शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७३९ - बन्दीप्रत्यक्षीकरण

भाग: २५ साल: २०४० महिना: पौस अंक:

निर्णय नं. १७३९     ने.का.प. २०४० अङ्क ९

 

फुलबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको रि.फु.नं. ४१

आदेश भएको मिति  : २०४०।९।१२।३ मा

निवेदक : कारागार शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेको भागवत उपाध्याय

विरूद्ध

विपक्षी : रूपन्देही जिल्ला अदालत, भैरहवा

विषय : बन्दीप्रत्यक्षीकरण

(१)                डाँका मुद्दामा कैदबाट छुटेपछि नकवजनी चोरीको अपराध गरेको हुँदा नकजवनी चोरी मुद्दामा भएको हद कैदमा डाँका मुद्दाको कैद गाभिने स्थिति नदेखिने ।

(प्रकरण नं. १२)

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवदनको संक्षिप्त विवरण निम्नबमोजिम छ ।

२.    उपरोक्त जिल्ला अदालतले म रिट निवेदकलाई कानुनको विपरीत एकैपटकमा १६।१।२४ दिन कैद गर्ने गरी पूर्जि दिएको सोही बमोजिम जि.का.का.शा. समेतले लगत राख्ने कुराको बाध्य पर्नगएको छ । तसर्थ कारागारले आदेश पाएमा छाडिने र थुन्नेसम्म मात्र अधिकार रहेको कारणले गर्दा कारागार माथि रिट गरी रहनुपरेन । अर्थात म निवेदकको हकमा सर्वोच्च अदालत सिङलबेञ्चमा पेश हुँदा मा.न्या.श्री हेरम्बराजज्यूबाट १६।१।२४ दिन कैद नलाग्ने भएको हुँदा कैद वर्ष १० मात्र सम्म हुन्छ भन्ने आदेश भई प.क्षे.अ.मा गएको उक्त क्षे.अ.डि.बेञ्चबाट सम्बन्धित मिसिल हेरी स.अ.का आदेश र कानुनबमोजिम जो गर्नुपर्ने चाँडो गर्नु भनी आदेश भएको तर जि.अ.ले वास्ता गरेन । सो को जिकिर लिँदै म निवेदकले सम्मानित अदालतमा निवेदन गरेँ सो निवेदनपत्रमा कैफियत लिँदा सम्मानित अदालत सिङलबेञ्चले ०३७।७।२० गते भई गएको आदेशानुसार गर्नु भनी सम्बन्धित मिसिलहरू समेत रूपन्देही जि.अ.मा पठाई दिनु भनी आदेश गरेको तर रूपन्देही जिल्ला अदालतले माथिल्लो तहको अदालतले गरेको आदेशको मान्यता दिएन। सम्पूर्ण मिसिल बोधार्थ साथ ०३८।११।३ गते नै प्राप्त भएको तर अझैसम्म लगत नकाट्नुको कारण म निवेदकले बुझ्नसकिँन । सम्मानित अदालतले आदेश र ठहर गरेको कैद वर्ष भन्दा बढी भइसक्यो तर अझैसम्म लगत नकाटेकोले यो रिट निवेदनपत्र लेखी चढाएको छु म निवेदक ०२९।३।३ देखि प्रहरी हिरासतमा परेको सोही मिति देखि जोडिँदा १० वर्ष भन्दा बढी कैद हुन लागेको छ तर अझैसम्म कारागारबाट मुक्त हुन पूर्जि जिल्ला अदालतले नदिएकोले नेपालको संविधानको धारा ७१ बमोजिम बन्दीप्रत्यक्षीकरण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।

३.    विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने सिङलबेञ्चको ०३९।८।१८।६ को आदेश ।

४.    ईश्वरीप्रसाद जाहेरीले वादी श्री ५ को सरकार भएको नकवजनी चोरी मुद्दामा रूपन्देही जिल्ला अदालतको ०३२।३।८ का फैसलाले पहिला पटक १।१५ कैद र रु.३५५२।७५ जरिवाना, धनबहादुरको जाहेरीले वादी श्री ५ को सरकार भएको नकवजनी चोरी मुद्दामा ०३२।३।८ का फैसलाले दोश्रो पटक चोरी गरेको ठहरी ४।१५ कैद र रु.१६४२।५० जरिवाना गरेको, मदनलाल अग्रवालको जाहेरीले वादी श्री ५ को सरकार भएको नकवजनी चोरी मुद्दामा ऐ.ऐ का फैसलाले तेश्रो पटक ।९ कैद र ५७,३३५।६३ जरिवाना गरेको, चौयमल समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको नकवजनी चोरी मुद्दामा चौथा पटक चोरी गरेको ठहरी ऐ.ऐ फैसलाले १।६ कैद र रु.२,०७०। जरिवाना भएको प्रत्येकमा चोरीको २८ नं.ले ४।४ वर्ष जरिवाना बापतमा १६ वर्ष कैद लगाई नकवजनी चोरीमा हद कैद वर्ष १० दश कायम गरेको मुराती लोनियाइनीको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा शुरू रूपन्देही जि.अ.बाट सफाई पाई वादी पक्षको पुनरावेदन परी प.क्षे.अ.बाट ०३४।३।२० का फैसलाले ६ वर्ष कैद र रु.१५,००।८८ जरिवाना गरेको बापतमा वर्ष ४ मात्र कैद ठेकिन पर्ने २० वर्ष कैद ठेकिएको बेरीत भयो उक्त डाँका मुद्दामा शुरूमा थुनामा रहेको १।९।२ कटाई जम्मा ११।८।२ कैद कायम गरिपाउँ भन्ने भागवत उपाध्यायको निवेदन ।

५.    श्रेस्ता हेर्दा निवेदनमा उल्लेख भएअनुसार कैद वर्ष २० ठेकेको नभई नकवनजी चोरी मुद्दामा १०।१।२४ मुराती लोनियाइनीको जाहेरीले वादी श्री ५ सरकार प्रतिवादी भागवत उपाध्याय समेत भएको डाँका मुद्दामा भागवत उपाध्यायलाई प.क्षे.अ.का ०३४।५।८ का फैसलाले लागेको कैद वर्ष ६।८ जरिवाना रु.१,५१२। लागेकोमा नकवनजी चोरी तर्फ हद कैद वर्ष १० पुनरावेदन गरे बापत १।२४ समेत जम्मा कैद वर्ष १०।१।२४ प.क्षे.अ.का.फैसलाले उक्त डाँका मुद्दामा कैद वर्ष ६ समेत जम्मा कैद वर्ष १६।१।२४ कैद म्याद ठेकिएको र ०३१।५।३ को कैद कट्टीले ०४७।६।२७ तक थुनामा बसी ऐ.२८ गते छुटी जाने कैद म्याद ठेकेको व्यहोराको यस अदालतबाट कैफियत प्रतिवेदन गएकोमा फैसला पिच्छे भएको जरिवानामा सबै जम्मा गरी एकैपटक १६ वर्ष कैद लाग्ने विषय र डाँका मुद्दामा भएको जरिवाना बापत कैद ठेक्नु नपर्ने विषयमा कैद ठेक्ने काम फरक फरक परी परस्परमा बाझिन गएछ । डाँका मुद्दामा पूर्पक्ष निमित्त थुनेको थियो सो मिन्हा भयो भएन मिसिल झिकाई संशोधन गर्नुभन्ने स.अ.सिङलबेञ्चको आदेश । मिसिल हेर्दा मुराती लोनियाइनीको जाहेरीले वादी श्री ५ को सरकार प्र.भागवत उपाध्याय समेत भएको डाँका मुद्दामा ०२९।४।१ गते देखि प्रहरी हिरासतमा रही ०३०।१२।२ तक १।८।१ सम्म पूर्पक्ष निमित्त थुनामा रही ०३०।१२।२ गते अदालतबाट डाँका गरेको नठहराई सफाई पाई छुटी गएको पु.क्षे.अ.बाट ०३४।५।८ मा डाँका ठहर भई फैसला भएको देखिएकोले नकवजनी चोरी मुद्दामा चौथौं पटकको चारीको २७ नं. ले हद कैद वर्ष १० पुनरावेदन गरे बापत १।२४ समेत चोरी मुद्दामा १०।१।२४ र डाँका मुद्दामा लागेको कैद वर्ष ६ समेत जम्मा १६।१।२४ का कैद कट्टिले कैद म्याद ठेकिएको डाँका मुद्दामा पुरै ६ वर्ष कैद ठेकेको देखिनाले पूर्पक्ष निम्ति थुनामा परेको अवधी १।८।१ मिन्हा पाउनुपर्ने हुँदा ०३१।५।३ का कैद कट्टिले १६।१।२४ दिनमा १।८।१ कटाई बाँकी १४।५।२३ कैद हुने देखिएको ०३१।५।३ का कैद कट्टीले ०४५।१०।२६ गते सम्म थुनामा सही ऐ.२७ गते छुटी जाने हुँदा श्रेस्ता मिलाई पठाई दिनु भन्ने यस अदालतबाट ०३९।९।११ मा आदेश भई सो बमोजिम कैदी पूर्जि गएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने रूपन्देही जि.अ.को लिखितजवाफ ।

६.    निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा निवेदकलाई डाँका मुद्दामा र नकवजनी मुद्दामा कारवाही भई फैसला भएको छ । डाँका मुद्दामा २९।४।१ देखि ०३०।१२।२ सम्म १।८।१ दिन थुनामा परेको छ । डाँका मुद्दामा शुरूले सफाई दिइएको हुँदा ०३०।१२।२ मा छुटेको पनि देखिन्छ । पछि गएर डाँका मुद्दामा ०३४।३।२० मा फैसला हुँदा क्षेत्रीय अदालतबाट डाँका ठहर्‍याई फैसला गरेको हुँदा ६ वर्षको सजाय हुने भयो उक्त नकजवजी मुद्दामा १० वर्षको कैद हुने भएकोेले अब द.स. को ४१ नं.बमोजिम ठूलो कसूरमा सानो कसूर गाभिनगएकोले ६ वर्षको डाँका सजाय नकवजनीको १० वर्षको सजायमा विलिन हुनेभयो । यसरी निवेदकले जम्मा १०।१।२४ दिनको सजाय पाउनेमा ०३१।५।३ देखि थुनामा परेको हुँदा सो मितिदेखि निवेदकको कैद भुक्तान हुने भएकोले ०४१ सालमा मात्र कैद भुक्तान गर्ने देखिन्छ । अतः निवेदन खारेज गर्नुपर्ने सहयोगी मा.न्या.ज्यूले डाँका मुद्दामा थुनामा बसेको १।८।१ दिन पनि निवेदककै पक्षमा हिसाव गरिनुपर्छ भन्ने राय गर्नुभएकोले राय नमिलेको हुँदा फुलबेञ्चमा पेश गर्नुभन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको राय ।

७.    दुई बेग्लाबेग्लै अभियोगमा सजाय पाएको व्यक्ति दुबै सजायको भागी हुन्छ तसर्थ द.स. को ४१ नं.बमोजिम भए पनि डाँका मुद्दामा समेत सजाय भोगी रहेको मान्नुपर्ने हुन्छ । पूर्पक्षको निमित्त थुनामा बसेपछि तल्लो तहबाट सफाई पाई माथिल्लो तहले सजाय दिने निर्णय गर्छ भने पनि निज थुनामा बसेको अवधिको गणना नगर्नु चित्तबुझ्दो हुँदैन । विशेष गरी लगातार थुनामा बसेको भएमात्र उक्त सुविधा पाउने भन्नु पटके र लगातार थुनाको स्थितिमा अनावश्यक विभेद गर्नु हुनआउँछ आखिर थुना वा कैदमा बस्नु भनेको स्वतन्त्र रूपमा हिँडडुल गर्ने व्यक्ति विशेषको इच्छामा अवरोध हो नागरिकले पाएको संवैधानिक प्रत्याभूतिको उल्लघंन हो । लगातार थुनामा बस्नेले जेलमुक्ति पाउने स्थिति छ भने पटकपटक थुनामा बस्नेको पनि उही स्थिति हुन्छ । कानुनी परिणाम एउटै हुन्छ । अतः मिति ०२९।४।१ देखि ०३०।१२।२ सम्म पूर्पक्षको लागि थुनामा बसेको अवधिको हिसाब गर्दा निवेदकले डाँका र रहजनीको यस मुद्दाहरूमा कैद बस्नुपर्ने अवधि दं.स. को ४१ नं.बमोजिम ०३९।१।२६ मा भुक्तान हुने देखिएकोले निजले कैदमुक्ति पाउने हुन्छ भन्ने समेत मा.न्या.श्री हरगोविन्द सिंह प्रधानको राय भई निर्णय भएको रहेछ ।

८.    नियमबमोजिम दैनिक पेश सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक भागवत उपाध्याय तर्फका विद्वान अधिवक्ता श्री केदारचरण रायले मेरो पक्षलाई दण्डसजायको ४१ नं.को विपरीत बढी कैद ठेकी गैरकानुनी रूपले बन्दी बनाएको हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी भई थुनाबाट मुक्त हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

९.    मिति २०४०।८।२३ मा यसबेञ्च समक्ष पेश हुँदा सम्माननीय प्रधान न्यायाधीशज्यू तथा माननीय न्यायाधीशबाट मैतक्य हुन नसकी पेश हुनआएको रहेछ ।

१०.    यसमा निर्णयतर्फ हेर्दा मुलुकी ऐन, दण्डसजायको ४१ नं.मा एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सवभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ । त्यसरी कैद ठेकिएकोमा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नुपर्ने भयो र अघि ठेकिएको जम्मा कैद भन्दा पछि ठेक्नुपर्ने कलमको हद बढी छ भने अघि कैद ठेक्दा थुनामा परेको मिति देखि पछि ठेकिएको कलमको हद ननाघ्ने गरी कैद ठेक्नु पर्छ । अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको हद घटी रहेछ भने थप कैद ठेक्नु पर्दैन । फैसला कैदी पूर्जि, कैद ठेक्ने कितावमा सम्म खुलाई दिनुपर्छ र पछि ठेकिने कलमको हद घटी भए पनि अघि कैद गर्दा ठूलो कलमको हद नपुगेको रहेछ भने सो नपुग दिनसम्म पछिल्लो कलममा कैद गर्नुपर्छ । धेरै कलमको कैदको हद बराबर हुनआयो भने सो मध्ये एक कलमको कैद ठेक्नु पर्छ । अरू कलमका हकमा फैसला कैदी पूर्जि, कैद ठेक्ने किताबमा सम्म खुलाउनु पर्छ तर फैसला भइसकेपछि कैद नबस्दै वा थुनामा बसेको अवस्थामा वा थुनाबाट छुटेको वा भागेको अवस्थामा अर्को कसूर गरेकोमा सो कसूर बापत कानुनबमोजिम थप कैद ठेक्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।

११.    मुराती लोनियाइनीको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा निवेदक भागवत उपाध्याय २०२९ साल श्रावण १ गते देखि पुर्पक्षका निमित्त थुनामा रहेकोमा २०३० साल चैत्र २ गते रूपन्देही जिल्ला अदालतबाट निजले डाँका गरेको नठहरी सफाई पाई सोही २०३०।१२।२ गतेको मिति देखि निज भागवत उपाध्याय थुनाबाट मुक्त भएको देखिन्छ । उक्त मुद्दामा थुनाबाट मुक्त भएपछि निज भागवत उपाध्यायले २०३१ साल श्रावण ३ गते, ५ गते, ३१ गते तथा ३२ गते नकवजनी चोरीको वारदात गरेको देखिन्छ । निज भागवत उपाध्यायलाई नकवजनी चोरीमा चोरी गरेको ठहरी रूपन्देही जिल्ला अदालतको ०३२।३।८ को फैसलाले इश्वरीप्रसादको जाहेरीले वादी श्री ५ को सरकार भएको मुद्दामा पहिलोपटक एकमहीना पन्ध्रदिन कैद र ३५५२।७५ जरिवाना, धनबहादुरको जाहेरीले वादी श्री ५ को सरकार भएको मुद्दामा दोस्रोपटक चारमहीना पन्ध्रदिन कैद र रु.१६४२।५० जरिवाना, मदनलाल अग्रवालको जाहेरीले वादी श्री ५ को सरकार भएको मुद्दामा तेश्रोपटक नौमहीना कैद र रु.५७,३३५।६३ जरिवाना चौंथो कमलप्रसादको जाहेरीले वादी श्री ५ को सरकार भएको मुद्दामा चौंथोपटक एकवर्ष ६ महीना कैद र रु.२०७०। जरिवाना गरेको देखिन्छ । जरिवाना प्रत्येकमा रु.१५००। भन्दा बढी देखिएकोले चोरीको २८ नं.बमोजिम चार चार वर्षको दरले १६ वर्ष कैद हुनेमा चोरीको २७ नं. ले नकवजनी चोरी मुद्दामा हदकैद वर्ष दश र पुनरावेदन गरे बापत अ.बं.२०३ नं. ले हुने कैद एकमहीना चौविस दिन समेत कैद कायम गरेको देखिन्छ । मुराती लोनियाइनीको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३४।५।८ को फैसलाले प्र.भागवत उपाध्यायले डाँका गरेको ठहरी ६ वर्ष कैद हुने ठहर भएको देखिन्छ र निवेदक भागवत उपाध्यायको निवेदन बमोजिम डाँका मुद्दामा पूर्पक्षको निमित्त थुनामा परेको अवधि २०३९।४।१। देखि ०३०।१२।२। सम्म एकवर्ष आठमहीना एकदिन कटाउँदा डाँका नकवजनीमा जम्मा हुने कैद १६।१।२४ मा बाँकी कैद १४।५।२३ दिन कैद कायम भई सोही बमोजिम कैद लगत कायम भएको पाइन्छ ।

१२.   अब निवेदकको जिकिर बमोजिम दण्डसजायको ४१ नं.बमोजिम नकवजनी चोरी मुद्दामा भएको ठूलो हद कैद १०।१।२४ दिनमा डाँका मुद्दामा भएको कैद ६ वर्ष गाभिने हो कि भन्नलाई उक्त ४१ नं.मा फैसला भइसकेपछि कैद नबस्दै वा थुनामा बसेको अवस्था वा कैदबाट छुटेको वा भागेको अवस्था अर्को कसूर गरेकोमा सो कसूर बापत कानुनबमोजिम थप कैद ठेक्नु पर्छ भन्ने लेखिएको पाइन्छ । निवेदक भागवत उपाध्यायले डाँका मुद्दामा कैदबाट छुटेपछि नकवजनी चोरीको अपराध गरेको देखिएको हुँदा नकवजनी चोरी मुद्दामा भएको हद कैदमा डाँका मुद्दाको कैद गाभिने स्थिति देखिएन ।

१३.   अतः नकवजनी चोरी मुद्दामा थुनामा बसेको मिति २०३१।५।४ का कैद कट्टीले प्र.भागवत उपाध्यायलाई हुने कैद वर्ष १६।१।२४ मा डाँका मुद्दामा पुर्पक्षको निमित्त थुनामा परेको अवधि १।८।१ कटाई बाँकी रहने कैद १४।५।२३ दिन कैद कायम भएकोले सो बमोजिम गर्दा निजलाई २०४५।१०।२६ सम्म कैद हुने देखिएको र सो बमोजिम कैद लगत कायम भएको समेत देखिएकोले निवेदकको माग बमोजिमको बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज गर्ने गरेको सम्म सम्माननीय प्रधान न्यायाधीशज्यूको राय मनासिव ठहर्छ ।

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.बासुदेव शर्मा

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४० साल पौष १२ गते रोज ३ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु