शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२७० - दर्ता बदर दर्ता ।

भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १०

निर्णय नं.६२७० ने.का.प.२०५३ अङ्क १०

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

संवत् २०५० सालको दे.पु.नं...११७८,१४४०

फैसला मितिः २०५३।३।३१।२

 

विषयः दर्ता बदर दर्ता ।

 

पुनरावेदक

वादीः जिल्ला पर्सा गा.वि.स. भेडीहारी वडा नं. १ वस्ने गया महतो कोइरी ।

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीःजिल्ला पर्सा गा.वि.स. भेडीहारी वस्ने नथुनी महतो कोइरी समेत जम्मा ६ ।

                                                                

     अ.वं. ७८ नं. बमोजिम लिइएको बयानको आधारमा किर्ते ठहर गर्न मिल्ने अबस्था देखिदैन ।                      

-प्र.नं.१७)

     लिखतको प्रकृति अनुसार व्यक्तिको साथमा रहने लिखतमात्र मुलुकी ऐन अ.व.७८ नं. को प्रकृया अपनाई सद्दे किर्तेमा सुनाई सद्दे किर्ते ठहर गरी विवादको निरुपण गर्नुपर्ने हुन्छ । लिखतको प्रकृति अनुसार सरकारी अडृामा रहेको लिखत किर्ते भएको देखिए स.मु.सं.ऐन, को दफा ३ को अनुसुची १ को नं. १२ ले सरकारी छाप दस्तखत वा सो छाप दस्तखत किर्ते भएको मुद्दा सोही ऐन बमोजिम कारवाही चलाई मुद्दा दायर गरी ठहर गर्नुपर्ने ।                 

(प्र.नं.१७)

      मुनरीले गया महतोलाई गरिदिएको शेषपछिको बकसपत्र मालपोत कार्यालय पर्साबाट रजिष्ट्रेशन पारीत भएको र त्यस्तो कागज लिखतको प्रकृति अनुसार सरकारी अडृामा रहने लिखत भएको कारण त्यस्तो लिखत किर्ते भए स.मु.सं. ऐन, अनुसार नै कारवाही चलाउनु पर्नेमा सो नगरी मुलुकी ऐन, अ.वं. ७८ नं. को गलत प्रकृया अपनाई किर्ते गरेको भनी निर्णयाधार लिएको पाइन्छ । किर्ते गरेको सम्बन्धमा नारायणी अंचलाधिश कार्यालयमा उजुर परी किर्ते नठहर्ने गरी निर्णय समेत भएकोले, किर्ते गरेको भन्ने आधारमा र फिल्डवुक कैफियत महलमा बकसपत्र जनिएकै आधारमा मात्र विवादित जग्गाहरु बकसपत्र भित्रको भन्ने निर्णयाधार लिइ गरेको पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौंडाको फैसलालाई मुनासिव ठहर्‍याउन नमिल्ने ।

-प्र.नं.१७)

 

पुनरावेदक तर्फबाटः विद्धान अधिवक्ताद्वय श्री शंकर नाथ अधिकारी तथा श्री राजेन्द्र अधिकारी ।

विपक्षी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्धान अधिवक्ता श्री उपेन्द्र के.सी.

अवलम्वित नजीरः

 

फैसला

      प्र.न्या.सुरेन्द्र प्रसाद सिंहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ ।

      २.    बिपक्षीको बाजे बराजु क्रमशः बाल गोविन्द महतो, हिरामन महतो, शिवरतन महतो र रामधारी महतो ४ दाजु भाई भएको गोबिन्द तर्फबाट लक्ष्मी, श्रीकिसुन र विन्ध्याचल ३ तिन छोरा हिरामन तर्फवाट राम दयाल, नन्दकुमार २ छोरा शिवरतन तर्फबाट रघुनाथ, मथुरा, विश्वनाथ र कमल ४ छोरा राम धारी महतोको २ श्रीमति रोझनी र मुनरी भएको निजको छोरा छोरी कोही नभएकोमा वृद्ध अवस्थामा सेवा टहल र मृत्युपछि काज क्रिया गर्नको लागी आफ्नो भाई तुलसी महतोलाई एउटा छोरा मेरा साथ राखी देउ भनि भनेपछि मलाई बुबाले अर्‍याए बमोजिम सेवा टहल गर्न थालेपछि म बाट रिझाए बापत वाहाको नाउंमा दर्ता रहेको देहायको जग्गा तत्कालिन पर्सा मालबाट २००७।५।११ गते शेषपछिको बकसपत्रको लेखत लेखी रजिष्ट्रेशन पास भएको । शेषपछिको लेखत विरुद्ध मुनरी कोइरीन र म समेतलाई प्रतिवादी बनाई नथुनी महतोले नालेश गर्दा प्रधान न्यायालय लगायतवाट लिखत  सदर गर्ने गरी फैसला भएको छ । फुपु  मुनरीको सेवा गरी आएकोमा ०४२।१०।१७ गते मृत्यु भै काजक्रिया गरेकोमा फुपु मुनरीको मृत्युपछि

           

जिल्ला             पंचायत      वडा नं.            कि.नं.       क्षेत्रफल

पर्सा   मेडाहारी      १                 ५           ०-१-५

,,          ,,                ५                 २९          ०-४-१४

,,          ,,                ७                 १६          ०-४-१०

,,          ,,                ९                 ७           १-१-१०

,,          ,,                ,,                       ४७         ०-१६-१५

,,          ,,                ,,                       ४८          ०-३-१०

,,          ,,                ,,                       ४९          ०-४-५

,,          ,,                ,,                       ५०          ०-६-५

,,          ,,                ,,                       ९७          ०-५-०

,,          ,,                ,,                       १०३         ०-५-०

,,          ,,                ,,                       १०४         ०-१९-५

,,          ,,                ,,                       ११४         १-८-१०

,,          ,,                 ,,                      ११५         ०-५-१०

,,          ,,                 ७                 १२८         ०-७-०

,,          ,,                ,,                       १७९         ०-१२-०

 

      ३.    आफ्नो नाउंमा दर्ता गराउन फुपुको मृत्यु प्रमाणपत्र र स्थानीय पंचायतको सिफरिसको अभावमा दा.खा.नगर्ने र विपक्षी नथुनी महतो नै प्रधान पंच भएकोले वाहांले सिफारिस नगरेको र वाहांको प्रभावले सचिवले समेत नगरेको हुंदा नामसारी हुन पाएको थिएन । विपक्षी नथुनी महतोले म हकवाला हुं भनी आफैले सिफारिस गरी ०४२।११।१३ गते नामसारी गराएकोले लिखत र फैसला समेतको आधारमा मेरो हकभोगको जग्गामा बिपक्षीहरुले ब्यहोरा ढाटी, फुपु मुनेरीको नाउंबाट दा.खा. गराएकोले बिपक्षीले गराएको दर्ता बदर गरी मेरा नाउंमा दर्ता समेत गरी पाउं भन्ने फिरादपत्र ।

      ४.    बादीको फिराद लेखवाट नै वादी दावीको जग्गा वादीको हक स्वामित्व प्राप्त भएको नदेखिएकोले वादीको नाउंमा दर्ता हुनु पर्ने होइन खारेज भागी छ । २००७।५।२१ मा पारित भएको दाता मुनरी पाउने विपक्षी हुनु भएको शेषपछिको वकसपत्र लिखत प्रधान न्यायालयवाट ०१२।८।१६ मा सदर ठहर्ने फैसला भएपनि लेखत गरिदिने मुनरी कोइरीनले तत्कालिन पर्सा माल अड्डाद्वारा विधिवत साविक मुलुकी ऐन, दान दौतव्यको १२ नं. अनुसार ०१४।४।२१ मा बदर वातिल गराई दिएकी छिन । सो निष्कृय लेखतले हाम्रो हकमा कुनै असर पुर्‍याउने होइन । सो बदर वातिल गराएपछि आफ्ना नाउं दर्ताको साविक श्रेस्ता अनुसारको जग्गाहरु गणेश कुमारीलाई ०१४।१०।२१ मा रजिष्ट्रेशन पास गरी दिनु भएको छ । कान्छी जिजु वजै मुनरी कोइरीनको नाउंमा दर्ता रहेको जग्गामा आफ्नो-आफ्नो हैसियत अनुसार लेखिएको हकवाला सत्यनारायण, श्रीभगवान, दरोगा, कन्चन, देवनाथ, व्रम्हदेव, म नथुनी, सरजुग यमुना, जंगा, रामचन्द्र, राम अयोध्या शसी शेखरको अपुताली हक प्राप्त भै जग्गा भोगी आएको लेखिएको अरु हकवालाको मंजुरी सनाखत गराई म नथुनी प्रसाद, म राम अयोध्या तथा कन्चन महतोको नाउंमा संयुक्त नामसारी गरी पाउं भनी संयुक्त निवेदन परी ०४२।११।१३ मा निर्णय गरी संयुक्त नामसारी गरी पाउं भनि संयुक्त निवेदन परि ०४२।११।१३ मा निर्णय गरी संयुक्त नामसारी हुन आएको छ । माथि लेखिएको जग्गा नामसारी गराई वांकी भेडीहारी गा.पं.वार्ड नं. ९ को कि.नं. १०४ को जग्गा वि. ०-१९-५ नामसारी गराउन छुट भएकोमा सो जग्गा नामसारी  गराउन मालपोत कार्यालय पर्सामा कारवाही गरेका छौं नामसारी गराइ सकेको जग्गा तथा नामसारी हुन वांकी रहेको जग्गा समेत निस्कृय शेषपछिको बकसपत्रमा लेखिएको जग्गा नभएकोले वादीको फिराद खारेजभागी हुंदा हाम्रो दर्ता यथावत कायम राखी पाउं भन्ने समेत व्यहोराको नथुनी प्रसाद कोइरीनको वारेस भै आफ्ना हकमा समेत राम अयोध्या महतो कोइरीको र कन्चन महतोको मृत्यु पछि निजको खति उपति खाने नरेस कुमार कुशवाहा महेश कुमार कुशवाहा वलराम प्रसाद कुशवाहा समेतको संरक्षक भै आफ्ना हकमा समेत अरुण कुमार कुशवाहाको एकै मिलानको पृथक पृथक प्रतिउत्तर जिकिर ।

      ५.    बकसपत्र बदर भएको छैन भूनरी कोइरीनको बकसपत्रमा चित्त वुझेन भनी मा.पो.का. मा दरखास्त परेको छैन । उक्त दरपीत व्यहोरा कृते हो । उक्त दरपीठको व्यहोरा नथुनी महतो कोइरी, राम अयोध्या महतो कोइरी, कंचन महतो कोइरी समेत मिली कृते गरेका हुन साथै मा.पो.का.पर्साका कर्मचारी फांटवाला राज कुमार भन्ने मानिस समेत भै कृते गरेका हुन भन्ने समेत व्यहोराको वादी वारेस प्रमोद कुमार कोइरीको वयान ।

      ६.    २००७।५।२१ को बकसपत्रको पीठमा भएको दरपीठ सम्वन्धी व्यहोरा वादी प्रतिवादीलाई सुनाउने आदेश भै सो आदेश उपर प्रतिवादी श्री ना.अं.अ.मा गएकोले निवेदन प्राप्त भएपछि जगाउने गरी ०४५।३।९ मा यस अदालतवाट मुल्तवी भएको पर्सा जि.अ.को. आदेश ।

      ७. कैफियत प्रतिवेदनमा समेत निर्णय भै यस अदालतमा प्राप्त भएको हुंदा मुल्तवीवाट जगाउने भन्ने ०४५।४।१० को पर्सा जि.अ.को आदेश ।

      ८.    नापी हुंदाको अवस्था वादीले फिल्डवुक कैफियतमा बकसपत्र भनी उल्लेख गरेजति बकसपत्र भित्रको भन्ने देखिने र बकसपत्र   भन्ने नजनीएको जति बकसपत्र भित्रको भन्न नदेखिने हुंदा कि.नं. ५०, , २९, ४८, ४९, १०३, १२८, १७९ को जग्गाहरु बकसपत्र भित्रको भन्ने र अन्य कित्तामा बकसपत्र नजानाउनु पर्ने कारण समेत वादीले उल्लेख गर्न सकेको देखिदैन । तसर्थ बकसपत्र नजनीएको  २-१६-९ भन्ने देखिएको हुंदा वकसपत्र भित्रको भन्ने दावी पग्न सक्दैन । बकसपत्र जनिएको कि.नं. ठ, ११५, ४७, ९७ र कि.नं. ११४ वाट कित्ताकाट भएको कि.नं. २६४, २६६ जग्गा वादीको बकसपत्र भित्रको भन्ने देखिंदा दर्ता बदर भै वादीका नाउंमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०४५ साल फाल्गुण ११ गतेको फैसला ।

      ९.    वादी दावीको सम्पुर्ण जग्गा दर्ता बदर हुनु पर्नेमा केही कित्ता जग्गाको मात्र दर्ता बदर हुने ठहरी गरेको शुरुको फैसलामा चित्त वुझेन उक्त फैसला बदर गरी मेरो फिराद दावी बमोजिम फैसला होस् भन्ने समेत व्यहोराको  पुनरावेदक वादीको पुनरावेदन ।

      १०.    दर्ता बदर हुनै नपर्नेमा केही कित्ता जग्गाहरु दर्ता बदर गरेको शुरु जिल्ला अदालतको इन्साफमा चित्त वुझेन भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।

      ११.    फिल्डवुकको प्रतिलिपी उतार हेर्दा वादी दावीको जग्गाहरु मध्ये कि.नं. १ण्द्ध मुनरी कोइरीनका नाउंमानै कायम रहेको हुंदा त्यस सम्वन्धमा वोली रहनु पर्ने अवस्था भएन । साथै कि.नं. ५,२९,१६,४८,४९,५०,१०३,१२८ र १७९ का जग्गाहरुको दर्ता बदर हुन नसक्ने र कि.नं. ४७,,११५,९७ र कि.नं. ११४ कित्ताकाट भै कायम कि.नं. २६४,२६६ का जग्गाहरुको मात्र शुरु जिल्ला अदालतले दर्ता बदर हुने ठहर गरेको देखियो । जिल्ला पर्सा गा.पं. भेडीहारी वडा नं. ५ कि.नं. २९ को जग्गा समेत को फिल्डवुकको किसानको व्यहोरामा मुनरी कोइरिन, गया महतो कोइरीको मैल्रे अधिया वटैयामा कमाएको छूं भनी लेखिएको देखिंदा सो कित्तावाट वादीको हक नभएको भन्ने स्थिति नदेखिंदा उक्त कित्तामा वादीको हक कायम गरी प्रतिवादीहरुको दर्ता बदर नगरेको हदसम्म शुरुको फैसला केही उल्टी भै कि.नं. २९ को जग्गामा समेत वादीको हक कायम भै प्रतिवादीहरुको दर्ता बदर गरिदिने ठहर्छ । अरुमा शुरुले गरेको फैसला मुनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाका फैसला ।

      १२.   शुरु पर्सा जिल्ला अदालतको फैसलामा केही उल्टी गरी थप कि.नं. २९ को जग्गामा मात्र मेरो हक कायम गर्ने र अरु कि.नं. ५,१६,४८,४९,५०,१०३,१२८,१७९ को कित्ताहरुको दर्ता बदर नहुने भनी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसलामा विपक्षीको हकाधिकार नदेखिएको अवस्थामा निजहरुको नाम दर्ताको कि.नं. २९ वाहेकका कित्ता यथावत रहने भन्ने फैसलामा तात्विक भिन्नता रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) अनुसार पुनरावेदन गर्न आएको छु । अतः शुरु पर्सा जिल्ला अदालतले गरेको फैसलामा केही उल्टी गरी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला समेत बदर गरी वादी दावी अनुसार मेरो हककायम गरी न्याय पाउं भन्ने पुनरावेदक वादी गया महतो कोइरीको पुनरावेदनपत्र।

      १३.   शेषपछिको बकसपत्र बदर भै सकेपछि मोहीको हैसियत मात्र राख्ने विपक्षीले कुन    हक अधिकारवाट मुनरीको हकमा सहिछाप गरेको हो त्यस्तो कुनै प्रमाण छैन । आफुलाई फाइदा पुर्‍याउन मुनरी कोइरीको हकवाट विपक्षीले गरेको सहिछापलाई प्रमाणमा लिई गरिएको फैसला पुर्णतया बदर योग्य छ । यसरी बदर भै सकेको शेषपछिको बकसपत्र लिखतको आधार र फिल्डबुकमा बकसपत्र लेखिएको कुरालाई प्रमाण लिई हाम्रा नाउंमा नामसारी दर्ता भएको जग्गा बदर हुने ठहर्‍याई गरेको पर्सा जिल्ला अदालत एवं पुनरावेदन अदालत हेटौंडा मकवानपुरको फैसला उल्टाई हाम्रो प्रतिउत्तर जिकिर एवं पुनरावेदन जिकिर बमोजिम न्याय पाउं भन्ने  पनरावेदक प्रतिवादी रामअयोध्या महतो कोइरी समेतको पुनरावेदन पत्र ।

      १४.   नियम बमोजिम दैनिक पेशी सुचीमा  चढी पेश हुन आएको प्रस्तुत दर्ता बदर दर्ता मुद्दामा पुनरावेदक वादी गया महतो कोइरीको तर्फबाट उपस्थित विद्धान अधिवक्ता द्वय श्री शंकरनाथ अधिकारी तथा अधिवक्ता राजेन्द्र अधिकारीले, मुनरीले २००७।५।११ मा शेषपछिको बकसपत्र रजिष्ट्रेशन गरी गया महतो कोइरीलाई दिनु भएको थियो । सो सम्बन्धमा मुनरी र गया महतोलाई प्रतिवादी बनाई विपक्षी नथुनीको माहिला बाबु श्री किशन महतोले नालिश गर्दा प्रधान न्यायालयवाट समेत लिखत सदर गर्ने गरी अन्तीम फैसला भैसकेको छ । शेषपछिको बकसपत्रमा विपक्षीहरुले किर्ते गरी दरपीठ गरेको आधारमा शुरु पर्सा जिल्ला अदालतले शेषपछिको बकसपत्रको केही जग्गालाई कायम गरिदिएको छ । यसरी दरपीठको अस्तित्व शुन्य भएको अवस्थामा शेषपछिको बकसपत्र कायमै भएकोले वादीको नाममा उक्त लिखत अनुसारको सम्पुर्ण जग्गा कायम हुनु पदर्छ । तसर्थ शुरु पर्सा जिल्ला अदालतको फैसलामा केही उल्टी गरी थप  कि.नं. २९ को जग्गामा मात्र मेरो पक्षको हक कायम हुने र अरु कि.नं. ५, १६, ४८, ४९, ५०, १०३, १२८, १७९ को कित्ताको जग्गाहरुमा विपक्षीहरुको नाममा दर्ता बदर नहुने भनि किर्ते गरी दरपीठ गरिएको भन्ने विशेषज्ञको रायलाई प्रमाण ऐन, ०३१ को दफा ३६(३) अनुसार प्रमाण लिई निर्णय गर्नुपर्नेमा सो प्रमाणमा समेत नलिई गरेको पनरावेदन अदालत हेटौंडाको फैसला त्रूटिपुर्ण हुंदा बदर गरी फिराद दावी अनुसार मेरो पक्षको  हक कायम गरी पाउं भन्ने बहस प्रस्तुत गर्नु भयो । पुनरावेदक प्रतिवादी नथुनी महतो कोइरी समेतको तर्फबाट उपस्थित विद्धान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा अधिवक्ता श्री उपेन्द्र के.सी.ले मुनरी कोइरीले विपक्षी वादी गया महतो कोइरीलाई गरि दिएको शेषपछिको बकसपत्रका सम्वन्धमा मुद्दा परी प्रधान न्यायालय समेतबाट २०१२।८।१६ मा सदर भई अन्तिम फैसला भएको भनिएपनि मिति २०१४।४।२१ मा दाता मुनरीले नै दरपीठ गरी बदर गराएको हुंदा, दरपीठ भै बदर भै सकेको बकसपत्रको आधारमा विपक्षी गया महतोको हक अधिकार स्थापित हुन सक्दैन । बकसपत्र अड्डामा रहेको श्रेस्ताको सरकारी लिखत हो । यस्तो कागज किर्ते भयो भने सरकारी मुद्दा सम्वन्धी ऐत अनुसार श्री ५ को सरकारले अनुसन्धान गरी मुद्दा दायर गर्ने कानुनी व्यवस्था   छ । त्यसरी मुद्दा दायर भएको अवस्थामा मात्र त्यस्तो कागज किर्ते हो भनी ठहर गर्न सकिन्छ । लिखतको प्रकृतिको आधारमा पक्षको साथमा रहने कागजलाई मात्र मु.ऐन अ.वं. ७८ नं.ले सद्दे किर्तेमा सुनाउन सकिने हुन्छ । विपक्षीलाई यो लिखतलाई किर्ते भनेर दावी लिन पाउने र अदालतलाई निर्णय गर्ने अधिकार नै छैन । तसर्थ शुरु जिल्ला अदालतवाट बकसपत्र दरपीठ किर्ते ठहराई गरेको निर्णय त्रूटीपुर्ण छ । किर्ते गरी दरपीठ गराएको भन्ने विपक्षीको उजुरीका सम्वन्धमा तत्कालिन अंचलाधिश कार्यालयबाट भएको निर्णयमा पनि कीर्ते गरेको नठहर्ने भनी निर्णय भएको छ । त्यसकारण त्यसमा भएको विशेषज्ञको रायलाई समेत प्रमाण लिन  मिल्दैन । मुनरीले गणेश कुमारीलाई बिक्रि गरेको जग्गा सम्पुर्ण बकसपत्रमा परेको जग्गा मात्र भएको देखिन्छ र उक्त बिक्रि गरिदिएको राजिनामामा विपक्षी गया महतो कोइरी स्वयं साक्षी पनि बस्नु भएकोले विपक्षीलाई विवन्धनको सिद्धान्त पनि लागु हुन्छ । तसर्थ बदर भै सकेको शेषपछिको बकसपत्र लिखतको आधार र फिल्डवुकमा बकसपत्र लेखिएको कुरालाई प्रमाणमा लिई मेरोपक्षहरुका नाउंमा नामसारी दर्ता भएको जग्गा बदर हुने ठहर्‍याई गरेको हदसम्म पर्सा जिल्ला अदालत एवं पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टाई पुन मेरो पक्षहरुको हक कायम हुनु पर्दछ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

      १५.   आज निर्णय सुनाउन तोकिएको तारिखका दिन वादी प्रतिवादी दूवै पक्षका पुनरावेदन सहितका मिसिल कागजातहरु अध्ययन गरी विद्वान अधिवक्ताहरुको वहस जिकिर समेतलाई मनन गरी निर्णय तर्फ बिचार गर्दा शुरु पर्सा जिल्ला अदालतले फिराद दावी मध्ये केही कित्ताका जग्गाहरुमा दर्ता बदर भै वादीको हक कायम हुने ठहर्‍याई गरेको फैसलामा थप कि.नं. २९ को जग्गामा समेत वादीको हक कायम हुने गरी केही उल्टी गरी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ वा छैन ? हेरी निर्णय दिनु पर्ने भएको छ ।

      १६.    यस्मा मेरी फुपु मुनरी महतो कोइरीले मिति २००७।५।११ मा मलाई शेषपछिको बकसपत्र पारित गराई कि.नं. ५,२९ ,१६,४८, ४९,५०,१०३, १२८,१७९ का जग्गाहरु र कि.नं. ४७,,११५,९७ र ११४ कित्ताकाट भै कायम हुन आएको कि.नं. २६४ र २६६ का जग्गाहरु दिएकोमा फुपु मुनरीको मिति २०४२।१०।१७ मा मृत्यु भएकोमा उक्त मृत्यु पश्चात मिति २०४२।११।१३ मा उक्त कि.नं. का जग्गाहरु आफ्नो नाममा किर्ते गरी दर्ता गराएको हुंदा दर्ता बदर गरी मेरा नाउंमा कायम गरी पाउं भन्ने फिराद दावी परेकोमा फिराद दावीका जग्गाहरु मुनरी कोइरीले मिति २०१४।४।२१ मा नै शेषपछिको बकसपत्र दरपीठ गराई बदर गरी लिएको हुनाले यस्तो बदर भैसकेको निस्कृय शेषपछिको बकसपत्रबाट बादीको हक कायम हुन सक्ने अबस्था देखिदैन र उल्लेखित कि.नं.का जग्गाहरु हाम्रो हक लाग्ने हुंदा हाम्रो नाममा दर्ता गरी वादीको फिराद दावीबाट फुर्सद पाउं भन्ने प्रतिवादी जिकिर भै विवाद उत्पन्न भएको देखिन्छ ।

      १७.   पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।४।२९ को फैसला उपर वादी        प्रतिवादी दुवैको पुनरावेदन परेकोमा, मैले मुनरी कोइरिनबाट शेषपछिको बकसपत्रमा पाएको जग्गाहरु विपक्षी नथुनी महतो कोइरी समेतले किर्ते गरी आफ्नो नाममा दर्ता गराएको हुंदा उक्त दर्ता बदर गरी मेरो हक कायम गरी पाउं भन्ने वादीको मुख्य पुनरावेदन जिकिर भएको पाइन्छ । मिसिल संलग्न प्रमाण कागजातहरुलाई हेर्दा वादी गया महतोलाई मुनरी कोइरीनले २००७।५।११ मा केही जग्गाहरु बकसपत्र गरिदिएकोमा उक्त बकसपत्रबाट वादी गया महतोको हक कायम हुन नपाउंदै बकसपत्र गरिदिए उपर प्र.नथुनी महतोका माहिला बाबु श्रीकिसुन महतोले मुनरीलाई र गया महतोलाई विपक्षी वनाई मुद्दा दिई प्रधान न्यायालय समेतबाट बकसपत्र कायम भई वादीको हक स्थापित भएको देखिन्छ । तर मुनरी कोइरीनले पछि मिति २०१४।४।२१ मा उक्त शेषपछिको बकसपत्र मालपोत कार्यालय पर्साबाट दरपीठ गराई बदर गराएको देखिन्छ । गया महतोले एकातर्फ उक्त शेषपछिको बकसपत्र बमोजिम हक कायम गराउन पर्सा जिल्ला अदालतमा फिराद दायर गरेको देखिन्छ भने अर्को तर्फ बकसपत्रमा दरपीठ किर्ते  गरी भ्रष्टाचार गरेको भनी नथुनी महतो समेत उपर वादी गया महतोको नारायणी अंचलाधीश कार्यालयमा उजुरी समेत परी कारवाही हुंदा किर्ते गरेको नहठर्ने हुंदा तामेलीमा राख्ने निर्णय समेत भएको देखिन्छ । तत्पश्चात पर्सा जिल्ला अदालतबाट मुलुकी ऐन, अ.वं. ७८ नं. बमोजिम सद्दे किर्तेमा बयान गराउंदा वादी गया महतोले उक्त बकसपत्रको दरपीठको व्यहोरा किर्ते भनी बयान गरेको आधारमा शुरु पर्सा जिल्ला अदालतले कि.नं. ४७, , ११५, ९७ र ११४ कित्ताकाट भै कायम भएको कि.नं. २६४ र २६६ का जग्गाहरु वादीको हक  कायम हुने ठर्‍याई शुरु फैसला गरेको देखिन्छ । यसरी प्रतिवादी नथुनी महतो समेतले किर्ते  गरी  दरपीठ गराएको भन्ने अ.वं. ७८ नं. बमोजिम लिइएको वादीको बयानको आधारमा पर्सा जिल्ला अदालतबाट  जुन निर्णयाधार लिइएको छ त्यसतर्फ बिचार गर्दा अ.वं. ७८ नं. बमोजिम लिइएको बयानको आधारमा किर्ते ठहर गर्न मिल्ने अबस्था देखिदैन । किनकी लिखतको प्रकृति अनुसार व्यक्तिको साथमा रहने लिखतमात्र मुलुकी ऐन अ.व. ७८ नं. को प्रकृया अपनाई सद्दे किर्तेमा सुनाई सद्दे किर्ते ठहर गरी विवादको निरुपण गर्नुपर्ने हुन्छ । लिखतको प्रकृति अनुसार सरकारी अडृामा रहेको लिखत किर्ते भएको देखिए स.मु.सं.ऐन, को दफा ३ को अनुसुची १ को नं. १२ ले सरकारी छाप दस्तखत वा सो छाप दस्तखत किर्ते भएको मुद्दा सोही ऐन बमोजिम कारवाही चलाई मुद्दा दायर गरी ठहर गर्नुपर्ने हुन आउंछ । यहां मुनरीले गया महतोलाई गरिदिएको शेषपछिको बकसपत्र मालपोत कार्यालय पर्साबाट रजिष्ट्रेशन पारीत भएको र त्यस्तो कागज लिखतको प्रकृति अनुसार सरकारी अडृामा रहने लिखत भएको कारण त्यस्तो लिखत किर्ते भए स.मु.सं. ऐन, अनुसार नै कारवाही चलाउनु पर्नेमा सो नगरी मुलुकी ऐन, अ.वं. ७८ नं. को गलत प्रकृया अपनाई किर्ते गरेको भनी निर्णयाधार लिएको पाइन्छ। किर्ते गरेको सम्बन्धमा नारायणी अंचलाधिश कार्यालयमा उजुर परी किर्ते नठहर्ने गरी निर्णय समेत भएकोले, किर्ते गरेको भन्ने आधारमा र फिल्डवुक कैफियत महलमा बकसपत्र जनिएकै आधारमा मात्र विवादित जग्गाहरु बकसपत्र भित्रको भन्ने निर्णयाधार लिइ गरेको पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौंडाको फैसलालाई मुनासिव ठहर्‍याउन मिलेन । त्यस्तै शेष पछिको बकसपत्रमा उल्लेखित जग्गा वि.२-११-३ मुनरी कोइरीनले गणेश कुमारीलाई राजीनामा गरिदिए मध्ये कै जग्गा परेको र उक्त राजिनामामा वादी गया महतो कोइरी साक्षी समेत बसेको देखिंदा पुनरावेदक वादी गया महतोको जिकिर बमोजिम वादीको हक कायम हुन सक्ने अवस्था समेत देखिएन ।

      १८.   तसर्थ, दरपीठ नै बदर भैसकेको यस्तो निस्कृय शेषपछिको बकसपत्रबाट वादीको हक कायम हुन सक्ने अवस्था नदेखिंदा शुरु  पर्सा जिल्ला अदालतले कि.नं. ४७, , ११५, ९७ र ११४ मा कित्ताकाट भै कायम भएको कि.नं. २६४ र २६६ का जग्गाहरु वादीको हक कायम हुने ठहर्‍याई गरेको फैसला र उक्त फैसला सदरै गरी थप कि.नं. २९ को जग्गामा समेत वादीको हक कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला समेत केही उल्टी भै बदर हुने ठहर्छ र पुनरावेदक प्रतिवादीहरु समेतको हक कायम हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

      माथि इन्साफ खण्डमा पुनरावेदक वादीको दावी नपुग्ने ठहरेकोले शुरु पर्सा जिल्ला अदालतबाट दर्ता बदर भै वादीको हक कायम हुने ठहराई राख्ने गरेको लगत र पुनरावेदन अदालतबाट थप कि.नं. २९ को जग्गामा समेत वादीको हक कायम हुने ठहराई राख्ने गरेको लगत कटृा गरी दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखि पठाउनु........  १

      माथि इनसाफ खण्डमा पुनरावेदक वादीको दावी नपुग्ने ठहरेकोले पुनरावेदक प्रतिवादीले पुनरावेदन गर्दा पुनरावेदन अदालत हेटौंडामा राखेको कोर्ट फि रु.३।- र पु.वे.अ.प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.३।- समेत जम्मा रु.६।- पुनरावेदक वादीबाट पुनरावेदक प्रतिवादीले भरी पाउने ठहरेको पु.वे.प्रतिवादीले वादीको यसै सरहदको जेथा देखाई कोर्ट फि भराई पाउं भनी दरखास्त दिए नियमानुसार भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु........... २

      माथि इन्साफ खण्डमा बादी दावी नपुग्ने    ठहरी शुरु पर्सा जिल्ला अदालतको फैसलाले प्रतिवादीले पुनरावेदन गर्दा राखेको धरौटी कोर्ट फि रु. २०। फिर्ता पाउने ठहरेकोले, उक्त कोर्ट फि रु.२०। फिर्ता पाउं भनी पुनरावेदक प्रतिवादीको ऐनका म्याद भित्र दरखास्त परे फिर्ता दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखि पठाउनु .... ३

      मुद्दाको लगत कटृा गरी मिसिल निमानुसार गरी मिसिल नियमानुसार गरी वुझाई दिनु .....४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इति संवत ०५३ साल असार ३१ गते रोज २ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु