निर्णय नं. ८७४० - छूट जग्गा दर्ता

ने.का.प. २०६८, अङ्क १२
निर्णय नं. ८७४०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६२ सालको दे.पु.नं. ८३८४, ८३८५, ८३८६, ८३८७, ८३८८
फैसला मितिः २०६८।७।२७।१
मुद्दाः– छूट जग्गा दर्ता
पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने सविर मियाँ
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतो
पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी, पिप्रापूर्व गा.वि.स. वडा नं.८ बस्ने बाबुजी मिया
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स. गर्ने सीताराम महतो
पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने नूर महम्मद मियाँ
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स. गर्ने सीताराम महतो
पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने अविद मन्सुरी
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतो पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने वीवी जोहरा मियाँ
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३ बस्ने स्व.रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतो
शुरू फैसला गर्ने :–
मालपोत कार्यालय, सुनसरी
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री दामोदरपुरूष ढकाल
मा.न्या.श्री राघवलाल वैद्य
§ मुद्दा एक वा अनेक भन्ने कुरा त्यसमा सन्निहित माग तथा प्रतिवाद र निर्णय गर्नुपर्ने विषयले निर्धारित गर्ने हो । प्रशासकीय सुविधा वा अज्ञानताले अलग–अलग फायल खडा भई टिप्पणी आदेश अलग भए भन्दैमा मुद्दा नै अलग–अलग नहुने ।
(प्रकरण नं.७)
§ अ.वं. १९३ नं. मा एउटै निर्णय वा विषयका सम्बन्धमा एउटै पुनरावेदन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा स्पष्ट उल्लेख नभए पनि मुद्दाको विषयवस्तु समान छ भने पुनरावेदन गर्दा विवादका पक्षहरूले एउटै वा संयुक्त रूपमा गर्न सक्ने हुन्छ । यस्तोमा अलग–अलग पुनरावेदन गर्न वाध्य बनाउन नमिल्ने ।
(प्रकरण नं.८)
§ विवादका पक्षहरूले जग्गा दर्ताका विषयमा छुट्टाछुट्टै निवेदन गरे पनि एउटै निकायमा समान विवादित विषयवस्तु भएको मुद्दाको एकै मितिको निर्णयमा सबै पुनरावेदकहरूले संयुक्त रूपमा एउटै पुनरावेदन दायर गर्दैमा त्यस्तो पुनरावेदन पत्र कानूनप्रतिकूल मानी खारेज गर्नु अ.वं. ७२ नं. र १९३ नं. समेतका न्यायिक मान्यताको समेत प्रतिकूल हुने ।
(प्रकरण नं.९)
§ प्राविधिक एवं कार्यविधिगत प्रश्नलाई महत्व दिई व्यक्तिको सारवान अधिकारलाई गौण बनाई पुनरावेदन पत्र नै खारेज गर्नु न्यायिक मान्यताको प्रतिकूल हुन जाने हुन्छ । न्याय माग्न अदालत प्रवेश गर्ने पक्षहरूको सारवान पक्षलाई प्राविधिक पक्षले धरासायी बनाउन नसक्ने ।
§
(प्रकरण नं.१०)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता निरञ्जन आचार्य
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
§ नेकाप २०६६, मंसिर, नि.नं. ८२०१, पृष्ठ १२६८
§ नेकाप २०६७, असार, नि.नं. ८३२८, पृष्ठ ३७२
सम्बद्ध कानूनः
§ अदालती बन्दोवस्तको महलको ७२, १९३ नं.
§ मालपोत ऐन, २०३४ को दफा ३१
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६२।४।१९ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिंप्त तथ्य र ठहर यस प्रकार छ :–
साविक कि. नं. २६५, २६६, २६७ र २७१ बाट खारेज भै हालको श्रीपुर जव्दी गा.वि.स. वडा नं. ३(ख) को कि. नं. ३, ४, ५, ६, ७, १० र १५ समेत गरी जम्मा ७ कित्ता जग्गा मेरो पुरानो जग्गा हो । मिति २०२२।१०।२०।४ मा श्री सगरमाथा अञ्चल अदालतबाट ३६ बिगाहा जग्गा मैले जिती पाई थाती रोक्का रहेको सो जग्गाको बाली फुकुवा समेत गराई लिएको र २०२६ सालमा सर्भे नापी नक्सा हुँदा कानूनबमोजिम फिल्डवुकमा सही समेत गरेकोमा पूर्जा नपाएकाले सो जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा दिनका लागि आदेश गरिपाऊँ भन्ने समेत व्यहोराको रूपीलाल महतोको मिति २०४६।५।२३ को निवेदन ।
यसमा छूट दर्ताको लागि सम्बन्धित जग्गाको जिम्दारको पालाको २ नं. रसीद समेतका प्रमाण पेश गराउने र जग्गाको हकभोग विषयको सर्जमीन बुझी मुचुल्का पेश गर्ने भन्ने समेत आदेशानुसार भै आएको मिति २०४९।७।१५ को सर्जमीन मुचुल्का ।
मैले द.नं. २७८० मिति २०४१।१२।३० मा दिएको निवेदनउपर टुङ्गो नलाग्दै मैले निवेदनमा दावी गरेको जग्गा समेत दावी गरी रूपीलाल महतोले दिएको निवेदनउपर तत्कालै कारवाही भैरहेको बुझिएकोले सो निवेदन समेत एकैसाथ राखी दर्तासम्बन्धी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको महेन्द्रप्रसाद मरवैताको मिति २०५०।६।१४ को निवेदन ।
विपक्षीले कीर्ते जालसाज फरेबद्वारा हाम्रो हकभोगको रजिष्ट्रेशन पास गरी लिएको जिल्ला सुनसरी श्रीपुर जव्दीअन्तर्गत मौजे श्रीपुर नन्कार कट्टीको रै.नं. २६५, २६६, २७६ र २७१ को ३६ विगाहा जग्गामध्ये ४–३–९ जग्गा जालसाज गरेकोमा विपक्षीसँग श्री सुनसरी जिल्ला अदालतमा फौ.नं. ६०५ को जालसाज मुद्दा दे. नं. १३६२ को फैसला बदर आदेश पूर्जा बदर मुद्दा, दे.नं. १४०९ र १४१० को फैसला आदेश पूर्जा बदर दर्ता कायम मुद्दा चलिरहेको हुँदा उल्लिखित मुद्दा अन्तिम नभएसम्म छूट दर्ताको मिसिल मुलतबी राखिपाऊँ भन्ने समेत व्यहोराको वा.स. सरिफ मियाको मिति २०५०।६।२६ को निवेदन ।
छूट जग्गा दर्ता गरिपाऊँ सम्बन्धी निवेदन दिई कारवाही चलाउने पिता रूपीलालको मिति २०५९।३।३२ मा मृत्यु भएकोले मुद्दा सकार गरी मेरा नाउँमा छूट जरग्गा दर्ताको कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको सीताराम महतोको मिति २०५९।६।१७ को मालपोत कार्यालय, सुनसरीमा दायर भएको निवेदन ।
यसमा निवेदक स्व.रूपीलाल महतोको मु.स.गर्ने सीताराम महतोको दर्ता नं. १६०० मिति २०५९।६।१७ को निवेदनबाट छूट दर्ता माग भएको जिल्ला सुनसरी श्रीपुर जव्दी गा.वि.स. वडा नं. ३(ख) कि. नं. ३ को ५–१६–७, ऐ कि. नं. ४ को ०–१६–६, ऐ कि. नं. ५ को १–१७–६, ऐ कि. नं. ६ को ०–१०–१०, ऐ ७ को ०–५–१६, ऐ कि. नं. १० को ४–३–१५, ऐ कि. नं. १५ को ०–६–८ छूट दर्ता दा. खा. गर्न माग भएकोमा कि. नं. ३ फोड भै कि. नं. ३१५ मा ४–१६–१२ मात्र बाँकी, कि. नं. ५ फोड भै कि. नं. ३१८ मा ०–५–१५ र ऐ. कि. नं. १० फोड भै कि. नं. ३२० मा ३–११–१२ मात्र जग्गा देखिँदा यसमा अन्य कसैको हकभोग वा अन्य व्यक्तिको नाउँमा दर्ता हुनुपर्ने वा निवेदकको नाउँमा दर्ता हुनु नपर्ने भए ३५ दिनभित्र हकदावी गर्न आउनु भनी सरोकारवालाका लागि हकदावीसम्बन्धी सूचना प्रकाशित गर्ने भन्ने व्यहोराको मालपोत कार्यालय, सुनसरीको मिति २०५९।११।९ को आदेश ।
कर्णप्रताप र तेजशमशेर ज.व.रा. बाट गराएको राजीनामा र. नं. १२३७ मिति २०१७।११।२७ गते सप्तरी मालबाट पारीत भएको लिखतबमोजिम मियाजान मियाका नाममा दर्ता भएको ५–८–१३ जग्गामध्ये साविक कि. नं. २६५ को जग्गा सर्भे नापीमा कायम भएको जिल्ला सुनसरी श्रीपुर जव्दी गा.वि.स. वडा नं. ३(ख) कि. नं. १० को ४–३–१५ मध्ये कित्ता फोड भै कायमी कि.नं. ३२० मध्ये दक्षिणतर्फ १–१०–० जग्गा र.नं. २६३७ मिति २०१८।२।१९ को पारीत लिखतबमोजिम भोगचलन गरी आएको दर्ता हुन बाँकी रहेको जग्गा दर्ता गरी पाउन निवेदन दिई कारवाही भैरहेको छ । विपक्षी सीताराम महतोको पिता स्व. रूपीलालले पाउने र. नं. १२३७ मिति २०१७।११।२७ को जग्गा पहिल्यै दर्ता गराई बिक्री वितरण समेत गरिसकेको हुँदा विपक्षीको कारवाही मिसिल रोक्का गरी तामेली गरी मेरो निवेदनबमोजिम मेरो नाउँमा छूट दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको बाबुजी मियाको मिति २०५९।११।१९ को निवेदन ।
विपक्षीको पिताले नै १२३७ मिति २०१७।११।२७ गतेको पारीत लिखतबमोजिम जग्गा पहिल्यै दर्ता गराई जग्गा बिक्री वितरण गरिसकेको हुँदा म निवेदकको जोतभोग बसोबासको जिल्ला सुनसरी श्रीपुर जब्दी गा.वि.स.वडा नं.३(ख) कि. नं.४ को ०–१६–६, ऐ. कि.नं. ७ को ०–५–१६ र ऐ. कि. नं. ६ को ०–१०–१० भोगचलनमा रहेको मेरो जग्गा अनाधिकार दर्ता गराउन लागेकोले विपक्षीको निवेदन मिसिल तामेलीमा राखिपाऊँ भन्ने समेत व्यहोराको सविर मियाँको मिति २०५९।११।१९ को निवेदन ।
कामेश्वर गोडीयाको नाममा दर्ता कायम रहेको जिल्ला सुनसरी श्रीपुर जब्दी वार्ड नं.३ख) कि. नं.४ को ०–१६–६ जग्गा मिति २०४३।१०।६ मा निज परलोक भएपछि यसै मालपोत कार्यालयमा द. नं. ३५८८ मिति २०४६।१२।२० मा जग्गा दर्ता गरी नामसारी गरी ज.ध.प्र. पूर्जा पाऊँ भनी मैले कारवाही चलाई आएकोमा सोही जग्गाको दावी लिई रूपीलाल महतोको छोरा सीताराम महतोले कारवाही चलाएकोले सो जग्गा मेरो एकलौटी नाममा दर्ता नामसारी गरी ज. ध. प्र. पूर्जा पाऊँ भन्ने समेत व्यहोराको उग्रानन गोठीया यादवको मिति २०५९।१२।९ को निवेदन ।
मैले बच्चालाल लगनवार दर्ताको जि. सप्तरी प्रगन्ना खालीसा मौजे श्रीपुर नन्कार कट्टी मौजाको रै.नं. १३८ मा दर्ता भएको जग्गामध्ये १०–७–० तथा सोही मौजाको रै.नं. १७३ मा रैती कुसुमलाल प्रसेलाबाट २–१३–० गरी जम्मा १३–०–० जग्गा निजहरूबाट बकस पाई स्रेस्तामा दा.खा. दर्ता गराई भोगचलन गरी आएको जग्गा दर्तावालाहरूले डोरमा उपस्थित भई रसिद प्रमाण पेश गर्न र सहिछाप गर्न नसकेकोले ज.ध. पूर्जा लिन पाउन छूट भएकोले छूट जग्गा दर्ता गरिपाऊँ भनी मैले २०३८ सालमा निवेदन गरकोमा सोही जग्गाहरू नै जग्गा दर्ता गरी नामसारी गरिपाऊँ भनी रूपीलाल महतोको छोरा सीताराम महतोले तथा बाबुजी मिया, गुलवदन मण्डलको मु.स. गर्ने गोविन्द मण्डल समेतले कारवाही चलाएको हुँदा त्यस्ता व्यक्तिले मेरो हकभोग चलनको जग्गा दर्ता नामसारीमा कारवाही चलाएको अवस्थामा सो जग्गा निजहरूका नाममा दर्ता हुने होइन । मेरो पूर्व निवेदनअनुसार मेरो नाममा मालपोत ऐन, २०३४ को दफा ७(२) बमोजिम छूट जग्गा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको महेन्द्रप्रसाद मरवैताको मिति २०५९।१२।१० को निवेदन ।
सीताराम महतो समेतले हाम्रो नम्बरी हकभोगको जग्गा दर्ता गराउन यस कार्यालयमा छूट जग्गा दर्ता गरिपाऊँ भनी निवेदन दिएउपर सार्वजनिक सूचना टाँसबाट जानकारी भै म्यादभित्र हक दावीको निवेदन गरेका छौँ । कारवाहीको लागि हामी निवेदकहरूलाई तारिखमा राखिपाऊँ भन्ने समेत व्यहोराको जोहरा मिया, नूर महम्मद मिया, बाबुजी मिया, ऐजल मिया, महिउद्दिन मिया, अमीन मिया, अधिकलाल मिया, सकीर मियाको मिति २०६०।१।९ को निवेदन ।
तारिखमा रहेका पक्ष विपक्षलाई रोहवरमा राखी स्थलगत सर्जमीन गर्न पठाउने भन्ने समेत मालपोत कार्यालय, सुनसरीको मिति २०६०।२।७ को आदेश भई मिति २०६०।२।१० मा सर्जमीन मुचुल्का भएको ।
यसमा साविक दर्ता तिरो भोगसम्बन्धी बलियो प्रमाण निवेदक सीताराम महतोको देखिँदा र अन्य दावीकर्ता जोहरा मिया, नूर महम्मद मिया, अधिकलाल मिया, बाबुजी मिया, अविद मन्सुरी मिया, महेन्द्रप्रसाद मरवैता, उग्रानन्द गोठिया यादव, गोविन्द मण्डल समेतले पेश गरेको प्रमाण कमजोर देखिँदा बलियो प्रमाण हुने सीताराम महतोको नाउँमा दर्ता गर्न समितिमा पेश गर्न मनासिव देखिँदा पेश गरेको छु भन्ने समेत व्यहोराको टिप्पणीलाई सदर गरेको मालपोत कार्यालय, सुनसरी इनरुवाको मिति २०६०।५।१८ को निर्णय ।
रूपीलालले मिति २०१७।१२।५ को लिखतबाट प्राप्त जग्गा कानूनतः दर्ता गरी बिक्री व्यवहार गरी पुनः सोही लिखतका आधारमा निजको मु.स. गर्ने सीताराम महतोले दर्ता गराउन पाउने अवस्था नभएको र मिति २०१७।१२।५ को राजीनामाबाट हामी पुनरावेदकहरूले प्राप्त गरेको जग्गा नै दावीको जग्गा भएको, हाम्रो जग्गा दर्ताको कारवाही चलिरहेको अवस्थामा सो कारवाहीलाई यथास्थितिमा राखी विपक्षीको नाममा जग्गा दर्ता गरिदिने निर्णय कानूनप्रतिकूल रहेकोले मालपोत कार्यालयले विपक्षीको नाममा जग्गा दर्ता गरिदिने गरी मिति २०६०।५।१७ टिप्पणीलाई सदर गरेको निर्णय बदर गरी हक बेहकको प्रश्न समाहित भएकोले हक कायममा सुनाउन पुनः मालपोत कार्यालय, सुनसरीमा फिर्ता गर्ने समेतको न्यायिक निर्णय गरिपाऊँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय, सुनसरीमार्फत् परेको प्रतिवादीहरूको पुनरावेदन पत्र ।
यसमा दुई पक्षले आ–आफ्नो हकको हो भनी दावी गरेको अवस्थामा यसको हकको हो भनी निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नभएकोमा कर्मचारीले उठाएको टिप्पणीलाई सदर हुने गरी गरेको शुरुको निर्णय फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६०।१०।८ को आदेश ।
पुनरावेदकहरूले पुनरावेदनमा जिकीर दावी लिइएका जग्गा सम्बन्धमा छुट्टाछुट्टै दावी गरेको मिसिलबाट देखिन्छ । तामेलीबाट जगाई आ–आफ्नो भोगवास भएको जग्गा छूट दर्ता गरिपाऊँ भनी मालपोत कार्यालयमा छुट्टाछुट्टै निवेदन दिएको पनि देखिन्छ । मालपोत कार्यालयबाट अन्य मिसिलमा भएको मिति २०६०।५।१८ को निर्णय पनि पुनरावेदकहरू छुट्टाछुट्टै व्यक्तिलाई पक्ष कायम गरी छुट्टाछुट्टै मिसिल खडागरी छुट्टाछुट्टै निर्णय भएको देखिन आयो । परन्तु पुनरावेदकहरूले त्यसप्रकार आ–आफ्ना हकमा छुट्टाछुट्टै निर्णय भएको विषयमा एउटै संयुक्त पुनरावेदन गरेको देखिन आयो । यसरी छुट्टाछुट्टै निर्णयउपर एउटै पुनरावेदन दिएको कार्य मुलुकी ऐन, अदालती वन्दोवस्तको महलको १९३ नं. र मालपोत ऐन, २०३४ को दफा ३१ को मनसायविपरीत देखिन आउनुको साथै पुनरावेदकहरूको हकमा छुट्टाछुट्टै रूपमा मिति २०६०।५।१८ मा निर्णय भएकोमा पुनरावेदकहरूले सो मितिको निर्णय बदर गराई पाउन नआई आफ्ना हकमा निर्णय नभएको मिति २०६०।५।१७ को निर्णय बदर गरी पाउन दिएको प्रस्तुत पुनरावेदन पत्रबाट पुनरावेदन जिकीरभित्र प्रवेश गरी शुरू मालपोत कार्यालयको मिति २०६०।५।१८ को निर्णय मिले नमिलेतर्फ प्रवेश गरी हेर्न मिल्ने अवस्था नदेखिँदा प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६२।४।१९ को फैसला ।
पुनरावेदन अदालत विराटनगरको फैसला त्रृटिपूर्ण रहेको छ । रूपीलालको मु.स. गर्ने सीतारामको दावी भएको विवादका जग्गा दर्ता गर्ने सम्बन्धमा कसैको हक दावी भए ३५ दिनभित्र उजूर गर्न आउनु भनी मालपोत कार्यालय सुनसरीबाट सार्वजनिक सूचना प्रकाशित भएअनुसार हामीले दावी गरेका जग्गा सप्तरी मालबाट र.नं. १२३७ मिति २०१७।११।२७ को पारीत लिखतबाट प्राप्त भएको हो, विपक्षीको नाममा दर्ता हुने होइन, छूट जग्गा दर्ता कारवाही रोक्का राखिपाऊँ भनी निवेदन दिएका थियौँ । मालपोत कार्यालयले हामीलाई समेत तारिखमा राखी कारवाही भई मिति २०६०।५।१८ मा सीताराम महतोको नाममा अस्थायी दर्ता गर्ने निर्णय गरेको कानूनप्रतिकूल छ । मालपोत कार्यालय सुनसरीले जग्गा दर्ता रोक्काउपर परेका निवेदनहरू कारवाहीयुक्त एउटै मिसिलमै सामेल राख्नुपर्नेमा सो नगरी पृथक मिसिल खडा गरी निर्णय गरेको कार्य नै त्रृटिपूर्ण हो । मालपोत कार्यालयको पृथक निर्णयउपर पृथक पुनरावेदन नगरी संयुक्त रूपमा पुनरावेदन गरेको मिलेन भनी पुनरावेदन नै खारेज हुने भनी पुनरावेदन अदालत विराटनगरले गरेको फैसला अ.वं. १८४(क), १८५ समेतको प्रतिकूल भै बदरभागी छ । पुनरावेदन अदालतले मिति २०६०।५।१७ को निर्णय बदर गर्न मिति २०६०।५।१८ को निर्णयभित्र प्रवेश गरी हेर्न मिलेन भनी पुनरावेदन खारेज गरेको न्यायसंगत छैन । पुनरावेदन पत्रमा मिति २०६०।५।१८ हुनुपर्नेमा सामान्य टाइपको गल्तीबाट मिति २०६०।५।१७ भएको हो । त्यस्तो टाइपको सामान्य गल्तीको कारणले नै पुनरावेदन खारेज गर्नु न्यायसंगत हुँदैन । प्रस्तुत विवादमा हकवेहकको प्रश्न समावेश भएको हुँदा हकवेहकमा अदालतमा फिराद गर्न सुनाउने गरी शुरूको निर्णय उल्टाई शुरुमा पठाउने निर्णय गर्नुपर्नेमा सो नगरी पुनरावेदन खारेज गर्ने गरेको फैसला त्रृटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मालपोत ऐन, २०३४ को दफा ३१ को प्रतिवन्धात्मक वाक्यांसअनुसार हकवेहकमा अदालतमा जान सुनाउने निर्णय गर्नु भनी शुरूमा पठाउने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक सविर मियाको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
हामी पुनरावेदकलाई यसै मुद्दामा प्रतिवादी कायम गरी मालपोत कार्यालय, सुनसरीबाट निर्णय भएको र सो निर्णयउपर परेको पुनरावेदन अ.वं. १९३ नं. र मालपोत ऐन, २०३४ को दफा ३१ तथा न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) ले परेको पुनरावेदनबाटै दावीको जग्गामा हकवेहकको प्रश्न समावेश भएको स्थितिमा मालपोत ऐन, २०३४ को दफा ७ बमोजिमको विषयमा सोही ऐनको दफा ३१ को प्रतिवन्धात्मक वाक्यांशअनुसार हक वेहकमा अदालत जान सुनाउनुपर्ने विषयवस्तुमा तथ्यभित्र प्रवेश गरी गरेको निर्णय मुलुकी ऐन, अ.वं. ३५ नं. प्रतिकूल भएकोले सो फैसला बदर गरी निर्णय गर्नुपर्नेमा पुनरावेदन पत्र नै खारेज गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी हक वेहकमा अदालत जान सुनाउने गरी निर्णय गर्न शुरूमा पठाउने फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको वावुजी मियाको पुनरावेदन पत्र ।
मालपोत कार्यालयको पृथक निर्णयउपर पृथक पुनरावेदन नगरी संयुक्त रूपमा पुनरावेदन गरेको मिलेन भनी पुनरावेदन नै खारेज हुने भनी पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला कानूनप्रतिकूल भै बदरभागी छ । पुनरावेदन अदालतले मिति २०६०।५।१७ को निर्णय बदर गर्न मिति २०६०।५।१८ को निर्णयभित्र प्रवेश गरी हेर्न मिलेन भनी पुनरावेदन खारेज गरेको न्यायसंगत छैन । पुनरावेदन पत्रमा मिति २०६०।५।१८ हुनुपर्नेमा सामान्य टाइपको गल्तीबाट मिति २०६०।५।१७ भएको हो । त्यस्तो टाइपको सामान्य गल्तीको कारणले नै पुनरावेदन खारेज गर्नु न्यायसंगत हुँदैन । प्रस्तुत विवादमा हकवेहकको प्रश्न समावेश भएको हुँदा हकवेहकमा अदालतमा फिराद गर्न सुनाउने गरी शुरूको निर्णय उल्टाई शुरुमा पठाउने निर्णय गर्नुपर्नेमा सो नगरी पुनरावेदन खारेज गर्ने गरेको फैसला त्रृटिपूर्ण हुँदा उक्त फैसला बदर गरी हकवेहकमा अदालतमा जान सुनाउने निर्णय गर्नु भनी शुरूमा पठाउने फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको नूर महम्मद मियाको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
विवादका जग्गा दर्ता गर्ने सम्बन्धमा कसैको हकदावी भए ३५ दिनभित्र उजूर गर्न आउनु भनी मालपोत कार्यालय, सुनसरीबाट सार्वजनिक सूचना प्रकाशित भएअनुसार हामीले दावीका जग्गाहरू छूट जग्गा दर्ता कारवाही रोक्का राखिपाऊँ भनी निवेदन दिएका थियौँ । मालपोत कार्यालयले हामीलाई समेत तारिखमा राखी कारवाही भई मिति २०६०।५।१८ मा सीताराम महतोको नाममा अस्थायी दर्ता गर्ने निर्णय गरेको कानूनप्रतिकूल छ । उक्त निर्णयउपर पुनरावेदन गर्दा पुनरावेदन अदालतले मालपोत कार्यालयको पृथक निर्णयउपर पृथक पुनरावेदन नगरी संयुक्त रूपमा पुनरावेदन गरेको मिलेन भनी र पुनरावेदन पत्रमा मिति २०६०।५।१८ हुनुपर्नेमा सामान्य टाइपको गल्तीबाट मिति २०६०।५।१७ भएको अवस्थामा त्यस्तो टाइपको सामान्य गल्तीको कारणले नै पुनरावेदन खारेज हुने भनी पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला कानून एवं न्याय प्रतिकूल हुँदा उक्त फैसला बदर गरी हक वेहकमा अदालतमा जान सुनाउने निर्णय गर्नु भनी शुरूमा पठाउने फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी अविद मियाको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
हामीले दावीका जग्गाहरू सप्तरी मालबाट र.नं. १२३७ मिति २०१७।११।१७ को पारीत लिखतबाट प्राप्त जग्गा हो, विपक्षीको नाममा दर्ता हुने होइन, छूट जग्गा दर्ता कारवाही रोक्का राखिपाऊँ भनी निवेदन दिएका थियौँ । मालपोत कार्यालयले हामीलाई समेत तारिखमा राखी कारवाही भई मिति २०६०।५।१८ मा सीताराम महतोको नाममा अस्थायी दर्ता गर्ने निर्णय गरेको कानूनप्रतिकूल छ । उक्त निर्णयउपरको पुनरावेदनमा पुनरावेदन पत्र नै खारेज हुने भनी पुनरावेदन अदालत विराटनगरले गरेको फैसला कानून एवं न्यायप्रतिकूल हुँदा उक्त फैसला बदर गरी हक वेहकमा अदालतमा जान सुनाउने निर्णय गर्नु भनी शुरूमा पठाउने फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको वीवी जोहरा मियाको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक वादीहरूले छुट्टाछुट्टै दावी लिई निवेदन दिई छूट दर्ताको दावी गरेकोमा मालपोत कार्यालयले छुट्टाछुट्टै व्यक्तिलाई पक्ष कायम गरी छुट्टै मिसिल खडा गरी मिति २०६०।५।१८ मा छुट्टाछुट्टै निर्णय गरेकोमा पुनरावेदकहरूले अ.वं. १९३ नं. अनुसार छुट्टाछुट्टै पुनरावेदन नगरी एउटै पुनरावेदन गरेको र मालपोत कार्यालयले पुनरावेदक निवेदकहरूको निवेदनमा मिति २०६०।५।१८ मा निर्णय गरेकोमा पुनरावेदकहरू सो मितिको निर्णय बदर गराई पाउन नआई आफ्नो हकमा निर्णय नभएको छुट्टै मिति २०६०।५।१७ को निर्णय बदर गरी पाउन दिएको पुनरावेदन जिकीरभित्र प्रवेश गरी हेर्न मिल्ने अवस्था नदेखिँदा पुनरावेदन खारेज हुने ठहर्छ भनी निर्णय गरेको देखिन आयो । एउटै फिरादमा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाका विषयको कुरा लेखी ल्याएको भए पनि सोबमोजिम सबै कुराको सोही फिरादबाट इन्साफ गर्नुपर्छ, लेखिएभन्दा बढ्ता कुरा एउटै फिराद पत्रमा लेखी ल्याएको रहेछ भने फिराद पत्र फिर्ता गर्न हुँदैन । बढी जति लेखी ल्याएको कुराको यस फिराद पत्रबाट इन्साफ गर्न नपर्ने भनी फिराद पत्रको शिरमा लेखी फिरादपत्र दर्ता भरपाईमा लेखी दिनुपर्ने भनी अ.वं. ७२ नं. मा व्यवस्था गरेको छ । तर, पुनरोदन गर्दा एउटै विषय वा निर्णयको सम्बन्धमा व्यक्ति व्यक्तिले बेग्ला बेग्लै पुनरावेदन गर्नुपर्ने वा एउटै निर्णय वा विषयका सम्बन्धमा एउटै पुनरावेदन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा अ.वं. १९३ नं. मा स्पष्ट उल्लेख नभएको हुँदा प्रस्तुत मुद्दामा अ.वं. १९३ नं. को व्याख्यात्मक प्रश्न उपस्थित भएको तथा पुनरावेदक मध्येका पहिला नाम रहेका पुनरावेदक वावुजी मियाको हकमा समेत इन्साफ नबोली पुनरावेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६२।४।१९ को फैसला फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।४।१६ को आदेश ।
नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री निरञ्जन आचार्यले विवादका जग्गा दर्ता गर्ने सम्बन्धमा कसैको हकदावी भए ३५ दिनभित्र उजूर गर्न आउनु भनी मालपोत कार्यालय सुनसरीबाट सार्वजनिक सूचना प्रकाशित भएअनुसार मेरा पक्षहरूले दावीका जग्गाहरूको हकको स्रोत मिति २०१७।११।२७ को पारीत लिखत समेत उल्लेख गरी छूट जग्गा दर्ता कारवाही रोक्का राखिपाऊँ भनी निवेदन गरेकोमा मालपोत कार्यालयले तारिखमा राखी मिति २०६०।५।१८ मा सीताराम महतोको नाममा अस्थायी दर्ता गर्ने निर्णय गरेको कानूनप्रतिकूल छ । उक्त निर्णयउपर पुनरावेदन गर्दा पुनरावेदन अदालतले मालपोत कार्यालयले गरेको पृथक निर्णयउपर पृथक पुनरावेदन नगरी संयुक्त रूपमा पुनरावेदन गरेको मिलेन भनी र पुनरावेदन पत्रमा शुरू मालपोत कार्यालयको निर्णय मिति २०६०।५।१८ हुनुपर्नेमा सामान्य टाइपको गल्तीबाट मिति २०६०।५।१७ भएको अवस्थामा पनि त्यस्तो टाइपको सामान्य गल्तीको कारणले नै पुनरावेदन खारेज हुने भनी पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला कानून एवं न्यायप्रतिकूल छ । प्रस्तुत विवादमा वादी र प्रतिवादी दुवै पक्षको हकको स्रोत एउटै भई हकवेहकसम्बन्धी प्रश्नको विवाद रहेको हुँदा पुनरावेदन अदालतको उक्त फैसला बदर गरी हकवेहकमा अदालतमा जान सुनाउने निर्णय गर्नु भनी शुरूमा पठाउने फैसला गरिपाऊँ भनी गर्नु भएको बहस सुनियो ।
उल्लिखित बहस सुनी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ वा छैन, पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ वा सक्दैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, जिल्ला सुनसरी, साविक मौजे नन्कार कट्टी कि.नं. २६५, २६६, २६७ र २७१ खारेज भई हालको श्रीपुर जब्दी गा.वि.स. वडा नं. ३(ख) कि. नं. ३, ४, ५, ६, ७, १० र १५ का जग्गा रूपीलाल महतोले आफ्नो दावी गर्दै २०२६ सालको सर्भे नापीमा भूमिसम्बन्धी ऐन, नियमअनुसार फिल्डबुकमा सही गरेकोमा पूर्जा नपाएको हुँदा उक्त जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा पाऊँ भनी मिति २०४६।५।२३ मा मालपोत कार्यालय, सुनसरीमा निवेदन गरेको देखिन्छ । दावीको जग्गामध्ये ज.वि. ४–३–९ जग्गाको जालसाजको सम्बन्धमा सुनसरी जिल्ला अदालतमा फौ.नं. ६०५ समेतका मुद्दा विचाराधीन हुँदा हाल छूट जग्गा दर्तासम्बन्धी मिसिलको कारवाही मुलतवी राखिपाऊँ भनी सरिफ मियाले मिति २०५०।६।२६ मा निवेदन गरेको देखिन्छ । निवेदक रूपीलाल महतोको मिति २०५९।३।३२ मा मृत्यु भएको भनी निजका छोरा सीताराम महतोले मुद्दा सकार गरी मिति २०५९।६।१७ मा छूट जग्गा दर्ता सम्बन्धमा कारवाही अगाडि वढाई पाऊँ भनी पुनः निवेदन गरेको देखिन्छ । मालपोत कार्यालय सुनसरीबाट जग्गा दर्ता सम्बन्धमा हक दावी गर्न मिति २०५९।११।९ मा ३५ दिने सूचना जारी गर्ने आदेश भएको पाइयो । मालपोत कार्यालय सुनसरीको उल्लिखित ३५ दिने हकदावी गर्ने सूचना जारी भएपश्चात् कर्णप्रताप र तेज शमशेर ज.व.रा. बाट र.नं. १२३७ मिति २०१७।११।२७ मा पारीत लिखतबमोजिम मियाजान मियाका नाममा दर्ता भएमध्येको साविक कि.नं. २६५ हालको कि.नं. १० को ४–३–१५ मध्ये कित्ताफोड भई कायमी कि.नं. ३२० को दक्षिणतर्फ १–१०–० जग्गा र.नं. २६३७ मिति २०१८।२।१९ को पारीत लिखतबमोजिम भोगचलन गरी आएको र दर्ता हुन बाकी रहेको जग्गा दर्ता गरिपाऊँ भन्ने निवेदन कार्यवाही भैरहेको हुँदा विपक्षीको निवेदन तामेलीमा राखिपाऊँ भनी प्रतिवादीमध्येको बाबुजी मियाले मिति २०५९।११।१९ मा निवेदन गरेको देखिन्छ । त्यस्तै सोही मिति २०५९।११।१९ मा कि. नं. ४ को ०–१६–६, कि. नं. ७ को ०–५–१६ र कि. नं. ६ को ०–१०–१० जग्गा आफ्नो दावी गरी विपक्षीको निवेदन तामेलीमा रहनु पर्ने जिकीर लिई सविर मियाले निवेदन गरेको देखिन्छ । त्यस्तै प्रतिवादीमध्येका नूर महम्मद मियाले र.नं. १२३७ मिति २०१७।११।२७ को पारीत लिखतको हकको स्रोत देखाई विवादित जग्गामध्ये ३–५–१५ जग्गा आफ्नो दावी गरेको देखिन्छ भन्ने अर्का प्रतिवादी जोहरा मियाले विवादित कि.नं. ३१५ र कि.नं. ३२० को जग्गा आफ्नो दावी गरेको देखिन्छ । यसरी छूट जग्गा दर्ताका सम्बन्धमा वादी र प्रतिवादीहरूबाट छुट्टाछुट्टै रूपमा विवादका जग्गाहरू दावी गरी निवेदन परेको र प्रतिवादीहरू वावुजी मिया, नूर महम्मद मिया, जोहरा मिया समेतले हामी निवेदकहरूलाई समेत तारिखमा राखिपाऊँ भनी मिति २०६०।१।९ मा निवेदन दिएको देखिन्छ ।
३. यसरी दावीको जग्गा छूट दर्ताका सम्बन्धमा वादी प्रतिवादीहरूबाट आ–आफ्नो प्रमाणसहित मालपोत कार्यालयमा निवेदन परेकोमा मालपोत कार्यालय सुनसरीले साविक दर्ता, तिरोसम्बन्धी बलियो प्रमाण रूपीलाल महतोको मु.स. गर्ने सीताराम महतोको भएको हुँदा सीताराम महतोको नाममा दर्ता गर्न समितिमा पेश गर्ने भनी टिप्पणी सदर गरी मिति २०६०।५।१८ मा निर्णय गरेको देखिन्छ ।
४. तत्पश्चात् प्रतिवादीहरू बाबुजी मिया, जोहरा मिया, नूर महम्मद मिया, सविर मिया र अविद मन्सुरीले जग्गा दर्ताको हकवेहकको प्रश्न समावेश भएको विषयमा विपक्षीको नाममा जग्गा दर्ता गर्ने गरी भएको मालपोत कार्यालय सुनसरीको मिति २०६०।५।१८ को निर्णय बदर गरिपाऊँ भनी संयुक्त रूपमा मालपोत कार्यालय, सुनसरीमार्फत पुनरावेदन अदालत, विराटनगरमा पुनरावेदन दायर गरेकामा पुनरावेदन अदालतले पुनरावेदन पत्र नै खारेज हुने निर्णय गरेउपर प्रतिवादीहरूको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन पत्र यस अदालतमा दायर हुन आएको पाइयो ।
५. प्रस्तुत मुद्दामा वादी सीताराम महतोको पिता रूपीलाल महतोको विवादित जग्गाको हकको स्रोत हेर्दा निजले मालपोत कार्यालय, सुनसरीमा पेश गरेको निवेदन एवं प्रमाणमा तेजप्रकाश शमसेर ज.ब.रा. र कर्णप्रकाश शमसेर ज.ब.रा. सँग मिति २०१५।७।२१ को लिखतअनुसार उजूर परी हनुमाननगर इलाका अदालतको मिति २०१७।३।२० को फैसलाले मिति २०१७।११।२७ मा लिखत पारीत भई दावीको जग्गा प्राप्त भएको भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरूले पनि विवादित जग्गामा दावी गर्दा आफ्नो बाबु, वाजे, ससुराका साथै १३ जनाले तेजप्रकाश र कर्णप्रकाश शमसेर ज.ब.रा. बाट मिति २०१५।७।२१ को घरसारको लिखत र मिति २०१७।११।२७ को मालपोत कार्यालयबाट पारीत लिखतबमोजिम जग्गा प्राप्त गरेको भनी हकको स्रोत उल्लेख गरेबाट वादी र प्रतिवादी दुवै पक्षले दावीको जग्गाको स्रोत उल्लेख गरेको देखिन्छ । उक्त राजीनामाको स्रोतबाट प्राप्त जग्गाका सम्बन्धमा कतिपय जग्गामा मुद्दा समेत चली विभिन्न तहमा फैसला भएको समेत मिसिल संलग्न फैसलाको प्रतिलिपिबाट देखिन्छ । उल्लिखित राजीनामाको हकको स्रोतबाट प्राप्त जग्गामध्ये दर्ता हुन बाँकी रहेका जग्गामा २०२६ सालको सर्भे नापीमा विवाद जनिई दर्ता हुन बाँकी रहेको देखियो । यसरी दर्ता बाँकी रहेका जग्गा छूट दर्ता गरिपाऊँ भनी वादी रूपीलाल महतो र निजको मुद्दा सकार गर्ने सीताराम महतोले मालपोत कार्यालयमा निवेदन गरेकोमा मालपोत कार्यालयले हकदावी उजूर गर्ने सम्बन्धमा एउटै सूचना जारी गरेको देखिन्छ । मालपोत कार्यालयको उक्त सूचनाका आधारमा प्रतिवादीहरूबाट अलग अलग रूपमा निवेदन परे तापनि सबै प्रतिवादीहरूलाई एउटै तारिख पर्चामा तारिखमा राखेको समेत देखिन्छ ।
६. पुनरावेदन अदालत विराटनगरले प्रतिवादीहरूको पुनरावेदन पत्र खारेज गर्दा मूलतः पुनरावेदकहरूले दावी लिएका जग्गाका सम्बन्धमा छुट्टाछुट्टै निवेदन गरेको र मालपोत कार्यालयले पनि छुट्टाछुट्टै मिसिल कायम गरी मिति २०६०।५।१८ मा छुट्टाछुट्टै निर्णय भएकोमा पुनरावेदकहरूबाट एउटै पुनरावेदन दिएको कार्य मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको १९३ नं. र मालपोत ऐन, २०३४ को दफा ३१ को मनसायविपरीत देखिन आएको भन्ने उल्लेख भएको देखिन्छ । मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ७२ नं. मा “फिरादपत्र लिँदा देवानी फौजदारी मुद्दाको छुट्टाछुट्टै लिनुपर्छ । सोबाहेक एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै झगडाका विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटै झगडाका विषयको कुरा लेखी ल्याएको भए पनि लिई सो बमोजिम सबै कुराको सोही फिराद पत्रबाट इन्साफ गर्नुपर्छ” भन्ने उल्लेख भएको पाइन्छ । यसै सन्दर्भमा सर्वोच्च अदालत पूर्ण इजलासबाट “परस्पर अन्योन्याश्रित क्रियाहरूको कानूनी रुपमा परीक्षण एकसाथ गर्न सकिन्छ । यसलाई अलग–अलग विषय मान्नु न्यायोचित् हुँदैन । मूल क्रियाबाट निःसृत हुने अन्य सहक्रियाको संख्या अ.वं. ७२ को परिप्रेक्ष्यमा अलग विषय होइन । मूल क्रियाको कानूनी वैधताको परीक्षणमा सोसम्बन्धी अन्य सहक्रियाको अस्तित्व आश्रित रहन्छ भने यस्तो अवस्थामा जतिसुकै क्रियाहरूको विरुद्धमा पनि एउटै फिराद दायर भई इन्साफ हुन सक्ने, अ.वं. ७२ नं.को प्रयोजन र मनसाय यही हुने” भनी नेकाप २०६६, मंसिर, निर्णय नं. ८२०१, पृष्ठ १२६८ मा सिद्वान्त प्रतिपादन भएको छ । उक्त कानूनी व्यवस्थाबाट एवं प्रतिपादित कानूनी सिद्वान्तबाट देवानी र फौजदारी वाहेक जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाका विषयको कुरा लेखी ल्याएको भए पनि लिई इन्साफ गर्नुपर्ने हुन्छ ।
७. प्रस्तुत विवादका सबै कित्ता जग्गाहरूको एउटा नै दावी, सो जग्गाको स्रोत भनिएको राजीनामा एउटै र ती जग्गामा दावी गर्न आउने सूचना पनि एउटा नै रहेको छ । सोही सूचनाका आधारमा पुनरावेदकहरूले आ–आफ्नो निवेदनमार्फत् दावी पेश गरेका छन् । अलग–अलग निवेदन पर्दैमा मुद्दाको विषय अलग हुने होइन । यी निवेदनलाई सोही मिसिलमा राख्नुपर्नेमा अलग–अलग फायलमा राखियो भन्दैमा मुद्दा अलग अलग हुन भन्न मिल्दैन । एउटै मुद्दा अलग–अलग फायलमा रहन सक्दछ । एउटै मुद्दाका धेरै मिसिल पनि हुन सक्दछन । मिसिल वा फायलको संख्याले मुद्दाको निर्धारण गर्र्दैन । मुद्दाको निर्धारण त्यसमा सन्निहित विषयले गर्दछ । प्रस्तुत मुद्दामा प्रथम दावीकर्ताले दर्ता माग गरेको जग्गा निजका नाममा सबै दर्ता हुने हो वा केही दर्ता हुने हो वा दर्ता हुँदै नहुने हो वा सूचना अनुसार दावी गर्न आएका निवेदकहरूको सोही जग्गा सँगको सम्बन्ध के कसो हो भन्ने प्रश्न रहको छ । मुद्दा एक वा अनेक भन्ने कुरा त्यसमा सन्निहित माग तथा प्रतिवाद र निर्णय गर्नुपर्ने विषयले निर्धारित गर्ने हो । प्रशासकीय सुविधा वा अज्ञानताले अलग–अलग फायल खडा भई टिप्पणी आदेश अलग भए भन्दैमा मुद्दा नै अलग–अलग हुने होइन ।
८. पुनरावेदन गर्दा एउटै विषय वा निर्णयको सम्बन्धमा व्यक्ति व्यक्तिले बेग्ला बेग्लै पुनरावेदन गर्नुपर्ने हो वा एउटै पुनरावेदन गर्न सकिने हो भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १९३ नं. मा, “अड्डाबाट मुद्दा फैसला गरेपछि हाजिर रहेको झगडियालाई सो फैसला बाँची सुनाई पुनरावेदन लाग्ने वा नलाग्ने व्यहोरा र पुनरावेदन लाग्ने भए पुनरावेदन सुन्ने अड्डाको नाम समेत बताई निजबाट सुनी पाएको व्यहोराको कागज गराई राख्नुपर्छ । झगडिया हाजिर नरहेकोमा सो फैसला भएको तीन दिनभित्र यो मुद्दामा यो कुरा ठहरेको हुनाले तिमीलाई यो यति सजाय भएको छ भन्ने र पुनरावेदन लाग्ने भए पुनरावेदन लाग्ने अड्डाको नाम समेत खुलाई सो झगडियाको नाममा म्याद जारी गर्नुपर्छ । पुनरावेदन लाग्ने मुद्दामा झगडिया रोहवरमा भै फैसला सुनेकोमा सो सुनेको मितिले र झगडिया रोहवरमा नभई म्याद जारी भएकोमा सो म्याद तामेल भएको मितिले पैतीस दिनभित्र झगडियाले चित्त नबुझेको कुरामा सो फैसलाउपर पुनरावेदन दिन पाउँछ, सो म्याद नाघेपछि पुनरावेदन लाग्न सक्तैन” भनी उल्लेख भएको देखिन्छ । पुनरावेदन गर्दा एउटै विषय वा निर्णयको सम्बन्धमा व्यक्ति व्यक्तिले बेग्ला बेग्लै पुनरावेदन गर्नुपर्ने वा एउटै निर्णय वा विषयका सम्बन्धमा एउटै पुनरावेदन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा अ.वं. १९३ नं. मा स्पष्ट उल्लेख नभएको हुँदा प्रस्तुत मुद्दामा अ.वं. १९३ नं. को व्याख्यात्मक प्रश्न उपस्थित भएको पाइन्छ । यस सम्बन्धमा विचार गर्दा मुद्दाको उठान र कारवाहीको प्रकृतिलाई केन्द्रविन्दुमा राख्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा मालपोत कार्यालयले यी पुनरावेदकहरूलाई एउटै तारिख पर्चा दिएको पनि निजहरूलाई प्रतिनिधित्व गर्नुहुने विद्वान कानून व्यवसायीले इजलासमा अवलोकन गराउनु भयो ।
९. मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ७२ नं. ले शुरू फिराद गर्दा एउटै विवादित विषयबस्तुमा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै फिराद लेखी ल्याएमा पनि हेर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । अ.वं. १९३ नं. मा एउटै निर्णय वा विषयका सम्बन्धमा एउटै पुनरावेदन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा स्पष्ट उल्लेख नभए पनि मुद्दाको विषयवस्तु समान छ भने पुनरावेदन गर्दा विवादका पक्षहरूले एउटै वा संयुक्त रूपमा गर्न सक्ने हुन्छ । यस्तोमा अलग–अलग पुनरावेदन गर्न वाध्य बनाउन मिल्दैन । विवादका पक्षहरूले जग्गा दर्ताका विषयमा छुट्टाछुट्टै निवेदन गरे पनि एउटै निकायमा समान विवादित विषयवस्तु भएको मुद्दाको एकै मितिको निर्णयमा सबै पुनरावेदकहरूले संयुक्त रूपमा एउटै पुनरावेदन दायर गर्दैमा त्यस्तो पुनरावेदन पत्र कानूनप्रतिकूल मानी खारेज गर्नु अ.वं. ७२ नं. र १९३ नं. समेतका न्यायिक मान्यताको समेत प्रतिकूल हुने हुन्छ ।
१०. प्रस्तुत मुद्दाको सन्दर्भमा पक्षहरूले शुरूको निर्णयउपर छुट्टाछुट्टै पुनरावेदन गर्ने वा एउटै पुनरावेदन गर्ने भन्ने कुरा प्राविधिक एवं कार्यविधिगत प्रश्न हो भने पुनरावेदनको तथ्यभित्र प्रवेश गरी कानूनबमोजिमको निर्णय पाउनु सारवान प्रश्न हो । प्राविधिक एवं कार्यविधिगत प्रश्नलाई महत्व दिई व्यक्तिको सारवान अधिकारलाई गौण बनाई पुनरावेदन पत्र नै खारेज गर्नु न्यायिक मान्यताको प्रतिकूल हुनजाने हुन्छ । न्याय माग्न अदालत प्रवेश गर्ने पक्षहरूको सारवान पक्षलाई प्राविधिक पक्षले धरासायी बनाउन सक्दैन ।
११. त्यस्तै पुनरावेदन अदालतले पुनरावेदन पत्र खारेज गर्दा मालपोत कार्यालय सुनसरीबाट मिति २०६०।५।१८ मा निर्णय गरेको विषयमा सो मितिको निर्णय बदर गराई पाउन नआई मिति २०६०।५।१७ को निर्णय बदर गरी पाउन दिएको पुनरावेदन पत्रको जिकीरभित्र प्रवेश गरी हेर्न नमिल्ने भनी अर्को निर्णयाधार उल्लेख गरेको देखिन्छ । पुनरावेदकहरूले मालपोत कार्यालय मार्फत दायर गरेको पुनरावेदनमा मिति २०६०।५।१७ उल्लेख गरेता पनि उक्त पुनरावेदन पत्र साथ मालपोत कार्यालयले मिति २०६०।५।१८ को निर्णयसहितका मिसिल पुनरावेदन अदालतमा पठाएको देखिन्छ । पुनरावेदकहरूले पुनरावेदन पत्रमा उल्लेख गरेको विवादको विषय, निर्णय गर्ने निकाय, निर्णयकर्ता र निर्णयका आधार मिति २०६०।५।१८ को निर्णयसँग मिलेको देखिन्छ भने मिति २०६०।५।१७ मा पुनरावेदकहरूको अर्को कुनै विवादका सम्बन्धमा मालपोत कार्यालयबाट निर्णय भएको देखिन्न । अदालतले मालपोत कार्यालयमार्फत् आएको पुनरावेदन पत्र दर्ता गर्दा नै फरक मितिको निर्णय देखिएमा ग्रहण गर्न नहुने र दर्ता भई सकेपश्चात् पनि पुनरावेदकहरूबाट मालपोत कार्यालयको निर्णय मिति यकीन गर्न मुलुकी ऐन, अ. वं. १३३ नं. बमोजिम कागज गराउनु पर्नेमा मिति यकीन गर्न कागज नगराउने कार्य अदालतको भूल मान्नुपर्ने हुन्छ । पुनरावेदन दर्ता गरी फरक देखिएको मितिका सम्बन्धमा कागज पनि नगराई टाइपको भूलबाट मिति फरक पर्न गएको सामान्य त्रुटिको कारण न्यायको ढोका नै बन्द गर्न नमिल्ने हुन्छ । यसै सन्दर्भमा सर्वोच्च अदालत पूर्ण इजलासबाट “फिराद पत्रमा उल्लेख गरेको कित्ता नं. लिखतभन्दा फरक परे पनि लिखतमा लेखिएको कित्ता नम्बरकै जग्गाको हकमा दावी गरिएको अवस्थामा फिराद पत्रमा लेखिएको र लिखतमा लेखिएको जग्गाको कित्ता नम्बर फरक–फरक देखिएको अवस्थामा अड्डाको आदेशले कागज गरी दावी गरिएको कित्ता नम्वरसम्मलाई प्रष्ट पारेको अवस्थालाई दावी परिर्वतन गरेको भन्न नमिल्ने” भनी नेकाप २०६७, असार, नि. नं. ८३२८, पृष्ठ ३७२ मा प्रतिपादित सिद्धान्त प्रस्तुत विवादमा समेत सान्दर्भिक देखिएको छ । प्रस्तुत विवादमा कि.नं. को प्रश्न नभए पनि मितिको विवाद हुँदा पुनरावेदन पत्रमा फरक निर्णय मिति उल्लेख भए पनि मालपोत कार्यालय सुनसरीको मिति २०६०।५।१८ कै निर्णयउपर पुनरावेदन गरिएको हुँदा उक्त पुनरावेदन पत्रमा तथ्यभित्र प्रवेश गरी कानूनबमोजिमको निर्णय गर्नुपर्नेमा पुनरावेदन पत्र नै खारेज गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण देखियो ।
१२. तसर्थ, माथि विवेचना गरिएअनुसार पुनरावेदन अदालत विराटनगरले पुनरावेदनको अन्तरवस्तुभित्र प्रवेश नै नगरी पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन पत्र खारेज हुने ठहर गरेको मिति २०६२।४।१९ को फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब जो जे बुझ्नुपर्ने बुझी सर्वोच्च अदालतमा हाजिर नरहेको पक्षलाई झिकाई कानूनबमोजिम निर्णय गर्नु भनी प्रस्तुत मुद्दामा हाँजीर रहेका पक्षहरूलाई पुनरावेदन अदालत विराटनगरमा उपस्थित हुने तारिख तोकी मिसिल समेत पुनरावेदन अदालत विराटनगरमा पठाई दिने ठहर्छ । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी भई पुनः इन्साफ गर्न पुनरावेदन अदालत विराटनगरमा पठाउने ठहर भएकोले यस अदालतमा तारिखमा रहेका पक्षहरूलाई पुनरावेदन अदालत विराटनगरमा हाजिर हुने तारिख तोकी शुरू तथा रेकर्ड मिसिल पुनरावेदन अदालत विराटनगरमा पठाई दिनू ––––––––१
प्रस्तुत मुद्दाको दायरीतर्फको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू –––––२
उक्त रायमा म सहमत छु ।
न्या.गिरीश चन्द्र लाल
इति संवत् २०६८ साल कात्तिक २७ गते रोज १ शुभम्
इजलास अधिकृतः– शिवप्रसाद खनाल