निर्णय नं. १७२० - लिखत बदर

निर्णय नं. १७२० ने.का.प. २०४० अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको दे.पु.नं. ३५९
फैसला भएको मिति : २०४०।८।९।६ मा
पुनरावेदक/प्रतिवादी : जि.खोटाङ काहुले भन्ज्याङ गा.पं.वार्ड नं.७ बस्ने जितबहादुर बस्नेत
विरूद्ध
विपक्षी/वादी : जि.सुनसरी भोक्राहा गा.पं.वार्ड नं.९ बस्ने रणमाया बस्नेत क्षेत्रीनीसमेत
मुद्दा : लिखत बदर
(१) पितापूर्खाको पालाको होइन, निजको निजी आर्जनको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण दिनसकेको देखिँदैन । यस्तो अवस्थामा लिखत बदर हुनु नपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं. १४)
फैसला
न्या.धनेन्द्र्रबहादुर सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।२।४।१ को फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३५ को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई देवानी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।
२. उपेन्द्रबहादुरको श्रीमती रणमाया र छोरा ३ भाइमा जेठा रणबहादुर माहिला पद्मबहादुर र कान्छा लोकबहादुर भएको ०३२ साल आषाढ देखि सगोलमा बस्न चित्त नमिली बेगल बसेका छौ तापनि अंशबण्डा भएको छैन । बाजेको शेषपछि पिताका नाउँमा पाहाडको घरबारी खेत ०९९ सालको विजन जाँचमा दर्ता भएको ढुंगाको गारो फुसको छानो भएको २ तल्ले घर समेतको ०९९ सालको विजन जाँचमा विजमाना ।।९ पोत रू.।९९ दर्ता घरबारी कित्ता १ (४४०) विजनमाना ।।१ को पोत रू.।११ लागेको हुम नेवारी कित्ता १ माटो पाथि । ।१० को पोत रू.।२२ लागेको बारो खोला खेत कित्ता १ समेतको घरबारी खेत रू.२०,०००। मा विपक्ष लोग्ने पिता उपेन्द्रबहादुर दिने जितबहादुर लिने गरी ०३२।९।१६ गते भू.प्र.का.सुनसरीमा राजीनामा पारित गरेको ०३३।८।१६ गते नक्कल सारी ल्याई दिएबाट थाहा हुनआयो अंशबण्डाको १९ नं.अनुसार हाम्रो मञ्जूरी बेगर लिनुदिनु गरेको लेनदेन व्यवहारको १० नं. म्याद भित्र फिराद गर्न आएको छु ५ अंशियार हुँदा ५ भागको ३ भाग हाम्रो हक कायम गरी दिलाई कोर्टफी समेत भराई पाउँ भन्ने समेत रणमाया बस्नेत समेतको संयुक्त फिरादपत्र रहेछ ।
३. प्र.उपेन्द्रबहादुरले वादी मिलान प्रतिवादी दिने अथवा नदिई म्याद गुजारी बस्ने मिलुवा प्रतिउत्तर दिने इत्यादि जे गरे पनि मेरो व्यहोरामा कुनै सरोकार छैन वादीहरू सगोलका भन्ने कुरा म पनि निर्विवाद मान्दछु फिराद कानुनको परिधि भित्र रही गरेको भन्न सक्तिन अंशबण्डाको १९ नं.मा पैत्रिक सम्पत्ति स्वास्नी छोराको मञ्जूरी नभई चलमा सबै र अचलमा आधा सम्म बिक्री गर्न पाउने निजी आर्जन भएमा सबै बिक्री गर्न पाउने विवादग्रस्त बिक्री गरेको घर जग्गा उपेन्द्रबहादुरको निजी दर्ता तिरो भोगको हो । लेनदेन व्यवहारको ८ नं.मा घरको मुख्यले गरेको व्यवहारमा कसैको पनि मञ्जूरी लिन नपर्ने भन्ने समेत भएको र वर्ष दिनको हदम्याद राखी ३५ दिन नघाई गरेको फिराद खारेज हुन पर्छ यो मुद्दा घर जग्गा रहेको खोटाड्ड जि.अ.बाट हेरी पाउँ भन्ने समेत प्र.जितबहादुरको प्रतिउत्तरपत्र रहेछ ।
४. प्रतिवादी मध्येका उपेन्द्रबहादुरले ०३३।९।१३ मा तामेल भएको म्याद गुजारी बसेको रहेछ।
५. उपेन्द्रबहादुरका पिता पुर्खाले आर्जेको दर्ता श्रेस्ता प्रमाण वादीले दिन नसकेको उपेन्द्रबहादुरको एउटै मात्र पत्नी रणमाया र उपेन्द्रबहादुरका छोराहरू वादी देखिएकोले ठग्ने हानी पुर्याउने उद्देश्यले बिक्री गर्नुपर्ने अवस्था देखिन नआएकोले वादी दावी पुग्न सक्दैन भन्ने समेत सुनसरी जिल्ला अदालतको ०३४।८।२६ को फैसला रहेछ ।
६. उक्त फैसला उपर चित्त बुझेन वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत रणमाया समेतको अञ्चल अदालत कोशीमा परेको पुनरावेदन ।
७. उजूर नगर्ने रणबहादुर विपक्ष उपेन्द्रबहादुरको कायमै हुने गरी ५ भागको ३ भाग लिखत बदर हुने ठहरी शुरू जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०३६।८।७।६ को फैसला रहेछ ।
८. सो फैसला उपर चित्त बुझेन कानुनी त्रुटिपूर्ण फैसला बदर गरी पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने जितबहादुर बस्नेतको निवेदन ।
९. प्रस्तुत जग्गा प्रतिवादीको दाता उपेन्द्रबहादुरको निजी आर्जनको होइन भन्न मिल्ने नदेखिँदा पैत्रिक सम्पत्ति ठहर्याएको कोशी अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत पु.क्षे.अ.सिड्डलबेञ्चको ०३८।८।२६ को आदेश रहेछ ।
१०. पुनरावेदक जितबहादुरले सो सम्पत्ति उपेन्द्रबहादुरको निजी आर्जनको हो भन्ने सबूत गुर्जान नसकेकोले कोशी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पू.क्षे.अ.को ०३८।२।४।१ को फैसला रहेछ ।
११. उपेन्द्रबहादुरले राजीनामा गरी दिएको सम्पत्ति निजले आफूखुसी बिक्री गर्न पाउने होइन हाम्रो समेत मञ्जूरी लिन पर्ने हो वादीहरूले आधा भन्दा बढी जग्गा बिक्री भयो भनी सबूत गुजार्न नसकेको उक्त राजीनामा लिखत ५ खण्डको ३ खण्ड बदर हुने ठहराएको पू.क्षे.अ.को फैसला सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानुनी त्रुटि भएको देखिएकोले न्या.सु. ऐन, ०३१ को दफा १३ को उपदफा (५) खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत स.अ.डि.बे. को ०३८।८।७।१ को आदेश रहेछ ।
१२. पुनरावेदकको वारिस इश्वरलाल श्रेष्ठ रोहवरमा रही पेश हुनआएको प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१३. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी उपेन्द्रबहादुरबाट पुनरावेदक जितबहादुरले राजीनामा गरी लिएको घर जग्गा बाबु बाजेको शेषपछि उपेन्द्रबहादुरका नाउँमा दर्ता भएको हाम्रो समेत हक लाग्ने लिनुदिनु गरेछन् हाम्रो हक ५ भागको ३ भाग लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने मुख्य वादी दावी देखिन्छ ।
१४. पुनरावेदकले राजीनामा गरी लिएको सो घर जग्गा पितापूर्खाको पालाको होइन, मेरो निजी आर्जनको हो भनी निज बिक्री गर्ने उपेन्द्रबहादुरले भन्न नआई प्रतिवाद नै नगरी शुरू म्याद गुजारी बसेको देखिन्छ । प्रतिवादी पुनरावेदकले सो घर जग्गा उपेन्द्रबहादुरको पितापूर्खाको पालाको होइन, निजको निजी आर्जनको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण दिनसकेको देखिँदैन । यस्तो अवस्थामा लिखत बदर हुनु नपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । ५ भागको ३ भाग लिखत बदर गर्ने गरेको कोशी अञ्चल अदालतको इन्साफ सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ठहराई छिनेको इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी जितबहादुरबाट वादीहरूलाई पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३८।२।४ का फैसलाले नपुग कोर्टफी रू.७६।५० भराउने गरेकोमा सो कोर्टफी पुनरावेदक प्र.जितबहादुरले पुनरावेदन गर्दा ०३८।१०।१९ मा काठमाडौं जि.अ.मा धरौट राखेकोबाट भराई पाउँ भनी देहायका वादीहरूको ऐनका म्याद भित्र दरखास्त परे दस्तूर केही नलिई बराबरका दरले भराई दिनु र पू.क्षे.अ.ले भराउने गरेको लगत काटी दिनु भनी सुनसरी जि.अ.मा लेखी पठाउन का.जि.अ.आ लगत दिनु......................................................................................................१
रणमाया बस्नेत १, पद्मबहादुर बस्नेत १, लोकबहादुर बस्नेत १,
मिसिल नियमबमोजिम गरी बुझाई दिनु..........................................................................................................................२
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल मार्ग ९ गते रोज ६ शुभम् ।