निर्णय नं. ६२७८ - लेनदेन

निर्णय नं. ६२७८ ने.का.प.२०५३ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
संवत २०५१ दे.पु.नं. ......... ५६५
फैसला मितिः २०५३।५।१०।२
मुद्दाः लेनदेन ।
पुनरावेदक
प्रतिवादीः का.जि.का.न.पा. वार्ड नं. ११ थापाथली स्थित श्री ५ को सरकार स्थानिय विकास मन्त्रालय अन्तर्गत आदर्श छापाखानाको तर्फवाट ऐ.का. छापाखाना प्रमुख वर्ष ४९ को हेमराज पाण्डे ।
विरुद्ध
विपक्षी
वादीः नेपाल वैंक लिमिटैड काठमाडौंको तर्फवाट अख्तियार प्राप्त ऐ.का. मुख्य प्रवन्धक योगेन्द्र राज रिजाल ।
§ एकै दिन, उहि पक्षहरुका विच एकै विषयमा भएका लिखत वमोजिमको रकम दिलाई पाउं भन्ने दावी देखिंदा अ.वं. ७२ नं. विपरित भन्न नमिल्ने ।
(प्र.नं.१२)
§ वादीले कपाली सरहको लिखत भएकोले सांवा व्याज भराई पाउं भनि दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोवारको लिखत नभई करार प्रकृतिको हो भन्ने जिकिर प्रतिवादीले लिएको देखिएन । कुनै व्यापारिक कारोवारको सम्वन्धमा लिखत भएको समेत देखिदैन । तसर्थ वादी दावी वमोजिम सांवा व्याज रकम भराई दिने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं.१२)
पुनरावेदक तर्फवाटीः
विद्धान अधिवक्ता श्री राजिवकान्त मैनाली ।
विपक्षी तर्फवाटः
अबलम्वित नजीरः
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, पाटनको मिति ०४९।१।२२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (क) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. विपक्षी श्री ५ को सरकारको स्वामित्वमा रहेको आर्दश छापाखानाले मिति ०४१।१।२५ मा निजको नाममा काटिएको राष्ट्रिय वाणिज्य वैंकको रु.१८,००,०००। र सोही मितिमा काटिएको राष्ट्रिय वाणिज्य वैंकको रु.२०,००,०००। थान दुई वैंकवाट जम्मा रु.३८,००,०००। (अठतीस लाख) वैंक नियम वमोजिम वि.पि.गरी विपक्षीवाट दुईवटा छुट्टै छुट्टै लिखत लेखाई भुक्तानी दिईयो । उक्त दुवै वैंक कलेवरानको लागि जांदा सम्वन्धित राष्ट्रिय वाणिज्य वैंकवाट मिति ०४१।१।२६ मा फिर्ता आयो । त्यस सम्वन्धमा विपक्षीसंग सांवा रु.२१ प्रतिशत व्याजसहित भुक्तानी गर्न पत्राचार गरियो । पटक पटक गरी १,१४,९७०। वुझाएको र अन्य रकम नवुझाएकोले वाध्य भएर यो फिराद दायर गरिेएको छ । विपक्षीहरुवाट सांवा रु.३८,००,०००। र १९।११।०४४ सम्मको व्याज रु.४२,८२,१०४।६० समेत जम्मा रु.७९,७७,३३३।७० र फिराद मिति देखि भरि भराउ हुने दिन सम्मको सांवाको सयकडा २५ प्रतिशतले व्याज समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको नेपाल वैंक लि.को मिति २०४४।११।२३ मा तत्कालिन अवस्थाको वागमति अंचल अदालतमा परेको फिरादपत्र ।
३. फिराद दावी वमोजिम को रु.३८,००,०००। वुझाउनु पर्ने तथ्य सत्य हो । त्यस मध्ये पटक पटक गरि रु.१,१४,९७०। वुझाई सकेको र वांकी रकम पनि तिर्दै जाने तर्फ प्रयत्नशिल रहेको भन्ने समेत व्यहोराको आर्दश छापाखानाको तर्फवाट र आफ्नो तर्फवाट समेत छापाखानाको प्रमुख वोध वहादुर राउतको मिति २०४५।४।२५ गतेको संयुक्त प्रतिउत्तर पत्र ।
४. फिराद दावी अनुसारको कारोवारमा संलग्न हुनु पर्ने कुनै कारण छैन र भएको पनि होइन । सो कारोवार फिरादी र आर्दश छापाखाना विच भएको हो । रकम नतिरेको हुनाले रकम भुक्तान गर्न आर्दश छापाखानालाई पत्राचार मात्र गरिएको हो, फिरादीलाई कुनै अन्याय गरेको छैन यसरी विना कारण विपक्षी वनाई गरेको नालेस खारेज गरी पाउं भन्ने समेत व्यहोराको पंचायत तथा स्थानिय विकाश मन्त्रालय तर्फवाट सचिव भक्त वहादुर कोइरालाको मिति ०४५।५।३०।२ को प्रतिउत्तर पत्र ।
५. यस्मा वादी प्रतिवादीहरुको विच मिति २०४४।५।२८ मा भएको सम्झौता सम्वन्धमा काठमाण्डौं जिल्ला अदालतमा मुद्दा चलि रहेको छ भनि इजलास समक्ष प्रतिवादीका कानुन व्यवसायीले व्यक्त गर्नु भएकोले सो मुद्दा काठमाण्डौं जिल्ला अदालतमा परेको छ छैन भए कुन अवस्थामा छ सम्वन्धित अदालतवाट जवाफ मगाउनका अतिरिक्त उक्त मिति ०४४।५।२८ को सक्कल सम्झौता पत्र प्रतिवादी आर्दश छापाखानावाट दाखिल गराई कानुन वमोजिम गर्नु भन्ने तत्कालिन अवस्थाको वागमति अंचल अदालतवाट मिति २०४६।२।१८।४ मा भएको आदेश वमोजिम सो सक्कल लिखत तथा का.जि.अ. को ०४६।४।१३।६ को जवाफ मिसिल संलग्न रेहेको ।
६. यस्मा आर्दश छापाखाना श्री ५ को सरकार पंचायत तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत शाखाको रुपमा रही काम गर्ने निकाय अथवा छुट्टै अस्तित्व भएको संगठीत संस्था हो । त्यस आर्दश छापाखानालाई के कति रकम ऋृण लिने र खर्च गर्ने अख्तियारी थियो त्यसको स्पष्ट जानकारी पंचायत तथा स्थानिय विकास मन्त्रालयवाट लिई नियमानुसार पेश गर्नु भन्ने वागमती अंचल अदालतवाट मिति ०४६।१।३२।४ मा भएको आदेश ।
७. साविकमा अंमल पंना भएको लागि स्थापना भएको आर्दश छापाखना श्री ५ को सरकारको मिति ०२८।४।११ को निर्णयानुसार यस मन्त्रालयको मातहतमा रहन आएकोले हाल सो छापाखाना यस मन्त्रालय अन्तर्गत रहन आएको हो । सो छापाखाना संचालनको लागि गठन आदेश हाल सम्म जारी गरिएको छैन साथै त्यस छापाखानाका प्रमुखलाई हाल सम्म कुनै प्रशासनिक तथा आर्थिक अधिकार मन्त्रालयवाट प्रत्यायोजित गरिएको नदेखिएको भन्ने स्थानिय विकास मन्त्रालयको च.नं. ४०३ मिति ०४६।८।५ को पत्र ।
८. यस्मा यिनै वादी प्रतिवादीका विच यस मुद्दामा दावी भएकै ऋृण तिर्नको लागि ०४४।५।२८ मा सम्झौता भएको देखियो । त्यसरी भएको सम्झौता कार्यान्वयन गराई पाउं भनि यस मुद्दामा प्रतिवादीले शुरु जि.अ.मा मुद्दा दायर गरेको र त्यस मुद्दामा शुरुले गरेको निर्णय उपर यस अदालतमा दे.पु.नं. २१६७ मिति ०१७।१।२० मा पुनरावेदन दायर रहेको देखियो । जुन ऋृण भराई पाउं भन्ने दावी छ त्यसै सम्वन्धमा सम्झौता गरि त्यसको कार्यान्वयन गराउन परेको मुद्दा यस मुद्दाको लगाउ होइन भन्न सकिने स्थिति देखिन आएन । यसरी संयुक्त इजलासको लगाउको मुद्दा समेत संयुक्त इजलावाट हेरिने न्याय प्रशासन सुधार ऐन, २०३१ को (संसोधन सहितको) दफा ५ को उपदफा २ को खण्ड (३) ले वाख्या गरेको देखिंदा यो मुद्दा लगाउको मुद्दा साथै राखी संयुक्त इजलाशमा नियमानुसार गरि पेश गर्नु भन्ने वा.अं.अ.वाट मिति २०४७।२।१७।२ मा भएको आदेश ।
९. लिखत वमोजिम रकम लिएको कुरालाई प्रतिवादी आर्दश छापाखानाले स्वीकार गरेको देखिंदा फिराद दावी अनुसारको सांवा र व्याज रकम वादीले प्रतिवादी आर्दश छापाखानावाट भरि पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४९।१।२२।२ को पुनरावेदन अदालत पाटनको फैसला ।
१०. विपक्षीले दायर गर्नु भएको फिराद विल्कुल हदम्याद विहिन गलत ऐन आकर्षित गरि दायर गरेको एवम् अ.वं. ७२ नं. समेतको त्रुटि भएको फिरादलाई अ.वं. १८० नं. वमोजिम खारेज गर्नु पर्नेमा नगरी इन्साफ गर्दा गलत कानुनी व्याख्या गरी स.अ.वाट प्रतिपादित नजिर सिद्धान्तको समेत विपरित हुने गरि गरेको फैसलामा नेपाल अधिराज्यको संविधानको धारा ९६(२) अ.वं. १८४,१८५ नं. प्रमाण ऐन ०३१ को दफा ५४ विपरित रहेको हुंदा शुरु फैसला उल्टी गरी झुठ्ठा वादी दावी खारेज गरी न्याय पाउं भन्ने समेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन ।
११. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदक आर्दश छापाखानाको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री राजिव कान्त मैनालीले आर्दश छापाखाना र नेपाल वैंक लिमिटेड विच २ वटा छुटृा छुटैृ लिखत भएकोमा एउटै फिराद लिएर आएको अ.वं. ७२ नं. ले मिलेको छैन वैंकसंग भएको लिखत कपाली तमसुक नभै करार भएकोले लेनदेन व्यवहारको ४० नं. को म्याद भित्र प्रस्तुत फिराद परेको छैन लेनदेन व्यवहारको २ नं. यसमा लाग्न सक्ने होइन, तसर्थ आर्दश छापाखानावाट विपक्षीले रकम भरी पाउने गरेको फैसला त्रुटिपुर्ण भएकोले बदर भै फिराद खारेज हुनु पर्दछ भनि प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा लिखत वमोजिमको रकम भराई दिने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा विपक्षीले लिखत गरी वैंकवाट लिएको रकम नवुझाएको हुंदा सांवा र सयकडा २५ प्रतिशत व्याज समेत दिलाई पाउं भनि नेपाल वैंक लि.का. फिराद दावी परेकोमा वांकी रकम तिर्दै जान प्रयन्तशिल रहेको भन्ने विपक्षी आर्दश छापाखानाको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । यसमा पुनरावेदकले कर्जा लिएको लिखत कपाली तमशुक होइन, करार हो करारमा फिराद गर्ने हदम्याद नघाइ फिराद परेकोले खारेज हुनु पर्दछ र अ.वं. ७२ नं. विपरित छुटृा छुटै लिखतको विषयमा एउटा मात्र फिराद परेको मिलेको छैन भनि वहर समेतमा जिकिर लिएको देखिन आउंदछ । एकै दिन, उहि पक्षहरुका विच एकै विषयमा भएका लिखत वमोजिमको रकम दिलाई पाउं भन्ने दावी देखिंदा अ.वं. ७२ नं. विपरित भन्न मिलेन । वादीले कपाली सरहको लिखत भएकोले सांवा व्याज भराई पाउं भनि दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोवारको लिखत नभई करार प्रकृतिको हो भन्ने जिकिर प्रतिवादीले लिएको देखिएन । कुनै व्यापारिक कारोवारको सम्वन्धमा लिखत भएको समेत देखिदैन । तसर्थ वादी दावी वमोजिम सांवा व्याज रकम भराई दिने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.इन्द्रराज पाण्डे
इति संवत २०५३ साल भाद्र १० गते रोज २ शुभम् ।