शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७२४ - सम्बन्ध बिच्छेद

भाग: २५ साल: २०४० महिना: मंसिर अंक:

निर्णय नं. १७२४    ने.का.प. २०४० अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको डि.फौ.सा.नं. ९८

फैसला भएको मिति  : २०४०।८।६।३ मा

निवेदिका/प्रतिवादी : का.जि.का.न.पं.वार्ड नं.३ महाराजगञ्ज बस्ने माधवीदेवी राणा

विरूद्ध

विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.३ महाराजगञ्ज बस्ने मे.ज. ब्रम्हशमशेर ज.ब.रा.

मुद्दा : सम्बन्ध बिच्छेद

(१)   मुद्दा मामिला दिँदैमा ठूलो शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेको भन्न नमिल्ने ।    (प्रकरण नं. २०)

निवेदिका प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय

विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती र विद्वान अधिवक्ता श्री     नारायणबल्लभ पन्त र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

फैसला

न्या.धनेन्द्रबहादुर सिंह

१.     न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ को उपदफा (२) अनुसार क्षेत्रीय अदालतका माननीय न्यायाधीशहरूको बहुमत कायम हुन नसकी साधक सदरको निमित्त पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    २०३० साल भन्दा अगावै देखि मबाट अलग भई बसी अंश मुद्दा पर्दा प.क्षे.अ.बाट ०३५।३।२१ मा मिलापत्र भएकोमा विपक्षीले मेरो शारीरिक परिस्थिति सिर्जना गर्ने भावनाबाट फिराद गरेको मिलापत्रबाट प्राप्त मेरो अंशमा अंकुश लगाउने जालसाज प्रपञ्च गरेबाट सम्बन्ध कायम गरी बस्न नसकेकोले सम्बन्ध बिच्छेद गरिपाउँ भनी मिति ०३७।१।२६ मा परेको वादीको उजूरी तथा सोही मितिको सनाखत पत्र रहेछ ।

३.    पतिदेव ७१ वर्षको म ६१ वर्षकी भई पतिले मलाई फकाइकन जाल प्रपञ्च समेतमा पारी सम्बन्ध (४५२) बिच्छेद गर्न खोज्नु भएबाट सम्बन्ध बिच्छेद गर्न मञ्जूर छैन भन्ने समेतको माधवीदेवी राणाको बयान रहेछ ।

४.    वादी प्रतिवादीलाई मेलमिलापतर्फ सम्झाउँदा बुझाउँदा मिल्न मञ्जूर नगरेकोले सम्बन्ध बिच्छेद गराउने श्रेय नदेखिएकोले यी पति पत्नीको बीचमा सम्बन्ध बिच्छेद गर्न नहुने अवस्था देखिएको भन्ने समेतको काठमाडौं नगरपञ्चायतको राय रहेछ ।

५.    का.न.पं.ले दिएको राय र अदालतमा दिएको निवेदन अनुसार सम्बन्ध बिच्छेदमा दावी छ भनी ०३८।१।८ को वादीको र यस्तो वृद्धावस्थामा पतिसँग सम्बन्ध बिच्छेद गर्न मेरो इच्छा छैन भन्ने विपक्षी माधवीदेवीको मोही मितिको बयान रहेछ ।

६.    वादी प्रतिवादीको सम्बन्ध बिच्छेद आजका मिति देखि हुने ठहर्छ भन्ने समेत व्यहोराको ०३८।३।१९।६ को काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

७.    उक्त का.जि.अ.को फैसलामा चित्त बुझेन सम्बन्ध बिच्छेद हुनुपर्ने होइन भन्ने समेत व्यहोराको विपक्षी माधवीदेवीको वा.अं.अ.मा परेको पुनरावेदनमा शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको ०३८।८।८।२ को बागमती अञ्चल अदालतको फैसला रहेछ ।

८.    वा.अं.अ.को फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भनी माधवीदेवीले क्षेत्रीय अदालतमा चढाएको निवेदनमा वा.अं.अ.को फैसलामा कुनै कानुनी त्रुटि विद्यमान नहुनाले पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेतको ०३८।१२।२६ को म.क्षे.अ.सिड्डलबेञ्चको आदेश रहेछ ।

९.    वा.अं.अ.को फैसलामा कानुनी त्रुटि नभएको भन्ने उल्लेख गरी अनुमति हुनसक्दैन भन्ने म.क्षे.अ.बाट आदेश भएको हुँदा एकपटक इन्साफ जाँच गरी दिनु भन्ने म.क्षे.अ.का नाउँमा हु.प्र. बक्स पाउँ भनी विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा माधवी राणाले चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानुनबमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बक्स भई म.क्षे. अदालतमा दर्ता हुनआएको रहेछ ।

१०.    वा.अं.अ.को फैसला नमिली फरक पर्ने देखिँदा अ.बं.२०२ नं. र क्षे.अ.नियमावली, २०३६ बमोजिम विपक्षी झिकाई नियमानुसार डिभिजनबेञ्चमा पेश गर्नु भन्ने व्यहोराको २०३९।१२।९।४ को सिड्डलबेञ्चको आदेश रहेछ ।

११.    ब्रम्हशमशेरलाई मुद्दा मामिला दिनाले कुन किसिमको शारीरिक कष्ट पिडा भएको छ वा हुने नै किसिमको जाल प्रपञ्च माधवीदेवीबाट रचिएको छ भन्ने कुरा निज ब्रम्हशमशेरले देखाउन सकेको देखिँदैन । यस्ता जीवनको संध्याकालमा गुज्री रहेका बृद्ध दम्पत्तिलाई जीवनको अन्तिम घडी तिर एक अर्धाङ्गीनीलाई आफ्नो पतिदेवबाट पति जीवित भएकै अवस्था देखि पतिविहिन हुने गरी कानुनको विपरीत शारीरिक कष्ट भएको छ भनी सम्बन्ध बिच्छेद हुने ठहर्‍याएको शुरू का.जि.अ.र सोही निर्णयलाई सदर गरेको वा.अं.अ.को निर्णय कानुनसंगत नदेखिँदा दुवै फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय रहेछ ।

१२.   सम्बन्ध बिच्छेद गरिपाउँ भनी ब्रम्हशमशेरले मुद्दा दिनु अगाडि र पछाडि पनि बारम्बार माधवीदेवी राणाले मुद्दा थपिरहेको यस अवस्थामा सम्बन्ध बिच्छेद गर्ने ठहराएको वा.अं.अ.को इन्साफ नमिलेको भन्न मिलेन । वा.अं.अ.को इन्साफ मनासिव छ यस्तो अवस्थामा पनि सम्बन्ध कायम गरिदिने भनी शुरू र वा.अं.अ.को इन्साफ उल्टो गर्ने ठहराएको माननीय सहयोगी न्यायाधीश हरिहरलाल राजभण्डारीज्यूको रायसँग मेरो राय नमिलेकोले आफ्नो छुट्टै राय व्यक्त गरेको छु नियमानुसार तेस्रो बेञ्चमा पेश गर्नु भन्ने समेत व्यहोराको मा.न्या.श्री लिलाप्रसाद गिरीको राय रहेछ ।

१३.   तेस्रो बेञ्च समक्ष पेश हुँदा प्रस्तुत मिसिलमा सम्बन्ध बिच्छेद गराउनु श्रेय नदेखिएको भन्ने राय प्रकट गरेकोले सम्बन्ध बिच्छेद गराउन चाहेमा ब्रम्हशमशेर ज.ब.रा.ले लोग्ने स्वास्नीको १ नं.अनुसार काठमाडौं जिल्ला अदालतमा निवेदन दिई कारवाही निर्णय गराउनु पर्नेमा काठमाडौं जिल्ला अदालतमा निवेदन दिई कारवाही चलाएको देखिएन । सम्बन्ध बिच्छेद गराउन श्रेय नदेखिएकोले भन्ने का.न.पं.ले राय व्यक्त गरेको अवस्थामा का.न.पं.ले मिसिल का.जि.अ.मा पठाउने र का.न.पं.बाट पठाएको सो मिसिलबाट का.जि.अ.अ.ले ठाडो कारवाही गरी इन्साफ गर्ने गरेको लोग्ने स्वास्नीको १ नं. र १(क) नं. समेतमा भएको कानुनी व्यवस्था विपरीत देखिन आएकोले शुरूले र बागमती अञ्चल अदालत समेतले वेरीतसँग गरेको कारवाही इन्साफ बदर हुन्छ। उक्त अनुसार का.न.पं.बाट पठाएको मिसिलबाट मुद्दा चल्न नसक्ने हुनाले खारेज हुन्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय रहेछ ।

१४.   निवेदिका माधवीदेवी राणा तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले प्रस्तुत सम्बन्ध बिच्छेद हुने अवस्था विद्यमान छैन । सम्बन्ध बिच्छेद गर्न पाउँ भन्ने पक्षको निवेदन नगरपञ्चायत समक्ष परेपछि नगरपञ्चायतले भरसक दुवै पक्षलाई सम्झाउँदा बुझाउँदा मेलमिलाप हुन नसके जिल्ला अदालत समक्ष पठाउने व्यवस्था गरिएको छ तर प्रस्तुत मुद्दामा न.पं.ले सम्बन्ध बिच्छेद गर्न नमिल्ने राय व्यक्त गरेपछि त्यस्तो निवेदनबाट कारवाही चल्न नसक्नेमा कारवाही चलाएको मिलेको छैन भन्ने समेत र विपक्षी ब्रम्हशमशेरतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले विपक्षी माधवीदेवी राणाले मेरो पक्षलाई अनेक मुद्दामा फसाउने हैरानी र टण्टा बराबर दिने र पहिलेको अंश मुद्दामा मिलापत्र गरिसकेपछि पुनः शान्तिमय जीवनमा मुद्दा हाली हैरानी र कष्ट दिएकोले मेरो पक्षले सम्बन्ध बिच्छेद गरिपाउँ भनी दिएको निवेदनमा जिल्ला अञ्चलले सम्बन्ध बिच्छेद गर्ने ठहर्‍याएको इन्साफ अनुरूप क्षेत्रीय अदालतका मा.न्या.श्री लिलाप्रसाद गिरीज्यूको राय मनासिव हुनुपर्छ भन्ने समेत र विद्वान अधिवक्ता श्री नारायणबल्लभ पन्तले निवेदिका माधवीदेवीले श्री ५ महाराजाधिराज सरकारमा चढाएको बागमती अञ्चल अदालतको फैसला जाँची पाउँ भनी दिएको निवेदन झुठ्ठा छ जुन कुरा उक्त निवेदनको प्रकरण ८ र ९ बाट प्रष्ट हुन्छ झुठ्ठो निवेदनबाट कारवाही चल्न नसक्ने प्रष्टै छ । नगरपञ्चायतले लोग्ने स्वास्नीको महलको १(क) अनुसार सम्बन्ध बिच्छेद गर्ने श्रेय भएको भन्ने नलेखे पनि जिल्ला (४५४) अदालत पठाउन कुनै बाधा छैन । तसर्थ माननीय न्यायाधीश श्री लिलाप्रसाद गिरीज्यूको फैसला मनासिव छ भन्ने र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले बिन्तिपत्रमा व्यहोरा झुठ्ठा लेखेकोले प्रस्तुत मुद्दाबाट कारवाही गर्न मिल्दैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

१५.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतका माननीय न्यायाधीशहरूको बहुमत कायम हुन नसकी न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार जाहेर गरेको साधक जाँची निकासा दिनुपर्ने हुनआएको छ ।

१६.    यसमा निर्णयतर्फ हेर्दा सम्बन्ध बिच्छेद गर्ने ठहराएको शुरूको फैसला सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने मा.न्या.श्री हरिहरलालको र सम्बन्ध बिच्छेद गर्ने ठहराएको बागमती अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने मा.न्या.श्री लिलाप्रसाद गिरीको राय भई तेस्रो बेञ्चमा पेश हुँदा सम्बन्ध बिच्छेद गराउन श्रेय नदेखिएको भन्ने का.न.पं.ले राय व्यक्त गरेको अवस्थामा मिसिल काठमाडौं जि.अ.मा पठाउने गरेको र सो मिसिलबाट काठमाडौं जि.अ.ले ठाडो कारवाही गरी इन्साफ गर्ने गरेको लोग्ने स्वास्नीको १ नं. र १(क) नं. समेतको कानुनी व्यवस्था विपरीत देखिएकोले शुरू र वा.अं.अ.ले वेरीतसँग गरेको कारवाही इन्साफ बदर हुन्छ । का.न.पं.बाट पठाएको मिसिलबाट मुद्दा चल्न नसक्ने हुनाले खारेज हुन्छ भन्ने माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहले निर्णय गरेको देखिन्छ ।

१७.   लोग्ने स्वास्नीको महलको १(क) नं.मा यसै महल १ नं.को १ दफा बमोजिम सम्बन्ध बिच्छेद गर्न चाहने पक्षले वा ३ दफा बमोजिम दुवैको मञ्जूरीले सम्बन्ध बिच्छेद गर्न चाहेमा लोग्ने स्वास्नी दुवैले सम्बन्धित गाउँ वा नगरपञ्चायतमा निवेदन गर्नुपर्ने छ र पञ्चायतले पनि दुवै थरीलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराई दिनुपर्छ । त्यसरी सम्झाउँदा बुझाउँदा पनि मेलमिलाप हुन नसकेमा र विवाह कायम राख्न भन्दा सम्बन्ध बिच्छेद गराउन श्रेय भएमा निवेदन परेको एक वर्ष भित्र आफ्नो राय समेत संलग्न गरी प्राप्त निवेदन सम्बन्ध बिच्छेद गर्न अधिकार भएको सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्छ भन्ने लेखिएको छ । यसबाट सम्बन्ध बिच्छेद सम्बन्धी निवेदन प्रथम गाउँ वा नगरपञ्चायतमा दिनुपर्ने पञ्चायतले मेलमिलाप गराई दिने । मेलमिलाप हुन नसके सो निवेदनको टुड्डो लगाउन पञ्चायतले राय साथ जिल्ला अदालतमा पठाउने बाध्यात्मक व्यवस्था गरेको पाइन्छ ।

१८.   प्रस्तुत मुद्दामा सम्बन्ध बिच्छेद गरिपाउँ भन्ने मे.ज. ब्रम्हशमशेर ज.ब.रा.को निवेदन परी का.न.पं.ले कारवाही गरी मेलमिलाप हुन नसकेकोबाट सम्बन्ध बिच्छेद गर्न श्रेय नदेखिएको भनी राय साथ मिसिल काठमाडौं जिल्ला अदालतमा पठाएको देखिन्छ । पञ्चायतले सम्झाउँदा बुझाउँदा मेलमिलाप हुन नसकेकोमा सम्बन्ध बिच्छेद गराई पाउँ भनी पञ्चायतमा परेको निवेदनको टुड्डो लगाउने अधिकार सम्बन्ध बिच्छेद गर्ने अधिकार भएको जिल्ला अदालतलाई मात्र भएको पाइन्छ । मेलमिलाप हुन नसकेमा १ वर्ष भित्र सम्बन्ध बिच्छेद गर्न श्रेय भएको भन्ने वा श्रेय नभएमा पनि राय साथ निवेदन (४५५) जिल्ला अदालतमा पठाउनु पर्ने र जिल्ला अदालतले पनि त्यस निवेदनबाट ठाडो कारवाही गरी निर्णय गर्नुपर्ने हुन्छ । मेलमिलाप गर्न नसकी सम्बन्ध बिच्छेद गराउन श्रेय नदेखिएमा त्यस्तो निवेदनमा कुनै कारवाही नगरी तामेलीमा राख्न पाउने गरी कानुनले पञ्चायतलाई अधिकार प्रदान गरेको देखिँदैन । त्यसरी सम्बन्ध बिच्छेद गर्न श्रेय नभएको भन्ने राय भई आएकोबाट कारवाही गर्न नमिल्ने भन्ने र त्यस्तो राय गरेकोमा अर्को निवेदन जिल्ला अदालतमा दिनुपर्ने भनी ऐनले व्यवस्था गरेको पनि पाइँदैन यस्तो स्थितिमा सम्बन्ध बिच्छेद गर्न श्रेय नभएको भन्ने राय भई आएको निवेदनबाट ठाडो कारवाई गर्न नमिल्ने भनी अर्थ गर्न मिल्दैन । तसर्थ त्यस्तो राय साथ पठाएको मिसिलबाट ठाडो कारवाही गरेको वेरीत भनी खारेज गर्ने गरेको मा.न्या.श्री रुद्रबहादुर सिंहको राय मिलेको देखिएन।

१९.    अब सम्बन्ध बिच्छेद हुने हो होइन भन्ने सम्बन्धमा हेर्दा लोग्ने स्वास्नीको महलको १ नं.को देहाय १ मा स्वास्नीले लोग्नेलाई निजको मञ्जूरी बेगर लगातार तीन वर्षमा वा सो भन्दा बढी समय देखि छोडी अलग बस्ने गरेमा वा लोग्नेको ज्यान जाने अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा त्यस्तो स्वास्नीसित लोग्नेले आफ्नो सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट स्वास्नीसित लोग्नेले आफ्नो सम्बन्ध बिच्छेद गर्न उक्त कानुनमा उल्लेख भए अनुसारको अवस्था विद्यमान हुनु पर्‍यो

२०.   प्रस्तुत मुद्दामा सम्बन्ध बिच्छेद गरिपाउँ भनी मे.ज. ब्रम्हशमशेर ज.ब.रा.ले दिएको निवेदनमा मानसिक अवस्था ज्यादै क्षीण भएको, आफूले गर्नुपर्ने कामको परिणाम समेत प्रायजसो बुझ्न नसक्ने भनी मलाई दोष लगाई मिलापत्रबाट प्राप्त गरेको हकमा अंकुश लगाउने जाल प्रपञ्च गरेकी छन् भन्ने र पूरक निवेदनमा जाली मुद्दाहरू दायर गरी ठूलो शारीरिक कष्ट हुने किसिमको काम गरेकी छिन । विपक्षीले विभिन्न किसिमको शारीरिक कष्ट दिने काम गर्न थालेकी छिन् । कारण अ.बं.२४ नं. र अ.बं.८३ नं.बमोजिम विपक्षीले संरक्षकको अधिकार पाए पछि मेरो सम्पूर्ण सम्पत्ति र मलाई नियन्त्रण गरी ठूलो शारीरिक कष्ट हुने काम जाल प्रपञ्च गरेकी हुन् भन्ने उल्लेख गरेको देखिन्छ । ऐनले कानुनबमोजिमको मुद्दा मामिला दिन पाउने अधिकार सबैलाई छ। तर त्यसरी मुद्दा मामिला दिँदैमा ठूलो शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेको भन्न मिल्दैन । त्यसलाई सम्बन्ध बिच्छेद गर्ने आधार बनाउन पनि मिल्ने हुँदैन । मुद्दा मामिला दिँदैमा कुनै किसिमको शारीकि कष्ट हुने जालप्रपञ्च गरेको हो भनी सो कुरा वादीले देखाउनसकेको पनि पाइँदैन । यस स्थितिमा लोग्ने स्वास्नीको महलको १ नं.को देहाय १ अनुसार सम्बन्ध बिच्छेद गर्ने अवस्था विद्यमान रहेको देखिन आएन ।

२१.   अतः सम्बन्ध बिच्छेद हुने ठहराएको शुरूको निर्णय सदर गरेको बागमती अं.अ.को निर्णय कानुनसंगत नदेखिँदा दुवै फैसला उल्टी हुने ठहर्छ भनी सम्बन्ध बिच्छेद नगर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतका माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको (४५६) राय मनासिव ठहर्छ । साधक निकासाका लागि आएको हुँदा कसैलाई केही गर्न परेन ०४०।७।२५ मा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा किनारा भएको नतिजा जाहेर गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल मार्ग ६ गते रोज ३ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु