निर्णय नं. १७४४ - फैसला लिखत बदर

निर्णय नं. १७४४ ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको दे.पु.नं. २२२
फैसला भएको मिति : २०४०।९।२०।४ मा
पुनरावेदक/प्रतिवादी : जि.सप्तरी न.पं.राजविराज वडा नं.४ बस्ने गोवर्धन मुन्धडा समेत
विरूद्ध
विपक्षी/वादी : जि.काठमाडौं न.पं.काठमाडौं वडा नं.२६ बस्ने मे.ज. मिनारजङ थापासमेत
मुद्दा : फैसला लिखत बदर
(१) कानुनको म्याद भित्र कुनै उजूर बाजुर गरेको देखिँदैन, साथै धेरै अघि देखि भोगचलन भइरहेको देखिन आएको बुँदा प्रमाणहरूको आधारमा समेत फैसला बदर हुने ।
(प्रकरण नं. ११)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री रमानन्दप्रसाद सिंह र श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
फैसला
न्या.बासुदेव शर्मा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३७।१२।२४ को इन्साफमा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा निवेदन मिति २०३८।५।१७ मा पुनरावेदनको अनुमति प्राप्त गरी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ ।
२. जि.सप्तरी रा.वि.न.पं.वडा नं.७ को सा.कि.नं.९४ को ०–१६–११ जग्गा मौजे राजपुरको सा.कि.नं.४४ निज र खर्साली सीमा सो पूर्व पाठशाला सो दक्षिण निजको उत्तर पश्चिम ०–९–१७ र कि.नं.४५ निज सो दक्षिण खर्साली सीमा सो पूर्व विष्णुबहादुर सो पश्चिम शिवनन्दन, सो उत्तर ०–१२–६ जग्गामा अघिदेखि भोग गरी ०१४ सालमा पक्की घर बनाई हामी फिरादी बसी आएका थियौं ।
३. उक्त जग्गा लगायतको जग्गाका म फिरादी शोभाजंगले भू.प्र.का.मा ७ नं.फाराम दाखिल गरेको थिएँ । साथै उक्त जग्गामा घर भई बाँकी खोली जग्गाको पर्खाल लगाई घेरा गर्नु पर्दा हामी फिरादीले रा.वि.न.पं.समक्ष पर्खाल लगाउन स्वीकृति पाउँ भनी निवेदन गरेका थियौं । जस उपर न.पं.ले सरजमीन समेत गरी पर्खाल लगाउने स्वीकृति प्रदान गरेको थिष्यो । सो घर कमपाउण्ड अञ्चलाधिशज्यूलाई मासिक रु.८००। बहालमा ०२६।९।१ देखि ०२८ साल आषाढसम्म शोभाजंग मिनारजंगले दिएको र बाहालबाट कट्टा गर्ने शर्तमा ग्यारेज समेत तयार गर्नुभएको थियो । उक्त जग्गा सर्वेमा कि.नं.९४ मा ०–१६–११ जग्गा मेनारजंगको नाउँमा फिल्डबूक श्रेस्तामा समेत जनिएको सो उपर गोवर्धन मुन्धडाको विरोध नजनिएको र ०२९ सालदेखि मालपोत जम्मा गर्दैआएको घर कर न.पं.लाई तिर्दै आएको त्यस्तो हामी फिरादीहरूको निर्विवाद हकभोग दर्ता तिरोको जग्गालाई गोवर्धन मुन्धडाले आफ्नो भनी जसकरण शारदासँग मौजे राजपुरको सा.कि.नं.४४ को सबै र कि.नं.४५ को उत्तरतर्फबाट रहेको घर र सो घरले चर्चेको निकास पैठार बाहेक दक्षिण तर्फबाट ०–८–८ जग्गा समेत ०–१८–५ जग्गाको रु.४५,०००। मा ०२८।६।८।६ मा घरायसी लिखत गरी सो लिखत पास गराई पाउ भनी स.जि.अ.मा नालेश गरी लिखत ०३०।३।२१ मा पास हुने ठहर फैसला बमोजिम ०३०।११।११।६ मा दरखास्त दिएको आधारमा लिखत पास गराएको विपक्षी जसकरण शारदाले पुनः ०३२।६।१९ मा जि.सरकारी संघ लि.सप्तरीलाई बिक्री गरेको ०३२।९।३ गते नक्कल लिँदा थाहा हुनआएकोले ३५ दिन भित्रै नालेस गर्न आएकोछु । फैसला बदर गरी हक प्रचलन गरिपाउँ भन्ने वादीहरूको संयुक्त फिरादपत्र रहेछ ।
४. कि.नं.४४।५५ को जग्गामा विपक्षीहरूको हकदैया नै छैन म प्र.गोवर्धन मुन्धडाको हक दर्ताको जग्गा बिक्री गर्ने अधिकार कानुनले वञ्चित गर्नसक्ने हुँदा बिक्री गरेको जसकरणले खरीद गरी लिएको पारित गरी दिन अनूकुल नमिलेको हुँदा नालेस परी पास हुने फैसला भएको हो । सो फैसलाबाट विपक्षीहरूको कुनै हक हनन् हुन नजाने हुनाले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेछ ।
५. आफ्नो हक स्थापना नै नगरी अरू व्यक्ति बसेको कि.नं.९४ को घर जग्गा प्र.गोवर्धनले बेचेको भई लिखत पारित समेत भएको हुँदा हकै नभई बेचिएको देखिएकोले उक्त फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरू स.जि.अ.को फैसला ।
६. सो फैसला उपर चित्त नबुझी उक्त फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी गोवर्धन मुन्धडा र जसकरण शारदाको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
७. विवादको घर जग्गा सा.कि.नं.४४।५५ भई भएको लिखत पारित मुद्दा संलग्न राजीनामा लिखतको नक्कलबाट देखिन आएको फिरादीहरूले कम्पाउण्ड बनाउन पाएको इजाजतपत्र अरू नै घरको कम्पाउण्ड लगाउन पाएको भन्ने प्रतिवादीहरूले तथ्ययुक्त सबूत पेश गर्नसकेको नदेखिएको र उक्त घर कम्पाउण्ड सगरमाथा अञ्चलाधिशले रु.८००। मा रेण्ट कमिटीका निर्णय अनुसार ०२६।९।१ गते नै कबुलीयत गरी लिई भोगचलन गरेको सर्भे नाप हुँदा फिल्डबुकको कैफियत महलमा फिरादी मध्येको मेनारजंगको नाउँ जनिदा समेत म्याद भित्र बाधा विरोध नदेखिएको तथा अरूको भोगमा भएको जग्गा धेरै अघिको दर्ताको प्रमाणले दर्तावालाको ठहर्याउन नमिल्ने भनी चनुन वि. गिरधारी भएको जग्गा मुद्दामा ०२३।७।२५।५ मा सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादित गरेको देखिएको कारण समेतबाट जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।१२।२४ को फैसला रहेछ ।
८. वादीले नगरपञ्चायतमा दिएको निवेदनमा साँध संधियार र जग्गाको कित्ता नम्बर समेत केही खुलेको छैन फिल्डबुकमा जे जनिए पनि वादीका नाउँमा जग्गा दर्ता भई धनी पूर्जा पाउन सकेको छैन । वादीहरूले यो विवादित घर जग्गा हामीहरूका नाउँमा दर्ता गराई भोगेका हौं भन्ने हामी वादीका कारिन्दा हौं भन्नसकेका छैनन् तसर्थ क्षेत्रीय अदालतले शुरू जिल्ला अदालतको इन्साफ सदर गरेकोमा हामीहरूको चित्त नबुझेकाले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेतको प्रतिवादी गोवर्धन मुन्धडा समेतको यस अदालतमा परेको निवेदनपत्र ।
९. यसमा विवादको उक्त जग्गामा वादीको नाममा दर्ता भएको वा अरू हकको कुनै श्रोतको अभावमा वादी दावी अनुसार विवादको जग्गामा वादीको हक अधिकार कायम गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गर्ने गरेको फैसलामा अ.बं.८६ नं.को प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुनाको साथै सार्वजनिक महत्त्वको विषय समेत देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०३८।५।१७ को आदेश ।
१०. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फको वारेस तेजप्रसाद चौलागाईलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले विवादको ४४,४५ नं.को जग्गा गोवर्धनको नाममा दर्ता छ अर्कै जग्गा हो भनी वादीहरूले भन्नसकेको छैन । सर्भेमा जसकरणको नाउँमा दर्ता छ रसिद छ । २५ वर्षसम्मको लागि मेरो पक्षबाट बहालमा लिएको र सोही अवधिभित्र अञ्चलाधिशलाई बहाल दिएको हुँदा सो मेरो विरूद्ध प्रमाण लाग्न सक्दैन । पर्खाल लगाउन इजाजत माग्दा जग्गाको कि.नं.र ४ किल्ला समेत उल्लेख छैन । बहालमा बसेको कारणले स्वामित्व प्राप्त हुनसक्दैन भनी र विपक्ष वादीहरूको तर्फबाट विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले विवादको घरमा मेरो पक्ष बसी आएको छ । ७ नं. फाँटवारी दिएको तथा नगरपञ्चायतमा कर पनि मेरो पक्षले नै तिरेको छ । नक्सा पास गराई मेरो पक्षबाटै पर्खाल समेत बनाइएको छ । यदि बहालमा बसेको भए लिखत हुनुपर्ने हो सोको समेत अभाव छ भनी बहस प्रस्तुत गर्नुभयो ।
११. विद्वान कानुन व्यवसायीहरूको बहस सुनी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव बेमनासिव के रहेछ भनी विचार गर्दा मिति २०२४।११।२६ गते वादीहरूले जि.स.प्र.जगदर मौजे राजविराज न.पं.अन्तर्गत ७ नं. वार्डमा हाम्रो भएको पक्की दुई तले घर एरिया उत्तर र दक्षिण दुई तर्फ ३३७।। फुट पूर्व पश्चिम दुवैतर्फ २०२।। समेत जम्मा १०८० पर्खाल लगाउन नगरपञ्चायत कार्यालय राजविराजमा अनुमति पाउँ भनी वादीहरूले निवेदन गरेकोमा राजविराज नगरपञ्चायतबाट ०२५।१।१६ मा पर्खाल बनाउन पाउने प्रमाणपत्र दिएको र उक्त विवादको घर जग्गा सा.कि.नं.४४ र ४५ भन्ने उल्लेख भएको लिखत पारित मुद्दा संलग्न राजीनामा लिखतको नक्कलबाट देखिन आएको र फिरादीहरूले उक्त इजाजतपत्र अरू नै घरको कम्पाउण्ड लगाउन स्वीकृति पाएको भन्ने प्रतिवादीहरूले तथ्ययुक्त सबूत पेश गर्नसकेको देखिँदैन । सगरमाथा अञ्चलाधिशले रु.८००। मा रेण्ट कमिटीका निर्णय अनुसार मिति ०२६।९।१ गतेमै उक्त विवादको घर कम्पाउण्डको जग्गालाई कबुलीयत गरी लिई भोग गरेको र सर्भे नाप हुँदा फिल्डबुकको कैफियत महलमा फिरादी मध्येको मेनारजंगको नाउँमा जनिएको समेत प्रतिवादीले कानुनको म्याद भित्र कुनै उजूर बाजुर गरेको देखिँदैन । साथै दावीको जग्गा वादीहरूको धेरै अघि देखि भोगचलन भइरहेको देखिन आएको र क्षेत्रीय अदालतको फैसलाको बुँदा प्रमाणहरूका आधारमा समेत वादी दावी बमोजिम फैसला बदर हुने ठहर्याएको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिवै देखिँदा सदर ठहर्छ । कोर्टफी दाखिल भई पुनरावेदन दर्ता भएको देखिँदा केही गर्नुपरेन । नियमानुसार गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४० साल पौष २० गते रोज ४ शुभम् ।