निर्णय नं. १७८१ - लेनदेन

निर्णय नं. १७८१ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०३८ सालको डि.दे.पु.नं. २०६
फैसला भएको मिति : २०४०।१०।१७।३ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं.को हाल वडा नं.११ थापाथली बस्ने नारायणशमशेर ज.ब.रा.
विरूद्ध
विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.११ थापाथली बस्ने शकुन्तलादेवी अग्रवाल
मुद्दा : लेनदेन
(१) वादीलाई प्रतिवादीले चेकबाट छुट्टै रु.१,५०,०००। बुझाएको भनी भौचर पेश गरेको सो भौचर अनुसारको रकम बुझेको छुट्टै तमसुकमा दरपीठ भएको पनि देखिँदैन, त्यसकारण सो वादीले पेश गरेको भौचर तमसुकमा दरपीठ भए अनुसारको रूपैयाँ बुझेको भौचर रहेछ भन्नुपर्ने हुन्छ । प्रतिवादीका भनाई अनुसार छुट्टै रकम बुझाएको भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
विपक्षीवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
फैसला
न्या.धनेन्द्रबहादुर सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।४।२२ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको मुद्दाको तथ्य निम्नअनुसार छ :
२. नारायणशमशेर सत्यपालले निजहरू साझेदार भएको कन्ष्ट्रक्सन कम्पनी रिलायवल विल्डर्स नामक साझेदार फर्मको काम सञ्चालन गर्न रूपैयाँ नपुग भएकोले सो सञ्चालनका लागि मबाट २०३०।४।२३ मा रु.३,८८,०००। कर्जा लिएको उक्त रकम मध्ये १,६८,०००।, ०३१ साल श्रावण १५ गते बुझाउने बाँकी रु.२,२०,०००।, ०३१ साल पौष १५ गते भित्र बुझाउने सो भाकामा नबुझाएको कर्जा लिएको मिति देखि सयकडा १० का दरले ब्याज समेत कम्पनी तथा साझेदारी दुवैजनाको जायजेथाबाट उपर गरी लिनुभनी उक्त मितिमा तमसुक लेखी दिएको । उक्त तमसुकी रूपैयाँ मध्ये मिति ०३१।४।२३ मा रु.४०,०००। र मिति २०३२।२।६ गते रु.१,५०,०००। बुझाउन ल्याउँदा उक्त दुई पटक गरी बुझाएको जम्मा रु.१,९०,०००। बुझी लिई तमसुकमा दरपीठ भएको त्यस मितिसम्मको ब्याज र अरू सावाँ बाँकी नै भएको ब्याज र बाँकी सावाँमा तरताकेता गर्दा आखिर २०३३।२।१२ गते रूपैयाँ दिन इन्कार गरेकोले नालेश गर्न आएकोछु । साल रु.१,९८,०००। तथा सयकडा १० दरले सावाँ ३,८८,०००। को मिति २०३०।४।२३ देखि ०३१।४।२३ सम्म वर्ष १ दिन १ को ब्याज रु.३८,९०६।३० मा २०३१।४।२३ मा बुझाएको सावाँ रु.४०,०००। कटाई बाँकी हुनआएको सावाँ रु.३,४८,०००। मिति २०३१।४।२४ देखि २०३२।२।६ सम्म ९ महीना १४ दिनको हुने ब्याज रु.२७,०२७।२७ र मिति २०३२।२।६ मा बुझाएको सावाँ रु.१,५०,०००। कटाई बाँकी हुनआएको सावाँ रु.१,९८,०००। को मिति २०३२।२।७ देखि २०३३।४।५ सम्म को १ वर्ष २ महीनाको हुने ब्याज रु.२३,१४८।२२ समेत जम्मा ब्याज रु.८९,१३१।७९ र सावाँ रु.१,९८,०००। समेत जम्मा सावाँ ब्याज रु.२,८७,१३१।७९ र सावाँ रु.१,९८,०००। को मुद्दा अन्तिम किनारा हुँदासम्मको ब्याज समेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. विपक्षीसँग २०३०।४।२३ मा कर्जा लिएको रु.३,८८,०००। मध्ये मिति ०३१।४।२३ मा रु.४०,०००। र मिति २०३२।२।६ गते विपक्षी सकुन्तलादेवीलाई रु.१,५०,०००। नगदै बुझाई विपक्षीले २०३१।४।२३ मा बुझी लिएको रु.४०,०००। र अहिले बुझाएको रु.१,५०,०००। दुवै कलम बुझी तमसुकमा दरपीठ गरी दिनुभएपछि हामीहरू फर्की आयौं । हामीहरू आफ्नो अफिस रिलायवल विल्डर्स गंगापथमा काम गरी बसी रहेको अवस्थामा सोही दिन करीव ११ बजेतिर विपक्षी सकुन्तलादेवी हाम्रो अफिसमा आई मलाई रूपैयाको सारै खाँचो पर्यो मलाई तुरून्त रूपैया दिनुपर्यो भन्नुभयो । हामीसँग यहाँ नगद छैन भनी जवाफ दिँदा चेक दिए पनि हुन्छ तर रु.१,५५,०००। दिनु होला भनी विपक्षीले भन्नुभएबाट विपक्षीका नाउँमा रु.१,५५,०००। को रा.बा.बैंक चेक नं.३८६७८० बाट काटी विपक्षीलाई दियौ । यसरी रु.१,५५,०००। को चेक काटेर दिएपछि तमसुकमा दरपठि गर्नुहोस् भनी विपक्षीलाई भन्दा अहिले तमसुक ल्याएको छैन तपाईंहरूले दिएको चेक साट्न पठाई दिनुहोस साटेर ल्याएपछि तपाईंको फर्मको भौचरमा रकम बुझी लिएको सहिछाप गरी दिन्छु भनी भन्नुभयो । उक्त चेकको पछाडि निजले सही गरेपछि उक्त चेक साटी ल्याएपछि विपक्षीले उक्त रकम लिनुभई भौचरमा रु.१,५०,०००। मात्र लेख्नुहोला बाँकी रु.५०००। पछि मिलाउँला भनी भन्नुभएबाट हाम्रो भौचरमा रु.१,५५,०००। लेखी सकेकोमा पुनः त्यसलाई सच््याई रु.१,५०,०००। लेखी विपक्षीले सही गर्नुभयो । विपक्षीले रु.१,५५,०००। हाम्रो चेकबाट प्राप्त गर्नुभएको भए पनि रु.१,५०,०००। बुझी लिए भनी रिलायवल विल्डर्सको भौचरमा सही गर्नुभएकै छ । उक्त लेखिएबमोजिम विपक्षीलाई सावाँमा जम्मा रु.३,४०,०००। बुझाई बुझी लिई सक्नुभएको सावाँमा रु.४८,०००। मात्र र ब्याज बुझाउन हामी मञ्जूर छौ । फिरादपत्रमा उल्लिखित सावाँ र ब्याजका रकम झुठ्ठा सिद्ध हुन आएका छन् । सावाँमा रु.४८,०००। र त्यसको ब्याज मात्र बुझाउनुपर्ने गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. भौचरमा लेखिएको रु.१,५०,०००। कम्पनीलाई रेकर्ड चाहिन्छ भनी भौचरमा लेखिएको मितिमा तमसुकमा दरपीठ गरी जनिएको रु.१,५०,०००। एउटै कलम हो । कम्पनीलाई रेकर्ड चाहिन्छ भनेबाट भर्पाई स्वरूप भौचरमा व्यहोरा जनाई दस्तखत गरेको हो । तमसुकमा जनिएको र भौचरको रूपैयाँको अंक फरक नभई एउटै रकम छ । त्यसकारण एकै मितिमा २ पटक गरी रूपैयाँ बुझी लिएको होइन । एकै पटक रु.१,५०,०००। मात्र बुझी लिएको हो भन्ने समेत वादीको वारेस तिर्थ डंगोलको बयान ।
५. मेरो प्रतिउत्तरको व्यहोरा सत्य साँचो हुँदा प्रतिउत्तरको व्यहोरा कायम गरिपाउँ भन्ने समेत प्र.वा.कमलमानको बयान ।
६. वादी दावी बमोजिम सावाँ रु.१,९८,०००। र तमसुक भएका मितिदेखि फैसला भएका मितिको सावाँ ब्याज जम्मा रु.३,०२,३५४।८१ प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको २०३३।९।१२।१ को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरूको पुनरावेदनपत्र ।
८. रु.१,५०,०००। बुझी लिएको दरपीठमा लेखी सकेपछि भौचरमा रु.१,५०,०००। मा वादीले सही गर्ने अवस्था नदेखिनाले दरपीठ भौचर एउटै कलमको हो भन्न नमिल्ने हुँदा छलफल निमित्त विपक्षीलाई अ.बं.२०२ नं.बमोजिम झिकाई पेश गर्नुभन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।३।२८।४ को आदेश ।
९. तथ्य तथा कानुनी दुवैलाई दृष्टिगत राख्दा पुनरावेदन जिकिर पुग्न नसक्ने भई काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा लेनदेन व्यहवहारको ५ नं.सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रत्यक्ष कानुनी त्रुटि साथै सार्वजनिक महत्त्वको त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत २०३५।७।१७ को निवेदनपत्र ।
११. मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा लेनदेन व्यवहारको ५ नं.को देहाय २ को त्रुटि भएको देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको समेत देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको डिभिजनबेञ्चको आदेश ।
१२. पुनरावेदकहरूतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले नगद रु.१,५०,०००। नगद बुझी तमसुकमा दरपीठ गरेको छ । पुनः १,५०,०००। चेकबाट बुझी भौचर गरी बुझेको छुट्टाछुट्टै भन्ने प्रष्ट देखिएको छ । यसबाट वादीलाई ४८,०००। मात्र तिर्न बाँकी भएकोमा वादी दावी बमोजिम भराउने गरेको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्ष वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले रु.१,५०,०००। बुझी लिई तमसुकमा दरपीठ गरी सो रूपैयाँ बुझेको भौचर कम्पनीलाई गरी दिएको हो एउटै रकम हो त्यसकारण क्षेत्रीय अदालतको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१३. यसमा निर्णयतर्फ हेर्दा लेनदेन व्यवहारको ५ नं.को देहाय २ को त्रुटि भनी पुनरावेदनको अनुमति भएको देखिन्छ ।
१४. लेनदेन व्यवहारको ५ नं.को देहाय २ मा सावाँ मध्ये केही मात्र बुझाउँदा वा ब्याज बुझाउँदा आसामीले साहुबाट माथि १ दफामा लेखिएबमोजिम भर्पाई गराई लिई यथासम्भव तमसुक खाता वही वा भर्पाई समेत सो सावाँको सम्बन्धमा अघि जुन लिखत भएको छ सो लिखतको पीठमा सो व्यहोरा खोली लेखी आसामीको सहिछाप गर्नु गराउनु पर्छ भन्ने समेत लेखिएको पाइन्छ । यसबाट सावाँ वा ब्याज बुझाउँदा आसामीले साहुबाट भर्पाई गराई लिई तमसुकको पीठमा समेत सो व्यहोरा लेख्नुपर्ने व्यवस्था गरेको पाइन्छ ।
१५. प्रस्तुत मुद्दामा रु.१,५०,०००। सावाँ मध्ये बुझाएको भनी तमसुकमा दरपीठ गरेको रकमको भर्पाई यो हो भनी प्रतिवादीले छुट्टै भर्पाई पेश गर्नसकेको देखिँदैन । वादीलाई प्रतिवादीले चेकबाट छुट्टै रु.१,५०,०००। बुझाएको भनी भौचर पेश गरेको सो भौचर अनुसारको रकम बुझेको छुट्टै तमसुकमा दरपीठ भएको पनि देखिँदैन । त्यसकारण सो वादीले पेश गरेको भौचर तमसुकमा दरपीठ भए अनुसारको रु.१,५०,०००। रूपैयाँ बुझेको भौचर रहेछ भन्नुपर्ने हुन्छ । प्रतिवादीका भनाई अनुसार छुट्टै रकम बुझाएको भन्न नमिल्ने हुँदा क्षेत्रीय अदालतको निर्णयमा अन्यथा गर्नुपर्ने नदेखिएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी दावीबमोजिम सावाँ ब्याज प्रतिवादीबाट भरी पाउने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रिय अदालतबाट छिनेको इन्साफ मनासिव छ र लेनदेन व्यवहारको ४ नं.बमोजिम थप ब्याज समेत भरी पाउने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी सकुन्तलादेवी अग्रवाल के देहायका प्रतिवादीहरूबाट लिखत भएका मिति ०३०।४।२३ देखि का.जि.अ.बाट फैसला भएको मिति ०३३।९।१२ सम्मको सावाँ ब्याज का.जि.अ.को फैसलाले र ०३३।९।१३ देखि म.क्षे.अ.बाट फैसला भएको मिति ०३५।६।१२ सम्मको म.क्षे.अ.बाट थप ब्याज भराई सकेको हुँदा लेनदेन व्यवहारको ७ नं.अनुसार सावाँको बराबर भन्दा बढी ब्याज भरी नपाउने भएकोले सावाँ बराबरको पाउन बाँकी ब्याज सावाँँ रु.१,९८,०००। को दशौंदका दरले ब्याज म.क्षे.अ.को फैसला भएको मिति ०३५।६।१२ को भोलिपल्ट ०३५।६।१३ देखि ०४०।४।२२ सम्मको ४ वर्ष १० महीना १० दिनको हुने थप ब्याज रु.९६,२५०। छयानब्बेहजार दुईसय पचास रूपैयाँ भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र दरखास्त परे सयकडा रु.२।५० दस्तूर लिई देहायका प्रतिवादीहरूबाट बराबरका दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु.......................................१
प्र.नारायण शमशेर ज.ब.रा.१, प्र.सत्यपाल सचदेव १
मिसिल नियमबमोजिम गरी बुझाई दिनु..........................................................................................................................२
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इतिसम्वत् २०४० साल श्रावण माघ १७ गते रोज ३ शुभम् ।