शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२१२ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ

फैसला मिति : २०७१।५।११।४

०६९-CR-०७५५

 

मुद्दा : कर्तव्य ज्यान 

 

पुनरावेदक/प्रतिवादी : जिल्ला भोजपुर, तिम्मा गाउँ विकास समिति वडा नं. १ घर भै हाल कारागार कार्यालय, सुनसरी झुम्कामा कैदमा रहेका प्रेमबहादुर गुरूङ

विरूद्ध

प्रत्यर्थी/वादी : सुरेन्द्र राईको जाहेरीले नेपाल सरकार

 

§  मृतक बोल्न नसक्ने ५ वर्षीय अपाङ्ग तथा अबोध बालक रहेका र निजले प्रतिवादीलाई केही गरे बिराएको देखिँदैन । यस्तो अबोध तथा सबैको मायाका आकाङ्क्षी बालकप्रति प्रतिवादीलाई रिस उठ्नु भनेको प्रतिवादीको निर्दयी स्वभावको द्योतक हो । समाजमा यस प्रकारका अनुत्तरदायी, क्रूर तथा हिंस्रक व्यक्तिहरूलाई धर्मको जामा पहिराउनु उचित हुँदैन । यस्ता व्यक्ति धर्मका नाममा कलङ्क हुन् । यस्ता व्यक्ति समाजको शान्ति सुरक्षाका लागि अत्यन्त खतरनाक हुने हुँदा निजहरूलाई कडा दण्डद्वारा निरूत्साही गर्न तथा यस्ता खाले अरू निर्दयी अपराधीहरूमा त्रासको सन्देश जानका लागि फौजदारी न्यायले प्रभावकारी भूमिका खेल्नु जरूरी छ । प्रस्तुत वारदात भनेको जघन्य वारदातभित्रै पर्ने देखिन्छ । आङै सिरिङ्ग हुने यस किसिमको कसुर गर्ने कसुरदारलाई रियायत दिनका लागि मुलुकी ऐन, .बं. १८८ नं. को निर्माण भएको होइन । बालक मरिसेकपछि पनि अब मर्यो ठीक भयो भन्ने सोचाइ राख्ने प्रतिवादीलाई कम सजाय हुनुपर्छ भन्ने विद्वान्‍‍ अधिवक्ताहरूको बहससँग सहमत हुन नसक्ने ।

§  मृतक अबोध बालकसँग पुनरावेदक प्रतिवादीलाई बिनाकारण रिस उठेको र विभत्स किसमले हत्या गरेको प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुने अवस्था नरहने ।

(प्रकरण नं. )

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‍‍ अधिवक्ताद्वय इन्द्र खरेल तथा बल्लभ बस्नेत

प्रत्यर्थी/वादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(), १४ नं.

§  मुलुकी ऐन, .बं. १८८ नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री अम्बरराज पौडेल

पुनरावेदन तहमा फैसला गर्नेः

            मा.न्या.श्री शम्भुबहादुर खड्का

            मा.न्या.श्री विदुर विक्रम थापा

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९() अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ ठहर यस प्रकार छ :

जिल्ला भोजपुर, तिम्मा १ स्थित पूर्वमा बिर्खबहादुर राईको घर, पश्चिममा जगबहादुर गुरूङको घर जग्गा, उत्तरमा दिङला जाने कच्ची बाटो, दक्षिणमा जगबहादुर गुरूङको जग्गा रहेको चार किल्लाभित्र पश्चिम मोहोडा भएको काठको छानो र ढुङ्गा माटोले बनेको घरको तल्लो तलाको पश्चिमपट्टिको ढोकाबाट प्रवेश गरी हेर्दा दक्षिण टाउको, उत्तर खुट्टा भै उत्तानो अवस्थामा रहेको मृतक प्रेम भन्ने अजम्बर राईको दुबै कान नाकबाट रगत निस्किएको, दाहिने कानको बीच भागमा र बाँया कानको अगाडि आखाँमुनि चोट भै रगत आएको, बाँया कानमुनि घाँटी नजिक औंलाले थिचेको रातो नीलो डाम, चल्नीमा किच्याएको डाम, पछाडि मलद्वार नजिकमा नीलो डाम भएको र मृतक लास रहेको पाँच फिट पश्चिममा रगत २ फिट लम्बाई ७ इन्च चौडाई फिंजिएको अवस्थामा पाइएको भन्ने मिति २०६८।८।५ गतेको घटनास्थल लास जाँच मुचुल्का ।

मिति २०६८ साल मार्ग ४ गतेको दिन बिहान ९.०० बजेको समयमा मेरो छोरा वर्ष ५ को प्रेम भन्ने अजम्बर राईलाई अपराधी प्रेमबहादुर गुरूङले घरबाट बोलाई यिनी अपाङ्ग, लङ्गडा बोल्न नसक्ने रहेछन्, म यी बालकलाई अपाङ्गबाट निको पारी दिन्छु भनी मलाई विश्वासमा पारी अनेक कुरा गरेपछि मैले मेरो निर्दोष बालकलाई अपराधी प्रेमबहादुर गुरूङका साथमा पठाइ दिएँ । यस्तैमा मेरो श्रीमती कुमारी राईले सो दिनको बेलुका ५ बजेको समयमा आफ्नो छोराको अवस्था के कस्तो रहेछ भनी बुझ्न जाँदा छोरा खेलिरहेको देखी खुसी भै म र अन्य हेर्न आउने मानिससमेत त्यहीं बसी रह्यौं । यस्तै अवस्थामा अपराधीले तिमीहरू सबै सैतान हौ भनी धर्मको आड लिई सबैलाई मनपरी भन्दै बसेको ठाउँबाट लखेटेपछि हामी डरले भाग्न बाध्य भयौं । त्यसपछि निज अपराधीले मेरो छोरालाई कोही नभएको अवस्था पारी रातको समयमा आफ्नो कोठामा ढोका थुनी मार्नका लागि अनेक जाल परिपञ्च गरी षड्यन्त्र रची निजले के कसरी कस्तो किसिमबाट कर्तव्य गरी मारेछन्सो कुरा म जाहेरवालालगायत घरका अरू परिवार नातागोता र शुभचिन्तक सबै बुझ्न जाँदा निज अबोध बालक हिंडडुल गर्न नसकेको मेरो कान्छो छोरा प्रेम भन्ने अजम्बर राईलाई मृतक अवस्थामा अपराधीको कोठामा भेटियो । कोठामा हेर्दा रगतको टाटो रगत पोखेको पोखरी देखियो । सोपछि अपराधीलाई मेरो छोरालाई किन मारेको भन्दा मैले मारिदिएको के गर्छौ गर तिमीहरू सबै बोक्सीका सैतान हौ भन्यो । त्यसपछि मेरो छोरालाई मारेको कुरा प्रष्ट  भएपछि सबैलाई जानकारी गराएँ । यसरी मेरो नाबालक वर्ष ५ को अबोध लङ्गडा अपाङ्ग छोरा प्रेम भन्ने अजम्बर राईलाई कर्तव्य गरी आफ्नै घरको कोठाभित्र मारेको हुँदा अपराधीलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको सुरेन्द्र राईले दिएको मिति २०६८।८।६ गतेको जाहेरी दरखास्त ।

मृतक प्रेम भन्ने अजम्बर राईको मृत्युको कारण Intra cranial haemorrhage भन्ने   व्यहोराको जिल्ला स्वास्थ्य कार्यालय, भोजपुरको मिति २०६८।८।६ को शव परीक्षण प्रतिवेदन ।

मैले क्रिश्चियन धर्म मानेको वर्ष ४ भयो, मृतक प्रेम भन्ने अजम्बर राई र मेरो घर अन्दाजी आधा घण्टा नजिक पर्दछ, निज बालक जन्मेदेखि नै बोल्न हिड्न नसक्ने अपाङ्ग अवस्थामा थियो, मैले यस भन्दा अगाडि पनि क्रिश्चियन धर्मको आड लिई प्रार्थना गरी पेट र टाउकाको रोगीहरूलाई ठीक पार्दै आएको थिएँ । हाल मृतक प्रेम भन्ने अजम्बर राईको घरमा म मिति २०६८।८।४ गते गएको थिएँ । मैले मृतकको बुबा आमासमेतलाई छोरालाई हिंड्न र बोल्न सक्ने म बनाउँछु भनी विश्वासमा पारी धेरै कुराहरू गरेपछि निजहरूले विश्वास र भ्रममा परी मलाई विश्वास गरी निज बालकलाई मैले आफ्ना साथमा लिई घरतर्फ गएँ । मैले मेरो घरमा मिति २०६८।८।४ गतेदेखि धर्म अनुसारको प्रार्थना गर्न सुरू गरेर उपचार गर्न थालेँ । घरमा रहेको घर परिवारलगायत स्थानीय मानिसहरूलाई सबै सैतान हौ भन्दै बसेको ठाउँबाट लखेटी कोही नभएको मौका पारी मैले मेरो कोठामा लगिसकेपछि उपचार गर्ने क्रममा मण्डलीमा प्रार्थना गर्न लागेँ । प्रार्थना गर्दागर्दै मलाई सुनसान वातावरण चाहियो । त्यहाँ मृतकका आमाहरूलगायत अन्य छिमेकीहरू थिए । मैले सबैलाई सैतान दूर होउन् भनेपछि डरले सबै भागेपछि मेरो कोठा मण्डलीमा बच्चा र ममात्र बसी मण्डलीमा टुकी बालेको थिएँ । मण्डली घरको दुबै ढोका बन्द गरी प्रार्थना सुरू

गरेँ । मिति २०६८।८।४ गते बेलुकी ९.०० बजेदेखि राति १.०० बजेसम्म प्रार्थना गरें । सो अवस्थासम्म प्रेम भन्ने अजम्बर राई चुपचाप बसिरहेको देखी निजलाई ठीक पार्नुपर्यो भन्दै बोल्छ हिड्छ कि भनी गालामा हिर्काएँ, त्यस पछाडि पनि केही नगरी बसेकाले निजलाई पछाडिबाट लात्ताले चाकमा हानी हुत्याईदिएँ र पनि ठीक भएन । फेरि पनि बोल्दैनस्भनी घाँटीमा समाएँ केही गर्दा पनि निको नहुने रहेछ भनी मलाई अति रिस उठेकाले दुबै खुट्टा मेरो हातले समाती फनन घुमाई भुइँमा पछारी दिएँ । घुमाउँदाको अवस्थामा मेरो मण्डली कोठाभित्र रहेको काठको खाँबोमा टाउको ठोक्किए जस्तो लाग्दथ्यो । यसै क्रममा अन्य के के गरेँ याद भएन । मिति २०६८।८।५ गते बिहान ४.०० बजेको समयमा निजको मृत्यु भएको देखेँ । अब मर्यो ठीकै भयो । यसको बाँचेर कुने अर्थ छैन भनी चुपचाप बसेँ कसैलाई बोलाइन । सोही अवस्थामा मृतकको आमालगायत अन्य मानिसहरू आएकाले म जोड तोडले भागेको हो । मेरै कर्तव्यबाट निज प्रेम भन्ने अजम्बर राईको मृत्यु भएको हो । क्रिश्चियन धर्मप्रति अन्य धर्मावलम्बीहरूको आस्था बढाउन उपचार गर्छु भन्ने देखाउन मृतकलाई म आफैँले निजको घरबाट लगेको हुँ । निज पहिलेदेखि नै अपाङ्ग, सुस्त, नबोल्ने भएको हुँदा बाँचेर कुनै अर्थ नहुने भएकाले उपचार भयो भने धर्म बढ्छ भनी प्रार्थना गर्दा मेरो दिमागमा जे आयो त्यही कार्य मैले गरेँ । मानिस मार्ने कार्य मैले गरेको हुँ, प्रार्थना गर्नु बाहेक अन्य औषधि जानेको पनि छैन । मैले कुनै उपचार गर्ने इजाजत आदेश पत्रसमेत लिएको छैन भनी प्रतिवादी प्रेमबहादुर गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६८।८।११ गते गरेको बयान कागज ।

जाहेरीमा उल्लिखित मिति समयमा म आफ्नै घरमा थिएँ । स्थानीय छिमेकीहरूको होहल्ला भएपछि थाहा पाई उक्त वारदातस्थलमा गई हेर्दा वर्ष ५ को प्रेम भन्ने अजम्बर राईलाई तिम्मा १ बस्ने जगबहादुर गुरूङको छोरा प्रेमबहादुर गुरूङले पहिलेदेखि नै नबोल्ने सुस्त र अपाङ्ग अबोध वर्ष ५ को बालकलाई निर्ममतापूर्वक कुटेको कान नाकबाट रगत बगेको, कान निमोठिएको, गाला फुलेको, घाँटीमा थिचेको डामसमेत रहेको मृतक बालकलाई मण्डली कोठामा लगी राखेको स्थान नजिकै रगतको भल बगिरहेको, मण्डली कोठाको खाँबोमा रगत लागेको समेत देखी किन यसरी यो बालकको हत्या गरेको भनी सोध्दा तपाइँहरू चुप लाग्नुहोस्‍, यो बालक अब हिंड्छ बोल्छ भनी अभियुक्त प्रेम गुरूङले बताएको, कोही कसैलाई बोल्न नदिएको निजले क्रिश्चियन धर्मको प्रार्थना गरी सबैलाई भ्रम फैलाई आफूले लिएको धर्मको विश्वास सबैलाई दिलाउन पूर्वयोजना अनुसार जबर्जस्ती बालकलाई घरबाट आफ्नो मण्डलीमा ल्याई सबै सैतानहरू दूर भई जा भनी डर त्रासमा पारी स्थानीय मानिसहरूलाई लखेटेको समेत थाहा पाएको हुँ । निजले मिति २०६८।८।४ गते बेलुकी ९.०० बजेदेखि राति १.०० बजेसम्म कोठामा लगी जे मन आयो सोही गरी अन्य धर्मावलम्बीहरूको आस्था बढाउन उपचार गर्छु भनी लगेका हुन् । निज बालकलाई पटकपटक औषधि उपचार गर्दासमेत ठीक नभएको थाहा पाई ठीक पार्छु भनी योजनाबद्ध तरिकाले निर्ममतापूर्वक अबोध बालकको कर्तव्य गरी हत्या गरेको हो । निजलाई आवश्यक कानूनी कारवाही हुनुपर्छ भनी एकै मिलान हुने गरी लेखबहादुर राईसमेतले मिति २०६८।८।१५ गते गरिदिएको घटना विवरण कागज ।

जाहेरीमा उल्लिखित मिति समयमा म वारदात भनिएको घरमा थिएँ । प्रेम भन्ने     अजम्बर राई मेरो कान्छा छोरा हुन् । निज छोराको बोली जन्मैदेखि थिएन, बामे सरेरमात्र वरपर जान्थ्यो । औषधि उपचारसमेत गर्न विभिन्न ठाउँमा लगेको तर विस्तारै ठीक हुन्छ भनेको थियो । औषधिहरू खुवाउँदै आएको थिएँ । यस्तै क्रममा तिम्मा १ बस्ने जगबहादुर गुरूङको छोरा वर्ष २२ को प्रेमबहादुर गुरूङले तपाइँहरूको बच्चालाई अहिलेसम्म ठीक भएको रहेनछ मैले कस्ता कस्ता मुटु रोगी क्यान्सरलगायतका विरामीलाई ठीक पारेको छु । मैले २/३ वर्ष अगाडि देखि क्रिश्चियन धर्म मान्दै आएको छु । यही धर्ममा विश्वास गर्नुहोस्, निज बालकलाई कतै देवी देवता अस्पताल नलैजानुहोस, म ठीक पारी हिंड्न सक्ने, बोल्न सक्ने बनाउँछु भनी मिति २०६८।८।३ गते बाइबलको किताबसमेत बोकी प्रार्थना गर्छु भन्दै गएको थियो र निजले घरबाट आफ्नो मण्डलीमा भोलिपल्ट २०६८।८।४ गते लिएर गयो । बाटोसमेतमा यो बालक हिंड्नेछ बोल्नेछ भन्दै कराउँदै लगेको हो र म निजको घरमा पुगेको थिएँ । प्रार्थना गर्दै छु मेरो प्रार्थना मण्डलीमा शान्त वातावरण चाहिन्छ कोही हल्ला नगर्नुहोस्‍, कसैले हेर्न हुँदैन, यो बालक अब चाँडै बोल्ने छ आमा भनेपछि बोल्नुहोस्भनी भ्रममा पारेको रहेछन्। निजले उक्त मण्डली कोठामा कोही कसैलाई हेर्न पस्नसमेत दिएन । निज प्रेम गुरूङले आफ्नो घरको कोठामा लगी दुबैतर्फको ढोका बन्द गरी राखेको थियो । बालक अजम्बर राईलाई निजले बालक हिंड्दैछ, कोही कसैले हल्ला नगर्नुहोस्भन्दै वरिपरिका मानिसहरूलाई लखेटेको थियो । त्यहाँ निज बालक र प्रेम गुरूङ मात्र थिए । पछि हामी फर्किएर उक्त स्थानमा आउँदा प्रेम प्रभु भनी कराइरहेको थियो । शङ्का लागि ढोका खोली हेर्दा बालक भुइँमा रक्ताम्मे भएर लडिराखेको नजिकै रगत भुइँमा बगेको, गाला सुन्निएको, घाँटी निचरेको औंलाको डाम देख्नासाथ बालक अजम्बर राईलाई मैले आफ्नो हातमा बोक्न खोज्दा यो बालकलाई नछुनुहोस्अब बोल्छ हिंड्छ भनी बोक्नसमेत दिएन । निजले प्रार्थना गर्दा खुट्टाले भुइँमा हिर्काएको आवाजसमेत सुनिन्थ्यो तर कसैलाई जान नदिएकाले के के गरी मारे हेर्न पाइएन । निजले मेरो घरमा आई छोरा अजम्बर राईलाई खोसेर लगेको हो । पछि लास हेर्दा गालामा कुटेर सुन्निएको, कान निमठेको शरीरमा चाक (मलद्वार) नजिक टेकेको जस्तो निलडामहरू देखी म हार गुहार गरी सबैलाई घटनाबारे हो हल्ला गरेर बताएको हुँ । निज प्रेमबहादुर गुरूङ त्यसपछि कता भागे थाहा भएन । पछि पक्राउ परेका हुन्, निजले जानीजानी धर्मप्रति विश्वास बढाउन जबर्जस्ती मेरो घरबाट बच्चा ल्याई आफ्नै घर कोठाको मण्डलीमा ल्याएर मारेका हुन्। निजलाई कानूनबमोजिम आवश्यक कानूनी कारवाही गरिपाउँ भनी मृतक बालकको आमा कुमारी राईले मिति २०६८।८।१५ गते गरिदिएको कागज ।

जाहेरीमा उल्लिखित मिति समयमा म आफ्नो घरमा थिएँ । स्थानीय छिमेकीहरूको हो हल्ला थाहा पाई उक्त वारदात स्थानमा गएका हौं । मृतक प्रेम भन्ने अजम्बर राई, प्रतिवादी अभियुक्त प्रेमबहादुर गुरूङसमेतलाई म राम्ररी चिन्दछु । निजहरू हाम्रा छिमेकी हुन् । हाम्रो छिमेकी सुरेन्द्र राईको छोरा वर्ष ५ को प्रेम भन्ने अजम्बर राईलाई पहिलेदेखि बोली नआउने, हिंड्न नसक्ने, सुस्त मनस्थितिको बालकलाई अभियुक्त प्रेमबहादुर गुरूङले क्रिश्चियन धर्मको प्रचार प्रसार र विश्वास बढाउन निज बालकलाई हिंड्न र बोल्न सक्ने बनाउँछु भनी निजको अभिभावकलाई झुठो आश्वासन र भ्रममा पारी जबर्जस्ती आफ्नो घर मण्डली कोठामा लगी मिति २०६८।८।४ गते राति ९.०० बजेसम्म मण्डली कोठाको दुबै ढोका बन्द गरी प्रार्थना गरेछन् । सुनसान वातावरण चाहिन्छ, यहाँ कुनै सैतानहरू नबस भनी डर त्रास पारेपछि भागेछन्सबैलाई लखेटेपछि अबोध वर्ष ५ को बालक र निज मात्र मण्डली कोठामा रहेछन् । निजले बालकलाई ढोका थुनेर राखेको, लास प्रकृति हेर्दा गालामा निजले कुटेको, गाला सुन्निएको, दुबै कान र नाकबाट रगत बगेको, घाँटीमा औंलाको नीलडाम रहेको, बालक लास रहेको ठाउँबाट बोल्छ भनी योजनाबद्व तरिकाले कर्तव्य गरी हत्या गरेको हो । उक्त घटनामा को कस्को संलग्नता छ निजलाई नै थाहा होला । गाउँ घरमा रहँदा बस्दासमेत झुट्ठा कुराहरू प्रचार प्रसार गरी हिड्ने बानी लागेको निज अभियुक्तलाई कडा कारवाही हुनुपर्दछ । आफ्नो कोठा मण्डलीमा लगी ढोका बन्द गरी निजले कसैले थाहा पाउँदैन भनी मारेका हुन् भनी रामचन्द्र राई, मनकुमार राई, खडगबहादुर राई, देवेन्द्र राउत, मनबहादुर राईसमेतले मिति २०६८।८।२५ गते गरिदिएको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी प्रेमबहादुर गुरूङले जाहेरवालाको अपाङ्ग वर्ष ५ को नाबालक छोरा प्रेम भन्ने  अजम्बर राईलाई उपचार गर्छु भन्ने बहानामा जाहेरवालासमेतलाई भ्रममा पारी आफूले मानेको क्रिश्चियन धर्मप्रति अन्य धर्मवालम्बीहरूको आस्था बढाउने दूषित उद्देश्यले मिति २०६८।८।४ गते बिहानको समयमा घरैबाट लगी सोही मितिको बेलुकी मार्ने मनसायले प्रार्थना घर (मण्डली) भित्र थुनी अन्य मानिसहरूलाई सैतानहरू भाग भनी डर त्रास धाक धम्की दिई खेदाई रातको समयमा प्रेम भन्ने अजम्बर राईलाई कोठाभित्र गालामा कुटी, कान निमोठी, पछाडि नितम्बमा लात्ताले हिर्काई, घाँटी थिची दुबै खुट्टा समाती घुमाई कोठाको खाँबोमा ठोकाई भुइँमा पछार्नेसमेतका बालकको ज्यान मार्ने गैह्रकार्य गरी उसै बखत ज्यान मारेको तथ्य पुष्टि हुन आएकाले प्रतिवादी प्रेमबहादुर गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. १३() को रीत व्यहोराबाट कर्तव्य गरेको कसुर अपराधमा ऐ. १३() नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय, भोजपुरको अभियोग माग दावी रहेको ।

मिति २०६८।८।४ गते बिहान ७:३० बजे बच्चाको ममी धनकुमारी राईले सो बच्चालाई हाम्रो परमेश्वरको प्रार्थना गर्ने कोठामा ल्याएको हो, सो कोठामा राखी प्रार्थना  गरियो । प्रार्थना गर्दा मेरो बाबा जगतबहादुर गुरूङ, आमा विष्णुमाया गुरूङ, बहिनी मिठू गुरूङ र मसमेतले प्रार्थना गरेको ठाउँमा उक्त बच्चालाई ल्याई मैले छोई बिहानको प्रार्थना मैले ८:०० बजे देखि ११:०० बजेसम्म गरेँ, सो बच्चालाई निजको ममिले मेरै साथमा छाडी घर जानुभयो बच्चालाई दिनभर खुवाउने कार्यसमेत मैले नै गरेँ । सो दिनको बेलुकी ८:०० बजेतिर बच्चाको ममिसमेत ३ जना आएका थिए । ती ३ जना र हाम्रो परिवारले खाना खायौं, खाना खाएपछि हामी सबै जना बच्चासमेत प्रार्थना गर्यौं । बच्चाको प्रार्थना गर्दा सुनसान हुनुपर्ने आज्ञा मलाई आयो र मैले यहाँ कोठामा सुनसान हुनुपर्यो बच्चा निको हुन्छ भनेपछि त्यहाँ सुनसान भयो । सो अवस्थामा बालकको ममि मैले प्रार्थना गरेकै ठाउँमा हुनुहुन्थ्यो । उहाँले  खोकिदिनुभयो । खोकेपछि मैले केही थाहा पाइन अन्धकार भयो । मैले थाहा पाउँदासम्म बच्चा ठीक थियो । म बेहोस भएपछि त्यहीं लडेछु । म बिहानको भाले बासेपछि मैले थाहा पाएँ र बच्चालाई के भयो भनी हेर्दा बच्चा मृत अवस्थामा देखें । म बेहोस भएको अवस्थामा मैले के गरेँ, बच्चाको मृत्यु के कसरी भयो बच्चालाई कर्तव्य गरी नमारेको हुनाले अभियोग माग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर गुरूङले अदालतमा गरेको बयान ।

सुरू अदालतको मिति २०६८।९।३ का आदेशानुसार पुर्पक्षको लागि थुनामा बसेका रहेछन् ।

सुरू अदालतको मिति २०६८।९।३ का आदेशानुसार वादीको साक्षीको बकपत्र भई मिसिल सामेल रहेको रहेछ ।

जाहेरवाला सुरेन्द्र राईको ५ वर्षको छोरालाई यी प्रतिवादी प्रेमबहादुर राईले निको पार्ने भनी मिति २०६८।८।४ गते आफ्नो प्रार्थना कोठामा लगी उपचारकै निहुँमा निज बालकको खुट्टामा समाई वरिपरि घुमाउँदा त्यहाँ गाडेको खाँबोमा बच्चाको टाउँको ठोकिन पुगी मृत्यु भएको हो भनी प्रतिवादीले अदालतसमेतमा स्वीकार गरी बयान गरेको, मृतकको पोष्ट मार्टम रिपोर्टमा मृत्युको कारण Intra cranial haemorrhage भनी उल्लेख भएको, जाहेरवालाले अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीले आफ्नो बोल्न नसक्ने बच्चालाई निको पार्छु भनी हामीलाई विश्वासमा पारी आफ्नो कोठामा लगी हत्या गरेको हो भनी बकी लेखाई दिएको समेत आधार प्रमाणहरूबाट हेर्दा यी प्रतिवादी प्रेमबहादुर गुरूङले अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १३() नं. विपरीतका कसुर अपराध गरेकाले निजलाई सोही नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने सुरू भोजपुर जिल्ला अदालतबाट मिति २०६९।२।३ मा भएको फैसला ।

मृतक अजम्बर राईलाई मैले उपचार गर्दा होस नपुर्याएको मात्र हो । मनसाय बनाई कर्तव्य गरी मारेको होइन । कर्तव्य गरी मारेको भन्ने अभियोग दावी रहेकोमा त्यसलाई वादी पक्षले प्रमाणित गर्न सकेको अवस्था छैन । जाहेरवाला सहित अन्य मुचुल्कामा बस्ने मानिसहरूले किटानी रूपमा बकी लेखाई दिए तापनि उनीहरू प्रस्तुत घटनाका प्रत्यक्षदर्शी होइनन् । मेरो पूजाकोठामा घटना भएको हो । पूजा कोठामा जो कोहीलाई प्रवेश नै दिइँदैन । शङ्काको भरमा कुटपीट गरी मारेको अभियोग लगाइएको छ । मृतकउपर मेरो कुनै रिसइबि पनि थिएन । निजलाई मार्नुपर्ने मेरो कुनै कारण थिएन । उपचार गर्दा केही होस नपुर्याएको कारणले निजको ज्यान गएकोमा ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहर्याएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्ने   प्रतिवादी प्रेमबहादुर राईको पुनरावेदन अदालत, धनकुटामा परेको पुनरावेदनपत्र ।

जाहेरवालाको छोरा प्रेम भन्ने अजम्बर राईलाई कर्तव्य गरी मारेको तथ्यमा साबित भै प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई लास प्रकृति मुचुल्का तथा जाहेरवालालगायत प्रहरीमा कागज गर्ने व्यक्तिहरूको बकपत्रले समर्थन गरिरहेकाले यी प्रतिवादीले अभियोग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नम्बर र १३() नं. बमोजिमको कसुर गरेको देखिन आएकाले निजलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी सुरू भोजपुर जिल्ला अदालतबाट मिति २०६९।२।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६९।५।२७ को फैसला ।

पुनरावेदन अदालत, धनकुटाले गरेको फैसलामा चित्त बुझेन । अभियोजन पक्षले मउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. को माग दावी राखी पेस भएको अभियोगपत्रमा मउपरको अभियोग पुष्टि गर्ने कुनै आधार प्रमाण पेस गर्न सकेको छैन । मैले मृतकलाई मनसाय प्रेरीत तवरले हत्या गरेको होइन, मार्नुपर्नेसम्मको कुनै पूर्व रिसइबि केही नभएको, जाहेरवाला सुरेन्द्र राईको छोरा मृतक अजम्बर राई शारीरिकरूपमा अपाङ्ग भई उपचार गर्नका लागि सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँदासमेत निको नभएकाले आफैँ पनि मृतकको मृत्यु हुनसक्ने अवस्था विद्यमान रहेको अवस्थामा म क्रिश्चियन धर्मको पुजारी भएकाले ईश्वरसँग प्रार्थना गरिदिएमा निजको स्वास्थ्यमा सुधार आउँछकि भन्ने आशाले मेरो घरमा प्रार्थना गर्ने कोठा भएकाले मृतकको आमाले निजलाई लिएर आउनुभएको र उपचारको क्रममा अजम्बर राईको मृत्यु भएको हुँदा म पुनरावेदकले मृतकलाई पूर्वनियोजितरूपमा मारेको भन्ने अनुमान गर्नु न्यायसङ्गत छैन । शङ्कारहित तवरबाट अभियोग समर्थित हुन नआएको स्थितिमा केवल अनुमानको भरमा उपचार गर्ने क्रममा भवितव्यबाट मृतकको मृत्यु भएको भन्ने कुरा स्पष्ट हुँदाहुँदै अभियोग दावीबमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गर्ने गरेको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीतसमेत हुँदा उल्टी गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमबहादुर गुरूङको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी प्रेमबहादुर गुरूङले मृतक अजम्बर राईलाई रातको समयमा गालामा कुटी कान निमोठी पछाडि नितम्बमा लात्ताले हिर्काई घाँटी थिची दुबै खुट्टा समाती घुमाई कोठाको खाँबोमा ठोकाई भुइँमा पछार्नेसमेतका बालकको ज्यान मार्ने गैह्र कामहरू गरी उसै बखत ज्यान मारेकोले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३() नं. को कसुरमा ऐ. १३() नं. बमोजिम सजाय गरिपाउँ भनी प्रतिवादी विरूद्ध दायर अभियोगपत्र पुग्ने ठहर्याई सुरू भोजपुर जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत, धनकुटाबाटसमेत सदर भएको देखिन्छ ।

मृतकलाई मार्नु पर्नेसम्मको पूर्व रिसइबि नरहेको, मृतकको उपचार सुविधा सम्पन्न  अस्पतालमा हुन नसकेकोले आफैँ पनि मृतकको मृत्यु हुन सक्ने अवस्था रहेकाले निजको स्वास्थ्यमा सुधार आउँछकि भनी उपचारको क्रममा निजको मृत्यु भएको छ । मनसायको आधारमा सजायमा घटी बढी हुने भएकाले नै मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा फरकफरक सजायको व्यवस्था गरिएको छ । ज्यान लिने इबि लाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम गर्दा केही भई मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने कानूनी व्यवस्थाविपरीत मलाई मनसाय प्रेरीत हत्याको कसुरदार ठहर्याएको फैसला त्रुटिपूर्ण छ । मृतकको टाउकोमा के कसरी चोट लागी आन्तरिक रक्तश्राव हुन गयो त्यो मलाई थाहा छैन । लास प्रकृति मुचुल्काबाट मृतकको टाउको तथा खोपडीमा चोट पटक रहेको देखिँदैन । नेकाप २०४१, नि.नं. २११४ मा एउटा काम गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएमा भवितव्य ठहर्ने भनी, . २०४४ को पृ. १०५०, नि.नं. ३२३९ मा पूर्व रिसइबि नभएको, मानिस नै मर्न सक्दछ भन्ने नसोची होस् नपुर्याई हेलचेक्रयाईं गरी लाठी ढुङ्गाले कुटपीट गरेको कारणबाट मृत्यु भएमा भवितव्य हुने भनी तथा ऐ. २०४५ को नि.नं. ३४८२ मा ज्यान लिने मनसाय इबि लाग नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसद्वारा केही भई मानिस मर्न गए भवितव्य ठहर्ने हुँदा ज्यानसम्बन्धीको महलको ६() नं. बमोजिम सजाय गरेको मनासिब भन्ने सिद्धान्त प्रतिपादन भएको ती सबैको बेवास्ता गर्दै पुनरावेदकलाई सर्वस्वसहित जन्मकैद गरेको फैसला उल्टी गरिपाउँ भन्ने पुनरावेदकको पुनरावेदन देखिन्छ । पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‍  अधिवक्ताद्वय श्री इन्द्र खरेल तथा श्री वल्लभ बस्नेतले पुनरावेदन जिकिर अनुरूप नै बहस गर्नुका साथै थपमा जति उपचार गर्दा पनि मृतकको रोग निको हुन नसकेको कारणबाट पुनरावेदकलाई अत्यधिक रिस उठी सोको परिणामस्वरूप प्रस्तुत वारदात भएकाले यसमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं.समेतको अवस्था छ । प्रस्तुत वारदातमा जघन्य हत्याको तत्त्व लेश मात्र पनि नभएकाले मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम घटी कैद गर्नुपर्ने अवस्थासमेत विद्यमान छ । यसर्थ पुनरावेदन अदालतसमेतको फैसला केही उल्टी गरी पुनरावेदकलाई कम भन्दा कम सजाय हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभएको पाइयो ।

. अब प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम प्रस्तुत वारदात भवितव्य ठहर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा पाँच वर्षको बालकलाई खुट्टामा समाती फनन घुमाउँदा खाँबोमा बालकको टाउको ठोक्किएको प्रतिवादीले बालकलाई भुइँमा पछारेको समेतको वारदात भवितव्यभित्र पर्दैन भन्ने पुनरावेदन अदालतसमेतको निष्कर्षमा यो इजलास पूर्ण सहमत छ । आफूले बालकको उपचार गर्ने सिलसिलामा असल नियतले गरेको कार्यबाट भएको मृत्युमा ज्यानसम्बन्धीको महलको १३() नं. आकर्षित नहुने भन्ने पुनरावेदकको जिकिरको हकमा असल नियत भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण प्रतिवादीले गर्ने काम हो । त्यस बाहेक प्रतिवादीको असल नियत पत्ता लगाउने अन्य कुनै साधन हुँदैन । यी प्रतिवादीले गरेको मौकाको बयानको जवाफ ७ मा २०६८।८।४ गते बेलुकी ९ बजेदेखि राति १ बजेसम्म प्रार्थना गरेँ सो अवस्थासम्म निज प्रेम भन्ने अजम्बर राई चुपचाप बसिरहेको देखी यसलाई ठीक गर्नु पर्यो, बोल्छकि हिंड्छकि भनी सर्वप्रथम गालामा हिर्काएँ । त्यसपछि पनि केही नगरी बसेकाले निजलाई पछाडिबाट लातले चाकमा हानी हुत्याई दिएँ र पनि निज ठीक भएन फेरि गई बोल्दैनस् भनी घाँटीमा समाएँ । त्यस बखत केही गर्दा पनि निको नहुने रहेछ भनी मलाई अति रिस उठेकाले निजको दुबै खुट्टामा मेरा हातले समाती उचाली फनन घुमाई भुइँमा पछारी दिएँ । घुमाउँदाको अवस्थामा मेरो मण्डली कोठाभित्र रहेको काठको खाँबोमा निजको टाउको ठोक्किए जस्तो लाग्यो, यसै क्रममा अन्य के के कार्य गरे याद भएन । मिति २०६८।८।५ गते बिहानको अन्दाजी ४ बजेको समयमा निजको मृत्यु भएको देखेँ । त्यसपश्चात् अब मर्यो ठीकै भयो भनी म चुपचाप बसेँ कोही कसैलाई बोलाइन, सोही अवस्थामा मृतकका आमालगायत अन्य मानिसहरू आएकाले मलाई हातपात गर्लान् भनी त्यहाँबाट म जोडतोडले भागेको हो भनी र सोही बयानको जवाफ १२ मा खाँबोमा ठोकिएको जस्तो लाग्यो याद गरिन त्यसपछि उफ्रिँदै आवेगमा आई निजलाई हिर्काएँ, कान निमोठेँ, घाँटीमा थिचेँ पछाडि घोप्टो पारी चाकमाथि टेकेँ । त्यो कुरा सम्म थाहा                      छ । त्यसपछि सबै कुरा याद भएन, मानिस मारी सकेपछि मात्र थाहा पाएँ भनी उल्लेख गरेको

देखिन्छ । मौकाको बयान गर्दा म सचेत थिएँ मलाई डर धाक कुटपीटसमेत केही भएन भनी अदालतमा बयान गर्दै मौकाको कागज निजको इच्छाविरूद्ध भएको भन्ने कुरालाई प्रतिवादीले प्रमाणित गर्न सकेको देखिँदैन । नियत भन्ने कुरा तत्काल पनि निर्माण हुन सक्ने अवस्था रहन्छ । प्रतिवादीको मौकाको बयानबाट आफूले यो यस्तो कार्य गरेको भन्ने कुराको प्रतिवादीलाई ज्ञान छ । त्यस प्रकारको कार्यको परिणाम यो यस्तो हुन्छ भन्ने कुरा आफूलाई थाहा थिएन भनी प्रतिवादीले भन्न सकेको छैन । बालकलाई फनन घुमाउने र खाँबोमा ठोकाउने कार्य बाहेक प्रतिवादीले बालकको घाँटी निमोठेको, चाकमा लात्ताले थिचेको, लात्तीले हिर्काएको लगायतका थुप्रै यातनाजन्य कार्यहरू गरेको देखिन्छ । ती कार्यहरू आमानुषिक र क्रूर देखिन्छन् । यी प्रतिवादी अपाङ्गसम्बन्धी उपचारका लागि योग्य रहेको कुनै प्रमाण निजबाट प्रस्तुत हुन सकेको छैन । प्रतिवादी आफैँ पनि कम शिक्षित देखिन्छन् । प्रतिवादीको यस प्रकारको उपचार र यातनाजन्य कार्यलाई क्रिश्चियन धर्मले पनि अस्वीकार गर्छ । क्रिश्चियन धर्मावलम्बीले पनि प्रतिवादीले गरेको कसुरमा निजलाई कडा सजाय हुनुपर्ने भन्ने अपेक्षा लिएको हुन्छ ।

. मृतक बोल्न नसक्ने ५ वर्षीय अपाङ्ग तथा अबोध बालक रहेका र निजले प्रतिवादीलाई केही गरे बिराएको देखिँदैन । यस्तो अबोध तथा सबैको मायाका आकाङ्क्षी बालकप्रति प्रतिवादीलाई रिस उठ्नु भनेको प्रतिवादीको निर्दयी स्वभावको द्योतक हो । समाजमा यस प्रकारका अनुत्तरदायी, क्रूर तथा हिंस्रक व्यक्तिहरूलाई धर्मको जामा पहिराउनु उचित हुँदैन । यस्ता व्यक्ति धर्मका नाममा कलङ्क हुन् । यस्ता व्यक्ति समाजको शान्ति सुरक्षाका लागि अत्यन्त खतरनाक हुने हुँदा निजहरूलाई कडा दण्डद्वारा निरूत्साही गर्न तथा यस्ता खाले अरू निर्दयी अपराधीहरूमा त्रासको सन्देश जानका लागि फौजदारी न्यायले प्रभावकारी भूमिका खेल्नु जरूरी छ । प्रस्तुत वारदात भनेको जघन्य वारदातभित्रै पर्ने

देखिन्छ । आङै सिरिङ्ग हुने यस किसिमको कसुर गर्ने कसुरदारलाई रियायत दिनका लागि मुलुकी ऐन, .बं. १८८ नं. को निर्माण भएको होइन । बालक मरिसेकपछि पनि अब मर्यो ठीक भयो भन्ने सोचाइ राख्ने प्रतिवादीलाई कम सजाय हुनुपर्छ भन्ने विद्वान्‍‍  अधिवक्ताहरूको बहससँग सहमत हुन सकिएन । मृतक अबोध बालकसँग पुनरावेदक प्रतिवादीलाई बिनाकारण रिस उठेको र विभत्स किसमले हत्या गरेको प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुने अवस्था रहँदैन ।

. यसर्थ पुनरावेदक प्रतिवादी प्रेमबहादुर गुरूङले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. विपरीतको कसुर अपराध गरेकाले निजलाई सोही नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको सुरू भोजपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०६९।५।२७ को फैसला सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।              

न्या. देवेन्द्रगोपाल श्रेष्ठ

 

इति संवत्२०७१ साल भदौ ११गते रोज ४ शुभम् ।

इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु