निर्णय नं. ९२१० - बेलगती मोही लगत कट्टा

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति :- २०७१।२।१६।६
०६८–CI–१५०१
मुद्दा : बेलगती मोही लगत कट्टा ।
पुनरावेदक/वादी : जिल्ला बारा, गा.वि.स. बिसुलपुर्वा, वडा नं. ३ मा स्थापित श्री राम जानकी भगवानको महन्थ गोखुल दास वैरागीको चेला ऐ.ऐ. बस्ने सुखल दास वैरागी
विरूद्द
विपक्षी/प्रतिवादी : जिल्ला बारा, विसुनपुर्वा वडा नं. १ बस्ने यदै खाँ थारू
§ प्रतिवादीले मोही प्रमाणपत्र प्राप्त नगरेको भए पनि लामो समयदेखि वादीको घरबारी भन्दा बाहेकको जग्गा जोतभोग गर्दै आएको एवम् जग्गाधनीले बाली बुझी भरपाई दिँदै आएबाट यी प्रतिवादी मोही होइनन् भनी निष्काशन गर्ने हो भने भूमिसम्बन्धी कानूनी व्यवस्था वैयक्तिक हक एवम् कानूनी राज्यको अवधारणाको प्रतिकूल हुन जाने ।
(प्रकरण नं.५)
पुनरावेदक/वादीका तर्फबाट :
विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता पवनकुमार जैसवाल
अवलम्बित नजिर :
§ नेकाप २०६९, अङ्क ३, पृष्ठ ४५७, नि.नं.८७९०
सम्बद्ध कानून :
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६, २९
सुरू फैसला गर्ने :
भूमिसुधार अधिकारी राजाराम थापा
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री गिरिराज पौडेल
मा.न्या.श्री विदुर विक्रम थापा
फैसला
न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भै प्रस्तुत मुद्दाको सङ्क्षिप्त विवरण र ठहर यस प्रकार छ :–
श्री रामजानकी भगवान मन्दिरको नाममा दर्ता कायम रहेको जिल्ला बारा, गा.वि.स. जयनगर च्युटाहा वडा नं. ७ कि.नं. ५ को ज.वि. १–११–१५ जग्गाको स्रेस्ता पुर्जाको मोही महलमा भदै खाँ थारू उल्लेख हुन गएको तर निजले भूमिसम्बन्धी ऐन, २०२१ तथा भूमिसम्बन्धी नियमावलीबमोजिम निज भदै खाँ थारूले मोहीको हैसियतबाट १ नं. लगत नभरेको र सोको आधारमा २ नं. अनुसूची प्रकाशित नभएको तथा ३ नं. मोहीको प्रमाणपत्रसमेत नभएको र दावीको जग्गा जग्गाधनी रामजानकी भगवान मन्दिरको जोत भोगमा रहेको तथा मोही लगत नभएको अवस्थामा मोही हुन नसकिने भनी सम्मानित श्री सर्वोच्च अदालतबाट नजिर प्रतिपादन भएकाले बेलगती मोही कट्टा गरिपाउँ भन्नेसमेत व्यहोराको वादी श्रीरामजानकी भगवान मन्दिरको महन्थ गोखुलदास वैरागीको चेला सुखलदास वैरागीले भूमिसुधार कार्यालय, बारामा मिति २०६५।९।१ मा दिएको निवेदनपत्र ।
विपक्षीले दावी गरेको जग्गाको म दर्तावाला मोही भएको र मोहीको कर्तव्य पालन गरी आएको छु । भूमिसम्बन्धी नियमावलीबमोजिम दावी जग्गाको मोही १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भै मोहीयानी हकको प्रमाणपत्र पाएको व्यक्ति हुँ । दावीको जग्गा २०२० देखि २०६५ सालसम्म जोत भोग गरी सोको कुतबाली मबाट जग्गाधनीले बुझी मोही स्वीकार गरी सालसालै भरपाई गरिदिएको हुँदा सो भरपाइहरूको प्रतिलिपि पेस गरेको छु । मसँग रहेको मोहीको २ नं. अनुसूची र ४ नं. जोताहा स्थायी निस्साको प्रमाण मसँग रहेकाले म दर्तावाला मोहीको मोहीयानी हक समाप्त पार्न विपक्षीले झुट्ठा उजुरी निवेदन गरेकाले विपक्षीको माग दावी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भदै खाँ थारूको मिति २०६५।१०।२४ को प्रतिउत्तरपत्र ।
भूमिसुधार कार्यालय, बारामा रहेको मोही १ नं., २ नं., ३ नं. लगत भिडाउँदा १ नं. र २ नं. अनुसूचीको ठेली नभएको र मोही प्रमाणमा दावी जग्गा उल्लेख नभएको भनी लगत फाँटबाट उल्लेख भएको देखिँदा केवल जग्गाधनी स्रेस्ता पुर्जा, फिल्डबुक उतार र बाली बुझाएको भरपाईको आधारबाट मोही हक प्राप्ति र समाप्ति हुने होइन । दावी जग्गाको मोहीयानी सम्बन्धी लगत नभएको अवस्थामा मोही कायम राखी राख्न न्यायोचित नहुने भनी सम्मानित श्री सर्वोच्च अदालतबाट नजिर प्रतिपादन भएको देखिँदा वादी दावीको जग्गाको जग्गाधनी स्रेस्ता पुर्जाको मोही लगत कट्टा हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भूमिसुधार कार्यालय, बाराबाट मिति २०६५।११।१९ मा भएको निर्णय ।
श्री रामजानकी भगवान मन्दिरको नाउँमा दर्ता कायम रहेको जिल्ला बारा, गा.वि.स. च्युताहा वडा नं. ७ कि.नं. ५ को १–११–१५ जग्गाको दर्तावाला मोही म निवेदक भै नापीको पालादेखि मोहीमा जोत भोग गरी एउटा मोहीले गर्नुपर्ने सम्पूर्ण कर्तव्य पूरा गरी कमाएको जग्गाको जग्गाधनीको नाम, थर, वतनसमेत खुल्ने गरी मोहीको १ नं. लगत भरी सोको आधारमा २ नं. अनुसूची प्रकाशित भै जग्गा जोत भोग गरी २०२१ सालदेखि २०६५ सालसम्म जग्गा धनीलाई बाली बुझाई जग्गाधनी आफ्नै हातले बाली बुझी प्रत्येक भरपाईमा मोही मानी स्वीकार गरी आउनुभएको छ । मोही हुन भूमिसम्बन्धी ऐन, २०२१ लागू भएको २०२१ सालदेखि २०६५ सालसम्म जग्गाधनी आफ्नै हातले बाली बुझी प्रत्येक भरपाईमा मोही मानी स्वीकार गरी आउनुभएको छ । मोही हुन भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा उल्लिखित तत्त्व अनिवार्य गरेको हुनुपर्छ भन्ने सिद्धान्त र कानूनी व्यवस्था रहेको छ । कार्यालयको मोहीको १ र २ नं. ठेली नभएको भनी भूमिसुधार कार्यालयको लगत फाँटवालाले लेख्दैमा २०२१ सालदेखि जग्गाधनीले विधिवत् मोही स्वीकार गरी आइरहेको अवस्थामा कार्यालयले लगतहरू हराउँदैमा मेरो मोहीयानी हक निष्काशन गर्न नमिल्ने हुँदा सुरू भूमिसुधार कार्यालय, बाराको निर्णय त्रुटिपूर्ण भएकाले उक्त निर्णय बदर गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भदै खाँ थारूको पुनरावेदनपत्र ।
फिल्डबुक, जग्गाको स्रेस्तामा उल्लिखित मोहीले गरेको कबुलियत, बाली बुझाएको भरपाई र २ नं. लगतसमेत पेस गरेको अवस्थामा प्रमाणको उचित मूल्याङ्कन नगरी मोही लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय, बाराको मिति २०६५।११।१९ को निर्णय फरक पर्न सक्ने देखिएकाले मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०६६।१२।१ मा पुनरावेदन अदालत, हेटौंडाबाट भएको आदेश ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिलसमेत अध्ययन गरी प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री पवनकुमार जैसवालले यी प्रत्यर्थी प्रतिवादी विवादित जग्गामा २०२० सालदेखि नै अनवरतरूपमा मोही भै जग्गाधनीलाई कुत बुझाउँदै आएको, मोहीको १ नं. लगत भरी २ नं. अनुसूचीसमेत प्रकाशित भएको जग्गाधनी प्रमाणपुर्जामा मोही जनिएको तथा मोहीले कमाई आएको जग्गा रामजानकी भगवान मन्दिरको घरबारी नभै छुट्टै ठाउँमा रहेको जग्गा भएको र सर्वोच्च अदालतबाट प्रकाशित नेकाप ०६५, नि.नं. ८७९० मा उल्लिखित सिद्धान्तसमेतको आधारमा पुनरावेदन अदालत, हेटौंडाले मोही कायम हुने ठहर्याई गरेको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ, छैन पुनरावेदक वादीको पुनरावदेन जिकिर पुग्न सक्ने हो होइन एवम् प्रत्यर्थी प्रतिवादीको मोही कायम हुन सक्ने हो होइन भन्नेतर्फ निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा, श्री रामजानकी भगवान मन्दिरको नाममा दर्ता कायम रहेको जिल्ला बारा, रामनगर च्युताहा गा.वि.स. वडा नं. ७ कि.नं. ५ को ज.वि.१–११–१५ जग्गाको जग्गाधनी स्रेस्तापुर्जाको मोही महलमा प्रतिवादी भदै खाँ थारू उल्लेख हुन गएको भए तापनि भूमिसम्बन्धी ऐन, २०२१ तथा भूमिसम्बन्धी नियमावलीबमोजिम निज प्रतिवादी भदै खाँ थारूले मोहीको हैसियतबाट १ नं. अनुसूचीको लगत नभरेको र सोही आधारमा २ नं. अनुसूची प्रकाशित नभएको तथा ३ नं. बमोजिमको मोही प्रमाणपत्र र मोही लगत नभएको अवस्थामा जग्गा स्रेस्ता पुर्जाबाट मोही लगत कट्टा गरिपाउँ भनी वादीले दिएको फिराद दावीउपर सुरू भूमिसुधार कार्यालय, बाराले उल्लिखित फिराद दावीबमोजिम मिति २०६८।११।१९ मा भदै खाँ थारूको मोही लगत कट्टा हुने ठहर्याई गरेको फैसलाउपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत, हेटौंडाले प्रतिवादी भदै खाँ थारूले वादीलाई सालबसाली कुत बुझाउँदै आएको र वादीले प्रतिवादीलाई भरपाईसमेत दिँदै आएको कुरा मिसिल प्रमाणबाट देखिई आचरण र व्यवहारबाटै मोही रहे भएको तथ्य स्थापित हुन आएको र प्रतिवादी भदै खाँ थारूले अनुसूची-१ भरेको आधारमा अनुसूची-२ प्रकाशित भएको भन्नेसमेत आधारमा सुरू भूमिसुधार कार्यालयले मोही लगत कट्टा गर्ने गरी गरेको फैसला बदर गरी प्रतिवादी भदै खाँ थारूको मोही लगत कायम रहने ठहर्याई फैसला गरेको पाइयो ।
३. प्रतिवादी भदै खाँ थारूले वादीलाई सालबसाली कुत बुझाउँदै आएको र वादीले प्रतिवादीलाई भरपाईसमेत दिँदै आएको एवम् जग्गाधनी स्रेस्तापुर्जामा यी प्रत्यर्थी प्रतिवादीको नाम उल्लेख रहेको कुरा मिसिल प्रमाणबाट देखिन आएको छ । कुनै जग्गाको फिल्डबुकको जग्गाधनी प्रमाण पुर्जामा मोहीको नाउँ जनिएको छ भने त्यस्तो जनिएको स्रेस्तालाई समयमा नै त्यसको लगत कट्टा गर्न सक्नुपर्ने हुन्छ । मोही कायम भैसके पछि त्यस्तो मोहीले आफ्नो दायित्व पूरा नगरेसम्म मात्र निष्काशन गर्न सकिने हुन्छ । यस सम्बन्धमा कस्तो व्यक्ति मोही हुन सक्छ मोहीको दायित्व के रहेछ भनी भूमिसम्बन्धी कानूनी व्यवस्थातर्फ पनि विवेचना गर्नुपर्ने हुन आयो । भूमिसम्बन्धी ऐन, २०२१ (यसपछि ऐनमात्र भनिएको) को दफा २५(१) मा “यो दफा प्रारम्भ भएको मिति सम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेदबमोजिमको मोहीको हक प्राप्त हुनेछ” भन्ने र ऐनको चौथो संशोधन, २०५३ मा संशोधन हुनुभन्दा पहिले लागू रहेको ऐनको दफा २५(२) मा “यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक बालीसम्म मोहीको हैसियतले कमाएछ भने निज स्वतः सो जग्गाको यो परिच्छेदबमोजिमको हक प्राप्त मोही हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यी प्रत्यर्थी प्रतिवादीले विवादित जग्गा वर्तमान भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुपूर्वदेखि नै मोहीको हैसियतले कमाई आएको भनी प्रतिउत्तर जिकिरमा जिकिर लिनुको साथै २०२२ सालदेखि वादी पुनरावेदकलाई बाली बुझाई भरपाई लिँदै आएको, अनुसूची-१ को लगत भरी २ नं. अनुसूची प्रकाशितसमेत भएको मिसिल संलग्न प्रमाणबाट देखिन आएबाट निज प्रतिवादी भदै खाँ थारू ऐनको कानूनी व्यवस्थाअनुसार मोही होइनन् भनी भन्न मिल्ने देखिँदैन । यसरी कानूनबमोजिम मोहीयानी हक प्राप्त गरेको व्यक्तिलाई निजले कानूनी दायित्व पूरा नगरेको अवस्थामा मात्र मोहीको लगत कट्टा गरी निष्काशन गर्न सकिने हुन्छ । ऐनको दफा २६ को उपदफा ३ को प्रतिबन्धात्मक वाक्यांशले जग्गावालाको मन्जुरी नलिई खेतीको लागि आवश्यक नपर्ने घर बनाउन नहुने, दफा २६(५) ले मनासिब टुटफुट वा दैवी परी वा मोहीको सामर्थ्यभन्दा बाहिरको कारणबाट हेरफेर भएको बाहेक जग्गा कमाउन लिँदाको अवस्था भन्दा बिग्रेको अवस्थामा जग्गा छोड्न नहुने, दफा २९ ले जानीजानी जग्गाको मोल उब्जा घट्ने गरी कुनै काम गर्न नहुने, मनासिब रेखदेख पुर्याउनुपर्ने, काबुबाहिरको परिस्थितिमा बाहेक एक वर्षसम्म खेती नगरी बस्न नहुने, खेतीमा हेलचक्र्याइँ गर्न नहुने र दफा ३६ ले मोहीले बुझाउनुपर्ने कुत जग्गावालालाई प्रत्येक साल तोकिएको समयभित्र बुझाइसक्नुपर्ने भनी मोहीको कर्तव्य र दायित्व तोकिएको पाइन्छ ।
४. उपर्युक्त कानूनी व्यवस्थाबमोजिम त्यसरी मोहीले बाली बुझाउनुपर्नेसमेतका आफ्ना दायित्व पूरा गरेको अवस्थामा त्यसलाई अन्यथा गर्न नसकेको जग्गाधनीको व्यवहारलाई जग्गा दर्ता हुँदाकै अवस्थामा मोही जनिएको स्रेस्तालाई समयमा सच्याइँदैन भने मोही लगत कट्टा गर्ने र निष्काशन गर्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन,
२०२१ को दफा २९ (क) मा भएको कानूनी व्यवस्थातर्फ पनि विवेचना गर्नुपर्ने हुन्छ । कुनै जग्गाको मोहीले निजको दायित्व र कर्तव्य पूरा नगरेमा त्यस्तो मोहीको हक समाप्त गरी निष्काशनसमेत गर्न सकिने कानूनी व्यवस्था रहेको छ । ऐनको दफा २९ ले मोहीयानी हकको समाप्तिको व्यवस्था गर्दै सो ऐनको दफा २९(१) मा “दैवी परी बाली नास भएमा वा उब्जाउ हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्नेछ,” दफा २९(२) ले “देहायको कुनै अवस्था परी जग्गावालाले निवेदन दिएमा जिल्ला अदालतले मोहीलाई जग्गाबाट निष्काशन गर्ने आदेश जारी गर्न सक्नेछ ।
(क) जानी बुझी जग्गाको मोल वा उब्जा घट्ने गरी कुनै काम गरेको वा मनासिब रेखदेख नपुर्याएको कारणले जग्गाको मोल उब्जा घटेमा वा आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा खेतीमा हेल्चक्रयाँइ गरेमा” भन्ने कानूनी व्यवस्था रहेको छ ।
५. उपरोक्त कानूनी व्यवस्थाअनुसार दैवी परी बाली नास भएमा वा उब्जाउ हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएको अवस्था भएमा मात्र भूमिसुधार अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने हो । तर प्रस्तुत मुद्दामा बाली नबुझाएको भन्ने दाबी नभै कार्यालयमा रहेको मोही १ नं., २ नं. र ३ नं. लगत भिडाउँदा १ नं. र २ नं. अनुसूचीको ठेली नभएको र मोही प्रमाणमा दाबीको जग्गा नभएको भन्ने आधारमा सुरू भुमिसूधार कार्यालयले प्रतिवादीलाई मोही निष्काशन गरेको
देखिन्छ । यदि वादी दाबीको जग्गाको मोही महलमा भूलवश यी प्रतिवादीको नाम उल्लेख हुन गै मोही जनिएको भए २ न. अनुसूची प्रकाशित हुँदाकै बखत भूमिसम्बन्धी नियमहरू, २०२१ को परिच्छेद २ मा उल्लिखित प्रक्रिया अपनाई सोही परिच्छेदमा उल्लिखित म्याद र समयमा सम्बन्धित अधिकारीसमक्ष उजुर गरी हटाइसक्नु पर्दथ्यो । एकातर्फ यी प्रतिवादी भदै खाँ थारूले २०२० सालदेखिनै विवादित जग्गाको बाली बुझाई आएका र वादीले पनि बाली स्वीकार गरी लामो समयदेखि भरपाई दिँदै आएबाट प्रतिवादी विवादित जग्गाको मोही रहेको तथ्य स्थापित हुन आउँछ भने अर्कोतर्फ जग्गाधनी स्रेस्ता पुर्जामा मोही जनिनुका साथै प्रतिवादीले भरेको अनुसूची १ र २ नं. को लगत दुरूस्त राख्नुपर्ने जिम्मेवारी रहेको भूमिसुधार कार्यालयले अनुसूची-१ र २ को अनुसूची ठेली कार्यालयमा नभएको भन्ने आधारमा अनुसूची-३ बमोजिमको प्रमाणपत्र प्राप्त नगर्दैमा प्रतिवादी कानूनबमोजिमको मोही हैन भनी भन्न मिल्ने अवस्था हुँदैन । यसै सन्दर्भमा अशेष सर्राफ विरूद्ध वागद वैठा धोवी भएको, बेलगती मोही लगत कट्टा मुद्दामा (सर्वोच्च अदालत बुलेटिन ४४६, पृ.६२) “बाली बुझी भरपाई गरी दिनु, पारित भएका लिखतहरूमा मोहीको नाम यथावत् कायम राखी जग्गाको हक हस्तान्तरण हुँदै जानु र फिल्डबुकमा मोहीको नाम नजनिनु जस्ता कार्य लिखितरूपमा भएका र लिखितरूपमा आचरण व्यवहारबाट प्रकट गरी प्रत्यक्षरूपमा नै मोहीको अस्तित्वलाई स्वीकार गरिएको छ भने सो नै मोही कायम हुने पर्याप्त आधार हो यस्तो अवस्थामा मोहीको १, २ र ३ नं. लगत हुनपर्ने अपरिहार्यता छैन” भन्ने सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त, र दुलारी देवी यादवनी विरूद्ध हमिद मिया धुनिया भएको मुद्दामा (नेकाप २०६९, अङ्क ३, पृ. ४५७, नि नं. ८७९०) “एक पटक मोही कायम भैसकेपछि कानूनबमोजिम निष्काशन नभएसम्म मोहीको हक सुरक्षित रहने, जग्गाधनी प्रमाण पुर्जामा मोही उल्लेख गरिएको लामो समयसम्म जग्गा जोती आएको अवस्थामा खाली अनुसूची-१, २ र कबुलियत नभएको भन्ने आधारमा मोही लगत कट्टा गर्दै जाने हो भने भूमिसम्बन्धी कानून व्यवस्था र कानूनी राज्यको उपहास हुन जान्छ” भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भैरहेको अवस्थामा र प्रस्तुत मुद्दाका प्रतिवादीले मोही प्रमाणपत्र प्राप्त नगरेको भए पनि लामो समयदेखि वादीको घरबारीभन्दा बाहेकको जग्गा जोतभोग गर्दै आएको एवम् जग्गाधनीले बाली बुझी भरपाई दिँदै आएबाट यी प्रतिवादी मोही होइनन् भनी निष्काशन गर्ने हो भने भूमिसम्बन्धी कानूनी व्यवस्था वैयक्तिक हक एवम् कानूनी राज्यको अवधारणाको प्रतिकूल हुन जाने देखिँदा सुरू भूमिसुधार कार्यालय, बाराले प्रतिवादी भदै खाँ थारूलाई मोही निष्काशन गर्ने गरी गरेको निर्णय बदर गरी मोही लगत कायम गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।६।३ को फैसला प्रतिपादित कानूनी सिद्धान्त एवम् भूमिसम्बन्धी कानूनी व्यवस्थाको प्रतिकूल नदेखिँदा सदर हुने ठहर्छ, वादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इति संवत् २०७१ साल जेठ १६गते रोज ६ शुभम् ।
इजलास अधिकृतः उमानाथ गौतम