शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७९५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: माघ अंक: १०

निर्णय नं. १७९५    ने.का.प. २०४० अङ्क १०

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको रिट नं. १७५६

आदेश भएको मिति : २०४०।१०।२०।६ मा

निवेदक/वादी : जि.सिन्धुली भीमथान गा.पं.वा.नं.१ शाखा पाडी डाँडा गाउँ बस्ने चूनादेवी आचार्य

विरूद्ध

विपक्षी       : ऐ.ऐ बस्ने राजमान नेवार समेत

विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१)                जोताहा अस्थायी निस्साको आधारमा जग्गामा मोहियानी हकको दावी गर्न मिल्ने नदेखिने ।

 (प्रकरण नं. ९)

आदेश

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    २०१९।१।१४ मा रघुनाथपुर मालबाट रजिष्ट्रेशन पारित भएको राजीनामाको लिखत बमोजिम सोही मिति देखि विधिवत मेरा नाउँमा हकभोग र स्वामित्व हस्तान्तरण भई साविक पाटन देवी गा.पं.वा.नं.७ मा पर्ने साविक दुई बिगहा हाल नापी भई कित्ता कायम हुनआएको पाटन देवी गा.पं.वा.नं. ७(क) को कि.नं.१६ को बिगहा २½ जग्गाधनी म निवेदीकाले राजीनामा मिति देखि अविच्छिन्न रूपमा भोगचलन गर्दैआएको, २०२८ सालमा सर्भेनापी हुँदा मेरा नाउँमा नापी भई फिल्डबुकमा जग्गाधनी र जोताहा म आफैं भएको छ र जग्गाधनी प्रमाणपूर्जामा समेत जोताहा निवेदक नै भएको उल्लेख छ । २०२२ सालमा पाएको कथित अस्थायी निस्साको सहारा लिई विपक्षी मध्येका राजमान नेवारले विपक्षी जि.भू.सु.का.सिन्धुलीमा मोही कायम गरिपाउँ भनी दिएको निवेदनमा उल्लिखित जग्गाको जोताहा मोही विपक्षी राजमान नेवारलाई ठहराउने गरी ०३९।११।२० मा भू.सु.का.बाट निर्णय भएको छ ।

३.    विपक्षी राजमान नेवारले निवेदीकाको जग्गा कहिले पनि मोहीको हैसियतले कमाएको होइन । निवेदीकाको हकभोग र स्वामित्व स्थापित हुनुभन्दा अघि कमाएको भए त्यो निवेदीकालाई जानकारी छैन । २०१९।१।१४ को रजिष्ट्रेशन पारित भएको लिखत बमोजिम मेरो हकभोग र स्वामित्व बैध कायम भएपछि त्यसको जग्गाधनी निवेदीकाको ससुरा शिवशंकर सर्वथा हुनसक्दैनन् । त्यस्तो अवस्थामा मेरो ससुरा जग्गाधनी बनाई आफू मोही भएको दावी गर्न २०२३ सालमा प्राप्त कथित अस्थायी निस्साले मद्दत गर्न सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को शर्तलाई पालना गरी कुनै पनि जोताहाले दफा २५(१) बमोजिम मोहियानी हक प्राप्त गर्न सक्दछ । विपक्षीले निवेदीकाको ससुराको जग्गा कमाएको छु भन्दै जिकिर लिई निस्कृय जोताहा अस्थायी निस्सा प्राप्त गर्दैमा सोही नाताले मात्र निजलाई बीसौं वर्ष देखि म आफैंं जोताहा भएको जग्गाको मोहियानी हक प्राप्त हुनसक्दैन । जि.भू.सु.का.सिन्धुलीको ०३९।११।२० को उक्त गैरकानुनी निर्णयले संविधानको धारा १०(१)(२), ११(२)ङ र १५ द्वारा प्रदत्त हक अपहरण भएकोले संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।

४.    विपक्षीहरूबाट लिखितजवाफ मगाई अएपछि पेश गर्नुभन्ने समेत सिंगलबेञ्चको ०४०।४।८।१ को आदेश ।

५.    निवेदीकाले ०१९।१।१४ मा रघुनाथपुर मालबाट उक्त विवादित जग्गा पारित गराई लिएको हुनसक्ने तर सोही जग्गाको साविक जग्गाधनी निज निवेदीकाको ससुरा शिवशंकर उपाध्यायबाट नै लिएको भनी निवेदीकाको मिति ०३९।५।२७ को बयानबाट समेत एकातिर प्रष्ट देखिन आउँछ भने अर्कोतिर विपक्षी मोही राजमान नेवारले भूमिसुधार कार्यक्रम लागू हुँदा मोही लगतको फाराम अनुसूची १ भरी साविक जग्गधनीकै नाम देखाई फाराम भरी भराई २ नं.अनुसूची प्रकाशन भएकोमा कार्यालयबाट ४ नं.जो.अ.नि.समेत पाइसकेको देखिन्छ । साथै निज मोही राजमान नेवारको नाउँमा आफ्नो जग्गा नभएको भनी निजले सो जग्गा कमाएको बापत नै मोहीको हैसियतले उक्त जग्गाको २०२३, २०२५ साल अनिवार्य वचत बुझाएको व्यहोरा पेश गरेको कार्यालयको रेकर्डबाट प्रष्ट देखिन आउँदा यस कार्यालयको कार्यक्षेत्रभित्र रही आधारभूत प्रमाणको आधारमा मोही कायम गरिएको न्यायोचित हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय, सिन्धुलीमाडीको लिखितजवाफ ।

६.    विपक्षीले निवेदनमा लेखाएको जग्गाको साविक देखि नै म मोही हुँ मैले आफ्ना आँतका बलले उक्त जग्गा मोहीको हैसियतबाट जोतकोड आवाद गर्दैआएको छु र सालसालै कूत पनि बुझाउँदै आएको छु । विपक्षीसँग त्यति बेला सौहार्दपूर्ण सम्बन्ध रहेकोले कूतको कुनै टण्टा उठेन अन्यथा कूत नबुझाए बापत नालेश गर्ने थिइन । साविक देखि नै उक्त जग्गाको म मोही भएकोले अनुसूची १ भरेको छु । जग्गा मोहीमा कमाए बापत वचत पनि बुझाएको छु र २ नं.को अनुसूची फाराम पनि प्रकाशित भएको छ । मैले जोताहाको अस्थायी निस्सा पनि पाएकोछु । म मोही भएको कुरा ०३९।९।२६ को मुचुल्काले पनि खम्विर गरेको छ । जोताहा अस्थायी निस्सालाई विपक्षीले बदर गराउन सक्नुभएको छैन । विपक्षी शिवशंकर उपाध्यायकी बुहारी हुन् । शिवशंकरको एउटै छोरा छन् यिनीहरू एकासगोलमा छन् । शिवशंकरले कहिले जग्गा विपक्षीको नाममा पारित गरी दिए कानुन बमोजिम मलाई जानकारी नदिउञ्जेलसम्म मलाई जानकारी हुने भएन । बैध मोहीलाई मोहीको प्रमाणपत्र दिएको हुँदा भूमिसुधार शाखा सिन्धुलीको ०३९।११।२० को निर्णयले विपक्षीको कुनै मौलिक कानुनी अधिकारमा आघात पुगेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत राजमान नेवारको लिखितजवाफ ।

७.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन निर्णय दिनुपर्ने हुनआयो ।

८.    यसमा निर्णयतर्फ हेर्दा साविकको जग्गाधनी शिवशंकर नै भएको र निजबाट नै सो जग्गा हालका धनी चुनादेवीले खरीद गरी लिएको भनी भनेको आधार र कार्यालयको रेकर्ड अनुसार देखिएको २ नं.अनुसूची तथा सरजमीन मुचुल्का समेतको आधारमा पाटनदेवी गा.पं.वा.नं. ७(क) कि.नं.१६ को बिगहा २–½ जग्गामा निवेदकको जोत कमोद देखिन आएकोले मोही कायम हुने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय सिन्धुलीबाट ०३९।११।२०।६ मा निर्णय भएको देखिन्छ।

९.    विवादको जग्गा २०१९।१।१४ मा शिवशंकर उपाध्यायबाट आफूले राजीनामा पारित गरी लिएको भन्ने निवेदीकाको जिकिर देखिन्छ । सो कुरालाई विपक्षीहरूले अन्यथा प्रमाणित गर्नसकेको देखिँदैन । जग्गाधनी प्रमाणपूर्जामा समेत विवादको जग्गाको मोही कलममा जो.खा.अर्थात जोताहा खाली भन्ने उल्लेख भएको पाइन्छ । साविक देखिको मोही भएकोले १ नं.अनुसूची भरी २ नं.लगत प्रकाशित भएको र ४ नं.जोताहा अस्थायी निस्सा समेत प्राप्त गरिसकेको भन्ने विपक्षी राजमान नेवारको जिकिरको हकमा विपक्षीले जोताहा अस्थायी निस्सा प्राप्त गरेको भनेको जग्गाको जग्गाधनी निवेदीका चुनादेवी नभई शिवशंकर उपाध्याय भएको भन्ने देखिन्छ । तसर्थ जग्गाधनी शिवशंकर उपाध्याय उल्लेख भएको जोताहा अस्थायी निस्साको आधारमा चुनादेवी आचार्यका नाउँको जग्गामा मोहियानी हकको दावी गर्न मिल्ने देखिँदैन । शिवशंकरले जग्गा पारित गरी दिएको जानकारी मलाई दिनुपर्ने भन्ने विपक्षी राजमान नेवारको जिकिरको हकमा भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि सो ऐन बमोजिम म मोही कायम भएको जग्गाको जग्गाधनी हक हस्तान्तरण हुँदा सो को सूचना मोहीलाई दिनुपर्ने व्यवस्था उक्त ऐनको दफा २६ को उक्त दफा ८ मा भएको देखिन्छ तर भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै २०१९।१।१४ मा विवादको जग्गा शिवशंकरबाट चुनादेवीले राजीनामा पारित गरी लिएको देखिएकोले उक्त ऐनको दफा २६(८) को सुविधा विपक्षी राजमान नेवारले प्राप्त गर्नसक्ने नदेखिएबाट विपक्षीको उक्त जिकिर कानुनसंगत देखिएन ।

१०.    अतः उपर्युक्त कारणहरूबाट साविक जग्गाधनी शिवशंकर देखिएको र निजैबाट सो जग्गा चुनादेवीले खरीद गरेको देखिएको भनी विपक्षी राजमान नेवारलाई विवादको जग्गाको मोही कायम गरेको भूमिसुधार कार्यालय सिन्धुलीको ०३९।११।२० को निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको एक प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

प्र.न्या.नयनबहादुर खत्री

 

इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु