निर्णय नं. १७९३ - कर्तव्य ज्यान

निर्णय नं. १७९३ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको फौ.सा.नं. १४९
” ” फौ.पु.नं. ४०७
फैसला भएको मिति : २०४०।१०।६।६ मा
पुनरावेदक/प्रतिवादी : भोजपुर कारागारमा थुनामा रहेको टेकबहादुर तामाङ
विरूद्ध
विपक्षी/वादी : ज्ञानबहादुर रायको जा.ले वादी श्री ५ को सरकार
पुनरावेदक/वादी : ज्ञानबहादुर रायको जा.ले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जि.भोजपुर हेलोछा गा.पं.वार्ड नं.५ बस्ने धनमाया तामाङ
मुद्दा : कर्तव्य ज्यान
(१) पोष्टमार्टम लासजाँच मुचुल्का हेर्दा पनि कैयौं ठाउँमा हिर्काएको र घाउ चोट देखिन आएको समेतबाट प्रहरीमा गरेको बयान समर्थित हुनआएको देखिँदा शुरू जिल्ला अदालतले प्रतिवादीलाई ज्यानसम्बन्धीको १३ नम्बरको देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. प्रतिवादी टेकबहादुर तामाङलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने भनी शुरू भोजपुर जिल्ला अदालतले गरेको इन्साफलाई पूर्वाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोमा साधक निकासाको निमित्त प्रतिवादी टेकबहादुर तामाङको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दामा संक्षिप्त विवरण यसप्रकार छन् :
२. मेरा बाबु दिपबहादुर रायलाई यही ०३७ साल जेष्ठ ६ गते बिहान ९।१० बजे घरबाट बर्खे खोला आली काट्न गएको बखत उक्त अभियोगीको खेत पनि त्यही भएकोले साँध सीमाना वा के इवीबाट हो अन्यायवालाहरूले मात्र वा अरू को भई काटी मरणान्त पारेछन् म घाँस काट्न गएको वेला पारी आमाले र भाउजूले बाबुलाई घरमा ल्याई सुताएछन् बाबुलाई सोध्दा टेकबहादुरकी श्रीमती टेकबहादुर समेत भई कुटे भन्ने सोही दिन वेलुका ४ बजेतिर भनेर सोही चोट पिरबाट मरेकोले अभियोगी २ जनालाई कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त।
३. निज दिपबहादुर रायले ०३७।२।१ गतेको दिन गल्ली मिची खेत बनाउँदा किन यस्तो गरेको भनी भन्दा केही रिसइवी भइरहेको थियो त्यस्तैमा निजको र मेरो वर्षे खेत भन्ने एकै ठाउँ भई ०३७ साल जेष्ठ ६ गतेका दिन बिहान खेत खन्न जाँदा निज पनि खन्दै रहेछन् मेरो खेत मिचेको देखि किन यसो गरेको भन्दा निज आवेशमा आई देव्रेपटि पातोमा कोदालो लिई बायाँ हातले मुडकीले हिर्काई हालेको निजको हात खुट्टा यसै कोदालोको बिँडले हिर्काई भाँची दिन्छु भनी कोदालोको विँड पहिले नै निकाली खुट्टाले थिची राखे आई लागेकोले मैले एउटा हात खुट्टा भाँची दिनुपर्यो भनी कुटे निज भाग्दै गयो म पनि छोप्दै गई कुटदै गरेको छु आठ चोट जति कुटेको मलाई थाहा छ अरू कुटेको मलाई थाहा छैन मैले कुटेको मात्र हुँ तासिरले मारेको हो सहमति कोही छैनन् कानुनले जो ठहर्छ भन्ने समेत व्यहोराको टेकबहादुर तामाङले प्रहरीमा गरेको कागज ।
४. ०३७।२।६ गते बिहान बुहारी र मेरो लोग्ने खेत खन्न गएको थिए भात खाने बेलामा लोग्ने मात्र आई भात खान र लुगा दे आज मैले दिपबहादुरसँग झगडा परी कुटे काÇले साड भाइकोमा जान्छु भनी हिँडेको हामीले भात खाई गोठतर्फ गई भैंसी हेर्दै गर्दा कर्णबहादुर गाउँमा आएर आज बिहान बाबुले दिपबहादुरलाई कुटे छ अरे दाजु कहाँ गएभन्दा भोजपुर साडुभाइकोमा गए भने दाजुको सट्टामा तिमी पनि जानु पर्छ भनी लिई निजकै घरमा राखेर लोग्ने लिन पठाएको हुन ऐ.७ गते लोग्ने ल्याएँ मेरो लोग्नेले कुटे, तासिरबाट मरेको रहेछ, लोग्ने नहुँदा निजको सट्टामा लान्छौ भनेकाले जाहेर गर्न जाँदा लोग्ने आई पुग्नुभएको थिएन त्यसैले मलाई झुठ्ठा जाहेर गरेको हो कुटनु काट्न सहयोग छैन भन्ने समेत व्यहोराको प्र.धनमायाले प्रहरीमा गरेको कागज ।
५. ०३७।२।६ गतेका दिन बिहान टेकबहादुर र दिपबहादुर रायको झगडा परी टेकबहादुरले कुटेको थियो रे बेलुका सोही तासिरबाट सोही दिन बेलुका मर्यो भन्ने कुरा सुनी जानेका छौं भन्ने समेत व्यहोराको केही सरजमीनले गरिदिएको र टेकबहादुरको दिपबहादुरको झगडा परी कुटपिट भएको तासिरबाट बेलुका मरेकोले टेकबहादुरको श्रीमतीलाई सो भन्दा मैले कुटेको हुँ भनेकीले निज लोग्ने स्वास्नीले नै कुटपिट गरी मारेको भन्ने लाग्छ भन्नेसमेत ०३७।२।२० गते प्रहरीबाट गराएको सरजमीन मुचुल्का ।
६. ०३७।२।६ गते बिहान ९।१० बजेको समयमा टेकबहादुर तामाङले दिपबहादुर रायलाई कुटी सोही तासिरबाट मृत्यु हुनगएको हुँदा निज टेकबहादुर तामाङलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजाय हुन र धनमाया तामाङनीले पनि घटना गर्नेमा सहमत भएकै देखिँदा निजलाई ज्यानसम्बन्धीको १७(३) नं.बमोजिम सजाय हुन प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको स.स.अ.र प्रहरीको संयुक्त प्रतिवेदन ।
७. मैले दिपबहादुरलाई तत्काल नै उठेको रिसबाट कोदालोको विँड मात्रले एकचोटी हानेको हुँ निजको शरीरमा परेका घाउहरू आफैं लड्दै पड्दै गर्दा पर्नगएको हो, मैले निज दिपबहादुरलाई मारौं भन्ने सम्झी हानेको होइन भन्ने समेत व्यहोराको टेकबहादुर तामाङले अदालतमा गरेको बयान ।
८. प्रतिवादी टेकबहादुर तामाङले प्रहरीमा गरेको बयान स्वेच्छाबाटै गरेको हो भन्ने प्रष्ट हुनआएको देखिनाले निजले दिपबहादुरलाई कोदालोको बिँडले कुटेकै चोटबाट दिपबहादुर मरेको ठहर्छ । बहुसंख्यक सरजमीनले धनमाया उपर शंकासम्म पनि नगरेको हुनाले धनमाया पनि अपराधमा सहयोगी थियो भनी ठहर गर्न सबूत बिना मिलेन अतः धनमाया तामाङनीले सफाई पाउने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरू भोजपुर जिल्ला अदालतको ०३७।५।१५।१ को फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी टेकबहादुर तामाङको श्री ५ को सरकारको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१०. मिसिल संलग्न पोष्टमार्टम रिपोर्ट र लास जाँच मुचुल्काबाट दिपबहादुरका आङ्ग जीउमा अनेक घा खत परेको देखिन्छ । घा चोटको कारणबाट कर्तव्य गरी मरेको भन्ने मेडिकल डाक्टरको रिपोर्ट रहेको छ । दिपबहादुर र टेकबहादुरका बीच झै–झगडा रहेको भन्ने देखिन्छ । प्रहरीमा टेकबहादुरले ८ पटक चोट छाडेको भनी लेखाई दिएकै छ । यस स्थितिमा आवेश उत्तेजनामा चोट छाडेको कारणबाट मरेको भन्ने मिलेन । टेकबहादुरले लखेटी लखेटी चोट छोडेको देखिन्छ अब धनमायालाई सफाई दिएको मिलेन भन्ने श्री ५ को सरकारको पुनरावेदन र बहस जिकिरमा विचार गर्दा सरजमीनका मानिसहरूले धनमायालाई शंका गरेको देखिएन टेकबहादुरले आफू एक्लैले कुटेको भनी लेखाई दिएको छ टेकबहादुर भागेको कारणबाट धनमायालाई पक्राउ गरी दिपबहादुरका घरमा लागेको देखिन्छ । लक्ष्मीमायाको भनाइको आधारमा मात्र धनमायालाई मतियार कायम गर्न मिलेन तसर्थ भोजपुर जिल्ला अदालतको इन्साफ मनासिव छ । दुवैतर्फको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।५।१।२ को फैसला ।
११. साधक निकासाको निमित्त पेश हुनआएको र पुनरावेदन प्रतिवादी टेकबहादुर तर्फका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीको बहस समेत सुनी प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव या बेमासिव के रहेछ निर्णय दिनुपरेको छ ।
१२. यसमा दिपबहादुरलाई तत्कालै उठेको रिसबाट कोदालोको बिँड मात्रले एक चोटी मात्र हानेको हुँ भन्ने समेत अदालतमा बयान गरे तापनि मृतकको हात खुट्टा नभाँचिएसम्म दिपबहादुर रायलाई कुटी रहने मनसाय भएकोले ८ चोट सम्म कोदालोको बिँडले हिर्काएको मलाई सम्झाना छ त्यसपछि के कति चोट मैले हिर्काएँ यकीन सम्झना छैन । पहिला हातको जोड्नी जोड्नीमा र पाखुराको पाँसुलामा खुट्टीको नलीखुट्टा तिघ्रा समेतमा हिर्काएँ पछिबाट निधारमा एकचोट हिर्काएको हुँ भन्ने समेत प्रतिवादी टेकबहादुरले प्रहरीमा बयान गरेको पाइन्छ । पोष्टमार्टम लासजाँच मुचुल्का हेर्दा पनि कैयौं ठाउँमा हिर्काएको र घाउ चोट देखिन आएको समेतबाट निजले प्रहरीमा गरेको बयान समर्थित हुनआएको देखिँदा शुरू भोजपुर जिल्ला अदालतले प्रतिवादी टेकबहादुरलाई ज्यानसम्बन्धीको १३ नम्बरको देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरू भोजपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन । अभियुक्त प्रतिवादी टेकबहादुरको पुनरावेदन परेकोले साधकको लगत कट्टा गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० माघ ६ गते रोज ६ शुभम् ।