निर्णय नं. १७७७ - उत्प्रेषण

निर्णय नं. १७७७ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३९ सालको रिट नम्बर ९६५
आदेश भएको मिति : २०४०।१०।२७ मा
निवेदक : जि.धनुषा खरियानी गा.पं.वा.नं.४ बस्ने रामविलास साहुतेली
विरूद्ध
विपक्ष : भूमिसुधार कार्यालय धनुषा, जनकपुरधामसमेत
विषय : उत्प्रेषण
(१) विवादको जग्गा राजीनामा लिएको देखिँदा अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम गरेको निर्णयमा निवेदकले जिकिर लिए बमोजिमको कुनै कानुनी त्रुटि भए गरेको नदेखिएकोले निवेदन खारेज हुने ठहर्छ ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
आदेश
न्या.बासुदेव शर्मा
१. भूमिसुधार कार्यालय धनुषाको मिति ०३८।४।१२ को निर्णय उत्प्रेषण लगायतको आदेश जारी गरी बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ ।
२. जि.धनुषा सतोखर गा.पं.वार्ड नं.७ अन्तर्गत कि.नं.११५ को जग्गा बिगहा ०–५–१३ समेतको जग्गा सोभित साहूबाट ०३८।११।३० मा रीतपूर्वक राजीनामा गराई लिई सो जग्गा समेतको हकभोग गरी आएको छु । पिता बैजनाथ कापरका नाममा मोही कायम भएको उक्त जग्गा समेत मोहीमा कमाई आएकोमा ०३३ सालमा पिताको देहावसान भएको र खति उपती खाने हक मेरो नाउँमा नामसारी गरिपाउँ भनी रामो कापरको भू.सु.का.धनुषामा निवेदन परेकोमा रामो कापरका नाममा उक्त जग्गाको मोहियानी हक नामसारी हुने ठहराई भू.सु.का.धनुषाबाट मिति ०३८।४।१२मा निर्णय भएकोरहेछ ।
३. रामो कापरले यसमा वर्तमान वास्तविक जग्गाधनीको नाम उल्लेख नगरी मेरो दाताले खरीद गरी जग्गाधनीको नाम उल्लेख गरी साविक ज.ध.को ०३३ सालमा मृत्यु भएको भनी ०३८ सालमा निवेदन गरेको पाइन्छ । भू.स.ऐन, ०२१ को दफा २६(१) ले जग्गाधनीले मोही रोज्नु पाउनुपर्ने व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा उक्त व्यवस्था अनुसारको अधिकारबाट समेत वञ्चित गरिनुका साथै प्रतिवाद गर्ने मौकै नदिई प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुनुका साथै अ.बं.१८५, १८५(क) तथा प्रमाण ऐन, २०३१ दफा ५४ को विपरीत भू.सु.का.बाट निर्णय भएको हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतका आज्ञा, आदेश वा पूर्जि जारी गरी भू.सु.का.धनुषाको उक्त मिति ०३८।४।१२ को निर्णय र कारवाही बदर गरी निवेदकको उपयुक्त हकहरू संरक्षित गरिपाउँ । साथै रिट निवेदनको अन्तिम किनारा नभएसम्म उक्त निर्णय कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश पाउँ भन्ने समेतको रामविलास साहुतेलीको निवेदन रहेछ ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधी नाघेपछि पेश गर्नुभन्ने यस अदालत सिंगलबेञ्चको मिति २०३९।६।२२ को आदेश रहेछ ।
५. विपक्षीले दावी गरेको जग्गाको रामो कापरको पिता बैजनाथ कापर मोही भएकोमा निजको मृत्यु पछि ज.ध.ले रोजेको व्यक्तिमा सो हक जाने भई ज.ध.बैजनाथ मुखियालाई समाव्हान जारी गरेकोमा समाव्हान बुझी प्रतिवाद नगरी चित्त बुझाई बसेको तथा जग्गाको स्वामित्व हस्तान्तरणको जानकारी ज.ध.लाई मात्र थाहा हुनाले समेत बैजनाथ मुखिया वा हालको जग्गाधनीले मोहीलाई दिनुपर्नेमा सो नदिएको र मृतक मोहीको श्रीमती स्वर्गीय भइसकेको तथा रामो कापर भाइ राम गुलामले जग्गा आवाद गर्न असमर्थ देखाई निवेदन दिएको हुनाले मोही नामसारी रामो कापरको नाउँमा कानुन र व्यवहारिक दुवैले गरी दिन मनासिव देखिएकोले र हालको जग्गाधनी रामविलासको कुनै हक हनन् नभएकोले रिट निवेदन खारेज हुन अनुरोध गरिन्छ भन्ने समेतको भू.सु.का.धनुषाको लिखितजवाफ रहेछ ।
६. सर्वप्रथम त साविक जग्गाधनीले रिट निवेदनमा नआएपछि निवेदकलाई रिट निवेदन दिने हकदैया नै छैन । मेरो पिता ०३३ सालमा परलोक भएपछि ०३४ सालदेखि मलाई मोही रोजी आएको हुँदा ०३७ सालको बाली समेत ज.ध.का छोरा कालीचरणलाई बुझाएको छु । ०३४ सालदेखि अन्य व्यक्तिलाई मोही रोजेको भन्ने निवेदनमा छैन । मोही रोज्ने काम सम्पन्न भइसकेको हुँदा पछि जग्गा खरीद लिने निवेदनमा मोही रोज्ने हक कायम रहेको भन्न मिल्दैन । आमा पहिलै परलोक भएको अवस्थामा हामी दुई भाइमा भाइले मलाई मोहियानी हक दिनमा मञ्जूर गरेको हुँदा भू.सु.का.को निर्णयमा कुनै सारवान त्रुटि नहुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेतको रामो कापरको लिखितजवाफ भएको ।
७. विपक्ष मध्ये शोभित साहु तेलीको नाउँमा म्याद मिति ०३९।९।१० मा तामेल भएको देखिएकोमा लिखितजवाफ पर्नआएको मिसिलबाट नदेखिएको ।
८. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट वारेस समेत रहनुभएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी तथा विपक्ष भू.सु.का.धनुषाको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
९. प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन ? भनी निर्णय दिनुपर्ने देखिन्छ ।
१०. यसमा हालको जग्गाधनी म रिट निवेदकलाई बुझ्दै नबुझी भू.सु.का.धनुषाबाट भएको मिति ०३८।४।१२ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको पाइन्छ । तर भू.सु.का.धनुषाको मिति ०३८।४।१२ को निर्णय पछि मात्र निवेदक रामविलास साहुतेलीले ०३८।११।३०।६ मा विवादको जग्गा राजीनामा लिएको देखिँदा अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम गरेको निर्णयमा निवेदकले जिकिर लिए बमोजिमको कुनै कानुनी त्रुटि भए गरेको नदेखिएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल माघ २७ गते रोज शुभम् ।