निर्णय नं. १७४० - कर्तव्य ज्यान

निर्णय नं. १७४० ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३९ सालको फौ.सा.नं. ९५
फैसला भएको मिति : २०४०।९।५।३ मा
वादी : जितबहादुर थारुको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
प्रतिवादी : जि.दाङ घर्ना गा.पं.वा.नं. ७ नैनवार बस्ने ठाकूरप्रसाद डाँगी क्षेत्री
मुद्दा : कर्तव्य ज्यान
(१) मृतकसँग प्रतिवादीको कुनै किसिमको रिसइवी भएको मिसिल प्रमाणबाट देखिँदैन । शंकाको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने ।
(प्रकरण नं. १७)
फैसला
प्र.न्या.नयनबहादुर खत्री
१. साधक निकाशाको निम्ति तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट जाहेर भई आएको मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. दाङ नैनवार बस्ने नाम नजानेको डाँगी क्षेत्रीले नमालुम के को इवीले हो ०३४।५।१३ गते राति मेरो बाबु मनपति थारु आफ्नो घरमा सुतिरहेको अवस्था रातको अं.२ बजेतिर सुतेको ठाउँमा गई खुकुरीले काटेछन् बिहान ४।३० बजे बाबु मनपतिको मृत्यु भयो कर्तव्य गरी मेरो बाबुलाई मारेमा कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत जितबहादुर थारुको ०३४।५।१५ को जाहेरी दरखास्त ।
३. सिताराम समेतले गरी दिएको ०३४।५।१७ गते सरजमीन मुचुल्का ।
४. डाँगीले मार्यो भनी ०३४।५।१३ गतेको राति अं.१।२ बजे तिर चिच्याउँदै आई बाहिर मेरो आँगनमा पछारिएको सुनी बाहिर आई हेर्दा मनमति रहेछ घाउ चोट लागेको थियो भन्ने राधिका भण्डारी र १।२ बजे राति स्वास्नी राधिका कराएको सुनी आउँदा आँगनमा अँ अँ गरी बस्ने पछारिने गरेको मनपतिलाई देखी सोधपुछ गर्दा राम्रोसँग बोली बुझिएन स्वास्नीसँग सोद्धा डाँगीले मार्यो भनी आई पछारिएको हो भन्थी भन्नेसमेत बुबर्सिङ भण्डारीको कागज ।
५. ठाकुरप्रसाद डाँगीले नै मनपतिलाई खुकुरीले काटी मारेको हुनुपर्छ भन्ने समेत पं.स. चित्रबहादुर समेतले गरी दिएको ०३४।५।१९ को सरजमीन मुचुल्का ।
६. ०३३ साल कार्तिक देखि नमालुम के भई ठाकुरप्रसादको मगज विग्रेको हो भन्ने समेत निजको एकाघरकी आमा र श्रीमतीले गरी दिएको संयुक्त दर्खास्त ।
७. मैले मनपतिलाई चिनेको छैन र मैले मारेको पनि होइन भन्ने समेत ठाकुरप्रसादको प्रहरीमा भएको इन्कारी बयान ।
८. मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायको माग दावी भएको प्रहरी प्रतिवेदन ।
९. मैले मर्ने मनपतिलाई कर्तव्य गरी खुकुरीले हानी काटी मारेको छैन म माथिको अभियोग झुठ्ठा हो । राधिका र सरजमीनका मानिसले म माथि किन शंका गरी पोल गरेको हो मलाई थाहा छैन ०३४।५।१३ गते दिन रात आफ्नै घर गाउँमा छु भन्ने समेत व्यहोराको ठाकुरप्रसाद डाँगीको अदालतमा भएको बयान ।
१०. ठाकुरप्रसादलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने भन्ने समेत शुरू दाङ देउखुरी जिल्ला अदालतको फैसला ।
११. उक्त निर्णयमा चित्त बुझेन भन्ने समेत ठाकुरप्रसाद डाँगीको तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१२. शुरू फैसला मिलेको देखिएन अतः अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाउने भन्ने तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको आदेश ।
१३. शंका लाग्छ विश्वास लाग्छ भन्ने जस्तो शंकास्पद कुराहरूको आधारमा कसैलाई कसूरदार ठहराउन मिल्दैन कसूर गरेमा प्रतिवादी प्रहरी तथा अदालतमा इन्कार छन् । वादी पक्षबाट कसूर प्रमाणित छैन तसर्थ ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजाय गरेको शुरू इन्साफ उल्टी हुने र प्र.ठाकुरप्रसाद डाँगीले सफाई पाउने ठहर्छ भन्ने समेत तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३८।६।४ को फैसला ।
१४. सु.प.क्षे.अ.ले सु.प.क्षे.स.अ.को कार्यालयलाई ०३८।१०।९।६ मा पुनरावेदनको म्याद पठाएको उक्त कार्यालयले बुझेको निस्सा मिसिल सामेल रहेको देखिन्न कुन मितिमा बुझेको हो जवाफ लिई त्यसको निस्सा सामेल राखी पेश गर्नुभन्ने यस अदालत डिभिजनबेञ्चको ०४०।२।४ को आदेश ।
१५. मूल चलानी नं. ४०४० को पत्र साथ श्री म.प.क्षे.स.अ.का नेपालगञ्जले मिति ०३८।११।१ मा पुनरावेदनको म्याद बुझी लिएको कार्यालयको भर्पाई कापीबाट देखिएको भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको पत्र ।
१६. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी अ.बं.१८६ नं.बमोजिम साधक निकासाको निम्ति पेश हुनआएको प्रस्तुत मुद्दामा तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के हो निर्णय दिनुपर्ने हुनआयो ।
१७. यसमा मृतक मनपति थारुको छोरा जितबहादुर थारुले मिति ०३४।५।१५।४ मा दिएको जाहेरी दरखास्तमा नाम नजानेको डाँगी भन्ने डाँगी क्षेत्रीले कुन रिसले बाबु सुतेको ठाउँमा गई खुकुरीले काटेको कुरा कुवार्सिङ भण्डारीले भनेबाट थाहापाएको भन्ने उल्लेख गरेको पाइन्छ, जाहेरीमा उल्लेख भएको डाँगी भन्ने व्यक्ति यही ठाकुरप्रसाद डाँगी क्षेत्री हो भन्ने कतैबाट खुल्दैन। मृतक मनपतिलाई खुकुरी प्रहार भएको बखतमा कसैले देखेको मिसिलबाट देखिँदैन, आफ्नो आँगनमा आई पछारिने मनपति थारुले डाँगीले मार्यो भनी प्रहरी समक्ष कागज गर्ने राधिका भण्डारीले अदालतमा बयान गर्दा मैले भनेको डाँगी भन्ने व्यक्ति यही ठाकुरप्रसाद रहेछ भन्नेसमेत उल्लेख गरेकोबाट राधिका स्वयम्ले प्र.ठाकुरप्रसाद डाँगीलाई चिनेको देखिँदैन । निज राधिका भण्डारीको लोग्ने कुवर्सिङ भण्डारीले डाँगी भनेको ठाकुरप्रसाद डाँगी हो भनेबाट प्र.ठाकुरप्रसाद उपर सरजमीनका मानिसहरूले शंका गरेको देखिन्छ । अर्को कुरा मनपति डाँगीले मार्यो भनेको आवाज कुवर्सिङ भण्डारी आफैंले सुनेको नभई राधिका भण्डारीले भनेबाट थाहापाएको देखिन्छ । निज बाहिर आँगनमा आउँदा मृतक मनपति बोल्न नसक्ने स्थितिमा भएको भन्ने निज कुवर्सिङको भनाई देखिन्छ । मृतक मनपतिलाई कर्तव्य गरी मारेमा प्र.ठाकुरप्रसाद प्रहरी तथा अदालतमा समेत इन्कार रही बयान गरेको पाइन्छ । मृतकसँग प्रतिवादीको कुनै किसिमको रिसइवी भएको मिसिल प्रमाणबाट देखिँदैन, शंकाको भरमा प्र.ठाकुरप्रसादलाई ज्यान जस्तो अपराधमा कसूरदार ठहराउन मिल्ने देखिँदैन ।
१८. अतः उपर्युक्त कारणहरूबाट प्र.ठाकुरप्रसाद डाँगीलाई वादी दावीबाट सफाई दिई साधक जाहेर गरेको उक्त तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४० साल पौष ५ गते रोज ३ शुभम् ।