निर्णय नं. १७१० - उत्प्रेषण

निर्णय नं. १७१० ने.का.प. २०४० अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३९ सालको रि.नं. ९९०
आदेश भएको मिति : २०४०।८।४।१ मा
निवेदक : जि.सुनसरी इनरूवा गा.पं.वा.नं. २ बस्ने जयराम ठाकुर
विरूद्ध
विपक्षी : ऐ.ऐ.बस्ने तनुकलाल ठाकुरसमेत
विषय : उत्प्रेषण
(१) भूमिसम्बन्धी ऐनले तोकेको कानुनी प्रकृया पूरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह तथा विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह, विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
आदेश
न्या.बासुदेव शर्मा
१. भूमिसुधार कार्यालय सुनसरीको मिति २०३९।६।१० को निर्णय बदर गरिपाउँ (४०८) भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकारको रहेछ ।
२. इनरुवा गा.पं.वार्ड नं.२ बस्ने जयराम ठाकुरका नाउँमा दर्ता रहेको वार्ड नं.९(ख) को कि.नं.३७ र ऐ.ऐ.को कि.नं.११२ समेतको जम्मा जग्गा बिगाहा ३–१–१० मैले ०२० सालदेखि मोहीको हैसियतले जोत भोग गर्दै ज.ध. लाई बाली समेत बुझाई आएको हुँदा उक्त जग्गाको मोही कायम गरिपाउँ भनी इनरुवा गा.पं.वार्ड नं.२ बस्ने तनुकलाल ठाकुरको निवेदन परेकोमा पञ्चायतको सरजमीनको आधारमा ठाकुरको निवेदन परेकोमा पञ्चायतको सरजमीन आधारमा मोहियानी हकको प्रमाणपत्र दिने गरी ०३५।४।२६ मा भू.सु.का.सुनसरीबाट भएको निर्णय उपर जयराम ठाकुरको ०३५ सालमा सर्वोच्च अदालतमा रि.नं. ८५६ दायर हुँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर भई कानुन बमोजिम गर्न भू.सु.का.मा गएको रहेछ ।
३. उक्त जग्गाको सम्बन्धमा दुवै थरीलाई राखी मिति ०३८।३।२ मा उक्त जग्गा तनुकलाल ठाकुरले कमाएको भनी भएको सरजमीनको आधारमा तनुकलाल ठाकुरलाई मोही हकको प्रमाणपत्र दिने ठहराई मिति ०३९।६।१० मा भू.सु.का.सुनसरीबाट निर्णय भएको रहेछ ।
४. भूमि सम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसार मोही कायम हुनलाई ऐ.को नियम ३ बमोजिमको मोहीको लगत भरेको ऐ.को नियम ९(२) बमोजिम ४ नं.जो.अ.नि. प्राप्त गरेको र ऐ.को नियम ६ बमोजिम २ नं. लगत प्रकाशन भई सो उपर नियम ७(१) को म्यादमा जग्गाधनीको उजूरी नपरी ऐ.नियम ९(३) बमोजिम सो ४ नं.जो.अ.नि. अकाट्य रूपमा स्थापित हुन पर्दछ वा ऐ.ऐनको दफा २५ को उपदफा (२) बमोजिम मोही कायम हुनलाई ऐ.ऐनको दफा ३४(१) बमोजिम दोहरी कबुलीयत भएको एकप्रति स्थानीय गा.पं.मा हुनुपर्दछ । यस बाहेक मोही कायम हुनसक्ने कुनै व्यवस्था नभएकोमा सरजमीनको भनाईको आधारमा मोही कायम गरिएको उक्त निर्णय अवैध तथा कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी निवेदकको हक संरक्षित गरिपाउँ भन्ने समेत व्यहोराको जयराज ठाकुरको निवेदनपत्र रहेछ ।
५. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिड्डलबेञ्चको २०३९।७।२ को आदेश ।
६. उक्त जग्गा भू.सु.ऐन लागू हुनुभन्दा अगावै ०२० सालदेखि नै मोहीमा जोती आएको छु । भू.सु.ऐन लागू हुँदा मैले १ नं. फाराम भर्न खोज्दा तपाइले जग्गा जोत्नुभएको छ किन मोही लेखाउनु हुन्छ तपाईं जग्गा सके जोत्दै गर्नु भनी विपक्षी जग्गाधनीले विश्वास दिलाएकोले म अनपढ केही नबुझ्ने गरी मोही हुँदा १ नं. फारम भरिन तर सरजमीन बुझी सरजमीनका भनाई समेतका आधारमा मलाई मोही कायम गर्ने गरी निर्णय भएको हुँदा सो निर्णयलाई सदर गरी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको तनुकलाल ठाकुरको लिखितजवाफ रहेछ । (४०९)
७. विपक्षी रिट कर्ता जयराम ठाकुरले दिनुभएको रिट निवेदनमा कबुलीयत भरपाई र २ नं. प्रकाशित भएर मात्र मोही कायम हुनुपर्ने भन्ने मुख्य रिट कर्ताको दावी रहेछ । यसमा सरजमीन हुँदा रिट कर्ता समेत रोहवरमा बसेका र सो सम्बन्धमा कुनै प्रकारको विरोध नजनाई सहिछाप गरी बसेको हुँदा मोही स्वीकार नगरेको भन्न नमिल्ने भई भएको निर्णय कानुनसंगत भएकोले उक्त रिट खारेज गरी दिनु हुन अनुरोध गर्दछु भन्ने समेतको भू.सु.का.सुनसरीको लिखितजवाफ रहेछ ।
८. नियमबमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक जयराम ठाकुरकातर्फबाट विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले भूमिसम्बन्धी ऐन, २०२१ अनुसार १ नं. र ४ नं. फाराम भरेको २ नं. लगत प्रकाशित भएको वा दफा २५(२) अनुसार दोहरी कबुलीयत भएको यी दुई अवस्था बाहेक अन्य गैरकानुनी प्रकृयाको आधारमा मोही कायम गर्ने गरेको भू.सु.अ.को निर्णय बदरभागी छ भन्ने र विपक्ष तनुकलाल ठाकुरका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह तथा अधिवक्ता श्री अबधेशकुमार सिंहले मेरो पक्षले उक्त जग्गा भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा अघि देखि नै कमाई आइरहेको कुरा सरजमीनबाट समेत छर्लड्ड हुन्छ जसमा निवेदक जयराम समेत उपस्थित भई सहमति जनाई सहिछाप गर्नुभएको छ । तसर्थ उक्त निर्णय बदर हुने अवस्थाको छैन भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो । खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले उक्त निर्णय कानुन अनूरूपकै हुँदा बदर हुने अवस्थाको छैन भनी बहस गर्नुभयो ।
९. प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश हुन पर्ने हो होइन सोही कुराको निर्णय दिनुपर्ने देखिन्छ ।
१०. यसमा रिट निवेदकले बदर गराउन माग गरेको मिति २०३९।६।१० को निर्णय हेर्दा मिति ०३८।३।२ मा भएको सरजमीन समेतबाट तनुकलाल नै उक्त जग्गाको मोही हो भन्ने किटानी सरजमीन भएको देखिँदा सो सरजमीनमा ज.ध.जयराम ठाकुर समेत रोहवरमा बसेकोले उक्त सरजमीनबाट वादी दावी बमोजिमको जग्गा वादीले कमाएको भन्ने भएकोले मोही हकको प्रमाणपत्र दिने भनी निर्णय गरेको देखिन्छ । यसरी सरजमीनको आधारमा मात्र तनुकलाल ठाकुरलाई भू.सु.कार्यालय सुनसरीले मोहियानी हकको प्रमाणपत्र दिने निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनले तोकेको कानुनी प्रक्रिया पूरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने हुँदा उक्त त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फाइल बुझाई दिनु ।
म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४० साल मार्ग ४ गते रोज १ शुभम् ।