निर्णय नं. १७८५ - कर्तव्य ज्यान

निर्णय नं. १७८५ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३८ सालको फौ.पु.नं. २५०
फैसला भएको मिति : २०४०।१०।८।६ मा
पुनरावेदक/वादी : मोतीलाल अहिरको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि.रूपन्देही वलरामपुर गा.पं.वडा नं.७ बस्ने कप्तन चाई समेत
मुद्दा : कर्तव्य ज्यान
(१) बच्चालाई समाती भुइँमा एकपटक पछारे, खटीयाको माटोमा पर्ने गरी अर्को पटक समेत पछारी दिए, मैले मौकैमा देखे चिनेकीले निजहरूले नै छोराछोरी र नाति समेतलाई मारी गएका हुन् भनी किटान साथ अदालतमा समेत बकी लेखी दिएको समेत देखिनाले प्र.लाई सफाई दिने गरी प.क्षे.अ.ले गरेको निर्णय मिलेको नदेखिने ।
(प्रकरण नं. १९)
पुनरावेदकतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिम सजाय होस भनी श्री ५ को सरकारको निवेदन परेकोमा झगडीयाहरू झिकाउने आदेश भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।
२. बलरामपुर गा.पं.वडा नं.७ बस्ने नैनप्रसाद चाई समेतले ०३४।१।७ गते राति मेरो घरमा डकैती गरेकोले कारवाही भइरहेछ । सोही रिसइवीबाट ०३४।५।२३ गते राति सुती निदाएको अवस्था निज नैनप्रसाद चाई समेत आई दाजु ओरी अहिर छोरा कृष्णप्रसाद अहिर समेतलाई मारी भागी गएकोले कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत मोतीलाल अहिरको जाहेरी दरखास्त।
३. उत्तर टाउको दक्षिण खुट्टा उत्तानो भएको छातीमा ३ “लामो २” चाकलो छातीमा “लामो भालाले घोचेको घाउ भएको भन्ने ओरी अहिरको र टाउको उत्तर खुट्टा दक्षिण उत्तानो परेको मुख केही खुला जिभ्रो केही निक्लेको दाहिने आँखा माथि १” गहिरो घाउ मुखको वरिपरि निल डाम मलद्वारबाट मल निस्केको भन्ने समेत प्रकृति मुचुल्का ।
४. ०३४।५।२३ को रात म र मेरो छोरा समेत सुतेका थियौं । आधा रातमा डाँका डाँका भनी हल्ला हुँदा निद्राबाट बिउँझी जाहेरवालाको घरतर्फ जाँदा बदमासहरूले ओरी र कृष्णप्रसादलाई मारी भागी सकेका रहेछन् । मारेको देख्न सकिन हामीले मारे मराएको होइन भन्ने समेत जमुनाको मौकाको कागज ।
५. टाउकोको हड्डी भाँचिई मृत्यु भएको भन्ने कृष्णप्रसाद र भाला समेतको चोट लागि ओरी अहिर मरेको भन्ने पोष्टमार्टम रिपोर्ट ।
६. ०३४।५।२३ को रात खानपिन गरी सुती निदाएको अवस्थामा गाउँको नैनप्रसाद चाई कप्तान चाई चितनगुद चाई समेत बदमासहरू आई ओरी अहिर कृष्णप्रसाद अहिर समेतलाई भालाले मारी भागी गएको देखेको हुँ अरू बदमासहरूलाई चिन्न सकिन भन्ने सरजमीन लेखाई र जाहेरवालाको घरतर्फबाट डाँका भनी हल्ला हुँदा गुहारमा जाँदा बदमासहरू भागी सकेका रहेछन् ओरी र कृष्णप्रसाद अहिर मरेको अवस्थामा देखेको हुँ घटनाको अवस्था कसैले देख्न पाएनौ मोतीलाल र नैनप्रसादको बीच रिसइवी भएकाले नैनप्रसाद र कप्तान चाई समेतले मारेकोमा शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
७. नैनप्रसाद चाईलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैद र चित्तगुद चाई कप्तान चाईलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद जमुना सहदेव समनारायण र भोलहु अहिरलाई ज्यानसम्बन्धीको १७(२) अनुसार सजायको माग गरिएको प्रहरी प्रतिवेदन ।
८. ०३४।५।२३ को रात म मेरो छोरा सभनारायण आफ्नै घरमा सुतेका थियौं मेरो र ओरी अहिरको घर २१० गज फरक पर्छ । अं.१२ बजेको समयमा ओरी अहिरको घरमा डाँका परेको हल्ला भई जाँदा डाँका भागी सकेको रहेछ कहाँको डाँकाले मार्यो थाहा छैन मैले मारेको होइन भन्ने समेत जमुनाको अदालतमा भएको बयान ।
९. ०३४।५।२३ को रात म मेरै घरमा छु ओरी र कृष्णप्रसाद अहिरलाई कहाँका डाँकाले मारे थाहा छैन मैले मारेको होइन भन्ने समेत भोलहु अहिरको अदालतमा भएको बयान ।
१०. ०३४।५।२३ गते ओरी र कृष्णप्रसादलाई कहाँका डाँकाले मारे थाहा छैन मैले मारेको होइन भन्ने समेत सभनारायणले अदालतमा गरेको बयान ।
११. कृष्णप्रसाद र ओरी अहिरलाई डाँकाहरूले मारेका हुन मैले मारेको होइन भन्ने समेत सहदेव अहिरले अदालतमा गरेको बयान ।
१२. ०३४।५।२३ गते म मेरो घरमा छैन । रामपुर गा.पं.वडा नं.४ मौजा असुवा बस्ने मामा क्षेत्रलालको घर २३ गते बिहानै गएको थिएँ । ३ दिन बसी फर्केको हुँ मोतीलालसँग झगडा भएकोले रिसइवीबाट फसाएका हुन् मैले मारे मराएको होइन भन्ने समेत कप्तान चाईले अदालतमा गरेको बयान ।
१३. ०३४।५।२३ गते म मेरै घरमा छु ओरी र कृष्णप्रसाद अहिरलाई चिने जानेको छु । निजहरूलाई २३ गते राति कहाँका डाँकाले मारे मैले मारेको होइन भन्ने समेत चिनगुद चाईले अदालतमा गरेको बयान ।
१४. वादी दावी बमोजिम प्र.कप्तान चाई जमुना अहिर सहदेव अहिर भोलहुँ अहिर सभनारायण अहिर चिनगुद चाई समेत ६ जना प्रतिवादीहरूले कर्तव्य गरी मारेको ठहर्दैन । प्र.नैनप्रसाद चाई म्याद गुजारी बसेको हुँदा निजको हकमा मुलतवी रहने ठहर्छ भन्ने समेत शुरू रूपन्देही जि.अ.को फैसला ।
१५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको प.क्षे.अ.मा पुनरावेदन परेको।
१६. जाहेरवालाको चिनेको भनेको स्वभाविक देखिएन । रातको बीच ढोकाको प्वालबाट हेरी पहिचान गरेको भन्ने पत्यारलायक छैन । सभपाती अहिर्नी मोहन अहिर सुभावती अहिरनी जाहेरवालाको जहान परिवार देखिएको यस्तो व्यक्तिहरूको भनाइलाई होसियारी साथ केलाउनुपर्ने हुन्छ । कप्तान चाई र चिनगुद चाइलाई भनी मौकामा लेखाउन सकेको छैन । यस्तो शंकास्पद भनाइका आधारबाट प्रतिवादीहरूलाई सजाय गर्न नमिली सफाई दिने गरेको शुरू रूपन्देही जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।
१७. उक्त प.क्षे.अ.को इन्साफमा चित्त बुझेन भनी श्री ५ को सरकारको यस अदालतमा परेको निवेदनमा प्रत्यक्षदर्शी सम्पाति अहिरनी तथा मोहन अहिरले व्यक्त गरेको कुरा प्रमाण योग्य नमानी प.क्षे.अ.ले गरेको निर्णयसँग सहमत हुँदा अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलको लागि प्र.कप्तान चाई तथा चिनगुद चाईको नाउँमा नोटिसको म्याद दिई झिकाई आएपछि वा अवधि पूरा भएपछि नियमबमोजिम पेश गर्नुभन्ने डिभिजनबेञ्चको ०३९।१०।२ गतेको आदेश रहेछ ।
१८. श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान स.अ.श्री भैरवप्रसाद लम्सालले ०३४ भाद्र २४ मा जाहेरी परेको र डाक्टरको प्रतिवेदनमा भालाले घोचेर मारेको भन्ने देखिन्छ । छोरो बच्चालाई मारेकोमा टाउको खप्पर फुटेको देखिन्छ । जाहेरी को कुरा प्रकृति मुचुल्का डाक्टरको प्रतिवेदनबाट समेत समर्थित भएको छ । वारदात देख्ने चस्मदिद गवाहहरू पनि छन जसले अदालतमा पनि आई बकपत्र गरेका छन् सम्पाति अहिरनीले नैनप्रसाद र कप्तान चाईलाई चिनेको भनी भनेको सोभावतीले कप्तान चाई र चिनगुद चाईले समाई राखेको नैनप्रसादले काखको बच्चा लिई मारेको भनी भनेको एकै जाहान व्यक्तिले चिनेको पनि ०३३ ने.का.प. प्र.पं.जोगबहादुर तुलाधर विरूद्ध श्री ५ को सरकार भएको ज्यान मुद्दामा मान्यता दिइएको देखिन्छ भनी र प्रतिवादीहरू कप्तान चाई र चिनगुद चाईको तर्फबाट विद्वान अधिवक्ता श्री बैद्यनाथ उपाध्यायले नैनप्रसादसँग रीसइवी हुन सक्तछ तर यी झिकाइएको व्यक्तिहरूसँग कुनै रिसइवी भएको देखिन्न । मुद्दा चलेको पनि देखिन्न चिनगुद चाई र कप्तान चाई नैनप्रसादको घरमा काम गर्ने व्यक्ति हुन । मोतीलालको जाहेरी प्रमाणमा लिन हुन्न । जाहेरीमा चिनगुद चाईको नाम उल्लेख छैन । जाहेरवालाको श्रीमतीले चिनगुद चाईलाई देखेको भए जाहेरीमै नाम हुनुपर्ने । सोभावतीको बयानमा पनि विरोधाभाश छ । एउटै परिवारको सदस्यले बोलेको कुरा प्रमाणमा लिन हुन्न भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । दुबैतर्फको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प.क्षे.अ.का निर्णय मिले नमिलेको के हो मूलतया विचार गर्नुपर्ने प्रश्न उपस्थित हुनआएको छ ।
१९. यसमा प्र.चिनगुद चाई र कप्तान चाई समेतलाई सफाई दिने गरी प.क्षे.अ.ले गरेको निर्णय बदर गरी प्रहरी प्रतिवेदन बमोजिम सजाय गरिपाउँ भनी वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यसतर्फ हेर्दा चिनगुद चाई र कप्तान चाईको सम्बन्धमा किटान साथको जाहेरी दरखास्त परेको सरजमीनका मानिसहरूले प्रतिवादीहरू माथि आशंका व्यक्त गरेको चस्मदिद गवाह सोभावती अहिरनीले चिनगुद नैनप्रसाद र कप्तान समेतले मलाई समाउन थाले र मेरो बच्चालाई तीनैजनाले खोसी मलाई धकेली दिए त्यसपछि बच्चालाई नैनप्रसादले समाती भुइँमा एकपटक पछारे र खटीयाको पाटीमा पर्ने गरी अर्को पटक समेत पछारी दिए भनी सपती अहिरनीले नैनप्रसाद चाई र कप्तान चाईलाई मैले मौकैमा देखे चिनेकीले निजहरूले नै छोराछोरी र नाति समेतलाई मारी गएका हुन भनी किटान साथ अदालतमा समेत बकी लेखी दिएको समेत देखिनाले प्र.चिनगुद चाई र कप्तान चाईलाई सफाई दिने गरी प.क्षे.अ.ले गरेको निर्णय मिलेको देखिएन । पुनरावेदन जिकिर अनुसार प्र.कप्तान चाई र चिनगुद चाईलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ अरूको हकमा गरेको निर्णय मनासिव ठहर्छ । तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियमानुसार बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम देहायका प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय हुने ठहर भएकोले सो सजायको लगत कसी निजहरूलाई पक्राउ गरी फैसला बमोजिमको कैद सजाय भुक्तान गराउनु भनी रु.जि.अ.मा लेखी पठाउन भनी का.जि.अ.मा लगत दिनु...१
प्रतिवादी कप्तान चाई १, प्रतिवादी चिनगुद चाई १
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल माघ ८ गते रोज ६ शुभम् ।