शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२८० - लिखत बदर ।

भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १०

निर्णय नं. ६२८० ने.का.प २०५३ अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

संवत २०५१ सालको दे.पु.नं. ......... २१७८

फैसला मितिः २०५३।१०।२३।४

 

मुद्दाः लिखत बदर ।

 

पुनरावेदक

प्रतिवादीः     लमजु जिल्ला सिमपानी गा.वि.स. वडा नं. २ वस्ने पदमध्वज गुरु

विरुद्ध

विपक्षी

वादीः  लमजु जिल्ला चण्डीस्थान गा.वि.स. वडा नं. १ सेरा गाउं वस्ने हस्त बहादुर सुयल समेत      २ जना

     

§  प्रतिवादी जिकिर अनुसारको निजको हक भोगको आवादी दर्ताको जग्गा भएको भए साधारणतः त्यसरी जग्गा विभाजन हुने गरी विचमा बाटो  रहने अवस्था पनि देखिन नआउने।            

(प्र.नं.१७)

 

पुनरावेदक तर्फवाटः

     विद्धान अधिवक्ता श्री राम प्रसाद गौडेल ।

विपक्षी तर्फवाटः

     विद्धान अधिवक्ता श्री रमेश वडाल ।

अबलम्वित नजीरः

 

फैसला

      न्या.अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पोखराको मिति २०४८।११।४ को फैसला उपर दोहोर्‍याउने निस्सा प्रदान भै पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

      २. परावुर्व काल देखि नै  हामी लमजुङ चण्डी पंचायत वाड नं. १ सेराका गाउलेहरुका गाइभैसी चराउने वस्तू खर्काउने पानी घट्टा  सार्वजनिक जग्गा हो । विचबाट खूलो समेत भएको सार्वजानिक वुट्यान गौचरण जग्गा हामीहरुका जिजु  वाजेकै पाला देखि भोगचलन गरी वस्तू भाउ चराई आई रहेका थियौ । पहिले यस्मा खर खिचोला थिएन । जुन जग्गा वाग्लुं पानी गा.पं. वडा नं. २ स्थित पुर्व तेर्सो बाटो सिंह बहादुरका विराजको सांघ पश्चिम ठाडो खोला उत्तर हर्कताल हरी प्रसादको खेत सांघ दक्षिण तेर्सो मुलाबाटो यति ४ किल्ला भित्रको दगैलेके पाखो भन्ने जग्गामा गाई भैसी चराउन लैजांदा विपक्ष रेवतीरमण ढुंगानाले यो जग्गा मेरो भएको छ गाई भैसी चराउन पाउंदैनौं । भनी गाई भैसी लखटेको र त्यहां भएको रुखहरु काटी जग्गा आवाद गर्न खोजेकोले  किन यसो गर्नु भयो भन्दा यो जग्गा मैले पदमध्वज गुरुसंग राजीनामा लिएको छु भनि भनेकोले २०४१।७।७ मा लमजु मालबाट राजीनामाको नक्कल लिई हेर्दा पदमध्वज गुरु आसामी रेवती रमण ढुंगाना साहु भै रु.८,०००। मा माथि उल्लेखित ४ किल्ला भित्रको ढुंगैले  भन्ने सार्वजनिक जग्गा लाई सिरुवारी भन्ने  नामकरण गरी आशी प्रसाद गुरुका नाउंमा दर्ता भएको  निज मरी मेरो हक हुन आएको भनि विजमान ।।३ मध्ये।।१ माना जग्गा विक्री गरेको देखिन आएको र निजको दर्तामा शिरुवारी स्वारो ३ ठाउमा  बिज ।.।३ भन्ने देखिन आएको । उक्त साहु आसामी भै लमजुंङ मालबाट र.नं. ४२६ मिति ०४०।११।३ मा पारित गरी लिनु दिनु गरेको राजिनामा लिखतमा लेखिएको ४ किल्ला भित्रको जग्गा विपक्ष पदमध्वजको जेठा वावु आशी प्रसादका नाउंमा १९९१ सालमा दर्ता भएको बिज ।.।३ मध्ये बिजद ।।१ को जग्गा होइन । अतः हाम्रो सन्धीसर्पनको ढंगैले भन्ने बुटयान जग्गालाई हाल बिपक्ष पदमध्वजको शिरुवारी भन्ने नामकरण गरी ४ किल्ला हाम्रो सन्धिको जग्गामा राखी राजिनामा दिनु लिनु गरेको देखिंदा अन्यायमा परि फिराद गर्न आएका छौं । बिपक्षहरुले हाम्रो हक जाने कुनै लिखत पेश गरेको खण्डमा अ.वं. ७८ नं. बमोजिम छुट्टै प्रकृया अपनाउने हुंदा उक्त राजिनामा लिखत बदर गरी पाउं भन्ने समेत व्यहोराको ०४१।८।११ को हस्त बहादुर सुयल १ र नारायण बहादुर सुयल समेत जना २ को फिराद पत्र ।

      ३. साविक खड्गजंग  गुरु जिम्मा झूक्ताको ९१ सालमा मेरा जेठा वावु आशी प्रसाद गुरुका नाउंमा बिज माना ।।३ रही दर्ता भएको मेरा वावु गज बहादुर जेठा वावु आशीप्रसाद छुट्टी भिन्द हुंदा मेरा वावु गज बहादुर अंश भागमा परि भु.सु. ७ नं. फाराम समेत वुवा गज बहादुरको नाउंबाट भरिएको पिता परलोक भै मेरो हक हुन आएको हाल जुद्धजंग जिम्मा झूत्ताको  लमजुंङ सिमपानी गा.पं. वडा २ मा पर्ने पुर्व तेर्सा बाटो कविराजको दर्ताको सांध पश्चिम ठाडो खोला उत्तर हर्केलालको खेत र सिमलको रुख वासको वोट देखि २ हात तल सिमलको रुख हरि प्रसादको सांध दक्षिण तेर्सो बाटो यति ४ किल्ला भित्रको बिज माना ।।३ मध्येबाट बिजमाना ।।१ को शीरुवारी भन्ने पाखो स्वारा मुल्य रु.८,०००। मा राजीनामामा उल्लेखित जग्गा म पदमध्वज दिने र म रेवतीरमण लिने गरी २०४०।११।२ गते जमजुंङ मालबाट रजिष्ट्रेशन पास समेत भएको छ। उक्त राजिनामाको  जग्गालाई १९९१ साल देखि आज सम्म भोगी चर्ची आई सरकारी रैकर तिरी बुझाई म पदमध्वजले भोगी आएको जग्गालाई हाम्रो  सन्धीसर्पनको ढंगैले भन्ने जग्गा हो भनेर विना आधारको हचुवा फिराद गर्नु भएको छ । बिपक्षहरुको सन्धीसर्पन भनेको पुर्व माले बगरबाट खुदी जाने मुलवाटो पश्चिम उत्तर विपक्षीहरु र जमान सिंह थापाको आबादी जग्गा सांध दक्षिण भलामा खोलाको सांध यति ४ किल्ला भित्र पर्दछ । हामीहरुले बिपक्षहरुको सन्धिसर्पनको जग्गा लिनु दिनु गरेका नहुंदा हामीहरुका विच रजिष्ट्रेशन पारित भएको राजीनामा लिखत सदर कायमै राखी पाउं भन्ने ब्यहोराको २०४१।१०।२३ को पदमध्वज गुरु ज्ञ र रेवतीरमण ढुंगाना १ समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र ।

      ४. २०४४।१०।८ को नक्सा मुचुल्का १, २०४२।७।२७ को सर्जमिन मुचुल्का विवादित जग्गाको फिल्डवुक उतार समेतका कागजात मिसिल संलग्न रहेको ।

      ५. बादी दावी अनुसारको २०४०।११।३ को राजिनामा लिखत बदर हुने ठहर्छ भन्ने व्यहोराको मिति २०४३।८।२६ को लमजुंङ जिल्ला अदालतको फैसला ।

      ६. मेरो दर्ता उपर वादीको दावा नहुंदा जग्गाको दावी वेगर जग्गा आवाद गर्नेको सन्धीसर्पन कायम हुन नसक्ने हुनाले लेनदेन ब्यवहारको ऐन अन्तर्गत भनि दावी गरिएको प्रस्तुत मुद्दामा हक इन्साफ भै मेरो विक्री भै वांकी रेहेको  जग्गा समेत सन्धी सर्पन ठहर भएको हुंदा शुरु फैसला बदर गरी मेरो जग्गा मेरै सदर कायम राखी पाउं भन्ने समेत ब्यहोराको पदमध्वज गुरुको साविक गण्डकी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।

      ७. शुरु लमजुंङ जिल्ला अदालतले फैसला गर्दा २०४२।७।२० मा भै आएको सर्जमीनको आधारले विवादित जग्गालाई वादी समेतको  सन्धीसर्पनको भनि ठहर गरेको फैसला लेखबाट पाइयो जुन विषयमा वादीको दावी नै छैन सो सम्वन्धमा सवुद समेत वुझी फैसला गर्नु नै कानून प्रतिकुलको फैसला भनि भन्नू पर्ने हुंदा फैसला बदर गरिएको छ । वादीको दावीमा सिमित रही कानून बमोजिम फैसला गर्नु भनि रुजु पक्षलाई तारेख तोकी मिसिल कारवाही किनाराको लागि शुरु लमजुंङ जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने  समेत व्यहोराको २०४५।३।५।१ को साविक गण्डकी अंचल अदालतको फैसला ।

      ८. आफ्नो हक नपुग्ने जग्गा प्रतिवादीहरुले  राजीनामा लिनु दिनु गरेको देखिएको हुंदा २०४०।११।३ को राजिनामा बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४६।१।१८ को जमजुंङ जिल्ला अदालतको फैसला ।

      ९. बेसरोकारको व्यक्तिले गरेको यो दावीबाट लिखत बदर गराई दिनु सर्वथा न्यायको अन्याय भयो । तसर्थ लिखत बदर गर्ने ठहर गरको शुरु जमजुंङ जिल्ला अदालतको फैसला बदर गरी मेरो प्रतिउत्तर जिकीर बमोजिम गरी पाउं भन्ने ब्यहोराको २०४६।४।९ को प्रतिवादी पदमध्वज गुरुको पुनरावेदन पत्र ।

      १०. जि.मु. गज बहादुर गुरु समेतले दर्ता गरी पाउं भनी दिएको दरखास्त सहीतको मिसल प्रमाणार्थ साथै पेश भएको ।

      ११. अंशियार व्यक्तिले सगोलको सम्पति विक्री गरेमा मात्र लेनदेन व्यवहारको १० नं. लाग्ने हुंदा लेनदेन व्यवहारको ४० नं. ले नालेश लाग्ने प्रकृतिको र म्याद भित्रकै देखियो । प्रतिवादीहरुले  लिनु दिनु गरेको लिखत बमोजिमको जग्गा प्रतिबादीहरुको हक भोगको देखिन नआएबाट बादी दावी बमोजिम सन्धीसर्पनको जग्गा लिनु दिनु गरेको २०४०।११।३ को लिखत बदर हुने ठहर्याएको शुरु लमजु जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हने ठहर्छ  भन्ने समेतको  पुनरावेदन अदालत पोखराको मिति २०४८।११।४ को फैसला ।

      १२. बिपक्षीलाई प्रस्तुत फिराद दायर गर्ने अ.वं.  ८२ नं. को हकदैया नै छैन । हकदैया सम्वन्धी मुलभुत कानुनी प्रश्न तर्फ वोल्दै नवोली ध्यानै नदिई फैसला गरिएको छ , जुन त्रुटिपुर्ण छ ।  विवादित जग्गा सार्वजनिक गौचरण होइन । पिता पुर्खाकै पाला देखी म निवेदकको निजी जग्गा हो । सार्वजनिक जग्गा प्रमाणित गर्ने कुनै पनि सवुद बिपक्षीले दिन सकेको छैन । मैले प्रस्तुत गरको दर्ता तिरोको प्रमाणलाई मुल्यांकन गरिएको छैन। म निवेदकका जेठा वावु आशी  प्रसादका नाउंको दर्ता र पिता गजबहादुरले प्रस्तुत गरेको ७ नं. फंटवारी उपर बिपक्षीले चुनौती गर्न सक्नु भएको छैन । १९९१ साल पुर्व देखि नै दर्ता तिरो भोग रहेको देखिएको जग्गालाई कसै गरी पनि सार्वजनिक ठहर गर्न मिल्दैन विपक्षीको दावी बमोजिमको दगैले भन्ने जग्गा पनि होइन लिखत गरी लिदा दिंदाको अवस्था तत्कालीन वडा विभाजन अनुसार उक्त जग्गा वडा नं. २ मा परेको कारण नै लिखतमा वडा नं. २  लेखिएको हो । पछि वडा परिवर्तन भएको कारणबाट लिखत र नक्सामा वडा नं. १ मा पर्न आएको हो । नक्सा हुंदा जोतकोड गरेको नदेखिएको भन्दैमा मैले भोग नै नगरेको वा मेरो जग्गा नै होइन भनी अर्थ गर्न मिल्दैन अतः आफ्नो  हक भोग, दर्ता, तिरो भित्रको जग्गामा पारित गरिएको लिखतलाई बदर गर्ने गरी भएको लमजु जिल्ला अदलतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपुर्ण रहेकोले मुद्दा दोहोर्याई न्याय पाउं भन्ने समेतको पदमध्वज गुरुको यस अदालतमा परेको निवेदन ।

      १३. यसमा विवादित जग्गा आशी प्रसादका नाउंमा दर्ता रहेको , गज बहादुरको नामबाट तिरो तिरान र ७ नं. फंटवारी भरेको, गज बहादुर परलोक भएपछि पदमध्वजको नाममा नामसारी गरी तिरो तिरेको समेत मिसिलबाट देखिन आउंछ ।

फिल्डवुकमा पर्ति जनिएको  आधारमा नै लिखत बदर गर्ने निर्णय भएको देखिन्छ । विवादित जग्गाको दर्ता तिरो प्रतिवादीको नाममा देखिन आएको र ने.का.प २०३८ अंकट पुष्ठ ३२ मा खोल्सा तथा प्रति भएको जग्गा सरकारी वा सार्बजनिक जग्गाको परिभाषा भित्र नपर्ने भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भइरहेकोले पुनरावेदन अदालतको फैसलामा उक्त  नजिरको त्रुटि हुंदा न्याय प्रशासन ऐन,२०४८ को दफा १२ को उपदफा १ को खण्ड (ख) को आधारमा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । बिपक्षीलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५१।३।२९ को आदेश ।

      १४. यसमा विवादित कित्ता नं. ८७४ र ८७८ को जग्गाहरु गण्डकी अंचल लमजुंङ जिल्ला सिमपानी गा.पं. वडा नं. १ अन्तर्गत मिति २०४२।२।१० र २०४२।२।११ मा नापी दर्ता भएको पाइन्छ । उक्त जग्गा २०४२ साल भन्दा अगाडी २०४० सालमा वडा नं. १ अन्तर्गत नै रहेको थियो वा पछि वडा नं. परिवर्तन भई १ नं. अन्तर्गत पर्न आएको हो ? सो सम्वन्धित सिमपानी गा.वि.स मा बुझ्ने साथै सिमपानी गा.वि.स वडा नं. २ मा पदमध्वज गुरुको नाममा के कति कित्ता जग्गा नापी दर्ता भएको देखिन्छ त्यसको लगत समेत सम्वन्धित माल कार्यालयबाट मगाई प्राप्त भएपछि कानून बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।४।१४ को आदेश ।

      १५. नियम बमोजिम पेश  हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री राम प्रसाद गोडेलले सार्वजानिक जग्गा भनी विपक्षी व्यक्ति विशेषले उजुर गर्न पाउने अधिकार छैन । मेरो पक्षको दर्ता तिरोको  प्रमाण मुल्यांकन गरिएको छैन । वडा नं. परिवर्तन भएको तथ्यलाई मध्यनजर राखिएको छैन । पुरावेदन अदालत पोखराको फैसला त्रुटिपुर्ण हुंदा बदर गरी पाउं भनी र विपक्षीको तर्फबाट उपस्थित विद्धान अधिवक्त श्री रमेश वडालले बिपक्षीले प्रतिउत्तर पेश गर्दा दगैलेको पाखो यो हो यहां पर्दछ भनी प्रष्ट रुपमा देखाउन सकेको छैन । सार्वजनिक जग्गालाई सिरुवारी नामकरण गरी राजीनामा लिनु दिनु गरिएको छ । पुनरावेदन अदालत, पोखराको फैसला सदर गरी पाउं भनी बहस प्रस्तुत गर्नु भयो ।

      १६. मिसिल अध्ययन गरी पुनरावेदक र विपक्षी तर्फबाट उपस्थित विद्धान अधिवक्ताले गर्नु भएको वहस समेतलाई ध्यानमा राखी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत पोखराको फैसला मिलेको छ, छैन ? साथै पुनरावेदकको जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने हुन आएको छ ।

      १७. यसमा विवादित सिमपानी गा.वि.स. वडा नं. १ को कि.नं.८७४ र ८७५ को जग्गाको प्रतिवादीहरु रेवती रमण ढुंगाना साहु र पदमध्वज गुरु आसामी भई मिति २०४०।११।३ मा लिनु दिनु गरेको लिखत बदरको दावी भएको प्रस्तुत मुद्दामा उल्लेखित जग्गालाई प्रतिवादी मध्येको पदमध्वज गुरुले  जेठा वावु आशी प्रसाद गुरुको  नाममा बिजन माना।।३ दर्ता भएको जग्गा आफ्नो हक हुन आएको भन्ने जिकिर लिएको देखिन्छ । तर उल्लेखित जग्गाहरु २०४२ सालमा नापी हुंदा प्रर्ति जनिएको जग्गा नं.न.९ र १० मा रहेको भन्ने भई सो आवादी जग्गा भन्ने देखिन नआएको । अर्को तर्फ विजन माना ।।३ को जग्गा मध्ये ।।१ को लिखत भएको भन्ने भएको तर विवादित कित्ता जग्गाहरुको क्षेत्रफल अन्दाजी ५२ रोपनी भएको दे्खिन आउने भएबाट प्रतिवादीको जिकीर बमोजिम निजको हक भोगको जग्गा रहेनछ भन्ने देखिन आउंछ । साथै विवादित नं. न. ९ र १० को विचमा बाटो रहेको देखिन्छ । यद्यपी सो बाटो कहां जाने बाटो हो भन्ने  स्पष्ट  खूलेको देखिदैन तथापी प्रतिवादी जिकिर अनुसारको निजको हक भोगको आवादी दर्ताको जग्गा भएको भए साधारणतः त्यसरी जग्गा विभाजन हुने गरी विचमा बाटो रहने अवस्था पनि देखिन आउंदैन मिति २०३५।११।१३ मा खेत बिराएको भन्ने समेत जिकिर भएको तर एक पटक खेत विराइसकेको जग्गा भएको भए नापीमा पर्ति जनिनु नपर्ने र यसरी नापीमा पर्ति जनिंदा प्रतिवादीले कुनै आपत्ती जनाउन सकेको  देखिन्न र त्यसपछि पनि सो जग्गाको सम्वन्धमा कुनै दावी लिइ चल्न सकेको देखिएन । साथै लिखतबाट ।।१ जग्गाको लिनु दिनु भएकोमा हाल समुचा ।।३ दर्ताको सम्वन्धमा जिकिर लिएको पाईन्छ । लिखत गरि लिने प्रतिवादी रेवत रमण ढुंगानाले भने पुनरावेदन नै नगरी आफ्नो जिकिर दावी व्यहोरा छोडी बसको अवस्था समेत देखिन आयो । विवादित जग्गा गाउंलेहरुको गाई भैसी चराउने सन्धी सर्पनको  जग्गा हो भन्ने फिराद दावी भएकोमा स्थानीय मानिसहरुबाट लेखाएको सर्जमिनको व्यहोराबाट पनि गाउलेहरुको सन्धी सर्पनको जग्गा नै भन्ने खूलाई वादी दावीलाई समर्थन गरको अवस्था समेत देखियो । अतः उपरोक्त तथ्यहरुबाट विवादित कि.नं. ८७४ र ८७५ को जग्गा प्रतिवादी पदमध्वज गुरुको हक, भागको देखिन नआएको र वादी दावी बमोजिम सन्धी सर्पनको जग्गा नै लिनु दिनु गरकेो रहेछ भन्ने स्पष्ट देखिन आयो । यस अदालत संयुक्त इजलासबाट मिति २०५१।३।२९ मा  दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दाको आदेशमा उल्लेखित ने.का.प. २०३८ अंक ६ पृष्ठ ३२ मा प्रकाशित नजिर प्रस्तुत मुद्दामा सान्दर्भिक देखिन समेत नआएकोले सो आदेशको वुंदा आदेशसंग यो इजलास सहमत हुन सकेन । अतः वादी दावी बमोजिम उक्त लिखत बदर हुने ठहर्याएको शुरु लमजुंङ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत , पोखराको इन्साफ मिलेकै देखिंदा त्यसमा केही परिवर्तन गरिरहन परेन । प्रतिवादीको जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उत्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नांख्वा

 

इति सम्वत २०५३ साल माघ २३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु