शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२७३ - लिखत बदर सम्पत्ति फिर्ता

भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १०

निर्णय नं. ६२७३ ने.का.प.२०५३ अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

संवत् २०५१ सालको दे.पु. नं. ३००४

फैसला मितिः २०५३।८।४।३

 

मुद्दाःलिखत बदर सम्पत्ति फिर्ता ।

 

पुनरावेदक

प्रतिवादीः गंगा विष्णुको छोरा जिल्ला कास्की पोखरा नगरपालिका वडा नं. १० वस्ने प्रेम       प्रसाद श्रेष्ठ ।

विरुद्ध

विपक्षी

वादीः  एै.एै.वडा नं. ८ वस्ने डिल्लीराम ढुंगानाको छोरा नावालक अमित ढुंगाना र            अनिल ढुंगानाको संरक्षक एै.वडा नं. ६ वस्ने भरतराज अधिकारी ।

     

§  लेनदने व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखूसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका संगका अंशियार सवै साक्षी वसेको वा नीजहरुले मंजुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मंजुरीको लिखत पनी नभए मंजुर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र उजुर गर्‍यो र निजको मंजुरी ठहरिएन भने निजको हक जति सो संम्पत्ति फिर्ता गराई दिनु पर्छ भन्ने कानूनी व्यवस्था भएकोले सो व्यवस्था अनुरुप वादीहरु अंशियार भएका र एकाघरसंग वसेका कुरामा विवाद नभएकोले वादीहरु दुवै नावालक भएकाले निजहरुको मामा संरक्षक भै अ.वं. ८३ नं. वमोजिम सोह्र वर्ष नपुगेका नावालक समेतको हकमा एकाघरको हकवाला नभएमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फवाट नालेश दिन पाउने कानूनी प्रावधान भएकै देखिंदा यस्तो अवस्थामा ईन्साफ तहकीकात गर्नु पर्नेमा शुरुले खारेजी गरेको फैसला त्रुटिपुर्ण देखिदा सो फैसला बदर गरी प्रमाण र कानूनको सहि मुल्याकंन गरी जे जो वुझ्नु पर्छ वुझि ईन्साफ गर्नु भनि तारेखमा रहेका वादी प्रतिवादीलाई  तारेख तोकी शुरु कास्की जिल्ला अदालतमा पठाउने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसला मिलेक देखिने ।               

 (प्र.नं.१२)

 

पुनरावेदक तर्फवाटः

      विद्धान अधिवक्ता श्री गणेश प्रसाद खरेल ।

विपक्षी वादी तर्फवाटः

अबलम्वित नजीरः

 

फैसला

      न्या.ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(२) बमोजिम यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ :

      २.    विपक्षी पति डिल्लीराम र आमा राधा ढुंगानाका हामी २ भाई छोरा हौं । पिता र माताको विचवमा के कस्तो वैमनस्य भयो हामीलाई थाहा भएन । ०४७ साल आषाढ देखि हामीलाई तिरस्कार गरी आमा र पितावाट अलग गराइएकोले हामी मामा घरमा वहांको संरक्षणमा वसी आएका छौं । त्यस्तैमा पिता डिल्लीरामका नाउंको सम्पत्ति हाम्रो समेत हक लाग्ने पो.न.पा. वडा नं. ८ को कि.नं. ५७६१ रो.०-१-२-३, कि.नं. ५७६२ को ज.रो. ०-१-२-३, का २ कित्ता जग्गा मात्र हाम्रा हक लाग्ने हित सुरक्षितका सम्पत्ति हुन । सो २ कित्ता जग्गा पिता डिल्लीराम दिने आमा राधा ढुंगाना साक्षी वसी रु.१,८०,०००। मोलिने जग्गालाई विपक्षी प्रेम प्रसादलाई रु.१५,०००। लिई आएको भनि हामीलाई अंशवाट वंचित गर्ने लिखत पारित गरेको हुनाले नालेश गर्न आएको छु उक्त २ कित्ता जग्गा मध्येवाट हाम्रो अंश हक लाग्ने ४ भागको २ भाग लिखत बदर गरी पाउं भन्ने फिराद दावी ।

      ३.    विपक्षी वादीहरुको मिलोमतोवाट प्रस्तुत मुद्दा पार्ने पराउने गरे पनि वास्तवमा प्र.डिल्लीरामले ढुकुटि लेखाएका र म समेत सो ढुकटी सम्मीलीत भएकोमा आफ्नो पालामा पाउनु पर्ने पैसा नीजले नवुझाएको हुंदा मैलै उक्त २ कित्ता जग्गा खरिद गरी सो पैसावाट व्यवहार हिलाएको हो । विपक्षी फिरादीहरुलाई अंशमा ठग्न निरअंशी वनाउन विक्री गरेको र मैले लिएको  होइन । फिरादमा जे जति कुरा सृजना गरी लेखे पनि वास्तवमा फिरादीहरु आफ्नो वावु आमाका साथमा छन् । फिराद लेख सारा झुठ्ठा हो । तसर्थ लिखत सदर गरी पाउं भन्ने समेत प्रेम प्रसादको प्रतिउत्तर-पत्र ।

      ४.    मेरो उपर फिराद गर्ने अवस्था छैन  । यदि हक छुटाई लिएको भएपनि लेनदेन व्यवहारको १०(क) नं. को आधारमा फिराद गर्ने मेरो अधिकार सूरक्षित नै छ । पति अरव जाने सिफारिसमा गराइएको सहिछापले मेरो हक हनन हुदैन भन्ने समेत राधा ढुंगानाको प्रतिउत्तर पत्र ।

      ५.    हामी २ लोग्ने स्वास्नीको पारिवारिक सम्वन्ध विस्थापित भएको कारणले मेरो नाउंका २ कित्ता जग्गा प्रेम प्रसादलाई विक्री गरिदिएको हो । वादीहरुको हक अधिकार मेट्ने उदेश्य नभै उक्त जग्गा २,००,०००। दिने मौखिक शर्त अनुसार पारित गरिदिएकोमा शर्त अनुसारको जग्गाको मुल्य नपाएकोले म अहिले ना्गो अवस्थामा छु भन्ने प्र.डिल्लीराम ढुंगानाको पतिउत्तरपत्र ।

      ६.    वादी दावीको लिखत मिति ०४७।३।२९ मा भएको र प्रस्तुत मुद्दाको फिराद दिंदा वादीहरुको उमेर ६ वर्ष र ९ महिना सम्म भएको देखिन्छ । यस्मा कुनै विवाद भएको पाइदैन । अंशवण्डाको १९(१) नं. ले आफु खूस गर्न नपाउने श्री सम्पत्ति वेच विखन गर्न लाई २१ वर्ष उमेर पुगेको स्वास्नी छोराको मंजुरी लिनु पर्ने भन्ने देखिन्छ र लेनदेन व्यवहारको १० नं. ले मंजुरी लिनु पर्ने व्यक्तिको मंजुरी नलिएकोमा मात्र आफ्नो हकमा लिखत बदर गराई पाउन माग दावी लिन पाउने भन्ने देखिन्छ । अंशवण्डाको १९(१) ले उमेर नपुगेकोले आफ्नो मंजुरी जनाई लिखत बदरमा नालेश गर्न पाउने व्यवस्था लेनदेन व्यवहारको १० नं. ले गरेको नहुंदा यस्तो अवस्थामा अ.वं. ८२ नं. ले वादी नावालकहरुले नालेश गर्न नपाउने हुंदा इन्साफ तर्फ विचार गरि रहन परेन । अ.वं. १८० नं. बमोजिम प्रस्तुत मुद्दाको नालेश खारेज हुन्छ भन्ने कास्की जिल्ला अदालतको मिति २०४९।१०।१५ को फैसला ।

      ७.    समान हक लाग्ने संम्पत्ति हामीलाई निरंशी वनाउने नियतवाट विपक्षीहरुले किनवेच गरेकोमा फिारद लिई हामी न्यायलमा प्रवेश गरेकोमा विना आधार नै अ.वं. ८२ नं. ले हकदैया पुग्दैन भनि फिराद खारेज गर्नु अन्यायपुर्ण छ । हाम्रो जे जति पैतृक सम्पत्ति थियो सो समेत संपुर्ण वेचि दिएपछि हाम्रो वाच्ने आधार खोई ? शिक्षा दिक्ष गर्ने आधार खोई ? यी कुराहरुको अभावमा हाम्रो जीवन कस्तो हुन्छ ? यी प्रश्नहरुमा समेत विचार गरी अदालतले निर्णय गर्नु पर्नेमा अंशवण्डाको १९(१) नं. मा २१ वर्ष भन्दा तलकाको मन्जुरी वेमन्जुरी भन्ने कुराको अभाव रहेको अवस्थामा २१ वर्ष भन्दा कम उमेरका व्यक्तिको सम्पत्ति माथि कुनै अधिकार नै नरहने किसिमले गरिएको कास्की जिल्ला अदालतको व्याख्या अन्यायपुर्ण भएको हुंदा उक्त फैसला बदर गरी कानून अनुसार र हाम्रो फिराद अनुसार न्याय गरि पाउं भन्ने समेत निज संरक्षक भरत राज अधिकारीको मिति ०५०।३।२१ गतेको पुनरावेदनपत्र ।      ८.    यस्मा लिखत गरिदिने प्र.डिल्लीरामले व्यवहार चलाउन विक्री गरेको भनि अंशवण्डाको १९(१) नं. समेतको आधारमा जिकीर लिन नसकेको अवस्थामा अदालतले अंशवण्डाको १९(१) नं. समेतको प्रश्न उठाई अ.वं. ८३ नं. वमोजिम दायर हुन आएको फिरादलाई हकदैया नभएको समेत भनि खारेज गर्ने गरेको शुरु फैसला त्रुटिपुर्ण देखिन आएकोले अ.वं. २०२ नं.  तथा पुनरावेदन अदालत नियमावली ०४८ बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने पु.वे.अ.पोखराको मिति ०५०।१२।१ को आदेश ।

      वादी दावी तथा पुनरावेदन पत्र जिकीर बमोजिम लिखत बदर हुन नहुने के हो ? सो सम्बन्धमा हेर्दा वादीका वावु डिल्लीराम ढुंगानाले मिति २०४७।३।२९ मा प्रेम प्रसाद श्रेष्ठलाई गरिदिएको जग्गा विषयमा प्रतिवादी डिल्लीराम ढुंगानाले प्रतिउत्तर पत्रमा अंशवण्डाको १९(१) नं. बमोजिम घर व्यवहार चलाउन जग्गा विक्री गरेको भनि जिकीर लिन सकेको पाइदैन । अंशवण्डाको १९ नं. २१ वर्ष पुगेकाको मंजुरी लिन पर्ने भन्ने भएकोमा नावालकको हकमा के हुने ? हो मंजुरी लिन पर्ने नपर्ने के हो नपर्ने अवस्थामा नावालकको हकमा के हुने हो यस्तो कानूनी विषय समावेश भएको विषयमा त्यही अनुरुप ठहर निर्णय गर्नु पर्ने सो नगरी अ.वं. ८२ नं. बमोजिम अनुमति लिएर संरक्षक भै दायर हुन आएको फिरादलाई शुरु कास्की जिल्ला अदालतले अ.वं. ८२ नं. वादी नावालकहरुले नालेश गर्न नपाउने हुंदा ईन्साफ तर्फ विचार गरि रहन परेन अ.वं. १८० नं. वमोजिम प्रस्तुत मुद्दाको नालेश खारेज हुन्छ भनि मिति ०४९।१०।१५ मा गरेको त्रुटिपुर्ण फैसला बदर गरि दिएको छ । अव प्रमाण र कानूनको सहि मुल्यांकन गरी जे जो वुझ्नु पर्छ वुझी ईन्साफ गर्नु भनि तारेखमा रहेका विपक्षीलाई तारेख तोकि मिसिल शुरु कास्की जिल्ला अदालतमा पठाई दिनु भन्ने पुनरावेदन अदालत पोखराको मिति ०५१।८।२० को फैसला ।

      ९.    यस्मा नावालकको हक मेटाइएको अवस्था छैन किनकी फिरादमा संरक्षक वन्ने व्यक्ति संरक्षक हुन हैसियत कै छ्रैन, यसमा लेनदने काम कारोवार गर्ने व्यक्ति नावालकका वावु आमा नै छन् वावु आमा स्वयंले गरेको व्यवहारमा नावालकलाई साक्षी राख्नु पर्ने कानूनी व्यवस्था छैन, यदि नावालकको सहिछाप गराइएको भए सो सहिछापलाई पुष्टि गर्न सहिछाप पनि निजै वावु आमाले गर्नु पर्ने हुन्थ्यो मामा त संरक्षक भै सहिछाप गर्न आउदैनथे मलाई जग्गा विक्री गर्दा अमित २ वर्षको र अनिल २ महिनाको देखिन्छ । त्यस्ताले के व्यवहार गर्छन र के गरी सहिछाप गराउने हो, संरक्षक वन्नेले झुठ्ठा झुठ्ठा कुरा लेखि अनेक करुण रसभरि फिरादको आकार वढाएका छन् सो अरुण रस भरिएको फिरादमा विरुद्ध वनाइएका अन्यायकर्ता भनिएका मेरा सह प्रतिवादी वावु आमा पनि फिराद भन्दा एक   स्टेप अघी वढी आफु अन्यायकर्ता हुं भनि प्रतिउत्तर पत्र दिन्छन भने यस स्थितिमा सो परिवारमा वास्तवमा वेमेलको कारणले नावालक दुवै वच्चालाई असर पार्ने गरिएको दुरासयपुर्ण लेनदेन व्यवहार हो भनि कल्पना गर्न सम्म सकिने स्थिति छैन । साहु मार्ने प्रवृत्ति सम्म हो । यदि यस्तोमा पनि नावालकको नालिस लाग्ने हो भने अंशवण्डाको १९ नं. र लेनदने व्यवहारको १० नं. मा संशोधन गर्नु पर्‍यो अन्यथा सारा व्यवहार वन्द गर्नु पर्ने भयो, सो जग्गा मेरो दाताले नावालक वादीहरु मध्ये अनिल नजन्मदैको र अमित २ वर्षको अवस्थामा आफुले गरेको आर्जन हो, मेरो दाताको पैतृक सम्पत्ति समेत होईन र घर व्यवहारकै क्रममा सो जग्गा मलाई विक्री गरि दिएका हुन । ने.का.प.०४२ अंक १ नि.नं. २२२३,११२४ मा प्रकाशित सिद्धान्तले आफ्नो आर्जन आफुखूस गर्न पाउने समेत छ । मुद्दाको वादी दावी लाग्ने स्थिति छैन, खारेजै हुने फिराद कास्की जिल्ला अदालतवाट खारेज गरिएको हो, कानून र कानूनी सिद्धान्त अनुकुल जिल्ला अदालतको फैसला बदर गर्ने पुनरावेदन अदालतलाई अधिकार छैन तसर्थ अधिकार विहीन औ अनिश्चित तवरको पुनरावेदन अदालतको फैसलावाट ईन्साफ हुनु पर्ने स्थिति       नहुंदा पु.वे.अ.पोखराको फैसला उल्टाई जिल्ला अदालतको खारेजी फैसला सदर गरी पाउं भन्ने प्रेम प्रसाद श्रेष्ठको यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।

      १०.    नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फवाट उपस्थित हुनु भएको विद्धान अधिवक्ता गणेश प्रसाद खरेलले कानूनी प्रश्नको विषयको प्रसंग र व्याख्या जुनसूकै अवस्थामा जुनसूकै निकिायमा उठ्न सक्ने र सैद्धान्तीक पक्षको कुरा हो । प्रतिवादीले कानूनका जिकिर लिएन भने दायर हुन नसक्ने मुद्दा अदालतले खारेज गर्न नसक्ने भन्न मिल्दैन, गैरकानूनी फिराद हो होईन जांच्ने अधिकार अदालतलाई छ । मैले फिराद दर्ता हुन नसक्ने गैरकानूनी फिराद खारेज गरिपाउं भनि जिकिर लिएकै छु, लेनदेन व्यवहारको १० नं. लाई उल्लेख गरेकै छु । लेनदेन व्यवहारको १० नं. अटोमेटिक तवरवाट अंशवण्डाको १९(१) लाई समातेको छ, अर्थात लेनदेन व्यवहारको १० नं. र अंशवण्डाको १९ नं. अन्योन्याश्रित छन् । जिल्ला अदालतले नावालकको मंजुरी लिन नपर्ने भनि किटानी साथ वोली सकेको छ, पुनरावेदन अदालतले अमुक कानून र कानूनी सिद्धान्तको आधारवाट त्रुटि भयो सहि व्याख्या यस्तो हो  भनि ईन्साफ गर्नु पर्नेमा सो नगरी ईन्साफ गर्नु भनि शुरु कास्की जिल्ला अदालतमा पठाएको कुरामा त्रुटिपुर्ण छ । शुरु  जिल्ला अदालतले गरेको फैसला मिलेकै हुंदा विपक्षी झिकाउने अदोश हुनु पर्दछ भनि वहस प्रस्तुत गर्नु भयो ।

      ११.    यस्मा वहस जिकीर समेत सूनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा हामीहरु समेतको हक लाग्ने पो.न.पा. वडा नं. ८ को कि.नं. ५७६१ को क्षे.फ ०-१-२-३, र कि.नं. ५७६२ को क्षे.फ.०-१-२-३, का २ कित्ता जग्गा दिने पिता डिल्लीराम र आमा राधा ढुंगाना साक्षी वसी विपक्षी प्रेम प्रसादलाई रु.१५,०००।मा विक्री गरेकोले हामीलाई अंशवाट वंचित गर्ने लिखत पारित गरेको हुनले ४ भागको २ भाग लिखत बदर गरी पाउं भन्ने फिराद दावी हुनुका साथै प्रतिवादी डिल्लीराम ले ढिकुटी खेलाएको र म समेत सो टिकुटीमा सम्मिलित भएकोमा आफ्नो पालामा पाउनु पर्ने पैसा निजले नवुझाएकोले उक्त २ कित्ता जग्गा खरिद गरी सो पैसावाट व्यवहार मिलाएकोले फिारादीहरुलाई अंशमा ठग्न र निरंशी वनाउन विक्री गरेको र मैले लिएको होईन  भन्ने प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा अ.वं.८२ नं. बमोजिम वादी नावालकहरुले नालेश गर्न नपाउने हुंदा ईन्साफ तर्फ विचार गरी रहन परेन भन्ने शुरु जिल्ला अदालतको त्रुटिपुर्ण फैसला बदर गरी प्रमाण र कानूनको सहि मुल्याकंन गरी जे जो वुझ्नु पर्छ वुझि ईन्साफ गर्नु भनि तारेखमा रहेका विपक्षीहरुलाई तारेख तोकि मिसिल शुरु कास्की जिल्ला अदालतमा पठाई दिनु भन्ने पुनरावेदन अदालत पोखराको फैसला मिले नमिलेको सोही कुराको निर्ण दिनु पर्ने देखिन आयो ।

      १२.   यस्मा लेनदने व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखूसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका संगका अंशियार सवै साक्षी वसेको वा नीजहरुले मंजुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मंजुरीको लिखत पनी नभए मंजुर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र उजुर गर्‍यो र निजको मंजुरी ठहरिएन भने निजको हक जति सो संम्पत्ति फिर्ता गसराई दिनु पर्छ भन्ने कानूनी व्यवस्था भएकोले सो व्यवस्था अनुरुप वादीहरु अंशियार भएका र एकाघरसंग वसेका कुरामा विवाद नभएकोले वादीहरु दुवै नावालक भएकाले निजहरुको मामा संरक्षक भै अ.वं. ८३ नं. वमोजिम सोह वर्ष नपुगेका नावालक समेतको हकमा एकाघरको हकवाला नभएमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फवाट नालेश दिन पाउने कानूनी प्रावधान भएकै देखिंदा यस्तो अवस्थामा ईन्साफ तहकीकात गर्नु पर्नेमा शुरुले खारेजी गरेको फैसला त्रुटिपुर्ण देखिदा सो फैसला बदर गरी प्रमाण र कानूनको सहि मुल्याकंन गरी जे जो वुझ्नु पर्छ वुझि ईन्साफ गर्नु भनि तारेखमा रहेका वादी प्रतिवादीलाई तारेख तोकी शुरु कास्की जिल्ला अदालतमा पठाउने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिंदा  पुनरावेदन  जिकीर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति संवत २०५३ साल मंसिर ४ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु