शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२७६ - धर्मपुत्र लिखत बदर

भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १०

निर्णय नं. ६२७६ ने.क.प.२०५३ अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

संवत् २०५१ सालको फौ.पु.नं. ......  ८३४

फैसला मितिः २०५३।६।१४।२

मुद्दाः जारी ।

 

पुनरावेदक

वादीः  वाग्लु जिल्ला, हटिया गा.वि.स. वडा नं.६ वस्ने लाल बहादुर खड्का ।

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः ऐ.ऐ.ठुलाचौर वस्ने ललित बहादुर भण्डारी ।

§  १९ वर्षिया युवक छोरा एकै घर भित्र सुति रहेको अवस्था रातको ११ वजे सोहीस्थानमा एक्ली श्रीमतीलाई अर्को परपुरुष आएर करणी गर्ने भन्ने कुरा सो प्रत्यक्षदर्शी भनिएको छोरो हर्क वहादुरले पनि यो यस किसिमवाट देखेको भन्न सकेको छैन । प्र.लिला कुमारीले प्रतिउत्तरमा ९ महिना पुगेको गर्भ छ भनेकीमा प्रतिवादीहरुले करणी लिनु दिनु गरेको देखेको भनेको मिति २०४८।३।१८ वाट पनि वादीले फिराद गर्दाको मिति सम्म पनि आफ्नो श्रीमती प्र.लिला कुमारीको गर्भ रहेको सम्वन्धमा केही उल्लेख गर्न नसकेवाट आरोपित कसुर गरेको भनि मान्नु संझन सकिने अवस्था  नदेखिने ।

(प्र.नं.१२)

§  वादीका साक्षीहरुले आरोपित कसुर करणी गर्दाको अवस्था देखिन समेत भनि वकपत्र गरेको र प्रतिवादीका साक्षीहरुले प्रतिवादी जिकिरलाई पुष्टी गर्दै प्र.लिला कुमारी यीवादीकै घरमा वसी रहेकी र वादीकै घरमा सुत्केरी समेत भएकी भनि वकपत्र समेत गरी दिएको देखिएवाट फिरादलेख खम्वीर रुपमा पुष्टि हुन सकेको पाइएन । फौज्दारी मुद्दामा प्रतिवादीको कसुर प्रमाणित गर्ने भार प्रमाण ऐन २०३१ को दफा २५ ले वादीमा भएकोमा कथित करणी गर्दै गरेको वारदात प्रत्यक्ष देख्ने भनिएका हर्क वहादुरको वयान वाहेक सोलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने अन्य सवुद प्रमाणको अभावमा जारी गरेको ठहर्‍याएको शुरु वाग्लुङ जिल्ला अदालतको इन्साफ उल्टी गरी फिराद दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको मिति २०५१।३।७।३ को फैसला मिलेकै देखिंदा सदर हुने ।         

 (प्र.नं.१२)

 

पुनरावेदक तर्फवाटः

      विद्धान अधिवक्ता श्री वद्रीप्रसाद शर्मा 

प्रत्यर्थी तर्फवाटः

अबलम्वित नजीरः

 

फैसला

      न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०५१।३।७।३ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तूत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यस प्रकार छः

      २.    विपक्ष मध्येकी लिला कुमारी खड्का विपक्ष ललित वहादुर संग करणीमा विग्री पोइल जानु पुर्व सम्म मेरी एकमात्र विवाहिता पत्नी थिइन् । विपक्ष लिला कुमारी संग मेरो सम्वन्ध २०२४ साल माघ महिनामा विवाह भै मेरो करणी विर्यबाट ३ छोराको जाय जन्म भएको छ । यसरी विवाह भै दाम्पत्य जीवन विताई रहेकोमा मेरो घरको आर्थिक अवस्था केही नाजुक भएको हुंदा वालवच्चा तथा निज लिला कुमारीलाई घरमा नै छाडी १४।१५ वर्ष अगाडी देखि भारतको पन्जावमा नोकरी गरी आएको छु । यसरी सन्तान समेत भएको घरकी हर्ताकर्ता भै व्यवहार समेत सम्हाली आएकी विपक्षी लिला कुमारीलाई ऐ.वडा नं.मा वस्ने ललित वहादुरले स्वास्नी वनाउन भित्र सन्च फकाउने विपक्षी लिला कुमारी पनि फकिने समेत गरेको रहेछन् । तर सो कुरा मलाई थाहा भएन । विपक्षीहरुले एक आपसमा करणी लिनु दिनु गर्दा रहेछन् । सो कुरा २०४८ साल आषाढ १८ गते राती अन्दाजी ११ वजेको समयमा एउटै विस्तारामा सुती करणी लिनु दिनु गरेकै अवस्थामा मेरो छोरा वर्ष १९ को हर्क वहादुर खड्काले देखि फेला पारी हार गूहार गर्दा भागी वेपत्ता भएका रहछन् । भोलीपल्ट हर्क वहादुरले इलाका प्रहरी कार्यालय गल्कोटमा उजुरी दिई गाउं घर छिमेकी समेत राखी छलफल समेत गरेका  रहेछन् । पहिला नम्वर सुनतोला ३ को गहना फिर्ता दिनु होस भनि भन्दा धनमाल फिर्ता दिने भए ल्याई खाने नै थिएनौ भनी हाक जवाफ गरेकोले मुलुकी ऐन जारीका २ नं. अनुसार दुवैजनालाई हदै सम्म सजांय गरी न्यायपाउं भन्ने समेत व्यहोराको फिराद माग दावी ।

      ३.    विपक्षीसंग मेरा संवत २०२४ साल माघमा वैदिक विधि पुर्वक विवाह भएकोले सो मिति देखि म विपक्षीसंग नै एकाघर संगमा रही वसि आएकी छु र विपक्षी र मेरो संयुक्त करणीवाट जेठो छोरा वर्ष १९ को हर्क वहादुर, माहिलो छोरा ११ को शेर वहादुर कान्छो छोरा वर्ष ४ को यम वहादुर अध्यापी मेरो एकाघर मै छन् ।  म विपक्षीको सतित्व डगाई प्र. ललित वहादुर संग भित्र सन्च करणीमा विग्रेको समेत होइन मेरो लोग्नेले पठाएको रकमले घर व्यवहार गर्नलाई धौ भएको त्यस्तो अवस्थामा मेरो छोरा हर्क वहादुरले जुवा खेल्ने गरेकोले मैले हप्काएकोले मलाई घरवाट पन्छाउन पाए घरको सवै ताला चाबी समेत लिई घरको सवै हाली माली गरुला भनी मलाई झुठ्ठा  लान्छना मात्र लगाएको हो । मैले ललित वहादुर भण्डारी संग करणी लिनु दिनु गरेको समेत छैन, केही गरेको समेत होइन । शत्रुका नहुंदा कुरा सुनी रिसइवीले झुठ्ठा नालिस गरेमा दण्ड सजायको १८ नं. अनुसार उल्टै सजाय समेत गरी न्याय पाउं भन्ने समेत व्यहोराको लिला कुमारकिो प्रतिउत्तर जिकिर ।

      ४.    जुन मिति र समयमा वादीका घरको ओछ्यानमा प्र.लिलूलाई मैले करणी गर्‍यो भनिएको छ सो दिन र समयमा म भारतको लुधिआनामा थिएं । तथाकथित वारादतमा विपक्षीको श्रीमती लिलूलाई करणी गर्ने वा करणी गर्दा गर्दै विपक्षीका छोराले देख्ने भन्ने प्रश्न सम्म पनि उठ्दैन । रिस इवी वस शत्रु साधना गर्ने उद्देश्यले झुठो नालेश गरेमा दण्ड सजायको १८ नं. वमोजिम उल्टै सजाय समेत गरि पाउं भन्ने ललित वहादुर भण्डारीको प्रतिउत्तर पत्र ।

      ५. अदालतका आदेशानुसार वादी प्रतिवादीहरुका साक्षीहरुको वकपत्र भै मिसिल सामेल रहेछ ।

      ६.    वादीको साक्षीले वादी दावालाई समर्थन वनाई वकपत्र गरेको देखियो भने प्रतिवादीका साक्षीहरुले प्रतिवादीहरुलाई सफाई दिने किसिमवाट वकपत्र गर्न सकेको पनि पाइएन । प्रस्तूत मुद्दाका चश्मदीत गवाह प्र.मध्येकी लिला कुमारीको छोरा हर्क वहादुरलेप्रतिवादी विच करणी लिनु दिनु भएकोले आफैले देखेको हुं भनी अदालतमा वकी लेखाई दिएवाट एक घरको उमेर पुगेको छोराले आफ्नै आमाको विरुद्द त्यस्तो जारी जस्तो फौज्दारी मुद्दामा वकी लेखाउनु पर्ने अन्य सवुद प्रमाणको अभावमा निजको लेखाईलाई शंका गर्नु पर्ने अवस्था विद्यमान नभएको समेत हुंदा वादी दावा वमोजिम प्रतिवादीहरुलाई जारीको २ नं. अनुसार जनही रु.१,०००। जरिवाना र १।१ महिना कैदको सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको वाग्लुङ जिल्ला अदालतको २०४९।७।१६ को  फैसला ।

      ७.    उक्त फैसलामा चित्त वुझेन । वाग्लुङ जिल्ला अदालतको त्रुटिपुर्ण फैसला बदर गरि प्रतिउत्तर जिकिर वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी ललित वहादुर भण्डारीको पुनरावेदन अदालत पोखरामा परेो पुनरावेदन पत्र ।

      ८.    यसमा यसै लगाउको दे.पु.नं. ६६० को धनमाल मुद्दामा आजै झगडीया झिकाउने आदेश भएकोले प्रस्तूत मुद्दामा पनि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ वमोजिम विपक्षीलाई झिकाई नियम वमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखराको संयुक्त इजलासको मिति २०५०।७।१६।२ को आदेश ।

      ९.    वादीको छोराले चित्रण गरेको घटनाको विवरण तथा सोको पुष्टि गर्ने वादीका साक्षीहरुको वकपत्र समेत विश्वास लायक नदेखिंदा प्रमाणको अभावमा वादी दावी पुग्न नसक्ने ठहराउनु पर्नेमा प्र.ललित वहादुरले जारी गरेको ठहराएको पुनरावेदन नगर्ने लिला कुमारीको हकमा समेत अ.वं. २०५ नं. वमोजिम शुरु वाग्लुङ जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पोखराको २०५१।३।७।३ को फैसला ।

      १०.    वादी लिला कुमारी खड्का प्रतिवादी गंगा वहादुर खड्का समेत भएको गाली वेइज्जती मुद्दाको फिरादमा विपक्षी ललित वहादुर आफ्नो घरमा आई वास वसेको भन्ने कुरा स्वीकार गरेकी र प्रत्यक्षदर्शी छोराको वयान जस्तो खम्वीर प्रमाणले करणी लिनु दिनु गरेको स्पष्ट देखिएकोमा आधार विहिन अनुमान गरी पुनरावेदन अदालत पोखरावाट भएको उक्त फैसला प्रमाण ऐन २०३१ को दफा ५४ को प्रतिवन्धात्मक व्यवस्था को आधारमा बदर गरि वादी दावी वमोजिम इन्साफ पाउं भन्ने समेत व्यहोराको लाल वहादुर खड्काको यस अदालतमा दिएको पुनरावेदन पत्र ।

      ११.    नियम वमोजिम पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तूत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदक वादी तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री वद्री प्रसाद शर्माले लाल वहादुरकै करणी विर्यवाट ९ महिनाको गर्भ छ भनि प्र.लिला कुमारीले भनेकोमा सो गर्भ के कस्को हुने हो फैसला मौन छ । प्रत्यक्षदर्शी छोरा हर्क वहादुरले गरेको वयान विश्वासलायक नभएको आधार फैसलामा छैन । ललित वहादुरले वारदात समय अन्यत्र थिए भनेको सो को प्रमाण पुर्‍याउन सकेको छैन । गाली वेइजती मुद्दामा ललित वहादुर भण्डारी आई वास वसेको भन्ने निहुंमा दोष लगाएको भन्ने फिरादमा उल्लेख गरेवाट विपक्षीहरु करणी गर्दाको अवस्था छोराले देखेको भन्ने कुरा स्थापित भएको छ तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरि वादी दावी वमोजिम ठहर हुनुपर्छ भन्ने समेतको गर्नु भएको वहस समेत सुनी  जारी गरेको ठह¬र्‍याएको शुरु फैसला उल्टी गरि वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसला मिले नमिलेको के रहेछ भनि निर्णय दिनु परेको छ ।

      १२.   निर्णयतर्फ विचार गर्दा १४।१५ वर्ष अगाडि देखि भारत पंजावमा नोकरी गर्न गएको र घरमा जेठो १९ वर्षको छोरा समेत ३ छोरा भएको विपक्षी श्रीमतीलाई विपक्षी ललित वहादुर फकाउने र फकिने गरी करणी लिनु दिनु गर्दा रहेछन । २०४८।३।१८ गते राती अं. ११ वजेको समयमा विपक्षीहरु एउटै विस्तारामा सुती करणी लिनु दिनु गर्दै गरेको अवस्था जेठो छोरा हर्क बहादुरले देखि फेला पारी हार गूहार गर्दा भागी वेपत्ता भएको प्रकाशमा आएपछि छोरा हर्क वहादुर मलाई लिन भनि भारत पंजावमा गएको हुंदा घरमाआई विपक्षीहरुको घर गई गहना फिर्ता माग्दा नदिएको र मेरी श्रीमती विपक्षीलाई स्वास्नी वनाउन लाने र जाने, करणीमा विगार्ने विग्रने गरेकाले सजाय गरी पाउं भन्ने समेत फिराद दावी भएकोमा प्रतिवादीहरु आरोपित कसुरमा पुर्णत इन्कार रहेको पाइन्छ । फिराद लेखमा २०४८।३।१८ गते प्रतिवादीहरु एकै विस्तारामा सुति करणी गर्दै गरेको अवस्था १९ वर्षिय जेठो छोराले देखेर मलाई लिन भनि भारत पंजाव गई घर आएको भनि मिति २०४८।८।४।४ मा वादीले फिराद गरेकोमा प्र.ललित वहादुर संग करणीमा विग्रेकी भनी आरोप लगाइएको वादीको श्रीमती प्र.लीला कुमारीले आफु ण्द्धड।ज्ञ।२ढ मा रजस्वला भई त्यसपछि रजस्वला नभएकी भन्दै यो वादी मिति २०४८।२।३ मा घरमा आई करिव २५ दिन वसी गएका, २०४८।४।१० मा पुन घरमा आई ४ दिन पछि माहिलो र कान्छो छोराहरुलाई लिइए गएका र त्यसपछि पनि पुनः मिति २०४८।६।२४ मा घरमा आई टिका लगाई गएका भनि प्रतिवाद गरेकोमा यी पुनरावेदकले यस अदालतमा गरेको प्रस्तुत पुनरावेदनमा सो तर्फ कुनै खण्डन सम्म गर्न सकेको पाइदैन । १९ वर्षिया युवक छोरा एकै घर भित्र सुति रहेको अवस्था रातको ११ वजे सोहीस्थानमा एक्ली श्रीमतीलाई अर्को परपुरुष आएर करणी गर्ने भन्ने कुरा सो प्रत्यक्षदर्शी भनिएको छोरो हर्क वहादुरले पनि यो यस किसिमवाट देखेको भन्न सकेको छैन । प्र.लिला कुमारीले प्रतिउत्तरमा ढ महिना पुगेको गर्भ छ भनेकीमा प्रतिवादीहरुले करणी लिनु दिनु गरेको देखेको भनेको मिति २०४८।३।१८ वाट पनि वादीले फिराद गर्दाको मिति सम्म पनि आफ्नो श्रीमती प्र.लिला कुमारीको गर्भ रहेको सम्वन्धमा केही उल्लेख गर्न नसकेवाट आरोपित कसुर गरेको भनि मान्नु संझन सकिने अवस्था देखिदैन । वादीका साक्षीहरुले आरोपित कसुर करणी गर्दाको अवस्था देखिन समेत भनि वकपत्र गरेको र प्रतिवादीका साक्षीहरुले प्रतिवादी जिकिरलाई पुष्टी गर्दै प्र.लिला कुमारी यीवादीकै घरमा वसी रहेकी र वादीकै घरमा सुत्केरी  समेत  भएकी

भनि वकपत्र समेत गरी दिएको देखिएवाट फिरादलेख खम्वीर रुपमा पुष्टि हुन सकेको पाइएन । फौज्दारी मुद्दामा प्रतिवादीको कसुर प्रमाणिात गर्ने भार प्रमाण ऐन २०३१ को दफा २५ ले वादीमा भएकोमा कथित करणी गर्दै गरेको वारदात प्रत्यक्ष देख्ने भनिएका हर्क वहादुरको वयान वाहेक सोलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने अन्य सवुदल प्रमाणको अभावमा जारी गरेको ठहर्‍याएको शुरु वाग्लुङ जिल्ला अदालतको इन्साफ उल्टी गरी फिराद दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको मिति २०५१।३।७।३ को फैसला मिलेकै देखिंदा सदर हुने  ठहर्छ ।  मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु

 

न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति संवत ०५३ साल आश्विन १४ गते रोज २ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु