निर्णय नं. १७३६ - अंश फैसला बदर

निर्णय नं. १७३६ ने.का.प. २०४० अङ्क ९
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको दे.फु.नं. ३०
फैसला भएको मिति : २०४०।९।८।६ मा
निवेदिका/वादी : नुवाकोट महादेवस्थान गा.पं.वडा नं.२ थानसिंह बस्ने खड्गकुमारी पाठक
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ मिश्री पाठकसमेत
विषय : अंश फैसला बदर
(१) अड्डामा उपस्थित भई सहिछाप गरी अड्डाबाट पास समेत गराएको बण्डापत्रको लिखतलाई ठोस सबूत प्रमाणको अभावमा अवैध लिखत घोषित गरी पास समेत भएको लिखतलाई बदर गर्न नमिल्ने ।
(प्रकरण नं. १३)
निवेदिका वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल
फैसला
प्र.न्या.नयनबहादुर खत्री
१. यस अदालतको डिभिजनबेञ्चबाट भएको फैसला उपर निवेदकले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भएअनुसार प्रस्तुत मुद्दा यस बेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको छ । यस मुद्दाको संक्षिप्त तथ्य तथा जिकिरहरू यसप्रकार छन् :
२. ससुरा गोपिदत्तका छोरामा विपक्षी जेठाज्यू पशुपतिभक्त र माहिला लक्ष्मीदेवीका पति प्रेमप्रसाद र कान्छा दुर्गाभक्त समेत ३ छोरा ४ छोरी भएकोमा छोरीहरूको विवाह भइसकेको प्रेमप्रसादको छोराछोरी नभई परलोक भइसक्नुभएको । ससुरा, बूढा ससुराको आर्जनको श्रीसम्पत्तिमा बराबर ३ बण्डा गरी १ भाग विपक्षी पशुपतिभक्त र १ भाग प्रेमप्रसादको श्रीमती लक्ष्मीदेवी १ भाग दुर्गाभक्तको गरी दुर्गाभक्तको भागबाट विपक्षी सौता मिश्री र निजको छोरा कृष्ण १ म १ म तर्फका नावालख छोरा बद्रि समेतको अंश भाग लाग्ने र सौताको छोरी र म तर्फको छोरी २ को विवाह भाग पर सार्नुपर्ने मौजुद छौं । दमुल दनुवार भन्ने तिर्जामा जनिएको थानसिं फाँटको खेतका खलाहरू र का.न.पं.वडा नं.२० अन्तर्गतको अं.२ रोपनी जग्गामा बनेको व्लक नं. १५।३५८ को घर समेत सबै अंशियारको भाग लाग्ने घर जग्गा भएको विपक्षी दुर्गाभक्त म समेत १० साल चैत्र मसान्त सम्म एकै भान्छा गरी सगोल बसी आएको रोग लागी दुर्गाभक्त ०२३ सालदेखि विक्षिप्त हुनुभएको । यसै बीच उपरोक्त घर जग्गा मध्ये नं. १६९।१६८ को घरबारी र ल.नं. ९३।१९८ को जग्गा सम्म लिखतमा चढाइन माल मार्फत ०२४।३।१८ मा पास गरेको रहेछ सो लिखतलाई पक्का गराउना खातिर विपक्षी मिश्री पाठकले पशुपति पाठक समेत उपर अंश मुद्दा र जालसाजी बण्डापत्र बदर गरिपाउँ भन्ने मुद्दा पारी ०२६।६।३१ मा फैसला समेत गराएछन सो बण्डा भनेको कागज बाहेक दपोट भनी मिश्री पाठकनीले पशुपतिभक्त समेत उपर नालेस गरी कारवाही चलाएका र पश्चिम १ नं.को जग्गामा विपक्षी पशुपतिभक्तले झुठ्ठा लुटपिटमा म समेत उपर नालिस गरेकोबाट मेरो समेत अंश मेटाउन जालसाजी र बेरीतबाट बण्डापत्र खडा गरेको प्रष्ट छ । अ.बं.२४ नं.को विपरीत सो बण्डा कानुनले मान्यता नहुने र झुठ्ठा व्यहोराको बण्डापत्र कागज खडा गरेको सो लिखत निष्कृय गरिपाउँ र उक्त कागजको सक्कलै खिची अ.बं.७८ नं.बमोजिम नामाकरण गराई पाउनुपर्छ । उपरोक्त घर जग्गा र सो बाहेक अन्य जग्गा समेत एकैमुष्ट गरी ३ भाग लगाई १ भागबाट मेरो र १ भाग नावालख छोराको हुने गरी बीच बीचमा खडा गरेको मुद्दाहरू र ०२८।६।३१ को यस अदालतबाट भएको फैसला समेत बदर गरिपाउँ भन्ने समेत मिति ०२६।६।१ को खड्गकुमारी पाठकको फिरादपत्र ।
३. वादी लेखबाट कीर्तेको संज्ञा दिई फैसला बदर, लिखत बदर, अंश दिलाई पाउँ भन्ने ४ किसिमको माग छ । अ.बं.७२(क) ले चारवटा फिराद चाहिन्छ । प्रस्तुत मामिलामा उल्लेख भएका मागहरू पनि एउटै म्याद कायम हुने छैन हुकुम प्रमांगीले कुन चाहिँ म्याद थामिएको पनि स्वीकार गराएको । दुर्गाभक्त ०२३ सालदेखि विक्षिप्त भएको भन्ने हकलाई हाल यसै अदालतमा दायर भएको दपोट मुद्दामा विपक्षीकै दाजु विष्णुबहादुर वारेस छन, विक्षिप्त भन्ने उक्त वारेसनामामा छैन । ०२४ सालमा अड्डाका रोहवरमा बण्डापत्र पास भएको हुँदा विक्षिप्त भए पञ्चायतले सिफारिस दिई पठाउने र माल अड्डाले सहिछाप गराउने स्थिति नै छैन विक्षिप्त भए ०२६ सालमा विपक्षीले छोरा कसरी जन्माइन, दावा अनुसार विपक्षीका पति विक्षिप्त होइन यी फिराद अ.बं.७३, ७९ ले खारेज हुन्छ प्रस्तुत मामलामा अंशबण्डाको ५ नं. ले लोग्नेको अंश स्वास्नी छोराले माग्न पाउने कानुनी व्यवस्था छैन । बण्डापत्रमा लेखिएका जति अंशबण्डाको बाँकीमा दुर्गाभक्तले कमाएको निजैको र म पशुपतिभक्तको आर्जनको म पशुपतिभक्तकै हुँदा विपक्षीले दावा गर्नपाउने अधिकारै नभएको म लक्ष्मीकुमारी १९९४ सालमा मानो छुट्टिई ०२४ सालमा बण्डा पास भई चित्त बुझाई बसेकी हुँ अब बण्डा लक्ष्मीकुमारीको साथ कसरी भयो । झुठ्ठा उजूर गरेमा विपक्षीलाई नै सजाय गरिपाउँ, भन्ने समेत पशुपतिभक्त पाठक, लक्ष्मीकुमारी पाठक तथा अनुकुमारी पाठक समेत जना ३ को संयुक्त प्रतिउत्तरपत्र रहेछ ।
४. वादीबमोजिम ससुरा, बूढाससुरासमेतको पालाको श्रीसम्पत्ति र एकाघरसँग बसी गरेको आर्जन समेत ३ भाग गरी सबै दुर्गाभक्तको अंशमा वादी र म समेत छोराहरूले ऐन बमोजिम बण्डा गरी खानुपर्ने थियो जेठाज्यू पशुपतिभक्तले मेरा खसमको मति विगारी परन्तु मगजै बिग्रेपछि आफ्नो पूर्व कार्यक्रम सफल पार्न जालसाजी बण्डापत्रलाई बलियो टेवा दिने खालको मसँगको मुद्दा प्रतिवादी परेको छ । अंश दपोट मुद्दा यसै अड्डामा छ अंश माना चामल मुद्दामा मानाचामल पाउने ठहरी ०२६।६।३१ मा यसै अंशबाट फैसला भएकोछ । म समेतलाई ठाडै अंशमा मारी एकलौटी अंश खाने पशुपति, नालेस दिने म समेतलाई सौताले यो भन्दा बढी गर्नु अब १ मुठी प्राण लिन बाँकी छ भन्नेसमेत मिश्री पाठकनीको प्रतिउत्तर परेकोमा वादी दावी कुनै फौजदारी कुनै देवानी भई यकीन दावी नहुँदा खारेज हुनेठहर्छ भनी ०२८।११।३० मा शुरूबाट फैसला भएउपर वादीको पुनरावेदन परेकोमा वादीबाट प्रष्टखुलाई कारवाही किनारा गर्नुभन्ने ०३०।१।६को बा.अं.अ. को फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परी सो इन्साफ मनासिव ठहराई म.क्षे.अ.बाट ०३१।४।२१ मा फैसला भई इन्साफ हुन शुरू जिल्ला अदालत पठाएको रहेछ । अ.बं.२४ नं. विपरीत होस ठेगान नभएका पति दुर्गाभक्तबाट विपक्षीहरूले ०२४।३।१८ मा नु.मालबाट पास गरी लिएको बण्डापत्र बदर गरी अंश दिलाइपाउँ भन्ने खड्गकुमारीको ०३३।१।१८को कागज रहेछ ।
५. दुर्गाभक्त, मिश्री पाठक, अनुकुमारी, उपरको दावीमा अ.बं.७२ नं. अनुरूप यसबाट इन्साफ गरी रहन नपर्ने हुनआएकोले निजहरू उपरको दावी खारेज हुन्छ । पशुपतिभक्त लक्ष्मीकुमारीतर्फको दावीमा बण्डापत्र हुँदा ०२४।३।१८ मा अड्डामा दुर्गाभक्त उपस्थित भई सहिछाप गरेको भन्ने बण्डापत्र प्रतिलिपिबाट देखिएको विक्षिप्त अवस्था भए अदालतले सहिछाप गराउने अवस्था पर्न नआउने, यिनै वादी समेत उपर प्र.पशुपतिभक्तले वाली लुटपिट गरे भनी ०२७।९।२३ मा दायर गरेको लुटपिट मुद्दामा खड्गकुमारीको प्रतिवादीमा वादी छुट्टी भिन्न भई बस्नुभएको खड्गकुमारीको जेठाज्यू हुन भनेकाले बण्डापत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । अंश दिलाई पाउँ भन्ने दावीतर्फ हालको कागजबाट दुर्गाभक्त प्रतिवादी कायम हुन नआएकाले लोग्नेबाट अंश पाउनुपर्ने हुँदा निजउपर दावी लिएबापत कानुनबमोजिम हुने कुरा वादीलाई सुनाई दिने भन्नेसमेत रसुवा तथा नुवाकोट जिल्ला अदालतको मिति ०३३।२।३१ को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा वादीको लोग्ने दुर्गाभक्तले ०२४।३।१८ मा पास भएको बण्डापत्रमा अड्डामा गई उपस्थित भई पास भएको देखिएको लुटपिट मुद्दामा बण्डापत्र सद्दे हो भनी प्रतिवाद गरेको देखिन आएकोले वादीको लोग्नेले दाजु पशुपतिभक्तबाट अंश पाइसकेको देखिनाले लोग्नेसँग अंश पाउने व्यवस्था भएकै र जेठाज्यूसँग अंशबण्डापत्र बदर गराई पाउँ भन्ने जिकिरको हकमा लोग्ने विक्षिप्त भएको सबूत प्रमाण गुज्रन नआएको लोग्नेको हकमा मात्र उजूर गरेको पनि प्रस्तुत फिरादबाट नदेखिएको हुनाले वादी दावा नपुग्ने ठहराएको समेत इन्साफ शुरूको मनासिव छ भन्ने समेत ०३४।२।२५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. अंशियार हो भनी मानेपछि अंश दिए लिएको सबूत बिना दावी खारेज गर्न कदापि मिल्ने होइन प्रमाणार्थ पेश भएको विपक्षी आपसमा मिली खडा गरे गराएको बण्डापत्र भनिएको बेरितको देखिन आउँछ भने त्यस्तो बण्डापत्रबाट अंशबण्डा भइसकेको ठहर्याउन नमिल्ने लेखिए अनुसार सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्न अनुमति मागेकी छु भन्ने समेत वादीको निवेदन डिभिजनबेञ्च समक्ष पेश हुँदा लोग्नेलाई समेत प्रतिवादी बनाई अंश पाउँ भन्ने मुद्दा परेकोमा लोग्नेतर्फ बण्डा गराई दिनुपर्ने नगरेको वादी दावी नपुग्ने ठहराएको समेत शुरूको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।२।२५ मा भएको फैसला प्रत्यक्षत कानुनी त्रुटि हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ । नियमानुसार गर्नुभन्ने मिति ०३४।११।१३ को आदेश ।
८. यसमा वादी पुनरावेदिका खड्गकुमारी पाठकको पति दुर्गाभक्त पाठक, २०२३ सालदेखि विरामी भई विक्षिप्त भएको यसै बीच घरबारी जग्गा समेत लिखतमा चढाई नु.माल मार्फत ०२४।३।१८ मा पास गरेको बण्डापत्र बदर गरी अंश दिलाई पाउँ भन्ने समेतका कुराको दावी लिएको प्रस्तुत मुद्दामा निज पुनरावेदिका वादी खडगकुमारी पाठकको पनि दुर्गाभक्त पाठक विक्षिप्त भएको भन्ने कुराको सबूत प्रमाण मिसिल संलग्न कागजातबाट गुज्रन नआएकोले सो कुराको अभावमा वादी दावी अनुसार बण्डापत्र बदर गरी अंश दिलाइने तर्फ निर्णय दिन मिल्ने देखिएन । तसर्थ वादी दावा नपुग्ने ठहराएको शुरूको सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति ०३४।२।२५ को इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखी दायर भएको मुद्दा हुँदा केही गर्न परेन नियमबमोजिम गरी मिसिल बुझाई दिनु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला ।
९. निवेदिका वादी खड्गकुमारी पाठकका तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मेरो पक्षको लोग्ने दुर्गाभक्त ०२३ सालदेखि नै विक्षिप्त हुनुभएको हो । यही विक्षिप्त भएकै अवस्थामा नै विपक्षी पशुपतिभक्तले अंशबण्डाको लिखत गरी पास गराएको र उक्त बण्डापत्रको लिखत गर्दा विक्षिप्त भाइ दुर्गाभक्तको तर्फबाट संरक्षक नराखी गरेको हुनाले सो लिखत अवैध भई बदर हुनुपर्दछ । प्रतिवादीको तर्फबाट दुर्गाभक्त विक्षिप्त होइन भन्ने कुराको प्रमाण दिनसकेको छैन । विक्षिप्त हो होइन भन्ने कुरा अदालतबाट बुझियोस भन्ने समेत बहस गर्नुभयो।
१०. विपक्षी प्रतिवादीहरू पशुपतिभक्त पाठकका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले यो वादी खड्गकुमारीले आफ्नो लोग्ने दुर्गाभक्तबाट अंश पाउने हो तसर्थ निजलाई अरू उपर अंशमा नालेस गर्ने हकदैया नै छैन । अंशबण्डाको लिखत अवैध छ भन्ने वादीको जुन भनाई छ, त्यस सम्बन्धमा मेरो पशुपतिभक्तले विपक्षी खडगकुमारी उपर दिएको लुटपिट मुद्दामा खड्गकुमारीले आफ्नो प्रतिउत्तरमा यी पशुपतिभक्त मेरो भिन्न भएको जेठाज्यू भनी लेख्नुभएको छ तसर्थ निजलाई विवन्धनको सिद्धान्त लागू हुन्छ । वादीका सौता मिश्रीदेवीले दिएको अंश दपोट मुद्दा प्रतिवादी दुर्गाभक्तको तर्फबाट यी वादी खड्गकुमारीका दाजु विष्णुबहादुरलाई वारिस बनाएकोछ र विष्णुबहादुरलाई ०२६ सालमा दिएको उक्त वारेसनामामा निज दुर्गाभक्त विक्षिप्त भएको कुराको कही पनि उल्लेख गरेको छैन भन्ने समेत बहस गर्नुभयो ।
११. वादी प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान कानुन व्यवसायीहरूले गर्नुभएको बहस समेत सुनियो यसमा डिभिजनबेञ्चबाट भएको इन्साफ ठीक बेठिक के हो सो कुराको निर्णय दिनुपरेको छ ।
१२. मेरो पति दुर्गाभक्त ०२३ सालदेखि विक्षिप्त हुनुभएको र उहाँ विक्षिप्त भएको अवस्थामा हाम्रो अंश मेटाउन जालसाजी बण्डापत्र खडा गरी मिति ०२४।३।१८ मा पास समेत गराएकोले सो बण्डापत्रको लिखत बदर गरी ३ भाग अंश लगाई १ भागबाट मेरो र १ भाग नाबालक छोराको अंश दिलाई पाउँ भन्ने वादीको दावीतर्फ विचार गर्दा निजको पति दुर्गाभक्त ०२३ सालदेखि विक्षिप्त भएको हो भन्ने कुराको वादीतर्फको विद्वान अधिवक्ताले लिएको जिकिरको समर्थनमा कुनै प्रमाण, जस्तो डाक्टरले गरी दिएको प्रमाणपत्र, अस्पतालमा औषधी उपचार गराएको कागज आदि केही पनि वादीले दिन पेश गर्नसकेको देखिन आउँदैन । यिनै वादी समेत उपर प्रतिवादी पशुपतिभक्तले लुटपिट गरे भनी ०२७।९।२७ मा दायर गरेको लुटपिट मुद्दामा प्रतिउत्तर दिँदा यिनै खड्गकुमारीले उजूरवाला पशुपतिभक्त छुट्टी भिन्न भई बस्नुभएको जेठाज्यू हुन म उनको मोही हुँ भनेकाले अघि नै अंशबण्डा भई छुट्टी सकेको प्रमाणित हुन्छ ।
१३. साथै वादी खड्गकुमारीका पति दुर्गाभक्त प्रतिवादी पशुपतिभक्त र प्रेमप्रसादकी पत्नी लक्ष्मीदेवीका बीच अंशबण्डाको लिखत मिति ०२४।३।१८ मा नुवाकोट मालबाट पास गराउँदा निज दुर्गाभक्त अड्डामा उपस्थित भई सहिछाप गरेको भन्ने बण्डापत्रको प्रतिलिपिबाट देखिन्छ । तसर्थ यसरी अड्डामा उपस्थित भई सहिछाप गरी अड्डाबाट पास समेत गराएको बण्डापत्रको लिखतलाई ठोस सबूत प्रमाणको अभावमा अवैध लिखत घोषित गरी उक्त ०२४।३।१८ मा पास समेत भएको लिखतलाई बदर गर्न मिल्ने देखिन आएन ।
१४. तसर्थ वादी दावा नपुग्ने ठहर्याई शुरू र मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ सदर ठहर्याई डिभिजनबेञ्चले मिति ०३६।८।१३।५ मा गरेको इन्साफ मनासिव ठहर्छ । प्रस्तुत मुद्दामा कोर्टफी दाखिल भइसकेकोले केही गर्न परेन । मिसिल नियमबमोजिम बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.पृथ्वीबहादुर सिंह
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल पौष ८ गते रोज ६ शुभम् ।