शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७०९ - उत्प्रेषण

भाग: २५ साल: २०४० महिना: मंसिर अंक:

निर्णय नं. १७०९     ने.का.प. २०४० अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको रिट.नं. १०५९

आदेश भएको मिति  : २०४०।८।१६।६ मा

निवेदक/प्रतिवादी : लु.पु.जि.न.पं.वडा नं.१६ सलीछे बस्ने बाबुचा डंगोल

विरूद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने दशवीर डंगोल समेत

विषय : उत्प्रेषण

(१)                निवेदकको हकको पाताल जग्गा हो वा गुठीको जग्गा हो त्यो विषय अदालतबाट निर्णय हुने विषय भएको ।

(प्रकरण नं. ८)

आदेश

न्या.बासुदेव शर्मा

१.     ललितपुर नगरपञ्चायतको २०३९।५।२९ को पर्चा बदर गराई पाउँ भन्ने नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको २०३९।८।४।६ को रिट निवेदनको व्यहोरा तथा संक्षिप्त विवरण निम्नप्रकारको रहेछ ।

२.    ल.पु.न.पं.वडा नं.१६ सालीछेंको हामीहरू तिनै कवलले गुठी चलाउनु पर्ने गुठी जग्गातर्फ कसैको निकासा नभएकोले निवेदक बाबुचाले लाइटको निमित्त डण्डी झ्याल राखिएकोमा पश्चिमतर्फको डण्डीको झ्यालमा डण्डी झिकी खुला गरेको र मटान तल्लाको डण्डी झ्यालमा दुबै झ्यालको १।१ वटा डण्डी झिकी १ फुट खुला गरेको र चोटा तल्लाको डण्डी झ्याल २ मा दुबै झ्यालको १ फुट जति डण्डी झिकी हाप खुला गरेबाट डण्डी झ्याल कायम गरी खुला गरेमा ऐन बमोजिम गरिपाउँ भन्ने विपक्षीहरूको उजूरी निवेदन र सलीछें टोलको पूर्व चोक पश्चिम गम्भीरलालको जग्गा उत्तरमा बाबुचाको घर दक्षिण आफूलाल समेतको जग्गा यति ४ किल्ला भित्रको विपक्षीहरूले गुठी भनी दावी गरेको जग्गामा चोक साझा जग्गा हो गुठी जग्गा हैन, सो जग्गाको पूर्वतर्फ सगोल चोकमा जोडिएको (४०६) एउटै साझा चोक साझा बाटो भएर आवत जावत गर्ने गम्भीरलाल र मेरो अद्यापि चालू छँदैछ । मेरो सो जग्गामा निस्कने साविक देखिकै २ ढोका भएकोले खुला झ्याल राख्न पाउँ भन्ने मेरो उजूरीमा ०३५।६।११ को आदेश अनुसार मिसिल समावेश भई आएको देखिँदा वादीको दावी अनुसार गुठीको जग्गातर्फ डण्डी झ्याल कायम गरी दिने ठहर्छ भन्ने न.पं.को ०३९।५।२९ को पर्चा, ०२५।८।१६ मा नक्सा पास पूर्जि पाउनु भन्दा अगावै विपक्षीहरूले गुठी जग्गा भनेको जग्गाको उत्तरपट्टि पाताल जग्गा सो उजूरवाला मध्येकै आलुचा भन्नेले मेरो बाबुनाथलाई ०१९।९।२५ मा फार्छे गरी दिँदा उक्त मेरो घर पाताल जग्गाका दक्षिणपट्टि विपक्षीहरूले गुठी भनेको जग्गालाई मेरो बाबुनाथको र आफूलालको हारांचा समेतको हकको पाताल बारी भन्ने उल्लेख भई पास भएको फार्छे पत्र छ, सोबाट साझा पाताल जग्गा देखिएको छ, म र हारांचाको सगोल पाताल बारीलाई गुठी कायम गरी मैले डण्डी झ्याल हाल्नु पर्ने र पर्चा गलत छ, खुल्ला झ्याल राख्न पाउनै पर्छ, गुठी भएको भए गुठीको धर्मपत्र देखाउनु सक्नुपर्ने सो नसकेबाट गुठी कायम गरेको मेरो मौलिक हक हरण भएको छ पाताल जग्गा र गुठी जग्गा भन्ने भएपछि हक बेहक छुट्याउन नगरपञ्चायतको क्षेत्र भित्र नपर्ने गुठी कायम गरेको अ.बं.३५ नं. ले बदरभागी छ, प्रधानपञ्चले संविधानको धारा ९ मा नरही धारा १०।११ र १६ बाट पाएको मलाई वञ्चित गराउनुभएकोले धारा ७१ बमोजिम उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र रहेछ ।

३.    यसमा २०३९।५।२९ को ल.पु.न.पं.बाट भएको पर्चा सहितको मिसिल झिकाई पेश गर्नु भन्ने समेत ०३९।८।८।३ को सर्वोच्च अदालत सिड्डलबेञ्चको आदेश रहेछ ।

४.    विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।९।२६।२ को आदेश रहेछ ।

५.    विपक्षीको निवेदनमा वर्णित ४ किल्ला भित्रको केववारीको आयस्ताबाट हामीहरू समेतका गुठीयारहरूको पंजरा सोह्र श्राद्ध बडा दशैंमा आगम घरमा गुठी चलाउनु पर्ने गुठी जग्गा हुन गुठीको गुठीयार सदस्यहरू मध्ये एक विपक्षीका बाबुनाथ हुनुहुन्छ । नाथ महर्जनले घर बनाउन ०२५।५।१९।३ मा नक्साको दर्खास्त दिँदा दक्षिण किल्ला गुठीको जग्गा भनी लेख्नुभएको छ, गुठी जग्गा हुँदा घर बनाउने महलको ३ नं. ले नयाँ बनाउन प्रतिबन्ध लगाएको हुँदा र साझा भन्ने कुरामा सावित हुँदा र नक्सा पासको लागि दिनुभएको दर्खास्तमा सो जग्गाको निस्सा केही छैन भनी नक्सा पास गराई सक्नुभएकोले फछ्र्या पत्र भनेको कुरालाई कानुनी मान्यता लोप भइसकेको छ, नाथले भूलबाट गुठी भन्ने लेखिन गएको भन्नु कानुन विपरीतका कुरा हुन् रिट निवेदनमा पाताल बारी भनी लेख्नु हुँदै आखिरमा गुठी जग्गा नै हो भनी लाचारी हुनुभएकोले न.पं.लाई दोषारोपण गरेको कुरामा आफैंंले खण्डन गर्नुभएको छ, रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत आफूलाल डंगोलको र आलुचाको लिखितजवाफ रहेछ ।

६.    ल.पु.न.पं.लाई म्याद तामेल भएको म्याद गुज्रेको थामी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा म्याद थाम्ने हु.प्र. बक्स भई आएको ल.पु.न.पं.तर्फबाट लिखितजवाफ प्राप्त भएको मिसिलबाट देखिन नआएको ।

७.    निवेदक बाबुचा डंगोल विपक्ष खाफुलालको र आलुचाको वारेस लक्ष्मणप्रसादलाई रोहवरमा राखी निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बुद्धिप्रसाद पौड्यालले गर्नुभएको बहससमेत सुनियो ।

८.    निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने नपर्ने के हो भनी विचार गर्दा यसमा ०१९।९।२५।४ मा आलुचाले निवेदकको बाबुनाथलाई गरी दिएको राजीनामा बमोजिमको निवेदकको हकको पाताल जग्गा हो वा गुठीको जग्गा हो त्यो विषय अदालतबाट निर्णय हुने भएकोमा नगरपञ्चायतको अधिकारको नभएकोले अदालतमै जानु भनी सुनाउनु पर्नेमा नसुनाई गरेको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ को दफा १७(१)(ड) को त्रुटि भएको देखिँदा ०३९।५।२९ को निर्णय पर्चा उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । कानुनबमोजिम गर्नु भनी परमादेशको आदेश दिने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल मार्ग १६ गते राजे ६ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु