शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७१२ - जालसाजी

भाग: २५ साल: २०४० महिना: मंसिर अंक:

निर्णय नं. १७१२     ने.का.प. २०४०  अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३८ सालको फौ.पु.नं. ३२५

फैसला भएको मिति :      २०४०।८।१८।१ मा

पुनरावेदक/वादी : जिल्ला कास्की पोखरा न.पं.वार्ड नं.२ मिरुवा बस्ने प्रज्ञासागर पराजुली

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने विष्णुमायाको मु.स. गर्ने थिरकुमारी पराजुलीसमेत

मुद्दा : जालसाजी

(१)                लिखत रजिष्ट्रेशन पारित भएको देखिन नआएकोले जालसाजी नगरेको ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव देखिने ।

(प्रकरण नं. १५)

पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना

विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.बासुदेव शर्मा

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतले ०३८।३।२३।३ मा गरेको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने २०३८।४।२८।४ मा निवेदन परी २०३८।७।२३।१ मा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

२.    रत्नाखरका नाउँमा लालमोहर भएको विर्ता उन्मूलन भई रैकरमा परिणत भई रैकर तिरो दर्ताको मेरो पिता शिवप्रसाद सहितका अंशियार हुन । भिन्न हुँदा पिताजीका भागमा परेको विर्ता मध्ये ४ किल्ला भित्रको ठूलो बगर भन्ने जग्गा रू.९९। मा पिताजीबाट गजबहादुरले ०१८ सालमा राजीनामा गरी लिई घर बनाउँदा विपक्ष विष्णुमाया समेतको खिचोला पर्दा गजबहादुरको उजूर परी र राजीनामा सदर हुने भनी सर्वोच्च अदालतबाट फैसला भएपछि हक बेहकमा विष्णुमाया समेत उपर मैले नालेस दिँदा आफ्नो प्रतिउत्तरमा ठूलो बगर भन्ने जग्गा रू.९९। मा शुभलाललाई दिएका छु भनी प्रतिउत्तरमा लेखेबाट थाहा पाई बुझ्दा लेखक साक्षीलाई समेत ढाँटे भोर्‍याई हक बेहकको फैसला भई नसक्दै थैली देखाई ०२९।११।७ को मिति पारी जालसाजी लिखत खडा गरेकोले फिराद गर्न आएको छु । जालसाजी गरी राजीनामा लिनुदिनु गरेमा कीर्ते कागजको १० नं.बमोजिम सजाय गरिपाउँ भन्ने समेत (४१४) प्रज्ञासागर पाध्याको फिरादपत्र रहेछ ।

३.    वादी दावीको जग्गा रू.३५,००। मा मिति ०२९।११।७ मा ६ महीना पारित गरिदिने व्यहोराको राजीनामा लिएको छु दावी बमोजिम रू.९९। कै थैली राखी जालसाज राजीनामा लिए दिएको छैन । जालसाज भन्ने दावा झुठ्ठा हो भन्ने समेत शुभलालको प्रतिउत्तरपत्र रहेछ ।

४.    फिराद परेपछि साक्षी समेत भोर्‍याई रू.९९। मा अघिको मिति पारी जालसाजी लिखत खडा गरेको होइन रु. ९९। को जालसाजी लिखत खडा भए लिखत दाखिला हुनु पर्दथ्यो सो गर्न नसकेबाट दावी झुठ्ठा हो भन्ने प्रतिवादी विष्णुमायाको प्रतिउत्तर रहेछ ।

५.    वादी प्रतिवादीको साक्षी बुझिएको बकपत्र मिसिल सामेल रहेछ ।

६.    जग्गा नै वादीको दावा नपुग्ने भनी आजैका मितिमा निर्णय भएको समेत हुँदा उक्त राजीनामा लिखत प्रतिवादीहरूले जालसाज गर्‍यो भन्ने वादीको दावा पुग्न सक्दैन भन्ने समेत कास्की जिल्ला अदालतको फैसला रहेछ ।

७.    २०२९।१२।७ मा दिने विष्णुमाया पराजुली, लिने शुभलाल गुरुड्डलाई बगर भन्ने पाखो जग्गा राजीनामा गरी जालसाज गरेकोले सजाय गरिपाउँ भन्ने वादी भएको प्रस्तुत मुद्दामा उक्त जग्गा वादीको नाममा दर्ता नभएको कारणले वादी दावा पुग्न नसक्ने ठहर गरी दे.३०२ नं.को जग्गा खिचोला मुद्दा आजै फैसला भएकोले वादी दावी पुग्न नसक्ने ठहर गरी शुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेत ०३६।८।१४ को गण्डकी अञ्चल अदालतको फैसला रहेछ ।

८.    उक्त फैसला उपर चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्नआएको प्रज्ञासागरको निवेदनपत्र रहेछ ।

९.    यसमा यसै लगाउको मि.नं. ३८९ को जग्गा खिचोला मुद्दामा पुनरावेदनको अनुमति दिएको हुँदा यसमा पनि अनुमति दिइएको छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत सिड्डलबेञ्चको ०३७।५।१५ को आदेश रहेछ ।

१०.    जग्गा खिचोलामा गण्डकी अञ्चल अदालतको इन्साफ मनासिव भएको हुँदा यो जालसाजी मुद्दामा पनि कुनै कानुनी त्रुटि भएको मान्न मिलेन गण्डकी अचल अदालतको इन्साफ मनासिव छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको २०३८।३।२३ को फैसला रहेछ ।

११.    विष्णुमाया ९९। मा राजीनामा दिएको भनिन्छ, लिने शुभलाल ३५००। मा लिएको भन्छन्, विपक्षहरूकै बीचमा थैलीमा मुख नमिल्नुको कारण नै अपराधी कार्य हो, कीर्ते कागजको परिभाषा भित्रको अपराधिक कृयाकलाप प्रमाणित भएको छँदाछँदै दावी नपुग्ने गरी भएको इन्साफ कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रज्ञासागरको निवेदनपत्र रहेछ ।

१२.   यसमा यसै लगाउको नि.नं. ८७९ को जग्गा खिचोला मुद्दामा आज यसै बेञ्चबाट अनुमति भएकोबाट (४१५) त्यही मुद्दाको साथ साथमा यो मुद्दा पनि किनारा गर्नुपर्ने देखिएको छ । त्यस्तो राजीनामालाई जालसाजी मुद्दामा ठहर गर्नु पर्ने हुँदा अ.बं.९८२ नं. ले वादीको हकको विरूद्ध भएको फैसला सार्वजनिक महत्वको विषयमा कानुनी त्रुटि भएको हुँदा न्यायप्रशासन ऐन, २०३१ को दफा १३ को उपदफा (५) को अवस्था विद्यमान रहेकोले पुनरावेदनको लागि अनुमति दिइएको छ नियम बमोजिम गरी पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३१।७।२३।१ को आदेश रहेछ ।

१३.   नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदक वादी प्रज्ञासागर पराजुलीको वारेस बुद्धिसागर पराजुली र प्रतिवादी थीरकुमारी पराजुलीको वारेस चित्रमणी पराजुलीलाई रोहवरमा राखी पुनरावेदक वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगानाले र प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो ।

१४.   पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के हो सो को निर्णय दिनुपर्ने देखियो ।

१५.   यसमा विवादको जग्गा सम्बन्धमा मिति ०२९।१२।७।४ मा साहू हु. शुभलाल गुरुड्ड आसामी विष्णुमाया पराजुलीको बीचमा भएको उक्त लिखत रजिष्ट्रेशन पारित भएको देखिन नआएकोले जालसाजी नगरेको ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव देखिँदा, वादी पुनरावेदन जिकिर पुग्न सक्ने देखिन्न । तपसील बमोजिम गरी मिसिल नियमानुसार बुझाई दिनु ।

तपसील

वादी पुनरावेदक प्रज्ञासागरके माथि इन्साफ खण्डमा लेखिए बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतले जरिवाना गर्ने गरेको ।६२ पैसाको यस अदालतमा पुनरावेदन गरे बापत अ.बं.२०४ नं. ले सयकडा १० ले रू.।७ पैसा जरिवाना हुन्छ वारेस हुँदा लगत कसी ऐन बमोजिम असूल गर्नु भनी कास्की जिल्ला अदालतमा लेखी पठाउन का.जि.अं.अ.मा लगत दिनु..........................................................................................१

उक्त रायमा म सहमति छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल मार्ग १८ गते रोज १ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु