शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७४८    ने.का.प. २०४० अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डरी

सम्वत् २०३९ सालको रिट नं. १२४३

आदेश भएको मिति : २०४०।९।५।६ मा

निवेदक : जि.सप्तरी विसहरीया गा.पं.वडा नं.४ बस्ने गीतादेवी वैश्यनी

विरूद्ध

विपक्षी : ऐ.वडा नं.३ बस्ने गंगाई यादवसमेत

विषय : परमादेशयुक्त उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१)     जग्गाधनी बाहेक अन्य व्यक्तिको कबुलीयतको आधारमा प्रत्यर्थीलाई भू.सु.अधिकारीले मोही कायम गरेको निर्णय नै त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने । 

(प्रकरण नं. ९)

आदेश

न्या.धनेन्द्र्रबहादुर सिंह

१.     ०३४।८।२३ र ०३९।९।७ गतेको भू.सु.अधिकारीले सप्तरीको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा व्यहोरा यसप्रकार रहेछ ।

२.    जि.सप्तरी विसहरिया गा.पं.वार्ड नं.८क. मा नक्सा भई कि.नं.१८६ को ०१३१० क्षेत्रफल भएको जग्गा मेरा नाउँमा ०२७।१०।२५ मा सर्भे गराई ०२८।८।१५ मा दर्ता प्रमाण पूर्जा पाई भोग तिरो गर्दैआएकोमा गणेशलालको राजीनामा लेखाई गंगाई यादवको दर्ता भनेको गोपीलाल महेश्वरीले मेरा नाउँबाट ०३१।१२।८ मा भू.प्र.का.बाट निर्णय गराई दा.खा. गराई लिएउपर मेरो पुनरावेदन परी सो बदर भई हक बेहकमा गोपीलालको नालेस परी गोपीलालको हक कायम नभई मेरो कायम भएको हो उक्त जग्गामा गोपीलालले आफ्नो हक नहुँदै गंगाई यादवलाई राजीनामा गरी दिएको कुरामा जग्गामा हात हाल्न आएपछि थाहा भएकोले मैले नालेस गरी निजले जग्गा खिचोला समेत गरेको ठहरी लिखत बदर हुने निर्णय भएको हो । यी मुद्दा चल्दाचल्दैको अवस्थामा मेरो हक मेटाउने उद्देश्यले ०३२।४।१३ भन्दा अघि ०३२।२।१० कै मिति पारी गंगाई यादवले रामअधिन यादवलाई जग्गामा मोहियानी लगाउन कबुलीयत भर्पाई खडा गरी गराई भू.प्र.का.मा निवेदन गरी मोहियानी हक कायम हुने ठहर्‍याई भू.प्र.का.बाट निर्णय गराएको कुरा ०३६।१।५ मा नक्कल लिई थाहा पाएपछि बदर गरिपाउँ भनी भू.सु.का.मा नालेस गरे भने अर्कातिर त्यस्तो जालसाजी गरे उपर जि.अ.मा नालेस गरी जालसाजी ठहर्‍याई अन्तिम फैसला भएको छ । भू.सु.अधिकारीज्यूले भने उही ०३४।८।२३ को मोही कायम हुने निर्णय बदर नभएसम्म बदर गर्न नमिल्ने भनी ०३९।९।७ मा निर्णय गर्नुभयो ।

३.    हक प्राप्त जग्गावालाको स्वीकृति बिना मोही ठहर्‍याएको उक्त निर्णयबाट भू.सं.ऐनको दफा २५(१) को प्रतिकूल भएको छ । यस्तै सो निर्णयमा जग्गा खिचोला दर्ता लिखत बदर मुद्दाको निर्णय जि.का.बाट जग्गा नामसारी मुद्दामा भएको निर्णय जालसाजी मुद्दामा भएको निर्णय जस्ता अकाट्य प्रमाणको वास्ता नगरी मेरो उजूरी खारेज गरिएको छ । अधिकारी ज्यूको ०३९।९।७ को निर्णय अ.बं.८५ प्रतिकूल छ । मेरो उजूरी अ.बं.८६ अन्तर्गत रहेको हुँदा अ.बं.८५ अन्तर्गतको हैन र मेरो नालेस दोहरा परेको पनि छैन । ०३४।८।२३ को निर्णय गर्दा म कुनै पनि पक्ष थिइँन । जग्गाधनी बाहेक अन्य व्यक्तिले कबुलीयत भर्पाई दिँदैमा मोहियनी कायम हुननसक्ने भन्ने नजीर नै छ । अतःउक्त ०३४।८।२३ को निर्णय कायम गरी ०३९।९।७ मा विपक्षी भू.सु.अ.बाट भएको निर्णय बदर गरिपाउँ भन्ने समेतको मिति २०३९।१०।१९ को रिट निवेदन रहेछ ।

४.    यसमा विपक्षीहरूको लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नुभन्ने सिङलबेञ्चको मिति ०३९।१०।२३ को आदेश ।

५.    निवेदकको व्यहोराबाट पनि निवेदकले दावी लिएको जग्गाको मोही हक रामअधिनको कायम हुने ठहर्‍याई यस कार्यालयबाट मिति ०३४।८।२३ को निर्णय भएकोमा त्यो निर्णय उपर रिट निवेदन गर्नुपर्नेमा सो नगरी एकपटक निर्णय भइसकेको कार्यालयमा सोही कुरामा नै कारवाही चलाएकोले आफुले गरेको निर्णय आफैंले बदर गर्ने कानुनी अधिकार यस कार्यालयलाई नभएकाले कानुन विपरीत देखी अ.बं.८५ नं.बमोजिम खारेज गरिएको निर्णय कानुनसंगत भएकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्ने विपक्षी भू.सु.अ., भू.सु.अ.का.सप्तरीको लिखितजवाफ रहेछ ।

६.    आदेशको नक्कल सहितिको सूचना बुझी म्याद भित्र लिखितजवाफ नदिई विपक्ष राम अधिन यादव र गंगाई यादवले म्याद गुजारी सकेको ।

७     रिट निवेदकका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता शिवानन्द दास सरसले एकाको जग्गामा अर्कोले मोहियानीको कबुलीयत गरी मोहियानी दिलाउन मिल्ने समेत होइन र मोहियानी हो हैन, कायम रहने नरहने सम्बन्धी निर्णय गर्ने अधिकारक्षेत्र ऐनको दफा ३१(क) ले भू.सु.अ.लाई नै दिएको छ । त्रुटिपूर्ण निर्णय बदर हुनुपर्छ भन्ने समेत र विपक्षी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले आफूले एकपटक निर्णय गरेकापछि सोही विषयमा पुनः निर्णय गर्नु अ.बं.८५ को प्रतिकूल भएबाट रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।

८.    प्रस्तुत विषयमा निवेदकको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन भन्ने कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा गंगाई यादवले राम अधिनलाई कि.नं.१८६ को जग्गाको सम्बन्धमा ०३२।२।१० मा मोहीको कबुलीयत गरी दिएको आधारमा प्रत्यर्थी राम अधिनलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (१) अन्तर्गत मोही कायम हुने भनी ०३४।८।२३ गते भू.सु.अ.बाट निर्णय भएको रहेछ । सो निर्णय बदर गरिपाउँ भनी निवेदकले भूमिसुधार अधिकारीकहाँ दिएको उजूरी भू.सु.अ.ले ०३९।९।७ मा खारेज गरी निर्णय गरेको पाइन्छ । सो दुवै फैसला त्रुटिपूर्ण छ भनी प्रस्तुत रिट निवेदन पर्नआएको देखिन्छ । मिसिल सामेल रहेको ०३८ साल भाद्र २९ गतेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलाको नक्कलबाट समेत गंगाई यो जग्गाको जग्गाधनी भएको कुरा देखिँदैन मोहियानीको कबुलीयत सम्बन्धमा पनि जालसाजी मुद्दा परी मिति ०३९।१।२४ को सप्तरी जिल्ला अदालतको निर्णयबाट सो कबुलीयत जालासाजी ठहर भएको देखिन्छ । भूमिसम्बन्धी ऐनको दफा २(ख) मा जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन लिने व्यक्ति मोही ठहर्छ भन्ने उल्लेख छ । सो बमोजिम मोही कायम हुन जग्गावालाबाट जग्गा मोहियानीमा कमाउन लिएको हुन पर्‍यो । तर भूमिसुधार अधिकारीले गंगाईलाई जग्गाधनी कायम गरी निजबाट कमाउन लिएको नाताले राम अधिनलाई मोही कायम गरेकोमा उपरोक्त अदालतका फैसलाहरूबाट गंगाई जग्गाधनी हुनआएको देखिँदैन । अतः जग्गाधनी बाहेक अन्य व्यक्तिको कबुलीयतको आधारमा प्रत्यर्थी राम अधिनलाई ०३४।८।२३ गते भू.सु.अधिकारीले मोही कायम गरेको निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । सो निर्णय नै बदर भइसकेकोले अरू विचार गर्नुपर्ने अवस्था रहेन । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४० साल पौष ५ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु