निर्णय नं. १७८२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १७८२ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ को रिट नं. ९३०
आदेश भएको मिति : २०४०।१०।२।२ मा
निवेदक : जि.सर्लाही सलेमपुर गा.पं.वडा नं.४ बस्ने रामस्वरूप महतो सुडी
विरूद्ध
विपक्षी : जि.सर्लाही मलंगवा गा.पं.वडा नं.७ बस्ने जगरनाथ शाह रौनियारसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) अनुसार आफ्नो स्वामित्व भएको जग्गामा आफैं मोही हुन नसक्ने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।
२. मेरा पिता हिरा महतो सुडीले विपक्षीका दाइ भाइ सोनेलाल समेत उपर रिट निवेदन दिँदा सो निवेदनको फैसला अनुसार देवनारायण साहु नाउँ दर्ताको साविक नम्बरी जग्गा ५–०–० को मोही हक पाउने ठहर भई २०२३।२।१८ गते सर्वोच्च अदालतबाट फैसला भएको छ । उक्त जग्गा सर्भेमा सोनेलालको नाउँमा ३–४–१५ र जगरनाथको नाउँको ०–१८–५ दर्ता भएको छ । सोनेलालका नाउँको उक्त जग्गाको मोही पिता भएको र वहाँ स्वर्गीय भएबाट सोही नामसारी गराउने छु । जगरनाथ नाउँ दर्ताको मोही हक प्राप्त नहुँदै पिता परलोक हुनुभएकोले सो जग्गाको मोही हकको प्रमाणपत्र पाउँ भन्ने मेरो निवेदन परेको थियो । दावाको ०–१८–५ जग्गा मेरो नाउँमा दर्ता रहेको र जगरनाथको भनी निवेदन दिएको जग्गा जगरनाथको नाउँमा दर्ता छैन निवेदकका बाबु मोही हिरा महतो जग्गाधनी र मोही समेत भई जग्गाधनी दर्ता प्रमाणपत्र पाएको छ । सो जग्गा भगवानलाल साहुलाई बिक्री गरेकोमा हकसफा गरी लक्ष्मी महतोले लिई निजबाट मैले खरीद गरेको आफैं जग्गाधनी र मोही भएको व्यक्तिलाई जग्गा बेचविखान गर्दा मोही कायम गर्ने व्यवस्था नभएको र मोहीको स्वामित्व नभएको व्यक्तिको नाउँमा मोही नामसारी गर्न मिल्दैन भन्ने जयनारायण सुडीको बयान भएकोमा बाबुले बिक्री गरेको जग्गामा पछि छोराले मोही कायम गर्न दावी गरेकोले दावी पुग्न नसकी खारेज हुन्छ भन्ने समेत भूमिसुधार कार्यालय सर्लाहीको मिति ०३९।३।७ को निर्णय ।
३. सर्भेमा भूलबाट मेरा बाबुको नाउँ जग्गाधनी भएको हो तापनि फिल्डबुकको कैफियतमा यो जग्गा जगरनाथको नम्बरी हो भनेर जनाउन लगाएको छ । बाबु मरेपछि म आफैंले लगातार जोती आएको छु । यस्तो अवस्थामा विपक्षी भूमिसुधार अधिकारीको उक्त निर्णय त्रुटिपूर्ण छ । अर्को कुरा बाबुले भगवानलाल साहुलाई बिक्री घरसारमा गरेकोमा निजले उक्त ०–१८–५ जग्गाको मोही कायम गर्ने गरी कबुलीयत गरी दिएको छ । मेरो उक्त मुद्दामा सरजमीन बुझिएको छैन । अतः विपक्षी भूमिसुधार अधिकारीको ०३९।३।७ को त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिने भन्ने समेतको मिति २०३९।६।७ को सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश ।
५. अरू कसैको जग्गा जोतेमा मात्र मोही हक प्राप्त हुनसक्ने कानुनी व्यवस्था हुँदा रिट निवेदकको बाबुको नाममा मोही हक प्राप्त हुन नसक्ने भएकोले निवेदकको नाममा मोही हक प्राप्त हुने हो कि भन्ने प्रश्न नै उठ्दैन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको भूमिसुधार कार्यालय सर्लाहीको लिखितजवाफ ।
६. हिरा महतोबाट भगवानलाल साहुको नाउँमा भगवानलालबाट हकसफा गरी निवेदकको छोरा लक्ष्मीको नाउँमा र लक्ष्मीबाट मेरो नाउँमा खरीद बिक्री भएको यावत कुरालाई लोभ गरी रिट निवेदन आएकोले सफा हात शुद्ध हृदयले नआएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको जयनारायण साहुको लिखितजवाफ ।
७. विपक्षी जगरनाथको नाउँको सूचना तामेल भई म्यादभित्र लिखितजवाफ नदिई गुजारी बसेको रहेछ ।
८. यसमा रिट निवेदकतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले विवादित जग्गाको मोही रिट निवेदकको बाबु हिरा महतो हुनुहुन्थ्यो निज परलोक भएकोले सो जग्गामा रिट निवेदक रामस्वरूपको मोही हक हने हुनाले प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत बहस गर्नुभयो । विपक्ष कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले बाबुको हकै नभएको जग्गामा छोराको मोहियानी हुनसक्तैन रिट निवेदन खारेज हुन पर्छ भन्ने समेत र विपक्षी जयनारायण महतोका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले निवेदकको छोराबाट मेरो पक्षले विवादित जग्गा लिएको हुँदा निवेदक मोही हुन नसक्ने भनी भूमिसुधार कार्यालयबाट भएको निर्णयमा त्रुटि नहुँदा रिट निवेदन खारेज हुनपर्ने भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
९. प्रस्तुत विषयमा निवेदकको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) ले मोही हुनलाई अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई आफ्नो परिवारका श्रमैले खेती गरेको व्यक्ति हुनुपर्ने परिभाषा गरेअनुसार उल्लेखित जग्गा प्रमाणबाट जगरनाथ शाहको नभई निवेदकका बाबु हिरा महतोको छोरा यो निवेदक मोही कायम नहुने भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीले निर्णय गरेको पाइन्छ ।
११. विवादास्पद जग्गा रिट निवेदकको बाबु हिरा महतोले भगवान साहुलाई राजीनामा पास गरी बिक्री गरेको यिनै निवेदकको छोरा लक्ष्मीले हकसफा गरी लिई पछि निजले राजीनामा पारित गरी बिक्री गरेको देखिन आउँछ । यसबाट सो विवादित जग्गाको स्वामित्व रिट निवेदकको बाबु र छोरामा रहेको भन्ने कुरा निर्विवाद छ । निजहरूले पारित गरेको राजीनामा मोही हक सुरक्षित राख्ने भन्ने उल्लेख भए पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) अनुसार आफ्नो स्वामित्व भएको जग्गामा आफैं मोही हुन नसक्ने स्पष्ट व्यवस्था भएको छ । यस्तो कानुनी व्यवस्थाको विपरीत उक्त राजीनामामा त्यस्तो शब्द राख्दैमा मोही हकको सृजना हुनसक्ने देखिँदैन । अतः भूमिसुधार अधिकारीले अधिकारक्षेत्र भित्र रही सबूत प्रमाणको निरूपण गरी गरेको उक्त निर्णयमा कानुनी त्रुटि भएको भन्न सकिने अवस्था नदेखिएकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल माघ २ गते रोज २ शुभम् ।