निर्णय नं. ८७२८ - लागू औषध

ने.का.प. २०६८, अङ्क १२
निर्णय नं. ८७२८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की
फौजदारी पु. नं.०६६–CR–०२०५,०२६२, ०३०१
फैसला मितिः २०६८।३।२८।३
मुद्दाः– लागू औषध (खैरो हेरोइन) ।
पुनरावेदक प्रतिवादीः झापा जिल्ला, लखनपुर गा.वि.स., वडा नं. ३ घर भै काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ३५ बस्ने हाल जिल्ला कारागार कार्यालय, सदरखोर, डिल्लीबजार थुनामा रहेको शेरबहादुर थापा
विरूद्ध
प्रत्यर्थी वादीः प्र.नि.किरणजंग थापासमेतको प्रतिवेदनले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला, बसेरी गा.वि.स., वडा नं. २, मंसिरे स्थायी घर भई काठमाडौँ जिल्ला, फुटुङ गा.वि.स., वडा नं. ९, टुसाल बस्ने हाल कारागार कार्यालय (सदरखोर) डिल्लीबजार, काठमाडौँमा बन्दी जीवन बिताइरहेको रामबहादुर लामा घले
विरूद्ध
प्रत्यर्थी वादीः प्र.नि.किरणजंग थापासमेतको प्रतिवेदनले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला, गुम्दी गा.वि.स,. वडा नं. ४ घर भई हाल जिल्ला प्रशासन कार्यालय, कारागार शाखा, काठमाडौँअन्तर्गत सदरखोर डिल्लीबजारमा थुनामा रहेको माहिला भन्ने मिलन गुरुङ्ग
विरूद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
शुरु फैसला गर्ने :–
मा.जि.न्या.श्री शिवनारायण यादव
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री मोहनप्रसाद घिमिरे
मा.न्या.श्री दिनेशकुमार कार्की
§ ठूलो सजायबाट बच्ने उद्देश्यले अपुष्ट जिकीर लिनु नै कसूर र सजाय परिवर्तन गर्ने आधार हुन नसक्ने ।
(प्रकरण नं.५)
§ फरक स्थानमा बसोबास गर्ने र वारदात समयमा सँगसाथमा नभएका साक्षीहरूको अनुमानमा आधारित बकपत्र तर्कसंगत नहुने ।
§ अभियोग दावी समर्थित प्रमाण रहेको र सो प्रमाण अन्यथा भन्ने पुष्टि हुन नसकेको अवस्थामा अपुष्ट रुपमा इन्कारी बयान गर्नु मात्र कसूरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने ।
(प्रकरण नं.८)
§ लागू औषधको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट मात्र लागू औषध बरामद हुनु र अन्य सँगसाथका व्यक्तिबाट बरामद नहुनुले खास असर नपार्ने ।
§ लागू औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागू औषध बरामद भएको छ, निजसँग सो लागू औषधको कारोवार गर्न आफू नहिँडेको वा निजको समूहमा सामेल नभएको भन्ने तथ्य स्पष्ट रुपमा पुष्टि नभएसम्म समूहगत रुपमा पक्राउ परेको देखिए पछि प्रतिवादीहरू मध्ये कसैको सो लागू औषधको कारोवार गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिरहनु नपर्ने ।
§ लागू औषध छ भन्ने थाहा पाई लागू औषध बोक्नेसँग वा निजको समूहसँग सोको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट लागू औषध बरामद नभएकै आधारमा सिर्जित दायित्वबाट उन्मुक्ति पाउने वा लागू औषध बरामद नभएको भन्ने आधारमा दायित्वमा भिन्नता नहुने ।
(प्रकरण नं.९)
§ लागू औषध नै नभएको अवस्थामा पनि लागू औषध हो भनी विश्वासमा पारी अन्य पदार्थको कारोवार गर्नेलाई समेत अपराध गरेवापत हुने सजायको आधा सजाय हुने लागू औषध ऐन, २०३३ को दफा १७क मा व्यवस्था भैरहेको अवस्थामा लागू औषध हेरोइन भन्ने पुष्टि भएको अवस्थामा हेरोइनको अगाडि खैरो भन्ने शब्द उल्लेख गर्न छूट हुँदैमा तात्विक असर नपर्ने ।
(प्रकरण नं.१२)
पुनरावेदक तर्फबाटः विद्वान वैतनिक अधिवक्ता बविता उप्रेती, विद्वान अधिवक्ता लवकुमार मैनाली, माधव बास्कोटा, सुरज अधिकारी र मेजर थापा
प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३, ४(घ) र (च), १४(१) (छ),र (२), १७
फैसला
न्या.दामोरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
प्रतिवादी शेरबहादुर थापा समेतले अवैध लागू औषध ब्राउन सुगरको कारोवार गर्दछन् भन्ने प्राप्त सूचनाको आधारमा खोज तलास गर्दै जाने क्रममा शेरबहादुर थापा, मिलन गुरुङ्ग, रामबहादुर लामा घलेलाई ३७ ग्राम ब्राउन सुगर र सो तौल गर्ने सानो तराजुसहित प्रक्राउ गरी बरामदी मुचुल्कासहित दाखिल गरेका छौं, कानूनबमोजिम गरिपाऊँ भन्ने प्र.नि.किरणजंग थापा समेतको प्रतिवेदन ।
रामबहादुर घले र शेरबहादुर थापाको साथमा कुनै अपराधजन्य चीजवस्तु फेला नपरे तापनि निजहरूसँग बसेका मिलन गुरुङ्गको दायाँ हातमा बोकेको कालो प्लाष्टिकको पोकाभित्र सेतो कागजमा बेरिएको अवस्थामा सानो स्टील तराजु र सेतो प्लाष्टिकको मुखतर्फ रातो किनारा भएको सानो थैलीमा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको र सो पदार्थ प्लाष्टिकसहित तौल गर्दा ३७ ग्राम भएको, लागू औषध हेरोइनलाई प्लाष्टिकबाट हटाई तौल गर्दा ३४ ग्राम ३०० मिलिग्राम भएको भन्ने मुचुल्का ।
बैदेशिक रोजगारको सिलसिलामा विदेशमा जाने भनी २ वर्ष अगाडिदेखि रू.१,००,०००।– लिई काठमाडौँ आएको र शेरबहादुर थापासँग चिनाजानी भयो । निजले रोजगारको लागि मानिस जर्मन पठाउने भन्ने थाहा पाई तत्काल एक लाख चाहिन्छ भनेकोले शेरबहादुर थापालाई एक लाख रूपैयाँ दिएँ । निजले विदेश पठाउन नसक्दा पटक–पटक मैले दिएको रूपैयाँ माग्दा रू.५०,०००।– फिर्ता दिएको र अन्य रूपैयाँ नदिई मानिस भागी हिँडेको थियो । यही २०६२।५।२० गते निजलाई भेटी रूपैयाँ माग्दा मसँग हेरोइन छ, प्रतिग्राम ७, ८ सय पर्दछ । त्यही बेची तपाईँको रूपैयाँ असूल गर्नुहोस् भनी बालाजु पुल नजिक भेट गरौंला भनेकोले अर्को दिन भेट गर्दा ४० ग्राम छ, २८ हजार पर्दछ भनी शेरबहादुरले दियो । सो हेरोइन रामबहादुर घलेलाई बिक्री गरिदेऊ भन्दा एकैचोटी हुन सक्दैन, १।१ ग्राम बिक्री गरी दिउँला, प्रति ग्रामको रू.६००।– ले बिक्री हुन्छ भनी भनेकोले सोहीअनुसार बिक्री गर्ने सहमति भै रामबहादुर घलेलाई दिएँ । दुई तीन दिनपछि एक ग्राम बिक्री भयो भनी रू.६००।– दिएका थिए । ठमेलको दीपक मल्ल भन्ने व्यक्तिले स्याम्पुल स्वरूप १ ग्राम लगेको र अरू पछि लिन आउँछ भनेकोले शेरबहादुरले ४० ग्राम छ भनेकोमा निजकै सामुन्नेमा रामबहादुर घले र मसमेत बसी खैरो हेरोइन बिक्री गर्ने कुराकानी गरिरहेको अवस्थामा राति गाडीमा स्याम्पुल लैजाने दिपक मल्लसहित केरकार शाखाका प्रहरी आई ३७ ग्राम हेरोइनसहित तराजु बरामद गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी मिलन गुरुङ्गले मौकामा गरेको बयान कागज ।
बरामदी लागू औषध परीक्षणको लागि प्रहरी वैज्ञानिक प्रयोगशालामा पठाएकोमा हेरोइन पाइएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको ।
मिलन गुरुङ्गबाट रू.१,००,०००।– लिएको ठीक हो । सोमध्ये १७ हजार जति निजलाई दिन बाँकी छ । मैले हेरोइनको कारोवार गरेको छैन । प्रहरीले कुटपीट गरी डरत्रासमा पारी आफैँले तयार गरेको कागजमा मलाई जवर्जस्ती सहिछाप गराएका हुन् । मैले निजलाई ४० हजारमा बिक्री गरेको भन्ने कुरा सत्य होइन । निजको बाँकी पैसा नदिएको कारणबाट बरामद भएको खैरो हेरोइन मैले बिक्री गरेको भनी बयान गरेको हुनु पर्दछ भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर थापाले मौकामा गरेको बयान कागज ।
पक्राउ पर्नुभन्दा १० दिन अगाडि मिलन गुरुङ्गले मसँग खैरो हेरोइन छ, बिक्री गर्नु पर्यो, सबै बिक्री भए चित्त बुझाई दिउँला भनेकोले आर्थिक प्रलोभनमा परी दीपक मल्ल भन्ने व्यक्तिसँग सम्पर्क गरी पहिला स्याम्पुल स्वरूप १ ग्राम रू.६३२। मा बिक्री गरी दिएको हुँ । जसमध्ये रू.६००।– मिलन गुरुङ्गलाई दिएँ रू.३२। मैले खाई मासें । मिति २०६२।५।३० गते मिलन गुरुङ्ग खैरो हेरोइन र तराजु लिई बसेको अवस्थामा पक्राउ परेको हो भन्ने समेत व्यहोराको प्र.रामबहादुर लामा घलेको अनुसन्धानको क्रममा गरेको बयान कागज ।
मिति २०६२।५।३० गते काम विशेषले चक्रपथ गएको अवस्थामा सादा पोसाकका प्रहरी कर्मचारीहरूले मिलन गुरुङ्गको साथबाट लागू औषध खैरो हेरोइन ३७ ग्राम र तौल गर्ने तराजु फेला पारेको देखेको हुँ । निजको साथमा अन्य २ जना पछि नाम थर थाहा भएको शेरबहादुर थापा र रामबहादुर घले भन्ने व्यक्ति पनि थिए । निजहरूलाई प्रहरीले नियन्त्रणमा लिई मुचुल्का लेख्दै थिएं भन्ने समेत व्यहोराको गोपाल विष्ट र लोकनाथ खतिवडाले मौकामा गरेको अलग–अलग व्यहोराको कागज ।
अनुसन्धानको क्रममा संकलित प्रहरी प्रतिवेदनसहितको बरामदी मुचुल्का, पक्राउमा परेका प्रतिवादीहरूले मौकामा गरेको बयान कागज, परीक्षण प्रतिवेदन, प्रत्यक्षदर्शी गोपाल बिष्ट समेतले मौकामा लेखाई दिएको कागज समेतका मिसिल संलग्न आधार प्रमाणबाट विरूद्ध खण्डका प्रतिवादीहरू मिलन गुरुङ्ग, काले भन्ने शेरबहादुर थापा, रामबहादुर घले लामा समेतले लागू औषध खैरो हेरोइन बिक्रीसमेतको लागि आफ्नो साथमा राखी खरीद गर्ने ग्राहकको प्रतिक्षामा रहेको अवस्थामा दशी सबूदसहित पक्राउ परेकोबाट निजहरूको उक्त कार्य लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ द्वारा परिभाषित एवं ऐ. दफा ४(घ) र (च) द्वारा निषेधित कार्य गरेको पुष्टि हुँदा सो कसूर अपराधमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत व्यहोराको अभियोगपत्र ।
म ६।७ महिना अगाडिदेखि लागू औषध सेवन गर्थें । त्यही क्रममा मिति २०६२।५।२८ गते रामबहादुर लामाको घर छेउमा पक्राउ परेको हुँ । लागू औषध शेरबहादुर थापाकोबाट मैले ल्याई रामबहादुरकहाँ मोलतोल गर्न गएको बेला पक्राउ परेको हुँ । मसँग १५ ग्राम मात्र थियो, ढक तराजु थिएन । मलाई पक्राउ गरेको बेला शेरबहादुर थिएन । मैले लागू औषध कारोवार गर्ने गरेको छैन । सेवन गरेकोमा सजाय हुनपर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी मिलन गुरुङ्गले अदालतमा गरेको बयान ।
मिति २०६२।५।२९ गतेतिर आफ्नै घरमा सुतिरहेको बेलामा मलाई काले थापा भन्ने तैं होस्, सोधपुछ गर्नुछ भनी ल्याई पिटियो । मैले प्रतिवादीहरूलाई भेटेको हिरासतमा हो । म उक्त वारदातसँग सम्बन्धित छैन । मलाई केही थाहा छैन । मैले मिलन गुरुङ्गलाई जर्मन पठाई दिन्छु भनी १ लाख लिएको थिएँ । कारणबस पठाउन नसकेपछि पटक–पटक गरी रू.८३ हजार फिर्ता दिई सकेको छु । बाँकी मैले दिनुपर्ने पैसा दिन नसकेको रिसईविले मिलन गुरुङ्गले मेरो नाम पोलेका हुन् । मसँग लागू औषध बरामद समेत भएको छैन । म घरमा सुतिरहेको मानिसलाई ल्याई फसाएको हुँदा मलाई अभियोग माग दावीबमोजिम सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर थापाले अदालतमा गरेको बयान ।
मिति २०६२।५।२८ गते विहान साना छोरासँग हिँडिरहेको बेला प्रहरीले तपाईसँग एकछिन काम छ भनी लगेका हुन् । उक्त वारदातमा म संलग्न छैन । प्रहरीले कुटपीट गरी त्रासमा पारी आफैंले तयार गरेको कागजमा सहिछाप गर्न लगाएका हुन् । मेरो कुनै किसिमको गल्ती नभएकोले अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर घलेले अदालतमा गरेको बयान ।
प्रतिवेदक किरणजंग थापा, प्र.ना.नि. रामबहादुर कार्की, प्र.ह.राजु थापा र विशेषज्ञ प्र.नि.प्रभात ढुंगाना, प्रतिवादी मिलन गुरुङ्गको साक्षी सुब्बा लामा, प्रतिवादी शेरबहादुर थापाको साक्षी देवी अधिकारी र केदार आचार्य, प्रतिवादी रामबहादुर घलेको साक्षी उत्तमराज के.सी.को बकपत्र भै मिसिल सामेल रहेको ।
प्रतिवादी मिलन गुरुङ्गबाट ३७ ग्राम खैरो हेरोइन र तौल गर्ने तराजु बरामद भएको, अन्य प्रतिवादीहरूबाट बरामद नभए पनि तीनैजना सँगसाथ पक्राउ परेको देखिँदा निज मिलन गुरुङ्गले आरोपित कसूर गरेको पुष्टि हुन आएकोले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूर गरेकोमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम १० वर्षकैद र रू.१,००,०००।– (एकलाख) जरीवाना हुने ठहर्छ । प्रतिवादी रामबहादुर लामा घलेले मुख्य अभियुक्तलाई दुरूत्साहन गर्ने कार्य गरेको र प्रतिवादी शेरबहादुर थापाले मतियार भै कार्य गरेको देखिँदा निज प्रतिवादीहरूले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७ बमोजिम कसूर गरेको ठहर्छ । सो कसूरमा निजहरूलाई पाँच वर्ष कैद र रू.५०,०००।– जरीवाना हुने ठहर्छ भन्ने काठमाडौँ जिल्ला अदालतको मिति २०६३।१२।२५ को फैसला ।
विवादित एवं शंकास्पद बरामदी मुचुल्कालाई आधार मानी कसूरदार ठहर गरेको काठमाडौँ जिल्ला अदालतको फैसला बदर गरिपाऊँ भन्ने प्रतिवादी माहिला भन्ने मिलन गुरुङ्गको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीहरू शेरबहादुर थापा र रामबहादुर लामा घलेको हकमा माग दावी परिवर्तन गरी दफा १७ बमोजिम मात्र सजाय ठहर भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको मिति २०६४।४।८ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
म निर्दोष व्यक्तिलाई कसूरदार ठहर गर्ने गरी भएको शुरु काठमाडौँ जिल्ला अदालतको गैरकानूनी तथा हचुवाको भरमा भएको फैसला बदर गरी अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भन्ने प्रतिवादी शेरबहादुर थापाको मिति २०६४।४।२२ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
प्रमाणको यथोचित मूल्याङ्कन नगरी न्यायिक मनको प्रयोग नगरी ५ वर्ष कैद गर्ने गरी शुरु अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी सफाइ दिलाई न्याय पाऊँ भन्ने प्रतिवादी रामबहादुर घलेको मिति २०६४।५।२१ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको स.वा. फौ.पु.नं. १३३, १९९३ र १७२ समेतको मुद्दामा नेपाल सरकारको पुनरावेदन यी प्रतिवादी रामबहादुर घलेलाई झिकाउने आदेश भएको देखिँदा प्रस्तुत मुद्दामा समेत पुनरावेदन सरकारी वकील कार्यालय, पाटनलाई छलफलको लागि झिकाई पेशीको सूचना दिई लगाउका मुद्दाहरू समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६५।११।१ मा भएको आदेश ।
प्रतिवादीले गरेको बयान अनुरूप नै तीनै जनाको रोहवरमा लागू औषध बरामद भएको देखिएबाट प्रतिवादीहरूको कसूर प्रमाणित भैरहेको पाइयो । प्रतिवादीहरूको रोहवरमा भएको बरामदी एवं प्रतिवेदकहरूको अदालतमा भएको बयान एवं प्र. मिलन गुरुङ्ग एवं रामबहादुरको शुरुको साविती बयान समेतको आधार प्रमाणबाट प्रतिवादीहरू समान कसूरका सहभागी देखिँदा शुरुले प्र. रामबहादुर घले र प्र. शेरबहादुर थापालाई घटी सजाय गरेको सम्म मिलेको देखिएन । काठमाडौँ जिल्ला अदालतको मिति २०६३।१२।२५ को फैसला घटी सजाय गरेको हदसम्म केही उल्टी भै प्र. शेरबहादुर थापा र प्र. रामबहादुर घलेलाई पनि लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूरमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम १० वर्ष कैद र रू.१,००,०००।– जरीवाना हुने ठहर्छ । प्र. मिलन गुरुङ्गका हकमा शुरुको फैसला सदर हुन्छ । निज प्रतिवादीहरू एवं प्र. मिलन गुरुङ्गको सजायबाट छुटकारा हुनुपर्छ भन्ने जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।२।४ को फैसला ।
म पुनरावेदकले मिलन गुरुङ्गलाई विदेश जर्मन पठाउन एक लाख लिएकोमा निजलाई रू.८३,०००।– फिर्ता दिई बाँकी रू.१७,०००।– बुझाउन नसकेकाले सोही रिसइविले पोल गरेकै कारण मैले सजाय पाउनु पर्ने होइन । लेनदेन भएको कुरा स्वीकार गरेकोमा अपराध स्वीकार गरेको होइन । अभियोग पुष्टि गर्न सक्ने मेरो विरूद्धको प्रमाण पेश भएको छैन । सहअभियुक्तको पोलको आधारमा मलाई कसूरदार ठहर गर्न मिल्दैन । मिलन गुरुङ्ग, अन्य व्यक्ति र म पुनरावेदक एकै समयमा पक्राउ परेको होइन । बरामदी मुचुल्कामा म पुनरावेदक समेतबाट लागू औषध खैरो हिरोइन बरामद भएको उल्लेख भएको छैन । सहअभियुक्त मिलन गुरुङ्गलाई मैले रकमको सट्टा लागू औषध खैरो हिरोइन उपलब्ध गराएको होइन । प्रतिवादी मिलन गुरुङ्ग र प्रतिवादी रामबहादुर लामा घलेले प्रहरीसमक्ष गरेको बयान समेतले सो कुरा पुष्टि गर्दछ । म निर्दोष व्यक्तिले आफ्नो सफाइ दिने स्थान समेत प्राप्त गर्न नसक्नु र मैले दिएको बयान कागजलाई पुष्टि गर्ने प्रमाणहरू मैले यथेष्ट रुपमा देखाउँदा देखाउँदै गैरकानूनी तवरबाट सहअभियुक्तको पोलको आधारमा मलाई दोषी ठहर गरेको गैरकानूनी भै बदर हुनुपर्नेमा उल्टो कैद र जरीवाना थप गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी शेरबहादुर थापाको कारागार कार्यालय, सदरखोर डिल्लीबजार, काठमाडौँमार्फत् यस अदालतमा परेको पुनरावेदनपत्र ।
कथित अपराधमा मेरो संलग्नता छैन । मुचुल्कामा लेखिएको व्यहोरा झूठा हो । अधिकारप्राप्त अधिकारीसमक्षको बयान झूठा हो । मैले लागू औषधको कारोवार गरेको होइन । मलाई किन अभियोग लगाइयो, थाहा छैन । म माथि लगाएको आरोप शंकामा आधारित छ । कथित बरामदी मुचुल्का मुलुकी ऐन, अदालती बन्दोवस्तको ७२ नं., सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ८ र लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८ बमोजिमको कानूनी प्रक्रिया पूरा गरी भएको छैन । सो मुचुल्कालाई मात्र भर गरी सजाय गर्न मिल्ने होइन । मबाट लागू औषध बरामद भएको छैन । म पुनरावेदकले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान विपक्षीहरूले बनावटी रुपमा खडा गरेका हुन् । मिलन गुरुङ्गको काठमाडौँ जिल्ला अदालतमा भएको बयान झुठा हो । निजबाट तराजु बरामद भएको परिस्थितिमा म कहाँ लागू औषध तौल जोख गर्न आउने प्रश्न आउँदैन । निजले लागू औषध सेवन गर्ने गरी बयान दिएका छन् । सह–अभियुक्तको पोलको आधारमा सजाय गर्न मिल्दैन । वारदात स्थलमा मौकामा म हुँदै नभएको, बिनाकारण जवर्जस्ती पक्राउ गरी झूठा मुद्दामा फसाएको हो । शंका र अनुमानको आधारमा कुनै व्यक्तिसँग कुराकानी गर्दैमा सो अपराधमा संलग्नता छ भन्ने अर्थ लगाइन हुन्न । शुरु काठमाडौँ जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला कानूनसम्मत नभएकोले बदर गरी पुनरावेदकलाई सफाइ दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर लामा घलेको मिति २०६६।८।१० मा यस अदालतमा परेको पुनरावेदनपत्र ।
म प्रतिवादीबाट प्लास्टिक सहित बरामदी मुचुल्कामा उल्लेख गरेको ३७ ग्राम लागू औषध र तौल गर्ने तराजु बरामद भएको छैन । काल्पनिक तथ्य उल्लेख गरी बरामदी मुचुल्का खडा गरेको हो । बरामद गरिएको लागू औषध माहिला भन्ने मिलन गुरुङ्गसहितका प्रतिवादीबाट के कुन ठाँउबाट बरामद गरेको हो, बादीले किटान गर्न सकेको छैन । म प्रतिवादीबाट बरामद १५ ग्राम लागू औषध प्रतिवादीमध्येको शेरबहादुर थापाबाट खरीद गरी रामबहादुर घलेकोमा तौल गर्न जाँदा बरामद गरेको भनी अदालतमा बयान गरेकोमा प्रमाणको रुपमा लिइएको छैन । मैले लागू औषध बिक्री वितरण गर्न खरीद गरी बिक्री वितरण गर्नको लागि लिई हिँडेको होइन । मैले गरेको अपराध कार्यअनुसार सजाय गर्नुपर्नेमा हचुवाको आधारमा दावीबमोजिम सजाय गरिएको छ । अदालतले संकलित प्रमाणको आधारमा कसूर यकीन गर्नुपर्दछ । लागू औषधको परिमाणलाई आधार मानी कसूर यकीन गर्न मिल्दैन । म पुनरावेदकबाट सेवन गर्नको लागि लिएको १५ ग्राम लागू औषध बरामद भएकोले मलाई सेवनमा सजाय गर्नुपर्नेमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ)(च) को कसूर कायम गरी सो ऐनको दफा १४(१)(छ)(२) बमोजिम सजाय गर्ने गरी काठामाडौँ जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरी मलाई हराई गरेको पुनरावेदन अदालतको फैसला बदर गरी प्रस्तुत अभियोगबाट सफाइ दिलाई पाऊँ भन्ने प्रतिवादी माहिला भन्ने मिलन गुरुङ्गको २०६६।८।२३ मा यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी शेरबहादुर थापाले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा समेत आरोपित कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । निजबाट लागू औषध बरामद भएको भन्ने पनि मिसिलबाट देखिँदैन । प्रतिवादी मिलन गुरुङ्गले अदालतमा बयान गर्दा लागू औषध आफूबाट बरामद भएको अवस्थामा प्रतिवादी शेरबहादुर थापा थिएनन् भनी बयान गरेको देखिन्छ । प्रतिवादी शेरबहादुर थापा र मिलन गुरुङ्गबीच लेनदेन कारोवार भएको र प्रतिवादी शेरबहादुर थापाले निज प्रतिवादी मिलन गुरुङ्गलाई रूपैयाँ बुझाउन बाँकी रहेको भन्ने समेत मिसिलबाट देखिन्छ । यसरी प्रतिवादी शेरबहादुर थापाले रूपैयाँ तिर्न नसकेको प्रतिवादी मिलन गुरुङ्गको भनाइकै भरमा प्रतिवादी शेरबहादुर थापालाई सजाय गरेको पुनरावेदन अदालतको फैसला विचारणीय देखिँदा छलफलका लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।२।१९ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकहरू रामबहादुर थापाको तर्फबाट वैतनिक कानून व्यवसायी विद्वान अधिवक्ता बविता उप्रेतीको, प्रतिवादी शेरबहादुर थापाको तर्फबाट विद्वान अधिवक्ताहरू लभकुमार मैनाली, माधव बास्कोटा र सुरज अधिकारीको, प्रतिवादी मिलन गुरुङ्गको तर्फबाट विद्वान अधिवक्ता मेजर थापा र प्रत्यर्थी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठीको बहस सुनियो ।
प्रतिवादी रामबहादुरको तर्फबाट वैतनिक कानून व्यवसायीले प्रतिवादी रामबहादुरलाई प्रलोभनमा पारेको भन्ने देखिन्छ । निजको पृष्ठभूमि आपराधिक नभएको र निजको साथबाट लागू औषध बरामद भएको पनि छैन । निजले कसूर स्वीकार गरेको पनि छैन । प्रहरीमा बयान गर्दा आर्थिक प्रलोभनमा परी एक ग्राम बेच्नसम्म सहयोग गरेको भन्ने देखिँदा निजलाई सजाय गर्नु परेको खण्डमा पनि मतियारसम्मको सजाय गर्न सकिने हो । निजको हकमा भएको फैसला मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । प्रतिवादी शेरबहादुर थापाको तर्फबाट विद्वान अधिवक्ताहरूले प्रतिवादीलाई मिलन गुरुङ्गले पोलेको आधारमा मुद्दा चलाइएको छ । सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्दैन । पोल गर्ने व्यक्तिको भनाई पनि विरोधाभाषपूर्ण छ । ३७ ग्राम लागू औषधको दावी गरिए पनि प्रतिवादीबाट लागू औषध बरामद भएको छैन । बरामदी मुचुल्का पनि कानूनी रीत पुगेको छैन । बरामद भएको वस्तु खैरो चीज भए पनि हेरोइन होइन भन्ने जाँचबाट पुष्टि हुन्छ । लागू औषध बरामद गर्दा प्रतिवादी मौजूद रहेको भन्ने आधारमा मुद्दा चलाइएको भए पनि बरामद हुँदा शेरबहादुर थिएनन् भनी मिलन गुरुङ्गले बयान गरेका छन् । प्रतिवादी शेरबहादुरबाट तराजु समेत बरामद भएको नहुँदा निज लागू औषध बिक्री गर्न हिँडेको भन्ने नै पुष्टि नभएको अवस्थामा सजाय गरेको मिलेको छैन भन्ने समेत बहस गर्नुभयो ।
त्यस्तै प्रतिवादी माहिला भन्ने मिलन गुरुङ्गको तर्फबाट विद्वान अधिवक्ताले लागू औषध बरामद गर्दा कानूनले तोकेको प्रक्रिया पूरा भएको छैन । प्रतिवादीबाट तराजु बरामद भएको छैन । तराजु बरामद भएको भए भोलिपल्ट जोख्न लानुपर्ने अवस्था आउने थिएन । बरामद भएको लागू औषध १५ ग्राम हो र सो सेवन गर्न लिई हिँडेको अवस्थामा पक्राउ परेको हुँदा प्रतिवादीलाई सजाय गर्नु परे पनि सेवनसम्ममा सजाय गर्नुपर्नेमा बिक्री वितरणमा सजाय गरेको मिलेको छैन भनी बहस गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ताले लागू औषध मुद्दाको घटना बरामदबाट स्थापित हुने भएको हुँदा लागू औषध बरामद गर्दा सम्बन्धित प्रहरी तथा प्रतिवादीहरूलाई रोहवरमा राखिएको छ । बरामद गरेको नदेख्नेलाई रोहवरमा राख्नुको औचित्य हुँदैन । यी प्रतिवादीहरूलाई बिना अपराध राज्यले फसाउनु पर्ने कारण छैन । यी प्रतिवादीहरूलाई लागू औषध बरामद गर्दा कै अवस्थामा पक्राउ गरिएको नभए बरामद गर्दाको अवस्थामा प्रतिवादीहरू कहाँ थिए भन्ने कुरा सप्रमाण पुष्टि गर्नु पर्दछ । प्रतिवादी शेरबहादुर लागू औषध बिक्री वितरणमा संलग्न नभए निज बरामद स्थलमा आउनु पर्ने कारण पनि छैन । तीनैजना प्रतिवादीहरूको अभियोग दावीअनुसारको कसूर अपराधमा समान संलग्नता रहेको हुँदा पुनरावेदन अदालतले सजाय गरेको मिलेको छ भन्ने समेत गर्नुभएको बहस सुनियो ।
दुवै पक्षका तर्फबाट प्रस्तुत भएको बहस सुनी बहसनोट अध्ययन गरी मिसिलबाट देखिएको तथ्यलाई दृष्टिगत गर्दा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा यी तीनैजना पुनरावेदक प्रतिवादीहरू(ले अभियोग दावीबमोजिम कसूर गरेको भनी सजाय गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको छ वा छैन भनी निर्णय दिनुपर्ने देखियो ।
२. यसमा, पुनरावेदक प्रतिवादीहरू मिलन गुरुङ्ग, काले भन्ने शेरबहादुर थापा र रामबहादुर घले (लामा) समेतले लागू औषध खैरो हेरोइन बिक्री समेतको लागि आफ्नो साथमा राखी खरीद गर्ने ग्राहकको प्रतिक्षामा रहेको अवस्थामा लागू औषध तथा नाप्नका लागि प्रयोग हुने तराजुसहित बरामद गरेकोले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ द्वारा परिभाषित एवम् ऐ. दफा ४(घ) र (च) द्वारा निषेधित कार्य गरेको भनी यी तीनैजना पुनरावेदक प्रतिवादीहरू उपर सोही ऐनको दफा १४(१) र (२) बमोजिम सजायको माग गरी अभियोग दायर भएको देखियो । शुरु जिल्ला अदालतले प्रतिवादी मिलन गुरुङ्गले आरोपित कसूर गरेको पुष्टि भएको भनी निजलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(२) बमोजिम १० वर्ष कैद र १ लाख जरीवाना तथा प्रतिवादीहरू रामबहादुर घले र शेरबहादुर थापाले सोही ऐनको दफा १७ बमोजिम कसूर गरेको भनी निजहरू दुवै जनालाई जनही ५ वर्ष कैद र रू.५०,०००।– जरीवाना गरेकोमा पुनरावेदन अदालतले प्रतिवादी मिलन गुरुङ्गको हकमा शुरु फैसला सदर गरी प्रतिवादीहरू रामबहादुर घले र शेरबहादुर थापाको हकमा भएको शुरु फैसला केही उल्टी गरी निजहरूलाई समेत प्रतिवादी मिलन गुरुङ्गलाई सजाय गरिए सरह १० वर्ष कैद र रू.१ लाखका दरले जरीवाना गरेको रहेछ । पुनरावेदन अदालतको उक्त फैसलाउपर प्रतिवादीहरूको अलग–अलग पुनरावेदन परी निर्णयार्थ पेश भएको अवस्था छ ।
३. मिसिल अवलोकन गर्दा, प्रतिवादीहरू रामबहादुर घले, मिलन गुरुङ्ग र शेरबहादुर थापासमेत तीनजना कुराकानी गरी काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित चक्रपथ सडकको पश्चिम किनारा फुटपाथ पसल छेउमा बसिरहेको अवस्थामा पक्राउ गरी निजहरूको शरीर तलासी लिँदा मिलन गुरुङ्गले बोकेको कालो प्लास्टिकको पोकाभित्र सेतो कागजमा बेरिएको अवस्थामा सिक्री चुँडिएको अवस्थाको सानो स्टील तराजु र ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३७ ग्राम बरामद गरिएको भन्ने मिति २०६२।५।३० को बरामदी मुचुल्का देखिन्छ । उक्त बरामदी पदार्थको नमूना झिकी केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालामा परीक्षण गर्न पठाउँदा “भौतिक सबूद नं. १ मा हेरोइन पाइएको छ” भन्ने मिति २०६२।६।१० को परीक्षण प्रतिवेदन रहेछ । उक्त बरामद गरिएको पदार्थ परीक्षण गर्ने विशेषज्ञ प्र.नि. प्रभात ढुंगानाले अदालतमा बकपत्र गर्दा परीक्षण गर्न पठाइएको नमूनामा लागू औषध हेरोइन पाइएको भनी उल्लेख गरेको समेत पाइँदा बरामद गरिएको पदार्थ लागू औषध हेरोइन नै भएको भन्ने तथ्य परीक्षण प्रतिवेदनबाट देखिएको र त्यसलाई परीक्षण गर्ने विशेषज्ञको बकपत्रबाट समर्थन भएको अवस्था देखिन आयो ।
४. पुनरावेदक प्रतिवादीहरूको हकमा विचार गर्दा, प्रतिवादी मिलन गुरुङ्गले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा बरामदी मुचुल्कामा उल्लेख भएबमोजिम ३७ ग्राम खैरो हेरोइन र तौल गर्ने तराजु आफ्नो साथबाट बरामद भएको स्वीकार गर्दै मिति २०६२।५।३० गते विहान ८ बजेको समयमा आफू, शेरबहादुर थापा र रामबहादुर घले काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित फुटपाथमा पसल नजिक बसी खैरो हेरोइन बिक्री गर्ने कुराकानी गरिरहेको अवस्थामा एउटा रातो गाडी आएको र त्यसमा केरकार शाखाका प्रहरी टोली र खैरो हेरोइन खरीद गर्ने भन्ने दीपक मल्ल प्रहरीको सुराकी रहेछ, आफूले बोकेको कालो प्लास्टिकको झोलामा राखी बोकेको ३७ ग्राम खैरो हेरोइन र तौल गर्ने स्टीलको सानो तराजुसहित फेला पारेको भन्ने व्यहोरा उल्लेख भएको पाइयो । निजको अदालतमा भएको बयान हेर्दा लागू औषध शेरबहादुर कहाँबाट आफैँले खानको लागि १५ ग्राम ल्याई रामबहादुर कहाँ तौल गर्न गएको बेला पक्राउ परेको र बालाजुसम्म पुर्याउन शेरबहादुर पनि गएका भनी बयान गरेको देखियो ।
५. यी प्रतिवादीको साथबाट ३७ ग्राम लागू औषधसहित तौल गर्ने तराजु समेत बरामद भएको भन्ने मौकाको बरामदी मुचुल्का देखिएको र सोही परिमाणको लागू औषध र सो जोख्ने तराजु बरामद गरेको भनी बरामद गर्ने प्रहरी कर्मचारीहरू प्र.नि. किरणजंग थापा, प्र.ना.नि.रामबहादुर कार्की र र प्र.ह. राजु थापाको बकपत्रबाट देखिन्छ । आफूले सेवनको लागि १५ ग्राम बोकेको भनी अदालतको बयानमा उल्लेख गरेको अवस्था भए पनि निजको सो बयानलाई समर्थन गर्ने प्रमाणको अभाव देखिएको छ । ठूलो सजायबाट बच्ने उद्देश्यले अपुष्ट जिकीर लिनु नै कसूर र सजाय परिवर्तन गर्ने आधार हुन सक्तैन । निज प्रतिवादीले लागू औषध खैरो हेरोइन आफूबाट बरामद भएको स्वीकार गरिरहेको र बरामदी मुचुल्काबमोजिम बरामद भएको तथ्य बरामद गर्ने प्रतिवेदकहरूको बकपत्र अन्यथा भन्ने देखिन आएको छैन ।
६. पुनरावेदक प्रतिवादी रामबहादुर घलेको मौकाको बयान कागज हेर्दा, मिति २०६२।५।३० गते मिलन गुरुङ्गको साथबाट ३७ ग्राम लागू औषध र स्टीलको सानो तराजु फेला पारी प्रहरीले बरामद गरी मिलन गुरुङ्ग, आफू र शेरबहादुर थापा समेतलाई पक्राउ गरेको हो । उक्त लागू औषध खैरो हेरोइन दीपक मल्ल भन्नेले खरीद गर्छु भनेकाले बिक्री गर्न मिलन गुरुङ्गले बोकेको अवस्थामा दीपक मल्लकै सुराकमा आफू पनि पक्राउ परेको हो । आर्थिक लोभमा परी ठमेल यरियामा बस्ने दीपक मल्ल भन्ने व्यक्तिसँग सम्पर्क गर्दा पहिला स्याम्पल स्वरूप रू.६३२ मा एक ग्राम खरीद गरी बाँकी खरीद गर्न २०६२ साल भाद्र ३० गते आउँछु भनी भनेकाले सोहीअनुसार बिक्री गर्न खैरो हेरोइन र तौल गर्ने तराजु मिलन गुरुङ्गले साथमा राखेको अवस्थामा पक्राउमा परेका हौं भन्ने उल्लेख गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा मौकाको बयान आफूले नगरेको र कसूर अपराधमा संलग्न नरहेको भनी इन्कार गरेको देखियो । तर मौकामा आफूले गरेको बयान स्वेच्छाले नगरेको कुराको समर्थनमा यी प्रतिवादीले प्रमाण पेश गरेको देखिन आएन । यिनै प्रतिवादीबाट सो बरामद भएको लागू औषध आफूले ल्याएको भनी प्रतिवादी मिलन गुरुङ्गले अदालतमा बयानमा लेखाई यी प्रतिवादीको लागू औषधको कारोवारमा संलग्नता रहेको भनी देखाएको अवस्था छ भने प्रतिवादी मिलन गुरुङ्गलाई लागू औषध र तराजुसहित पक्राउ गर्दाकै अवस्थामा यी प्रतिवादीलाई पनि लागू औषध बिक्री गर्ने कुराकानी गरिरहेको अवस्थामा पक्राउ गरेको भन्ने प्रतिवेदकहरूको बकपत्रबाट स्पष्ट हुन आउँछ ।
७. पुनरावेदक प्रतिवादी शेरबहादुर थापाले मौकामा र अदालतमा कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । निजको बयानमा निजले प्रतिवादी मिलन गुरुङ्गलाई विदेश जर्मनी पठाउन भनी निजबाट एक लाख रूपैयाँ लिएकोमा विदेश पठाउन नसकी रू.१६,०००।– फिर्ता दिन बाँकी भएको र पैसा नभएकोले बुझाउन नसक्दा पोलेको भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादी मिलन गुरुङ्गले निज शेरबहादुरबाट रू.५०,०००।– लिन बाँकी भएको र निज कहाँबाट लागू औषध ल्याएको र निज आफूलाई बालाजुसम्म पुर्याउन आएको भनी अदालतमा बयान गरेको अवस्था छ । यी प्रतिवादी समेत सबै प्रतिवादीहरूलाई एकैपटक पक्राउ गरेको र मिलन गुरुङ्गको साथबाट लागू औषध र तराजु बरामद गरेको भन्ने माथि उल्लिखित प्रतिवेदकहरूले अदालतमा बकपत्र गरेको अवस्था छ । आफ्नो इन्कारी बयानलाई समर्थन गराउन यी प्रतिवादीले उपस्थित गराएका साक्षीहरू हेर्दा देवी अधिकारी काठमाडौँ महानगरपालिका वडा नं. ३४ मा बस्ने र अर्का साक्षी केदार आचार्य जोरपाटी गा.वि.स. वडा नं. २ मा बसोबास गर्ने देखिन्छन् । निजहरू दुवैजनाले यी प्रतिवादीको चालचलन आफूहरूलाई थाहा भएसम्म राम्रो भएको र निजले लागू औषधको कारोवार नगरेको भनी बकपत्रमा उल्लेख गरेको देखिन्छ ।
८. यी प्रतिवादी शेरबहादुर थापाले अदालतमा गरेको बयानअनुरूप सुतिरहेको ठाउँबाट पक्राउ गरेको भनी जिकीर लिएको कुरालाई निजका साक्षीहरूको बकपत्रद्वारा समर्थन भएको देखिन आएन । यी प्रतिवादी काठमाडौँ महानगरपालिका वडा नं. ३५ कोटेश्वरमा बसोबास गर्ने गरेको निजको बयानबाट देखिँदा फरक स्थानमा बसोबास गर्ने र वारदात समयमा सँगसाथमा नभएका साक्षीहरूको अनुमानमा आधारित बकपत्र तर्कसंगत देखिन आउँदैन । मौकामा र अदालतमा इन्कारी बयान दिए पनि आफ्नो निर्दोषिताको जिकीरलाई समर्थित गराउने प्रमाण पेश गरेको पाइँदैन । मिसिलबाट अभियोग दावी समर्थित प्रमाण रहेको र सो प्रमाण अन्यथा भन्ने पुष्टि हुन नसकेको अवस्थामा अपुष्ट रुपमा इन्कारी बयान गर्नु मात्र कसूरबाट उन्मुक्ति पाउने आधार बन्न सक्ने हुँदैन ।
९. यी प्रतिवादीहरू तीनैजनालाई समूहगत अवस्थामा पक्राउ गरेको भन्ने प्रतिवेदकहरूको प्रतिवेदन र सो प्रतिवेदनलाई समर्थन गर्दै प्रतिवेदकहरूले बकपत्र गरेको देखिन आउँछ । निज प्रतिवेदकहरूको भनाई व्यहोरा मिथ्या हो भन्ने पुष्टि भएको देखिएको छैन भने अभियोग दावीबमोजिम कसूर नगरेको सम्बन्धमा प्रतिवादीहरूबाट निश्चयात्मक प्रमाण पेश भएको समेत पाइएन । प्रतिवादीहरूमध्ये एकजनाबाट ३७ ग्राम लागू औषध र सो जोख्ने तराजु बरामद भएको र अन्य दुई जना प्रतिवादीहरूलाई पनि सँगै पक्राउ गरेको भन्ने मिसिलबाट देखिन्छ । लागू औषधको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट मात्र लागू औषध बरामद हुनु र अन्य सँगसाथका व्यक्तिबाट बरामद नहुनुले खास असर पार्ने हुँदैन । कानूनबमोजिम लागू औषध प्राप्त गर्न वा राख्न पाउने अवस्था पुष्टि भएमा बाहेक लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा उक्त ऐनबमोजिमको कसूर गरेको मानिने व्यवस्था छ । लागू औषध सम्बन्धी अपराध निरपेक्ष दायित्व अन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागू औषध बरामद भएको छ, निजसँग सो लागू औषधको कारोवार गर्न आफू नहिँडेको वा निजको समूहमा सामेल नभएको भन्ने तथ्य स्पष्ट रुपमा पुष्टि नभएसम्म समूहगत रुपमा पक्राउ परेको देखिएपछि प्रतिवादीहरू मध्ये कसैको सो लागू औषधको कारोवार गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिरहनु पर्ने हुँदैन । लागू औषध छ भन्ने थाहा पाई लागू औषध बोक्नेसँग वा निजको समूहसँग सोको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट लागू औषध बरामद नभएकै आधारमा सिर्जित दायित्वबाट उन्मुक्ति पाउने वा लागू औषध बरामद नभएको भन्ने आधारमा दायित्वमा भिन्नता हुने भन्न मिल्ने हुँदैन । लागू औषध जसबाट बरामद भएको हो, निज मात्र जवाफदेही हुने प्रचलित कानूनमा व्यवस्था नपाईंदा सो कारोवारमा संलग्न रहेका अन्य व्यक्तिहरू पनि समान रुपमा जवाफदेही हुने देखिन्छ ।
१०. पुनरावेदक प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीहरूले बहसमा तथा बहसनोटमा बरामदी मुचुल्का रीतपूर्वक नभएको र बरामद गरिएको वस्तु हेरोइनको सम्बन्धमा मुद्दा नचलाई खैरो हेरोइन सम्बन्धमा मुद्दा चलाई सजाय गरिएको नमिलेको भनी जिकीर लिनु भएको हुँदा त्यसतर्फ पनि विवेचना गर्नुपर्ने देखिन आयो ।
११. बरामदी मुचुल्काको सम्बन्धमा हेर्दा, प्रस्तुत मुद्दा लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत दायर भएको देखिन्छ । मुलुकी ऐन, प्रारम्भिक कथनको महलको ४ नं. बमोजिम विषयगत रुपमा छुट्टाछुट्टै बनेका कानूनमा लेखिए जतिमा सोही कानूनबमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐनबमोजिम गर्नुपर्छ भन्ने उल्लेख भएको देखिन्छ । जसअनुसार लागू औषध कब्जा वा बरामद सम्बन्धमा उक्त ऐनमा कुनै व्यवस्था नभएमा मात्र मुलुकी ऐनको प्रावधान आकर्षित हुने देखिन्छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ८(१) मा सो ऐन अन्तर्गतको कुनै अपराध भइरहेको छ र तुरुन्त केही कारवाही नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायव हुने सम्भावना देखेमा लागू औषध नियन्त्रण अधिकारी वा कम्तिमा प्रहरी सहायक निरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीले सो दफाको देहायमा उल्लिखित अपराधसँग सम्बन्धित लागू औषध र अन्य सामानहरू तथा प्रमाणको लागि काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्ने, अपराध गरेको भनी शंका लागेको जुनसुकै व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तार गर्ने समेतका कामहरू पर्चा खडा गरी गर्न सक्ने देखिन्छ । सोही दफाको उपदफा (२) अनुरूप खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सदस्य वा त्यस ठाउँको एक जना भलाद्मी वा अर्को कुनै सरकारी कार्यालयका एकजना कर्मचारीलाई साक्षी राख्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया समयले भ्याएको अवस्थामा पालना गर्नुपर्ने भनी ऐनले नै स्पष्ट पारेको अवस्था हुँदा समयले नभ्याउने अवस्थामा सो प्रक्रियाको पालना बाध्यात्मक भन्ने देखिन आएन । सो उपदफाको प्रतिबन्धात्मक वाक्यांशअनुसार नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलादमी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहवरमा मुचुल्का तयार गर्ने प्रयास गर्दागस् पनि त्यस्ता व्यक्तिहरू उपलब्ध नभएको उचित आधार भएमा कम्तिमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तीमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहवरमा मुचुल्का तयार गर्न सकिने देखिन्छ । यो कानूनी व्यवस्थाले स्थानीय निकायका प्रतिनिधि वा सरकारी कार्यालयका कर्मचारी वा स्थानीय भलादमी सम्बन्धित स्थानमा उपलब्ध हुन नसकेको अवस्थामा कानूनले तोकेको दर्जा र संख्याका प्रहरी कर्मचारीको रोहवरमा मुचुल्का तयार गर्न नसकिने भन्न मिल्ने भएन । मिसिल संलग्न बरामदी मुचुल्का हेर्दा उक्त मुचुल्कामा प्र.नि. किरणजंग थापा, प्र.ना.नि. रामबहादुर कार्की, प्र.स.नि. दुखन यादव र उमाकान्त अर्याल तथा प्र.ह. राजु थापा संलग्न रहेको र सो अवस्थामा त्यहाँ उपलब्ध भएका देख्ने पाँचजना अन्य व्यक्तिहरू समेत राखिएको पाइन्छ । लागू औषध (नियन्त्रण) ऐनमा उल्लेख भएबमोजिम नै बरामदी मुचुल्का तयार भएको देखिन आएकोले बरामदी मुचुल्का रीतपूर्वक नभएको भन्न मिल्ने भएन ।
१२. पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीले बरामद वस्तु हेरोइन भएको भनिए पनि त्यसमा मुद्दा नचलाई खैरो हेरोइनमा मुद्दा चलाई सजाय गरिएको नमिलेको भनी बहस जिकीर लिएको अवस्था छ । बरामद भएको वस्तुमा हेरोइन पाइएको भन्ने तथ्य परीक्षणबाट देखिएको र सो तथ्यलाई परीक्षण गर्ने विशेषज्ञले बकपत्रबाट पुष्टि गरी दिएको देखिन्छ । हेरोइन तथा खैरो हेरोइनलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा फरक–फरक प्रकृतिको लागू औषध भनी फरक–फरक सजायको व्यवस्था गरिएको समेत पाइँदैन । लागू औषध नै नभएको अवस्थामा पनि लागू औषध हो भनी विश्वासमा पारी अन्य पदार्थको कारोवार गर्नेलाई समेत अपराध गरेवापत हुने सजायको आधा सजाय हुने उक्त ऐनको दफा १७क मा व्यवस्था भैरहेको अवस्थामा लागू औषध हेरोइन भन्ने पुष्टि भएको अवस्थामा हेरोइनको अगाडि खैरो भन्ने शब्द उल्लेख गर्न छूट हुँदैमा तात्विक असर पर्ने अवस्था हुँदैन ।
१३. अतः माथि उल्लेख गरिएबमोजिम पुनरावेदक प्रतिवादीहरू माहिला भन्ने मिलन गुरुङ्ग, रामबहादुर लामा घले र शेरबहादुर थापाको अभियोग दावीबमोजिम अवैध लागू औषधको कारोवारमा समान रुपमा संलग्नता देखिएकोले शुरु काठमाडौँ जिल्ला अदालतले प्रतिवादी मिलन गुरुङ्गलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूरमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम १० वर्ष कैद र रू.एक लाख जरीवाना गरी प्रतिवादी रामबहादुर घले लामा र शेरबहादुर थापालाई सोही ऐनको दफा १७ बमोजिम कसूर गरेको भनी ५ वर्ष कैद र पचास हजार जरीवाना गर्ने गरेको मिति २०६३।१२।२५ को फैसला प्रतिवादी मिलन गुरुङ्गको हकमा सदर गरी अन्य प्रतिवादीहरू रामबहादुर लामा घले र शेरबहादुर थापाको हकमा केही उल्टी गरी निज प्रतिवादीहरूलाई समेत प्रतिवादी मिलन गुरुङ्गलाई सजाय गरिए सरह कसूरदार ठहराई १० वर्ष कैद र रू.एक लाख जरीवाना गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।२।४ को फैसला मिलकै देखिँदा सदर हुन्छ । तीनैजना प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ पुनरावेदक प्रतिवादीहरूलाई दिई मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.भरतबहादुर कार्की
इति संवत् २०६८ साल असार २८ गते रोज ३ शुभम्
इजलास अधिकृतः दीपककुमार दाहाल