निर्णय नं. १७८० - जवरजस्ती करणी

निर्णय नं. १७८० ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३९ सालको फौ.पु.नं. ४६०
फैसला भएको मिति : २०४०।१०।२३।२ मा
पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३१ वागबजार बस्ने मोतीराम तेली
विरूद्ध
विपक्षी/वादी : नानीमाया बस्नेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जवरजस्ती करणी
(१) डाक्टरबाट जाँच गराउँदा योनीको वरिपरि साना–साना सुखापनका श्राव देखिन्छ भन्ने उल्लेख भएको तथा जाहेरवाली र छोरी समेतका बकपत्रबाट प्रतिवादीको प्रहरी समक्षको साविती बयानलाई पुष्टी मिल्न आएको तथा क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएका बुँदा प्रमाणहरू समेतको आधारमा जवरजस्ती करणी गर्न उद्योग गरेको ठहराई जिल्ला अदालतले गरेको इन्साफलाई सदर ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिने ।
(प्रकरण नं. १६)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.बासुदेव शर्मा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।९।१५ को फैसला उपर चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.मोतीराम तेलीको निवेदनमा मिति ०३९।२।१२ मा अनुमति प्राप्त गरी दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ ।
२. म कामधन्दा गरी खाने मानिस भएकोले मोतीरामले मेरो घरमा श्रीमती छैन काम गरी देउ भनेकोले छोरी लक्ष्मी साथमा लिई ०३५।३।२४ गते बिहान ९:२० बजे निजकहाँ गएँ छोरी मोतीरामको कोठामा बसी म भाडा सफा गरी आउँदा छोरी रोएको सुनी ढोका खोल भन्दा पहिला खोलेनन् पछि खोली हेर्दा छोरी रोएको र निजले हातमा कट्टु र सुरुवाल लिएको देखि के भो भन्दा मोतीले मराई सुताई दुखाई दियो भनेकी र छोरीको योनीबाट रगत आएको देखेकोले कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने ०३४।३।२४ को नानीमायाको जाहेरी दरखास्त ।
३. योनीमा तत्काल भएको घाउ देखिन्छ । योनीद्वारको पर्दा फाटेको छैन भन्ने समेतको ०३५।३।२६ को डाक्टरको प्रतिवेदन ।
४. नानीमाया भाँडा सफा गर्न गएको मौका पारी झ्याल ढोका बन्द गरी लक्ष्मीलाई मेचमा राखी निजले लगाएको कट्टु सुरूवाल फुकाली मेरो लिङ्ग देखाएँ । निज लक्ष्मीले यो गर यहाँ गर भनी मैले मेरो लिङ निजका योनीमा लगी केही वेर चलाए विर्य गएन हातले खसाले र निज लक्ष्मी रोएकोले छाडी दिएको हो भन्ने ०३५।३।२६ को मोतिराम तेलीको प्रहरीमा भएको कागज ।
५. ०३५।३।२४ गते मोतीरामका घरमा लक्ष्मी रोएको सुनेको छैन मोतीरामले लक्ष्मीलाई जवरजस्तीकरणी गर्यो जस्तो लाग्दैन भन्नेसमेतको ०३५।४।५ को सरजमीन मुचुल्का ।
६. संकलन हुनआएको सबूत प्रमाणको आधारबाट छानबिन गर्दा छोरीलाई लिई मोतीरामका घरमा काम गर्न गएको छोरी मोतीरामका कोठामा बसी म भाँडा सफा गर्न गए । भाँडा सफा गरी आउँदा छोरी रोएको र के भो भनी सोद्धा मोतीले मलाई ऐया गरी दियो भनी भनेको योनीबाट रगत आएको भन्ने नानीमायाको जाहेरी र योनीमा तत्काल घा चोट देखिन्छ भन्ने डाक्टरको प्रतिवेदन । लक्ष्मीले लक्ष्मीको योनीमा मेरो लिङ दल्न लगाए भनी साविती बयान गरेको समेतबाट निज मोतीराम तेलीले जवरजस्ती करणीका १ नं.उल्लंघन गरी जवरजस्ती करणी गरेको सिद्ध हुँदा निजलाई सोही ऐनका १० नं.अनुसार सजाय गरिपाउँ भन्ने माग भई दाखिल भएको प्रहरी प्रतिवेदन ।
७. नानीमाया मेरो घरमा चार महीना अघिदेखि काम गर्दैआएको थिइन मेरो घरमा काम गरेको बखत सामान हराएकोले निज उपर शंका गरेको थिए । ०३५।३।२५ गते कपडा धुन बोलाउँदा छोरी लक्ष्मीलाई साथैमा लिई आएको थिइन । कपडाहरू दिई म साथीको घरमा गए ४ बजे घरमा आई भाडामा बस्ने व्यक्तिसँग गफ गरी बसे । ६ बजे प्रहरीहरूले पक्राउ गरेको हो प्रहरीले कुटपिट गर्ने धम्की दिएकोले जे लेख्ने हो लेखोस् भनी सहिछाप गरी दिएकोले मेरो श्रीमती छँदाछँदै त्यस्तो काम गर्नपर्ने अवस्था छैन मैले बालकलाई करणी गरेको छैन भन्ने समेतको मोतीराम तेलीको अदालत समक्ष भएको बयान ।
८. आमा नभएका बखत काले भन्ने व्यक्तिले झ्याल ढोकामा पर्दा लगायो र त्यसको तुरीले बेस्करी घोच्यो । आमाले ढोका ढ्याक–ढ्याक गर्दा त्यसले सुरूवाल लगाउन लाग्यो ढोका खोलपछि काले भाग्यो मलाई घाउ लागेको थियो मलाई आमाले औषधी लगाई दिइन भन्ने समेतको लक्ष्मी बस्नेतको बकपत्र ।
९. जवरजस्ती करणी नै भएको भए योनीद्वारको पर्दा फाटिनुपर्ने सो फाटेको छैन भन्ने प्रतिवेदनमा उल्लेख भएकोले प्रहरी प्रतिवेदन दावी बमोजिम जवरजस्ती करणी गरेकै भन्न नमिल्ने भई निज नावालक ४ वर्षको लक्ष्मी बस्नेतलाई प्रतिवादी मोतीराम तेलीले मुलुकी ऐन जवरजस्ती करणीको महलको ५ नं.बमोजिम करणी गर्न उद्योग गरेको देखिन आएबाट जवरजस्ती करणी गर्न उद्योगसम्म गरेको ठहर्छ । सोही ऐनका ३ नं.बमोजिम ५ वर्ष कैद समेत हुने ठहर्छ भन्ने समेतको काठमाडौं जिल्ला अदालतको फैसला ।
१०. उक्त फैसला उपर चित्त बुझेन भन्ने समेतको प्रतिवादी मोतिराम तेलीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
११. यसमा अस्पताल जाँचबाट योनीका वरिपरि साना–साना सुखापनका घाउ देखिन्छ । योनीमा तत्काल घाउ चोटपटक भएको देखिन्छ भनी डाक्टर अदालत समक्ष समेत उपस्थित भई बकपत्र गरेको पाइन्छ । बालिका लक्ष्मीदेवीको बकपत्रबाट पनि अपराधको पुष्टि भएको छ । प्रतिवादीले प्रहरी समक्ष गरेको साविती बयानलाई जाहेरवाली समेतका बकपत्रबाट समर्थन हुनआएको समेतका आधारबाट प्रतिवादीले लक्ष्मी बस्नेतलाई जवरजस्ती करणीको उद्योग गरेको ठहराई शुरूले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको म.क्षेत्रीय अदालतको मिति ०३७।९।१५ को फैसला ।
१२. उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेतका प्र.मोतीराम तेलीको यस अदालतमा पर्नआएको निवेदनपत्र ।
१३. यसमा प्रतिवादी मोतीरामको प्रहरीमा भएका कागजबाट विर्य पतन भएको देखिन्छ । योनी वरिपरि साना सना सुखापनको श्राव भन्ने डाक्टरको टिपोटबाट देखिन्छ । उक्त श्राव विर्य हो वा होइन त्यसको रसायनिक जाँच भएको छैन । जाहेरी दरखास्तबाट जाहेरीवालीकी छोरीले कट्टु सुुरूवाल लगाएकी र कट्टुमा फोहर भएको देखिन्छ । तर उक्त कट्टु र सुरुवाल प्रहरी प्रतिवेदन साथ दाखिल नहुनुको साथै उक्त कट्टुको फोहर विर्यको हो वा होइन त्यसको रसायनिक जाँच भएको देखिन्न । वारदातस्थल कोठामा नै प्रतिवादी भएको देखिन्छ । तर प्रहरीमा सोही दिन बालिकालाई लगेको देखिन्छ । प्रतिवादीलाई हल्ला सल्ला गरी पक्राउ गरी साथै प्रहरी छेउ दाखिल गरेको पाइँदैन । वारदातको समय दिउँसो शहर क्षेत्र समेत देखिँदा यस्तो अवस्थामा मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीलाई जवरजस्ती करणीका उद्योगमा सजाय गरेकै कानुन प्रमाणको मूल्याड्ढन नभएको अ.बं.१८४(क) को कानुनी त्रुटि देखिएकोले पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालतको ०३९।२।१२ को आदेश रहेछ ।
१४. नियमबमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा प्रतिवादी मोतीराम तेलीको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले प्रस्तुत मुद्दामा लक्ष्मीको योनीको वरिपरि साना–साना सुखापनको श्राव भन्ने डाक्टरको रिपोर्टबाट देखिए तापनि त्यसको रसायनिक जाँच भएको छैन । जाहेरवालीको योनीबाट निजको छोरीले कट्टु र सुरूवाल लगाएकोमा कट्टुमा फोहर भएको देखिन्छ तर उक्त कट्टु र सुरूवाल प्रहरी प्रतिवेदन साथ दाखिल भएको र यसको रसायनिक जाँच भएको पाइँदैन । करणी गरिएकी भनेकी लक्ष्मीले बयान गर्दा मोती चिनेको छैन भनेकी तथा सरजमीनको मानिसहरूले बच्चा रोएको सुनेको छैनौ भनी लेखाएका छन् साथै प्रस्तुत मुद्दामा जवरजस्ती करणी गर्ने उद्योग गरेको भनी कारवाही चलाएको नभई जवरजस्ती करणी गरेको भनी कारवाई चलाएका अवस्थामा उद्योगमा सजाय गरेको जिल्ला र क्षेत्रीय अदालतका इन्साफ मिलेको छैन भनी र वादी र श्री ५ को सरकारतर्फबाट खटिई आउनुभएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले जवरजस्ती करणी गर्ने उद्योग गरेकोमा प्रतिवादी प्रहरी समक्ष सावित रहेको कुरालाई अदालतमा इन्कार गरे पनि त्यसरी सावित हुनुपर्ने कारण उल्लेख गर्नसकेको देखिँदैन । डाक्टरको प्रतिवेदन तथा जाहेरवाला र निजकी छोरीको बयानले समेत प्रहरी समक्षका निजको साविती बयानलाई पुष्टि गरेको पाइन्छ । जाहेरवालीले उपस्थित भई किटानी बकपत्र गरी दिएकी छन् । जवरजस्ती करणी भनी कारवाही चलाइएका अवस्थामा अदालतबाट जवरजस्ती करणी गर्न उद्योगमा सजाय गर्न मिल्दैन भन्ने प्रतिवादीतर्फका अधिवक्ताको बहस जिकिर मिल्दो छैन यस्तो अवस्थामा मध्यमाञ्चल क्षेत्रीय अदालतले जवरजस्ती करणी गर्न उद्योग गरेको ठहराई गरेको इन्साफ कानुन अनुरूप नै हुँदा सोही इन्साफ सदर गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
१५. म.क्षे.अ.ले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपर्ने देखिन्छ ।
१६. यसमा जाहेरवाली नानीमायाको किटानी जाहेरी परी सोही अनुसारको बकपत्र समेत गरेको पाइन्छ । प्रतिवादी मोतीराम तेली कसूर गरेकोमा प्रहरी समक्ष सावित भई कागज गरेको पाइन्छ । डाक्टरबाट निज लक्ष्मीको जाँच गराउँदा योनीको वरिपरि साना–साना सुखापन श्राव देखिन्छ भन्ने उल्लेख भएको तथा जाहेरवाली नानीमैया र छोरी लक्ष्मी समेतका बकपत्रबाट प्रतिवादी मोतीराम तेलीको प्रहरी समक्षको साविती बयानलाई पुष्टि मिल्न आएको तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएको बुँदा प्रमाणहरू समेतको आधारमा जवरजस्ती करणी गर्न उद्योग गरेको ठहराई काठमाडौं जिल्ला अदालतले गरेको इन्साफलाई सदर ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिँदा सदर ठहर्छ । सजायको हकमा जबरजस्ती करणीको ३ नं.ले ६ वर्ष कैदको सजाय हुनेमा ऐ.५ नं.ले त्यसको आधा ३ वर्ष कैदको सजाय हुन्छ । अरू तपसीलका कलमहरूमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतले मोतीराम तेलीलाई शुरू जिल्ला अदालतले ५ वर्ष कैद गर्ने गरेकोमा थप कैद ६ महीना गर्ने गरेको सो अनुसारको लगत कट्टा गरी कैद वर्ष तीन मात्र कैद कायम गरी असूल गर्नु भनी का.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु........................................................................................................................................१
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल माघ २३ गते रोत २ शुभम् ।