निर्णय नं. ८६०४ - फैसला बदर दर्ता बदर ।

ने.का.प.२०६८, अङ्क ४, निर्णय नं. ८६०४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
२०६५ सालको दे.पु.नं. ०३३६, ०३३४, ०३३५
फैसला मितिः २०६७।१२।१५।३
मुद्दाः— फैसला बदर दर्ता बदर ।
पुनरावेदक प्रतिवादीः का.जि.,का.म.न.पा.वडा नं. १८ बस्ने रत्नलाल बज्राचार्यको मु.स.गर्ने पूर्णलाल बज्राचार्य
विरूद्ध
प्रत्यर्थी वादीः का.जि., का.म.न.पा. वडा नं. १८ बस्ने भीमलाल बज्राचार्य समेत
पुनरावेदक वादीः का.जि., का.म.न.पा. वडा नं. १८ बस्ने भीमलाल बज्राचार्य समेत
विरूद्ध
प्रत्यर्थी प्रतिवादीः का.जि., का.म.न.पा. वडा नं. २६ बस्ने ज्ञानकाजी शाक्य समेत
पुनरावेदक प्रतिवादीः का.जि.,का.म.न.पा. वडा नं.२६ बस्ने सुवर्णरत्न बज्राचार्यको मु.स.गर्ने अष्टलक्ष्मी बज्राचार्य
विरूद्ध
प्रत्यर्थी वादीः का.जि., का.म.न.पा. वडा नं. १८ बस्ने भीमलाल बज्राचार्य समेत
शुरू फैसला गर्नेः
मा.जि.न्या.श्री मोहनरमण भट्टराई
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री लक्ष्मणमणि रिसाल
मा.न्या.श्री शम्भुबहादुर खड्का
§ सामाजिक एवं सांस्कृतिक परम्परा के कस्तो छ भन्ने कुरा निर्धारण गर्ने आधार ताडपत्र भोजपत्र, गुठीपत्र, शिलालेख, सनद, सवाल, इस्तिहार र विवादका निर्णय जस्ता ऐतिहासिक लिखत हुन् । तर हरेक अवस्थामा यस्ता लिखत फेला नपर्न पनि सक्दछन् । यस्तो अवस्थामा विद्वानहरूद्वारा लेखिएका पुस्तक तथा लेखमा व्यक्त तथ्यलाई आधार बनाउनु पर्ने ।
(प्रकरण नं.५)
§ देवतागुठीको सम्पत्तिको संरक्षण, सम्बर्धन, तथा विकास निर्माण गर्ने कार्य परम्परागत रुपमा चलिआएबमोजिम गर्नुपर्ने ।
(प्रकरण नं.१०)
§ फैसलामा मिति उल्लेखनको क्रममा भएको त्रुटिलाई फिरादको दावी र फैसलाको पेटबोलीका कारणबाट हुँदै नभएको निर्णय लेखिनुलाई सामान्य त्रुटि मान्नुपर्ने हुन्छ । यस्ता सामान्य त्रुटिलाई आधार लिई बदर भैसकेका निर्णय कायमै छ भनी मान्यता दिने गरी गरिएको रौंचिरा तर्कलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं.११)
§ परम्परा र प्रचलनबाट पनि देवता गुठीको जग्गा जुनसुकै व्यक्तिको नाममा रहे पनि निजहरूको निजी सम्पत्ति नहुने, अंशबण्डा नलाग्ने, विक्री व्यवहार र लिलामलगायत कुनै प्रक्रिया र पद्धतिबाट हस्तान्तरण नहुने प्रकृतिको सामूहिक हक र सरोकारको सम्पत्ति भई कसैले मास्ने नास्ने कार्य गरे धर्मलोप हुने समेत देखिँदा जुनसुकै व्यक्तिको नाममा राखे पनि तात्विक अन्तर नपर्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री विश्वप्रकाश भण्डारी, श्री नरेन्द्र भट्ट
प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री चन्द्रबहादुर शाक्य
अवलम्बित नजीरः नेकाप २०६७ नि.नं. ८३२८ पृ. ३७२
सम्बद्ध कानूनः
§ नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३(१), (२)
§ प्रमाण ऐन, २०३१ को दफा १५(२),२३(३)
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) अनुसार पुनरावेदन अदालत पाटनको मिति २०६३।१।१८ को फैसलाउपर वादी तथा प्रतिवादी दुवैको तर्फबाट मुद्दा दोहर्याई पाऊँ भनी परेका निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
परापूर्व कालदेखि, शाक्यहरूको संरक्षकत्व नरहेको, हामी का.म.न.पा. वडा नं.२६ निवासी बज्राचार्यहरूको मात्र हक भएको, का.जि.का.म.न.पा. वडा नं.२६ कि.नं.२१७ को ०–१–३–२ जग्गा र सो जग्गामा बनेको कुलदेवताको देवाली घर जग्गालाई नितान्त व्यक्तिगत स्वार्थ परिपूर्ति गर्न सकिएला कि भनी विपक्षीमध्येका सेतीमान शाक्य समेत वादी विपक्षीमध्येका रत्नलाल बज्राचार्य प्रतिवादी बनी निर्णय दर्ता बदर समेत मुद्दा गरी रत्नलाल बज्राचार्यको नाममा निजी गुठीमा गरेको दर्ता बदर हुने ठहरी यस अदालतबाट २०५४।९।२२ मा फैसला भए पनि सो फैसलाले सो मुद्दाका वादीको हक कायम हुने ठहर नगरेको स्थितिमा बज्राचार्यहरूको मात्र हक भएको देवाली घर जग्गालाई, विपक्षीमध्येका विवादित कित्ता घर जग्गासँग कुनै सरोकार नराख्ने त्रीरत्न शाक्य र ज्ञानकाजी शाक्य १, मणिकाजी शाक्य १, सेतिमान शाक्य १, सुवर्णरत्न बज्राचार्य १, सानुमान शाक्य १ समेत जवान ६ को नाममा मालपोत कार्यालयले दर्ता गर्ने कार्य गरेको छ । फैसलाले विपक्षीहरूको हक कायम नगरेको अवस्थामा सो फैसलाको आधार लिई विपक्षीहरूको नाममा निजी गुठीमा दर्ता गर्ने गरी मालपोत कार्यालयबाट मिति २०५८।११।१५ मा गरेको दर्ता दूषित दर्ता भएको हुँदा जिल्ला अदालतको फैसला र सोको आधारमा गरेको दूषित दर्ता बदर गरी हामी फिरादी बज्राचार्यहरूको संरक्षकत्वमा बज्राचार्यहरूको मात्र देवालीगुठीको घरजग्गा कायम हुने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको वादी भीमलाल वज्राचार्य समेतको फिराद दावी ।
वादी दावीको घर जग्गा शाक्य र बज्राचार्यहरूको कुलदेवता पुज्ने ठाउँ हो । निर्णय दर्ता बदर मुद्दामा काठमाडौं जिल्ला अदालतले रत्नलाल वज्राचार्यको नाममा गरेको दर्ता बदर हुने ठहराई मिति २०५४।९।२२ मा फैसला गरेको आधारमा विवादित जग्गा हाम्रो नाममा दर्ता भएको हुँदा हकै नभएका विपक्षी वादीहरूले आफ्नो नाममा एकलौटी दर्ता गरिपाऊँ भनी लिएको दावी खारेज गरी मालपोत कार्यालयको मिति २०५८।११।१५ को निर्णयबमोजिम भएको दर्ता यथावत् कायम राखी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू ज्ञानकाजी शाक्य, मणिकाजी शाक्य, सानुमान शाक्य, सेतीमान शाक्य, चन्द्रमान शाक्य र त्रिरत्न शाक्य समेतको संयुक्त प्रतिउत्तर पत्र ।
फिराद दावीबमोजिम हामी बज्राचार्यहरूको मात्र निरन्तर संरक्षकत्व र नियन्त्रणमा रहेको बज्राचार्यहरूको देवालीगुठीको घरजग्गा बज्राचार्यहरूकै नियन्त्रण र संरक्षकत्वमा कायम रहने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रत्नलाल बज्राचार्य र सुवर्णरत्न बज्राचार्यको एकै व्यहोराको पृथकपृथक प्रतिउत्तर पत्र ।
संयुक्त रूपमा रहेको जग्गा कसैले निजी रूपमा प्रयोग गर्न नसक्ने अवस्था भई शाक्य र बज्राचार्यहरूको कुलदेवताको पूजा गर्ने संयुक्त गुठी जग्गा घरकै रूपमा प्रयोग हुने अवस्था समेत देखिएकोले मा.पो.का.को २०५८।११।१५ को निर्णय बदर हुनसक्ने अवस्था नहुँदा सो निर्णय र यस अदालतको मिति २०५४।९।२२ को फैसला समेत बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने काठमाडौँ जिल्ला अदालतको मिति २०६१।११।५ को फैसला ।
काठमाडौं जिल्ला अदालतको मिति २०६१।११।५ को फैसला गैरकानूनी एवं त्रुटिपूर्ण छ । विवादित निजी गुठीको देवालीघर जग्गा शाक्यहरूको नाममा दर्ता भएको दर्ता बदर भई बज्राचार्यहरूको मात्र संरक्षकत्व र नियन्त्रणमा रहने र बज्राचार्यहरूको नाममा दर्ता हुने गरी निर्णय हुनुपर्दछ । तसर्थ जिल्ला अदालतको उक्त २०५४।९।२२ को फैसला बदर गरी मेरो प्रत्तिउत्तर जिकीरअनुसार ठहर गरिपाऊँ भन्ने समेतको प्रतिवादी रत्नलाल बज्राचार्यको पुनरावेदन ।
विवादित निजी गुठीको देवालीघर जग्गा शाक्यहरूको नाममा समेत दर्ता भएको बदर भई बज्राचार्यहरूको मात्र संरक्षकत्व र नियन्त्रणमा रहने र दर्ता समेत हुने गरी निर्णय हुनुपर्नेमा सो नभएकोले शुरू काठमाडौं जिल्ला अदालतको २०६१।११।५ को फैसला बदर गरी मेरो प्रतिउत्तर जिकीरअनुसार ठहर गरिपाऊँ भन्ने प्रतिवादी सुवर्णरत्न बज्राचार्यको पुनरावेदन पत्र ।
हाम्रो देवालीघरजग्गालाई असर पर्ने गरी खडा गरिएको लिखतको सन्दर्भमा हामीहरूलाई अदालतबाट आदेश गरी अ.वं. ७८ नं. बमोजिमको प्रक्रिया पूरा गरी न्यायिक निरूपण गर्नुपर्नेमा सो नगरी भएको शुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने समेतको वादी भीमलाल बज्राचार्य समेतको पुनरावेदन पत्र ।
२०५४।९।२२ को फैसलामा आधारित प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा शुरूको फैसला फरक पर्न सक्ने देखिँदा पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई पनि झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६२।६।१२ को आदेश ।
मिसिल संलग्न मालपोत कार्यालयको प्रमाण मिसिल एवं निर्णय दर्ता बदर मुद्दाको मिसिल समेतका मिसिल कागजातहरू अध्ययन गरी हेर्दा २०४४।८।३ मा काठमाडौँ नगर पञ्चायतले गुठी लगत तथा तहसील कार्यालय भद्रकालीलाई लेखेको पत्रमा हामी बज्राचार्य तथा शाक्यहरूको निजी गुठीको घर भएको र हामीले परम्परादेखि भोगचलन गरी आएकोले सोही व्यहोरा गुठी कार्यालयलाई सिफारिश गरिपाऊँ भनी रत्नलाल बज्राचार्यको निवेदन पर्न आएकोले कि.नं. २१७ को घर बज्राचार्य तथा शाक्यहरूको देवाली कुलदेवताको घर आँगन हो भनी सिफारिश भएको देखिन आयो । यसरी स्वयं वादीले नगर पञ्चायतमा निवेदन दिँदा शाक्य र बज्राचार्यहरूको निजी गुठीको घर भएको भनी स्वीकार गरेको देखिँदा वादी पक्षबाट मालपोत कार्यालयमा एकलौटी निवेदन दिई सोही आधारमा दर्ता गराएको दर्ता दूषित दर्ता नै ठहरिई शुरू का.जि.अ. बाट मिति २०५४।९।२२ मा भएको फैसलालाई अन्यथा मान्न मिल्ने देखिएन । अतः शुरू काठमाडौँ जिल्ला अदालतले सोही अदालतबाट मिति २०५४।९।२२ मा भएको फैसला बदर गरिपाऊँ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहराएको मिति २०६१।११।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६३।१।१८ को फैसला ।
का.जि.का.म.न.पा. वडा नं.२६ कि.नं. २१७ को क्षे.फ. ०–१–३–२ को जग्गा र सो जग्गामा बनेको देवताघर का.जि.का.म.न.पा.वडा नं. २६ मा बस्ने बज्राचार्यहरूको मात्र देवालीगुठी घर हो । सो घर जग्गालाई विपक्षीमध्येका वादी सेतीमान शाक्य समेत प्रतिवादी रत्नलाल बज्राचार्य भएको निर्णय दर्ता बदर मुद्दामा का.जि.अ.बाट २०५४।९।२२ मा रत्नलाल बज्राचार्यको नाममा निजी गुठीमा दर्ता भएको दर्तासम्म बदर गरेको हो । सो मुद्दामा वादीहरूको नाममा दर्ता हुने भनी हक कायम नभएको स्थितिमा पनि मालपोत कार्यालयले त्रिरत्न शाक्य समेत ६ जनाको नाममा विवादित जग्गा दर्ता गरेको छ सो कार्य त्रुटिपूर्ण छ । विपक्षीहरूले यो जग्गालाई पनि विहार कायम गर्न खोजेका छन् । विहारको जग्गा कि.नं. १९५, १९६ र १९७ का जग्गा हुन् । ती जग्गा विहारमा दर्ता गर्न हामीहरू र शाक्यहरूले मा.पो.का.मा संयुक्त निवेदन गरी कारवाही चलाएका छौँ । कि.नं.२१७ को जग्गा विशुद्ध बज्राचार्यहरूको कुलदेवताको घर हो । हाम्रो कुलदेवताको घरलाई विहार कायम गर्न मिल्दैन । कि.नं. १९५, १९६ र १९७ को जग्गा भाष्करदेव संस्कारित केशचन्द्रकृत परावर्त महाविहारको र कि.नं. २१७ को जग्गा बज्राचार्यहरूको देवाली गर्ने देवताको घर भएकोमा अदालतबाट नाप नक्सा गरी छुट्टयाई निर्णय गर्नुपर्नेमा वास्तविक तथ्यलाई चित्रण नगरी गलत किसिमबाट का.जि.अ.को फैसला भएको र सो फैसला सदर गरी पुनरावेदन अदालतबाट भएको फैसला समेत त्रुटिपूर्ण छ । विहारसँग सम्बन्धित कि.नं. १९५, १९६ र १९७ सँग सामीप्यता राख्ने प्रमाणहरू कि.नं. २१७ को देवालीघरमा समावेश गरी बज्राचार्यहरूको मात्र कुलदेवता देवाली घर निजी गुठीलाई यससँग सरोकार नभएका, विहार कायम गर्न उद्धत व्यक्तिहरूले निजी गुठीमा दर्ता गरेको कार्य धर्म परम्परासम्मत् छैन । देवता र धर्म संस्कार संरक्षण गर्नका लागि हामीले फिराद गरेका हौँ । फैसलामा उल्लेख नभएको आधारमा सो मुद्दाका वादीहरू अर्थात् यस मुद्दाका प्रतिवादीहरूले निजी गुठी कायम गरी दर्ता गरेको कार्य कानूनसम्मत् छैन । विवादित घर जग्गा हामी बज्राचार्यहरूको मात्र कुलदेवता पूजा गर्ने देवता भएकोमा विहार कायम गर्न उद्दत विपक्षीहरूले विहारसँग मिसाई विहार कायम गर्ने प्रयासअन्तर्गत विपक्षीहरू ६ जनाको नाममा दर्ता गरेको कार्य गलत छ । हाम्रो देवाली घर जग्गामा मूल पुरोहितहरूको संरक्षकत्व कायम गरी कसैले पनि कुनै किसिमको विक्री व्यवहार गर्न नपाउने गरी फैसला गर्नुपर्नेमा व्यक्ति विशेषका नाममा निजी गुठीमा दर्ता हुनु विडम्बनापूर्ण छ । भास्करदेव संस्कारित केशवचन्दकृत पारावर्त महावीर संरक्षण समाज का.म.न.पा.वडा न. २६ इटुँवहाल भन्ने संस्था २०६२।५।२९ मा दर्ता भएको छ । तसर्थ, यस संस्थाअन्तर्गतको विहारको जग्गा कि.नं. २१७ कसरी बन्न सक्छ । त्यस कारण हाम्रो देवता गुठीको घर जग्गा हामी बज्राचार्यहरूको संरक्षण र नियन्त्रणमा रहने र कसैले व्यक्तिगत रूपमा प्रयोग गर्न नपाउने गरी न्याय पाऊँ भन्ने भीमलाल बज्राचार्यसहित जना ६ को दोहोर्याई पाऊँ भन्ने निवेदन ।
म निवेदक सुवर्णरत्न वज्राचार्य समेत वादी रत्नलाल बज्राचार्य प्रतिवादी भै चलेको निर्णय दर्ता बदर मुद्दामा का.जि.अ.ले मिति २०४५।६।१९ को मा.पो.का.को निर्णय बदर गरेको छ । २०४५।६।१३ को निर्णयले रत्नलाल बज्राचार्यले पूर्जा प्राप्त गरेको हो । का.जि.अ. ले २०४५।६।१९ को निर्णय बदर गरेको र सो फैसला पुनरावेदन अदालतले सदर गरेको हुँदा मेरो नाममा दर्ता गर्ने २०४५।६।१३ को निर्णय बदर भएको छैन । सो निर्णय नै बदर नभएको स्थितिमा रत्नलाल बज्राचार्यबाहेक अन्य प्रतिवादीहरूका नाममा दर्ता गर्ने गरेको मा.पो.का. को २०५८।११।१५ को निर्णय स्वतः बदर हुनुपर्छ । त्यसैगरी सो निर्णय बदर मुद्दामा वादीको हक कायम हुने ठहर्छ भनी नभनेको स्थितिमा वादीहरूमध्येका केही र वादी नभएका उनाउ व्यक्तिको नाममा विवादित जग्गा दर्ता गर्न कसरी मिल्छ ? हक नै कायम नभएको स्थितिका ४ जना र सो मुद्दामा वादी नै नभएका २ जना गरी ६ जनाको नाममा दर्ता गरेको कार्य नै वैधानिक छैन । संस्कार र संस्कृतिको सम्बन्धमा कुरा गर्दा शाक्यहरू जजमान र बज्राचार्यहरू पुरोहित हुन् । शाक्य र बज्राचार्यको संयुक्त रूपमा कुलदेवता पुज्ने भन्दैमा संरक्षकत्व र नियन्त्रण समेत शाक्यहरूको पनि हुन्छ भनी अर्थ गर्न मिल्दैन । काठमाडौं न.पा.बाट २०४४।८।३ मा लेखेको पत्रको आधारमा शुरू र पुनरावेदन अदालतले फैसला गरेका छन् । सो पत्रमा गुठीको घरजग्गा शाक्यको संरक्षकत्व र नियन्त्रण हुनुपर्छ भनिएको छैन । हाम्रो परम्परा र संस्कृतिविपरीत जजमानलाई पनि पुरेत बनाई फैसला भएको छ । फैसलामा चर्चा गरिएको का.न.पा.को सिफारिश, भास्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारको पत्र, जर्मन राजदूतावासमा दिएको मञ्जूरनामा, पुरातत्व विभागको पत्रमा उल्लेख कुराहरू कि.नं. १९५, १९६, १९७ सँग सम्बन्धित महाविहारका विषय हुन् । यो कि.न. २१७ को गुठीको घर जग्गाको विषयसँग सम्बन्धित होइन । निजी गुठीको हक स्वामित्व अंशियार हकदारमा सरेछ भने पनि सो देवालीगुठीमा बज्राचार्यहरूको निर्णयले जो थकाली पूजारी (चक्रेश्वर) नियुक्ति हुन्छ, उसैको जिम्मामा जाने हुन्छ । कसैको व्यक्तिगत हुन पाउँदैन । तथ्य र वास्तविकतालाई मनन् नगरी का.जि.अ. को फैसला सदर गरेको पु.वे.अ. को फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने सुवर्णरत्न बज्राचार्यको निवेदन ।
सुवर्णरत्न बज्राचार्य वादी र म निवेदक रत्नलाल बज्राचार्य प्रतिवादी भै चलेको निर्णय दर्ता बदर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०५४।९।२२ मा फैसला हुँदा मा.पो.का.को मिति २०४५।६।१९ को निर्णय बदर भएको छ । विवादित कि.नं. २१७ को जग्गा र घर मा.पो.का. काठमाडौंको २०४५।६।१३ को निर्णयले मेरो नाममा दर्ता भएको हो । अदालतले २०४५।६।१९ को निर्णय बदर गरेको छ । पछि व्याख्या गरी सो फैसलाले २०४५।६।१३ को निर्णय नै बदर भएको मान्नुपर्छ भनी का.जि.अ. ले २०६१।११।५ मा गरेको ठहर फैसलालाई कानूनसम्मत् मान्न सकिँदैन । २०४५।६।१९ को निर्णय बदर गरेको का.जि.अ.को फैसला पुनरावेदन र सर्वोच्च अदालतबाट समेत सदर भएकोमा सो फैसलाले २०४५।६।१३ को निर्णय बदर गरेको भन्न मिल्दैन । २०४५।६।१३ को निर्णय बदर नभएको स्थितिमा सो निर्णयबाट मेरा नाउँमा दर्ता भएको विवादित जग्गा मबाहेक अन्य व्यक्तिको नाममा दर्ता गर्ने गरेको मा.पो.का.को मिति २०५८।११।१५ को निर्णय स्वतः बदर हुनुपर्दछ । एकातर्फ का.जि.अ.को फैसलाले २०४५।६।१३ को निर्णय बदर भएको छैन भने वादीहरूको हक कायम हुने ठहर गरेको पनि छैन, त्यस अवस्थामा वादीहरूको नाममा र वादी नै नभएका अन्य २ जनाको नाममा सो जग्गा कसरी दर्ता गर्न मिल्छ । कानूनतः नमिल्ने निर्णय गरेको मालपोत कार्यालयको २०५८।११।१५ को निर्णय स्वतः त्रुटिपूर्ण छ । धर्म संस्कृतिको सम्बन्धमा कुरा गर्दा बज्राचार्यहरूको देवालीगुठीमा शाक्यहरूले पनि पूजा गर्न पाउने तर घर जग्गाको नियन्त्रण र संरक्षकत्व बज्राचार्यहरूको हातमा रहनु पर्दछ । शाक्य र बज्राचार्यहरूले संयुक्त रूपमा कुलदेवता पुज्ने भन्दैमा संरक्षकत्व र नियन्त्रणमा पनि शाक्यहरूको हात हुन्छ भन्न मिल्दैन । का.म.न.पा.ले लेखेको २०४४।८।३ को पत्रको आधारमा पुनरावेदन अदालतले का.जि.अ.को फैसला समर्थन गरे पनि का.म.न.पा.को पत्रमा शाक्यको संरक्षकत्व र नियन्त्रण हुनुपर्छ भनेको छैन । संस्कार र परम्परा हेर्नु पर्दछ । जजमान र पुरेतको भूमिका फरक–फरक हुन्छ । का.जि.अ.ले फैसलामा चर्चा गरेको का.म.न.पा.को सिफारिश, भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारको पत्र,जर्मन राजदूतावासमा दिएको मञ्जूरीनामा, पुरातत्व विभागको पत्रमा उल्लेख भएका कुरा, कि.नं. १९५, १९६ र १९७ सँग सम्बन्धित विहारसँग सम्बन्धित जग्गा हो । तर, यहाँको विषय कि.नं. २१७ सँग सम्बन्धित हो । कि.नं. २१७ को जग्गा र त्यसमा निर्मित घर बज्राचार्यहरूको मात्र हक अधिकारको हुँदा वडा नं. २६ इटुँवहालका बज्राचार्यहरूको मात्र संरक्षकत्व र नियन्त्रणमा रहने कुरा स्पष्ट छ । निजी गुठीको घर जग्गा दरसन्तानका नाममा सर्दै जाने र बज्राचार्यहरूको निर्णयबाट नियुक्त थकाली (चक्रेश्वरी) लाई नै दायित्व सर्ने हुँदा अन्य निजी गुठीको जस्तो यो गुठीको प्रकृति होइन । हाम्रो तथ्य र प्रमाण नहेरी फैसला र फैसलाको आशयविपरीत हाम्रो हकको देवता गुठीको घर जग्गा उनाउ व्यक्तिहरूका नाममा दर्ता गरेको कार्य बदर नगर्ने गरेको शुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला र दर्ता गरेको कार्य समेत बदर गरी मेरो प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्ने रत्नलाल बज्राचार्यको मिति २०६३।१२।२३ को मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन ।
मालपोत कार्यालयले २०४५।६।१३ मा गरेको निर्णय बदर गरिपाऊँ भनी वादीहरू मोतीकाजी शाक्य समेत र प्रतिवादी रत्नलाल बज्राचार्य भै चलेको निर्णय बदर मुद्दामा २०४५।६।१३ को निर्णय बदर न भै मिति २०४५।६।१९ को निर्णय बदर भएको र उक्त मुद्दाका वादी प्रतिवादी बाहेकका व्यक्ति त्रिरत्न शाक्यको नाममा समेत नामसारी गरेको निर्णयउपर परेको प्रस्तुत मुद्दामा दावी नपुग्ने ठहराई गरेको पुनरावेदन अदालतको फैसला प्रमाण मूल्याङ्कनसम्बन्धी प्रमाण ऐन, २०३१ को दफा ५४ र मुलुकी ऐन अ.वं. १८४क नं. को त्रुटि विद्यमान रहेकोले न्याय प्रशासन ऐन,२०४८ को दफा १२(१) (क) बमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०६५।९।११ को आदेश ।
रत्नलाल बज्राचार्यले फिराद दावीमा उल्लेख गरेको घरजग्गा २०४५।६।१३ मा मालपोत कार्यालयबाट आफ्नो नाममा दर्ता गरी निजी गुठी जनाई पूर्जा प्राप्त गरेकोमा सो दर्ता र दर्ता गर्ने मा.पो.का.को निर्णय बदर गर्न सेतीमान शाक्य समेतले फिराद दावी गरेको तथ्य सो मुद्दाको जिल्ला अदालतको फैसलाबाट देखिन्छ । रत्नलाल बज्राचार्यले मालपोत कार्यालयबाट कि.नं. २१७ को जग्गा र घर आफ्नो नाममा दर्ता गरेको र मालपोत कार्यालयले गरी दिएको कारण सो दर्ताको निर्णय र रत्नलालको नाममा तयार गरेको पूर्जा बदर गर्न फिराद गरेको हो । फिरादमा सोही मिति २०४५।६।१३ को निर्णय बदर गर्न दावी लिएकोमा फैसला लेख्दा भएको सामान्य त्रुटिले १९ गते उल्लेख हुन गएको रहेछ । वादी प्रतिवादीको नाम थर वतन, घर जग्गा, कि.नं. मिल्न आएबाट मिति २०४५।६।१३ को निर्णय बदर गर्न दावी लिएको हो भन्ने पुष्टि हुन्छ । यस मुद्दामा शुरू जिल्ला अदालतले पहिलेको निर्णय बदर मुद्दाको दावीको विवेचना गरी सो मुद्दाबाट काठमाडौ जिल्ला अदालतले मिति २०४५।६।१३ को निर्णय बदर गरेको हो भनी व्याख्या समेत गरेको सन्दर्भमा विपक्षीको दावी खारेज गरिपाऊँ भन्ने ज्ञानकाजी शाक्य समेत ५ जनाको मिति २०६५।१२।१६ को लिखित प्रतिवाद ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको अध्ययन गरी पुनरावेदक रत्नलाल बज्राचार्यको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वप्रकाश भण्डारीले विवादित कि.नं. २१७ को घर जग्गा बज्राचार्य र शाक्यहरूको साझा देवालीपूजा घर हो । पूजारी (चक्रेश्वर) बज्राचार्य हुन्छन् र अहिले पनि छन् । देवाली पूजाघरको संरक्षण रेखदेख पूजा समेत बज्राचार्यले गर्ने परम्परा हुँदा यस्तो साझा घर जग्गा ज्ञानकाजी समेत ६ जना शाक्यहरूको नाममा निजी गुठीको रूपमा दर्ता गर्ने गरेको कार्य त्रुटिपूर्ण छ । व्यक्तिको नाममा दर्ता गर्दा नासिन जाने भएकोले सो दर्ता बदर गरी सबैको हक कायम हुनुपर्छ भन्ने र पुनरावेदक भीमलाल बज्राचार्यका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नरेन्द्र भट्टले इटुँवहालको देवताको घरको नामको विवादित कि.नं. १२७ को जग्गा बज्राचार्यहरूको देवाली घर हो । बज्राचार्यको थकाली यसको चक्रेश्वर (पूजारी) हुन्छ । विवादित जग्गा र देवाली घर रत्नलाल बज्राचार्यको नाममा निजी गुठीमा दर्ता भएको निर्णय जिल्ला अदालतले बदर गरे पनि सो घर जग्गामा बज्राचार्यहरूको मात्र सामूहिक हक हुन्छ । फैसलाले हक कायम नगरेका ज्ञानकाजी शाक्य समेतका नाउँमा सो घर जग्गा दर्ता गरेको कार्य कानूनसम्मत् छैन । जिल्ला अदालतको फैसला र ज्ञानकाजी समेतको नाममा दर्ता गर्ने गरेको मालपोत कार्यालयको निर्णय बदर हुनुपर्छ भन्ने र प्रत्यर्थी ज्ञानकाजी शाक्य समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चन्द्रबहादुर शाक्यले यो देवता गुठीको जग्गा बज्राचार्य र शाक्यहरूको साझा देवाली पूजा घर हो । यसको संरक्षण, सम्बर्द्धन र निर्माण सबैले गर्न पाउनुपर्छ । रत्नलाल बज्राचार्यले एकलौटी खान आफ्नो नाममा निजी गुठीमा दर्ता गरेको कारण निर्णय दर्ता बदर मुद्दा परेको थियो । सो निजी गुठीमा दर्ता गरेको दर्ता बदर हुने ठहरी जिल्ला अदालतबाट निर्णय भएपछि सो जग्गा घरको संरक्षण गर्न संस्था दर्ता गरी सोको तर्फबाट ६ जनाको नाममा दर्ता गरेको हो । रत्नलालको नाममा निजी गुठीमा दर्ता गरेको मालपोत कार्यालयको निर्णय बदर गरेको जिल्ला अदालतको फैसला र घर जग्गा संरक्षण गर्न ज्ञानबहादुर शाक्यसहित ६ जनाको नाममा निजी गुठीमा दर्ता गरेको कार्यले वादीहरूको हकमा आघात पुग्दैन । त्यसकारण जिल्ला अदालतको फैसला र ६ जनाको नाममा दर्ता गर्ने गरेको कार्य बदर हुनुपर्ने होइन । जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको बहस सुनियो ।
निर्णयतर्फ विचार गर्दा काठमाडौँ जिल्ला का.म.न.पा.वडा नं.२६ इटुँबहालमा रहेको देवता घर बज्राचार्यहरूको मात्र देवालीघर हो । सो घरजग्गा २०३४ सालको नापीमा देवता घर जनिई नापी भएको छ । त्यस्तो बज्राचार्यहरूको साझा धरोहरलाई एकलौटी बनाउन रत्नलाल बज्राचार्यले निजी गुठी भनी आफ्नो नाममा दर्ता गरे पनि वादी सेतीमान शाक्य समेत प्रतिवादी रत्नलाल बज्राचार्य समेत भै चलेको निर्णय दर्ता बदर मुद्दामा काठमाडौं जिल्ला अदालतले मिति २०५४।९।२२ मा मालपोत कार्यालयले रत्नलालको नाममा दर्ता गर्ने गरेको निर्णय बदर हुने ठहर गरी फैसला गरेको र सो फैसला पुनरावेदन अदालतबाट सदर भै सर्वोच्च अदालतबाट दोहोर्याउने निस्सा प्रदान नभै अन्तिम भैसकेको छ । सो फैसलाले निजी गुठी कायम गरी रत्नलालको नाममा दर्ता गर्ने गरेको निर्णय र दर्तासम्म बदर गरेको हो । सो मुद्दाले विवादित घर जग्गामा वादीहरूको हक कायम गरेको छैन । सो मुद्दाले विवादित घर जग्गा वादीहरू अर्थात् यस मुद्दाका प्रतिवादीहरूको हक कायम नगरेको स्थितिमा रत्नलालको दर्ता बदर भए पनि वादीहरूको हक कायम नभएको हुँदा सो मुद्दाका वादीहरूको र अन्य २ जना समेत ६ जनाको नाममा निजी गुठीमा दर्ता गर्न मिल्ने होइन । एउटा व्यक्तिको नाउँमा निजी गुठीमा दर्ता गरेको दर्ता बदर गरी अन्य ६ जनाको निजी गुठीमा दर्ता गर्ने कार्यले पुनः व्यक्तिगत सम्पत्ति हुन पुगेको छ । यसले देवताघरको संरक्षण हुन सक्दैन । ६ जनाको नामको दर्ताले देवताघरको संरक्षण हुन नसक्ने र सो कार्यले हाम्रो हकमा असर पुगेको छ । फैसलाको आधारमा विवादित जग्गा प्रत्यर्थीहरूले दर्ता गरेको देखिँदा जिल्ला अदालतको सो फैसला र फैसलाको आधारमा भएको दर्ता बदर गरी सो घर जग्गा हाम्रो संरक्षकत्वमा राखी पाऊँ भन्ने फिराद र विवादित देवता घर बज्राचार्यहरूको मात्र नभै बज्राचार्य र शाक्यहरूको साझा देवता घर हो । देवता घरको चक्रेश्वर (पूजारी) बज्राचार्य भए पनि परम्परादेखि यसको संरक्षण बज्राचार्य र शाक्यहरूले गरी आएको हो । साझा देवाली पूजाघर रत्नलाल बज्राचार्यले निजी गुठीमा दर्ता गरेको कारणले सो बदर गराउन निर्णय बदर दर्ता बदर मुद्दा गरी निर्णय एवं दर्ता बदर हुने गरी अदालतबाट फैसला भएको हो । रत्नलालको निजी गुठीमा दर्ता भएको दर्ता बदर भएपछि देवता घरको संरक्षण गर्न ज्ञानराज शाक्यसहित ६ जनाको नाममा दर्ता गरिएको हो । देवताको जग्गा र घर संरक्षण गर्न सो दर्ता गरेको हुँदा जिल्ला अदालतको फैसला र सोअनुसार भएको दर्ता बदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने भनी जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालतबाट सदर भएपछि मुद्दा दोहोर्याई पाउन यस अदालतसमक्ष परेको निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दामा उठेका निम्न प्रश्नहरू निरोपण गरी पुनरावेदन अदालत पाटनको फैसला मुनासिब वेमुनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ –
(१) इटुँबहाल देवता गुठी कस्तो प्रकृतिको गुठी हो ? शाक्य र वज्राचार्यहरूको देवता घरका सम्बन्धमा कस्तो हक र दायित्व रहन्छ ? देवता गुठीको चक्रेश्वर (पूजारी) कस्तो व्यक्ति हुन्छ ? र चक्रेश्वरका अधिकार र दायित्व के के हुन् ?
(२) देवता गुठीको संरक्षण ,सञ्चालन रेखदेख र मर्मत सम्भार कसले गर्नुपर्ने हो ?
(३) जिल्ला अदालतको फैसला र सो फैसलाको आधारमा देवतागुठीको घर जग्गा प्रतिवादीहरू ज्ञानकाजी शाक्यसहित ६ जनाको नाममा निजी गुठीमा भएको दर्ता, बदर हुनुपर्ने हो वा होइन ? बदर नहुँदा देवताको सम्पत्तिको संरक्षण हुन सक्छ वा सक्दैन ?
२. काठमाडौं इटुँबहाल देवता गुठी कस्तो प्रकृतिको गुठी हो, शाक्य र वज्राचार्यहरूको देवता घरका सम्बन्धमा कस्तो हक र दायित्व रहन्छ ? देवता गुठीको चक्रेश्वर (पूजारी) कस्तो व्यक्ति हुन्छ र चक्रेश्वरका अधिकार र दायित्व के के हुन् भन्ने पहिलो प्रश्नतर्फ विचार गर्दा सो देवताघर हाम्रो मात्र हक अधिकारको कुलदेवताको पूजाघर भएकोले यसको रेखदेख सञ्चालन मर्मत आफूहरूले गर्ने, चक्रेश्वरले बहाल भाडा उठाउने, पूजाको भेटी लिने र चक्रेश्वरले नै पूजा चलाउने देवता घर हो भनी बज्राचार्यहरूको दावी रहेको देखिन्छ भने शाक्यहरूले देवताघर बज्राचार्यको मात्र पूजाआजा गर्ने थलो होइन ,यो का.म.न.पा. वडा नं. २६ का बज्राचार्य र शाक्यहरूको देवालीपूजा गर्ने साझा घर हो । दुवै पक्षले देवताघरको सञ्चालन मर्मत सम्भार गर्ने गरी आएको परम्परा हो भनी जिकीर लिएको देखिन्छ । विवादको कि.नं. १२७ को जग्गा र सोमा बनेको घर बज्राचार्यहरू मात्रको संरक्षण रेखदेख गर्न पाउने घर जग्गा हो वा बज्राचार्य र शाक्यहरू दुवैको रेखदेख संरक्षण र सञ्चालन गर्न पाउने प्रकृतिको हो भनी निर्क्यौल गर्नुपर्ने विषय हुन आएको छ ।
३. प्रस्तुत विवादको स्वरुप हेर्दा कि.नं. १२७ बाट नापी भएको इटुँवहाल कसैको निजी सम्पत्ति नभई किनवेच, अंशबण्डा र अपुताली समेतका कुनै पनि माध्यमले हक हस्तान्तरण नहुने प्रकृतिको देवस्थलको सम्पत्ति रहेकोमा दुवै पक्षको मुख मिलेकै पाइयो । यो प्राचीन सांस्कृतिक सम्पत्ति कुनै पनि रुपमा लोप हुन नहुने र यसको सञ्चालन तथा प्रयोग परम्परागत रुपमा हुनुपर्ने कुरामा पनि कुनै पनि पक्षको विमती रहेको पाइन्न । केवल यसको संरक्षकत्व कुन पक्षबाट कसरी हुने भन्ने प्रश्न नै यस विवादको निरोपणको विषय रहेको पाइयो ।
४. साँस्कृतिक हकलाई प्रचलित नेपाल कानूनले विशेष महत्व दिई परापूर्वदेखि संरक्षण गरी आएका पाइन्छ । गुठी सम्बन्धी कानूनी व्यवस्था यसका ज्वलन्त उदाहरण हुन् । संविधान र कानूनले समेत विशिष्ठ महत्वका साथ संस्कृतिलाई संरक्षण गर्न सदैव तत्परता देखाई आएको छ । यसैको निरन्तरतास्वरुप नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३(१) ले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं साँस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चली आएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्न हक प्रदान गरेको छ । यही संविधानको धारा २३(२) ले प्रत्येक धार्मिक सम्प्रदायलाई कानूनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक प्रदान गरेको छ । यही कानूनी कसीमा प्रस्तुत काठमाडौंको इटुँवहाल स्थित कि.नं. १२७ को देवस्थल घरजग्गाको संरक्षण र सुव्यवस्थापनका हकमा यस अदालतले आफ्नो निर्णय दिनु परेको छ ।
५. सामाजिक एवं सांस्कृतिक परम्परा के कस्तो छ भन्ने कुरा निर्धारण गर्ने आधार ताडपत्र भोजपत्र, गुठीपत्र, शिलालेख, सनद, सवाल, इस्तिहार र विवादका निर्णय जस्ता ऐतिहासिक लिखत हुन् । तर हरेक अवस्थामा यस्ता लिखत फेला नपर्न पनि सक्दछन् । यस्तो अवस्थामा विद्वानहरूद्वारा लेखिएका पुस्तक तथा लेखमा व्यक्त तथ्यलाई आधार बनाउनु पर्दछ । प्रमाण ऐन, २०३१ को दफा १५(२) ले कुनै विषयमा सो विषयमा विद्वान कहलिएका व्यक्तिद्वारा लेखिएको प्रकाशित पुस्तक वा लेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिन हुने व्यवस्था गरेको छ । यसका अतिरिक्त प्रमाण ऐन, २०३१ कै दफा २३(३) ले कुनै धार्मिक, जातिय वा सार्वजनिक हक र रितीस्थितिका सम्बन्धमा कुनै कुरा यकीन गर्नु परेमा त्यस्तो हक वा रीतिस्थितिको विशेष जानकारी हुन सक्ने स्थितिमा भएका व्यक्तिको राय प्रमाणमा लिन हुने व्यवस्था गरेको छ । यी कानूनी व्यवस्थाको सन्दर्भमा इटुँवहालको गुठीघरका विषयमा विद्वानहरूद्वारा लेखिएका लेख मिसिल संलग्न छन् । साथै स्थानीय बुढापाका छरछिमेकीबाट गुठी संस्थानले संकलन गरेको तथ्य प्रतिवेदन पनि मिसिल संलग्न छ । यिनै तथ्य प्रमाण समेतका आधारमा वादी र प्रतिवादीहरूको इटुँबहालको गुठी घरसँगको परम्परागत सम्बन्धका बारेमा निष्कर्ष निकाल्नु परेको छ ।
६. उपरोक्तानुसार परम्परादेखि देवतापूजा गर्ने यस देवाली घरमा कसको कस्तो प्रकृतिको सम्बन्ध थियो र यसको परम्परागत सञ्चालन पद्धति के थियो भनी यकीन गर्न यस विषयमा जानकार व्यक्तिको कथन र अनुसन्धानकर्ताहरूको आलेख हेर्नेपर्ने हुन आयो । भाष्करदेव संस्कारित केशवचन्द्र कृत पारावत महाविहार संरक्षण समाजले २०६२ मा प्रकाशन गरेको मिसिल संलग्न “इतुंवा अभिलेख सँग्रहमा” प्रा.स्वस्तिरत्न शाक्य, सिद्धिरत्न शाक्य भिक्षु र भुवनलाल प्रधानले इटुबहालको सम्बन्धमा लेख्नु भएको आलेख अध्ययन गर्दा का.म.न.पा.वडा नं.२६ मा रहेको इटुवहालमा बज्राचार्यहरूको मात्र हक हुने नभै शाक्यहरूको पनि समान हक रहेको भन्ने देखिन्छ । इतिहासविज्ञ विद्वान भुवनलाल प्रधानको लेखमा “इटुंबहालको दक्षिण लङ्गको माझमा एउटा आगम घर पनि छ । आगम र परावत महाविहारका आगमहरू एउटै संघको अन्तर्गत छ । संघका शाक्य र बज्राचार्य दुवै थरिका कुलदेवता यसै घरको भित्री कोठामा स्थापना गरिएको छ” भन्ने उल्लेख भएको पाइन्छ । वज्राचार्य र शाक्यहरूले तत्कालीन काठमाडौं नगर पञ्चायतमा सिफारिश गरिपाऊँ भनी दिएको निवेदन र नगर पञ्चायतले गुठी लगत तथा तहसील कार्यालय भद्रकालीमा लेखेको मिति २०४४।८।३ को सिफारिश पत्र पनि यस सन्दर्भमा अर्को भरपर्दो प्रमाण हो । रत्नलालले दर्ता गर्न खोजेको विवादित जग्गा के कस्तो प्रकृतिको हो भनी गुठी संस्थानले बुझ्न खटाएको कर्मचारी शम्भुप्रसाद अधिकारीले स्थानीय व्यक्तिहरूसँग बुझी पेश गरेको मिति २०४५।२।१७ को प्रतिवेदनले पनि यस मुद्दामा निष्कर्ष निकाल्न मद्दत गर्दछ । यी लिखतहरूबाट विवादित कि.नं २१७ को जग्गा र त्यसमा बनेको घर बज्राचार्य र शाक्यहरूको साझा देवाली घर भनी उल्लेख भएबाट विवादित घर जग्गा बज्राचार्यको र शाक्यहरूको कुनै एक पक्षको मात्र न भै दुवै पक्षको साझा हक हित निहीत रहेको पूजा गर्ने, धार्मिक एवं चूडाकर्मसहित भोज खाने इटुँवहालभित्र रहेको साझा आस्थाको प्रतीक देवाली पूजाघर हो भन्ने देखिन आयो ।
७. यस्तो सामूहिक हक हित भएको साझा आस्थाको केन्द्रमा वज्राचार्य वा शाक्यहरूको वा अन्य जनसमुदायको के कस्तो अधिकार र दायित्व हुन्छ भन्ने सन्दर्भमा विचार गर्दा देवताको पूजा उपासना गर्ने हक अधिकार समग्र मानव जातिलाई भए पनि माथि उद्धृत गरिएको लेखबाट देवाली पूजा गर्ने, भोज खाने र सामाजिक चूडाकर्म गर्ने अधिकार एवं दायित्व वडा नं.२६ का शाक्य र बज्राचार्य दुवै पक्षलाई मात्र भएको देखिन्छ ।
८. सार्वजनिक प्रकृतिको यस्तो देवताको जग्गा र घर रेखदेख, सञ्चालन मर्मत र निर्माणमा सवैको सहयोग आवश्यक हुन्छ । त्यसकारण इटुँवहालको देवालीपूजा घरसहित जग्गाको रेखदेख, संरक्षण, मर्मत र सम्भार दुवै पक्षले गर्नुपर्ने हुन आउँछ । कुनै एक पक्षले त्यस देवस्थलको मर्मत सम्भार समेत पुनरुत्थान गर्न चाहेमा अर्का पक्षले सहयोग गर्नुपर्ने हुन्छ । दुवै पक्षको सहमतिले यस ऐतिहासिक धरोहरको मर्मत सम्भार हुन उपयुक्त हो । तर यो सम्भव नभएमा पनि यस राष्ट्रिय सम्पदाको सुरक्षा, संरक्षण, मर्मत र सम्भार गर्नमा कुनै पनि पक्ष बाधक हुने छैन ।
९. बज्राचार्य र शाक्यहरूको यस देवस्थलमा कस्तो कस्तो अधिकार दायित्व हुन्छ, देवताको संरक्षण, रेखदेख र सञ्चालनमा यिनीहरूको भूमिका के हुन्छ भन्ने सन्दर्भमा गुठीको चक्रेश्वर (पूजारी) को हुने, उनको काम कर्तव्य र दायित्व के हुने भन्ने सन्दर्भमा विवेचना गर्नु आवश्यक हुन आउँछ । यस सम्बन्धमा पहिलेदेखि चलिआएको परम्परा र प्रचलन के कस्तो रहेछ भनी हेर्दा भुवनलाल प्रधानको इटुँवहाल भन्ने लेखमा “यो आगम र परावत महाविहारका आगमहरू एउटै संघको अन्तर्गतको छ र संघको चक्रेश्वर बज्राचार्य यहाँको हुन्छ । चक्रेश्वर पूजारी सदैव बज्राचार्य र मूल थायपाः जु शाक्य हुन्छन्” भनी उल्लेख भएको देखिन्छ । प्रतिवादी शाक्यहरूले इजलाससमक्ष पूजारी (चक्रेश्वर) बज्राचार्य नै रहने परम्परा भएअनुसार हाल पनि बज्राचार्य नै चक्रेश्वर छन् भनी भनेका र गुठी संस्थानले यो कस्तो गुठी हो भनी सो स्थानका उपभोक्ताहरूसँग बुझ्न खटाइएका गुठी संस्थानको कर्मचारी शम्भुप्रसाद अधिकारीले गुठी संस्थानमा २०४५।२।१७ मा पेश गरेको प्रतिवेदनमा अष्टरत्न शाक्य, केशव राजी, नरसिं शाक्य, वेथारत्न शाक्य र हालका चक्रेश्वर रत्नलाल बज्रचार्यसँग बुझ्दा देवता घर दुवै पक्षको कुलदेवता घर हो, चक्रेश्वर (पूजारी) बज्राचार्य हुने, चक्रेश्वरले नित्य पूजा गर्ने भएकोले निज सो घरमा बस्ने, चक्रेश्वरले दानभेटी र घर बहाल लिने र सोबाट चक्रेश्वरले पूजा र सामान्य मर्मत गर्ने परम्परा हो भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । चक्रेश्वरलाई प्राप्त यी परम्परागत अधिकार र दायित्वमा आघात नपुर्याई सो परम्परा र प्रचलनलाई यथावत कार्यान्वयन हुनु औचित्यपूर्ण हुँदा सो सम्बन्धमा नयाँ व्यवस्था गर्नुपर्ने र चक्रेश्वरको अधिकार र दायित्वमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएन ।
१०. देवता गुठीको संरक्षण, सञ्चालन रेखदेख र सामान्य बाहेक विशेष मर्मत सम्भार कसले गर्नुपर्ने हो भन्ने दोस्रो प्रश्नका सन्दर्भमा विचार गर्दा देवताको स्थापना परापूर्वकालमा भएको र यो घर विश्वसम्पदा सूचीमा परेको पनि देखिन्छ । कि.नं. २१७ को जग्गामा निर्मित भवन धार्मिक उपासनाको केन्द्र भएबाट सोको उपयुक्त रूपमा संरक्षण तथा यथा समयमा मर्मत, सम्भार र व्यवस्थापन नभएमा भत्किई पाताल हुनसक्ने भएकोले त्यस्तो अवस्थामा परम्परा र प्रचलनलाई मात्र आधार लिई पूजारी (चक्रेश्वर) लाई मात्र देवता गुठीको विकास निर्माण र रेखदेखको जिम्मेवारी दिएमा सामाजिक अपनत्वको अभावमा पर्याप्त जनसहभागिता नजुटी देवता घरको यथोचित् संरक्षण, मर्मत र निर्माण हुन नसक्ने अवस्था पर्न सक्दछ । तसर्थ परम्परा र प्रचलनलाई समेत कायम राख्दै नवीन पद्धति अवलम्बन गरी यस देवस्थलको विकास, निर्माण र संरक्षण गर्ने उपयुक्त व्यवस्था गर्नु सान्दर्भिक हुन आउँछ । प्रा.स्वस्तिरत्न शाक्यको लेखमा “मूल स्थवीर र आचार्य चक्रेश्वरीसहित एघार जनाको आपसी छलफलबाट हाम्रो इटुँवहाल परम्परादेखि चली चलाई आएको धार्मिक र संस्कृतिक क्रियाकलापहरू सुचारू रूपले सञ्चालन गर्दछन् । इटुँबहालको गुठीका जग्गा जमिनको रेखदेख, बाली उठाउने, पोता मालपोत तिर्ने र कोजिवु क्रमैसँग संघलाई व्यवस्था गर्ने आदि कार्यहरू गर्दछन्” भन्ने उल्लेख भएको देखिँदा माथि उल्लेख गरेको चकेश्वरलाई प्राप्त अधिकार र दायित्वमा असर नपुग्ने गरी देवतागुठीको सम्पत्तिको संरक्षण, सम्बर्धन, तथा विकास निर्माण गर्ने कार्य परम्परागत रुपमा चलिआएबमोजिम गर्नुपर्ने दायित्व रहन्छ ।
११. जहाँसम्म काठमाडौ जिल्ला अदालतको २०५४।९।२२को फैसलाले मालपोत कार्यालयको २०४५।६।१९ को निर्णय बदर गरेको हो,२०४५।६।१३ को निर्णय बदर गरेको होइन, फैसलामा २०४५।६।१९ को निर्णय बदर गरेको भनी उल्लेख भएको स्थितिमा २०४५।६।१३ को निर्णय बदर भएको मान्न मिल्दैन, २०४५।६।१३ को निर्णय बदर नगरेको स्थितिमा सो निर्णय बदर गरेको भनी अर्थ लगाई विवादित घर जग्गा प्रतिवादीहरूको नाममा निजी गुठीमा दर्ता गरेको कार्य कानूनसम्मत् छैन, तसर्थ सो फैसला र विपक्षीहरूको नाममा गुठीमा दर्ता गरेको कार्य समेत बदर हुनुपर्छ भनी लिएको जिकीर छ सो सम्बन्धमा विचार गर्दा वादी मोतीकाजी स्थापित समेत प्रतिवादी रत्नलाल बज्राचार्य भएको निर्णय दर्ता बदर मुद्दाको फिराद पत्रमा का.जि. का.म.न.पा.वडा नं.२६ कि.नं.२१७ को जग्गा र सोमा बनेको तीन तले घर रत्नलाल बज्राचार्य सञ्चालक कायम भै देवताको निजी गुठी नामाकरण गरी निजको नाममा दर्ता गर्ने गरी मा.पो.का.काठमाडौंले २०४५।६।१३ मा निर्णय गरेकोले सो निर्णय र सो निर्णयका आधारमा रत्नलाल सञ्चालक कायम भै निजको नाममा देवताको निजी गुठी उल्लेख गरी भएको दर्ता बदर गरी हामी इटुँवहाल निवासी वज्राचार्य र शाक्यहरूको निजी गुठी कायम गरिपाऊँ भन्ने दावी भएको देखिन्छ । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०५४।९।२२ मा फैसला हुँदा ठहर खण्डको वादी दावीको तथ्यमा २०४५।६।१३ भन्ने उल्लेख भए पनि निष्कर्ष खण्डमा २०४५।६।१९ को निर्णय बदर हुन्छ भनी उल्लेख भएको देखिन्छ । मालपोत कार्यालयको निर्णय २०४५।६।१३ मा भएको छ । फिराद दावी पनि सोही मितिको निर्णय बदरको माग छ । अदालतले पनि मागअनुसारको दर्ता बदर गर्ने फैसला गरेको छ । त्यस्तो स्थितिमा अदालतले निर्णय बदर गर्दा फिराद माग दावीअनुसारको निर्णय मितिको निर्णय बदर गरेको हो भनी मान्नुपर्ने हुन्छ । भूलवश निर्णय मिति २०४५।६।१९ लेखिँदैमा सो त्रुटिले यो सम्पत्ति रत्नलालको निजी गुठी नै हो भन्न मिल्दैन । टाइप तथा लेखाईको सामान्य त्रुटिले कसैको हक सिर्जना हुने तथा कसैको हक लोप हुन सक्दैन । मूलतः सम्पूर्ण लिखतको भावना र सन्दर्भले कुनै निश्चित अर्थ दिन्छ भने सोको प्रतिकूल मुद्रणको त्रुटिले परिणामलाई फरक पार्न सक्दैन । नेकाप २०६७, नि.नं. ८३२८, पृ. ३७२ मा पूर्ण इजलासद्वारा प्रतिपादित सिद्धान्तमा चार किल्ला क्षेत्रफल, रजिष्ट्रेशन नम्बर र लिखत पारित मितिले इंगित गरेको कित्तानम्बरलाई नै वादी दावीको कित्ता मानिएको छ, फिरादमा भने कित्ता नम्बर अर्कै लेखिएको थियो । फिराद साथ प्रस्तुत लिखतको प्रतिलिपि र फिरादको पेटबोली र फिरादमा लेखिएको कित्ता नम्बर पृथक भए पनि सो फिराद लेखाईलाई सामान्य त्रुटि मानिएको छ । प्रस्तुत विवादमा पनि फैसलामा मिति उल्लेखनको क्रममा भएको त्रुटिलाई फिरादको दावी र फैसलाको पेटबोलीका कारणबाट हुँदै नभएको २०४५।६।१९ को निर्णय लेखिनुलाई सामान्य त्रुटि मान्नुपर्ने हुन्छ । यस्ता सामान्य त्रुटिलाई आधार लिई बदर भैसकेका मालपोत कार्यालयको मिति २०४५।६।१३ को निर्णय कायमै छ भनी मालपोतको सो निर्णयलाई मान्यता दिने गरी गरिएको रौचिरा तर्कलाई मान्यता दिन मिल्दैन ।
१२. जिल्ला अदालतको फैसला र सो फैसलाको आधारमा देवता गुठीको घरजग्गा प्रतिवादीहरू ज्ञानकाजी शाक्यसहित ६ जनाको नाममा निजी गुठीमा भएको दर्ता बदर हुनुपर्ने हो वा होइन र सो कार्यले देवतागुठीको सम्पत्तिको संरक्षण हुन सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नका सन्दर्भमा विचार गर्दा ६ जनाको नाममा दर्ता भएको निजी गुठीको दर्ता बदर हुनुपर्ने हो वा होइन र देवताको सम्पत्तिको संरक्षण गर्न कुन प्रक्रिया अवलम्बन गर्न उपयुक्त हुन्छ भनी विवेचना गर्नुपर्ने देखिन आयो । विवादित कि.नं. २१७ को जग्गा शाक्य र बज्राचार्यहरूको देवता देवालीपूजा गर्ने परम्परागत रुपमा आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने साझा सरोकारको विषय हो भन्ने विषयमा माथि विवेचना गरी सकिएको छ । सो साझा सरोकारको जग्गा र त्यसमा निर्मित घर कुनै एक पक्ष वा केही व्यक्तिहरूको नाममा दर्ता गर्दा हिनामिना हुन्छ कि भनी एकआपसमा आशंका भएको देखिन्छ । देवताघरको जग्गा र घर पहिले के कसरी राख्ने गरेको रहेछ, परम्परा र संस्कार के रहेछ भनी हेर्दा प्रा. स्वस्तीरत्न शाक्यको लेखमा “एक थकालीको नाउँमा दर्ता रहेको वा पोता तिरेको भरमा सो गुठी जग्गा मेरो बाजे बराजुको नाउँमा भएकोले आफ्नो बाजे बराजुले राखेको हो भनी दावी गर्न कसैले पनि कुनै आधारमा सक्दैन, छोरा छोरीहरूमा अंश र दान वकसबाट नजाने, विहारको सम्पत्तिमा नै फिर्ता हुने,कसैको नामबाट पोता तिरे पनि सो जग्गा नाति पनातिहरूले आफ्नो नाममा नामसारी गराई लिन वेचविखन गर्न समेत नहुने सामूहिक हकहितको गुठी अर्थात् निजी हक मात्रको पैत्रिक सम्पत्ति नभै इटुँवहालको निजी गुठी सबैको सामूहिक सम्पत्ति हो” भन्ने उल्लेख भएबाट देवताघरको जग्गा घर कुनै व्यक्तिको नाममा दर्ता गरी राख्ने गरेको र सो व्यक्तिले तिरो पोत तिरे पनि निजको निजी सम्पत्ति हुन नसक्ने र विक्री वितरण, अंशबण्डा, लिलाम समेत हुन नसक्ने सामूहिक हकको सम्पत्ति हो भन्ने देखिन आउँछ । रत्नलाल बज्राचार्यले समाजको सहमति नलिई देवाली देवतागुठीको जग्गा घर एक्लै निजी गुठीको रूपमा दर्ता गरेको कारण सामाजिक सम्पत्तिको संरक्षण हुन सक्दैन कि भनी दर्ता बदर गर्न उजूरी परेको र काठमाडौं जिल्ला अदालतले रत्नलाल बज्राचार्यले निजको नाममा निजी गुठीमा दर्ता गरेको कार्य बदर गरेको अवस्थामा सो घर जग्गा समाजले संरक्षण गर्ने भनी ६ जना शाक्यहरूको नाममा निजी गुठीमा दर्ता गरेको देखिन्छ ।
१३. सो देवताको सम्पत्ति देखिँदा त्यसको संरक्षण गर्न ६ जनाको नाममा राखेको भए पनि प्रतिउत्तरमा र बहसको क्रममा इजलासमा नै निजहरूले देवताको सम्पत्ति मास्ने, खाने मनसायले दर्ता गरेको होइन संरक्षण र विकास निर्माण गर्न भनी दर्ता गरेको हो भन्ने कुरा व्यक्त गरेकाले निजहरूको सो गुठी सम्पत्ति मास्ने र देवता तथा गुठीलाई नोक्सान पार्ने कार्य आफूसमेत कसैबाट पनि हुन नहुने कुरामा सहमति रहेको देखिन आउँछ । माथि उल्लेख गरेको परम्परा र प्रचलनबाट पनि देवता गुठीको जग्गा जुनसुकै व्यक्तिको नाममा रहे पनि निजहरूको निजी सम्पत्ति नहुने, अंशबण्डा नलाग्ने, विक्री व्यवहार र लिलामलगायत कुनै प्रक्रिया र पद्धतिबाट हस्तान्तरण नहुने प्रकृतिको सामूहिक हक र सरोकारको सम्पत्ति भई कसैले मास्ने नास्ने कार्य गरे धर्मलोप हुने समेत देखिँदा जुनसुकै व्यक्तिको नाममा राखे पनि वा दर्तावाला ६ जनाको नाममा राखे पनि तात्विक अन्तर पर्ने देखिँदैन । सो देवाली देवताघरको जग्गा बज्राचार्य र शाक्यहरूको धार्मिक उपासनाको विषय हुँदा परम्परागत रुपमा बज्राचार्य समुदायका चक्रेश्वरले गरी आएको कार्य र पालन भई आएको दायित्व यथावत् रहने गरी हाल दर्ता भै रहेका व्यक्तिको नाममा रहे पनि स्वयं वा कुनै संस्थाका नामबाट त्यसको मर्मत, सम्भार, विकास, संरक्षण र सुव्यवस्था कायम गर्न पाउने नै हुन्छ । देवताको सो सम्पत्तिको संरक्षण गर्ने पवित्र धारणाका सम्बन्धमा वादी प्रतिवादी दुवै पक्षको सहमति रहेबाट शंका गर्नुपर्ने देखिएन । जसको नाममा देवताको घरजग्गा राखे पनि देवता गुठीको सो जग्गा घरलगायत सम्पत्ति धार्मिक तथा साँस्कृतिक धरोहरको रूपमा सदैव रहने र चन्दादाता, दातृ संस्था वा निकाय, सरकार वा विदेशी समेतबाट प्राप्त हुने सहयोगबाट देवताको यो घरजग्गा र यसको परिसरको संरक्षण एवं विकास निर्माण समेतका काम आपसी सहमतिमा कुनै पनि पक्षले गर्न सक्ने भई कुनै पक्ष यस काममा बाधक बनेमा पुरातत्व विभाग गुठी संस्थान र नगरपालिका जस्ता सार्वजनिक निकायको निर्देशन बमोजिम यी काम गर्न सक्ने नै देखिँदा ज्ञानराज शाक्यहरूको नाममा भएको दर्ता र जिल्ला अदालतको फैसला बदर गर्नुपर्ने अवस्था देखिन आएन । त्यसकारण फैसला मिति फरक परेको भन्ने प्राविधिक तथा यान्त्रिक आधारमा मात्र यस अदालतबाट भएको निस्सासँग इजलास सहमत हुन सकेन ।
१४. तसर्थ, मालपोत कार्यालयले विवादित घर जग्गा रत्नलाल बज्राचार्यको नाममा दर्ता गर्ने गरेको मिति २०४५।६।१३ को निर्णय र रत्नलाल वज्राचार्यको नाममा दर्ता स्रेस्ता कायम गरेको कार्य समेत बदर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५४।९।२२ को फैसला र सोको आधार लिई प्रतिवादी ज्ञानराज शाक्य समेतको नाममा मालपोत कार्यालयले कि.नं. १२७ को जग्गा दर्ता गर्ने गरेको निर्णय र दर्ता स्रेस्ता कायम गरेको कार्य समेत कानूनसम्मत देखिँदा जिल्ला अदालतको मिति २०५४।९।२२को फैसला र मालपोत कार्यालयले सो फैसलाको आधारमा ज्ञानराज शाक्य समेतका नाममा दर्ता गर्ने गरेको मिति २०५८।११।१५ को निर्णय, तथा दर्ता स्रेस्ता कायम गरेको कार्य बदर गर्न लिएको दावी पुग्न नसक्ने ठहर गरेको काठमाडौ जिल्ला अदालतको मिति २०६१।११।५को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६३।१।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तर्कराज भटृ
इति संवत् २०६७ साल चैत १५ गते रोज ३ शुभम्
इजलास अधिकृतः—लीलाराज अधिकारी