निर्णय नं. १८०९ - जवरजस्ती करणी

निर्णय नं. १८०९ ने.का.प. २०४० अङ्क ११
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३९ सालको फौ.पु.नं. ३२३
फैसला भएको मिति : २०४०।११।५।६ मा
पुनरावेदक/प्रतिवादी : जि.रूपन्देही बलरामपुर गा.पं.वा.नं.६ भमदेह बस्ने बृजा लोध
विरूद्ध
विपक्षी/वादी : सन्तिरा लोधिन समेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जवरजस्ती करणी
(१) करणी जस्ता यौन सम्बन्धी अपराध भए गरेको देख्ने चस्मदिद सँधै मौजुद हुन नसक्ने पनि हुन्छ यस्तो स्थितिमा चस्मदिद व्यक्ति नभएको कारणले सफाई दिनुपर्छ भन्न नमिल्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह
फैसला
प्र.न्या.नयनबहादुर खत्री
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. मिति ०३४।१२।३ का दिन अन्दाजी १० बजे गाउँको दक्षिणतर्फ घाँस काटी रहेकोमा बृजा लोधले सन्तिरालाई र रामबृक्षले फुलवालाई बलजफती समाई अडहर घारीमा लगी भुईमा पल्टाई जवरजस्ती करणी गरेकोले आ–आफ्ना घर आई घरमा भनी दरखास्त दिन आएका छौं कानुनबमोजिम कारवाई गरी सजाय समेत गरिपाउँ भन्ने समेत जाहेरी दरखास्त ।
३. २०३४।१२।३ गते अं.११ बजे विक्रम लोध समेतले भन्दा बृजलोधले सन्तिरालाई र रामबृक्षले फुलवालाई जवरजस्ती करणी गरेको भन्ने थाहापाएको र के परिबन्धबाट जवरजस्ती करणी गरेको भन्ने कुरा करणी गर्दाको अवस्थामा देख्न नपाएकोले भन्न सक्दैनौ निजहरूले करणी गरेको शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
४. सन्तिरा लोधिनले र फुलवा लोधिनको यौन जाँच गर्दा योनीको पर्दा च्यातिएको देखिएकोले जवरजस्ती करणी गरेको बुझिएको भन्ने समेत लुम्बिनी अञ्चल अस्पतालको पत्र ।
५. प्रतिवादीहरूलाई खोज तलास गर्दा फेला नपारेकोले निजहरूलाई अदालतबाटै कानुनबमोजिम झिकाई मुलुकी ऐन, जवरजस्ती करणीको महलको ३ नं.अनुसार सजाय हुन र ऐ.को १० नं.बमोजिम जाहेरवालाहरूलाई दिलाई भराई दिन समेत माग गरिएको छ भन्ने प्रहरी प्रतिवेदन ।
६. २०३४।१२।३ का दिन १० बजे म आफ्नै घरमा छु फुलवालाई जवरजस्ती करणी गरेको होइन जाहेरवालीको बाबु र मेरो बाबु बीच अघि देखि जग्गा सम्बन्धमा झगडा चलेको इवीबाट जाहेरी दिएको हो, सरजमीनले किन शंका गरे थाहा छैन झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने समेत रामवृक्ष लोधको बयान ।
७. ०३४।१२।३ का दिन १० बजे म मेरै घरमा थिएँ मैले सन्तिरालाई जवरजस्ती करणी गरेको हैन मेरो बाबु र जाहेरवालीको बाबु बीच जग्गा सम्बन्धमा अघि देखि झगडा थियो सो इविबाट यस्तो दरखास्त दिएको हो भन्ने समेत बृजलोधको बयान ।
८. जाहेरवालीहरूको भनाईको अतिरिक्त प्रतिवादीहरूले कसूर गरेको भन्ने तथ्य सबूत प्राप्त भएको देखिन आएन, यस स्थितिमा प्रतिवादीहरूले कसूर गरेको ठहराउन न्यायसंगत हुने देखिएन तसर्थ प्रतिवादीहरूले जवरजस्ती करणीको अपराध गरेको भन्ने प्रहरी प्रतिवेदन अभियोग पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरू रूपन्देही जिल्ला अदालतको फैसला ।
९. प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफमा चित्त बुझेन भन्ने श्री ५ को सरकारको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
१०. प्र.बृजलोधको उमेर २५ वर्ष र रामबृक्षको २० वर्ष भनी जाहेरी दरखास्तमा उल्लेख गरेको र निजहरूले अदालतमा बयान गरेको देखिनाले निजहरूले उमेर यकीन गर्नु परेकोले दुबै विपक्ष प्रतिवादीहरूलाई झिकाई आएपछि वा अवधी नाघेपछि नियमानुसार पेश गर्नुभन्ने डिभिजनबेञ्चको आदेश ।
११. ०३९।९।२५ मा बृजलोधको उमेर अठ्ठार वर्ष र रामबृक्ष लोधको उमेर १४ वर्षको हुनुपर्ने व्यहोरा एक्स–रे विशेषज्ञको राय भएको व्यहोरा अनुरोध गरिन्छ भन्ने समेत गण्डकी अञ्चल अस्पतालको उमेर जाँच सम्बन्धीपत्र ।
१२. प्रतिवादी रामबृक्षको हकमा यो मुद्दा दायर गरेको अवस्थामा निजको उमेर ९ वर्ष ८ महीना ८ दिन हुनआउने देखिएकोले यस्तो सानो कम उमेरको नावालकले जवरजस्ती करणी गर्नसक्ने अवस्थाको नहुँदा रामबृक्षले फुलवालाई जवरजस्ती करणी गरेको ठहर्दैन । प्र.बृजलोधको हकमा मुद्दा दायर गर्दाको अवस्थामा निजको उमेर १४ वर्षको हुनआउँछ । १४ वर्षको बालकको मातुलको अवस्थामा हुने र वारदातको अवस्थामा मौका तहकिकात हुँदा आफू निरपराधी हुँ भनी सबूत प्रमाण दिई उपस्थित हुनुपर्ने सो नभई फरार रही अदालतमा आई कसूरमा इन्कार गर्छ तापनि अपराध गरेको होइन भन्ने कुराको सबूत दिनसकेको नदेखिनुको बाबजूद जाहेरवाली सन्तिरामलाई अन्दाजी ४,५ दिन अगाडि करणी गरेको र योनीको झिल्ली च्यातिई रगत समेत आएको देखिनाले प्रतिवादी बृजालोधले जाहेरवाली सन्तिरालाई जवरजस्ती करणी गरेको ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. पश्चिमाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी बृजलोधको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजनबेञ्चको आदेश।
१४. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंहको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के हो ? निर्णय दिनुपर्ने हुनआयो।
१५. यसमा निर्णयतर्फ हेर्दा प्र.बृजा लोधले आफूलाई जवरजस्ती करणी गरेकोले जवरजस्ती करणी गरेमा सजाय गरिपाउँ भनी सन्तिरा लोधिनले किटानीपूर्वकको जाहेरी दरखास्त दिएको र अदालतमा आई सोही व्यहोरालाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । लुम्बिनी प्रहरी थानाको पत्र बमोजिम लुम्विनी अञ्चल अदालतबाट सन्तिरा लोधिनको योनी जाँच हुँदा भरखरै योनीको पर्दा च्यातिएको र इन्फेक्सन भएको भन्ने समेत सम्बन्धित विशेषज्ञको राय भएको देखिन्छ । यसको अलावा लुम्विनी हेल्थपोष्टको ०३४।१२।७।२ को बकपत्रमा पनि सन्तिरा लोधिनको अन्दाजी चार पाँच दिन जति अघि नै करणी गरेको र योनीको झिल्ली च्यातिई रगत समेत आएको देखियो भन्ने समेत उल्लेख भएको देखिन्छ अब विशेषज्ञलाई साक्षी सरह अस्पतालमा उपस्थित गराई बकपत्र गराएकोले निजको रायलाई प्रमाणमा लिन नमिल्ने भन्ने पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताको जिकिरको हकमा विशेषज्ञको राय मिसिल प्रमाणसँग मेल खाएको देखिन्न । अर्को कुरा लुम्विनी हेल्थ पोष्ट तथा लुम्बिनी अञ्चल अदालतको राय पूर्णरूपले एउटै किसिमको देखिन्छ । त्यसकारण अदालतमा आई साक्षी सरह बकपत्र नगर्दैमा लुम्बिनी हेल्थपोष्ट तथा लुम्बिनी अस्पतालका सम्बन्धित विशेषज्ञले व्यक्त गरेको राय प्रमाणमा नलिने भन्ने उपयुक्त देखिँदैन । वारदात स्थलको घटना प्रकृति मुचुल्कामा वारदात स्थलमा घाँस मडारिएको भाँचिएको आदि केही छैन भन्ने जिकिरको हकमा २०३४।१२।३ का दिन वारदात घटेको देखिन्छ । २०३५।१।५ मा मात्र घटना प्रकृति मुचुल्का भएको देखिन्छ । यसबाट वारदात प्रकृति मुचुल्का बीच ३२ दिनको फरक देखिन्छ । यस्तो स्थितिमा अडहर भाँचिएको घास मडारिएको नदेखिन पनि सक्ने हुन्छ । सरजमीनका त्रिवेणी लोध समेतका मानिसहरूले प्रतिवादी उपर शंका गरी लेखाई दिएको पाइन्छ ।
१६. प्रतिवादी बृजालोधको उमेर जाँच गर्दा ०३९।३।२५ मा बृजालोधको उमेर १८ वर्ष भएको भन्ने एक्स–रे विशेषज्ञको राय भएको भन्ने गण्डकी अञ्चल अस्पतालको ०३९।३।२८ को पत्रबाट देखिन्छ । यसबाट वारदातको समयमा प्र.बृजालोधको उमेर १४ वर्ष देखिन्छ चौध वर्षको उमेरको व्यक्तिमा कामोत्तेजना आउँदैन भन्न सकिँदैन ।
१७. जवरजस्ती करणी गरेको देख्ने कोही छैन । यस्तो स्थितिमा मेरो पक्षलाई दोषी ठहराउन मिल्दैन भन्ने जिकिरको हकमा करणी जस्ता यौन सम्बन्धी अपराध भए गरेको देख्ने चस्मदिद सँधै मौजुद हुन नसक्ने पनि हुन्छ यस्तो स्थितिमा चस्मदिद व्यक्ति नभएको कारणले प्रस्तुत मुद्दाको प्रतिवादीलाई सफाई दिनुपर्छ भन्न मिसिल प्रमाणबाट नमिल्ने देखिन्छ ।
१८. अतः उपयुक्त कारणहरूबाट सन्तिरा लोधिनलाई प्र.बृजालोधले जवरजस्ती करणी गरेको ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।१६।४ को इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी बृजालोधले के माथि इन्साफ खण्डमा पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।५।१६।४ को इन्साफ मनासिव ठहरेकोले पुनरावेदन गरे बापत अ.बं.२०३ नं.बमोजिम दोश्रो पुनरावेदन गरे बापत कैद वर्ष ३ को सयकडा पाँचको दरले एक महीना आठ दिन थप कैद हुन्छ । बेरूजु हुँदा सोही व्यहोराको लगत कस्नु भनी शुरू रूपन्देही जिल्ला अदालमा लेखी पठाउन का.जि.अ.तहसील फाँटमा लगत दिनु...............१
मिसिल नियमबमोजिम बुझाई दिनु ..............................................................................................................................२
उक्त रायमा मेरो सहमति छ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४० साल फाल्गुण ५ गते शुभम् ।