निर्णय नं. १७६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १७६५ ने.का.प. २०४० अङ्क ९
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ को रिट नं. ११३२
आदेश भएको मिति : २०४०।९।१७।१ मा
निवेदक : जि.सुनसरी वारहक्षेत्र गा.पं.वडा नं.६ बस्ने समजिङ शेर्पासमेत
विरूद्ध
विपक्ष : श्री भूमिसुधार अधिकारी भू.सु.का.सुनसरीसमेत
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
(१) जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी रिट निवेदकहरूका नाउँमा दर्ता भएको जग्गामा प्रत्यर्थीले मोही कायम गर्ने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
आदेश
न्या.हरगोविन्द सिंह प्रधान
१. मिति ०३९।४।२१।५ को भू.सु.का.सुनसरीको निर्णय र मिति ०३९।६।१३ को आदेश पर्चा समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ बमोजिम पर्नआएको प्रस्तुत रिट निवेदनको जिकिर तथा संक्षिप्त तथ्य यसप्रकार छ :
२. विपक्षी भवानीप्रसादका दर्ता हकभोगको महेन्द्रनगर गा.पं.वडा नं.६ को कि.नं.१०२ जग्गा बिगहा १–१०–० मध्ये आधा म समजिङ शेर्पा र आधा म निमाबहादुर शेर्पाले मिति ०३८।१२।४ मा राजीनामा गरी लिएको त्यस बखत सम्म कार्यालय श्रेस्तामा मोही जनिएको थिएन उक्त जग्गा कित्ता फोडी हाल कि.नं.२७२ म निमाबहादुर र कि.नं २७४ म समजिङको नाउँमा कायम भएको छ । यस्तो जग्गामा पछि ०३९।१।१० मा विपक्षी भवानीप्रसादले मैले बाली बुझाएको भर्पाई छ भनी विपक्षी कार्यालयमा मोहियानीमा विपक्ष माधवप्रसादलाई जग्गावाला बनाई उजूर गरेको र त्यस उपर माधवप्रसादले प्रतिवाद नगरी म्याद गुजारी बसेको रहेछन् । विपक्षी कार्यालयले म्याद गुजारी बसेको र मिति ०३९।१।७।३ को पत्र साथ प्राप्त सरजमीन मुचुल्का र भर्पाईलाई आधार लिई विपक्ष भवानीप्रसादलाई मोही ठहर्याई निर्णय गरी मालपोत कार्यालयलाई मोहीको नाममा पूर्जा बनाई दिने भन्ने आदेश जारी गरेको पाइयो ।
३. भवानीप्रसादले हाम्रो विवादित जग्गा कमाएको छैन कमाएको भए कुन साल मितिबाट कमाएको हो खुलाएको छैन । मोहियानी हक ऐन आउनु भन्दा अघिबाटै कमाएको भए ऐन आएपछि १ नं.अनुसूची भर्नु पर्ने २ नं.अनुसूचीको लगत प्रकाशन हुनुपर्ने ४ नं.जो.अ.नि.प्राप्त गर्नुपर्ने र पछि कमाएको भए ऐनको दफा ३४(१) को कार्यविधि पूरा गरेको हुनपर्ने थियो तर यस्तो केही भएको छैन । सरजमीन मुचुल्काको सम्बन्धमा हेर्दा सो मुचुल्का मुद्दा पर्नु भन्दा अघि नै भएको देखिन्छ र सरजमीनलाई कानुनले निर्दिष्ट गरेको सबूत प्रमाणको अभावमा स्थान दिन नहुने र भर्पाई २ पक्षको मिलेमतोबाट भएकोले प्रमाणमा लिन हुँदैन । जग्गा हाम्रो नाउँमा दर्ता छ दर्ता श्रेस्ताबाट मोही ठहर्याएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत भएबाट विपक्ष कार्यालयको उक्त निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन रहेछ ।
४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नुभन्ने समेतको मिति ०३९।९।२ को सिङलबेञ्चको आदेश रहेछ ।
५. साविक जग्गाधनीले दिएको भर्पाई २ सरजमीनको आधार साथै प्रतिवादीले म्याद गुजारी बसेबाट यस कार्यालयले मोही ठहर्याएको निर्णय कानुन अनुकूल भएबाट रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको भू.सु.का.सुनसरीको लिखितजवाफ रहेछ ।
६. जग्गाधनीले दिएको भर्पाई गा.पं.बाट भएको सरजमीन समेतको आधारमा न्यायिक मन प्रयोग गरी भू.सु.का.बाट भएको निर्णयमा कुनै त्रुटि छैन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको विपक्षी भवानीप्रसाद गौतमको लिखितजवाफ रहेछ ।
७. विपक्षी मध्येका माधवप्रसादको नाउँको सूचना कानुनबमोजिम तामेली भई निजले लिखितजवाफ नदिई म्याद गुजारी बसेको रहेछ ।
८. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले रिट निवेदकहरूले जग्गा खरीद गरी लिएको अवस्था मोही देखिँदैन । रिट निवेदकहरूले खरीद गरी लिएको जग्गामा मोही कायम गर्दा रिट निवेदकहरूलाई नबुझी गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले सरजमीन समेत बुझी प्रमाणको मूल्याड्ढन गरी निर्णय गरेकोमा कानुनको त्रुटि छैन भन्ने समेत र प्रत्यर्थी भवानीप्रसादतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले कानुन अनुसार भएको निर्णयमा यो कानुनको त्रुटि भयो भनी औंल्याउन सकेको नहुँदा रिट खारेज हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
९. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा कि.नं.१०२ को जग्गा फोड भई २७३ निमाबहादुर शेर्पा र २७४ समजिङ शेर्पाका नाममा हाल कायम देखिँदा उल्लेखित कि.नं.२७३ र २७४ का जग्गाको मोही निवेदक भवानीप्रसादको नाम कायम गरी पूर्जा बनाई दिने भनी मिति २०३९।४।२१ र सो निर्णय अनुसार मोही पूर्जा बनाई दिने भनी ०३९।६।१३ मा प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीबाट निर्णय गरेको देखिन्छ ।
११. प्रत्यर्थी भवानीप्रसादले जग्गाधनी देखाएका माधवप्रसादले म्याद गुजारी प्रतिवाद नगरे पनि विवादित जग्गा रिट निवेदकहरूका नाउँमा दर्ता देखिएपछि निजहरूलाई बुझी प्रतिवाद गराई कानुनबमोजिम निर्णय गर्नुपर्ने हुन्छ । तर प्रस्तुत विषयमा जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझी प्रतिवाद गराई निर्णय गरेको देखिँदैन । त्यसरी जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी निज रिट निवेदकहरूका नाउँमा दर्ता भएको जग्गामा प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीले मोही कायम गर्ने गरी गरेको मिति ०३९।४।२१ र मिति ०३९।६।१३ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिन आयो ।
१२. अतः उपरोक्त उल्लेख भएअनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको मिति २०३९।४।२१ र मिति ०३९।६।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुनबमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ। जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.धनेन्द्र्रबहादुर सिंह
इतिसम्वत् २०४० साल पौष १७ गते रोज १ शुभम् ।