निर्णय नं. ९२१७ - लागु औषध नाइट्राभेट ट्याबलेट

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।३।९।२
०६९-CR-१०८०
मुद्दा : लागु औषध नाइट्राभेट ट्याबलेट ।
पुनरावेदक/प्रतिवादी : भक्तबहादुर खड्काको छोरा जिल्ला नवलपरासी, धुर्कोट गा.वि.स.वडा नं. २ घर भई जिल्ला कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको मानबहादुर खड्का
विरूद्ध
प्रत्यर्थी/वादी : प्रहरी हवलदार प्रेमलाल चौधरीको प्रतिवेदनले नेपाल सरकार
§ फौजदारी अभियोगमा वादी पक्षले प्रतिवादीमाथि लगाएको कसुरलाई शङ्कारहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । अपराध पुष्टि गर्ने क्रममा शङ्काको गुञ्जायस रहनुहुँदैन । शङ्काको स्थिति उत्पन्न भएको अवस्थामा त्यसको फाइदा अभियुक्तमा जाने ।
§ वादी पक्षले यी पुनरावेदक प्रतिवादीको सगँसाथबाट बरामद भएको लागु औषध बिक्री वितरणको लागि ओसार पसार, सञ्चय गरेको कुरा सम्बन्धमा शङ्कारहित तवरले पुष्टि हुने गरी प्रमाण पेस गरेको नदेखिँदा प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा आफूबाट बरामदी लागु औषध बिक्री वितरण, सञ्चय, ओसार पसार गर्ने कार्यका लागि नल्याई कुलतको बानी परेकाले सेवन गर्नका लागि खरिद गरीसम्म ल्याएको हो भनी लिएको पुनरावेदकको पुनरावेदन जिकिर तर्कसम्मतरूपमा पुष्टि भएको पाइने ।
(प्रकरण नं.३)
पुनरावेदक/प्रतिवादीको तर्फबाट :
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४, १४(१)
§ प्रमाण ऐन, २०३१ को दफा २५
सुरू तहमा फैसला गर्ने :
मा.न्या.श्री टेकनारायण कुँवर
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री दिनेशकुमार कार्की
मा.न्या.श्री सत्यमोहन जोशी थारू
फैसला
न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :
मिति २०६८।७।१८ गते दिनको अं. १० बजेको समयमा जिल्ला मकवानपुर, चुरियामाई गा.वि.स. वडा नं ३ रातमाटेमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना. ४ ख. १५४१ नं. को बसलाई रोकी चेक जाँच गर्दा सो बसमा यात्रा गरी आएका मानबहादुर खड्काको शरीर तलासी गर्दा निजले लगाएको ज्याकेटको दायाँ अगडिको बगलीबाट लागु औषध नाइट्राभेट ट्याब्लेट १२० वटा फेला परेकाले लागु औषध र मानिससमेत दाखिल गरेको छु, कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.ह.प्रेमलाल चौधरीसमेतको प्रतिवेदन ।
मिति २०६८।७।१८ गते दिनको १० बजेको समयमा जिल्ला मकवानपुर, चुरियामाई गा.वि.स. वडा नं ३ मा ना. ४ ख १५४१ नं को बसमा यात्रा गरी आएका जिल्ला नवलपरासी, धुर्कोट–२ बस्ने मानबहादुर खड्काको
खानतलासी गर्दा निजले लगाएको ज्याकेटको दायाँ अगाडि बगलीबाट लागु औषध नाइट्राभेट ट्याब्लेट १२० वटा बरामद भएको हो भन्नेसमेत व्यहोराको मिति २०६८।७।१८ को शरीर खानतलासी मुचुल्का ।
भारतको रक्सौलमा गई मेडिकलबाट रू ४५०।– मा १२० वटा नाइट्राभेट ट्याब्लेट खरिद गरेको हुँ । सो लागु औषध नाइट्राभेट ट्याब्लेट सेवन गर्नको लागि खरिद गर्न हिँडेको थिएँ । मलाई लागु औषध नाइट्राभेट ट्याब्लेट सेवन गर्ने बानी छ । काठमाडौं महँगो पर्ने भएकाले रक्सौलमा खरिद गर्न गएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी मानबहादुर खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६८।७।२० मा गरेको बयान ।
बरामदी लागु औषध नमुना परीक्षण गर्दा नाइट्राजेपाम पाइएको भन्नेसमेत व्यहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
का.जि.का.म.न.पा वडा नं १४ कलङ्की स्थित रमेश बुढाथोकीको घरमा डेरा गरी बस्ने हरिकला कार्की खड्काको डेरा कोठा खानतलासी गर्दा लागु औषध मुद्दामा प्रमाण लाग्ने कुनै पनि चीजवस्तु फेला परेको होइन भन्नेसमेत व्यहोराको मिति २०६८।८।११ को खानतलासी एवम् बरामदी मुचुल्का ।
मिति २०६८।७।१८ का दिन १० बजेको समयमा प्रतिवेदक प्रहरीहरू सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगन्जबाट नारायणगढतर्फ जान आएको ना. ४ ख १५४१ नं को बसमा यात्रा गरी आएका मानबहादुर खड्कालाई तल ओराली शरीर तलासी गर्दा निजले लगाएको ज्याकेटको खल्तीबाट लागु औषध नाइट्राभेट ट्याब्लेट १२० वटा बरामद भएको हो भन्नेसमेत व्यहोराको नानुमाया स्याङ्तानसमेतका मानिसहरूको मिति २०६८।८।१५ को एकै मिलानको घटना विवरण कागज ।
प्रतिवादी मानबहादुर खड्का लागु औषध नाइट्राभेट सेवन गर्ने प्रयोजनका लागि भारतको रक्सौलमा गई खरिद गरी ल्याउँदै गर्दा घटनास्थलमा पक्राउ परेको देखिँदा निजले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (च) र (छ) बमोजिमको कसुर अपराध गरेकाले सोही ऐनको दफा १४ (१) (ज) र (झ) अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदावी ।
मैले १५/१६ वर्षअघिदेखि लागु औषध सेवन गर्दै आएको हुँ । नाइजेरिया बस्दा लागु औषध सेवनगर्ने बानी छुटेको थियो । ४ वर्षअघि नेपाल फर्की आएपछि साथीको सङ्गतमा परी पुनः लागु औषध सेवन गर्न थालेका थिए । मलाई नाइट्राभेट ट्याब्लेट दिनको ६ वटासम्म खानुपर्ने हुन्छ । काठमाडौंमा उक्त लागु औषध खरिद गर्दा महँगो पर्ने भएकाले वीरगन्जमा सस्तोमा पाइन्छ भन्ने थाहा पाएकाले मिति २०६८।७।१८ गते वीरगन्जमा गई दुर्व्यसनी केटाहरूसँग रू. ७५।– मा उक्त लागु औषध ट्याब्लेट खरिद गरेको हुँ । सो लागु औषध लिई काठमाडौं जान भनी आउँदा पक्राउ परेको हुँ । बरामदी लागु औषध २० दिनको डोज हो । उक्त लागु औषध बिक्री वितरण गर्न ल्याएको होइन । बिक्री गर्ने गरेको पनि छैन । सेवन गर्न ल्याएको हुँदा अभियोग मागदावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मानबहादुर खड्काले सुरू अदालततमा मिति २०६८।८।१९ मा गरेको बयान ।
मानबहादुर खड्काले ५–६ वर्ष पहिले देखि लागु औषध सेवन गर्ने गरेका र लागु औषध ओसार पसार, बिक्री वितरण र सञ्चय गर्ने खालका होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी सरोज साहीको बकपत्र ।
मिति २०६८।७।१८ गते रातमाटे चेकपोष्टमा शङ्का लागी प्रतिवादी मानबहादुर खड्काको शरीर खानतलासी गर्दा निजले लगाएको ज्याकेटको दाहिने गोजीबाट लागु औषध नाइट्राभेट १२० थान फेला परेको हो भन्नेसमेत व्यहोराको प्रतिवेदक प्र.ह. प्रेमलाल चौधरीको बकपत्र ।
प्रस्तुत मुद्दामा प्रतिवेदकको जाहेरी, मौकमा बुझिएका मानिसहरूको भनाइ, प्रतिवादीको बयान र बरामदी मुचुल्का एवम् प्रतिवेदक प्रेमलाल चौधरीले अदालतमा गरेको बकपत्रसमेतबाट यी प्रतिवादीले आरोपित कसुर गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादी मानबहादुर खड्कालाई सेवनतर्फ दुई महिना कैद र दुई हजार जरिवाना एवम् सञ्चय, खरिद, ओसार पसारतर्फ दुई वर्ष दश महिना कैद र दुई लाख पचहत्तर हजार रूपैयाँ जरिवानासमेत हुने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०६८।११।२९ गते मकवानपुर जिल्ला अदालतबाट भएको फैसला ।
बरामद चक्किहरू लागु औषध (Narcotics) अन्तर्गत पर्दैन । मनोद्दीपक पदार्थमा पर्ने हुँदा लागु औषध ऐन, २०३३ को दफा २३ (क) ले, औषधि ऐन, २०३५ बमोजिम हुनेछ भनिएबमोजिम ऐ. औषधि ऐनको दफा १८ बमोजिम मबाट औषधिको अनुचित प्रयोग वा दुरूपयोग भएकोमा दफा ३९ बमोजिम तहकिकात र दायरी गर्ने निरीक्षकले हो । दफा ३९ (१) (क) र (ख) का आधारमा प्रहरीले अनुसन्धान तहकिकात गर्न नमिल्ने प्रष्टै छ । औषधि ऐन, २०३५ को दफा १७ बमोजिम समूह विभाजन, औषधिस्तर नियमावली, २०४३ को नियम १० ले औषधिको समूह र उपसमूह विभाजन गरी सोको अनुसूची–४ समूह “ग” उपसमूह–२ को पदार्थ (सब्स्टान्स) ३ नं. अन्तर्गत “नाइट्राजेपाम” नाम प्रष्ट उल्लेख छ । सेवन गर्ने कार्य, ओसार पसार, सञ्चय र निकासी गर्ने कार्य धेरै फरक कार्य हुन् । मैले लागु औषधि सेवन नगरी मनोद्दीपक पदार्थ (Phycochotropics Substances) नाइट्राजेपाम सेवन गर्न नहुने कार्य गरेको र आदति बानीले शरीरलाई आवश्यकता रहेकोमा हाल मैले ठूलो प्रायश्चित्त गरिरहेको
छु । मैले आजको मितिसम्म लागु औषध कसैलाई बिक्री वितरण ओसार पसार गर्ने गरेको छैन । ओसार पसार, सञ्चय गर्ने कार्य बिक्री गर्ने मनसाय उद्देश्य त्यसभित्र रहेको हुन्छ, मैले बिक्री गरिन, वादी पक्षले पनि दावी लिएको छैन । केवल अभियोग लगाउने क्रममा दफा ४(च) को कसुर लेखिएकोलाई पनि ठहर हुन सक्ने होइन । मबाट बरामद भएको लागु औषध बिक्री वितरण, निकासी पैठारी गरेको भन्ने कुराको ठोस वस्तुनिष्ठ प्रमाण वादी पक्षबाट गुजार्न नसकेको, प्रथमतः लागु औषध ऐन, २०३३ को दफा ३ को (क) उपखण्ड (७) प्रयोजनका लागि नेपाल राजपत्रमा मिति २०५१।२।२ मा प्रकाशित तालिका “ख” को ३ नं. नाइट्राजेपाम उल्लिखित वाक्यांशले र ऐ. ऐन दफा २३ (क) ले केवल कोरा लागु औषधको सञ्चयलाई निषेध गर्ने ऐनको मनसाय रहेको मैले नाइट्राजेपाम सेवनलाई स्वीकारेको हुँदा ऐनको दफा १४(१) (ज) उल्लेख भएकाले मबाट बरामद पदार्थ लागु औषध ऐन, २०३३ को दफा २३ (क) ले प्राकृतिक वस्तुलाई निषेध गर्ने र कृत्रिम रासायनिक प्रक्रियाबाट बनेको वस्तुलाई निषेध नगर्ने हुँदा औषधि ऐन, २०३५ अन्तर्गत राखी मनोद्दीपक पदार्थ नाइट्रोजेपाम (चेक जाँचबाट) देखिएकाले औषधि ऐनको दफा १८बमोजिम अनुचित प्रयोगमा सजाय हुने नै हुँदा यस मुद्दाबाट सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदन ।
यसमा अभियोग पत्रमा “सेवन प्रयोजनको लागि” भन्ने उल्लेख भएको र बरामद भएको लागु औषध नाइट्राभेट १२० ट्याब्लेट र प्रतिवादीलाई गरिएको सजायको बीचमा तादात्म्यता नदेखिई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।६।९ गतेको पुनरावेदन अदालत, हेटौंडाको आदेश ।
लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “कुनै व्यक्तिका साथबाट कुनै लागु औषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफिम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागु औषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागु औषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको कसर निजको साथमा राखिएको फेला परेमा त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीले ल्याएको नाइट्राभेट ट्याब्लेट प्रतिवादीको साथबाट बरामद भएको तथ्यमा विवाद नहुँदा सजायमा उन्मुक्ति हुने आधार वा बरामद लागु औषध प्रचलित कानूनबमोजिमको आदेशबमोजिम नै राखेको हो भन्ने कुराको प्रमाण पुर्याउने भार प्रतिवादीमा रहने हुन्छ । तर सोबमोजिम आफू निर्दोष रहेको भन्ने कुरा प्रतिवादीले स्थापित गर्न सकेको नपाइँदा निजले उक्त लागु पदार्थ खरिद गरी ल्याई ओसार पसारसमेतको कार्य गरेको अवस्थामा पक्राउ परेको मिसिल प्रमाणबाट देखिनाले निज निर्दोष रहेछन् भन्न मिल्ने नदेखिई निज प्रतिवादी मानबहादुर खड्कालाई सेवनतर्फ दुई महिना कैद र रूपैयाँ दुई हजार जरिवाना एवम् खरिद, ओसार पसारतर्फ दुई वर्ष दश महिना कैद र दुई लाख पचहत्तर हजार रूपैयाँ जरिवानासमेत हुने ठहर्याई मकवानपुर जिल्ला अदालतबाट मिति २०६८।११।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको फैसला ।
मैले लागु औषध नाइट्राजेपाम कुनै प्रकारले कसैलाई ओसार पसार खरिद बिक्री नगरी कुलतमा फसी बानी परेकोले सेवन गर्ने गर्दछु । सो कार्यको प्रायश्चित्त गरिरहेको छु । सेवन गर्ने कार्य, ओसार पसार, सञ्चय र निकासी गर्ने कार्य धेरै फरक कार्य हुन् । मैले आजको मितिसम्म लागु औषध कसैलाई बिक्री ओसार पसार गर्ने गरेको छैन । ओसार पसार, सञ्चय गर्ने कार्य बिक्री गर्ने मनसाय उद्देश्य त्यसभित्र रहेको हुन्छ, मैले गरिन, वादी पक्षले पनि दावी लिएको छैन । तसर्थ सुरू मकवानपुर जिल्ला अदालतबाट भएको फैसलालाई पुनरावेदन अदालत, हेटौंडाबाट सुरू सदर हुने ठहर्याई भएको फैसला कानूनसम्मत नभएकाले सो फैसला उल्टी हुनुपर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन ।
यसमा नाइट्राभेट ट्याब्लेट सेवन गर्ने बानी भएकाले सेवनको प्रयोजनका निम्ति मात्र खरिद गरी लिएको हुँ भनी निवेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारी एवम् अदालतसमक्ष सेवनमा साबित भै बयान गरेको र निज प्रतिवादीका साक्षीहरूले पनि सोही व्यहोराको समर्थन गरी बकपत्र गरेको देखिएको अवस्थामा प्रतिवादीले रू. ४५०।– को नाइट्राभेट ट्याब्लेट खरिद गरेर सेवन गरी बसमा लठ्ठिएको अवस्थामा पक्राउ परेका प्रतिवादीलाई लागु औषध ओसार पसारमा समेत सजाय गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।१०।२३।३ को फैसलामा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) (झ), प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र मुलुकी ऐन, २०२० को अ.बं. १८४ क नं.समेतको त्रुटि विद्यमान देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको भन्ने यस अदालतबाट मिति २०६०।३।१७ मा भएको आदेश ।
नियमबमोजिम पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।११।२९ भएको फैसला मिले नमिलेको के रहेछ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
तत्सम्बन्धमा हेर्दा, सवारी साधन चेकजाँच गर्ने क्रममा ना. ४ ख१५४१ नं को बसलाई रोकी चेक जाँच गर्दा सो बसमा यात्रा गरी आएका मानबहादुर खड्काको शरीर सगँसाथबाट लागु औषध नाइट्राभेट ट्याब्लेट १२० वटा फेला परेकोले कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन परेकोमा लागु औषध नाइट्राजेपाम सेवन गर्ने प्रयोजनका लागि भारतको रक्सौलमा गई खरिद गरी ल्याउँदै गर्दा घटनास्थलमा पक्राउ परेको देखिँदा निजले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को(च) र (छ) अनुसारको कसुर अपराध गरेकाले सोही ऐनको दफा १४(१)(ज) र (झ) अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दावी रहेकोमा प्रतिवादी मानबहादुर खड्कालाई सेवनतर्फ दुई महिना कैद र दुई हजार जरिवाना एवम् सञ्चय, खरिद, ओसार पसारतर्फ दुई वर्ष दश महिना कैद र दुई लाख पचहत्तर हजार रूपैयाँ जरिवानासमेत हुने ठहर्याई सुरू मकवानपुर जिल्ला आदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको सुरू सदर फैसलाउपर चित नवुझाई पुनरावेदक प्रतिवादी मानबहादुर खड्काले यस अदालतमा दिएको निवेदनउपर दोहोर्याई निस्सा प्रदान भै पुनरावेदनको रूपमा दर्ता भै प्रस्तुत मुद्दा निर्णयार्थ पेस भएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीको सँगसाथबाट लागु औषध नाइट्राभेट ट्याब्लेट चीजवस्तु बरामद भएका कुरा खानतलासी तथा बरामदी मुचुल्काबाटसमेत देखिएकाले पुनरावेदक प्रतिवादी मानबहादुर खड्काको सँगसाथबाट लागु औषधि नाइट्राभेट बरामद भएको कुरामा विवाद रहेको देखिएन । पुनरावेदक प्रतिवादीको सँगसाथबाट बरामद भएको लागु औषध सेवन गर्न र बिक्री वितरण गर्नको लागि ल्याइराखेको हो वा प्रतिवादीले आफैँ सेवन गर्नका लागि ल्याइराखेको हो भन्ने सम्बन्धमा विचार गर्दा दिनमा ६ वटा लागु औषध नाइट्राभेट ट्याब्लेट सेवन गर्ने बानी छ । काठमाडौंमा उक्त लागु औषधि महँगो पर्ने भएकाले आफूलाई सेवन गर्न बाहिरबाट लागु औषधि खरिद गरी ल्याउँदै गर्दा प्रक्राउ परेको हो भनी यी प्रतिवादीले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । साथै मकवानपुर जिल्ला अदालतसमक्ष लागु औषध बिक्री वितरण गर्न ल्याएको होइन, बिक्री गर्ने गरेको पनि छैन, सेवन गर्न ल्याएको हुँ भनी अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई समर्थन गर्ने गरी बयान गरेको देखिन्छ । प्रतिवादी बस्ने डेरा कोठा खानतलासी गर्दा लागु औषध मुद्दामा प्रमाण लाग्ने कुनै पनि चीजवस्तु फेला परेको होइन भनी खानतलासी एवम् बरामदी मुचुल्काका दिल्लीबहादुर कार्कीलगायतका साक्षीहरूले कागज गरेको देखिन्छ । प्रतिवादी मानबहादुर खड्का पहिलेदेखि लागु औषध सेवन गर्ने बानी परेको व्यक्ति हो । लागु औषध ओसार पसार, खरिद बिक्री वितरण र सञ्चय गर्ने खालको होइन भनी प्रतिवादीका साक्षी सरोज साहीले प्रतिवादीले लिएको जिकिरको समर्थन हुने गरी बकपत्र गरिदिएको कुरा मिसिल संलग्न कागजातबाट देखिन्छ ।
३. प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादी पक्षको हुन्छ भनी कानूनी व्यवस्था रहेको छ । फौजदारी अभियोगमा वादी पक्षले प्रतिवादीमाथि लगाएको कसुरलाई शङ्कारहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । अपराध पुष्टि गर्ने क्रममा शङ्काको गुञ्जायस रहनुहुँदैन । शङ्काको स्थिति उत्पन्न भएको अवस्थामा त्यसको फाइदा अभियुक्तमा जान्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको छ । प्रस्तुत मुद्दामा वादी पक्षले यी पुनरावेदक प्रतिवादी मानबहादुर खड्काको सगँसाथबाट बरामद भएको लागु औषध बिक्री वितरणको लागि ओसार पसार, सञ्चय गरेको कुरा सम्बन्धमा शङ्कारहित तवरले पुष्टि हुने गरी प्रमाण पेस गरेको नदेखिँदा प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा आफूबाट बरामदी लागु औषधि बिक्री वितरण, सञ्चय, ओसार पसार गर्ने कार्यका लागि नल्याई कुलतको बानी परेकोले सेवन गर्नका लागि खरिद गरीसम्म ल्याएको हो भनी लिएको पुनरावेदकको पुनरावेदन जिकिर तर्कसम्मतरूपमा पुष्टि भएको पाइयो । यसरी सेवन गर्नका लागि ल्याउँदै गर्दा प्रक्राउ परेको देखिँदा सो कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) को कसुर भएकाले निजले उक्त ऐनको दफा ४(छ) को कसुरदार ठहर्याई भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला सो हदसम्म मिलेकै देखियो । प्रतिवादीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ दफा ४(च) को कसुर गरेको ठहर्याई १४(१)(झ) को सजाय गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुने ठहर्छ ।
४. अतः प्रतिवादीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) को कसुर गरेबाट सोही ऐनको दफा १४(१)(ज) अनुसार दुई महिना कैद र दुई हजार जरिवानासमेत सजाय हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदक प्रतिवादी मानबहादुर खड्कालाई दुई महिना कैद र २ दुई हजार रूपैँया जरिवाना एवम् खरिद ओसार पसारतर्फ दुई वर्ष दश महिना कैद र दुई लाख पचहत्तर रूपैँया जरिवानासमेत हुने गरी सुरू मकवानपुर जिल्ला अदालतबाट भएको फैसलालाई सदर ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसलालाई यस अदालतबाट प्रतिवादीलाई सेवनतर्फ मात्र कैद जरिवाना हुने गरी केही उल्टी ठहरेकाले सुरू फैसलाको तपसिल प्रकरण १ मा उल्लिखित सेवन तथा ओसार पसारसम्बन्धी कैद तथा जरिवाना गरिरहनु परेन । पहिलाको लगत संशोधन गरी दुई महिना कैद र दुई हजार रूपैयाँ संशोधित कैद जरिवानाको लगत म्याद ठेकी नियमानुसार सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु भनी सुरू दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउनू --------------------१
यो फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी मानबहादुर खड्कालाई तथा महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ---------------------------२
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू -----------------------३
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल असार ९ गते रोज २ शुभम् ।
इजलास अधिकृत : रामानन्दप्रसाद अधिकारी