निर्णय नं. ८७३२ - जीउ मास्ने बेच्ने

ने.का.प. २०६८, अङ्क १२
निर्णय नं. ८७३२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६३ सालको CR–०४३३, ०४५३, ०४५४
संवत् २०६६ सालको CR–०२१२
फैसला मितिः २०६७।७।१४।१
मुद्दा : जीउ मास्ने बेच्ने ।
पुनरावेदक प्रतिवादीः बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.१ घर भै हाल कारागार कार्यालय बाँकेमा कैदमा रहेको श्याम भन्ने रुपबहादुर क्षेत्री
विरुद्ध
प्रत्यर्थी वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार
पुनरावेदक वादीः बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.११ घर भै हाल कारागार कार्यालय बाँकेमा कैदमा रहेको कमल खड्का
विरुद्ध
प्रत्यर्थी वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीःबाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.११ घर भै हाल कारागार कार्यालय बाँकेमा कैद रहेको सुशील क्षेत्री
विरुद्ध
प्रत्यर्थी वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार
पुनरावेदक वादीः रञ्जना देवकोटा समेतको जाहेरीले नेपाल सरकार
विरुद्ध
पुनरावेदक प्रतिवादीःबाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.११ बस्ने सुशील क्षेत्री समेत
शुरु फैसला गर्ने :
मा.न्या.श्री प्रकाशराम मिश्र
पुनरावेदन फैसला गर्ने :
मा.मु.न्या.श्री कृष्णप्रसाद उपाध्याय
मा.न्या.श्री जागेश्वर सुवेदी
§ मुद्दा हेर्ने न्यायाधीशसमक्ष गरेको प्रमाणित बयानलाई दवाव र प्रभावमा भए गरेको मान्ने हो भने न्याय प्रणाली नै निष्फल हुने अवस्था रहन्छ । मुद्दाको न्याय निरोपण गर्ने न्यायाधीशसमक्ष भएको त्यस्तो प्रमाणित बयान नै स्वतन्त्रपूर्वक नभएको भन्ने अविश्वसनीय कथनलाई स्वीकार गर्न नसकिने ।
§ बकपत्र तत्काल नै हुने नभई समयको अन्तरालपछि मात्र झिकाई गरिने परम्परा रहेको अवस्थामा जाहेरवालाहरू पनि प्रभावमा अन्यथा बकपत्र गर्न सक्ने स्थिति इन्कार गर्न नसकिने ।
(प्रकरण नं.५)
§ जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ विशेष प्रकृतिको ऐन भएकोले पछि जाहेरवाला पीडित Hostile हुन सक्ने महसूस गरी अदालतबाटै पीडितको बयान प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान विद्यायिकाद्वारा राखिएको र सो बमोजिम नै प्रमाणित समेत भएको बयान व्यहोरालाई पछि आएर होइन भनिदिएकै भरमा प्रमाण ग्राह्य नहुने भन्न नहुने ।
§ कसैले पनि न्यायिक प्रक्रियामा सत्य तथ्य कुरा खोली सही निष्कर्षमा पुग्न सहयोग गर्नुपर्ने हुन्छ । अन्यथा अदालत मात्रैले सही तथ्य पत्ता लगाई वास्तविक न्याय गर्न असमर्थ हुन्छ । झूठो कुराको जाहेरी दिने, बयान कागज प्रमाणित गरी दिने अदालतमा एक किसिमले आफ्नो भएको व्यहोरा लेखाई प्रमणित गर्ने गर्न लगाउन अनि साक्षी परीक्षणको प्रक्रियामा अन्यथा व्यहोरा लेखाई सत्य तथ्य नै भ्रमित गर्ने गरी विरोधाभाषपूर्ण कुराहरू राख्न अन्य व्यक्तिहरूको अतिरिक्त स्वयं पीडित भनेका मानिसहरूलाई पनि छूट दिन सकिन्न । राज्य र कानूनका संयन्त्रहरूलाई हलुकासँग आफ्नो स्वार्थमा प्रयोग गर्ने र अरुको हक हितमा प्रतिकूल स्थिति सिर्जना गरी राज्यका उपर अनुचित दायित्व सिर्जना गर्ने कार्य कुनै विन्दूमा पनि सह्य वा ग्राह्य हुन नसक्ने ।
(प्रकरण नं.६)
§ आवश्यक सुरक्षा र समर्थनका अभावमा न्यायिक प्रक्रियामा यथार्थ सहयोग गर्नु जोखिमपूर्ण हुने भै वाध्यतावस आफ्नो सही कुरा पुष्ट्याई गर्न सक्ने गरी बकपत्र गर्न नसकेको समेत स्थित रहिरहेमा आफ्नो पूर्व कथनको विपरीत लाभको लागि अन्यथा बकपत्र गर्न बाध्य हुने स्थिति आउँछ, जुन अपराधीलाई न्यायको प्रक्रियामा ल्याई दण्डित गर्ने र समाजमा न्याय र सुरक्षाको वातावरण सिर्जना गर्ने कुरामा वाधक बन्न सक्छ । त्यस्तो स्थिति गम्भीर स्थिति मान्नुपर्ने ।
(प्रकरण नं.७)
§ पीडितहरूले पछिल्लो समयमा अदालतमा बकपत्र गर्दा दिएको अभिव्यक्ति जे भए पनि सोभन्दा अघि निजहरूको उद्धार गरी गरेको कागज एवं अदालतमा समेत उपस्थित भै प्रमाणित गरी दिएको बयान कागजको मान्यतालाई नै शून्य हुने गरी पछिल्लो समयमा अदालतमा गरेको बकपत्रको अभिव्यक्ति ग्राह्य एवं विश्वसनीय मान्न नसकिने ।
(प्रकरण नं.९)
§ वारदात घटनाको समय अन्तरालपछि कसैलाई सफाइ दिन सहयोग गर्ने हिसावले पछि अन्यथा बकपत्र गरेको देखिए पनि तथ्यगत सबूद र घटनावलीले अभियोग दावीको कसूर पुष्टि गरेको कुराबाट निर्णय हुने हुनाले Hostile भै पछिबाट गरेको त्यस्तो बकपत्रले मुद्दाको तथ्यमा तात्विक असर पर्न नसक्ने ।
(प्रकरण नं.११)
§ फौजदारी अपराधमा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने वस्तुगत तथ्य र सबूद प्रमाणहरूको आधारमा निर्णय गर्ने कुरा भएकोले अपराधीलाई (बचाउ गर्ने नियतले प्रमाणित बयानलाई अन्यथा भनी Hostile भै पीडितले बकपत्र गर्दैमा अपराध छिप्न नसक्ने ।
(प्रकरण नं.१२)
पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता खेमराज ज्ञवाली
प्रतिवादी तर्फबाटः विद्वान वैतनिक कानून व्यवसायी अधिवक्ता शान्ता सेढाईं, विद्वान अधिवक्ता कृष्णप्रसाद शर्मा
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग), ७(२)
फैसला
न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६३।३।११ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं.५ न्यूरोडस्थित स्विटी होटलको माथिल्लो तलाको बीच कोठामा बाहिर चुकुल लगाई रञ्जना टेवकोटा, सिर्जना शाही, रेश्मा घर्ती र विष्णु देवकोटालाई फेला पारी सोध्दा होटल मालिक श्याम क्षेत्रीले विभिन्न प्रलोभन डर धम्की दिई वेश्यावृत्तिमा लगाई बन्द गरी गएको र सुशील क्षेत्री र कमल खड्काले हामीलाई यस होटलमा ल्याई छाडी यौनसम्पर्क गर्ने केटी केटाहरू समेत ल्याई बेश्यावृत्ति गराउने कार्यमा सहयोग गर्दथे भनी बताएको हुँदा पीडितहरूलाई उद्धार गरी ल्याएका हौं, अभियुक्तहरूलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.ना.नि.अरुणकुमार सिंह समेतको प्रतिवेदन ।
हामी जाहेरवालीस्मध्ये रञ्जना देवकोटालाई प्रतिवादी सुशील क्षेत्री र कमल खड्काले बजारमा फेला पारी श्याम क्षेत्रीको तत्काल सरिता हाल स्विटी होटलमा ल्याई छाडी श्याम क्षेत्रीले महिनाको रु.२,०००।– दिन्छु, ग्राहकलाई सामान दिने भाडा माझ्ने भनी राखेका हुन । यसैगरी जाहेरवाली सिर्जना शाही र रेश्मा घर्ती जना दुई लाई प्रतिवादी सुशील क्षेत्री र कमल खड्काले वीरेन्द्र चोक नजिक फेला पारी काममा लगाई दिन्छु भनी श्याम क्षेत्रीको होटल न्यूरोडमा लगी छाडेका र होटल साहूले महिनाको रु.२,०००।– पारिश्रमिक दिन्छु भाँडा माझ्ने काममा बस भनेपछि अनपढ कम पढे लेखेको व्यक्तिलाई त्यत्रो पारिश्रमिक देखेपछि उक्त होटलमा काम गर्न बस्यौं । यसैगरी विष्णु देवकोटा ७/८ दिन अगाडिबाट बहिनीलाई भेटन उक्त होटलमा जाँदा होटल साहूको बहकाउम लागी उक्त स्थानमा बसे । बसेको लगतै एकजना पुरुषसँग यौनसम्पर्क गर्नु भनी होटल मालिकको धम्कीको कारण त्यस व्यक्तिसँग बाध्य भई यौनसम्पर्क गर्न शुरु गरेको हो । ग्राहकले पैसा हामीलाई सीधैं नदिई मालिकलाई दिएको देखिन्थ्यो । रुपैया के कति लिन्थे थाहा भएन तर तिमीहरूको रु.३००।– जम्मा भयो भनी काउण्टरमा नै राख्ने, मासु, नास्ता, चिया आदि खाएको भनी पूरै बराबर रुपैयाँको हिसाव देखाउँथे । उक्त कार्य हाम्रो स्वेच्छाले गरेको होइनौं, सो बाट पाएको एक रुपैयाँ पनि हामीले पाएको छैनौं । उल्टै महिनाको पारिश्रमिकवापत पाउने रकम समेत पूरा पाएका छैनौं । दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको पीडित सिर्जना शाही, रञ्जना देवकोटा, विष्णु देवकोटा र रेश्मा घर्ती समेतको संयुक्त जाहेरी दर्खास्त ।
आफ्नो घरको आर्थिक स्थिति कमजोरी भएकोले कामको खोजी गर्न तथा नेपालगञ्ज न्यूरोडस्थित स्विटी होटलमा काम गर्न बसेकी बहिनी रञ्जना देवकोटालाई भेट्न आज भन्दा ७।८ दिन पहिला आउँदा होटल मालिक श्याम क्षेत्रीले दुवै बहिनी बसी काम गर महिनाको २,०००।– दिन्छु भने पछि उक्त होटलमा वेटर भै काम गर्न बसेकी थिए । प्रहरीले उद्धार गरी ल्याएको ३।४ दिन अगाडि एक जना ग्राहकसँग होटल मालिकले जवर्जस्ती यौनसम्पर्क गर्न पठाएका हुन् । मैले आफ्नो इच्छाले वेश्यावृत्तिमा लागेको होइन । होटल मालिकको डर त्रास तथा प्रलोभनका कारणबाट वाध्य भई उक्त कार्यमा लागेकी हुँ । मिति २०६१।३।१३ गते श्रृष्टि हल नजिक रहेको माया होटलबाट केटी र मालिकलाई पक्राउ गरी लगे भन्ने सुनेपछि ग्राहकलाई ल्याउन छाडी मालिक होटल बाहिर हिडेको अवस्थामा ऐ.१५ गते प्रहरीले हामीहरूलाई उद्धार गरी ल्याएका हुन । सुशील क्षेत्री र कमल खड्कालाई व्यक्तिगत रुपले त्यति चिन्दैन तर १।२ पटक स्विटी होटलमा गएको अवस्थामा देखेको हुँ । निजहरू पनि दलाल हुन भन्ने व्यहोराको पीडित विष्णु देवकोटाको बयान कागज ।
कामको खोजी गर्न नेपालगञ्ज बजारमा आएका अवस्थामा सुशीला क्षेत्री र कमल खड्का भन्ने व्यक्तिसँग भेट भएकोले निजहरूले के कहाँ आउनु भएको भन्दा कामको खोजीमा आएकी हुँ भनेपछि मलाई निजहरूले न्यूरोड स्थित स्विटी होटलमा लगी होटल मालिक श्याम क्षेत्रीसँग काम गर्ने स्पेशल केटी ल्याई दिएका छौं भनी मालिकसँग एकतर्फ गई के कुरा गरी निजहरू गए । होटल मालिकसँग के काम हो कति रुपैयाँ दिनु हुन्छ भनी सोध्दा होटलमा भाँडा माझ्ने ग्राहकलाई सामान दिने सामान्य काम हो महिनाको रु.२,०००।– दिन्छु भनेपछि त्यत्ति धेरै रुपैयाँ पाएपछि खुशी भई बसेको ५।७ दिन पछाडिबाट मलाई ग्राहकहरूसँग यौनसम्पर्क राख भन्दा म राख्दिन भनी इन्कार गरेपछि कामबाट निकाली दिने मारी दिने धम्की दिएका र सो स्थानबाट निकाले पछि राम्रोसँग बस्ने खाने ठाउँ नभएकोले बाध्य भई सो ठाउँमा बसें । ग्राहकसँग सम्पर्क राख्यौ भने धेरै रुपैयाँ कमाउँछेउ पछि बसी बसी खान मिल्छ भने पछि प्रलोभनमा परी बाध्य भई सो पेशामा लागेकी हुँ । तर ग्राहकसँग यौनसम्पर्क गरे पछि पाउने सबै रकम मालिक आफैले राख्ने गरेको मलाई एक रुपैयाँ दिएका छैनन् र पाएकी छैन । बाहिरबाट ग्राहकहरू ल्याई कमिशन लिने सुशील क्षेत्री र कमल खड्का पनि हुन । यसरी होटलमा ल्याई राख्ने र ग्राहक खोजी कमिशन खाने सुशील क्षेत्री र कमल खड्का तथा होटलमा राखी धमक्याई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाई आर्जित सम्पूर्ण रकम खाने श्याम क्षेत्रीलाई हदैसम्म कारवाही हुनुपर्दछ भन्ने व्यहोराको पीडित रञ्जना देवकोटाको बयान कागज ।
आर्थिक स्थिति कमजोरी भई कामको खोजीमा नेपालगञ्ज बजारमा आएका अवस्थामा सुशील क्षेत्री र कमल खड्का भन्ने व्यक्तिसँग भेट भई निजले काममा लगाई दिन्छु भनी न्यूरोडस्थित स्विटी होटलमा लगी श्याम क्षेत्रीलाई यी बहिनी कामको खोजीमा आएकी छिन काममा लगाई देउ भने पछि निज होटल मालिक श्याम क्षेत्रीले महिनाको रु.२,०००।– दिन्छु वेटर्स काम गर्नु पर्छ भनेका र खाई पिई रु.२,०००।– पाउने भएकोले उक्त काम गर्न खुशी भई बसेकी हुँ । काममा राखेको ८।९ दिन पछाडिबाट होटल मालिकले जवर्जस्ती परपुरषसँग यौनसम्पर्क गर भनी जवर्जस्ती गरेको र यसरी यौनसम्पर्क गरे धेरै रुपैयाँ कमाउछेउ बसी बसी खान पाइन्छ भनी प्रलोभन देखाई लगाएका हुन् । पछि न त ग्राहकले मलाई रुपैयाँ दिने न त मालिकले दिने सबै मालिक आफैले राख्ने कहिले काही रु.३००।– दिएका छन् । काउण्टरमा जम्मा छ भनी राख्थे । पछि कोक, मासु, नास्ता खाएको बराबर भयो भनी कटाउँथे । बुझ्दा ग्राहक हेरी रु.६००।– देखि २,०००।– सम्म साहूले लिने गर्दथे एक दिनमा १ जनादेखि ३ जनासँग व्यक्तिगत शारीरिक सम्बन्ध गर्नु पर्दथ्यो । यसरी ग्राहकसँग यौनसम्पर्क नराखेकामा कामबाट निकाली दिने धम्की दिएपछि पेट पाल्न बाध्य भई सो स्थानमा बसेकी हुँ । प्रतिवादी सुशील क्षेत्री र कमल खड्काले बाहिरबाट ग्राहक ल्याई होटल मालिकसँग सम्पर्क गराई कमिशन लिई जाने दलाल हुन र फाल्गुण र चैत्र महिनाको काम गरेको पारिश्रमिक रु.४,०००।– मात्र पाएकी छु अरु पाएकी छैन, दिलाई पाऊँ भन्ने पीडित रेश्मा घर्तीको बयान कागज ।
घरको आर्थिक स्थिति कमजोर भएको कारण कामको खोजी गर्दै कोहलपुर बजारमा पुगेका अवस्था रझेना ५ वनखेत बस्ने रेश्मा घर्तीसँग भेट भई दुवै जना कामको खोजीमा नेपालगञ्ज बजारमा आउँदा सुशीला क्षेत्री र कमल खड्कासँग वीरेन्द्र चोक नजिक भेट भई निजहरूले हामीलाई काममा लगाई दिन्छौं भनी न्यूरोडस्थित तत्काल सरिता हाल नाम परिवर्तन गरी स्विटी होटलमा ल्याई सो होटल मालिक श्याम क्षेत्रीसँग बहिनीहरू कामको खोजीमा आएछन् काममा लगाई देउ भने पछि के काम हो भनी सोध्दा होटलमा वेटर्स काम गर्ने हो रु.२,०००।– महिनाको दिन्छु भनेपछि उक्त होटलमा बसेकी हुँ । आएको ५/७ दिन पछाडिबाट होटल मालिकको प्रलोभन, धम्कीका कारण आफूले नरुचाएको व्यक्तिसँग पनि बाध्य भई यौनसम्पर्क राख्ने कार्यमा संलग्न रहन थाले । मालिकले भनेको नमाने होटलबाट निकाली दिने धम्की दिन्थे, प्रतिवादी सुशील क्षेत्री र कमल खड्काले ग्राहक ल्याई कमिशन लिने गर्दथे । ग्राहकले होटल मालिकलाई सबै रुपैयाँ दिने हामीले नपाउने भएकाले ग्राहकले के कति रुपैयाँ दिन्थे थाहा छैन, तर साहूले रु.३००।– एक ग्राहकसँग सम्पर्क गरेको रुपैयाँ जम्मा भयो भनी आफू राख्ने र पछि कोक, मासु, नास्ता खाएको काटी अरु आफै राख्ने गर्दथिए । मैले एक पटक पाएको रुपैयाँ मासिसकें होटल मालिकले कति रुपैयाँ कमाए थाहा छैन । २०६१।३।१३ गते साँझ माया होटलबाट केटी र मालिकनीलाई प्रहरीले पक्राउ गरी ल्यायो भनी साहूले थाहा पाएपछि हामीलाई माथिल्लो तलाको कोठामा राखी आफू बाहिर भागी हिड्दै थिए । ऐ.१५ गते बिहान छापामारी प्रहरीले हामीलाई उद्धार गरी ल्याएका हुन् । हामीलाई विभिन्न बहाना, प्रलोभन देखाई धम्की दिई वेश्यावृत्ति कार्यमा संलग्न गराउने श्याम क्षेत्री र सो स्थानमा लगी राख्ने ग्राहक खोजी उक्त वेश्यावृत्ति गर्ने गराउने कार्यमा प्रत्यक्ष संलग्न सुशील क्षेत्री र कमल खड्कालाई हदैसम्म कारवाही होस् भन्ने पीडित सिर्जना शाहीको बयान कागज ।
बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं.२ र ५ को बीचमा पर्ने पूर्व खाली जमिन, पश्चिम न्यूरोड, उत्तर देवा फुलवारी उचा टोलतर्फ जाने कच्ची बाटो दक्षिण खाली जमिन यति चार किल्लाभित्र दुई तले पक्की घर सो घर दीपक श्रेष्ठको भई हाल श्याम क्षेत्री नाम गरेको व्यक्तिले केही समय अगाडि सरिता र हाल नाम परिवर्तन गरी स्विटी नामक होटल चलाएको सो होटलको माथिल्लो दोस्रो तल्लाको बीच कोठामा बाहिरबाट चुकुल लगाई रहेको अवस्थामा सो ढोका खोली भित्र बन्दी अवस्थामा रहेकी रञ्जना देवकोटा, विष्णु देवकोटा, सिर्जना शाही र रेश्मा घर्ती समेत जना चारलाई प्रहरीले उद्धार गरी लगेको ठीक साँचो हो । उक्त होटलमा केही समय अगाडिबाट होटल मालिक श्याम क्षेत्री, सुशील क्षेत्री र कमल खड्का समेत अन्य केही व्यक्तिहरूको संलग्नतामा निज केटीहरूलाई वेश्यावृत्ति कार्य गराउँदै आएको ठीक साँचो हो भन्ने घटनास्थल मुचुल्का ।
म पहिला ग्रिनपट नामक रेष्टुरेण्ट खोली बसेको थिएँ । सोही होटलमा बसेकी केटी लक्ष्मी थापा र सरिता के.सी.ले मेरो उपर जिल्ला प्रहरी कार्यालय बाँकेमा केही सार्वजनिक अपराध मुद्दा दायर गरे पछि मैले सो रेष्टुरेण्ट बन्द गरी हालसम्म त्यतिकै बिना आम्दानी बसी रहेको छु । मैले चिनेको साथी श्याम क्षेत्रीले वि.पी.चोक नजिक केटीहरू राखी होटल चलाउँदै आएका अवस्थामा २०६० साल फाल्गुण १६ गते साँझ काम गर्न बसेकी केटी र निज श्यामको श्रीमती सपना क्षेत्रीबीच भनाभन हुँदा प्रहरी कहाँ रिपोर्ट परे पछि पक्राउ परी सार्वजनिक मुद्दा चलिरहेको अवस्थामा निज श्याम क्षेत्रीले होटल न्यूरोडमा सारेका थिए । काम गर्ने कोही नभएको हुँदा कतै काम गर्ने केटीहरू मिलेछन् भने ल्याई दिनु भनेको हुँदा २०६० साल फाल्गुण २०।२१ गतेतिर हो जस्तो लाग्छ वि.पि.चोक नजिक रञ्जना देवकोटा काम खोज्दै हिडेको भन्ने थाहा पाई निजलाई सो होटलमा लगी काममा राखेको हो । त्यसको ३।४ दिनपछि वीरेन्द्र चोक नजिक सिर्जना शाही र रेश्मा घर्तीलाई पनि काम खोज्दै हिडेको जस्तो लागी सोधी श्यामको होटलमा लगी काममा लगाई दिएको हुँ । पहिला खासै शर्त थिएन पछि तीन जनालाई सो होटलमा पुर्याई दिएपछि होटल मालिक श्याम क्षेत्री र हामी बीच रु.५,०००।– लिने दिने शर्त भएको हो तत्काल निजसँग रुपैयाँ नभएकाले लिएको थिइन । २०६१ साल बैशाख महिनामा रु.५,०००।– दिएको हुँदा मैले र कमल खड्काले रु.२,५००।– / २,५००।– बाँडी लिई खाई मासी सक्यौं । निज श्याम क्षेत्री होटलमा केटी राखी वेश्यावृत्ति गर्दछन् भन्ने पहिलादेखि नै थाहा थियो । मैले पहिला ग्रिनपट रेष्टुरेण्ट गर्दा सो काम गराउने भएकाले मेरा पुराना ग्राहकहरूले त्यस्तो यौनसम्पर्क गर्ने इच्छा व्यक्त गरेमा निजहरूलाई सो स्थानमा लगी छोड्दथे सो छोडेवापत खासै नगद लिने खाने गर्थिन, तर आफूले खाएको रक्सी, वियर, मासुको रुपैयाँ लिन्थेनन् । श्याम भन्ने रुपबहादुर क्षेत्रीको बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१ मा घर पर्दछ भन्थे घरमा गएको छैन । विष्णु देवकोटा सो होटलमा कसरी आई थाहा छैन भन्ने व्यहोराको प्रतिवादी सुशील क्षेत्रीको साबिती बयान कागज ।
म त्रिभुवन चोक नजिक स्वागत रेष्टुरेण्ट गरी बस्दछु । होटल व्यवसायको सिलसिलामा सुशील क्षेत्री र श्याम क्षेत्रीसँग परिचय थियो । प्रतिवादी सुशील क्षेत्रीको ग्रिनपट नामक रेष्टुरेण्ट थियो । सो रेष्टुरेण्टमा बर्दियातिर घर बताउने सरिता के.सी. र लक्ष्मी थापा नाम गरेकी केटीहरू राखी गोप्य रुपले वेश्यावृत्ति गराउँथे । निज केटीहरूसँग २०६० साल माघ महिनामा सुशील क्षेत्रीको विवाद परी सार्वजनिक मुद्दा परी पक्राउ परेपछि सो होटल व्यवसाय छोडी त्यतिकै घुमी फिरी गरी हिंडी रहेको थिएँ । त्यस्तै श्याम क्षेत्रीको सरिता रेष्टुरेण्ट वि.पि.चोक नजिक थियो । सो होटलमा रुमा सुनार, लक्ष्मी चौधरी र राधा के.सी. नाम गरेकी केटीहरू थिए । निज केटीहरूसँग श्याम क्षेत्रीको श्रीमती सपना क्षेत्रीसँग विवाद परी २०६० साल फाल्गुण १६ गते सपना पक्राउ परी प्रहरी हिरासतमा गएपछि श्याम क्षेत्रीले तुरुन्तै सो स्थानबाट होटल न्यूरोडस्थित दुई तले पक्की घरमा सारी बसेका थिए । तत्काल काम गर्ने केटीहरू फेला पारेमा ल्याई दिनु भनेका हुँदा त्यसको २।३ दिन पछाडि वि.पि.चोक नजिक रञ्जना देवकोटा नाम गरेकी केटीलाई फेला पारी श्यामको होटलमा पुर्याई काममा लगाई दिएको हुँ । त्यसको ३।४ दिन पछाडि म र सुशील क्षेत्री घुम्दै वीरेन्द्र चोक नजिक पुग्दा सिर्जना शाही र रेश्मा घर्ती भन्ने केटीहरूलाई फेला पारी श्याम क्षेत्रीको होटलमा लगी राखेको हो । निज होटल मालिक श्याम क्षेत्रीले वेश्यावृत्ति कार्यमा केटीहरूलाई प्रयोग गर्दछन भन्ने पहिला नै थाहा थियो निजहरूलाई लग्नु पूर्व खासै शर्त केही थिएन पछि ३ जना केटीहरू पुर्याई सकेपछि होटल मालिकसँग रु.५,०००।– लिने दिने शर्त भएको थियो तत्काल रुपैयाँ नभएकोले लिएनौं । पछि बैशाख महिनामा निज श्यामबाट सुशील क्षेत्रीले सो रुपैयाँ ल्याई मलाई सोमध्ये २,५००।– दिएका थिए खाई मासी सके । मेरो रेष्टुरेण्टमा आउने ग्राहकले केटीसँग यौनसम्पर्क गर्ने इच्छा व्यक्त गरेमा मेरो रेष्टुरेण्टमा वेश्यावृत्ति नहुने भएकोले श्याम क्षेत्रीको होटलमा ल्याई छोड्ने गर्दथे । सुशील क्षेत्रीले पनि पहिलाका आफ्ना ग्राहकलाई सो ठाउँमा लग्दथे ग्राहक लगेवापत नगद रुपैयाँ दिएको छैन । वियर, मासु, जे खाए पनि रुपैयाँ भने लिने गर्दैनथे । विष्णु देवकोटा सो होटलमा कसरी आईन थाहा छैन भन्ने व्यहोराको प्रतिवादी कमल खड्काको साविती बयान कागज ।
प्रतिवादी श्याम क्षेत्रीले गत ५।७ महिना अगाडिबाट बाँके नेपालगञ्ज नगरपालिका वडा नं.५ न्यूरोडमा तत्काल सरिता हाल नाम परिवर्तन गरी स्विटी होटलमा केटीहरू राखी होटल चलाउँदै आएका थिए । निज केटीहरूलाई वेश्यावृत्तिमा लगाउने सोबाट आएको आर्जित रकम आफू राख्ने काम सो होटलमा भई रहेकोमा उक्त होटलमा ग्राहक खोजी ल्याउने कमल खड्का, सुशील क्षेत्री समेत हुन भन्ने बुझिएको र प्रहरीले केटीहरूलाई उद्धार गरी लगे पछि होटल बन्द गरी फरार रहेको छ । यसरी वेश्यावृत्ति गराउने होटल मालिक तथा सो कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई हदैसम्म कारवाही होस् भन्ने व्यहोराको बुझिएका आनन्द शर्मा, हरिप्रसाद रावत, गोपालराज क्षेत्री, मो.रिजाय अलि शेष र रामबाबु बैश्य कसौधनले गरेको एकै मिलानको घटना विवरण कागज ।
प्रतिवादीहरू स्विटी होटलवाला श्याम भन्ने रुपबहादुर क्षेत्री, कमल खड्का एवं सुशील क्षेत्रीको सल्लाह मिलोमतोमा पीडितहरू सिर्जना शाही रेश्मा घर्ति, रन्जना देवकोटा, विष्णु देवकोटा समेतलाई आर्थिक प्रलोभन दिई झुक्याई अनुचित दवावमा पारी वेश्यावृत्तिमा ल्याएको देखिँदा निज श्याम भन्ने रुपबहादुर क्षेत्री, कमल खड्का र सुशील क्षेत्री समेतलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(गं) को कसूरमा सोही ऐनको दफा ८(३) बमोजिम सजायको माग दावी लिई प्रतिवादी कमल खड्का र सुशील क्षेत्री र सक्कल मिसिल यसै साथ पेश गरेका छौं । फरार प्रतिवादीलाई अदालतबाट वारेण्ट जारी गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी ।
मिति २०६१।३।१५ गतेका दिन प्रतिवादीमध्येका कमल खड्कालाई वडा प्रहरी कार्यलयमा भेट्न गएको थिएँ । त्यही समयमा प्रहरीले समाती राखेका हुन् । जाहेरवालीहरूलाई स्विटी होटलमा काम लगाएको भन्ने झूठा हो । श्याम क्षेत्रीको स्विटी होटलमा वेश्यावृत्ति हुन्छ भन्ने सम्म सुनेको थिएँ । कमल खड्कासँग रु.२,५००।– बाडी लिएको र ग्राहक खोजी लगेको भन्ने झूठा हो । अधिकारप्राप्त अधिकारीसमक्षको बयान मैले भनेबमोजिम लेखिएको हो । सही मेरो हो, चिनें । मेरो ग्रिनपट रेष्टुरेण्ट थियो । मेरो ग्रिनपट रेष्टुरेण्ट हुँदा लक्ष्मी थापा र सरिता के.सी. ले म उपर सार्वजनिक अपराध मुद्दा दिएका थिए । हाल विचाराधीन छ । अभियोग दावीबमोजिम कसूर गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुशील क्षेत्रीले शुरु अदालतमा गरेको बयान ।
मिति २०६१।३।१५ गते देउराली कटेज रेष्टुरेण्टमा बसिरहेको अवस्थामा प्रहरीले मलाई पक्राउ गरी लगेको हो । मेरो होटलको नाम वेलकम रेष्टुरेण्ट हो । जाहेरी दर्खास्त समेतको व्यहोरा झूठा हो । मैले सिर्जना शाही समेतलाई स्विटी होटलमा लगी वेश्यावृत्तिमा लगाएको होइन । यौनसम्पर्क गर्न ग्राहक खोजेको पनि होइन । प्रतिवादी श्याम क्षेत्रीलाई चिन्दछु, बोलचाल छैन । एक पटक होटलको घर मालिक दीपक श्रेष्ठसँग त्यहाँ गएको थिए । मैले आफ्नो होटलबाट फुर्सद नपाउने र शारीरिक अवस्थाले समेत अपाङ्ग छु । यताउति जान त्यत्ति सक्दिन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान पढी सुनाइएको हो । सोमा भएको सहिछाप मेरो हो । सहिछाप गर्न नमान्दा प्रहरीले डर त्रास देखाई सही गर्न बाध्य पारेका हुन् । मौकामा कागज गर्ने मानिसले किन त्यस्तो कागज गरे मलाई थाहा छैन । अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कमल खड्काले शुरु अदालतमा गरेको बयान ।
जाहेरी प्रतिवेदन सुने उल्लिखित व्यहोरा गलत हो मैले सञ्चालन गरेको उक्त होटल २०६१।३।१३ गतेमा नै बन्द भइसकेको थियो । म उक्त मितिमा आफ्नै घरमा थिए । सो ठाउँमा थिइन र उक्त कार्य गरेको पनि होइन । उल्लिखित केटीहरूलाई र अन्य प्रतिवादीहरूलाई चिन्दिन किन त्यस्तो प्रतिवेदन परेको हो म भन्न सक्दिन । जाहेरीमा उल्लिखित कार्य मैले गरेको होइन जाहेरी झूठा हो । जाहेरवाली केटीहरूलाई मैले देख्दा पनि देखेको छैन । मैले उक्त स्विटी होटल एण्ड रेष्टुरेण्ट २०६१ बैशाख महिनामा खोली दुई महिना जति सञ्चालनमा रहेको हो सोमा काम गर्ने मेरो सहयोगी नारायण भण्डारी थियो अरु कोही थिएनन् भन्ने समेत व्यहोराको प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीको बयान ।
स्वीटी होटलमा मैले काम गरेको होइन । सो होटलमा रन्जना देवकोटा र सिर्जना शाहीले काम गर्दथिए भनी सुनेकी हुँ । मैले जाहेरी दर्खास्त दिएको होइन र जाहेरी दर्खास्तमा भएको ल्याप्चे सहिछाप प्रहरीले डर धाक देखाई जवर्जस्ती गराएका थिए । अदालतमा बयान प्रमाणित गराउँदा समेत हामीले जो लेखेका छौ सोहीलाई अदालतमा हो भनी भन्नु नत्र भने जेलमा सडाई दिन्छौं भनी भनेकाले सोही डरले हो भनी अदालतमा समेत भनेको हुँ र मैले बेश्यावृत्ति गर्दिन भन्ने समेत व्यहोराको जोहरवाली रेश्मा घर्तीको बकपत्र ।
जाहेरी दर्खास्तमा भएको व्यहोरा मेरो होइन । गलत हो । सहिछाप सम्म मेरो हो, तर उक्त सहिछाप डर त्रास धम्की दिई जवर्जस्ती गराएका हुन । अदालतमा पनि बयान गर्दा सोही कुरा भन्ने भनी भनेका थिए र पुलिसको डर धाकले गर्दा आफ्नो मनले लेखेको कागजमा सहिछाप गराएका थिए । जाहेरी दर्खास्त पुलिसहरूले लखी राखेको थिए र सोही लेखेको कागजमा मेरो सहिछाप गराएका हुन भन्ने व्यहोराको जाहेरवाली रन्जना देवकोटाको बकपत्र ।
जाहेरीमा लेखेको व्यहोरा मैले लेखाएको होइन । प्रहरीले आफै व्यहोरा बनाई लेखेका हुन र सोमा मेरो जवर्जस्तीसँग डरधाक देखाई सहिछापसम्म गराएका थिए । मैले वेश्यावृत्ति गरेको छैन र कसैले पनि मलाई वेश्यावृत्तिमा लगाएको पनि होइन । प्रहरीले पहिल्यैदेखि धम्क्याई अदालतमा ल्याएको हो र त्यहाँ त्यही भन्नु भनी भनेकाले अदालतमा सहिछापसम्म गरी दिएकी हुँ अदालतमा भएको सनाखत व्यहोरा समेत झूठा हो भन्ने समेत व्यहोराको जाहेरवाली सिर्जना शाहीको बकपत्र ।
मिति २०६१।३।१५ को प्रतिवेदन म समेतले दिएका हौ । त्यसमा परेको मेरो दस्तखत ठीक हो । मैले गरेको हुँ सनाखत गरिदिए । म समेतको टोली रेष्टुरेण्ट पुग्दा होटल मालिक श्याम क्षेत्री नभएको यी चार जना जाहेरवालालाई कोठामा बाहिरबाट चुकुल लगाई भित्र राखेको अवस्थामा भेटिएको निजहरूलाई बाहिर निकाली सोधपुछ गर्दा हामीलाई जागीर लगाई दिन्छु भनी कमल खड्का र सुशील क्षेत्रीले मासिक रु.२,०००।– दिने शर्तमा लिई आएका हुन । यहाँ आएपछि श्याम क्षेत्री र कमल खड्काले वेश्यावृत्ति गर्नुपर्छ भनी हामीलाई कर लगाएका हुन् । हामीलाई यो होटलबाट निकालेर बाहिर लैजानुस् भनेर हामीसँग भन्दा म समेतको टोलीले उद्धार गरी ल्याएका हौ भन्ने व्यहोराको प्रतिवेदक प्र.ना.नि.अरुणकुमार सिंहको बकपत्र ।
प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीले यी जाहेरवालीहरूलाई वेश्यावृत्तिमा लगाएको होइन । जाहेरवालीहरूलाई स्विटी होटलबाट उद्धार गरिएको भन्ने प्रहरी प्रतिवेदन झूठा हो । २०६१।३।१३ गतेसम्म स्विटी होटल सञ्चालन भएको थियो सो होटलमा श्याम भन्ने रुपबहादुर क्षेत्रीका परिवारहरू बस्दथे सो होटलमा वेश्यावृत्तिको कार्य हुन्थेन । २०६१।३।१५ गते सो होटलमा प्रहरीहरू आएका थिएनन् भन्ने व्यहोराको प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीको साक्षी रामशंकर गुप्ताको बकपत्र ।
मिति २०६१।३।१५ गते घरबाट औषधि उपचार गर्न नेपालगञ्ज आएको थिए । नेपालगञ्जको देउराली कटेज रेष्टुरेण्टमा प्रतिवादी कमल खड्का रहेछन । निजले मलाई देखी बोलाएर निज कमल खड्कासँग उक्त देउराली कटेज रेष्टुरेण्टमा भेट भएको थियो । सोही क्रममा प्रहरीहरू एक्कासी आई कमलप्रसाद खड्कालाई जवर्जस्ती समाती गाडीमा राखी लगेका थिए । कहाँ लग्दै हुनुहुन्छ भनी मैले सोध्दा प्रहरीले तपाई चुप लाग्नुस् भनी भनेका थिए भन्ने व्यहोराको प्रतिवादी कमलप्रसाद खड्काको साक्षी दीपककुमार वलीको बकपत्र ।
मिति २०६१।३।१५ गते नेपालगञ्ज बजारमा थिएँ । उक्त दिन प्रतिवादीसँग नेपालगञ्ज बजार मै भेट भएको थियो । पछि मैले सुनेकी निज सुशीललाई वडा प्रहरी कार्यालय गएको अवस्थामा प्रहरीले पक्राउ गरे मलाई थाहा भएअनुसार सुशील क्षेत्री त्यस्तो आचारण भएको व्यक्ति होइन । निजले सो कार्य गरे गराएका होइनन् जाहेरीको व्यहोरा झूठा हो निज प्रतिवादीको चालचलन राम्रो छ । जीउ मास्ने बेच्ने जस्तो कार्यमा संलग्न छैनन् भन्ने प्रतिवादी सुशील क्षेत्रीको साक्षी आलोक मल्लको बकपत्र ।
प्रतिवादी रुपबहादुर क्षेत्रीको हकमा विचार गर्दा किटानी जाहेरी, प्रमाणित बयान र सह–अभियुक्त समेतको पोलाईबाट यी प्रतिवादी कसूरदार नै भएको पुष्टि भइरहेकोले वादी दावीबमोजिम जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसूरमा उक्त ऐनको दफा ८(३) अनुसर ११ वर्ष कैद हुने र अन्य प्रतिवादी सुशील क्षेत्री र कमल खड्काको हकमा विचार गर्दा निजहरूले पीडितहरूलाई वेश्यावृत्ति कार्यमा सहयोग पुर्याउने कार्यसम्म यी प्रतिवादीहरूबाट भए गरेको देखिँदा उक्त ऐनको दफा ४(ग) को कसूरमा उक्त ऐनको दफा ८(४) बमोजिम सुशील क्षेत्रीको हकमा ३ वर्ष ६ महिना कैद हुने र प्रतिवादी कमल खड्काको हकमा विचार गर्दा निज पोलियो समेत भएको देखिँदा ३ वर्ष मात्र कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु बाँके जिल्ला अदालतको मिति २०६२।३।२१ को फैसला ।
मैले कठोर दायित्वको सिद्धान्त वहन गरी निर्दोषिता प्रमाणित गरिरहन पर्ने स्थिति छैन अर्थात् जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) बमोजिमको प्रमाणित बयान नै विवादास्पद भैसकेपछि ऐ.को दफा ७ बमोजिमको प्रमाणको भार बहन गरिरहनु पर्ने अवस्था छैन, यसरी वादी दावी नै मेरो हकमा स्थापित हुन नसकी रहेको अवस्थामा मलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) बमोजिम कसूरदार ठहर गरी कैद सजाय समेत गर्ने गरी गरिएको फैसला गम्भीर कानूनी त्रुटि भएकोले बदर गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीको पुनरावेदन पत्र ।
जाहेरवालीहरूलाई खोजी होटलमा लगी दिएवापत रु.५,०००।– लिएका र वेश्यावृत्तिको लागि ग्राहक खोजी लगी दिएवापत होटलमा मन लागे जति रक्सी वियर खाने गथ्र्यौ भनी जाहेरवालीहरूलाई वेश्यावृत्तिमा लगाई नगद समेत खाएको कुरामा सावित भई प्रतिवादीहरू सुशील क्षेत्री र कमल खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेका छन् । त्यसैगरी जाहेरी दर्खास्त एवं पीडित जाहेरवालीहरूले अदालतबाट प्रमाणित भएको अधिकारप्राप्त अधिकारी समेत समक्ष गरेको बयान कागजमा समेत यी दुवै जना प्रतिवादी समेतलाई आ–आफूलाई वेश्यावृत्तिमा लगाउने कार्यमा प्रत्यक्ष संलग्नता रहेको भनी किटानी गरेको देखिँदा मिसिल संकलित सबूद प्रमाणको समुचित अध्ययन मूल्याङ्कन गरी प्रतिवादीहरू सुशील क्षेत्री र कमल खड्का समेतलाई अभियोग पत्र माग दावीबमोजिम सजाय गर्नुपर्नेमा पीडितहरूलाई वेश्यावृत्ति कार्यमा सहयोग पुर्याएको भन्ने आत्मगत तर्कलाई अघि सारी जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) तथा ऐ.को दफा ८(३) को प्रत्यक्ष प्रतिकूल हुने गरी उक्त ऐनको दफा ८(४) बमोजिम कम सजाय गरेको सो हदसम्मको त्रुटिपूर्ण फैसला बदर वातिल गरी यी दुवै जना प्रतिवादीहरूलाई समेत शुरु अभियोग पत्र माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
अधिकारप्राप्त अधिकारीसमक्ष भएको मेरो साबिती बयान इच्छा विरुद्धको गैरन्यायिक बयान भएकोले प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)(२) ले प्रमाणमा लिन मिल्दैन र सह–अभियुक्तहरूले अदालतमा बयान गर्दा पोल नगरेको र पीडितहरूले सम्मानीत अदालतमा मिति २०६१।४।१२ मा द.नं.१०२ मा दिएको निवेदन र निजहरूले गरेको बकपत्रले कथित किटानी जाहेरी र प्रहरीले गरेको बयान बलजफ्ती धम्की दिएर गराएको भन्ने पुष्टि भैरहेको छ । अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा आई बकपत्र नगरेको अवस्थामा सो कागजलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्दैन । म पुनरावेदकको साक्षी आलोक मल्लले मेरो बयानलाई पुष्टि हुने गरी बकपत्र गरेकोमा सो बकपत्रलाई प्रमाणमा ग्रहण गर्नुपर्नेमा ग्रहण गर्न नपर्ने कारणसम्म पनि उल्लेख नगरी भए गरिएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मलाई सफाइ दिई न्याय निरोपण गरिपाऊँ भन्ने समेत व्यहोराको सुशील क्षेत्रीको पुनरावेदन पत्र ।
पुनरावेदक प्रतिवादी आरोपित कसूर गर्नमा के कस्तो प्रकारको के कार्य कहिले गरी आरोपित कसूर गरेको हो सो माग दावी छैन र ठहर पनि गरिएको छैन, आरोप लाग्नु मात्र सजाय गर्न पर्याप्त हुँदैन । आरोपित कसूर गरेको निर्विवाद शंका रहित प्रमाण हुनुपर्दछ । सो मिसिल सामेल नभएको अवस्थामा पनि उजूर गरे पछि मर्का परेकै हुन्छ भन्ने र कसूर नगरेको भए यिनै उपर आरोप किन ? भन्ने जस्तो मनोगत अवधारणा बनाई भए गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा २५ र ५४ को प्रतिवन्धात्मक वाक्यांश र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(४) को आशय मनसाय र कानूनी प्रावधानको प्रत्यक्षतः गम्भीर त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी सफाइ दिलाई पाऊँ भन्ने व्यहोराको प्रतिवादी कमल खड्काको पुनरावेदन पत्र ।
पीडित भनिएकी जाहेरवालीहरू सिर्जना शाही, रन्जना देवकोटा, रेश्मा घर्तीले अदालतमा बकपत्र गर्दा आफूहरूलाई प्रतिवादीहरूले वेश्यावृत्तिमा लगाएको होइन र बेश्यावृत्ति गरेको पनि होइन प्रहरीमा दिएको जाहेरी व्यहोरा झूठा हो । सो जोहरीमा सही गर भनी डर त्रास देखाएकोले सहिछाप गरेको हो भनी बकपत्र गरेको परिप्रेक्ष्यमा शुरु इन्साफ फरक पर्न सक्ने देखिँदा प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीले दिएको पुनरावेदन पत्रको प्रतिलिपिसहितको पेसीको जानकारी पुनरावेदन सरकारी वकील कार्यालयलाई पठाई र प्रतिवादी सुशील क्षेत्री र कमल खड्काले दिएको पुनरावेदन पत्र र वादी नेपाल सरकारले दिएको पुनरावेदन पत्र समेतको परस्पर जानकारी पठाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६३।२।१५ को आदेश ।
अदालतबाट प्रमाणित भएको बयानलाई प्रतिवादीतस्हरूले खण्डन गर्नुपर्ने र कसूरबाट उन्मुक्ति पाउन प्रमाण पुर्याउनु पर्ने दायित्व रहेको प्रतिवादीहरूले सो तथ्यपूर्ण रुपबाट जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐनको दफा ७ अनुसार खण्डन गर्न नसकेको र पीडित जाहेरवालीहरूले उल्लेख गरेको घटना विवरण एवं अनुसन्धानको क्रममा संलग्न भएका प्रमाण कागजहरूमा उदृत एवं घटनाक्रम तथ्यसंगत रुपमा स्वभाविक रुपले प्रस्तुत भएको देखिएको छ । लामो समयपश्चात् एक्कासी जाहेरवालीहरू अदालतमा आई प्रमाणित बयान खण्डित हुने किसिमबाट बकपत्र गरेतापनि सिर्जना शाहीले अदालतमा गरेको बकपत्रमा नै आफ्नो पूर्व कथन अनुसार स्विटी होटलमा २।३ महिनासम्म काम गरेको थियौ भनी लेखाई दिएको देखिन्छ । फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सबूदहरूको आधारमा निर्णय गर्ने कुरा हो । अपराधीलाई बचाउ दिने नियतले स्वयं पीडितलगायत कसैले बकपत्र गर्दैमा अभियुक्त निरपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिँदैमा अपराधी ठहरिन पर्ने भन्न सकिन्न । वस्तुनिष्ठ सबूद प्रमाणको आधारमा निर्णयमा पुग्नु पर्ने हुन्छ । प्रतिवादी रुपबहादुर क्षेत्रीले केटीहरूलाई र अन्य प्रतिवादीहरूलाई चिन्दिन भनी अदालतमा बयान गरेता पनि प्रतिवादी कमल खड्काले श्याम भन्ने रुपबहादुर क्षेत्रीलाई चिन्दछु भन्ने बयान गरेबाट पनि प्रतिवादीहरूको इन्कारी बयान एक आपसमा विरोधाभास अस्वभाविक रहेको हुँदा प्रतिवादीहरूको अदालतमा भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन आएको देखिएन । प्रतिवादी कमल खड्का र सुशील क्षेत्रीको हकमा घटी सजाय गरेकोमा मिसिल संलग्न प्रमाणबाट जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूर देखिएको हुँदा अपराधको किसिमलाई दृष्टिगत गरी न्यायिक रोहबाट समेत ८(४) बमोजिम सजाय हुनु उचित हुने हुँदा र त्यतिकैमा फैसलामा तात्विक असर नपर्ने हुँदा र प्रतिवादी कमल खड्का पोलियो समेत भएको भन्ने देखिँदा समेत शुरु बाँके जिल्ला अदालतबाट प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीलाई ११ वर्ष कैद, प्रतिवादी सुशील क्षेत्रीलाई ३ वर्ष ६ महिना कैद र प्रतिवादी कमल खड्कालाई ३ वर्ष कैद हुने ठहराएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६३।३।११ को फैसला ।
घटनास्थल तथा मौकामा कागज गर्ने कुनै पनि व्यक्तिले वेश्यावृत्ति भइरहेको वा हुने गरेको भनी किटानीसाथ भन्न नसकेको, मिसिल संलग्न मेडिकल रिपोर्टबाट जाहेरीवाली समेत कोही कसैले वेश्यावृत्ति गरे गराएको देखिँदैन । वेश्यावृत्ति गरेको भए शारीरिक जाँचबाट देखिनु पर्ने र यौनसम्पर्क नै नभएको वादीकै प्रमाणबाट प्रमाणित भएकोले वारदात स्थापित हुन सकेको छैन । मैले होटल नै सञ्चालन नगरेकोबाट वेश्यावृत्ति गर्न कर लगाएको वा गराएको प्रमाणित हुन नसकेकोमा जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को परिभाषाभित्र पारी कैद जरीवाना समेत गर्ने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, र अ.बं.१८४क. तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत गरी भएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला उल्टी गरी सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसूर हुनलाई कुनै स्वास्नी मानिसलाई वेश्यावृत्तिमा लगाएको स्थापित हुनुपर्ने हुन्छ । तर म समेतको कसूर तिनै कथित पीडितको निवेदन र बकपत्रबाट खण्डन भएको अवस्थामा कसूर स्थापित गर्न मिल्दैन । कानूनबमोजिमको कार्यविधि समेत अवलम्वन नगरी प्रमाण ऐन, २०३१ को दफा १८ र ५४, जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ५(२) र ६(२) को व्याख्यामा गम्भीर त्रुटि गरी भएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला बदर गरी सफाइ पाऊँ भन्ने समेतको प्रतिवादी कमल खड्का र प्रतिवादी सुशील क्षेत्रीको एकै व्यहोराको छुट्टाछुट्टै यस अदालतमा दायर पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दाका प्रतिवादीहरू सुशील क्षेत्री र कमलप्रसाद खड्काले पीडितहरूलाई वेश्यावृत्ति कार्यमा लगाउने उद्देश्यबाट होटलमा लगि बेचेको र यौनसम्पर्क गर्न ग्राहकको व्यवथा समेत गरेको मिसिल संलग्न प्रमाण एवं फैसलाले समेत स्वीकारेको अवस्थामा प्रतिवादीहरूलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(३) बमोजिम सजाय गर्नुपर्ने र अर्का प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीको हकमा कसूर ठहर भएको अवस्थामा निज प्रतिवादीहरू पनि यिनै रुपबहादुर सँगै पीडितहरूलाई वेश्यावृत्तिमा संलग्न गराउने कार्यमा समान सहभागिता रहेको अवस्थामा सहयोगसम्म गरेको भनी अभियोग दावीभन्दा कम सजाय गरेको पुनरावेदन अदालत नेपालगञ्जको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम नै सजाय गरिपाऊँ भन्ने समेतको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
वेश्यावृत्तिमा लगाइएका भनिएका पीडित एवं जाहेरवालीहरूले अदालतमा बकपत्र गर्दा आफूहरूलाई प्रतिवादीले वेश्यावृत्तिमा नलगाएको भनी बकपत्र गरेको अवस्थामा त्यस्तो कथनलाई प्रमाणमा नलिई प्रतिवादीहरूलाई कसूरदार ठहराई भएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला फरक पर्न सक्ने देखिँदा पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेश गर्नु भन्ने समेतको यस अदालतको मिति २०६५।५।२५ को आदेश ।
नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता खेमराज ज्ञवालीले पीडितहरूले प्रतिवादीहरू उपर किटानी जाहेरी दिई सो जाहेरीलाई अदालतमा आई प्रमाणित समेत गरेको, प्रतिवादीहरूले होटलमा ल्याई बेश्यावृत्तिको लागि रकम लिई बिक्री गरेको र होटलमा पनि बेश्यावृत्ति गराउने र होटल बाहिर जान नपाउने गरी बाहिरबाट चुकुल लगाई थुनेको अवस्थामा पीडितहरूलाई प्रहरीद्वारा उद्धार गरिएको घटनास्थल मुचुल्का समेतबाट पुष्टि हुँदा प्रतिवादीहरूले आफूले गरेको कसूर अपराधबाट उन्मुक्ति पाउन नसक्ने हुँदा अभियोग दावीबमोजिम नै सजाय हुनुपर्छ भनी बहस गर्नुभयो । प्रतिवादीहरूको तर्फबाट उपस्थित वैतनिक कानून व्यवसायी अधिवक्ता शान्ता सेढाईंले पीडितहरूलाई बन्द कोठाबाट पक्राउ गरिएको भए पनि वेश्यावृत्ति कार्यमा संलग्न गराएको नभई होटलमा जागीरको रुपमा पारिश्रमिक लिएर काम गरेको अवस्था हो । जुन कुरा पीडितले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरूले वेश्यावृत्तिमा लगाएको भन्न नसकेको र जाहेरीमा लेखेको व्यहोरा आफूले नलेखाएको भनी भनेका तथा घटनास्थल प्रकृति मुचुल्कामा प्रतिवादीहरूलाई रोहवरमा नराखी कानूनबमोजिमको कार्यविधि समेत पूरा नगरिएको अवस्थामा प्रतिवादीहरूलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(४) बमोजिम सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउनु पर्छ भनी बहस गर्नुभयो । त्यसैगरी प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता कृष्णप्रसाद शर्माले अभियोग दावी प्रमाणित हुन घटनास्थल स्पष्ट रुपमा देखाइएको हुनुपर्नेमा सो भएको छैन । होटलबाट उद्धार गर्दा कुनै मुचुल्का नै तयार गरेको देखिँदैन र को कोसँग वेश्यावृत्ति गराई रहेको अवस्थामा उद्धार गरिएको हो सो केही देखिँदैन । वेश्यावृत्तिमा संलग्न गराइएका पीडित भनिएकाले पनि अदालतमा बकपत्र गर्दा जाहेरी व्यहोरा आफ्नो नभएको भनी लेखाएका र पीडित रञ्जना देवकोटा र सिर्जना शाहीले हामी होटलबाट पक्राउ परेको होइन भनी निवेदन समेत दिएको अवस्था हुँदा तथाकथित जीउ मास्ने बेच्ने अभियोग लगाई सजाय समेत गरेको पुनरावेदन अदालतको फैसलामा गम्भीर कानूनी त्रुटि भएकोले उल्टी गरी प्रतिवादीले सफाइ पाउनु पर्छ भनी बहस गर्नुभयो ।
पुनरावेदक वादी र प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस जिकीर सुनी पुनरावेदन पत्रसहितका मिसिल प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत नेपालगञ्जले गरेको फैसला मिलेको छ छैन निर्णय गर्नुपर्ने देखियो ।
प्रतिवादीहरूको मिलेमतोमा पीडित रञ्जना देवकोटा समेतलाई आर्थिक प्रलोभन दिई झुक्याई अनुचित दवावमा पारी वेश्यावृत्ति कार्यमा लगाएको हुँदा प्रतिवादीहरू श्याम भन्ने रुपबहादुर क्षेत्री, सुशील क्षेत्री र कमल खड्काले जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसूर गरेकोले सोही ऐनको दफा ८(३) बमोजिम सजाय गरिपाऊँ भन्ने मुख्य अभियोग दावी लिएको देखिन्छ । प्रतिवादीहरू उपरको प्रस्तुत अभियोग दावीमा प्रतिवादी श्याम भन्ने रुपबहादुर क्षेत्रीलाई अभियोग दावीबमोजिमको कसूरमा सजाय गरेउपर र अन्य प्रतिवादी सुशील क्षेत्री र कमल खड्काले वेश्यावृत्ति कार्यमा सहयोग पुर्याउने कार्य गरेको ठहराई सजाय गरेउपर सफाइ पाऊँ भनी प्रतिवादीहरूको पुनरावेदन परेको तथा वादी नेपाल सरकारले एउटै कसूर अपराधमा समान रुपले संलग्न प्रतिवादीहरू मध्ये कसैलाई अभियोग दावीबमोजिम र कसैलाई अभियोग दावीभन्दा कम सजाय गरेकोले कम सजाय पाउने प्रतिवादीहरू सुशील क्षेत्री र कमल खड्काको हकमा अभियोग दावीबमोजिम नै सजाय गरिपाऊँ भनी परेको प्रस्तुत पुनरावेदन पेश हुन आएको देखियो ।
२. पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन सम्बन्धमा हेर्दा प्रतिवादीहरू सुशील क्षेत्री र कमल खड्काले कामको खोजिमा रहेका पीडित जोहरवालीहरूलाई काम लगाई दिने भनी विश्वस्त तुल्याई प्रतिवादीमध्येकै श्याम भन्ने रुपबहादुर क्षेत्रीको नेपालगञ्ज स्थित स्विटी होटलमा पुर्याई निजकोमा जिम्मा दिई गएको र निज होटल मालिकले जाहेरवालाहरूलाई होटलमा काम दिई काम गर्न थालेपछि जवर्जस्ती धम्काएर इच्छाविपरीत वेश्यावृत्तिको यौन क्रियाकलापमा सरिक गराएको भन्ने पीडितहरूको भनाई देखिन्छ । पीडितहरूले यी प्रतिवादीहरू सुशील क्षेत्री र कमल खड्काले हामीलाई होटलमा ल्याई होटल मालिकको जिम्मा दिएको भनी गरेको जाहेरी र सो जाहेरीमा उल्लिखित व्यहोरा एवं अनुसन्धानका क्रममा भएको बयान व्यहोरालाई तत्काल अदालतमा उपस्थित भई प्रमाणित गरेको अवस्था देखिन्छ । पीडितहरूको प्रमाणित जाहेरी र बयान व्यहोरा र घटनास्थल एवं मौकामा कागज गर्ने व्यक्तिहरूको भनाई आपसमा समर्थित भइरहेको देखिँदा घटनास्थल तथा मौकाको कागजलाई अन्यथा भन्न मिल्ने देखिँदैन । यी प्रतिवादीहरूले पनि अनुसन्धानका क्रममा बयान गर्दा श्याम भन्ने रुपबहादुर क्षेत्रीको होटलमा केटीहरू पुर्याई दिएवापत रु.५,०००।– लिने दिने शर्तबमोजिम पीडित केटीहरू पुर्याएको भनी जाहेरी व्यहोरा र पीडितहरूको भनाईलाई समर्थित हुने गरी बयान गरेको देखिँदा यी प्रतिवादीहरू आफैले वेश्यावृत्ति गराएको अवस्था नदेखिई वेश्यावृत्तिको लागि केटीहरू उपलव्ध गराउनेसम्म कार्य गरेको कुरा समर्थित भइरहेको देखिन्छ । यी प्रतिवादीहरूले अदालतमा बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान व्यहोराको सहिछाप आफ्नो भएको भनी स्वीकार गरेका र स्विटी होटलमा वेश्यावृत्तिको कार्य हुन्छ भन्ने कुरा स्वीकार गरी बयान गरेको देखिन्छ । पीडितहरूलाई स्विटी होटलबाट उद्धार गरी बाहिर ल्याएपछि प्रहरीले कागज गराई प्रस्तुत मुद्दाको कारवाही चलाएको देखिन्छ ।
३. जाहेरवाली रेश्मा घर्तीले अदालतमा बकपत्र गर्दा प्रहरीले लेखेको जाहेरीमा सहिछाप नगरेमा बीस बर्ष जेल हुन्छ भनी धम्काई सहिछाप गराएका हुन् भनेकी छन् । अदालतमा बयान प्रमाणित गराउँदा समेत हामीले जो लेखेका छौ सोही हो भनी अदालतमा भन्नु नत्र जेलमा सडाई दिन्छौ भनेकाले जेलमा सड्ने डरले अदालतमा समेत प्रहरीले भनेबमोजिम भनेको हो भनी बकपत्र गरी वेश्यावृत्तिमा लागेको भन्ने कुरालाई इन्कार गरेको देखिन्छ ।
४. वेश्यावृत्तिमा आफू लागेको कुरा इन्कार गर्ने यी जोहरवालीले आफू विवाहित महिला भएको भनेको र त्यस्तो विवाहित महिलाले वेश्यावृत्तिमा नलागेको भए प्रहरीको डर र प्रभावका कारण अदालतमा समेत स्वीकार गरेको भन्ने भनाईले प्रश्न चिन्ह खडा हुन सक्ने हुन्छ । तर पीडित जाहेरवालीहरूले प्रहरीको त्यस्तो डर र प्रभावका कारण भनी अदालतमा पनि अनुसन्धान अधिकारीसमक्ष कै व्यहोरा लेखाएको भनेको देखिन्छ भने प्रहरीले पनि प्रतिवादीहरू उपर त्यस्तो झूठा आरोप लगाउनु पर्ने र जाहेरवालीहरूलाई पनि पीडितको रुपमा अगाडि ल्याउनु पर्ने कुनै आधार र कारण देखिन्न । जाहेरवालीहरूलाई प्रहरीले त्यस्तो अनुचित दवाव दिएको थियो जसको कारण जीउ ज्यानमा नै जोखिममा पर्ने भएकोले अदालतमा पनि प्रहरीकै व्यहोरा लेखाएको भन्ने विश्वासयुक्त र वस्तुनिष्ठ आधार प्रमाण जाहेरवालीहरूले गुजार्न सकेको पनि देखिन आएन ।
५. जाहेरवालीहरू मध्ये विवाहित महिला पनि भएको र यस्ता विवाहिता महिलाले आफ्नो अस्मितामाथि नै प्रतिकूल असर पर्ने गरी अनुचित दवाव दिई प्रभावमा पारी डर त्रास देखाई जनताको जीउ धनको शान्ति सुरक्षार्थ खटिएका प्रहरीबाट प्रतिवादीहरू उपर अभियोग लगाएको भनी सहजै अनुमान गर्न सकिने भन्ने पनि हुँदैन । यदि प्रहरीले तत्काललाई अनुसन्धानका क्रमसम्ममा प्रभाव पारेको भए पनि अदालतमा न्यायाधीशको रोहवरमा गराइएको प्रमाणित बयानमा त्यस्तो दवाव र प्रभाव सबै जोहरवालीहरूमा रहिरहने भन्ने अर्थ गर्न मिल्ने पनि हुँदैन । अदालतमा जाहेरवाली वा प्रतिवादी दुवै स्वतन्त्र रहने र त्यहाँ कसैको डर त्रासको गुन्जाईस रहने हुँदैन । अदालतले बयान बकपत्र गराउँदा शक्तिको प्रयोग नगरी स्वतन्त्रपूर्वक हुने गर्छ भन्ने मान्यता रहेको छ । जुन मान्यता सर्वमान्य र वास्तविक पनि हो । मुद्दा हेर्ने न्यायाधीशसमक्ष गरेको प्रमाणित बयानलाई दवाव र प्रभावमा भए गरेको मान्ने हो भने न्याय प्रणालीनै निष्फल हुने अवस्था रहन्छ । मुद्दाको न्याय निरोपण गर्ने न्यायाधीशसमक्ष भएको त्यस्तो प्रमाणित बयान नै स्वतन्त्रपूर्वक नभएको भन्ने जाहेरवालीहरूको त्यस्तो अविश्वसनीय कथनलाई स्वीकार गर्न सकिन्न । जाहेरवालीहरूको बकपत्र तत्काल नै हुने नभई समयको अन्तरालपछि मात्र झिकाई बकपत्र गरिने परम्परा रहेको यस अवस्थामा जाहेरवालाहरू पनि प्रभावमा अन्यथा बकपत्र गर्न सक्ने स्थिति पनि इन्कार गर्न सकिन्न । यस्तो परिस्थिति निपट्नको लागि कानूनी एवं व्यावहारिक रुपमा विभिन्न उपयाहरू गर्नुपर्ने देखिन्छ । जसले गर्दा जाहेरवाला Hostile हुन नसकोस भनी वादी पक्ष चनाखो र सजग रही त्यस्ता साक्षीउपर सजायको दावी गर्नेतर्फ वादी अग्रसर हुनुपर्ने देखिन्छ ।
६. पीडितहरूले आफू स्वयं वेश्यावृत्तिमा लागेको नभै प्रतिवादीहरूले पीडितहरूले पाउनुपर्ने पारिश्रमिक समेत नदिई दवावमा पारी वेश्यावृत्तिमा संलग्न हुन बाध्य पारेको भन्ने व्यहोरा लेखिएको देखिन्छ । नाजायज काममा लगाउन पीडितहरूलाई प्रलोभन र धम्कीका भरमा बन्दी बनाएर राखिएकै अवस्थामा मिति २०६१।३।१५ मा होटलबाटै उद्धार गरिएको हुँदा पीडितलाई आफ्नो प्रभावमा पारी कव्जामा राखी नाजायज काममा लगाई पारिश्रमिक नदिएको तथ्य पुष्टि हुन्छ । पीडितहरूले यी प्रतिवादीहरू उपर किटान गरी होटलबाट उद्धार गरिएपश्चात् नै सोही मितिमा जाहेरी दिएको र सो जाहेरी व्यहोरालाई समर्थन गरी गरेको बयान कागज प्रमाणित समेत भएको अवस्था देखिँदा त्यस्तो प्रमाणित बयानको विपरीत हुने गरी पछि पीडितले अदालतमा बकपत्र गरेको देखिए पनि समयको अन्तराल पछि त्यस्तो Hostile हुने गरी बकपत्र गरेको कार्य स्वाभाविक र चित्त बुझ्दो देखिँदैन । जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ बिशेष प्रकृतिको ऐन भएकोले पछि जाहेरवाला पीडित Hostile हुन सक्ने महसूस गरी अदालतबाटै पीडितको बयान प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान विद्यायिकाद्वारा राखिएको र सो बमोजिम नै प्रमाणित समेत भएको बयान व्यहोरालाई पछि आएर होइन भनिदिएकै भरमा प्रमाण ग्राह्य नहुने भन्ने हुँदैन । कसैले पनि न्यायिक प्रक्रियामा सत्य तथ्य कुरा खोली सही निष्कर्षमा पुग्न सहयोग गर्नुपर्ने हुन्छ । अन्यथा अदालत मात्रैले सही तथ्य पत्ता लगाई वास्तविक न्याय गर्न असमर्थ हुन्छ । झूठो कुराको जाहेरी दिने, बयान कागज प्रमाणित गरी दिने अदालतमा एक किसिमले आफ्नो भएको व्यहोरा लेखाई प्रमणित गर्ने गर्न लगाउन अनि साक्षी परीक्षणको प्रक्रियामा अन्यथा व्यहोरा लेखाई सत्य तथ्य नै भ्रमित गर्ने गरी विरोधाभाषपूर्ण कुराहरू राख्न अन्य व्यक्तिहरूको अतिरिक्त स्वयं पीडित भनेका मानिसहरूलाई पनि छूट दिन सकिन्न । राज्य र कानूनका संयन्त्रहरूलाई हलुकासँग आफ्नो स्वार्थमा प्रयोग गर्ने र अरुको हक हितमा प्रतिकूल स्थिति सिर्जना गरी राज्यका उपर अनुचित दायित्व सिर्जना गर्ने कार्य कुनै विन्दूमा पनि सह्य वा ग्राह्य हुन सक्तैन । त्यस्तै काम गर्ने गराउनेका उपर आपराधिक एवं देवानी दुवै किसिमको दायित्व व्यहोर्नु पर्ने कानूनी व्यवस्था हुनुपर्ने समेत देखिन्छ । प्रचलित कानूनमा पनि झूठो उजूर गर्ने वा बकपत्र गर्नेहरू उपर भएका व्यवस्थालाई क्रियाशील गराउनु पर्ने आवश्यकता छ ।
७. त्यसको अतिरिक्त विचारणीय कुरा के छ भने कतिपय पीडितहरूको व्यक्तिगत, पारिवारिक वा सांस्कृतिक परिस्थितिले न्यायको माग गर्न सक्ने वा न्यायमा सहज पहुँच पाउन सक्नेसम्मको स्थिति नआएर असूरक्षित र जोखीमपूर्ण अवस्थामा गुज्रन परेको पाइन्छ । आवश्यक सुरक्षा र समर्थनका अभावमा न्यायिक प्रक्रियामा यथार्थ सहयोग गर्नु जोखिमपूर्ण हुने भै वाध्यतावस आफ्नो सही कुरा पुष्ट्याई गर्न सक्ने गरी बकपत्र गर्न नसकेको समेत स्थित रहन्छ । यस्तो स्थिति रही रहेमा आफ्नो पूर्व कथनको विपरीत प्रतिवादीको लाभको लागि अन्यथा बकपत्र गर्न बाध्य हुने स्थिति आउँछ, जुन अपराधीलाई न्यायको प्रक्रियामा ल्याई दण्डित गर्ने र समाजमा न्याय र सुरक्षाको वातावरण सिर्जना गर्ने कुरामा वाधक बन्न सक्छ । त्यस्तो स्थिति गम्भीर स्थिति मान्नु पर्ने हुन्छ । त्यसैले पीडितले किन आफ्ना बयानका बकपत्रलाई खण्डन गर्ने गरी पछि बकपत्र गरेको होला भनी आलोचना गर्नु मात्रै पनि समाधान देखिँदैन । त्यसैले पीडित तथा संवेदनशील साक्षीहरूको संरक्षणका लागि राज्यले अविलम्ब विस्तृत कार्यक्रम तर्जुमा गर्नुपर्ने देखिन्छ, त्यसको लागि नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।
८. यसरी हेरेमा उपलव्ध प्रमाणको दुरुपयोग हुन नदिन प्रतिवादीको हितविपरीत पनि दुराशयपूर्वक कोहीलाई पनि परिचालित हुन नदिन तथा न्यायको लागि उचित वातावरण कायम राखी सत्य तथ्यको सही अन्वेषण हुन सक्ने बिन्दू पहिचान गरी कानून कार्यन्वयन गर्ने प्रणाली कायम राख्नु चुनौतीपूर्ण हुन गएको देखिन्छ ।
९. प्रस्तुत मुद्दामा पीडितहरूले पछिल्लो समयमा अदालतमा बकपत्र गर्दा दिएको अभिव्यक्ति जे भए पनि सोभन्दा अघि निजहरूको उद्धार गरी गरेको कागज एवं अदालतमा समेत उपस्थित भै प्रमाणित गरी दिएको बयान कागजको मान्यतालाई नै शून्य हुने गरी पछिल्लो समयमा अदालतमा गरेको बकपत्रको अभिव्यक्ति ग्राह्य एवं विश्वसनीय मान्न नसकिने हुनाले उपरोक्त स्थितिहरूको सन्तुलनमा पीडितहरूको भनाईलाई ग्रहण गर्नु परेको छ ।
१०. अदालतद्वारा प्रमाणित पीडितको तत्कालको बयानमा लेखिएका कुरा झूठा हो भन्ने प्रमाण अभियुक्तले पुर्याउनु पर्ने भन्ने जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) को कानूनी व्यवस्था रहेको देखिँदा कसूरबाट उन्मुक्ति पाउन प्रमाण पुर्याउने भार वा दायित्व अन्य व्यक्तिमा नरही प्रतिवादीमा नै रहन्छ तर प्रतिवादीले प्रमाणित बयान र अभियोगको तथ्यपूर्ण रुपमा खण्डन गरी कसूर अपराध गरेको होइन भनी प्रमाण समेत दिन सकेको देखिन्न ।
११. वेश्यावृत्ति गराउने कार्यमा संलग्न रही पीडितहरूलाई बन्द गरी राखेको मौकामा पीडितहरू फेला पारी शान्ति सुरक्षामा खटिएका प्रहरी कर्मचारीबाट उद्धार गरी ल्याएको भनी उद्धारमा संलग्न प्र.ना.नि.अरुणकुमार सिंह समेतले प्रतिवेदन दिएको स्थिति छ । सो प्रतिवेदन व्यहोरा तथा पीडितको प्रमाणित बयान तथा जाहेरी व्यहोरालाई अदालतमा उपस्थित भै प्रतिवेदकले पुष्टि गरेको देखिन्छ । अभियुक्तहरू सुशील क्षेत्री र कमल खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कसूर अपराध स्वीकार गरी सहअभियुक्त श्याम भन्ने रुपबहादुर क्षेत्रीलाई समेत पोल गरी बयान गरेको देखिन्छ । यसरी प्रतिवादीहरूको बयान, प्रतिवेदकको व्यहोरा घटना विवरण तथा पीडितहरूको प्रमाणित बयान एक आपसमा सिलसिलाबद्ध भई कसूर अपराधलाई पुष्टि गरेको देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको प्रतिवादीहरूको बयान पीडित जाहेरवालीहरूको र प्रतिवेदकको भनाईबाट समर्थित र पुष्टि भइरहेको प्रतिवादीहरूले अन्यथा भनी तथ्ययुक्त आधारमा प्रमाणित गर्न नसकेको तथा पीडितले अदालतमा पछि बयान गर्दा अन्यथा भनेको भए पनि त्यसरी स्थापित भइसकेको तथ्य र घटनाक्रम खण्डित हुने अवस्था देखिन्न । वारदात घटनाको समय अन्तराल पछि कसैलाई सफाइ दिन सहयोग गर्ने हिसावले पछि अन्यथा बकपत्र गरेको देखिए पनि तथ्यगत सबूद र घटनावलीले अभियोग दावीको कसूर पुष्टि गरेको कुराबाट निर्णय हुने हुनाले Hostile भै पछिबाट गरेको त्यस्तो बकपत्रले प्रस्तुत मुद्दाको तथ्यमा तात्विक असर पर्न सक्ने हुँदैन । किनकि अदालतबाट बयान प्रमाणित गर्दा अन्यथा नभन्नेले पछिबाट विपरीत बयान गर्नुको स्वभाविक र विश्वासिलो कारण खुलाएको पनि देखिन्न । अदालतमा समेत डरले बयान गरेको भन्नु विश्वसनीय नभई सर्वमान्य मान्यता र सिद्धान्तविपरीत भई समय अन्तराल पछि भएको पीडितको बकपत्र नै अविश्वसनीय देखियो ।
१२. अतः माथि विवेचित आधार र कारणबाट फौजदारी अपराधमा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने वस्तुगत तथ्य र सबूद प्रमाणहरूको आधारमा निर्णय गर्ने कुरा भएकोले अपराधीलाई बचाउ गर्ने नियतले प्रमाणित बयानलाई अन्यथा भनी Hostile भै पीडितले बकपत्र गर्दैमा अपराध छिप्न नसक्ने हुँदा प्रतिवादीहरूले पीडितहरूलाई प्रलोभन डर त्रास र दवावमा पारी आफ्नो कब्जामा लिई कानूनद्वारा वर्जित कार्यमा संलग्न गराई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसूर अपराध गरेको जाहेरवालीहरूको बकपत्र बाहेक मिसिल संलग्न अन्य तथ्ययुक्त सबूद प्रमाणबाट पुष्टि भएको अवस्थामा पुनरावेदन अदालत नेपालगञ्जबाट भएको मिति २०६३।३।११ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६७ साल कात्तिक १४ गते रोज १ शुभम्–
इजलास अधिकृत : श्रीप्रसाद संजेल