शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७४१ - ज्यान

भाग: २५ साल: २०४० महिना: पौस अंक:

निर्णय नं. १७४१     ने.का.प. २०४० अङ्क ९

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् ०४० सालको फौ.सा.नं. १००

फैसला भएको मिति  : २०४०।९।५।३ मा

वादी : नारायण गिरीका जाहेरीले श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : दाङ देउखुरी लाल मटीया गा.पं.वा.नं. ९ मझनीगढ बस्ने रामबहादुर गिरी

मुद्दा : ज्यान

(१)                आफ्नो निर्दोषिताको कुनै किसिमको सबूत प्रमाण दाखिल हुनआएको नदेखिएबाट कर्तव्यवाला रहेनछ भन्न नमिल्ने ।

 (प्रकरण नं. १२)

फैसला

प्र.न्या.नयनबहादुर खत्री

१.     साधक निकासाको निम्ति पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।

२.    मेरो सासू नाता पर्ने र निजको लठेब्रो छोरा मात्र घर भएको अवस्थामा ०३६।८।२० को साँझ लठेब्रो छोरा दलानमा र निजकी आमा घर भित्र सुतेकोमा निजको घरमा आगो लागेको अलि टाढाबाट देखी दगुर्दै जाँदा छानोमा आगो लागिसकेको र रामबहादुर बस्नेत समेत भई आगो बुताउन नसकी बसेको निज लठेब्रो केटोलाई आमा कहाँ हुनुहुन्छ भनी सोद्धा साँझ सुत्न भित्र गएकी हुन् भनेपछि कठवारको भित्ता फोडी बोलाउँदा नबोलेकीले निजलाई उचाली बाहिर ल्याई हेर्दा मुख र गालामा रगतसम्म देखी चोट लागेको र हमेला र ढुंग्री समेत नभएकोले नमालुम कसले आगो लगाई ढेँवा नाम गरेकीलाई मारेको हो वा कसरी निजको मृत्यु भएको हो कारवाही गरिपाउँ भन्ने समेत नारायण गिरीको जाहेरी दरखास्त ।

३.    नाकबाट खुन बगी नाकमा लगाएको लाहुरे फुली र साधा मुन्द्री बुलाकी खुनले भिजी नाकमा रहेको कपालको बायाँपट्टि कान देखि एक इन्च माथि दुई इन्च लम्बा एक इन्च गहिराई पौने इन्च चौडा हतियारको घाउ देखिएको खुन बगेको, त्यसको डेढ इन्च माथि आधा इन्च गहिरो आधा इन्च लम्बा पौने इन्च चौडा हतियारबाट काटेको घाउ भएको भन्ने लासप्रकृति मुचुल्का ।

४.    ठगु गिरीको कान्छी स्वास्नीले घरमा आगो लगाएको शंका लाग्दैन के किसिम र परिबन्दबाट हानी मारे सो र निजका साथमा अरू को को मतियार थिए भन्न सक्दैनौ भन्न समेत रनु गिरी तुकुमान गिरीसमेतका मानिसहरू भई भएको सरजमीन मुचुल्का ।

५.    ढेंवाको घरमा गई चोरी गरौ भन्ने विचार गर्दा ढेंवाको घरनिर जाँदा ढेंवाले पिनी रहेको जातोको आवाज सुने अँध्यारो भइसकेको थियो सो घर माथि बसे । जाँतो पिनेको आवाज बन्द भइसकेपछि अं. ११ बजेको समयमा घरको गारो भत्काई माथि तलाको कोठामा गएँ विँड भएको लोहाको गैची भेट्टाए । लिस्नोबाट तलामा झरी लाइटर जलाई हेर्दा छिंडी तलामा सुती रहेको ढेंवालाई देब्रे हातले घाँटी दबाई दाहिने हातले मैले लगेको गैचीले हानेको हुँ पहिला हान्दा अ‍ैया भनी कराइन र नाक मुखबाट रगत निस्के जस्तो लागेथ्यो पछि कराइनन् निजले लगाएको ढुंग्री चाँदीको हमेल, निकाली गएकै बाटो माथि तलामा गई लाइटर पारी छानोमा आगो लगाएर काठको हलो निकाली घरबाट निस्की गएको भन्ने समेत व्यहोराको रामबहादुर गिरीको प्रहरीमा भएको बयान ।

६.    रामबहादुर गिरी उपर ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजाय हुन पेश गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन ।

७.    मर्ने ढेंवाले पटाहामा जाँतो पिनी रहेको र निजको लठेब्रो छोरा पनि आमाकै साथमा जाँतो पिनी रहेको देखे घरको दक्षिणपट्टि जङलमा गई बसे । जाँतो पिस्न छाडेको थाहा भएपछि अब सुती होलिन भनी जङलबाट हिँडी निजको घरमा जाँदा लठेब्रो छोरा पूर्वपट्टि सुती निदाएको देखे दक्षिणपट्टि म गएँ र काठको बारमा माटोले पोतेको भित्तामा एकाएक लात्ताले हानेपछि बार भत्कियो सोही प्वालबाट माथिल्लो तलामा गएँ हातले छाम्दा एउटा गैची फैला पारे सो गैची लिई तल्लो तलामा झारे लाइटर बाली हेर्दा ढेंवा मस्त निद्रामा परेको देख्नासाथ देब्रे हातले मर्ने ढेंवाको घाँटी च्यापेर दाहिने हातमा भएको गैचीले टाउकोमा हानी मारी सकेपछि निजले लगाएको ढुग्री र हमेल माला लिई माथिल्लो तलामा गई मेरो साथमा भएको लाइटर बाली घरमा आगो लगाई आएको हुँ भन्ने समेत व्यहोराको रामबहादुर गिरीको अदालतमा भएको बयान ।

८.    अ.रामबहादुर गिरीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहर्छ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको फैसला ।

९.    अभियुक्त स्वयम्ले प्रहरी तथा अदालतमा गरेको साविती अन्य ठोस सबूत प्रमाणसमेतबाट समर्थित हुनआएकोले मृतक ढेंवालाई अभियुक्त रामबहादुर गिरीले कर्तव्य गरी मारेको ठहर्छ भनी गरेको शुरू इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।८।२९।३ को फैसला ।

१०.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी अ.बं.१८६ नं.बमोजिम साधक निकासाको निम्ति जाहेर भई पेश हुनआएको प्रस्तुत मुद्दामा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के हो निर्णय दिनुपर्ने हुनआएको छ ।

११.    यसमा निर्णयतर्फ हर्दा मृतक ढेंवाको टाउकोमा चोट पनि लागेको, हमेल र ढुग्री नभएको भन्ने नारायण गिरीको जाहेरी दरखास्त, नाकबाट खुन निस्केको, कपालको बायाँबाट कान देखि एक इन्च माथि दुई इन्च लम्बा, पौने इन्च चौडा हतियारबाट काटेको घाउ भएको, घर डढी ध्वस्त भएको भन्ने लास जाँच घटना प्रकृति मुचुल्का समेतबाट मर्ने ढेंवाको मृत्यु कर्तव्यबाट भएको देखिन्छ ।

१२.   चोरी गरौं भन्ने नियतले मृतक ढेंवाको घरमा गई फलामे गैंचीले मृतकको टाउकोमा हानी मारी कानको ढुंग्री र घाँटीमा लगाउने चाँदीको हमेल माला एउटा काठको हलो समेत लगेमा प्र.रामबहादुर गिरी अदालतमा समेत सावित भई बयान गरेको देखिन्छ । निजको सो बयानलाई स्वेच्छाले भएको भन्नुपर्ने देखिन्छ, निकाली ल्याएको ढेंवाको ढुंग्री डल्लो पारी जङलमा राखेको र हमेला बेची सकेको भन्ने पनि प्र.रामबहादुरको भनाई देखिन्छ । प्र.रामबहादुरले उल्लेख गरे बमोजिम ढुंग्री र हलो समेत बरामद भएको ०३६।९।८ मा सरजमीनका मानिसहरूले गरी दिएको कागजबाट देखिन्छ । मर्ने ढेंवालाई प्र.रामबहादुर गिरीले कर्तव्य गरी मारी घरमा आगो लगाएको हो भन्ने समेत उल्लेख गर्दै जाहेरवाला नारायण गिरीले अदालतमा बकपत्र गरेको देखिन्छ । यसको अलावा शुरू दाङ देउखुरी जिल्ला अदालतले ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेकोमा सो निर्णय उपर पुनरावेदन सम्म नगरी प्र.रामबहादुर गिरी चित्त बुझाई बसेको र आफ्नो निर्दोषिताको कुनै किसिमको प्रमाण निजतर्फबाट दाखिल हुनआएको नदेखिएबाट प्र.रामबहादुर गिरी कर्तव्यवाला रहेनछ भन्न मिल्ने देखिएन ।

१३.   अतः गहनाको लोभमा परी मारौं भन्ने मनसाय राखी प्र.रामबहादुर गिरीले मृतक ढेंवालाई कर्तव्य गरी मारी निजको घरमा समेत आगो लगाएको देखिएबाट ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको शुरू दाङ देउखुरी जिल्ला अदालतको इन्साफ सदर गरी साधक जाहेर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।८।२९ को इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४० साल पौष ५ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु