निर्णय नं. १७४३ - जालसाजी

निर्णय नं. १७४३ ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३८ फौ.पु.नं. २७०
फैसला भएको मिति : २०४०।९।२० मा
पुनरावेदक/प्रतिवादी : जि.सप्तरी न.पं.राजविराज, वार्ड नं.४ बस्ने गोवर्धन मुन्धडा समेत
विरूद्ध
विपक्षी/वादी : जि.काठमाडौं न.पं.काठमाडौं, वडा नं.२६ बस्ने बृ.ज. मेनारजङ थापासमेत
मुद्दा : जालसाजी
(१) हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ताको भनी बिक्री गरेको कृयाकलापबाट हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध भए गरेको देखिएको भन्ने आधारमा जालसाजी गरेको ठहराएको इन्साफ मनासिवै देखिने ।
(प्रकरण नं. ९)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान व.अधिवक्ताहरु श्री रमानन्दप्रसाद सिंह र श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
फैसला
न्या.बासुदेव शर्मा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।१२।२४ को इन्साफमा चित्त नबुझेकाले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा निवेदन परी मिति ०३८।५।१७ मा पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ।
२. रा.वि.न.पं.वडा नं.७ हाल कि.नं.९४ को बिगहा ०–१६–११ जग्गा मौजे राजपुरको स.सा.कि.नं.४४ र खरसाल सीमा सो पूर्व पाठशाला सो दक्षिण निज सो उत्तर पश्चिम ०–९–१७ र कि.नं.४५ निज सो दक्षिण खरसाल सीमा सो पूर्व विष्णुबहादुर सो पश्चिम शिवनन्दन उत्तर ०–१२–६ जग्गा अघिदेखि भोग गरी ०१४ सालमा पक्की घर बनाई बसी आएको उक्त जग्गा लगायतका जग्गाको फिरादी सोमजङले भू.सु.का.मा ७ नं.फाराम दाखिल गरेको साथै उक्त जग्गामा घर भई बाँकी जग्गामा पर्खाल लगाई पाउनलाई रा.वि.न.पं.मा पर्खाल बनाउने स्वीकृति पाउँ भनी निवेदन दिई स्वीकृतिको प्रमाणपत्र २०२५।१।१६ गते पाएको पर्खाल लगाउँदा कुनै बाधा विरोध नपरेको उक्त घर कम्पाउण्ड सगरमाथा अञ्चलाधिशज्यूले बहालमा माग्दा रु.८००। प्रति महीनाको दरले बहाल लिने दिने शर्त राखी ०२६।९।१ देखि ०२७।३।२ मसान्त सम्म र पुनः रिन्यूयल भई ०२७।३।१ देखि ०२८ साल सम्म बहालमा दिएको थियो । सो कम्पाउन्डमा मोटर राख्ने ग्यारेज अञ्चलाधिशज्यूले तत्काल आफ्नो तर्फबाट बनाउन लगाई पछि बहालबाट कट्टा गर्ने गरी ग्यारेज बनाएको थियो । उक्त जग्गा सर्भे नापी हुँदा कि.नं.९४ को जग्गा ०–१६–११ कायम भई फिरादी मेनारजङको नाउँमा फिल्डबुक श्रेस्तामा जनिएको थियो । सो उपर म्यादभित्र कुनै बाधा विरोध थिएन २०२९ सालदेखि घर कर समेत न. पं.मा बुझाउँदै आएको छु । यस्तो निर्विवाद हकभोगको जग्गालाई विपक्षी मध्येका गोवर्धनले हकभोग समेत नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी गैरकानुनी तवरबाट जमिदारी हकको भनी विपक्षी मध्ये जसकरण शारदालाई सा.कि.नं.४४ को सबै र कि.नं.४५ को उत्तरतर्फबाट रहेको पक्की घर र घरले चर्चेको निकासा पैठान बाहेक दक्षिणतर्फबाट ०–८–८ समेत जम्मा ०–१८–५ जग्गा रु.४५,०००। मा बिक्री गरी घरायसी राजीनामा लिखत ०२८।६।८।६ मा गरिदिएको लिखत पासको नालेस परी ०३२।५।२७ गतेमा रजिष्ट्रेशन पारित गरी भू.प्र.का.बाट ०३२।६।१७ गते गैरकानुनी तवरबाट दाखिल खारेज गराई हक नपुगेको व्यक्ति जसकरणले पुनः रु.५०,७१५। मा उक्त जग्गा जिल्ला सहकारी संघ राजविराजलाई मिति ०३२।६।१९ गते बिक्री गरेको कुरा जि.स.सं. लिमिटेडले आफ्नो वोर्ड राखेकोले थाहा हुनआयो यसरी विपक्षीहरूले जालसाज गरेकोले सजाय समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ ।
३. शखुता कचनदह वार्ड नं.२ बस्ने झुमरमल मुन्धडाको घरमा पिता रामदयाल मुन्धडाले वादीहरूको बाबु कं.चन्द्र जङथापालाई आफ्नो कारिन्दा मार्फत २००० सालमा २५ वर्षको लागि बहालमा दिएको वादीहरूको रहने हक भएको मात्र हो लिखतमा उल्लेख भएबमोजिमको थैली गोवर्धनलाई तिरी जसकरण शारदाले उल्लेखित जग्गा किनेको हो गोवर्धन मुन्धडाको नाउँमा उक्त जग्गा दर्ता तिरो चलेको छ लिखतमा उल्लेखित मोल जसकरणले तिरेको छ हामीले जालसाजी गरेका छैनौ वादी दावी सबै झुठ्ठा हो भन्ने समेतको दयाराम भगत र बौवालालको प्रतिउत्तरपत्र ।
४. झमरमल मुन्धडासँग खरीद गरी आफ्ना नाममा लिएको जग्गा जिमिदारी समेत दर्ता गराई सालसालै मालपोत तिरो तिरी बुझाई आएको छु सो मेरो नाउँको दर्ता रही तिरो तिरी चर्ची आएको वादीहरूको नाउँमा जान सक्दैन एउटै जग्गा धेरैजनाको नाउँमा दर्ता हुनसक्दैन । विपक्षीहरूले मालपोत बुझाएको र निजहरूको नाउँमा जग्गा दर्ता छैन । ०२९ सालदेखि मालपोत धरौट राख्दैमा मालपोत तिरेको ठहर्न सक्दैन । जिमिदारी साथ रहने जिरायत जग्गा बिना जिमिदारीले कसैमा जान सक्ने होइन । म जसकरणले सुपथ मूल्य लिई म गोवर्धन मुन्धडासँग जग्गा खरीद गरेको र त्यस खरीद बिक्रीमा म भगवानको सहमति नै भएबाट हकवालाको हैसियतले राजीनामा लिखतमा मञ्जूरी सहिछाप गरी दिएको हुँ पिता रामकृष्णको पनि मञ्जूरी सहिछाप हकवालाको हैसियतले परेको हो वादीहरूले जालसाज भनेको लिखतमा कुनै यस्तो भए गरेको व्यहोरा नै छैन । वादीले जालसाज भनेको लिखत कीर्ते कागजको परिभाषा भित्र पर्दैन सहिछाप गरिदिने दुवै थरीले मिलोमतोको अभावमा कीर्ते कागजको ३ नं.अनुसारको लिखत भन्न मिल्दैन । वादीको झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्र.गोवर्धन समेतको प्रतिउत्तरपत्र रहेछ । वादीहरूको हकको जग्गालाई हक नपुग्ने प्र.गोवर्धनले मेरो हकको आफ्नो हक नभएको जग्गा बिक्री गरेकोबाट अर्काको हक मेटाउने उद्देश्यले अर्को व्यक्तिलाई बेचेको हुँदा प्र.गोवर्धनले जालसाज गरेको ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको ०३५।५।२९ को फैसला।
५. सो फैसला उपर चित्त नबुझी प्र.गोवर्धन मुन्धडा र जसकरण शारदाको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पर्नआएको पुनरावेदनपत्र ।
६. दावीको घर जग्गा यिनै पुनरावेदक मध्येका गोवर्धन मुन्धडाले हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ता तिराको भनी जसकरण शारदालाई बिक्री गरेको कृयाकलापबाट वादीहरूको हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध गरेको देखिँदा प्र.गोवर्धनले जालसाज गरेको ठहराएको जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने पू.क्षेत्रीय अदालतको ०३७।१२।२४ को फैसला ।
७. प्रस्तुत मुद्दामा देवानी र फौजदारी दुवै विषय मिश्रित माग दावी गरिएकोले अ.बं.को ७२ नं. र गोवर्धनसँग लिँदा नै जसकरणबाट जालसाजी भएको होइन भनी जसकरणले संघलाई बेचे किनेको कसरी जालसाजी भयो । यस्तोमा कीर्ते कागजको ३ नं. लाग्न नसक्ने हुँदा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः कानुनी त्रुटि भएकोले क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐनको दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेतको जसकरण शारदा समेतको यस अदालतमा पर्नआएको निवेदनपत्र ।
८. यिनै वादी प्रतिवादीहरूको फैसला लिखत बदर मुद्दामा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा विवादको जग्गामा वादीको हक अधिकार कायम गर्ने गरेको पू.क्षे.अ.को फैसला अ.बं.८६ नं.को विपरीत देखिएको भनी आजै यस बेञ्चबाट पुनरावेदनको अनुमति दिइएको हुँदा सोही विवादको जग्गा प्रतिवादी गोवर्धन मुन्धडाले प्र.जसकरणलाई बिक्री गरेको जालसाजी ठहराएको पू.क्षे.अ.को फैसला प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुनुका साथै सार्वजनिक महत्त्वको विषय समेत देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको ०३८।५।१७ को आदेश ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको वारेसलाई पक्राउ गर्दा उपस्थित हुन नआई विपक्षीहरूको वा तेजप्रसादलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह तथा श्री कुञ्जविहारीप्रसाद सिंहले र विपक्षको तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
९. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के रहेछ भनी विचार गर्दा यसमा मेरो दर्ता भोगको जग्गा मैले बेचेको हुँदा जालसाज गरेको छैन भन्ने प्र.गोवर्धन मुन्धडा र सुपथ मोलमा खरीद गरेको हुँदा जालसाज गरेको नहुँदा दावाबाट फुर्सत पाउँ भन्ने प्र.जसकरण शारदाको जिकिर भएको देखिन्छ । प्रस्तुत मुद्दामा वादीहरूले ०१४ सालमा पक्का घर बनाई ०२५।१।१६ मा न.पं.को स्वीकृति अनुसार पक्की पर्खाल लगाएको र उक्त घर कम्पाउण्ड वादीहरूबाट सगरमाथा अञ्चलाधिशले ०२६।९।१ देखि ०२८।३ मसान्त तक बहालमा कबुलीयत गरी भोगचलन गरेको देखिन्छ । दावीको घर जग्गा प्र.गोवर्धन मुन्धडाले हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ताको भनी जसकरण शारदालाई बिक्री गरेको कृयाकलापबाट वादीहरूको हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध भए गरेकै देखिएको भन्ने समेतको क्षेत्रीय अदालतको बुँदा प्रमाणका आधारमा वादी दावी बमोजिम जालसाजी गरेको ठहराएको क्षे.अ.को इन्साफ मनासिवै देखिँदा सदर ठहर्छ । अरू तपसीलका कलमहरूमा तपसीलबमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी गोवर्धन मुन्धडाको माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ पू.क्षे.अ.को मनासिव ठहरेकाले शुरू जिल्ला अदालतबाट निजलाई जरिवाना रु.११,२५०। तथा क्षेत्रीय अदालतबाट त्यसको सयकडा १० ले रु.१,१२५। थप जरिवाना गरेकोमा यस अदालत समक्ष दोश्रो तहको पुनरावेदन हुँदा अ.बं.को २०३(१) नं.अनुसार सयकडा ५ का दरले जम्मा रु.५६२।५० थप जरिवाना हुन्छ । वारेस हुँदा कानुन बमोजिम असूल गर्न शुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.......................................................................................१
पुनरावेदक प्रतिवादी जसकरण शारदाको पू.क्षे.अ.ले रु.५०। जरिवाना गरेको इन्साफ मनासिव ठहरेकाले अ.बं.को २०३(२) नं.अनुसार दशौंदका दरले जम्मा रु.५। थप जरिवाना लाग्छ वारेस हुँदा कानुनबमोजिम असूल गर्नु भनी सप्तरी जि.अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..२
पुनरावेदक प्र.गोवर्धन मुन्धडा समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतमा मिति ०३७।१२।२४ का फैसला अनुसार प्र.गोवर्धन मुन्धडाको रु.१,१२५। प्र.जसकरण शारदाके रु.५०। समेत जम्मा रु.११७५। जरिवाना गरेकोमा उक्त जरिवाना रु.११७५। यसै अदालतमा पुनरावेदन गर्दा मिति ०३८।१।२८ मा यस अदालत ल.नं. शाखा मार्फत का.जि.अ.त.मा ०३८।१।३० मा सदर स्याहा भएको मिसिल संलग्न भर्पाईबाट देखिँदा उक्त कलमहरूको लगत कट्टा गर्न लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.............................................................................................................३
प्र.गोवर्धन मुन्धडाकै निजलाई शुरू जि.अ.का.मिति ०३५।५।२९ का फैसलाले लागेको जरिवाना रु.११,२५०। बापत धन जमानी दिई पू.क्षे.अ.मा पुनरावेदन गरेकोमा उक्त जरिवाना असूल नभएसम्म सो धन जमानी फुकुवा नभई कानुनबमोजिम हुने हुँदा केही गर्नुपरेन...........................४
मिसिल नियमानुसार गरी बुझाई दिनु............................................................................................................................५
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४० साल पौष २० गते रोज ४ शुभम् ।