउने गरी छूट दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९(१) ले छूट दिएको र उद्योगले आफ्नो प्रबन्ध पत्रको परिधिमा रही सरकारबाट स्वीकृति भएबमोजिमको मालसामानहरू मगाएको र त्यस्तो माल सामानहरूको बिक्रीबाट भएको मुनाफा रकम उद्योगले नै हुँदा आयकर छूट पाउने गरी डिभिजनबेञ्चबाट भएको निर्णय मिलेको छ भन्दै आयात इजाजतपत्र पाएकोमा सो को ३० प्रतिशतको हिसाबले कर पछ्र्यौट आयोगले खूद आय कायम गरेको छ । तर सो बमोजिम ३० प्रतिशतको हिसाबले खूद आय कायम गरेको कुनै आधार छैन । आयकर ऐन, २०३१ को दफा १७ मा खूद आय निर्धारण तरीका तोकिएबमोजिम हुने छ भनिएको छ । तर सो अनुसार तोकिएको छैन । विभागीय परिपत्रको आधारमा ३० प्रतिशतका दरले खूद आय कायम गरी आयकर निर्धारण गर्न मिल्दैन । उक्त आयकर निर्धारण हचुवा छ भनी वैकल्पिक बहस समेत प्रस्तुत गर्नुभयो र अरूणोदय उद्योग प्रा.लि.का तर्फबाट रहनुभएका अर्को विद्वान अधिवक्ता श्री सुसिलकुमार सिन्हाले उद्योगको मेमोरेण्डम अफ एसोसियसनले उक्त मालहरू झिकाउने छूट दिएको छ । आयकर ऐनको दफा १७ ले खूद आय निकाल्दा इम्पोर्ट लाईसेन्समा उल्लेखित मोलको ३० प्रतिशतको दरले आय कायम गर्नु भनी भनेको छैन । आफ्नो इच्छाले ३० प्रतिशतको हिसाबबाट खूद आय कायम गर्न मिल्ने कुरा होइन कर फछ््र्यौट आयोगको कर निर्धारण आदेश समेत त्रुटिपूर्ण छ भनी बहस गर्नुभयो । दुवै पक्षका विद्वान कानुनी व्यवसायीहरूको बहस सुनी आज निर्णय सुनाउने तारेख (४०३) तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) मा यो ऐन लागू भएपछि खोलिने उद्योगहरूमा प्रचलित नेपाल कानुनबमोजिम लाग्ने आयकर त्यस्तो उद्योगको काम चालू भएको मितिले १० वर्ष सम्म लाग्ने छैनभन्ने लेखिएको पाइन्छ । तत्पश्चात औद्योगिक व्यवसाय ऐन, २०१८ लाई खारेज गरी आएको औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १४ को उपदफा (१) ले प्रचलित नेपाल कानुनबमोजिम प्राप्त गरेको सुविधा वा सहुलियत साविक बमोजिम नै उपभोग गर्न पाउने सुविधा प्रदान गरेकोमा पनि विवाद देखिन्न ।

१२.   विपक्षी अरूणोदय उद्योग प्रा.लि.ले नेपालबाट उत्पादित वस्तुहरूको निकासी गरी सो निकासीबाट आएको विदेशी मुद्राबाट प्राप्त हुने वोनसबाट उद्योगको लागि चाहिने कच्चा माल स्टेनलेस स्टीलहरू आयात गर्दै आएको थियो ।

१३.   तर यसै बीचमा श्री ५ को सरकारबाट स्टेनलेस स्टीलको रिटहरूको आयातमा प्रतिबन्ध लगाएपछि उक्त उद्योगले आयात इजाजतपत्र लिई आफूले आर्जन गरेको वोनसबाट प्रकाशित सूचनाबमोजिम अफिसको इक्यूमेन्टस, औषधी र विजुलीका सामानहरू आयात गरी ती सामानहरू नेपालमा बिक्री वितरण गरेको पाइन्छ र त्यस्तो सामानहरूको बिक्री वितरणबाट भएको आयमा कर फछ््र्यौट आयोगले खूद आय कायम गरेको देखिन्छ ।

१४.   स्टेनलेस स्टिल झिकाउन नदिए बापत उक्त सूचना बमोजिमका ती वस्तुहरू झिकाउन सहुलियत दिएकोले गैर औद्योगिक आय भन्न मिल्ने देखिँदैन भन्दै औद्योगिक व्यवसाय ऐन बमोजिम उद्योगले पाई आएको आयकर छुटको सुविधा प्रस्तुत उद्योगले पाउँछ भन्ने निष्कर्षमा डिभिजनबेञ्च पुगेको देखिन्छ ।

१५.   औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) ले नेपाल कानुनबमोजिम लाग्ने आयकर त्यस्तो उद्योगको काम चालू भएको मितिले १० वर्ष सम्म लाग्ने छैन भनेकोले उद्योगको सम्बन्ध काम चालू भएको सँग रहेको छ । अर्थात के कस्तो कामको लागि उक्त उद्योगको स्थापना भएको र उक्त उद्योगले के कस्तो काम चालू गरेको थियो सो नै प्रस्तुत मुद्दामा मूल रूपमा हेर्नु पर्ने हुनगएको छ ।

१६.    स्टेनलेस स्टीलका सिटहरू आयात गरी स्टेनलेस स्टीलका मालसामान प्रस्तुत उद्योगले बनाई आइरहेकोमा स्टेनलेस स्टीलका सिटहरू आयात गर्न बन्द भएपछि आफूले आर्जेको विदेशी मुद्राबाट विपक्षी अरूणोदय उद्योगले आफूसँग असम्बन्धित औषधी, अफिस इक्यूपमेन्टस र विजुलीका सामान मगाई ती समानाहरू बिक्री वितरण गरेको देखिन्छ । औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) मा रहेको उद्योगको काम चालू भएको मितिले भन्ने शब्दावलीले उद्योगसँग सम्बन्धित औद्योगिक आयलाई मात्र आयकर छूट दिने उक्त ऐनले औल्याएको रहेछ भन्नुपर्ने देखिन्छ ।

१७.   विपक्षी अरूणोदय उद्योगले झिकाएको माल वस्तुहरू उद्योगको उत्पादन कार्यमा प्रयोग हुने माल वस्तुहरू नभई अन्य किसिमका व्यापारिक माल वस्तुहरू देखिन्छन् । वस्तुतः औद्योगिक उत्पादन सम्बन्धी (४०४) कारोवारबाट प्राप्त भएको आयले मात्र आयकर छूट पाउने उक्त ऐनको व्यवस्था रहेको भन्नुपर्ने स्थिति छ । स्टेनलेस स्टीलका सिटहरू आयात गर्न श्री ५ को सरकारबाट प्रतिबन्ध लागेकोले सम्बन्धित त्यस्ता उद्योगले २१ वस्तुहरू मध्ये कुनै बस्तु मगाए हुन्छ भन्ने बोली न त उक्त सूचनामा छ र न ती वस्तुहरूको बिक्रीबाट भएको आयमा आयकर छूट दिइने छ भन्ने कुरा सूचना लेखिएको छ ।

१८.   श्री ५ को सरकारबाट कुनै बस्तु मगाउन सुविधा दिने एउटा विषय हो, आयकर मिन्हा दिने अर्को विषय हो ।

१९.    यस्तो अवस्थामा उद्योगले आर्जेको वोनसबाट केही वस्तुहरू मगाउन छूट दिएकोले त्यतिकै नाताबाट औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा ९ को उपदफा (१) बमोजिम उद्योगसँग असम्बन्धित आयमा त्यस्तो उद्योगले आयकर छूट पाउँछ भन्न मिल्दैन ।

२०.   अतएव श्री ५ को सरकारद्वारा निर्धारित वस्तुहरू मात्र अरूणोदय उद्योगले आयात गरेको हुँदा यसलाई उद्योग देखि बाहेक अरू नै काम गरेको उद्योगले पाई आएको आयकर छुटको सुविधा उपभोग गर्न पाउँदैन भन्ने मिल्दैन भन्ने डिभिजनबेञ्चको ०३७।९।१६ को निर्णय मिलेको देखिएन।

२१.   आयकर फछ्र्यौट आयोगले निवेदकले राखेको लेखालाई मान्यता नदिई आयात इजाजतपत्रको मूल्यको तीस प्रतिशतले खूद आय कायम गरेको र सो खूद आयको अंकमा कर कार्यालय विराटनगरले आयकर निर्धारण गरेको देखिन्छ । तर त्यसरी आयात इजाजतपत्रको मूल्यको तीस प्रतिशतले खूद आय कायम गरी आय निर्धारण गर्ने कानुनी प्रावधान देखिन्न । आयकर ऐन, २०३१ को दफा १७ बमोजिम खूद आय निकाल्ने तरीका तोकिएको पनि पाइन्छ । के कस्तो पूर्वावस्थाको विद्यमानताको आधारमा न्यायोचित अनुमतिद्वारा कर निर्धारण गर्नु परेको हो सो कर फछ्र्यौट आयोगको निर्णयमा छैन । करदाता अरूणोदय उद्योगले राखेको लेखालाई के आधारमा मान्यता दिन नसकिने हो सो आधार पनि कर फछ््र्यौट आयोगको निर्णयमा खुलेको पाइन्न ।

२२.   समुद्रपार आयात निर्यात गर्ने सबै नै व्यापारीहरूले त्यसबेला आफ्नो आयात निर्यात व्यापारमा अधिक विजकिकरण तथा न्यून विजकिकरण गरेको कुरा भन्सारबाट प्राप्त भएको सूचना तथा प्रज्ञापनपत्रहरूबाट समेत देखिएको यस्तो गर्नु यस किसिमको व्यापारमा आम प्रचलन भएको भन्दै कर फछ्र्यौट आयोगले आयात इजाजतपत्रमा उल्लेखित मोलको तीस प्रतिशतको हिसाबले खूद आय कायम गरेकोमा भन्सारबाट प्राप्त ती सूचना तथा प्रज्ञापनपत्रहरूबाट के कस्ता कुराहरू देखिएका छन सो निर्णयमा स्पष्ट रूपमा लेखिएको छैन । अतएव कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयत इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत मिलेको  देखिएन । कर फछ्र्यौट आयोगको निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय र डिभिजनबेञ्चको मिति ०३७।९।१६ को निर्णय समेत बदर हुने ठहर्छ । अब पुनः कानुनबमोजिम खूद आय कायम गरी कर निर्धारण गर्नु भनी शुरू मिसिल कर (४०५) कार्यालय विराटनगरमा पठाई नियमबमोजिम गरी रेकर्ड मिसिल बुझाई दिनु ।

उक्त रायमा हामीहरूको सहमति छ ।

 

      न्या.गजेन्द्रकेशरी बास्तोला

      न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल मार्ग २० गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु