निर्णय नं. १७४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १७४७ ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रिट नं. १७१६
आदेश भएको मिति : २०४०।९।१९।३ मा
निवेदक : जिल्ला कपिलवस्तु सिसवा गा.पं.वडा नं.१ बस्ने राम साहरत कुर्मी
विरूद्ध
विपक्षी : ऐ.कजरहवा गा.पं.वडा नं.९ बस्ने किसोरी नाउसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) जग्गावाला बाहेक अन्य व्यक्तिबाट जग्गा कमाउन लिने मोही हुन नसक्ने ।
(प्रकरण नं. ९)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
आदेश
न्या.धनेन्द्र्रबहादुर सिंह
१. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : प्रतिरक्षीले जि.कपिलवस्तु कजरहवा गा.पं.वडा नं.९ कि.नं.१३८ को २–१०–५ धुरको जग्गामा मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदन दिनुभयो दावीको जग्गा ८८ सालको नापीमा उखडा दर्ता भई ०२१ सालमा फाराम भरी जिमिदार द्रोणबहादुर क्षेत्री विरोधी भै.स.अ.बाट मेरो उखडा ठहरी फैसला भएको र जग्गा खिचोला मुद्दा चल्दा अन्तिम निर्णय भई जग्गा चलन चलाई चलन पूर्जि समेत पाइसकेको छ । ४ नं.जो.अ.निस्सा जग्गाधनी द्रोणबहादुर भएकोलाई हतियार बनाई झुठ्ठा उजूर दिएको हो भन्ने समेत मेरो प्रतिवाद परेकोमा विपक्षीले जो.अ.नि.बदर गराएको कुनै दावी लिन नसकेकोले ३ नं. मोहीको प्रमाणपत्र निवेदकलाई दिने ठहर्छ भनी प्रत्यर्थी विपक्षी भूमिसुधार कार्यालयले ०४०।१।२० मा निर्णय भएको रहेछ ।
३. उल्लेखित जग्गा उखडा क.फाराम अन्तर्गतको हो भन्ने कुरा खजहनी मालका ०१०।४।२८ को निर्णयबाट स्थापित छ सो जग्गा जिमिदारी सकार गर्ने द्रोणबहादुरले उखडा फाराममा विरोध गरेकोमा स.अ.डिभिजनबेञ्चबाट ०२८।९।१४ मा उखडा ठहर्याएको सदर भई फैसला भयो मोहीको नाता देखाई प्रतिरक्षी समेतले खिचोलातर्फ मेरो फिराद पर्दा खिचोला हुने ठहर्याई लुम्बिनी अञ्चल अदालतबाट ०३४।३।१ मा फैसला भयो । हाल सर्भे नापी कायम हुनआएको जग्गा चलन चलाई पाउँ भनी प्रतिरक्षी समेत उपर फिराद दायर गर्दा मैले चलन पाउने ठहर्छ भनी कपिलवस्तु जि.अ.को इन्साफ सदर गरी लुम्विनी अञ्चल अदालतबाट ०३८।७।५ मा फैसला भइरहेकोबाट मोही हक भएको जग्गा नभई उखडा जग्गा रहेको देखिँदा देखिँदै मोहीको प्रमाणपत्र दिन गरेको निर्णय त्रुटिपूर्ण छ । उखडामा जग्गा पाउने किसानले भू.सं.ऐनका दफा २५(२) अन्तर्गत मोहियानी जोत्न नदिएसम्म मोही कायम हुनसक्तैन अतः ऐनको दफा २(ख) ३।५ र भू.सं.ऐनका दफा २५(१) २५(२) ३४(१) अ.बं.१८४(क) १८४, ८९ र प्रमाण ऐनको दफा ५४ को प्रत्यक्ष त्रुटिपूर्ण हुँदा उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश वा पूर्जिद्वारा भू.सु.अ.कपिलवस्तुको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नुभन्ने समेतको सर्वोच्च अदालत सिङलबेञ्चको ०४०।२।१५ को आदेश ।
५. मैले जग्गाको १ नं. भरी २ नं. प्रकाशित भई ४ नं. प्राप्त गरेको छु २ नं. प्रकाशितमा उजूर नगरी म्याद गुमाई बसेपछि रिट दिने हकदैया छैन । त्यसकारण २ नं. प्रमाणपत्र दिन निर्णय बदर हुन नसक्ने भएको रिट निवेदन खारेज गरी पाउन अनुरोध छ भन्ने समेत किशोरी नाउको लिखितजवाफ ।
६. २ नं.अनुसूची उपर उजूर नभई ४ नं.जो.अ.नि.कायम भई सो ४ नं.जो.अ.नि.को आधारमा ३ नं. मोही प्रमाणपत्र दिने गरी भएको ०४०।१।२० का निर्णय न्यायसंगत हुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेतको भूमिसुधार अधिकारी कपिलवस्तुको लिखितजवाफ ।
७. निवेदकतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री कमलनारायण दासले विवादित जग्गा रिट निवेदकले उखडामा जोतेको ठहरी फैसला भई यही मोहीहरूले खिचोला गरेको मुद्दा परी जिती निवेदकको हक भई चलन मुद्दा पर्दा चलन पाउने समेत भई जितेको फैसलामा समेत असर पर्ने गरी मोही कायम गरेको निर्णय त्रुटिपूर्ण भई बदरभागी छ म समेत असर पर्ने गरी मोही कायम गरेको निर्णय त्रुटिपूर्ण भई बदरभागी छ भन्ने समेत प्रत्यर्थीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसादले १ नं. भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि.प्राप्त मोही हो । २ नं.अनुसूची उपर उजूर परेको छैन । प्रत्यर्थीलाई मोही कायम गरेकोमा त्रुटि छैन रिट खारेज हुनुपर्छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले सबूत प्रमाणको मूल्याड्ढन गरी गरेको निर्णयमा कानुनको त्रुटि छैन रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभएको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी भूमिसुधार कार्यालय कपिलवस्तुले मोही कायमको जग्गामा जिमिदार द्रोणबहादुरले रिट निवेदक उपर दिएको उखडा जग्गा मुद्दामा उखडा ठहरी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०२८।९।१४ मा यही रिट निवेदकले बनारसी काहार समेत उपर जग्गा खिचोला मुद्दा दिएकोमा प्रतिवादीहरूले खिचोला गरेको ठहराएको इन्साफ सदर भई लुम्विनी अञ्चल अदालतबाट ०३४।३।१ मा सोही जग्गा चलन चलाई पाउँ भनी हाल नापीको कि.नं.समेत उल्लेख गरी रिट निवेदकले निज बनारसी कहार समेत उपर दिएको मुद्दामा चलन चलाई पाउने ठहराएको कपिलवस्तु जि.अ.का इन्साफ मनासिव गरी २०३८।७।५ मा लुम्विनी अञ्चल अदालतबाट फैसला भई रिट निवेदकले ०३९।३।२ मा कपिलवस्तु जि.अ.बाट विवादित जग्गा समेतको चलन पूर्जि समेत पाइसकेको पेश गरेको नक्कलबाट देखिन्छ ।
९. यसरी उखडा मुद्दा चल्दा नै प्रत्यर्थीले मोहीमा कमाएको भन्ने प्रश्न उपस्थित गरेकोमा उखडा नै कायम हुने गरी सो फैसलाहरूबाट निर्णय भइराखेको पाइन्छ । रिट निवेदकको उखडा कायम जग्गालाई अर्कै व्यक्तिबाट मोहीमा कमाउन लिएको भनी दावी गर्न मिल्ने देखिँदैन, प्रत्यर्थी भूमिसुधार कार्यालय कपिलवस्तु समक्ष रिट निवेदकले उखडा ठहरी निर्णय भएको भन्ने प्रतिवाद गरेपछि सो निर्णयहरूलाई असर पर्ने गरी प्रत्यर्थी भूमिसुधार कार्यालय कपिलवस्तुले निर्णय गर्न मिल्ने कुरा होइन । अदालतको निर्णयहरूबाट उखडा ठहरे पछि सो उखडा जग्गा कमाउने व्यक्ति उखडा सम्बन्धी ऐन, २०२१ को दफा ३ ले जग्गाधनी हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा जग्गावालाबाट कुनै शर्तमा जग्गा कमाउन लिने व्यक्ति मोही हुन्छ भन्ने लेखिएको छ। रिट निवेदकबाट जग्गा कमाउन लिएको भन्ने प्रत्यर्थी भनाई देखिँदैन । जग्गावाला रिट निवेदक बाहेक अन्य व्यक्तिबाट जग्गा कमाउन लिने मोही हुनसक्दैन यस स्थितिमा प्रत्यर्थी किशोरी नाउलाई मोही कायम गरी ३ नं. मोहीको प्रमाणपत्र बनाई दिने गरेको प्रत्यर्थी भू.सु.का.कपिलवस्तुको मिति ०४०।१।२० को निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१०. अतः उपरोक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय कपिलवस्तुको मिति २०४०।१।२० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४० साल पौष १९ गते रोज ३ शुभम् ।